Thursday, August 18, 2011

कथा ५ - चप्पल




कथा चार दशक पहिलेको हो।

बुटाइ माझीले ससुरारी  ढेंग जान विशेष  तयारी गरेको थियो। उसकी घरबाली माइती ढेंग जाँदा पतिलाई खास निर्दशन दिएर गएकी थिई। माइती जानु एक दिन पहिले उसले प्रष्ट पारेकी थिई ‘बिदागरी गराउन आउँदा राम्रो गरी सजधज भएर आउनु, भिखमङ्गा जस्तो भएर होइन नि। सैन गुप्ता मर्दानी लगाउनु, अम्रपाली छाता हातमा, अनि खाली खुट्टा होइन चप्पल लगाउनु, टाउकोमा गम्कौआ तेल। हजमा कहाँ गएर दाढी ओढी बनबाई लिनु’।
ढेंगबालीको खास निर्देशन भएको हुनाले नै बुटाइले विषेश तयारी गर्नु परेको थियो ससुरारी जान। र त्यसै तयारीको क्रममा उसले छाता बन्हु, चप्पल कैलाश अनि सैनगुप्ता मर्दानी चुल्हाइसँग मागेको थियो दशदिन भित्रमा जसरी पनि फर्काउने सर्तमा। ससुरारी जान ती कुराहरु अनिवार्य रुपमा हुनु पर्ने ढेंगबालीको आग्रह कम निर्देशन बढी भएकोले ती कुराहरु दुइचार जनाको दाढी समातेर अनुनय विनय गरेर माग्नु परेको थियो उसले। विषेश तयारीका ती सामानहरु माग्ने बेलामा उसलाई ठूलो भयले सताएको थियो। अरु भन्दा पनि कैलाशसँग। उसले मनमनै भनेको थियो –आ, त्यस्तो मुह छुट्टु मान्छे मान्छेसँग के माग्नु कुनै सामान, त्यो पनि चप्पल। बेकारमा कहिँ तँ जस्तो गैबारलाई किन चाहियो चप्पल? चप्पल चाहिए किने हुन्छ नि भनेमा के जबाफ दिने। तर उसले चप्पल कैलाशसँग नमागी कुनै धर नै थिएन। त्यो टोलमा सिर्फ उसँग मात्र चप्पल थियो। अर्कोतिर, चप्पल किन्न सक्ने उसको ओकात थिएन पनि। जसै तसै चप्पल किनी हाले पनि कहाँ र कुन किसिमले लगाउने। के जंगलमा गाई चराउन जाँदा त्यहाँ लगाउने। जंगल झाडीमा चप्पल लगाएर हिँडदा मान्छेहरुले सुने भने हाँस्ने एकतिर झोँझी झाँझी हिलो पानीमा चप्पल लगाएर हिँडदा सानो तिनो सजाएँ झै हुने अर्कोतिर जस्ता उसले देखेका यथार्थहरु उसका मगजमा धरै पहिले मडारिएका थिए। त्यसैले उसले चप्पल किनेको थिएन गाँउका केही केटाहरुले लगाएको देखेर पनि।
छाता र मर्दानीका लागि उ ढुक्क थियो किनभने ती सामान दिनेहरु बचन लगाउने किसिमका थिएनन्। चुल्हाइ त झन उमाथि सहानभूति राख्ने खालको थियो। खासमा, कुनैपनि सामान माग्ने बिचारमा थिएन ऊ। उसकी आमाले बेला बलामा भन्ने गरेकी – अनकर गहना साजेमे छिन लेबेत लाजेमे, उसलाई राम्रो स्मरण थियो। तर के गर्नु , यति सबै थाहा हुँदा हुँदै पनि उसले अरुको सामान माग्नु परेको थियो ‘जस्तो पायो त्यस्तो लगाएर आएमा मेरो नहिरामा देख्नेहरुले हाँस्ने छन् र भन्ने छन् फलनमा दमाद त दरिदर रै छ अनि हुनेछ मेरो बाप मतारीको सिकायत’ भनी बेला बेलामा ढेंगबालीले घोचपेँच गरेको हुनाले। उसले ढेँगबालीलाई भनेको थियो पनि ‘हेर, गरीब हुनु सिकाएतको बात होइन बरु कसैसँग मागेर धाक देखाउनु सिकाएतको बात हो। मैले यी सामानहरु माग्नु आफ्नो पगरी गिराउनु हो’।
ससुरारी पुगेदेखि शुरु भएको उसको मान मर्यादा घट्नु त कहाँ कहाँ झन बढ्ने क्रममा थियो दिन प्रति दिन। ससुरारी पुगेकै साँझमा ससुरले उदारता प्रकट गर्दै भनेका थिए ‘पहुना, यो घर आफ्नै हो। लाज ओज , सँकोच ओँकोच केही मान्नु पर्दैन। चाहिएको कुरा मागे हुन्छ। अझै आफै झिके भने त बडा बढिया’।
