Saturday, October 5, 2024

Why is Business Very Important? Article - 572

किन महत्वपूर्ण छ व्यापार?

यो वैश्य युग हो। यो युगमा सर्वाधिक महत्वपूर्ण कार्य केही छ भने त्यो व्यापार हो। यो युगमा व्यापार नहुने हो भने समाज अस्थिर हुन पुग्छ। व्यापार नहुने हो भने मानिसलाई बाँच्न पनि कठिन हुन्छ। कृषि वा आत्मनिर्भरताको युग हामीले पूर्णरूपेण परित्याग गरिसकेको र अति निर्भरताको युग, व्यापार युगमा बाँचिरहेकोले व्यापारको अनुपस्थितिमा अहिले बाँच्न असम्भव हुने स्थिति सृजना भएको छ।

अहिले हामी बहुसङ्ख्यक मानिस केवल श्रम उत्पादन गर्छौ। अन्न, फलफूल, सागपातसम्म उत्पादन गर्देनौं। केवल श्रम उत्पादन गर्छौ र त्यही श्रम बिक्री गरेर आवश्यक पर्ने गाँस, वास र कपाससँग सम्बन्धित सम्पूर्ण सामग्री बजारबाट खरीद गर्छौं। कस्तो अचम्म १ केवल एक वस्तु (श्रम) उत्पादन गर्छौ र त्यो बिक्री गरेर सहस्र वस्तु खरीद गर्छौं। श्रमबाहेक हामी केही उत्पादन गर्दैनौं।

यस विषयमा मैले पटक–पटक चर्चा गरिसकेको छु। यो नौलो विषय भने होइन। नौलो विषय नभए तापनि पुनः पुनः दोह¥याउने र स्मरण गराउने विषय भने अवश्य हो। हाम्रो देश र समाजको सन्दर्भमा त यो नित्य स्मरण गराउनुपर्ने विषय बन्न पुगेको छ।

हामीले श्रम मात्र उत्पादन गर्छौं। र त्यो श्रम बिक्री गर्न हामीलाई बजार चाहिन्छ। हामीलाई व्यापार (बजार) चाहिन्छ। अनिवार्यरूपमा चाहिन्छ। हाम्रो श्रम खरीद गरिदिने बजार नहुने हो भने, व्यापार नहुने हो भने, हामी भोकै बस्नुपर्ने स्थिति हुन्छ। यो कारणले गर्दा अहिलेको यो वैश्य युगमा व्यापार मानव सभ्यताको लगि अति महत्वपूर्ण हुन पुगेको छ। बाँच्नका लागि रक्तसञ्चार आवश्यक भएझैं दुई छाक खान पाउने स्थिति हुनका लागि व्यापार आवश्यक हुन पुगेको छ।

नेपालमा हामीले श्रम बेच्न नपाएर भारत लगायत खाडीका अनेक देशमा नेपाली युवाहरू श्रम बिक्री गर्न पुगेको हामीले भोगेको कुरा हो।

व्यक्ति धनी हुन, परिवार धनी हुन, समाज धनी हुन र समग्रमा राष्ट्र नै धनी हुन व्यापार एउटा महत्वपूर्ण आवश्यकीय तत्व हुन पुगेको छ। जुन देशमा जति बढी व्यापार हुन्छ, त्यो देश त्यति नै बढी धनी हुन्छ। अमेरिका, चीन, फ्रान्स, जर्मनीजस्ता धनी राष्ट्रहरू व्यापारले गर्दा नै धनी भएका हुन्।

व्यापार हाम्रो जीवनको अति नै महत्वपूर्ण तत्व (कार्य) हुन पुगेकोले यसलाई समाज र राष्ट्रले अति महत्व दिन आवश्यक हुन पुगेको छ। कुनै राष्ट्रले व्यापारलाई महत्व दिएन भने त्यो राष्ट्र गरीब हुन्छ नै। साथै देशवासी पनि गरीब भएर उनीहरूको जीवन कठिन हुन पुग्छ। उदाहरणका लागि अफगानिस्तालाई लिन सकिन्छ। 

हाम्रो जीवन सरल पार्न व्यापारको भूमिका जति महत्वपूर्ण छ त्योभन्दा बढी महत्वपूर्ण भूमिका व्यापारीहरूको हुन्छ। व्यापारीहरूले व्यापार सृजना गर्ने, सञ्चालन गर्ने र सफल पार्ने हुनाले व्यापारको विकास गर्न व्यापारीहरूले अति महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। व्यापारीहरूले व्यापार गरेको कारणले वा खरीद–बिक्री भएको कारणले वा उत्पादन र वितरण भएको कारणले नै समाजमा रोजगार सृजना हुन्छ। रोजगार सृजना भएपछि नै व्यक्तिहरूले जागीर पाउँछन्। अनि रोजगार (काम) पाएपछि मात्र कुनै व्यक्ति आफ्नो एवं परिवारको भरण पोषण गर्न सक्षम हुन्छ। कुनै पनि व्यक्तिलाई नियमित आम्दानी प्राप्त गर्ने अवसर व्यापारले नै सृजना गरिदिन्छ। अर्कोतिर व्यापार, व्यापारीहरूको क्रियाकलापबाट सञ्चालित हुन्छ। यस अर्थमा व्यापारीहरू मौरी हुन् जसले मह (रोजगार) सृजना गर्छन्।

