सबै उद्यमीलाई बेइमान र ठग देख्नु गलत
सबै
उद्यमी बेइमान हुँदैनन्। सबै उद्यमी ठग हुँदैनन्। केही बेइमान र ठग हुन सक्लान्, तर अधिकांश उद्योग, व्यापार
वा सेवाको क्षेत्रमा कुनै नयाँ कार्य गर्न आएका हुन्छन्। नयाँ सोचसहित आएका
हुन्छन्। खास किसिमको कार्य गरेर वा खास किसिमको सोचलाई व्यवहारमा ल्याएर धन आर्जन
गर्ने लक्ष्य राखेका हुन्छन्। धनी हुने लक्ष्य राखेका हुन्छन्। केहीले धेरै धन
आर्जन गरेर समाजसेवा गर्ने लक्ष्यसमेत राखेका हुन्छन्। उदाहरणका लागि बिल गेट्स, वारेन बुफे,
मेक्नजी स्कट, माइकल ब्लुमबर्ग, फिल
नाइट आदिले समाजसेवामा निकै पैसा खर्च गरेका छन्।
सबै
उद्यमी व्यापारमा सफल हुँदैनन्। केही असफल पनि हुन्छन्। यो स्थिति संसारभरि देख्न
सकिन्छ। विकसित वा धनी देशहरूमा पनि देख्न सकिन्छ। नेपालमा मात्र होइन, संसारभरिमा केही आफ्नै कमजोरी (अनुभवको कमी, बजार अनुसन्धानको अभाव, उच्च
महत्त्वाकाङ्क्षा आदि) ले गर्दा असफल हुन्छन् भने केही बजार व्यवस्थापनका बाह्य
तत्त्वहरूमा आएको परिवर्तनले गर्दा असफल हुन्छन्।
बजार
व्यवस्थापनका बाह्य तत्त्वहरू भन्नाले राजनीतिक तथा कानूनी अवस्था, सामाजिक अवस्था, आर्थिक
अवस्था, प्राविधिक स्थिति आदि पर्छन्। यी
तत्त्वहरूले पनि कुनै वा केही व्यापारीहरूलाई असफल पार्न महत्त्वपूर्ण भूमिका
खेलेका हुन्छन्। उदाहरणका लागि कल्पना गरौं, नेपालको
कुनै व्यापारीले युक्रेनबाट खास किसिमको कच्चा पदार्थ ल्याएर नेपालमा खास किसिमको
वस्तु उत्पादन गर्ने गरेको थियो। सो व्यापारीको उक्त उद्योग नेपालमा राम्ररी चलेको
थियो। उसले त्यस उद्योगबाट पहिलो र दोस्रो वर्ष राम्रो आम्दानी गरेको थियो पनि।
सयौं व्यक्तिलाई रोजगारसमेत दिएको थियो। तर अचानक रूसले युक्रेनमाथि आक्रमण गर्यो।
यी दुई राष्ट्रबीच युद्ध आरम्भ भयो। यो नयाँ र परिवर्तित परिस्थिमा युक्रेन
नेपालको उक्त व्यापारीलाई कच्चा पदार्थ दिने स्थितिमा रहेन। त्यो कच्चा पदार्थ
उत्पादन गर्ने युक्रेनका कारखानाहरू युद्धमा ध्वस्त भए। युक्रेनबाट कच्चा पदार्थ
नपाएर नेपालको त्यो उद्योग बन्द भयो। उक्त नेपाली उद्योगी (उद्यमी)को ठूलो लगानी
(कारखाना, भवन, कच्चा
पदार्थ, औजार एवं उपकरण तथा अन्य पूर्वाधारमा
भएको ठूलो लगानी) डुब्यो। उक्त व्यापारी कङ्गाल भएर सडकमा आउने स्थिति भयो। उसको
यस्तो स्थिति हुनमा उसको कुनै दोष छ? छैन।
तर बाँकी ग्राहक, सरकार एवं सामान्य व्यक्तिसमेतले पनि
उक्त व्यापारीलाई बेइमान देख्छ। ठग देख्छ। समाजले ठग देख्छ। किनभने उसले कसै (अन्य
व्यक्ति वा बैंक) बाट लिएको ऋण भुक्तान गर्न सक्तैन।
अब
अर्को एउटा काल्पनिक उदाहरण हेरौं। नेपालको कुनै एक व्यापारीले सामान्य घडी (हातमा
लगाउने) उत्पादन गर्ने एउटा कारखाना स्थापना गरेको थियो। त्यो कारखाना स्थापना
गर्न बैंकबाट ऋण लिएर करोडौं रुपियाँ लगानी गरेको थियो। उक्त घडी बिक्री गर्ने
