Friday, August 9, 2024

Impact of Bangladesh- Unrest in South Asian Economy-Article- 564

बङ्गलादेशको उथलपुथलले दक्षिण एशियाको अर्थन्त्रमा पार्न सक्ने प्रभाव

देशको आर्थिक विकास गरेर मात्र कुनै नेता लोकप्रिय हुन सक्ने रहेन छ। यसैगरी देश र जनतालाई धनी पारेर मात्र कुनै नेताको राजनीतिक भविष्य सुनिश्चित हुने रहेन छ। कुनै नेतामा महत्वाकाङ्क्षा चुलिएर गयो। सदा शक्ति र सत्तामा रहने इच्छा जागृत भयो। आफ्ना आसेपासे र झोलेहरूको मात्र उसले हित गर्न थाल्यो। न्यायिक र निष्पक्ष हुन सकेन भने त्यस्तो नेताले देशमा प्रचुर मात्रामा आर्थिक विकास गरे तापनि लोकप्रियता पाउन सक्ने रहेन छ। बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनामा अहिले त्यही कुरा लागू भएको छ।

आर्थिक विकासको पथमा, कुनै बेला गरीब कहलिएको, बङ्गलादेशलाई दौडाउन खोजेकी शेख हसिना अहिले देश छोडेर भागेकी छन्। एशियाका आर्थिक बाघ (Economic Tiger) हरूमध्ये बङ्गलादेशलाई एउटा बाघ बनाउन खोज्ने हसिना अहिले एक किसिमले बङ्गलादेशबाट निष्कासित हुन पुगेकी छन्। उनलाई जनताले देश निकाला गरेको छ। कुनै समयकी बङ्गलादेशकी प्रधानमन्त्री अहिले भारतमा शरणार्थी हुन पुगेकी छन्। शक्ति र सत्ताको उन्मादमा विवेक गुमाएपछि, सदा सत्ता र शक्तिमा रहने इच्छा जागृत भएपछि कुनै पनि नेताको यस्तै स्थिति हुन सक्छ। शेख हसिनाबाट नेपालका नेताहरूले यो तथ्य राम्ररी बुझे हुन्छ। पछिल्लो समय सदैव शक्ति र सत्तामा रहन हसिनाले अठोट गरेकी थिइन्। आफूलाई, केवल आफूलाई, सर्वेसर्वा देखेकी थिइन्। आफ्ना विपक्षीहरूको मुख थुनेकी थिइन्। कतिपयलाई जेलमा बन्द गरेकी थिइन्। समग्रमा भन्ने हो भने जनतालाई ‘थोक’ मा रुष्ट पारेकी थिइन्।

आउनुहोस् शेख हसिनाको शासनकालमा बङ्गलादेशले गरेको आर्थिक उपलब्धिको पनि चर्चा गरौं। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएदेखि नै अनेक किसिमको राजनीतिक उथलपुथल भोगेको र जनसङ्ख्याको हिसाबले विश्वको आठौं ठूलो बङ्गलादेश (जनसङ्ख्या १७ करोड ५० लाख) ले खासै आर्थिक प्रगति गरेको थिएन। जमीन कम तर जनसङ्ख्या बढी भएको र गृह कलहले गाँजेको बङ्गलादेशमा गरीबी व्याप्त थियो। क्षेत्रफलको आधारमा बङ्गलादेश (१,४८, ४६० वर्ग किलोमिटर) र नेपाल (१,४७, ५१६ वर्ग किलोमिटर) लगभग बराबर छन्। नेपालको जनसङ्ख्या ३ करोड छ भने बङ्गलादेशको १७ करोड छ। बङ्गलादेशमा भूमि वितरणको समस्या कति गम्भीर छ भन्ने कुरा यस तथ्याङ्कबाट पुष्टि हुन्छ। भनिन्छ, अहिले पनि बङ्गलादेशको एक चौथाई जनसङ्ख्या पानी (समुद्र) मा बस्छ। त्यही रात बिताउँछ।  सन् २००९ मा सत्तामा आएपछि शेख हसिनाले बङ्गलादेशको आर्थिक विकासमा ध्यान केन्द्रित गरिन्। खासगरी पोशाक उद्योगको क्षमता अभिवृद्धि र विभिन्न देशमा निर्यात गर्न जोड दिइन्। सन् २०२२ मा विश्वमा सर्वाधिक पोशाक निर्यात गर्ने राष्ट्रहरूको सूचीमा चीन पहिलो स्थानमा, युरोपियन युनियन दोस्रो स्थानमा थियो भने बङ्गलादेश तेस्रो स्थानमा हुन पुग्यो। हसिनाको समयमा बङ्गलादेशले तीव्र गतिमा आर्थिक विकास गर्यो। आर्थिक विकासको दर पचास गुणा बढीसम्म भयो। केहीले त बङ्गलादेशलाई ‘एशियाको बाघ’ पनि भने। केहीले, अब बङ्गलादेश एशियाको ‘पावर हाउस’ हुने अनुमानसम्म पनि गरे। सन् २०१५ मा प्रतिव्यक्ति आयमा, बङ्गलादेशले पाकिस्तानलाई उछिन्ने रेकर्ड कायम गर्यो। र आश्चर्यलाग्दो, सन् २०२० मा प्रतिव्यक्ति आयमा, बङ्गलादेशले भारतलाई पनि उछिन्यो।