ससुरको यो उदारताले गर्दा नै ससुरारी पुगेकै दिनको राति बेओकाति खापइलिएको थियो। बासमति चामलको भात, रहरीको दाल, आलुको भुजौटा अनि माथिबाट आमको डुबौआ अचार। साथमा नून मरचाइको  झुरी। यी सबै कुराहरु थालमा देख्दा उसले चाहेर पनि आफूलाई रोक्न सकेन। पेट भरिएर पनि थपी थपी खाएको हुनाले तुम्मा जस्तो फुल्न पुगेको थियो उसको पेट। पेट पेटारी जस्तो भएर निद्रा छिटै नपरेका हुनाले नै उसले आधा रातसम्म गफ गरेर बिताउनु परेको थियो ढेँगबालीसँग, बाटोको थकाइको बाबजुत ।
ससुरारीबालाले मङ्गरको दिन धरेका थिए बिदागरीका लागि। बुटाइ आएको दुई दिन बितिसकेको थियो। अब तीन दिन पछि , मङ्गरको दिन उसले बिदागरी गराएर आफ्नो घर लग्नु परेको थियो ढेँगबालीलाई। सासले त फगुआ पछि बिदागरी गरी दिने प्रस्ताव राखेकी थिइन। भनेकी थिन् पनि ‘दमाद, यो आउने फगुआमा आउनु होला, रङ्ग अबिर खेल्नु होला। फगुआको दु दिन पछि नै विदागरी गरिदिन्छु। जानेबेलामा अलिकति पुआउआ पनि बाँधिदिन्छु, हुँदैन?’ तर बुटाइका घरबालाहरुले ‘जसरी भएपनि बिदागरी गराएर ल्याउनु, नछोड्नु’ भनेका हुनाले उसले सासको प्रस्तावलाई स्वीकार गरेन। मन मनै त ऊ फगुआसम्म बस्न पाए हुन्थ्योमा थियो। ससुरारीको बसाई निकै रमाइलो लागिरहेको थियो। लाग्ने कारणहरु पनि थिए-एकातिर गाइहरुको पछाडि पछाडि यो जङगल त्यो जङ्गल घुम्नु पर्ने , त्यसमाथि पनि हरहा गाइले दिने दुख: बाट दुइ चार दिनकै लागि भए पनि मुक्ति पाएको थियो भने अर्कोतिर ससुररीमा पाएको स्वागतले घरलाई बिर्साई दिएको थियो। सार सारिनले हल्क, खुला गाली सहित जिस्काएको उसलाई खुब मन परेको। कसैले मेहमान कसैले पहुना भनेको पनि कम मन परेको थिएन उसलाई। ससुरारीमै आएर उसले गम्कौआ मेहिअक्का चाउरको भात, अघाउँनजेल रहरीको दाल खाएको थियो पहिलो पटक। यी सबै कारणहरुको सेरोफेरोमा रहेर नै काँढामा लुगा अड्के झै बुटाइको मन अड्केको थियो ससुरारीमा।
पण्डिजीले पतरा हेरेर निकालेको जतरा अनुसार नै बुटाइ र उसकी पत्नी घरबाट निस्केका थिए भोरमा। ढेँगबाट हिँडदा दुवैको मनस्थिति विपरित थियो। बुटाइलाई ससुरारी छाड्न मन लागिरहेको थिएन त्यहाँ पाएको स्वागत,सत्कार र मेहमानीले गर्दा, ढेँगबालीलाई कहिले घर पुगौ भएको थियो धेरै दिनदेखि पतिसँग छुट्टिएर माइतिमा बसेको कारणले।
बिदा गर्ने बेलामा बुटाइको ससुरले दुबैलाई सचेत गराउँदै भनेका थिए ‘बङमती नदी हेले पछि मात्र कलउ ओलउ खानु आ छिन भर सुस्ताएर फटाफट हिँड्नु। घर टाइममै पुग्नु। सुरुज डुब्नु भन्दा पहिले पुगे बडा बढिया’।
उनीहरुले निर्देशन पाएको अनुसार नै भयो। सोँचेकै टाइममा बङमती नदी पार गरे। बङमती नदी पार गर्न डेँगीमा चढ्दा भने दुबैलाई डर लागेको थियो तर नदीमा दाहार नआएकोले दुबैको डर डेँगीको हिँडाइसाथ समाप्त भएको थियो। बुटाइ डेँगीको छेउमा बस्यो डेँगी खेबेको र किनार लागेको हेर्न। किनार लाग्दा डेँगीको दुई छेउ मध्येको एउटाले किनारको जमीनलाई ठक्कर दिएर किनार लागेको दृश्य उसलाई खुब राम्रो लागेको थियो। घरबाट ढेँग जाँदाको बेला उसले यो दृश्य घित मरुनजेलसम्म हेरेको थियो। उसले आफ्नो गाउँ छेउमा यति ठूलो नदी र डेँगी कहिले देखेको थिएन। लमहा नदी देखेको त थियो तर कहाँ बङमती कहाँ लमहा…………..