व्यापार राम्रो चलेको थियो,
राम्रो आम्दानी भएको थियो। तर बजारमा
प्रवधिको उच्च विकास भएर स्वास्थ्यसम्बन्धी सूचना दिने स्मार्ट घडीको प्रवेश भयो।
ग्राहकहरूले सामान्य घडी लगाउन बन्द गरे। स्मार्ट घडी खरीद गर्ने थाले। सामान्य
घडीको क्रेता नभएको कारण त्यो घडी बिक्री नहुने स्थितिमा पुग्यो। सामान्य घडी
उत्पादन गर्ने त्यो कारखाना नै बन्द गर्नुपर्ने भयो। कारखानाको मालिकले करोडौं
रुपियाँ क्षति बेहोर्नुपर्यो। अनि समाजको नजरमा ऊ ठग पनि देखियो।
आउनुहोस्, उद्यमी कसलाई भन्ने गरिन्छ, त्यो
हेरौं। ‘आफ्नो समय, पूँजी र यत्न जोखिममा राखेर व्यापार
गर्ने व्यक्ति उद्यमी हो। उद्यमीले प्रायः नयाँ–नयाँ व्यापारको विकास गर्छ।’
उद्यमीहरूले
नयाँ–नयाँ व्यापारको सृजना गर्छन्। बजार खोज्छन्। आफूले उत्पादन गरेको वस्तु वा
सेवा बिक्री हुने वातावरण सृजना गर्छन्। यो कारणले गर्दा राष्ट्रको आर्थिक विकासमा
उद्यमीहरूको भूमिकालाई महत्त्वपूर्ण मान्ने गरिन्छ।
एकजना
अमेरिकी व्यापारी चाल्र्स गुडइअरले एउटा नयाँ व्यापारको विकास गर्दा धेरै दुःख
पाएका थिए। गुडइअर रसायनशास्त्री एवं इन्जिनीयर पनि थिए। उनले रबरको व्यापार गरेका
थिए। प्रारम्भमा रबरलाई उमालेर रबरको जुत्ता, चप्पल, ज्याकेट निर्माण गर्थे। तर रबरका ती सामानहरू जाडोमा खुम्चिने र
गर्मीमा पग्लिन्थे। उनले बिक्री गरेका रबरका ती सामानहरू त्यस किसिमको दोषयुक्त
भएकाले क्रेताहरूले ती सामानहरू गुडइअरलाई फिर्ता गर्न थाले। त्यसरी सामान फिर्ता
गर्न आएका क्रेताहरूलाई हर्जाना तिर्दातिर्दा गुडइअर कङ्गाल भए। थुप्रो ऋण तिर्न
नसकेर कतिपटक जेल पनि गए।
एकपटक
गुडइअरले रबर उमाल्दा के पत्ता लगाए भने एउटा निश्चित तापक्रममा रबरलाई उमाल्ने हो
भने त्यो जाडोमा नखुम्चिने र गर्मीमा नपग्लिने हुन्छ। यो क्रियालाई उनले
‘भल्कनाइजेशन’ विधिको नाम दिए। भल्कनाइजेशन बिधिबाट तयार भएको रबरका उत्पादनहरू
दोषमुक्त (जाडोमा खुम्चिने र गर्मीमा पग्लिने) भए। आज त्यही प्रक्रियाद्वारा
मोटरकारमा प्रयोग हुने टायरको उत्पादन हुन्छ। चाल्र्सको मृत्यु भएको चार दशक
जतिपछि उनको नाममा अर्थात् ‘गुडइअर टायर तथा रबर कम्पनी’को स्थापना भयो। जुलाई १, १८६० मा चाल्र्स गुडइअरको मृत्यु भएको थियो।
अब
नेपालको सन्दर्भलाई जोडौं। नेपालमा धेरैजनाले ‘सहकारी ठगी’को आरोप खेपिरहेका छन्।
केहीले ‘फाइनान्स ठगी’ त केहीले ‘बैंक ठगी’को आरोप खेपिरहेका छन्। त्यस किसिमको
कसूरको कारण केही अनेकपटक थुनामा परे भने केही जेल चलानसमेत भए।
नेपालको
सन्दर्भमा केहीले खराब नियतसहित त्यस किसिमको ठगी गरेका थिए भने केहीले नियतवश
गरेका थिएनन्। परिस्थिति प्रतिकूल भएर उनीहरूले व्यापारमा घाटा खाएका थिए।
परिस्थितिवश उनीहरू समाजको नजरमा ठग हुन पुगेका थिए। तर त्यस किसिमको कार्यले
गर्दा उनीहरूले घाटा त खानुपर्यो नै, समाजबाट
पनि तिरस्कृत हुने स्थिति सृजना भयो।
ठूला–ठूला
