नेपालमा बेरोजगारी र युवा पलायन
युवाहरू अहिले
जुन संख्यामा विदेश तिर पलायन भइरहेका छन त्यो संख्याले लामो समयसम्म निरन्तरता
पाउने हो र यसैगरी युवाहरू विदेशतिर जाने हो भने आउँदो केही वर्ष भित्रमा नै
नेपालको केवल एक तिहाई जनसंख्या देश भित्र रहने छ। बाँकि दुइ तिहाई जनसंख्या
विदेशमा हुने छ। विश्वका अनेक देशहरूमा हुनेछ। नेपालमा जनशक्तिको ठूलो अभाव हुनेछ।
युवाहरू ठूलो
संख्यामा विदेश पलायन हुनुको प्रमुख कारण अहिले बेरोजगारीलाई मानिएको छ। नेपालमा
रोजगारीको अभाव भएकोले यसरी नेपाली युवाहरू ठूलो संख्यामा विदेश पलायन भएको
ठानिएको छ। के यथार्थमा देश भित्र रोजगारीको अभावले गर्दा मात्र यसरी ठूलो
संख्यामा नेपालीहरू विदेशतिर लागेका हुन त? यस प्रश्नको उत्तर हो ‘होइन।’ केवल
बेरोजगारीको कारणले गर्दा यसरी नेपाली युवाहरू ठूलो संख्यामा विदेश पलायन भएका
होइनन्। नेपाली युवाहरू ठूलो संख्यामा विदेश पलयान हुने विभिन्न कारणहरू मध्ये देश
भित्र रोजगारी नहुन पनि एक हो तर यो नै एक मात्र कारण होइन। यो बाहेक पनि अनेक
कारणहरू छन्।
नेपाली युवाहरू
यति ठूलो संख्यामा विदेश पलायन हुनुका दुई अन्य महत्वपूर्ण कारणहरू छन् र ती हुन्
निराशा र विदेशमा राम्रो कमाइ हुन्छ भन्ने समाजमा ब्याप्त
विचार। यी दुई कारणहरूले नेपाली युवाहरूलाई रकेट लन्चरले जस्तो विदेशका अनेक
धर्तीहरूमा पुर्याइ रहेका छन्। अनिश्चित र असुरक्षित भविष्य लिएर, ज्यानै जोखिममा
राखेर, ठूलो ऋण लिएर तथा परिवार, समाज एवं देश त्याग गरेर विदेशतिर ठूलो संख्यामा
पलायन भइरहेका छन्।
नेपालमा अहिले
गरिबी जति घातक छ त्यो भन्दा बढी घातक चरम निराशा हुन पुगेको छ। अहिले युवाहरूमा
चरम निराशा देखिएको छ। युवाहरू देश भित्र, नेपाल भित्र, आफ्नो भविष्य सुरक्षित
देखि रहेका छैनन। सुरक्षित मात्र होइन टाढा टाढा, सुदूर टाढासम्म पनि उज्यालो
देखिरहेका छैनन्। के कारणले गर्दा युवाहरूमा यस्तो चरम निराशा देखिएको हो त?