संयुक्त राज्य अमेरिकाले चार देश चीन, भिएतनाम, भारत र मेक्सिकोबाट ठूलो परिमाणमा टेक्सटाइल र तयारी कपडा आयात गर्छ जसमा बङ्गलादेशको हिस्सा पनि महत्वपूर्ण छ। बङ्गलादेशबाट आयात भएका कपडाहरू अमेरिकी बजारमा ठूलो परिमाणमा बिक्री हुन्छन्।

गरीब बङ्गलादेशलाई समृद्धिको दिशातर्फ डोर्याउन हसिनाको भूमिका महत्वपूर्ण रह्यो। उनले आफ्नो देशलाई ठूलो गुन लगाइन् तर उनको तानाशाही प्रवृत्तिले उनको गुन नदेखिनेगरी पखालिदियो। भोलिको समयमा उनले गरेका आर्थिक उपलब्धिबारे सोधखोज होला तर अहिले बङ्गलादेशका सडकहरूमा हसिनाको छायासम्म पनि देख्न नचाहनेहरूको भीड छ। जनता यतिसम्म आक्रोशित छ कि हसिना मात्र होइन, राष्ट्रपिता कहलिएका हसिनाका पिता शेख मुजिबुर रहमानको सालिकसम्म तोडिरहेको छ। हसिनाको तानाशाहीबाट रुष्ट भएको जनताले कुनै बेला ‘बङ्गबन्धु’ को सम्मान पाएका व्यक्ति शेख मुजिबुर रहमानको सालिकसम्म देख्न चाहिरहेको छैन। शेख मुजिबुर रहमानले बङ्गलादेशलाई पाकिस्ताबाट स्वतन्त्र पार्न केन्द्रीय भूमिका खेलेका थिए।

हसिनाको तानाशाही प्रवृत्ति र राजनीतिक अस्थिरताले गर्दा आर्थिक विकासको पथमा दौडिन खोजिरहेको बङ्गलादेशको अर्थतन्त्र अब अनिश्चित हुन पुगेको छ। बङ्गलादेशको राजनीतिमा अब स्थिरता आउने सम्भावना, कमसेकम केही वर्षको लागि, देखिंदैन। बङ्गलादेशको अस्थिर राजनीतिले यस देशको आर्थिक विकास सुस्त पार्नेमा कुनै द्विविधा नराखे हुन्छ। बङ्गलादेशको अस्थिर र अशान्त राजनीतिले बङ्गलादेशमा गरीबी त बढाउने छ नै, दक्षिण एशियामा पनि गरीबी बढाउने छ। जुनजुन देशलाई बङ्गलादेशले ठूलो परिमाणमा तयारी पोशाक निर्यात गथ्र्यो अब त्यस्तो गर्न सक्नेछैन। यसले गर्दा त्यहाँ बेरोजगारी बढ्न सक्छ। यसैगरी जुनजुन देशले ठूलो परिमाणमा बङ्गलादेशबाट तयारी पोशाक आयात गरिरहेका छन्, उनीहरूको अर्थतन्त्र पनि प्रभावित हुन सक्ने अनुमान गर्न सकिन्छ।