ठगीको आरोपमा परेका व्यापारीहरूलाई जेल चलान गर्नुभन्दा कुनै एक स्थान वा शहरमा
मात्र उनीहरूले हिंड्डुल गर्न पाउने तर अन्य स्थान वा शहरमा जान नपाउने व्यवस्था
गर्दा त्यस किसिमका व्यापारीहरूले आफ्नो डुबेको रकम उठाउन सक्छन्। आफूले ऋण लिएका
व्यक्तिहरूको ऋणसमेत भुक्तान गर्न सक्षम हुन सक्छन्। तिनलाई जेल चलान गर्दा
उनीहरूलाई ऋण दिने व्यक्तिहरूको लगानी उठ्ने सम्भावना शून्य भएर जान्छ। जेल चलान
नगरेर सीमित स्वतन्त्रता दिंदा उनीहरूले ‘डुबेको रकम’ उठाउने नयाँ–नयाँ उपाय खोजी
गर्छन्।
व्यापारमा
जोखिम हुन्छ। यो तथ्यलाई व्यापारी वा लगानीकर्ताले बुझ्नुपर्छ। यो तथ्य सरकारले
पनि बुझ्नुपर्छ। यसैगरी, निक्षेपकर्ता (बैंक वा वित्तीय कम्पनी) हरूले
पनि बुझ्नुपर्छ। निक्षेपकर्ताहरूले पनि बढी प्रतिफल (ब्याज) पाउने लोभमा कमजोर
बैंक, वित्तीय संस्था, सहकारी वा अन्य यस किसिमका वित्तीय संस्थाहरूमा लगानी (रकम जग्मा)
गर्नुहुँदैन।
सरकारले
ठगी गर्ने वा परिस्थितिवश ठगी गरेको देखिने व्यवसायीहरूलाई उनीहरूले आर्थिक अपराध
गरेको भन्दै जेल चलान गर्नुभन्दा व्यवसायीहरूलाई अनेक किसिमले सहयोग गरेर उनीहरूको
व्यापार सफल हुने वातावरण सृजना गरिदिनुपर्छ। उनीहरूलाई अनेक किसिमका बजारसम्बन्धी
ताजा एवं उपयोगी जानकारी प्रदान गर्नुपर्छ। माथि नै उल्लेख गरिसकिएको छ, सबै व्यापारी बेइमान वा ठग हुँदैनन्। यसैगरी, नियम र कानून पनि यस किसिमको निर्माण गर्नुपर्छ कि ठगी गर्नेले ठगी
गर्न नपाओस्। अर्थात् अनुगमन कार्यलाई व्यवस्थित एवं नियमित पार्नुपर्छ।
एक त
हाम्रो समाजले पहिलेदेखि नै व्यापारीहरूलाई ठग देख्दै आएको छ। वामपन्थी विचारधारमा
विश्वास गर्नेहरूले उहिलेदेखि नै व्यापारी एवं उद्योगपतिहरूलाई ‘सामन्त’, ‘शोषक’, ‘दलाल’, ‘दलाल पूँजीपति’, ‘बुर्जुआ’
भन्दै आएका छन्। हामीले व्यापारी एवं उद्योगपतिहरूप्रतिको त्यो दोषपूर्ण
दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ।
देशलाई
धनी बनाउन उद्यमीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। उद्योगपति एवं व्यापारीहरूको
भूमिका महत्त्वपूर्ण हुन्छ। उद्यमीहरूको भूमिका त झनै महत्त्वपूर्ण हुन्छ।
उद्यमीहरूले नै नयाँ–नयाँ व्यापारको विकास गर्छन्। रेल, पानीजहाज, हवाईजहाज, कम्युटर, मोबाइल फोन, स्वचालित कारजस्ता वस्तुको विकास उद्यमीको प्रयासले गर्दा भएको हो।
माइक्रोसफ्ट, मेटा (फेसबूक), गूगल, अमेजन, टेस्ला, उबर, एअर
बी एन्ड बीजस्ता वस्तु एवं सेवाको विकास व्यापारीहरूले होइन, उद्यमीहरूले गरेका हुन्। यो यथार्थलाई सरकार र समाज दुवैले बुझ्न
आवश्यक छ।
अन्त्यमा, समाज र सरकारले उद्यीमाहरूलाई दण्ड, सजाय आदिले तर्साउनुको सट्टा उनीहरूले सजिलै काम गर्न पाउने
वातावरणको सृजना गरिदिनु उचित हुन्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, October 30, 2026 (शुक्रबार,
कात्तिक १३, २०८३)



