उग्र राष्ट्रवादको छायामा विश्व अर्थव्यवस्था
समय
गतिशील हुन्छ। मानिसको मनोविज्ञानले समयलाई गतिशील पारेको हुन्छ। मानिसको
मनोविज्ञान तथा व्यवहारमा परिवर्तन आएसँगै समयमा पनि परिवर्तन आउँछ। अहिले समय
बदलिएको छ। अहिले मानिसको मनोविज्ञानमा ठूलो परिवर्तन आएको छ। नेताहरूमा त झनै
ठूलो परिवर्तन आएको छ। त्यो परिवर्तन के होला त? अहिले विश्वका नेताहरूको सोचमा विश्व बन्धुत्वभावभन्दा उग्र
राष्ट्रवादको बाढी आएको। त्यति मात्र होइन, नेताहरूले
त्यो उग्र राष्ट्रवादलाई आफूहरू लामो समय (नमरुन्जेल) सम्म सत्तामा बस्ने औजारको रूपमा प्रयोग
गर्ने रणनीति बनाएका छन्।
कुनै
बेला विश्व बन्धुत्वको समय थियो। विश्व बन्धुत्वको भाव नेता एवं जनतामा जागृत भएको
हुनाले नै संयुक्त राष्ट्रसङ्घको जन्म भएको थियो। विश्व बैंक, अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंक, विश्व व्यापार सङ्गठन आदिको जन्म भएको थियो। क्षेत्रीय सङ्गठनको
रूपमा एशियाली विकास बैंक,
दक्षिण–पूर्व एशियाली राष्ट्रहरूको
सङ्गठन, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन
आदिको स्थापना भएको थियो।
केही
राष्ट्रहरू मात्र धनी हुँदा गरीब राष्ट्रहरूमा अशान्ति हुने र त्यो अशान्ति धनी
राष्ट्रहरूमा पनि पुग्ने अवधारणा राख्दै गरीब राष्ट्रहरूलाई आर्थिक एवं प्राविधिक
सहयोग गर्ने उद्देश्यका साथ धनी राष्ट्रहरूको पहलमा विश्व बैंकको स्थापना भएको
थियो। विश्व व्यापार सङ्गठनको स्थापना भएको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषको
स्थापना भएको थियो। अर्थात् धनी राष्ट्रहरूले गरीब राष्ट्रहरूलाई आर्थिक सहयोग
गर्नुपर्ने यथार्थ धनी राष्ट्रहरूद्वारा अनुभूत एवं स्वीकार गरिएको थियो। गरीब
राष्ट्रहरूको आर्थिक विकासका लागि विश्वका सबै राष्ट्र मिलेर काम गर्ने र त्यसका
लागि एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्ने उद्देश्य राखिएको थियो।
संयुक्त
राष्ट्रसङ्घको स्थापना (अक्टुबर २४, १९६५)
राष्ट्र–राष्ट्रबीच सद्भाव कायम गर्न गरिएको थियो। धनी राष्ट्रहरूले गरीब तथा साना
राष्ट्रहरूको अस्तित्व स्वीकार गर्ने वातावरण सृजना गर्न गरिएको थियो। यसैगरी, ठूला राष्ट्रले साना एवं गरीब राष्ट्रमाथि थिचोमिचो गरेमा, राष्ट्र–राष्ट्रबीच युद्ध भएमा, असमझदारी
कायम भएमा त्यस किसिमका समस्याहरूको समाधान संयुक्त राष्ट्रसङ्घबाट खोज्ने
उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको स्थापना गरिएको थियो। तर अहिले संयुक्त
राष्ट्रसङ्घ प्रभावहीन भएको छ। संयुक्त राष्ट्रसङ्घले कुनै ठोस कार्य गरेको
देखिएको छैन। धनी राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घलाई महत्व दिएको पाइएको छैन। यो
सङ्घले गरेका कार्यहरू हेर्दा अहिले यो सङ्घ अर्थहीन हुन पुगेको छ। उदाहरणका लागि
विश्वका अनेक महत्वपूर्ण समस्याहरूमाथि तथा गरीब राष्ट्रहरूको हितका लागि हालै
सम्पन्न संयुक्त राष्ट्रसङ्घको ८१औं बैठकमा छलफलसम्म पनि भएन। संयुक्त
राष्ट्रसङ्घको ८१औं बैठक संयुक्त राज्य अमेरिकाको न्युयोर्क सिटीमा हालै सम्पन्न
भएको थियो। उक्त बैठक सन् २०२६ को सेप्टेम्बर २२ देखि सेप्टेम्बर २८ सम्म चलेको
थियो। सो उच्चस्तरीय बैठकमा विभिन्न राष्ट्रका सरकारप्रमुखहरूले भाग लिएका थिए।
आआफ्ना धारणा राखेका थिए।
अहिले
संयुक्त राष्ट्रसङ्घ विश्वभरिका नेताहरूले एकअर्कालाई भेट्ने मात्र एक स्थलको
रूपमा सीमित हुन पुगेको छ। गफगाफ गर्ने एक स्थलको रूपमा सीमित हुने पुगेको छ। हालै
सम्पन्न भएको सो सङ्घको ८१औं बैठकले सोही तथ्य दर्शायो।
विश्व
व्यापार सङ्गठनको स्थापना (१ जनवरी, १९९५)