आर्थिक विकासको पथमा लम्किरहेको बङ्गलादेशको अर्थतन्त्रमा सुस्तता आउनु दक्षिण एशियाको अर्थतन्त्रको लागि राम्रो होइन। युक्रेन–रूस युद्ध, इजराइल–फिलिस्तिनी युद्ध, यमनी गृहयुद्ध, सुडानी गृहयुद्ध आदिले विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको बेला बङ्गलादेश अशान्त हुनु विश्व अर्थतन्त्रको लागि सुखद होइन। दक्षिण एशियाको लागि झनै सुखद होइन।

राजनीतिक स्थिरताको हिसाबले पाकिस्तान पनि स्थिर छैन। पाकिस्तानको आर्थिक प्रगति पनि सन्तोषजनक छैन। आर्थिक प्रगतिको दृष्टिकोणले भारतमा मोदीको नेतृत्वलाई राम्रो मानिएको छैन। मोदी–नीतिले गर्दा भारतले आफ्नो आर्थिक क्षमताको अत्यधिक उपयोग गर्न सकेको छैन भन्नेहरू धेरै छन्। एक किसिमले महीना–महीनामा सत्ता (प्रधानमन्त्री) परिर्वतन हुने परिस्थितिले गर्दा नेपालको आर्थिक विकासको गति पनि अति सुस्त हुन पुगेको छ। ज्यादै अनिश्चित हुन पुगेको छ। श्रीलङ्काको आर्थिक स्थिति पहिलेभन्दा झन् कमजोर छ। यस्तो परिस्थिति दक्षिण एशियामा देखिएको समयमा बङ्गलादेश अशान्त हुनु दक्षिण एशियाको आर्थिक विकासको लागि पटक्कै सुखद होइन। निराश पार्ने स्थिति हो।

बङ्गलादेशको राजनीतिमा अब कट्टरपन्थीहरूको प्रभाव ह्वात्तै बढ्ने छ, अफगानिस्तानमा बढेझैं। कट्टरपन्थीहरूले आफ्नो स्वार्थ पूरा गर्न बङ्गलादेशलाई शान्त रहन दिने छैनन्। केवव आफ्नो प्रभाव विस्तार गर्नमा जोड दिनेछन्।

कट्टरपन्थीहरूको उदय हुनु बङ्गलादेशको आर्थिक विकासको लागि पटक्कै राम्रो होइन । बङ्गलादेशमा अहिले जुन किसिमले तोडफोड, लुटपाट, हिंसा भइरहेको छ त्यसले हसिनाप्रतिको क्रोध मात्र प्रतिविम्बित गर्दैन। बङ्गलादेशको उदार समाजप्रति एउटा समूह क्रुद्ध रहेको पनि सङ्केत गर्दछ। र त्यो क्रुद्ध समूह कट्टरपन्थीहरूको हो।

यसैगरी आआफ्नो स्वार्थ पूर्तिका लागि अन्तर्राष्ट्रिय शक्तिहरूले पनि अब बङ्गलादेशमा अनेक ‘खेल’ खेल्नेछन्। बङ्गलादेशलाई झनै अशान्त र अस्थिर पार्नेछन्। हसिना तानाशाह भएता पनि उनले बङ्गलादेशलाई शान्त राखेकी थिन्।

आशा गरौं, बङ्गलादेशमा छिटै शान्ति र स्थिरता कायम होस्। त्यहाँको जनताले आर्थिक प्रगति देख्नपाओस्। शान्ति र स्थिरता देख्नपाओस्।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 09, 2024

https://eprateekdaily.com/2024/08/09/72963/


No comments:

Post a Comment