Thursday, August 18, 2011

कथा ४ - रामसेबकबाबा



कथा यसरी शुरु हुन्छ। चालिस वर्ष जति पहिलेको कुरा हो। म र बा गौर जाँदै थियौ। बाटोमै साँझ परेर कुनै मठमा बास बसेका थियौ। त्यसताक बस ट्रक आदि थिएनन्। पुरै एक दिन हिँडे पछि बल्ल घरबाट गौर पुगिन्थ्यो। तर त्यस दिन अबेला हिँडेकोले बास बस्नु परेको थियो। बालाई किन हो एउटा गाउँको छेउको मठ ज्यादै मन पर्दथ्यो बास बस्न । त्यही कारणले गर्दा हामी त्यसै मठमा बसेका थियौ। हुन त अरु गाउँका घरहरुमा पनि बास बस्न सकिन्थ्यो। तर किन हो, आक्कल झुकक्ल कुनै स्कूलमा बाहेक प्राय: त्यसै मठमा बा बास बस्नु हुन्थ्यो। मैले कारण सोधेको थिन्। बाटो मै साँझ पर्ने जस्तो भएमा म प्राय: यसै मठमा बस्छु भनी वहाँले भन्नु भएकोले त्यो मठमा बास बस्न सजिलो हुन्छ होला भनी मैले अनुमान मात्र गरेको थिएँ। त्यो मठबाट तीन चार घण्टा हिँडेपछि गौर पुगिन्थ्यो।
हामीसाँझमा त्यो मठमा पुग्दा रामसेबकबाबा त्यहाँ थिएनन्। कुटियामा धुनी बलिरहेको थियो। बा र मैले डोलले कुआँबाट पानी तानेर हात खुट्टा धोयौ र धुनीको नजीक पुगेर आगो ताप्न थाल्यौ। गाउँदेखि कही पर त्यो मठ रहेको हुनाले साँझ झमक्क पर्नुभन्दा पहिले नै सुनसान हुन्थ्यो त्यहाँको वातावरण। हामी दुई बाबु छोरा रामधुनी नजीक बसेर आगो ताप्दै थियौ। स्यालहरु जोड  जोडले कराउँदै थिए। धेरै स्यालहरु एकैपटक कराएको सुनेर म अलि डराएँ र बाको जिउमै टाँस्सिन पुगेँ। आठ दश वर्षको केटो म , गाउँदेखि टाढा रहेको मठमा  , सुनसान रातमा, धेरै स्यालहरु एकै पटक कराएको आबाजले डराउनुलाई बाले स्वभाविक ठान्दै भन्नु भयो। स्यालहरु धेरै टाढा छन्। यहाँसम्म आउने हिम्मत गर्न सक्तैनन्। बाले मतिर हेर्दै फेरि भन्नु भयो ‘अब रामसेबकबाबा आउने बेला भयो। आए पछि खाउँला,हुँदैन? रामसेबकबाबाले आफ्नै भान्सामा खान भन्छन। जहिले पनि भन्छन –मेरो कुटियामा आएपछि भगवानको परसादी खानु पर्छ। आफ्नो घरको अन खान पाइँदैन। के गर्ने ? उनको कुटियामा आएपछि उनको मन राखिदिनै पर्यो। बडा नाम चलेका बाबा हुन यी। एक पैसाको लोभ लालच नभएको । अति धर्मात्मा बिचारका। साँच्चै, रामसेबकबाबा तन र मन दुबैले जोगी छन्। केही कुरा देखाबटी छैन। र सबै भन्दा ठूलो कुरा त यी बडा भलादमी र अशल बिचारका छन्। यो बाबा यो मठमा बसेको दश वर्ष भयो रे। दश गाउँमा नाम चलेको छ यिनको’।
मलाई भोक लागेको अनुमान गरेर बाले मेरो ध्यान अन्त लग्ने प्रयास गर्नु भयो अनि भन्नु भयो ‘आज तलाई म एउटा अति नै रोचक घटना वा कथा सुनाउँछु, सुन’।
