Friday, August 19, 2011

कविता - २ विश्व कविता

विश्वराज अधिकारी
२०११ मार्च ८
कालो रात आयो

फेरि  कालो एक्लो रात आयो
याद मीठो वात आयो
अतीतको थालमा
सम्झनाको सौगात आयो

रूपको गित आयो रङ्गको संगित आयो
पोखिएर मन भरी वशन्त वहार छायो

म छु एक्को कोठा छ टिल पिल तारा आकास छ
मनमा आज त्यसै त्यसै इन्द्रेणीको बास छ

आँखा भरि रातको कालो छाँया छ
तर म देख्दै छु चारैतिर कसैको माया नै माया छ

सुतिसकै सबै दिवाचरहरु अल्झिएर जोड घटाउको जालमा
आँखामा निद्रा छैन मेरो मस्त छु कल्पनाको तालमा

पुगौला कुनै दिन त सपनाको त्यो गाउँमा
भेटौला कसैलाई फेरि त्यही ठाउँमा

ती दिनहरु

आज फेरि गीत त्यही गाउँदै छु
सुतेका यादहरुलाई ब्युझाउँदै छु

ती दिनहरु मधुर मधुर
म र कोही मेरो साथमा
डुबेका ती मनहरु
आनन्दको उन्मादमा

धरतिमा पाइलाहरु
आकाश माथिको आभाष थियो
चाँदनी त्यो रातमा
मनभरि हिरा मोतिको संसार थियो

मनहरु कहिले फूलहरुमा
कहिले पात पातमा
हाँसोका लस्करहरु
हरेक बात बातमा

सम्पत्ति झै ती यादहरु मनको हरेक काप कापमा
एकलै छु सुन्य छ चारैतिर तर पनि छ कोही मेरो साथमा

कुरा कुनै खास गर

फूलको बात गर
सुगन्धको बात गर
तर आज कुरा कुनै
अलिकति खास गर

जुन छरिएको छ चारैतिर
चम्किलो आकाश छ
यो मनको कुना कुनामा छैन अध्यारो कुनै
त्यो मनलाई साथ साथ गर
तर आज कुरा कुनै
अलिकति खास गर

मनको आँखामा
आँखाको मनमा
छाया नै छाया छ
यो आँखामा हेरेर
बुझिदिने प्रयास गर
तर आज कुरा कुनै
अलिकति खास गर

सुनसान छ चारैतिर
आँखाहरुमा निदरीको राज छ
रातको यो प्रथम प्रहरमा
केवल यी आँखाहरुमा अनिन्द्रको बास छ
भत्किने हो कि मनको पर्खाल
अलिकति त्रास छ
बुझाउँदै छु मनलाई
केही त विश्वास गर
तर आज कुरा कुनै
अलिकति खास गर

खोली बस ढोका मनको

खोली बस ढोका मनको
कोही आउँदै छ
मुटु भरि कोसिली सम्झनाको
मुरी मुरी ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आउँदै छ

ओट भरी गीत छ
आँखा भरी छाया
ढुकुटी भरी नरित्तिने
न्यानो न्यानो माया
साथमा केही नयाँ
खास ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आँउदै छ

जीवनको उकाली ओराली
ओर्लिदै चढ्दै
कहिले थाक्दै कहिले रम्दै
आशाको सुन चाँदी
धेरै धेरै ल्याउँदै छ
खोली बस ढोका मनको
कोही आउँदै छ


मधुपर्क

आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा
बुनिँदै छ जीवन डोरी सपनाको पातले
चढदै छ मात आशै आशले
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

कल्पनाको रथ चढी सयर छ संसारको
सुन्दै छु मधुर संगीत वरपर
चारैतिर पायलु झंकारको
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