बङमती नदी पारगरेर कलउ खाए दुबैले एउटा पाकडको रुखमुनी बसेर। छेउमा रहेको मठ नजीकको कुआँमा पानी पिए डोलले तानेर। बङमती नदी पार गर्नु भन्दा पहिलेसम्म देखिएको बुटाइको हँसिलो मुहारमा भने नदी पार गरेपछि एकाएक परिवर्तन आएको थियो।  नदी पार गरेपछि उसको मुहारमा भय मिश्रित उदासीनता देखिएको थियो। मुहार मलिन हुनुको कारण ढेँगबाले कतिपटक सोद्धा पनि बताएन उसले । न त मुहार उज्यालो नै पार्यो। ढेँगबालीले गर्ने कुराहरुमा केवल हँमा हुँकारी मात्र भर्यो।
 बुटाइ र उसकी घरबाली साँझ झमक्क पर्नुभन्दा पहिले घर पुगे। लामो बाटो हिँडेर आएको हुनाले दुबै थकाइले चुर थिए। रातीको खाना खाएर ओछ्यानमा पर्ने बित्तिकै दुबै भुसुक्क निदाए केही बेर मात्र पनि कुराकानी नगरी कनै।
भोलिपल्टको बिहानी ढेँगबाली कोठा भित्र पनपिआइ बनाउँदै थिइ। पनपिआइ बनाइ रहेकै बेलामा केही व्यक्तिहरु दुरामा चर्को स्वरमा कराइरहेको सुनी उसले।  बाहिर आएर हेरी कैलाश र उसको मरद बीच झगडा भइरहेको थियो। केही अन्य मानिसहरु भने छेउमा उभिएर झगडा हेर्दै थिए। मुहारमा आश्चर्यको भाव झल्काउँदै ढेँगबालीले आफ्नो घरबालालाई प्रश्न गरी ‘के भएको हो? झगडा भएको हो कि क्या हो? के हो कारण , झगडा रगडाको?’
बुटाइले केही क्षण पनि बिलम्ब नगर्दै भन्यो ‘कैलाश भाइले आफ्नो चप्पल माग्दै छन्’।
ढेँगबालीले सहज किसिमले भनी ‘देऊ  न त त्यो चप्पल , काम सकिए पछि अर्काको चप्पल किन राख्नु?’
‘भए पो दिनु। नभएको सामान कहाँबाट ल्याएर दिनु?’ बुटाइले ढेँगबालीतिर हेर्दै भन्यो।
ढेँगबालीले आश्चर्य मान्दै प्रश्न गरी ‘के भयो त्यो। चप्पल? ससुरारीमा त मात्र दुईचार चोटी लगाएको देखेको थिएँ, त्यो पनि घरबाट बाहिर जाँदा। बडा भारि जतनका साथ राखेका थियौ त्यसलाई। एकदम जन्तर जस्तो। अहिले आएर के भयो?’