बाले सुनाउने घटनाहरु प्राय: रोचक नै हुने हुनाले म पनि प्रफुल्लित भएँ। तर आफूलाई भोक लागेको तथ्य जाहेर गर्दै भने- हुन्छ भन्न शुरु गर्नुहोस। तपाइँले सुनाउने घटना सकिनु र रामसेबकबाबा टुपलुक्क आइपुग्नु एकै पटक हुन सक्छ। मेरो कुरा सुनेर बा एकै छिन हाँस्नु भयो र मेरो टाउको माथि हात राख्दै भन्नु भयो ‘हेर, भोकले यसको टाउको सार्हो र पेट गिलो भएछ। हामी दुबैजना केही छिन हाँस्यौ मुखामुख गरेर।
बाले भन्न आरम्भ गर्नु भयो ‘हेर, एकचोटीको कुरा हो, साउन भदौको औसीको मध्य रातमा एउटा अपरिचित व्यक्ति यस्तै कुनै मठमा आएछ। त्यो मठमा एक वृद्ध महाराजजी बस्दथे। ती वृद्ध महाराजजी सिबाए दुइ तीन वटा कुकुरहरु मात्र थिए त्यो मठमा। महाराजजीको नजीक पुगेर कुर्ता भित्र लुकाएर राखेको सानो तरबार त्यो व्यक्तिले झिक्यो अनि भन्यो-यो तरबार हेर्दा अति सानो छ तर तेज भने ……..। पेटमा हिर्काए भने एकैचोटीमा आरपार………। त्यसकारण कुनै हल्ला खल्ला नगरेर मेरो कुरा सुन्नु होस र मैले भने अनुसार गर्नु होस। सुन्नुहोस-म एक अति नै खतरनाक , क्रुर र दयामया नभएको  नामी डाँकु हो। प्राय: इण्डियाको गाउँहरुमा डाँका मार्छु। तर यहपारका गाउँहरुमा पनि डाँका मारेको छु। त्यसो नगरेको भए हुन्थ्यो तर के गर्ने चेलबाहरुले कर गरे। दश दिन पहिले यो गाउँको छेउको गाउँमा डाँका मारेको थिए। अरु घरहरुमा त सरासर लुट्न दिए एउटा घरको मालिक, ससुरा बडा ढिठ निसक्यो। बन्दुक निकालेर हामीलाई गोली ठोक्न खोज्यो, त्यो सारको बेटाले। तर भरुआ बन्दुक, धेरै दिन देखि नचलेको , पडकनै सकेन। मैले त्यो मौका छोपेर हातमा रहेको ठूलो तरबार खसाले , छिनरीके बेटाको गरदनमा। एकै चोटीमा दुई टुक्रा भयो, सालेको जिउ। छिन घडीमा बोलिदियो, ससुराले , जय सियाराम। तर त्यसको मौत मेरो लागि मुसिबतको जड बनिगयो। गाउँका सबै मानिस मिले अनि थानामा उजुरी गरे, मेरो नाम किटानी गरेर, मैले नै मारेको हो भन्ने सबुत परमान सहित। अहिले थाना उठेर आएको छ। यो गाउँ घेरेको छ मलाई समात्न। मैले लुक्ने सुरक्षित ठाउँ अन्त कतै देखिन  सिबाए यो मठमा। हुन त अर्कै गाउँमा पनि जान सक्छु तर गएर कहाँ कसको घरमा लुक्ने? अन्हरिया रात छ त्यसमाथि पनि पानी परिरहेको छ टिपटिप। यो मठमा बसे भने कसैले संका पनि गर्न सक्तैन थाहा पनि हुँदैन कसैलाई। मेरो गाउँमा त संका लागेको संका लागेको घरमा खानतलासी शुरु भइसकेको होला मलाई खोज्न’।
‘त्यो डाँकुको कुरा सुनेपछि महाराजजीले भने- तिमीलाई खोज्न यो मठमा खानतलासी हुँदैन भन्ने के छ र?
