राष्ट्रिय अर्थव्यवस्थामा पर्यटनको महत्व
आधुनिक अर्थव्यवस्थाले पर्यटनलाई अति नै महत्व
दिन्छ। राष्ट्रिय अर्थव्यवस्थाको एक महत्वपूर्ण आधारस्तम्भ नै मान्छ। किन होला?
पर्यटनमा एक यस्तो सशक्त माध्यम वा वितरण
व्यवस्था हो, जसले कुनै पनि राष्ट्रलाई राष्ट्रिय आय–वितरण
सन्तुलित पार्न सहयोग गर्छ। पर्यटनलाई प्रभावकारी तुल्याएर कुनै पनि राष्ट्रले
आफ्ना नागरिकहरूलाई सन्तुलित किसिमले राष्ट्रिय आय वितरण गर्न सक्छ। निधर्न वा
निम्न आय भएका व्यक्तिहरूसम्म पनि आम्दानी पु–याउन सक्छ। पर्यटन यति महत्वपूर्ण
भएको कारणले गर्दा नै धनी देशहरूले पर्यटनलाई अति महत्व दिएका हुन्छन्। आफ्ना हरेक
शहरलाई पर्यटन–शहर बनाउने प्रयास गरेका हुन्छन्। हरेक शहरलाई कुनै न कुनै
विशेषताले युक्त गर्न खोजेका हुन्छन्।
आउनुहोस्, अब केही विश्वका प्रमुख पर्टकीयस्थलहरूको चर्चा गरौं।
फ्रान्सको पेरिसस्थित आइफिल टावर विश्वको नै एक
महत्वपूर्ण पर्यटकीय स्थल हो। यो टावरको भ्रमण गर्न विश्वका लाखौं मानिसले सपना
देखेका हुन्छन्। प्रत्येक दिन यो टावरको भ्रमण गर्न पर्यटकको लामो लाइन लाग्ने
गर्छ। अनुमान गरिए अनुसार प्रत्येक दिन करीब २५ हजार पर्यटकले यस टावरको भ्रमण
गर्छन्।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको
न्यूयोर्क शहरको न्यूयोर्क हार्बर स्थित स्टेचु अफ लिबर्टीलाई पनि एक महत्वपूर्ण
पर्यटकीयस्थल मान्ने गरिन्छ। स्वतन्त्रताको प्रतीकको रूपमा निर्माण गरिएको यो
संरचना हेर्न प्रत्येक दिन लगभग १० हजार पर्यटक त्यस लोकप्रिय पर्टकीयस्थलमा
पुग्ने गर्छन्।
क्यानडाको ओन्टारियो राज्यको ठूलो शहर
टोरन्टोनजीक रहेको नाएग्रा फल्स हेर्न पनि संसारका अनेक देशबाट लाखौं मानिस
आउँछन्। प्रकृति–निर्मित यो ताल पनि विश्वका अनेक महत्वपूर्ण पर्यटनस्थलहरूमध्ये
एक हो। करीब ३३ हजार पर्यटक प्रत्येक दैनिक प्रकृतिको अनुपम लीला हेर्न नाएग्रा
फल्स पुग्छन्।
माथि उल्लेख गरिएका पर्यटकीयस्थलहरूमा पुग्ने
पर्यटकहरूको सङ्ख्या अध्ययन गर्दा पर्टकीयस्थललाई महत्वपूर्ण तुल्याउने हो भने
त्यस किसिमको पर्यटकीयस्थल हेर्न लाखौं मानिस त्यहाँ पुग्ने रहेछन् भन्ने तथ्य
स्पष्ट हुन्छ।
जब कुनै एक पर्यटक कुनै एक पर्यटनस्थलमा पुग्छ,
तब उसले त्यहाँसम्म पुग्ने यातायातका साधनहरूको
प्रयोग गर्छ। साथै स्थानीय यातायातका साधनहरूको प्रयोग गर्छ। रात बिताउनका लागि
होटलहरूको प्रयोग गर्छ। यसैगरी, उसले विभिन्न
रेस्टुरेन्टहरूमा पुगेर खाना खान्छ। खाजा खान्छ। यतिमात्र होइन, उक्त पर्यटकले आफू उक्त पर्यटकीय शहरमा पुगेको
सम्झना राख्न स्थानीय सामानहरू खरीद गर्छ। त्यस स्थानको महत्व झल्काउने कपडा,
कला, चित्र वा अनेक वस्तुहरू खरीद गर्छ। त्यहाँ उपलब्ध रहेका सडक– मनोरञ्जन (जादु,
कला, गायन, सङ्गीत, नृत्य आदि)को अवलोकन गर्छ। अर्थात् एक पर्यटकले आफू पुगेको
पर्यटनस्थलका विभिन्न स्रोतहरूको प्रयोग गर्छ। विभिन्न वस्तुहरू खरीद गर्छ।
विभिन्न स्रोतहरू प्रयोग गरेबापत एवं विभिन्न सामानहरू खरीद गरेबात उसले पैसा
भुक्तान गर्छ। र यस्तो कार्य उक्त पर्यटकले आफू त्यस पर्यटनस्थलमा बसेको अवधिभर
गर्छ।
जब एक पर्यटकले आफू पुगेको पर्यटनस्थलमा पुगेर
विभिन्न स्रोत, साधन एवं वस्तुहरू
प्राप्त वा उपयोग गर्न पैसा भुक्तान गर्छ, तब उसको उक्त कार्यबाट विभिन्न स्थानीय व्यक्तिहरूको हातमा आम्दानी पुग्ने
