Wikipedia

Search results

Saturday, May 2, 2026

Oil Crisis: Problem and Opportunity-Article-627

 तेल सङ्कट: चुनौती र अवसर

अमेरिका–इजराइल र इरानबीच आरम्भ भएको युद्ध अहिलेसम्म समाप्त भएको छैन। युद्ध प्रारम्भ बखतको स्थिति हेर्दा यो युद्ध छिटै समाप्त होला भनी अनुमान गर्ने आधारहरू धेरै थिए। अति शक्तिशाली अमेरिकाको अगाडि इरान लामो समयसम्म टिक्न नसक्ने अनुमान गरिएको थियो। तर युद्ध लम्बिने क्रमसँगै, त्यस युद्धमा अन्य राष्ट्रहरूको परोक्ष संलग्नतामा वृद्धि भएसँगै, यो युद्ध समाप्त हुने स्थिति अनिश्चिततातिर अग्रसर हुँदै गयो। सन् २०२८, फेब्रुअरी २८ मा अमेरिका–इजराइल र इरानबीच आरम्भ भएको युद्ध अहिलेसम्म समाप्त भएको छैन। तत्काल समाधान हुने लक्षण पनि देखिएको छैन।     

अन्य युद्धभन्दा यो युद्धको प्रकृति भिन्न रहेको सर्वविदित छ। यो युद्धमा युद्धरत पक्षहरू मात्र प्रभावित भएका छैनन्। संसारका थुप्रै देशहरू प्रभावित भएका छन्। सामरिकभन्दा आर्थिकरूपले धेरै प्रभावित भएका छन्। तेल (पेट्रोलियम पदार्थ) का लागि एशियाका राष्ट्रहरू बढी नै प्रभावित भएका छन्। ती देशका अर्थतन्त्र, ठूलो मात्रामा क्षति हुनेगरी, प्रभावित हुन पुगेका छन्।     

इरानले ठूलो मात्रामा तेल उत्पादन गर्छ। त्यति मात्र होइन, इरानको अधीन रहेको स्ट्रेट अफ हर्मुजबाट विश्वका लागि कुल निर्यात हुने तेलको २० प्रतिशत तेल निर्यात हुन्छ। अर्थात् संसारका अनेक राष्ट्रहरूले स्ट्रेट अफ हर्मुजको बाटो भएर आउने तेल प्राप्त गर्छन्। तेल आपूर्तिमा स्ट्रेट अफ हर्मुजको ठूलो भूमिका छ। अहिले स्ट्रेट अफ हर्मुज माथि इरान र अमेरिका दुवैको नियन्त्रण छ। स्ट्रेट अफ हर्मुज ज्यादै असुरक्षित हुन पुगेको छ। इरानको तेल उपत्पान र आपूर्ति दुवै अनियमित भएको त छ नै, संसारका अन्य राष्ट्रहरूको तेल आपूर्ति व्यवस्था पनि अनिश्चित हुन पुगेको छ।   

अमेरिका–इजराइल र इरान युद्धले एशियाका र मुख्यगरी दक्षिण एशियाका देशहरूलाई बढी प्रभावित गरेको छ। दक्षिण एशियाको आर्थिक ‘पावर हाउस’ मानिने भारतलाई झनै बढी प्रभावित गरेको छ। तर  एशियाकै आर्थिक पावर हाउस र विश्वका ठूला निर्यातक राष्ट्रहरूमध्ये एक मानिने चीनलाई भने ठूलो स्तरमा प्रभाव पारेको छैन। त्यस्तो किन भएको होला? त्यस्तो किन भएको हो भने चीनले ऊर्जाका लागि तेलमाथिको निर्भरतालाई कम पार्दै लगिरहेको छ।     

दक्षिण एशियाका राष्ट्रहरू भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल आदिले ऊर्जाका लागि तेलमाथिको अति निर्भरता घटाउन सकेका छैनन्। भारतको तुलनामा चीनका सडकहरूमा अहिले ठूलो सङ्ख्यामा विद्युतीय गाडी (इभी–इलेक्ट्रिक भेहिकल) दौडन्छन्। चीनले तेलमाथिको निर्भरता क्रमशः कम पार्दै लगिरहेको छ। चीनले ठूलो मात्रामा इरानबाट तेल खरिद गर्छ। यद्यपि इरानबाट चीनतर्फ आउने तेल स्ट्रेट अफ हर्मुज हुँदै आउँछ, तर चीनले ऊर्जाका लागि तेलमाथिको निर्भरता कम पार्ने रणनीति नै बनाएको छ।   

