साम्यवादको पतन र पूँजीवादको विस्तार!
के
साम्यवाद (माक्र्सवाद) पतनतर्फ उन्मुख भएको हो? के
पूँजीवाद अति लोकप्रिय भएको हो? अहिले
यी दुई प्रश्न विश्वव्यापीरूपमा चर्चामा छन्। पूँजीवादले केही राष्ट्रहरूलाई अति
धनी पारेको तर अर्कोतिर साम्यवादी कहलिएका राष्ट्रहरू चरम गरीबीको दलदलमा
भासिएकाले यी दुई प्रश्नले चर्चा पाउनु स्वाभाविक बनेको छ। अहिले साम्यवादी
कहलिएका राष्ट्रहरू– भेनेज्युएला र क्युबाका बजारहरूमा इन्धनको ठूलो अभाव छ। यी
दुवै राष्ट्रमा महँगीले आकाश छुने तरखर गरिरहेको छ। साम्यवादले यी दुई राष्ट्रका
अर्थतन्त्र उठ्न कठिन हुने गरी ढालिदिएको छ। विचारमा साम्यवादी भए तापनि अर्थ
व्यवस्था पूँजीवादी भएकोले चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुन पुगेको छ।
चीन अहिले पूँजीवादको घोडामाथि चढेको छ। संयुक्त राज्य अमेरिका, जर्मनी, ग्रेट ब्रिटेन, इटाली, जापान, क्यानाडा द कोरियाजस्ता देशहरूले पूँजीवाद अङ्गीकार गरेकाले ती
राष्ट्रहरू धनी हुन सफल भएका छन्। अमेरिका त विश्वको नै सर्वाधिक धनी राष्ट्र हुन
पुगेको छ।
सर्वाधिक
आश्चर्यको कुरा त के भने भारतबाट साम्यवादी विचार लोप हुने स्थितिमा पुगेको छ।
कुनै समय दशकौं वामपन्थीहरूले शासन गरेको भारतको पश्चिम बङ्गाल अहिले भारतीय जनता
पार्टीको हातमा पुगेको छ। त्यस्तै, यसपालिको राज्यस्तरीय निर्वाचनमा केरलबाट
वामपन्थी पार्टी बढारिएको छ। पश्चिम बङ्गालबाट साम्यवादले सदाको लागि बिदा लिने
स्थिति देखिएको छ।
नेपालमा
पनि साम्यवादको स्थिति दयनीय हुन पुगेको छ। नेपालमा साम्यवादी नेताहरूले
साम्यवादलाई चारोको रूपमा प्रयोग गरे। लामो समयसम्म माछा (जनता) फँसाए पनि।
साम्यवाद शब्द प्रयोग गरेर,
गरीबहरूलाई धनी हुने सपना देखाएर, सत्ता र शक्तिको चरम आनन्द लिए। सत्ता र शक्तिमा रहन नेपालका
साम्यवादी नेताहरूले राज्यका साधनहरूको अति दुरुपयोग गरे। तर विगतको चुनाव (२०८२
साल) ले जनता साम्यवादको मायाजालबाट सचेत भएको र जनताले यसको विकल्प खोजेको सङ्केत
मात्र होइन प्रमाण नै दियो। नेपालमा अब साम्यवादी विचार सदाको लागि अन्त्य हुने
स्थितिमा पुगेको सङ्केत विगतको चुनावले देखायो।
२०८२ सालको चुनावले नेपालका साम्यवादी नेताहरूलाई एउटा ठूलो सन्देश दिएको छ। त्यो सन्देश के हो भने अब साम्यवाद देखाएर, गरीबी देखाएर चुनाव जित्न सकिंदैन। चालीस–पचास वर्षदेखि राजनीति गर्ने वामपन्थी नेताहरूले विगतको चुनावमा लज्जाजनक किसिमले पराजय भोग्नु त्यस कुराको सङ्केत थियो। साम्यवादी नेताहरूप्रति नेपाली मतदाताहरूको विचार यस्तै रहने हो भने अर्को चुनावमा नेताहरूलाई साम्यवादी दलको नेताको हैसियतमा चुनावमा उठ्न समेत कठिन हुनेछ।
नेपाल
र भारत मात्र होइन, दक्षिण एशियामा नै साम्यवादको भविष्य
अँध्यारो तर्फ धकेलिएको छ। धनीहरूको धन लुटेर तथा राज्यका साधन– भूमि, श्रम, पूँजी, सङ्गठनमाथि राज्य (सर्वहारा वर्ग) को कब्जाले कुनै पनि राष्ट्र धनी
नहुने तथ्य यस क्षेत्रको जनताले अब राम्ररी बुझेको सङ्केत आउन थालेको छ। यो लेखको उद्देश्य साम्यवाद र पूँजीवादको
राजनीतिक पक्षको चर्चा गर्नु भने रहेको छैन। यो लेखको उद्देश्य साम्यवाद र
पूँजीवादको अर्थिक पक्षको चर्चा गर्नु रहेको छ। र साम्यवाद अलोकप्रिय र पूँजीवाद
अति लोकप्रिय हुनुको कारणहरू खोज्नुरहेको छ।