‘त्यो डाँकुले जबाफ दियो – यो मठमा कोही पनि आउँदैन। यदि आइहाले पनि ……. र कसैले सोधी हाले ……….भन्नु होला अँ हँ यहाँ कोइ पनि आएको छैन। तपाइँ जोगी महात्मा । तपाइँको कुरामा कसैले पनि संका गर्दैन। गाउँका मानिसले कति विश्वास गर्छन तपाइँमाथि। तर याद राख्नुहोस। यदि भन्नु भयो भने ……..यो तरबार सोझै ……। म दयामया भएको मान्छे होइन। सम्पत्तिका लागि कतिको ज्यान लिएँ कुनै लेखाजोखा छैन। अझै आफ्नै ज्यान जोगाउन त के बाँकी राखौला कसैलाई। जेलबाट भागेर भए पनि आउने छु। अनि माग्ने छु पुरानो हिसाब किताब’।
‘त्यो डाँकुको कुरालाई बीचमै काट्दै महाराजजीले भने- हेर , म त सन्त फकिर , मलाई ज्यानको त्यति माया छैन। तल रहेर पनि ठाकुरजीको पूजा गर्ने हो माथि गएर पनि ठाकुरजीकै। तर तिमी मेरो होइन ठाकुरजीको शरणमा आएका छौ। शरणमा आएकोलाई मरण दिनु हुँदैन। ठीक छ बस, यहाँ लुक। तर भोलि बिहानै तिमीले यहाँबाट डेरा डण्टा उठाउनु पर्नेछ। बडका भोरमै गए बड बढिया’।
‘महाराजजीको कुरा सुनेपछि त्यो डाँकुले तत्काल भन्यो –हुन्छ महाराजजी म त्यसै गर्नेछु। तपाइँ ढुक्क हुनुहोस’।
‘भोलिपल्ट बिहानको कुरा हो, त्यो डाँकु त्यहाँबाट नजाने शुर गरेको देखेर महाराजजीले प्रश्न गरे –यहाँबाट जाने होइन? किन न गएको? आफ्नो बचन पूरा गर्दैनौ’?
‘त्यो डाँकुले जबाफ दियो – महाराजजी, बिहान यो मठको छेउमा भैँसी चराउनेहरुको कुरा सुने। गाउँ घरेर मलाई समात्न आएका पुलिसहरु अझै गएका छैनन्। बसछन् अरु चारपाँच दिन। तीन चार जना सुराकीहरु पठाएका छन् यो गाउँ त्यो गाउँमा मेरो पत्ता लगाउन। ममाथि दया गर्नुहोस महाराजजी। दुई चार दिन अझै लुक्न लुक्न दिनुहोस। अब म तपाइँलाई थर्काउदिन आ तरबारको धाक पनि देखाउँदिन। बरु भिख माग्छु दयाको’।
‘त्यो डाँकुको कुरा सुनेर त्यसमाथि महाराजजीले कुनै प्रतिक्रिया देखाएनन्। महाराजजी मौन रहेको देखेर त्यो डाँकु ज्यादै प्रशन्न भयो। आफूले मात्र सुन्ने गरी भन्यो – मौनम् स्वीकृति लक्षणम्।
ठाकुरजीको मूर्ति जुन कोठाम थियो त्यहाँ एउटा खाट थियो। त्यो खाटलाई एउटा ठूलो कम्बलले छोपिएको थियो। महाराजजीले त्यो खाटलाई ठाकुरजीको खाट बनाएका थिए। भन्थे – यो ठाकुरजीको खाट हो। राति यै खाटमा आएर ठाकुरजी सुत्नु हुन्छ। मैले कैयौ पटक सपनामा देखेको छुँ। ठाकुरजीलाई सुत्न राखिएको त्यो खाटको तल त्यो डाँकु दिनभरि लुक्दथ्यो। झमक्म साँझ परेर गाढा अन्ध्यारो भएपछि मात्र कुटियामा जान्थ्यो जहाँ महाराजजी पनि सुत्थे ऊ पनि त्यहीँ सुत्दथ्यो’।