वातावरण सृजना हुन्छ। सेवा, सुविधा र मनोरञ्जन
प्रदान गर्न त्यस पर्यटनस्थलमा उपस्थित रहेका हरेक व्यक्ति वा संस्थाले आआफ्नो
योगदान वा लगानीअनुरूप प्रतिफल (आम्दानी) पाउन वातावरण निर्माण हुन्छ। ठूलो लगानी
गरेर व्यापार गर्ने होटल व्यवसायीले पनि आम्दानी प्राप्त गर्ने वातावरण बन्छ भने
सामान्य लगानी गरेर सडक मनोरञ्जन प्रदान गर्ने जादुगरले पनि आम्दानी गर्ने वातावरण
बन्छ। यसरी पर्यटनले कुनै पनि राष्ट्रलाई राष्ट्रिय आय गरीब नागरिकहरूको हातसम्म
पनि पु–याउन सहयोग गर्छ।
यो स्तम्भकार हाल क्यानडाका विभिन्न शहरहरू–
टोरन्टो, मोन्ट्रियल, कुवेक, एडमन्टन आदि
शहरहरूको भ्रमणमा रहेको र क्यानडाभित्र अनेक देशका पर्यटकहरूसँग भ्रमण गरिरहेकोले
यो स्तम्भकारले पर्यटनको महत्व अझै बलियो गरी बुझ्न पाएको छ। पाइरहेको छ।
हामीले नेपालमा पर्यटनलाई जति महत्व
दिनुपथ्र्यो त्यति महत्व दिन सकेका छैनौं। हामीसँग पर्यटनस्थलहरूको कमी छैन।
धार्मिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, युद्ध, कला यस्ता अनेक
विशेषताहरूले युक्त हामीकहाँ हजारौं पर्यटनस्थल छन्। तर हाम्रा यी पर्यटनस्थलहरूको
उपयोग हामीले प्रभावकारी किसिमले गर्न सकेका छैनौं। एक प्रभावकारी पर्यटन नीति
निर्माण गरेर हामीले हाम्रा पर्यटनहरूको उपयोग व्यवस्थित किसिमले गर्न सक्छौं।
लाखौं निर्धन परिवारहरूको हातमा आम्दानी पुग्ने वातावरण निर्माण गर्न सक्छौं।
उद्योगको क्षेत्रमा हाम्रो स्थिति दयनीय हुँदै
गएको छ। ठूलो परिमाणमा निर्यात गर्न सक्नु हाम्रोलागि सपनाको कुरा भएको छ। हाम्रो
अर्थव्यवस्था अहिले पूर्णरूपमा आयातमुखी हुन पुगेको छ। चीन र भारत र मुख्यगरी
भारतबाट अनेक सामग्री आयात नगर्ने हो भने हामी भोकै बस्नुपर्ने स्थिति सृजना भएको
छ। तर यो भन्दा पनि ठूलो कुरा हाम्रा आम्दानीका स्रोतहरू सुक्न थालेका छन्।
रोजगारको सङ्कट छ। यो कारणले गर्दा पनि ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारको लागि
विदेशतिर पलायन हुने स्थिति छ। यस्तो स्थितिमा हामीले हाम्रो पर्यटन क्षेत्रलाई
सबल तुल्याउने हो भने हामीले स्वदेशमा नै अनेक रोजगार सृजना गर्न सक्छौं। लाखौं
गरीब परिवारको हातमा आम्दानी पुग्ने वातावरण सृजना गर्न सक्छौं।
तराईका लुम्बिनी र जनकपुर, मात्र यी दुई शहरमा हामीले विश्वभरिबाट ठूलो
सङ्ख्यामा पर्यटकहरू भिœयाउने हो भने
तराईको गरीबी ठूलो मात्रामा कम पार्न सक्छौं। तराईका युवाहरूलाई तराईमा नै रोजगार
उपलब्ध गराउन सक्छौं। रोजगारको लागि उनीहरू खाडीका मुलुकहरूमा जानुपर्ने बाध्यताको
अन्त्य गर्न सक्छौं।
पर्यटनको विकासको लागि हामीले अब स्थानीयस्तरमा
र जनस्तरमा सोच्न आवश्यक छ। दल र तिनका नेताहरू केवल कुर्सीको दौडमा रहेकाले अब
हामीले विकासका काम जनस्तरमा गर्न आवश्यक छ। यदि हामीले विकास एवं निर्माणका काम
जनस्तरमा नगर्ने हो र यस कार्यको लागि दल एवं नेताहरूको मुख ताक्ने हो, केन्द्रीय सरकारमाथि निर्भर रहने हो भने हामी
आर्थिक विकासको सन्दर्भमा झन्झन् पछाडि
पर्दै जानेछौं। नेपाली युवाहरू रोजगारको लागि विदेश पलायन हुने समस्याले विकराल
रूप धारण गर्नेछ। हामी केवल टुलुटुलु हेरेर बस्नेछौं।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, June 28, 2024
https://eprateekdaily.com/2024/06/27/70549/