हाम्रो देशमा व्यापारी र व्यापार दुवैले महत्व पाएको देखिंदैन। हाम्रो समाजमा, बहुसङ्ख्यकले, व्यापारलाई एक प्रकारको ठगी मान्दछन् भने व्यापारीहरूलाई ठगी गर्ने व्यक्तिहरूको रूपमा हेर्छन्। हाम्रो समाजमा वामपन्थीहरूको बलियो प्रभाव रहेकोले समाजले व्यापारीहरूलाई शोषक र सामन्तको रूपमा हे¥यो र अहिले पनि हेर्दछ।

विगतमा, नेपालका वामपन्थी नेताहरूले व्यापारीहरूलाई वर्गीय शत्रू समेत भन्न बाँकी राखेनन्। व्यापारीहरूलाई दलालको संज्ञासमेत पनि दिए। कतिपय नेताहरूले आफ्ना कार्यकर्ता एवं समर्थकहरूलाई व्यापारीहरूको हत्यासमेत गर्न लगाए। जुन समाजले व्यापारीलाई वर्गीय शत्रुको रूपमा हेर्छ, जुन देशका नेताहरू व्यापारीहरूलाई दलालको संज्ञा दिन्छन्, त्यो देशमा कसरी व्यापारको विकास हुन्छ? कसरी अनेक रोजगार सृजना हुन्छ? कसरी लाखौं व्यक्तिको हातमा आम्दानी पर्ने परिस्थिति बन्छ?

हाम्रो देश गरीब हुने अनेक कारण छन्। व्यापारीहरूलाई हेर्ने हाम्रो दृष्टिकोण र नेपाली समाजमा वामपन्थीहरूको गहिरो प्रभावस यी दुई कुरालाई हामी गरीब हुनुको महत्वपूर्ण कारक मान्न सक्छौं। हाम्रो समाज व्यापारीहरू प्रति अति अनुदार समाज हो। हाम्रो समाजले व्यापारी उत्पादन एवं तिनको संरक्षण गर्न जोड दिंदैन। बरु व्यापारीहरूलाई वर्गीय शत्रु देख्छ। शोषक मान्छ।

राणा–शासनकालदेखि नै हाम्रो समाजमा वामपन्थीहरूको बलियो प्रभाव रहँदै आएको छ। अहिले पनि हाम्रो समाजमा वामपन्थी विचारको ठूलो प्रभाव छ। हाम्रो देशमा, अहिले पनि, गरीबहरूले वामपन्थी विचार र वामपन्थी नेताहरूलाई आफ्नो मुक्तिदाता वा गरीबीबाट मुक्त गरिदिने अन्तिम भरोसाको रूपमा देख्छन्। तर भएको छ उल्टो। नेपालका वामपन्थी नेताहरूले गरीबहरूको मनोविज्ञान (वामपन्थी विचार एवं वामपन्थी नेताहरूले गरीबीबाट मुक्ति दिने) को शोषण गरेका छन्। हाम्रो गरीबीको केवल उपयोग गरेका छन्। नेपालको गरीबी निवारणमा वामपन्थी विचार र वामपन्थी नेताहरूले कुनै पनि किसिमको भूमिका निर्वाह गरेका छैनन्। उल्टो गरीब नेपालीहरूलाई झनै गरीब बनाउने काम गरेका छन्। अनेक किसिमका आन्दोलन गरेर, गरीबहरूलाई व्यापारीहरूको विरुद्ध उपयोग गरेर, गरीबहरूलाई झनै गरीब बनाउने काम गरेका छन्। 

हाम्रो राष्ट्रिय गरीबीले त झन् वामपन्थी विचारधारा हुर्काउन मलजल गरेको छ। वामपन्थी नेताहरूले जहिले पनि आफ्नो फाइदाका लागि गरीबहरूलाई उचाले। व्यापारी र धनीहरू, गरीबका शत्रु हुन् भनेर झुक्याए। त्यसैले समाजमा वामपन्थी विचारको प्रभाव रहेसम्म, वामपन्थीहरूले हाम्रो गरीबीको उपयोगमात्र गरेसम्म, नेपालमा गरीबी निवारण सम्भव देखिंदैन। नेपालले गरीबीबाट मुक्ति पाउने आशा गर्न सकिंदैन।

हामी सबैले राम्ररी के बुझ्न आवश्यक छ भने वामपन्थी विचार र गरीबीबीच कुनै साइनो छैन। वामपन्थी विचार वा वामपन्थी सरकारले कुनै पनि किसिमले गरीबी निवरण गर्न सक्तैन। गरीबहरूको जीवन सरल तुल्याउन सक्तैन। उदार अर्थ व्यवस्थाद्वारा मात्र राष्ट्रिय गरीबी कम पार्न सकिन्छ। राष्ट्रलाई धनी पार्न सकिन्छ। समाजवादी वा साम्यवादी अर्थ व्यवस्था परित्याग गर्नुको अर्को विकल्प छैन।

देशमा गरीबी कम गर्न व्यापारलाई महत्व दिन आवश्यक छ। व्यापारीहरू उत्पादन गर्छन्। त्यसैले व्यापारीहरूलाई प्रोत्साहित गर्न आवश्यक छ।

 विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, October 4, 2024

https://eprateekdaily.com/2024/10/04/75663/


No comments:

Post a Comment