त्यो डाँकुले मठ छाड्ने नाम लिइरहेको थिएन्। ऊ मठमा बसेको तीन चार महिना भइसकेको थियो। एक दिन महाराजजीले त्यो डाँकुको छेउमा गएर भने – यसरी कहिलेसम्म चल्छ? कसैले पोल लगाइदिएर तिमी यै मठमा समातिए भने नि? गाउँभरिका मानिसले भन्ने छन् – यो महाराजजीले यस्तो खुनी डाँकुलाई लुकाएर राखे। यी पनि त्यो डाँकुसँग मिलेका छन्। दिएका होला नि सोना चानी भरपोख। यस्तो महाराजजीलाई यो मठमा राख्न हुँदैन’।
‘महाराजजीको कुरा सुने पछि आफ्नो मुहारमा दयाको याचना प्रदर्शित गर्दै त्यो डाँकुले भन्यो – महराजजी नडराउनुहोस। अब मलाई कसैले मेरो बोली नै नसुनेसम्म टाढाबाट चिन्न सक्तैन। दाढी मोच पनि लामो लामो भइसकेको छ मेरो तपाइँ जस्तै कपारमा तिलक चन्दन लगाउँछु। फाटल पुरान तपाइँको कुनै रामनामी कुर्ता भए दिनुहोस त्यो पनि लगाउँछु। झोली तुम्मा पनि बोक्छु…………….? एउटा सानो तिनो मृगासन छ भने …….त्यो पनि लटकाउँछु काँखमा । कपारमा बनाउँछु ठूलो तिरशूल। यति सबै गरे पछि कसले चन्ने मलाई? आफ्नो गाउँमा जान्न। अरु अरु गाउँमा तपाइँको पछि पछि लागेर जान्छु। कसैले मलाई देखेर महाराजजी यी कुन हुन नि? भनी सोधेमा भनिदिनु होला- यी मेरा चेला हुन शिवदासबाबा। अनि यो पनि भनिदिनु होला- यी बाबा बताहा छन्, बोल्न सक्दैनन्, सुन्दैनन् पनि। मात्र इशारा बुझ्छन। कहाँबाट आएका हुन भनी कसैले सोधेमा भनिदिनु होला –इण्डियाका हुन। घोडासहनको कुनै आसपासको गाउँको’।
‘त्यो डाँकुले अझै थप्यो-तर जे होस,जसरी भए पनि मलाई बचाई दिनुहोस। मेरो जानको रक्षा गरिदिनुहोस। यो मठको छेउबाट हिँडनेहरुले कुरा गर्दा मैले सुने- पुलिस यो गाउँबाट गएपनि जिल्ला भरिमा मेरो खोजी बडा जोडतोडले भइरहेको छ। यहाँ मात्र होइन इण्डियामा पनि। त्यतातिर पनि मैले केही मानिसको जान लिएको थिएँ। मेरो खोजी ओहपार पनि भइरहेको छ, बडाजोडतोडले। सुराकीहरु ओहपार पनि गएका छन् रे मेरो सुराक लगाउन’।
त्यो डाँकुको सम्पूर्ण कुरा सुनेपछि महाराजजीले प्रतिक्रियास्वरुप केही पनि बोलेनन्।
छ महिना जति बित्यो। त्यो डाँकुको गाँउका मानिसहरु बाहेक अरुले उसलाई शिवदासबाबाको नामले चिनिसकेका थिए। धेरैले उसलाई बतहबा बाबा भन्थे’।