बुटाइले तत्काल उत्तर दियो ‘जन्तर जस्तै गरेर राखेको थिएँ नि, खाली लटको मात्र थिन् घेँटमा’।
‘अनि के भयो त? छिटै खुलस्त पार न’ ढेँगबाले क्रोधित हुँदै भनी।
‘दहाई गयो नि बङमती नदीमा’ बुटाइले डराउँदै छोटो उत्तर दियो। आफ्नो छोटो उत्तरको खुलासा गर्दै बुटाइले फेरि भन्यो ‘यहाँबाट जाँदा त त्यस्तो केही पनि भएन। आउँदाखेरि भने, बङमती नदी पार गर्दा म डेँगीको छेउमा बसेको थिएँ, डेँगी किनार लागेको हेर्न। चप्पललाई बडा हिफाजतले राखेको थिएँ एउटा झोरामा, त्यै झोरा, डुमरिया बजारबाट किनेर ल्याएको। झोरा थियो डेँगीको छेउमा, ठीक मेरो सोझामा, जुन बेला पनि नजर पर्ने किसिमले, कसैले चोराइ ओराइ नलिने किसिमबाट। तर जब डेँगी किनार लाग्न थाल्यो, छेउको जमीनलाई धक्का दियो बडा जोडले, त्यही टुप्पाले जुनमा मैले चप्पल राखेको थिएँ। किनारमा धक्का दिए पछि डेँगी बडा जोरले हिल्यो, आ त्यो चप्पल खस्यो पानीमा झोरा सहित। आँखा अगाडि चप्पल दहाई गयो, तर केही गर्न सकिन। के गर्ने नदीमा भरमनुष पानी थियो, आफूलाई पौडी खेल्न नआउने’।
केही क्षण रोकिएर बुटाइले फेरि भन्यो ‘त्यसैले त बङमती नदी हेले पछि मेरो मन खराब भएको थियो’।
चप्पल पानीमा खस्ने बित्तिकै मलाई किन नभनेको, म कुनै उपाए ओपाए निकाल्थ्येँ’ ढेँगबालीले आँखा ठूलो पार्दै भनी।
‘भनिन् नि, तिमी रिसाउने छेउ र मानिसहरुको सोझामा मलाई भला बुरा भन्ने छेउ भनेर’ बुटाइले पत्नितिर हेर्दै आफूले नभन्नुको कारण पेश गर्यो।
चप्पल बगेको रोचक घटना सुनेर ती दुई पति पत्नी र कैलाश बाहेक छेउ छाउका मानिसहरु गलल हाँसे।
केही समय पहिलेदेखि चुप लागेर बसेको कैलाश गर्जियो ‘अथामाईको कथा सबेलाई सुनाएर केही पनि हुनेबाला छैन। त्यो बाटाको चप्पल, मैले बरगिनियाबाट किनेर ल्याएको थिएँ, मलाई त्यस्तै ल्याई   देउ , दुमहिना पनि लगाएको थिन मैले त्यो’।
छेउ छाउमा उभिएका मानिसहरुतिर हेर्दै ढेँगबालीले तत्काल उत्तर दिइ ‘पुरानो त थियो त्यो चप्पल। खिआएर ठाउँ ठाउँमा छेद परेको थियो कतिओटा। त्यस्तो पुरानोको लागि पनि यति कसी कसाऊ ……………। तिमीसँग हराएको भए के गरथेउ? ह?’
ढेँगबालीको भनाइलाई बीचमै रोक्दै कैलाशले भन्यो ‘मेरो चप्पल नया होस या पुरान, या छेद परेको, खत्तम……..हराए पछि  अरुको सामान …..ताओन त दिनै पर्यो नि’।
छेउ छाउमा उभिएक मानिसहरुतिर हेर्दै उसले थप्यो ‘ससुरारी जानबेलामा त्यही चप्पल लगाउन नपाएर इज्जत जान थालेको थियो। अहिले आएर दश किसिमका कुरा…….’।
कैलाशको यो भनाइमा बुटाइ र उसकी घरबालीले कुनै प्रतिक्रिया व्यक्त गरेनन्। छेउछाउका मानिसतिर केही बेर हेरे, त्यस पछि मौन बसे। उनीहरुको मौनतालाई तोडदै कैलाशले फेरि भन्यो ‘मलाई मेरो चप्पल चाहियो, ठीक त्यस्तै। आजै, आजै नभए भोलि। भोलि हुन नसके पर्सि जसरी भए पनि’।
ढेँगबालीले केही बेर पहिलेदेखि कायम राखेको मौनतालाई तोडी। मुहारमा क्रोध तथा विवशताको मिश्रित भाव झल्काउँदै कैलाशतिर हेरेर भनी ‘ठीक छ त्यस्तै चप्पल किनेर दिउँला, बरगिनियाबाट ल्याएर भए पनि। गहना जस्तो गरेर लगाउनु कान नाकमा। तर अहिले होइन, आउन थालेको धनकटनी पछि’।
दुई पक्षहरु – चप्पलबाला र चप्पल हराउने बीच लामो समयसम्म झगडा चलिनैरह्यो। छेउको स्कूलको मास्टर साहेबले ती दुई पक्षहरुलाई सम्झाइ बुझाइ गरे पछि मात्र त्यो झगडा सकिएको थियो साँझ पर्नु केही क्षण पहिले मात्र।


विश्वराज अधिकारी

No comments:

Post a Comment