इन्द्रेणीको सातरङ्ग
मनको आकाशमा
चहकिलो मुहार छ
सात सूर्यको प्रकाशमा
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा
आगमनमा चीर प्रतीक्षा पनि लाग्ने छ छोटो घडी
समीप त कति भनु अमूल्य रत्न मणी
सुवासले भन्छ कोही आउँदै छ
विश्वासको आकाशमा कोही उदाउँदैछ
आज फूलै फूल पात पातमा
मधुपर्क हरेक बात बातमा

म छु धरतिमा

म छु धरतिमा मन छ आकाशमा
चम्किलो मुहार छ यादको प्रकाशमा

सम्झनाको सागरमा उर्लदो छाल छ
किनार पर्दैछन जीवन सिपीहरु मोहक हाल छ

खोज्दै छु जीवनका ती अमूल्य लिलाहरु
भत्काउन चाहन्छ मनले मर्यादाका किलाहरु

भो कति साँच्ने जीवनका ती कडिहरु
तर पनि भुल्न कसरी सक्नु उमेरका ती घडिहरु

बादलुको पङ्खमा यात्रा सात समुन्द्रपारको
हुँदैछु अति समीप मायाको संसारको

मनको शूल

सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ कहिले तिल जत्रो भूल
कथा जति व्यथा बने पतझड वशन्त वहार भयो
मेरो लागि यो दिलको रहर
अर्कै ग्रहको संसार भयो
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

थुन्न खोज्छु कति कति उमेरो खोला
बगिसकेको पानी हजूर कसरी फर्किने होला
भ्रममा छु बग्ने हो कि उल्टो उमेरको गंगा
भ्रममै बनी दिन्छ यो मन आकाशमाथिको चङ्गा
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

भूलको कथा भूलको व्यथा कसैलाई सुनाउनु छ
चिरा चिरा परेको मन खोलेर देखाउनु छ
भूलमा छटपटिएको यो मन कसैले देख्ने होला
कथा मेरो थोरै भए पनि कसैले बुझिदिने होला
सार्है घोच्ने रै’छ हजूर मनको शूल
पहाड बनी दिने रै’छ तिल जत्रो भूल

बितिसक्यो रात सबै

बितिसक्यो रात सबै एक पहर बाँकी छ
भनी सक्यौ कुरा सबै मन खोल्न बाँकी छ

गरी सके बयान सबै भन्नु नै के छ र
तिमी भन्छौ अझै केही भन्न बाँकी छ

विश्वासमा विश्वास हुन्छ अविश्वासमा हुन्छ के
नाप्न केवल अब मेरो विश्वासको सीमा बांकी छ

संकाको सीमा हुँदैन तर देख्न सके ढुंगामा पनि भगवान देख्छिन्
अब केवल महावीर झै छाति चिर्न बाँकी छ

आँशु

सुखमा हाँस्छ आँशु
दुखमा रुन्छ आँशु
थाहा नै नपाइ कति खेर
आँखाबाट झर्छ आँशु

दुख पखाली दिन्छ आँशु
सुख उचाली दिन्छ आँशु
सुख दुखको साथी बन्दै
हरपल साथ दिन्छ आँशु

छैन आँशु बसमा मेरो
आँखामा उसैको अधिकार छ
आँखासँग यसको
अटुट प्यार छ

एक्लोमा साथी आँशु
भीडमा पनि साथी आँशु
सुख दुख मेरो भोग्दै मसँग
सँग सँगै हिंडछ आँशु

मेरो कथा बोकी दिन्छ
मेरो व्यथा बोकी दिन्छ
कस कसले पीडा मलाइ दिए
सबलाई चिन्छ मेरो आँशु

बैरिलाई देख्दा रुन्छ आँशु
मित्रलाई देख्दा हाँस्छ आँशु
कहिले बनी मोतिका दाना गाला भरि
कहिले बन कांढा झै चसक्क घोच्छ आँशु

मन आगो

सल्की रहन्छ धुँवा नआइ
भित्र भित्रै मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

छिटै फैलिन्छ बन भन्दा मन आगो
निभाउन गार्हो हुन्छ बन भन्दा मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

