Friday, May 29, 2026

Free Trade: Nepal Losing or Benefiting?-Article-631

 स्वतन्त्र व्यापार: नेपालको हितमा वा हितविपरीत

स्वतन्त्र व्यापारको वकालत गर्ने ‘विश्व व्यापार सङ्गठन’ को नेपाल सदस्य भएको दुई दशकभन्दा बढी अवधि भइसकेको छ। विश्व व्यापार सङ्गठनले दुई देशबीच हुने व्यापारलाई सरल पार्न भन्सार शुल्क, कोटा, अनुदान, व्यापार बन्द, आयात लाइसेन्स, स्तर तथा नियमन जस्ता व्यापार–बाधाहरूलाई विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले हटाउनुपर्ने तथा यसका सदस्य राष्ट्रहरूबीच स्वतन्त्र किसिमले व्यापार हुनुपर्ने कुरामा जोड दिन्छ। विनाकुनै व्यापार बाधा दुई राष्ट्रबीच स्वतन्त्र किसिमले व्यापार हुनुपर्छ भन्ने सिद्धान्तको विश्व व्यापार सङ्गठन पक्षधर हो। १६४ सदस्य राष्ट्रहरू भएको विश्व व्यापार सङ्गठनको मुख्य कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा छ।   

सन् २००४ देखि नेपाल विश्व व्यापार सङ्गठनको सदस्य रहँदै आएको छ। यो दुई दशकभित्र नेपालले विश्व व्यापार सङ्गठनको सदस्य भएर स्वतन्त्र व्यापार वा अन्तर्राष्ट्रिय व्यापारबाट कति फाइदा प्राप्त ग¥यो त ? धेरै कमायो वा धेरै गुमायो? यो प्रश्नको उत्तर खोज्नुपूर्व अन्तर्राष्ट्रिय व्यापार के हो र यो किन हुन्छ? त्यसबारे जानकारी लिउँ। कुनै एक देशले अर्को देशसँग वा कुनै एक देशले विभिन्न देशसँग व्यापार गर्नु अन्तर्राष्ट्रिय व्यापार हो।

अब अन्तर्राष्ट्रिय व्यापार किन हुन्छ ? त्यसको अर्थ खोजौं। सूचना र प्रविधिको चरम विकास भएको यो स्थितिमा कुनै पनि राष्ट्रले आफूलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरू उत्पादन गर्न सक्नु सम्भव हुँदैन। लागत, साधन वा स्रोतको हिसाबले गर्दा सम्भव हुँदैन। कुनै पनि राष्ट्रले स्रोत, साधन, प्रविधि वा लागतको कारण आफ्नो राष्ट्रलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरू उत्पादन गर्न नसक्ने स्थितिले गर्दा त्यस राष्ट्रले अनेक वस्तु वा सेवा आयात गर्नुपर्ने हुन्छ। यसैगरी, कुनै पनि राष्ट्रले आफूले खपत गर्नेभन्दा बढी उत्पादन भएको परिमाण निर्यात गर्नुपर्ने हुन्छ। यसै कारणले गर्दा पनि दुई देशबीच अन्तर्राष्ट्रिय व्यापार हुने गर्छ।   

माथि उल्लेख गरिएभन्दा अन्य विभिन्न कारणले गर्दा पनि अन्तर्राष्ट्रिय व्यापार हुने गर्छ। अर्थात् अन्तर्राष्ट्रिय व्यापारका अनेक सिद्धान्तहरू छन्। यस लेखमा अन्तर्राष्ट्रिय व्यापारका दुईवटा सिद्धान्तको चर्चा गरिन्छ।

पूर्ण लाभको सिद्धान्त:  यस सिद्धान्त अनुसार जब कुनै एक राष्ट्रले अन्य राष्ट्रहरूभन्दा कुशलतापूर्वक कुनै वस्तु वा सेवा उत्पादन गर्छ भने त्यो राष्ट्रले त्यो उत्पादन (वस्तु वा सेवा) अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर लाभ प्राप्त गर्छ। अर्थात् यो सिद्धान्त अनुसार कुनै एक राष्ट्रले पूर्ण लाभका कारण अन्य राष्ट्रहरूभन्दा सस्तोमा स्तरीय वस्तु वा सेवा उत्पादन (उत्पादनका साधनहरूको कुशलताका कारण) गर्न सक्ने स्थितिले अन्तर्राष्ट्रिय व्यापार सम्पन्न हुन्छ। पूर्ण लाभ भनेको कुनै एक राष्ट्रसँग मात्र खास किसिमका स्रोत एवं साधनहरू रहने तथा अन्य राष्ट्रहरूसँग ती खास किसिमका स्रोत एवं साधनहरू नरहने स्थिति हो।

तुलनात्मक लाभको सिद्धान्त:  तुलनात्मक लाभ विशेष किसिमको कुशलतासँग सम्बन्धित रहेको पाइन्छ। जब कुनै राष्ट्रले अन्य राष्ट्रहरूले प्रयोग गर्ने मात्रामा उत्पादनका साधनहरू (प्राकृतिक स्रोत, श्रम, पूँजी र सङ्गठन) प्रयोग गरेर अन्य राष्ट्रहरूभन्दा कुनै वस्तु ठूलो परिमाणमा उत्पादन गर्न सक्षम भएमा त्यस राष्ट्रले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ प्राप्त गर्न सक्छ। अर्थात् कुनै वस्तु उत्पादनमा तुलनात्मक लाभ प्राप्त भएको कारण कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय व्यापार गर्छ भन्ने कुरा यो सिद्धान्तले भन्छ।   