पनि एक राष्ट्रले अर्को राष्ट्रलाई र खासगरी धनी राष्ट्रले गरीब राष्ट्रहरूलाई
आर्थिक सहयोग गर्नुपर्ने उद्देश्य साथ गरिएको थियो। अन्तर्राष्ट्रिय व्यापारलाई
सरल पार्न गरिएको थियो। स्थापनाकालमा नै यस सङ्गठनको उद्देश्य निम्न अनुसार रहेको
उल्लेख गरिएको थियो।
विश्व
व्यापार सङ्गठनले,
1) विश्व व्यापारलाई उद्धार पार्ने तथा
त्यसको निगरानी गर्ने,
2) नियमहरू निर्माण गर्न र तिनलाई लागू
गर्ने,
3) वार्ताका लागि मञ्चको भूमिका निर्वाह
गर्ने,
4) दुई वा अधिक राष्ट्रहरूबीच व्यापार
विषयमा मतभेद भएमा त्यो मतभेद समाधान गर्ने,
5) पारदर्शिता अभिवृद्धि गर्ने,
6) गरीब राष्ट्रहरूलाई व्यापारको माध्यमबाट
सहयोग गर्ने।
विश्व
व्यापार सङ्गठनको उद्देश्यलाई छोटकरीमा भन्ने हो भने यो सङ्गठनको उद्देश्य व्यापार
बाधाहरू (जस्तै भन्सार शुल्क, कोटा
प्रणाली, संरक्षण नीति आदि) कम तथा निर्मूल पार्दै
राष्ट्रहरूबीच हुने व्यापारलाई सरल पार्ने तथा धनी राष्ट्रहरूले गरीब
राष्ट्रहरूबाट वस्तु तथा सेवा खरीद गर्नुपर्ने रहेको पाइन्छ।
संयुक्त राष्ट्रसङ्घको भूमिका अहिले जसरी सीमित हुन पुगेको छ, विश्व व्यापार सङ्गठनको भूमिका पनि त्यसैगरी सीमित हुन पुगेको छ। विश्व व्यापार सङ्गठनले प्रभावकारी किसिमले कार्य गर्न सकेको छैन। धनी राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापार नियम केवल आफूहरूलाई फाइदा हुने किसिमबाट निर्माण गरिरहेका छन्।
अहिले
विश्व व्यापार उग्र राष्ट्रवादको छायामा पर्न गएको छ। केही राष्ट्रहरू अति धनी हुन
जे जस्तो कार्य गर्न पनि तयार भएका छन्। केवल आफ्नो राष्ट्रको आर्थिक हित मात्र
सोच्ने मनस्थितिमा छन्। ऊर्जाका लागि जीवाश्म इन्धनको प्रयोग उच्च परिमाणमा गरेर
पृथ्वीको वातावरण सन्तुलन खराब पारिरहेका छन्।
अहिले
विश्व अर्थव्यवस्था केवल केही धनी राष्ट्रहरूको मुठीमा छ। ती राष्ट्रहरूले जे गर्न
खोजेका छन्, त्यही हुने स्थिति सृजना भएको छ।
अन्तर्राष्ट्रिय व्यापार असहज स्थितिमा छ।
उग्र
राष्ट्रवादले गर्दा विश्व व्यापार सङ्गठन, विश्व
बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता
सङ्गठनहरू भूमिकाविहीन हुन पुगेका छन्। अहिले विश्व अर्थव्यवस्था केवल केही
राष्ट्रहरूको मर्जीमा सीमित हुन पुगेको छ।
उग्र
राष्ट्रवाद के हो आउनुहोस्,
त्यसबारे छोटो चर्चा गरौं। आफ्नो
राष्ट्रको हितबारे सोच्नु राष्ट्रवाद हो। आफ्नो राष्ट्रको आर्थिक हितको बारे
सोच्नु राष्ट्रवाद हो। तर केवल आफ्नो राष्ट्रको मात्र हित सोच्नु र आफ्नो
राष्ट्रको हितका लागि अर्को राष्ट्रको स्रोत तथा साधनहरू मात्र होइन त्यसको
अस्तित्व नै समाप्त पार्न उद्धत हुनु उग्र राष्ट्रवाद हो। उग्र राष्ट्रवादले केवल
आफ्नो राष्ट्रलाई केन्द्रमा राख्छ। केवल आफ्नो राष्ट्रको मात्र वर्चस्व विश्वमा
कायम गर्न खोज्छ। विश्वको नेतृत्व नै आफ्नो हातमा लिन खोज्छ।
वर्तमान
विश्व अर्थव्यवस्था अहिले उग्र राष्ट्रवादको छायामा पिल्सिन पुगेको छ। स्वतन्त्र
किसिमले कार्य गर्न पाएको छैन। अहिले अनेक राष्ट्रहरूभित्र गृहयुद्ध चलेको छ। अनेक
राष्ट्रहरू एकअर्कासँग युद्ध गरिरहेका छन्। विश्व व्यापार कठिन हुन पुगेको छ।
जोखिमपूर्ण हुन पुगेको छ।
आगामी
वर्षहरूमा विश्व अर्थव्यवस्था कस्तो हुने हो? यसले
प्रगति गर्ने हो वा दुर्गति बेहोर्ने हो? यी
प्रश्नहरूको उत्तर भविष्यको गर्भमा नै छ। तर एउटा सत्य भने प्रस्ट गरी हामीसामु
प्रस्तुत भएको छ। त्यो सत्य के हो भने अहिले विश्व अर्थव्यवस्था उग्र राष्ट्रवादको
बोझले थिचिन पुगेको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, October 16, 2026 (शुक्रबार, असोज ३०, २०८३)
https://www.eprateekdaily.com/detail/100895