लाख कोसिस गरे निभ्ला बरु
विशाल फैलिएको बन आगो
निभदैन सात बादल झरे पनि
दन दनी सल्केको मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

नबाल मनमा मेरो आगो
तिमीतिर थाहै नपाइ सर्न सक्छ
मैलै रोक्न खोज्दा खोज्दै
तिम्रो अस्तित्व खरानी बन्छ
निर्दयी हुन्छ अति अति
बन भन्दा मन आगो
डर लाग्दो हुन्छ बन भन्दा
नदेखिने मन आगो

१०
मनको आँखामा

मनको आँखामा आँखाको मनमा कसैको बास छ
छाया छ चारै तिर मन मोहकता अलि खास छ

हावामा उमङ्ग छ अनौठो सुगन्ध छ
सीमाहीन कल्पनामा कोही मेरो संग छ

सुन छ चांदी छ हिरामोति जबाहरात छ
सजिएर हिँडेको भावना जन्ति उफ क्या बात छ

मनको आकासमा इन्द्रेणी झुलेको छ
छात भरि मन मेरो त्यसै त्यसै फुलेको छ

११
चाँदनी आकाश थियो                   

चाँदनी आकाश थियो
शितल बतास थियो
भदौरे रातमा
समझ्नाको बरात थियो

बेली चमेलीमाथि सुगन्धको राज थियो
घरि घरि आकाशमा बिजुलीको प्रकाश थियो
बादलको डोली चढी
एक्लो त्यो शून्य रातमा
कोही आउने आश थियो

गीत थियो
संगीत थियो
सुर थियो ताल थियो
बाजा गाजा केही थिएन
तर मिठो गीतको आभास थियो

आँखामा उमङ्ग थियो
मनमा तरङ्ग थियो
नदेखिए पनि त्यहाँ
कोही मेरोसङ्ग थियो

१२
याद

म थिए केवल मेरो छाया थियो
तर चारैतिर उसको माया थियो

यादको बाढीमा डुबेको थिए म
टाउको माथिसम्म मात्र पानी पानी थियो

जीवन नाटकमा कहिले नायक कहिले खलनायक के के म भए
कहिले बिर्सिन नसकिने मसँग अनौठो एउटा कहानी थियो

छाती भित्र राखिएको एलबम मात्र हेर्न किन मन लगेको होला
छरिएर रहेको तस्विर हेर्दा आँखा भित्र उन्मादको जवानी थियो

मनले घरि घरि स्पर्स गरिरहेको थिए 
सजीव तस्विर उसको मेरो अगाडि थियो।

१३
खोज्दै थिए                                     

जुन तारा जागा थिए बेली चमेली सुबास साथमा
सम्झना छरिएका थिए चारैतिर एक्लो कालो रातमा

खोज्दै थिए म मेरा पंक्तिहरु अलि अलि मेटिएको
आफ्नै कथा पढदै थिए म कसैद्वारा लेखिएको

गुन्द्रीमाथि म छु मेरो आँखा भरि फैलिएको आकास छ
घरि घरि मलाई छोएर जाने पूर्वैया सितल बतास छ

बटुल्दै थिए सम्झनाका मोतीहरु राख्न मनको पेटारीमा
चारैतिर को को थिए मेरा कालो बादलको छहारीमा

समयको खोलामा बगेको मेरो आँशु हाँसो जिन्दगानी
खोज्दै थिए उमेरमा एकचोटी मात्र फुल्ने फूल त्यो जबानी


१४
जीबन
                   
कहिले गतिहिन पहाड
कहिले सागर छाल
जिबन एक गीत
अनिस्चित कुनै‌ सुर ताल

कसैको भागमा जोड्ने मन्त्र
कसैको भागमा केबल घट्ने जन्त्र
जिन्दगी राज्यमा
धेरै  धेरै तन्त्र