अमेरिका–इजराइल र इरान युद्धले नेपालको ऊर्जा बजार पनि प्रभावित हुन पुगेको छ। तेल आपूर्ति अनियमित र अनिश्चित हुन पुगेको छ। नेपालमा पनि तेल सङ्कट देखिएको छ। र यो तेल सङ्कट चुनौतीको रूपमा प्रस्तुत भएको छ। यो युद्ध लम्बिएमा नेपालमा तेल सङ्कट अति गम्भीररूपमा प्रस्तुत हुनेछ। र नेपालको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्नेछ। मुख्यगरी नेपालको यातायात क्षेत्रलाई नराम्ररी प्रभावित पार्नेछ। ढुवानी लागत अप्रत्याशितरूपले बढ्नेछ। यात्रुहरूको यात्रा लागत पनि बढ्नेछ। यी कार्यहरूले मूल्य वृद्धिलाई सघाउ पुर्याउनेछ। नेपालमा ठूलो स्तरमा मूल्य वृद्धि हुनेछ।     

अमेरिका–इजराइल र इरानबीच भएको युद्ध नेपालमा ल्याउने तेल सङ्कट र त्यो तेल सङ्कटले ल्याउने चुनौतीलाई हामीले अवसरको रूपमा पनि उपयोग गर्न सक्छौं। कसरी? कोभिड – १९ वा कोरोना महामारी फैलिनुपूर्व कोरोना भाइरसविरुद्ध कुनै खोपको विकास भइसकेको थिएन। सन् २०१९ मा जब कोरोननले ताण्डव नृत्य देखाउन थाल्यो, लाखौंको ज्यान लिन थाल्यो, कोराना भाइरसविरुद्ध खोपको आविष्कार भयोस विकास भयो। बजारीकरण भयो। यस खोपले लाखौं बिरामीको ज्यान पनि जोगायो।   

कतिपय, माथि उल्लेख गरिएझैं, समस्याहरू चुनौती बनेर आउँछन्, तर तिनले अवसर पनि ल्याउने गर्छन् । कोरोना महामारीले कोरोना खोपको विकास गर्ने अवसर प्रदान भएझैं। हामी यो तेल सङ्कटलाई सौर्य ऊर्जा, वायु ऊर्जा, जैविक अवशेष ऊर्जा (गोबर ग्याँस), जल ऊर्जा आदि प्रविधिको विकास एवं विस्तारको अवसरको रूपमा पनि उपयोग गर्न सक्छौं।   

प्रभावकारी योजनाहरूको निर्माण गरेर हामीले ठूलो परिमाणमा जलविद्युत् उत्पादन गर्न सक्छौं। हिमाच्छादित खोलाहरूको सङ्ख्या नेपालमा धेरै छ। जलविद्युत्का लागि आवश्यक पर्ने पानी हामी ती खोलाहरूबाट नियमित रुपमा प्राप्त गर्न सक्छौं। नेपालका उद्यमी एवं व्यापारीहरूलाई जलविद्युत् उत्पादनमा लगानी गर्न प्रोत्साहित गर्न सक्छौं। यसैगरी, विदेशमा बसोवास गरिरहेका नेपालीहरूलाई नेपालको जलविद्युत् उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सक्छौं। सामान्य बचतकर्ताहरूलाई पनि यस क्षेत्रमा, सानासाना जलविद्युत् उत्पादन गृहमा लगानी गर्न प्रोत्साहित गर्न सक्छौं। यस प्रकार हामीले यो तेल सङ्कटलाई नेपालमा जलविद्युत् उत्पादन विस्तारको अवसरको रूपमा उपयोग गर्न सक्छौं।   

तेल (पेट्रोलियम पदार्थ)को भविष्य सुरक्षित छैन भन्नेहरूको सङ्ख्या धेरै छ। तेलको अत्यधिक उत्पादन र प्रयोगले विश्व–वातावरण अति प्रदूषित हुन पुगेको छ र पृथ्वीको तापक्रम विश्व–वातावरणलाई क्षति गर्ने किसिमबाट बढेकोले तेलको खपतमा कमी ल्याउनु तथा तेलको विकल्पको विकासमा जोड दिनुपर्ने आवाज संसारभरि घन्किरहेको छ। अमेरिकी राज्य क्यालिफोर्नियाले सन् २०४५ सम्म जीवाश्म ऊर्जा प्रयोगमा ठूलो कमी ल्याउने घोषणा गरेको छ। यसैगरी, युरोपियन युनियनले पनि सन् २०४० सम्म तेल प्रयोगमा उल्लेखनीय कमी ल्याउने लक्ष्य राखेको छ।     

हामी पनि सन् २०४० को अन्त्यसम्म, नेपालले तेल प्रयोग नगर्ने र तेलको सट्टा जलविद्युत् उपयोग गर्ने वाचापत्र तयार गर्न सक्छौं। त्यो वाचालाई अन्य योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य बनाउन सक्छौं। बालेन सरकार मात्र होइन, अब आउने सरकारहरूले पनि ऊर्जाका लागि तेलमाथिको निर्भरता हटाउने र तेललाई जलविद्युत्द्वारा विस्थापित गर्ने लक्ष्य राख्नु उचित हुनेछ। निष्कर्षमा, अमेरिका–इजराइल र इरान युद्धले सृजना गरेको तेल सङ्कटलाई नेपालमा जलविद्युत् उत्पादन विस्तारको अवसरको रूपमा प्रयोग गरौं।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 1, 2026

https://www.eprateekdaily.com/detail/98500