Saturday, August 24, 2024

Nepal: Youth Migration a Severe Economic Problem-Article 566

 युवा पलायनः ठूलो आर्थिक क्षति

नेपाली युवाहरू अहिले अभूतपूर्व किसिमले संसारका अनेक देशहरूमा पलायन भइहेका छन्। ठूलो सङ्ख्यामा यसरी युवाहरू रोजगारका लागि विदेशका अन्य राष्ट्रहरूमा जानु आर्थिक हिसाबले देशलाई ठूलो क्षति हो। यो क्षतिले नेपालीको अर्थतन्त्रलाई दीर्घकालसम्म प्रभावित पार्नेछ। अर्थतन्त्र मात्र होइन, राष्ट्रियतालाई समेत प्रभावित पार्नेछ।

अहिले नेपाली युवाहरू ठूलो सङ्ख्यामा अध्ययनका लागि संसारका अनेक राष्ट्र पुगिरहेका छन्। बाहिरबाट हेर्दा युवाहरू उच्च र विशेष शिक्षाको लागि विदेश गएको देखिए पनि, यथार्थमा उनीहरू रोजगारका लागि गएका हुन्। रोजगारको लागि मात्र होइन, भविष्यमा विदेशमैं बस्ने दृढ इच्छाका साथ गएका हुन्। विदेशमा बस्ने दृढ इच्छाका साथ जानु देशको लागि ठूलो क्षति हो। नेपालको लागि दीर्घकालमा चिन्ताको विषय हो। नेपालीहरूको सङ्ख्या घट्नु हो। नेपालको राष्ट्रियता कमजोर हुनु हो। युवाहरू यसरी विदेश पलायन हुनुलाई धेरैले राम्रो मानेका छन्। के त्यस्तै हो त?

युवाहरू विदेश पलयानको प्रकृति दुर्ई किसिमको छ। पहिलो प्रकृति, युवाहरू रोजगारका लागि मेलेशिया, जापान, कोरिया एवं खाडी मुलुकहरूमा पुगिरहेका छन्। यी स्थानहरूमा युवाहरू पुगेको स्थितिलाई समाज र राष्ट्र तथा नेपाली अर्थतन्त्र दुवैले राम्रो मानेको देखिएको छ। रोजगारका लगि विदेश पुगेका युवाहरूले विदेशबाट आर्जन गरेर पठाउने र देशलाई रेमिट्यान्स प्राप्त हुने भएकोले युवाहरू विदेश पलायन हुने स्थितिलाई समाज र राष्ट्रले राम्रो मानिरहेको छ। तर यो स्थिति दीर्घकालको लागि राम्रो भने होइन। युवाहरूको श्रम र बौद्धिक शक्ति स्वदेशको विकास एवं निर्माणमा नहुनु दुःखद कुरा हो। ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन भएमा देशको आर्थिक विकास अवरुद्ध हुन पुग्छ र देश क्रमिकरूपमा रेमिट्यान्समा निर्भर, अति निर्भर हुँदै जान्छ। कुनै पनि देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर हुनुको अर्थ हो त्यस देशका उद्योग एवं व्यापारको विस्तार अति सुस्त हुनु। कालान्तरमा अवरुद्ध हुनु हो। रोजगरको क्षेत्र अति सङ्कुचित हुनु हो। अहिले नेपालको स्थिति त्यस्तै छ। देशको अर्थतन्त्र रेमिट्यान्समा आश्रित हुन पुगेको छ। देशभित्र रोजगारको अवसर सीमित छ।

दोस्रो प्रकृति, युवाहरू उच्च र विशेष शिक्षाका लागि संयुक्त राज्य अमेरिका, क्यानाडा, ग्रेट ब्रिटेन, अस्ट्रेलिया, पोर्चुगल, स्वीडेन, फिनल्यान्ड आदि देशहरूमा पुगिरहेका छन्। यी देशमा युवाहरू अध्ययनको लगि गएको देखिए पनि यथार्थमा रोजगारका लागि गएका हुन्। उच्च शिक्षा उनीहरूको लागि केवल माध्यम मात्र हो। विदेश पुगेर, त्यहाँबाट उच्च शिक्षा प्राप्त गरेर, विदेशमा नै स्थायी बसोवास गर्ने किसिमले गएका हुन्। अमेरिका, क्यानाडा, ग्रेट ब्रिटेन, अस्ट्रेलिया पुगेका नेपाली युवाहरू अध्ययन पछि नेपाल फर्केर आएको कमै देखिएको छ। बरु बहुसङ्ख्यक उतै स्थायी बसोवास गरेको देखिएको छ। नेपाल कहिले नफर्किनेगरी दृढ इच्छा सहित संसारका अन्य देशहरूमा बसेको देखिएको छ। 

यति ठूलो सङ्ख्यामा युवाहरू विदेश पलयान हुनु नेपालको लागि ठूलो आर्थिक क्षति हो। दुःखद कुरो, नेपालले अहिले त्यही ठूलो क्षति बेहोरिरहेको छ।

युवाहरूमा सृजनात्मक क्षमता अति हुन्छ । उनीहरूमा उत्साह, जोश तथा जाँगर हुन्छ। उनीहरू नयाँनयाँ ज्ञान र प्रविधिबाट राम्ररी परिचित हुन्छन्। यी कारणले गर्दा युवाहरूले नयाँनयाँ किसिमका उद्योग एवं व्यापार सृजना गर्न सक्छन्। यस्तो गरेर देशमा रोजगार सृजना गर्न सक्छन्। बहुसङ्ख्यक व्यक्तिको हातमा आम्दानी पर्ने स्थिति सृजना गरेर देशलाई धनी पार्न सक्छन्। देशलाई धनी पार्ने पहिलो कर्ता युवाहरू नै हुन्। यस कारणले गर्दा कुनै पनि राष्ट्रले युवाहरूको सृजनात्मक क्षमताको अधिकतम उपयोग गर्नुपर्छ। तर हाम्रो देशमा भइरहेको छ उल्टो। हाम्रा युवाहरूको सृजनात्मक क्षमताको उपयोग अन्य राष्ट्रहरूले गरिरहेका छन्।