जिबन गणित
समाधान गर्ने आफ्नै आफ्नै सुत्र
जस्तो जस्तो जोगी
उस्तै उस्तै मन्त्र

चाँदीको छतमुनी सुनको डस्नामा
जीबन मायाको प्रेंमपत्र
सीमाहिन गरिबीमा जिबन
केबल निर्जिब यन्त्र

१५
पोखिएको जिन्दगी

कहिले भरिएर पोखिने कस्तो यो जिन्दगी
बाँच्न खोजे झै तर बाँच्न नसकिने जिन्दगी

यसका लागि उस्का लागि कस्का लागि बाँचेको रहस्य भयो जिन्दगी
जिन्दगीको छेउ पुग्दा खोसिने अचम्म यो जिन्दगी

आशै आशको पहाड कस्तो यो जिन्दगी
प्यासै प्यास अपार कस्तो यो जिन्दगी

जहिले पनि मागिनै रहेँ दिँदा दिँदै थाकेको जिन्दगी
मोह र लोभले श्रापेको जिन्दगी 


१६
खोइ के जिन्दगी

अलिकति फूल धेरै सूल हो
जिन्दगी सहि थोरै  धेरै भूल हो

आफ्नतमै बिझ्ने बढी जिन्दगी यो काँढा
नजिकका  नै भइदिने झन झन टाढा

बाँच्ने तयारी गर्दा गर्दै  सकिने यो जिन्दगि
मुठ्ठी भित्र कस्न खोज्दा बालुबा झै पोखिने यो जिन्दगी

किरा फट्याँग्रा मन्द बुद्धि तर सरल तिनको जिन्दगी
चेतनाको सिखर छुने मानिसको जटिल किन जिन्दगी

रहरको शहरमा सधै अति डुल्ने यो जिन्दगी
आशाको रुखभरि लटरम्म फल्ने यो जिन्दगी

हिरा मोति सबै छुट्छन यही जादैन केहि साथमा
बिर्सिएर यो सधै  भोलिको लागि साँच्ने यो जिन्दगी
               

१७
मेरो खबर

आज फेरि आकाश भरि बादल छाएको छ
कसैको यादले मनलाई उज्यालो बनाएकोछ
घरि घरि कालो घुम्टोबाट हेर्ने बिजुलीले
उसको झझल्को ल्याएको छ

म छु छैन वरिपरि कोही
सन्देश पठाउँ कसरी उसलाई
पुर्याइ दिन्छु सन्देश भन्ने तर
आकाशभरि बादलको लस्कर छ

बादल मेरो दूत भएर पुर्याउने छ खबर
मायालाई हाम्रो उसले बनाई दिने छ अमर

१८
बेली चमेली सुगन्ध वरिपरि

बेली चमेली सुगन्ध वरिपरि
जुनकिरीको मुस्कान थियो
टिल पिल टिल पिल तारा पनि लुकेका थिए कालो बादलमा
तर हृदयभरि अति उज्यालो प्रकाश थियो

म एक्लै थिएँ
तर मसँग सम्झनाको लस्कर थियो
मेरो खबर कोही समक्ष पुर्याइदिने
बादलको माया अपार थियो

डुबेर अतीतमा केलाउँदै थिएँ ती क्षण कहिले
कहिले भविष्यमा यस्तो हुने त्यस्तो हुने कल्पनाको रफ्तार थियो
वर्तमान त सातै रंगले पोतिएर
मनभित्र छुट्टै मोहक संसार थियो

कालो अन्ध्यारो चारैतिर
किट पतङ्गको स्वरको साम्राज्य थियो
भदौरे शितल रातमा
कोही आउने आश थियो