‘एक दिन महाराजजीले रातिको समयमा चिलम भरे। हातमा रहेको त्यो चिलम माथि उठाउँदै भगवानलाई चढाए अनि भने- भोले कैलाशपति क्या होगा सम्पत्ति। बम शंकर खाने पिनेको ढङ्गकर। महाराजजीले चिलमलाई फेरि माथि उठाउँदै आफ्नो टाउकोसम्म पुर्याए अनि त्यस चिलमलाई ढोगे, त्यस चिलममाथि भगवान आएर बस्नु भएझै मानेर। भगवानलाई चढाई सकेपछि त्यो चिलम मुखनिर पुर्याएर लामो सर्को दुई तीन चोटी ताने। उनको आँखा भरि आँशु आयो। दुईचार चोटी खोँके। अर्को चोटी फेरि दुईचार सर्को तानेर त्यो चिलम त्यो डाँकुलाई दिए। डाँकुले पनि हातमा चिलम लिएर माथि हेर्दै करायो- जय भोले शंकर दुस्मनको तङ्गकर। यति भनेर दुई चार सर्को तान्यो उसले यति जोडले कि त्यो चिलमको माथि आगो नै बल्यो एक छिन। त्यो आगोको प्रकाशमा दुबेले एकअर्कालाई हेरे केही बेर, त्यो आगो ननिभुनंजेलसम्म’।
‘चिलम तानेपछि महाराजजी एक छिन घोरिए त्यसपछि त्यो डाँकुतिर हेर्दै भने- हेर कसैको सम्पत्ति लुटेर ल्यायो, खायो। त्यसले सुख दिँदैन उल्टो पीडा थपिन्छ। न शान्ति हुन्छ न चैन। बरु भिक्षा मागेर ल्यायो, मैले जस्तो जसले जति दिउन, त्यही खाँदा मनमा शान्ति हुन्छ। आन्नद नै आन्नद। कसैले जति हात उठाएर दिन्छ त्यसैलाई आफ्नो  सम्झन्छु। सम्पत्ति थुपारेर के गर्नु? मरे पछि छातीमा लादेर माथि लग्न पाइँदैन। सबै यहीँ छोडेर जानु पर्छ। मान्छे नाङ्गो आएको हुन्छ नाङ्गो नै जान्छ। सम्पत्ति थुपारेपछि सुखको उल्टो भय आउँछ। सधै डर भइरहन्छ, मेरो सम्पत्ति कसैले लुट्ने हो कि। सम्पत्तिको लागि कसैले मेरो जान नै लिने हो कि। कहिलै चैनसँग सुत्न पाइँदैन। यो दुनिया जहिलेदेखि बन्यो त्यो बेलादेखि सम्पत्तिको लागि झगडा चलिरहेको छ। चलिनै रहनेछ। ठूला ठूला लडाइहरु भए रे सम्पत्तिकै लागि। गरीब र धनिक भनेर छुट्याइदिन्छ यो सम्पत्तिले नै। सम्पत्ति नहुँदो हो त अमिर गरीबको भेद नै रहन्थेन, सबै बराबर। कोइ कसैको सत्रु नै हुन्थेन। हेर भगवानले रचेका ८४ लाख योनी मा केवल मान्छेलाई मात्र सम्पत्ति चाहिएको छ। उसले सम्पत्ति जोडछ। सम्पत्तिको लागि लडाइ गर्छ, अरुको जान लिन्छ। मानिस बाहेक अन्य कुनै पनि प्राणीले सम्पत्ति जोडदैन, त्यसको लागि झगडा रगडा पनि गर्दैन। सम्पत्तिका लागि तुच्छ कुकुरले पनि झगडा गरेको देखेका छौ?’