नेताहरूको व्यवहारले गर्दा त्यस्तो भएको हो? नेपालको वर्तमान राजनीतिले गर्दा
त्यस्तो भएको हो? नेताहरूको व्यवहार र वर्तमान राजनीतिले पनि युवाहरूलाई निराश
पार्नमा महत्वपूर्ण भूमिका खेलेको होला तर सर्वाधिक महत्वपूर्ण वा प्रमुख भूमिका नेपालको
वर्तमान सामाजिक मनोविज्ञानले खेलेको छ। हाम्रो सामाजिक मनोविज्ञान, जुन निर्माण
गर्नमा परिवार, छिमेकी, सञ्चारका माध्यमहरू- रेडियो, टिभी, पत्र पत्रिका आदिको
ठूलो भूमिका छ, ले हाम्रा युवाहरूलाई चरम रुपमा निराश पारिरहेका छन। झनै मेडियाहरू
र खास गरी ‘भ्युअर संख्या’ बृद्धि गर्ने धुनमा लागेका डिजिटल पत्रकारहरूले ठूलो
मात्रामा निराशा छरिरहेका छन्। लामो गृह युद्धमा फँसेका सिरिया, येमन, अफगानिस्तान
जस्ता देशहरूबाट मात्र ठूलो संख्यामा व्यक्तिहरू विदेशतिर पलायान भएको देखिएको थियो।
नेपाल जस्तो शान्त ( वर्तमानमा कुनै पनि किसिमको द्वन्द वा गृहयुद्ध नभएको) अवस्था
रहेको देशबाट यसरी यति ठूलो संख्यामा व्यक्तिहरूले स्वदेश परित्याग गरेको देखिएको
छैन। हाम्रो वर्तमान समाजले घातक किसिमले युवाहरूमा निराशा जानेर वा नजानेर
प्रक्षेपण गरिरहेको छ। आशा, भरोस, आत्मविश्वाश अभिवृद्धि गर्ने किसिमका समाचार,
विचार आदि मेडियाहरूले सञ्चार गर्ने हो भने यसरी ठूलो संख्यामा नेपाली युवाहरू
विदेशजाने स्थितिमा कमी ल्याउन सकिन्छ। युवाहरूलाई स्वदेशमा नै रोजगारी सृजना गर्न
अभिप्रेरित गर्न सकिन्छ।
विदेशमा राम्रो कमाइ हुन्छ भन्ने हाम्रो समाजमा
ब्याप्त रहेको विचार पनि त्रुटिपूर्ण छ। अहिले अन्तरार्ष्ट्रिय श्रम बजार राम्रो
स्थितिमा छैन। वर्तमान विश्व अर्थ व्यवस्था अनिश्चिततातिर धकेलिएको अवस्थामा
अन्तरार्ष्ट्रिय श्रम बजार गुलजार हुनै सक्तैन। अझै, ‘विदेशमा अध्ययनका लागि जाने,
उत्तै आर्जन पनि गर्ने, अध्ययन पनि गर्ने, अनि अध्ययन समाप्त गरेर उतै (आफू पुगेको
देशमा) जागिर पनि गर्ने’ जस्तो सोंच बनाएर विदेश जाने युवाहरूका लागि विदेश जानु
कष्टपूर्ण हुने देखिएको छ। केही देशहरूले विदेशबाट आएका विद्यार्थीहरूलाई काम गर्न
अनुमति दिइरहेको छैनन् भने केही देशहरूले विदेशबाट आएका विद्यार्थीहरूलाई काम
गर्ने अनुमति दिएता पनि काम ती देशहरूमा पाउन कठिन छ। विद्यार्थीहरूले, पहिले
जस्तो विदेशमा अध्ययनको क्रममा जागिर सजिले पाउने स्थिति अहिले छैन। विदेश पुगेर
अध्ययन गर्छु र आर्जन पनि गर्छु, अध्ययनको खर्च आर्जन गरेर भुक्तान गर्छु भन्ने
सोंच अब नराखे हुन्छ।
आफ्नो र परिवारको आर्थिक विकासको लागि स्वदेशमा
नै रोजगारी सृजना गर्नु उत्तम हो। समग्र राष्ट्रको आर्थिक विकासको लागि पनि
स्वदेशमा रोजगार सृजना गर्नु उत्तम हो। ठूलो संख्यामा विदेश गएर, धेरै रेमिट्यान्स
पठाएर स्वदेशको विकास हुँदैन। परिवार र समाजको पनि आर्थिक विकास हुँदैन। बढ्दो
रेमिट्यान्सले उल्टो, दीर्घकालमा परिवार र राष्ट्रलाई आर्थिक रुपमा खोक्रो पार्छ।
सामाजिक रुपमा प्रदुषित पार्छ।
परदेशको महलमा बस्नु भन्दा स्वदेशको झोपडीमा
बस्नु उत्तम हो। स्वदेशको झोपडीलाई महल बनाउनेतिर लाग्नु हो। यो तथ्य नेताहरूले
मात्र होइन जनताले पनि बुझ्न आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, April 25, 2025