अब विदेशमा बसेका युवाहरूको स्थितिको केही कुरा गरौं। जापान, दक्षिण कोरिया, मलेशिया एवं खाडीका देशहरूमा रोजगारका लागि पुगेका युवाहरूको स्थिति सोचेजस्तो सुखद छैन। उल्टो बहुसङ्ख्यकको ज्यादै प्रतिकूल छ। खाडीका देश पुगेका युवाहरूले जोखिमपूर्ण कार्य गर्दा दुर्घटनामा परेर धेरैको मृत्यु भएको हामीले सुनेको, भोगेको कुरा हो। अनुकूल जलवायुमा हुर्केका नेपाली युवाहरूलाई खाडीको तातो कार्यस्थलमा कार्य गर्न सहज छैन । असहज पनि उत्तिकै छ। जोखिम पनि उत्तिकै छ।

बहुसङ्ख्यक नेपालीहरूलाई के भ्रम छ भने अस्ट्रेलिया, ब्रिटेन, क्यानाडा, अमेरिका आदि देशमा अध्ययनका लागि पुगेका युवाहरू त्यहाँ पुगेर सुविधायुक्त जीवन बिताइरहेका छन्। आनन्दको जीवन बाँच्न सफल भएका छन्। यो ठूलो भ्रम हो। त्यस्तो केही छैन। केही विद्यार्थी आनन्दको जीवन बाँच्न सफल भएका होलान् तर अधिकांशको स्थिति त्यस्तो छैन। विदेशमा रहेका कतिपय विद्यार्थीहरूले नेपालमा भन्दा कष्टकर जीवन बिताइरहेका छन्। बरु उनीहरू नेपालमा रहेको भए उनीहरूको जीवन सरल हुने थियो। विदेश आएर कष्टकर जीवन बाँच्न बाध्य भएका छन्। अध्ययन समाप्त गरेर पनि राम्रो जागीर पाउने, स्थायी बसोवास अनुमति पाउने टुङ्गो हुँदैन। त्यसमा अनेक समस्या बेहोर्नुपर्छ।

अध्ययनका लागि विदेश आएका नेपाली युवाहरूले दुर्ई कार्य एकैसाथ गर्नुपर्छ। पहिलो अध्ययन गर्ने, दोस्रो आर्जन गर्ने। आर्जन गरेको पैसाले नै उनीहरूले अध्ययन– शुल्क, बसोवास खर्च, औषधी उपचार, यातायात खर्च आदि भुक्तान गर्नुपर्छ। यो समस्या त एकातिर छ नै, अर्कोतिर आफू पुगेको देशमा काम पाउन कठिन छ। काम पाउन सहज छैन। काम पाउन सजह छैन भने विदेश गएको कुनै विद्यार्थीले कसरी आफ्ना अनेक खर्च भुक्तान गर्ने?  यस्तै समस्याको चक्रब्यूहमा अहिले विदेशमा रहेका हजारौं नेपाली विद्यार्थी फँसेका छन्।

आफ्नो देशमा नै रोजगारको अवसर हुँदो हो त यी ओठ निचोर्दा दूध आउने नवयुवा, युवाहरू रोजगारका लागि संसारको अनेकौं देशमा भौतारिनुपर्ने बाध्यता हुने थिएन। 

रोजगारका लागि ठूलो सङ्ख्यामा नेपाली युवाहरू विदेश पलायन हुने स्थितिलाई केवल रोजगारसँग मात्र जोडेर हेर्न मिल्दैन। नेपालमा नै पनि रोजगार पाउन सक्ने वा पाएका युवाहरू विदेश पलायन भएका छन्। यस्तो हुनुको मुख्य कारण बहुसङ्ख्यक युवाको विदेशको बसाइ सरल र सुविधायुक्त हुन्छ भन्ने मनोविज्ञान पनि हो। तर यो मनोविज्ञान पूर्ण सत्य भने होइन। विदेशको बसाई सोचेजस्तो सरल छैन।

आफ्नो परिवार, गाउँ, शहर, समाज र राष्ट्र परित्याग गरेर विदेश बस्नु कसरी सुखद हुन सक्छ? यदि कसैलाई सुखद लाग्छ भने त्यो क्षणिक हो। दीर्घकालीन होइन। आफ्नो देशको, स्वदेशको महत्व स्वदेश परित्याग गरे पछि मात्र बोध हुन्छ। परित्याग नगरेसम्म, विदेशमा लामो समय नबसेसम्म विदेशको बसाइ मनोवैज्ञानिक रूपले कष्टकर हुन्छ भन्ने यथार्थ बोध हुँदैन।

युवाहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुनुलाई हामी केवल सरकारको समस्याको रूपमा लिइरहेका छौं। नेताहरूको समस्याको रूपमा लिइरहेका छौं। युवा–पलायन रोक्न सरकार र नेताहरूले सोंच्नुपर्ने, केही गर्नुपर्ने भन्दै छौं। यथार्थमा यो हामी सबै नेपालीको समस्या हो। हरेक व्यक्ति र परिवारको समस्या हो।

अभूतपूर्व किसिमले युवाहरू विदेश पलायन हुनु ठूलो आर्थिक क्षति हो। सामाजिक क्षति हो। राष्ट्रियता कमजोर हुनु हो।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 23, 2024

https://eprateekdaily.com/2024/08/23/73759/

No comments:

Post a Comment