१९
खुला आकास

जुन ताराको साथ थियो
खुला सफा आकास थियो
कोइ मेरो साङ्गमा
क्या गजवको बात थियो

आँखामा उमङ्ग थियो
मनमा तरङ्ग थियो
बितिरहेको हरेक पलमा
बेली चमेली सुगन्ध थियो

आन्नदको पहाड थियो
जीवनको सार थियो
जता ततै रङ्ग उमङ्ग पोखिएर
अनौठो संसार थियो

सून्य एक्लो रात थियो
हातमा हात थियो
कल्पनाको सागर उर्लिएको
उफ् अचम्मको साथ थियो

२०
बगैचा

बगैचा भरि सयपत्री
मनभरि फुलेको छ सम्झना
भुलेका सपनाहरु पनि
आँखा भरि बनेका छन बिपना
लाग्छ यो जिवन कहिले केवल सम्झनाको भारी
बितेका क्षणहरु सँगालेको विसाल त्यो भकारी

२१

केवल एक पहर बाँकी छ


रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
नसोँचेको कहाँ हो र तारा टिपि निधार भरि सजाउने
इन्द्रेणीको सातै रंग मुहारमा फैलाउने
आकास छुने रहरमा केवल पछारिए यसरी
पिडै पिडा सरीर भरि बेस्सरी
जीवन केवल दुखै दुखको सार भयो
घाटामा रित्तिएको वेपारीको वेपार भयो
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
इच्छाको सागर फेलिएको थियो सुदुर सुदुर देशमा
लालसा चारै तिर जिवनको भेषमा
समयको आगोमा जलेर आकांक्षाको महल खरानी भयो
जहिले पनि ओर्हालो देख्न अब त बानी भयो
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ
उमेरको राजमार्गमा दौडिरहेको यो जिन्दगी
गन्तव्यहीन दिसामा भौतारिएको यो जिन्दगी
दौडिंदा दौडिंदै केहि त पाउला अझै एउटा आश छ
नमेटिएको मसँग अझै एउटा प्यास छ
रातको केवल एक पहर बाँकी छ
भन्नु पर्ने कुरा कति कति बाँकी छ

२२
हराएर आफैले

हराएर आफैले जीन्दगी खोजिरहेछु
खुसीमा बाध्यतामा जिन्दगी भोगिरहेछु
खोज्न जिन्दगीको सार संसार पुगेँ
कहिले लडेर उठे कहिले उठेर लडें
मोहमा धनको जति हुन्छु धनको वर वर
आनन्द जिवनको उति नै भइ दिन्छ पर पर
सुन चाँदी छाना मनमा धोको थियो
उच्च आकाँक्षा मनमा पोको थियो
बुझे पछि जिन्दगीको भेद सबै पानी पानी भयो
लालसाको ज्वाला बलेर खरानी भयो
घटना सबै जिन्दगीका केवल हुन अविरल गति
रोकेर कसैको बलले  रोकिन्न यो रति
अनुभूति नै यो जिवनको सार हो
जगत केवले मायाको संसार हो

२३
मातको बात गर

होसको होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर
चिन्तामा रात बित्यो चिन्तामा बित्यो दिन
रित्तिन थाल्यो जिन्दागानी घट्दै छिन छिन
दुखलाई पन्छ्याएर केहि छिन भए पनि सुखको साथ गर
होसको होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर

सुख भित्र दुख धेरै दुख भित्र सुखको रास छ
खोजी हेर आँखाले मनको अनि यो देखिन्छ
सुन चाँदी हिरा मोति छलको संसार यो
माया प्रेम मात्रै जिन्दगीको सार हो
ओठभरि हाँसो नै हाँसो सीमाहीन बिस्तार गर
होस होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर

जति जति रमाउँछ मन जवान हुन्छ तन
खुशीमा त यो तरूण हुन्छ झन झन
पुलकित पारी मन अलि अनी मेरो विश्वास गर
दुनियाको कारोवारबाट भइ देउ अलि पर
आनन्दको यता उता चारै तिर बर्सात गर
होस होइन आज मातको बात गर
केही छिन भए पनि आउ मेरो साथ गर


No comments:

Post a Comment