साम्यवादको
आर्थिक दर्शन अति उपयोगी छ। यो दर्शनले गरीबहरूको आर्थिक हितको संरक्षण गर्नुपर्छ
भन्ने विचारको वकालत गर्छ। यहाँसम्म कि साम्यवादको यो दर्शनलाई पूँजीवादी
राष्ट्रहरूले पनि अङ्गीकार गरेका छन्। पूँजीवादी राष्ट्रहरूले आफ्ना गरीब
नागरिकहरूलाई विभिन्न कार्यक्रमहरू– सामाजिक सुरक्षा, उपचार सहयोग,
कम-भाडा आवासमार्फत आर्थिक सहयोग
गरिरहेका छन्।
साम्यवादको
आर्थिक दर्शन राम्रो हुँदाहुँदै पनि यो विचार विश्वबाट नै किन लोप हुने स्थितिमा
पुग्न थालेको छ? यो प्रश्नको उत्तर सजिलो छ। साम्यवादको
प्रयोग साम्यवादी नेताहरूले चिरकालसम्म आफू शक्ति र सत्तामा बस्नका लागि गरे। राज्यका साधनहरूलाई आफ्नो फाइदाका
लागि उपयोग गरे। भारतको पश्चिम बङ्गाल राज्यमा वामपन्थी नेता ज्योति वसुले २३ वर्ष, सन् १९७७ देखि २००० सम्म, मुख्यमन्त्री
भएर काम गरे। नेपालका साम्यवादी नेता खड्गप्रसाद शर्मा ओली तीनपटक नेपालको
प्रधानमन्त्री भए। ओली, विगत चुनावमा पनि प्रधानमन्त्री हुने
किसिमबाट चुनावमा प्रत्याशी थिए। पुष्पकमल दहाल २०५२ सालदेखि अहिलेसम्म पनि
राजनीतिमा छन्। राजनीतिबाट सन्न्यास लिएका छैनन्। अहिले पनि उनी प्रम हुने दाउमा
छन्। दहाल पनि तीनपटक नेपालका प्रधानमन्त्री भइसकेका छन्। क्युबाका नेता फिडेल
कास्ट्रोले करीब ५० वर्षसम्म क्युबाको राजनीतिलाई आफ्नो वरिपरि घुमाए। विभिन्न
पदमा बसे।
संसारभरि
नै साम्यवादलाई अलोकप्रिय,
अप्रभावकारी र बदनाम गराउनमा साम्यवादी
नेताहरूको ठूलो हात छ। सत्यको यो एउटा पाटो हो। सत्यको अर्को पाटो हो– साम्यवादको
राजनीतिक दर्शनले नेतालाई निरङ्कुश बनाउँछ। र उनीहरूलाई सत्तामा लामो समयसम्म रहने
वातावरण तयार पारिदिन्छ। साम्यवादको राजनीतिक दर्शन त्यस्तो माटो हो जहाँ
जन–उपयोगी, लोक कल्याणकारी वा गरीबहरूको हित हुने
बिरुवा (नेता) उम्रिनै सक्तैन। यो माटोमा केवल तानाशाह र शक्ति पिपासुहरूको जन्म
हुन्छ। र ती शक्ति पिपासुहरूले उल्टो गरीबहरूमाथि नै शासन गर्छन्। देशलाई गरीब
पार्छन्। क्युबामा त्यही भएको छ।
अब पूँजीवाद किन लोकप्रिय हुँदैछ त्यसबारे चर्चा गरौं। पूँजीवाद अहिले कार्ल माक्र्सकालीन पूँजीवाद रहेको छैन। पूँजीवादले अहिले आफूलाई प्रचुर मात्रामा सच्चाएको छ, सुधारेको छ। एउटा कुरा सुन्दा के अचम्म लाग्न सक्छ भने साम्यवादका केही आर्थिक कार्यक्रमहरूको प्रयोग गरेर पूँजीवादले आफूमा गरीबमुखी सुधारहरू ल्याएको छ। गरीबहरूको हित हुने काम गर्ने प्रयास गरेको छ। हो, यो नै कारण हो र महत्वपूर्ण कारण हो, पूँजीवाद लोकप्रिय बन्नुमा। पूँजीवादले परिस्थितिवाद (Theory of Adaptation) अनुसार कार्य गर्छ। आफूमा निरन्तर सुधार गरिरहन्छ।
पूँजीवाद
पनि, पहिलेझैं अवस्थामा रहेको भए, आफूभत्रि अनेक सुधार नल्याएको भए, पूँजीवादको
स्थिति पनि साम्यवादजस्तै हुने थियो। पतनतर्फ उन्मुख हुने थियो। पूँजीवाद पनि पूर्णरूपमा असल भने होइन। यो
वादभित्र पनि अनेक समस्याहरू छन्। पूँजीवादले अहिले पनि केही व्यक्तिलाई धनी
तुल्याउने कार्य गरिरहेको छ। तर पनि पूँजीवादभित्र सुधार गर्ने ठाउँ हुन्छ। र सोही
अनुसार पूँजीवादले आफूमा सुधार ल्याउँछ।
विश्वराज
अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, May 22, 2026
https://www.eprateekdaily.com/detail/98881

No comments:
Post a Comment