अब अन्तर्राष्ट्रिय व्यापारमा नेपालको स्थितिको विश्लेषण गरौं। नेपालले अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण लाभको स्थितिबाट फाइदा उठाउन सक्ने स्थिति छैन। यसैगरी, तुलनात्मक लाभको स्थितिबाट पनि फाइदा उठाउन सक्ने स्थिति छैन। नेपालले अन्य राष्ट्रहरूभन्दा सस्तोमा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गरेर विभिन्न राष्ट्रहरूलाई बिक्री गर्न सक्ने स्थिति छैन। दुई आर्थिक महाशक्तिहरू चीन र भारतभन्दा सस्तोमा वस्तुहरू उत्पादन गरेर ती राष्ट्रहरूलाई नेपालले बिक्री गर्न सक्ने स्थिति सपनाको कुरा हो। संसारभरिमा नै चीनले सस्तोमा वस्तुहरू उत्पादन गर्न, लगभग एकाधिकारझैं प्राप्त गरेको छ।   

वर्तमान स्थिति हेर्दा नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा लिन सक्ने स्थिति देखिंदैन। भविष्यमा के होला भन्न सकिंदैन। सूचना प्रविधि, पूँजी उपयोग, श्रम आदिको क्षेत्रमा भविष्यमा प्रचुर विकास गरेर नेपाल अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा उठाउने स्थितिमा पुग्न पनि सक्छ होला। तर वर्तमान स्थिति हेर्दा नेपाल अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा उठाउन सक्ने स्थितिमा रहेको देखिंदैन। उल्टो नेपाल, चीन र भारतको संरक्षित बजार हुँदै गएको देखिएको छ।   

वर्तमान स्थितिमा नेपालले स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिनु उपयुक्त हुन्छ। नेपालले सियोदेखि हवाईजहाजसम्म आयात गर्नुपर्ने स्थिति अन्त्य गर्नु उपयुक्त हुन्छ। नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर हुन सक्ने स्थिति छ। साग, फलफूल, तरकारी, माछा, मासु, अन्डा, दूध एवं दुग्ध पदार्थ आदिको उत्पादनमा नेपाल आत्मनिर्भर हुन सक्ने स्थिति छ। यसैगरी, विशेष प्रयत्न गर्ने हो भने हाम्रो देश चामल, गहुँ, मकै, भटमास, कोदो, केराउ, चनाजस्ता अत्यावश्यक अन्नको उत्पादनमा पनि आत्मनिर्भर हुन सक्ने स्थिति छ।   

नेपालमा मोटर र मोटरका पार्टपुर्जाहरू उत्पादन गर्न सकिने पनि प्रचुर सम्भावना छ। हरेक वर्ष नेपालले ठूलो परिमाणमा मोटरसाइकल, मोटरकार, ट्रक, बस, भ्यान, टिपर आदि भारतबाट खरीद गर्छ। यसरी खरीद गर्दा नेपालले आर्जन गरेको ठूलो परिमाणको विदेशी मुद्रा खर्च हुन्छ।कृषकहरूलाई अनुदान दिएर, कृषि ऋण उपलब्ध गराएर तथा उत्पादन बिक्रीका लागि बजार खोजिदिने जस्ता कार्यहरू गरेर सरकारले कृषकहरूलाई सहयोग गर्न सक्छ। प्रोत्साहित गर्न सक्छ। 

मौसम एवं अन्य कुराहरूले उत्पन्न गर्ने अनेक किसिमका जोखिमबाट कृषकहरूका बाली जोगाउन सरकारले कृषि बीमाको व्यवस्था पनि गर्न सक्छ।  निष्कर्षमा, यदि सरकारले एक विशेष किसिमको कृषि नीति ल्याउने हो भने हाम्रो देशलाई कृषि उत्पादनमा आत्मनिर्भर तुल्याउन सकिन्छ। यसैगरी, एक विशेष किसिमको उद्योग एवं व्यापार नीति ल्याउने हो भने सियोदेखि हवाईजहाजसम्म विदेशबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ।     

भविष्यमा के होला भन्न सकिने स्थिति नभए तापनि हालको लागि नेपालले स्वावलम्बी अर्थतन्त्र विकास गर्नु उपयुक्त हुन्छ। राष्ट्रलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु (केहीबाहेक) नेपालभित्र उत्पादन गर्ने लक्ष्य राख्नु उपयुक्त हुन्छ। केही वस्तुहरू अनिवार्यरूपमा नेपालमा नै उत्पादन गर्ने नीति ल्याउनु उपयुक्त देखिन्छ।








विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 29, 2026 (शुक्रबार, जेठ १५, २०८३)

https://www.eprateekdaily.com/detail/98998

No comments:

Post a Comment