‘यति भनिसकेपछि महाराजजी चुप लागेर केही क्षण बसे। केही सम्झे झै गरी त्यो डाँकुको मुखतिर हेरेर फेरि भने- अजगर करे न चाकरी पंक्षी करे न काम दास मलुका कह गए सबका दाता राम’।
 ‘महाराजजीले भन्ने क्रम जारी नै राखे- हेर, मसँग सम्मत्ति छैन त्यसैले चोर डाँकुको मलाई भय छैन्।रातभरि चैनको निद्रा सुत्छु। भोलि के खाने भन्ने चिन्ता छैन। भिक्षाले गुजारा चलेको छ। धेरैको लोभ छैन। आनन्द नै आनन्द, शान्ति नै शान्ति। तर तिमी आफूलाई हेर त , न चैन छ, मनमा शान्ति। रातभर दिनभर तिमीलाई डर रहन्छ, कसैले देख्छ कि, पुलिसले समात्छ छ कि भन्ने। जेल जानु पर्ने हो कि या कसैले बदला लिन मेरो ज्यान नै मार्ने हो कि। हरपल यै सोँचिरहन्छौ। सम्पत्तिको कमी तिमीसँग नहोला। कति गाँउमा डाँका मारेउ, एक सेर डेढ सेर सुन होला। चानी त कति कति…..। तर मसँग केही छैन। छ भने सिर्फ यो रामनामी कुर्ता र दुई हातको महाबीरी लँगौटी। रे भाँट कवि जोगी बैरागीको पासमा अरु  हुन्छ पनि के। तर बहुत कुछ छ मसँग। सन्तोष छ, मनमा शान्ति छ। रे हामी त के , तुलसी भरोसे रामके निर्भय हो के सोए…….’।
‘महाराजजीले आफ्नो भनाइ सक्याए पछि डाँकुले हाँस्दै भन्यो- महाराजजी, धनको रोसनीमा बहुत चमक हुन्छ। तपाइँले धनको महत्व नै देख्नु भएको छैन। तपाइँसँग धन  छैन त्यसको महत्व पनि थाहा छैन। जसले फल खाएको हुन्छ त्यसलाई मात्र त्यो फलको स्वाद थाहा हुन्छ। फेरि, अहिलेको जमानामा सम्पत्ति नभइ काम चल्छ? सारा संसार दौडेको छ सम्पत्तिकै पछाडि। यो संसार चलेको छ नै पैसामा। यो सत्य युग हो र? अरे यो त घोर कलियुग हो। कसैले तपाइँलाई खुब उब्जाउ धनहर खेत पाँच बिगहा र हातमा दुई लाख रुपैया दिने हो भने तुरुन्त तपाइँ दाढी मोच फालेर साधुबाट सबाधु भइजानु हुनेछ। झोली तुम्मा चिम्टा र त्रिशुल जानेछ एकातिर लमहाको किनारमा। सैन गुप्ता मर्दानी माथि मलमलको कुर्ता आ बाबडीमा गमकौआ तेल, अलिकति सेन्ट, यो सब गरेर हेर्नुहोस त। अनि थाहा हुन्छ धनको महिमा। रे धन सम्पत्ति नभएको मान्छे पो जोगी हुन्छ। धन सम्पत्ति अफ्रात भएको कुनै मान्छे जोगी भएको देख्नु भएको छ, सब कुछ त्यागेर? महल छोडेर कुटियामा कोही बस्न आएको याद छ तपाइँलाई? रे सुनको जुत्ताले बडेसे बडे बाबुभैयालाई पनि हिर्काएर आफ्नो बसमा लिन सक्नुहुन्छ तपाइँले’।
एक वर्ष बित्यो त्यो डाँकु त्यो मठ छोडेर गएन। महाराजजीसँगै बिहानै उठेर नित्य स्नान गर्नु, घडी घण्टा डोलाएर ठाकुरजीको पूजा आरति गर्नु, टाढा टाढाका गाउँहरुसम्ममा सुनिने गरी शंख फुक्नु, ठाकुरजीलाई भोग लगाउनु, भजन किर्तन गर्नु, प्रसाद खानु, दिउँसो भिक्षा माग्न यो गाउँ त्यो गाउँ जानु, साँझमा फर्केर फेरि ठाकुरजीको आरति गर्नु, रामधुनीमा दाउरा हाल्नु त्यो डाँकुको दिनचर्या बनिसकेको थियो, महाराजजीको जस्तै, त्यो एक वर्ष भित्रमा’।
‘त्यो डाँकु त्यो मठबाट नगएको डेढ वर्ष भइसकेको थियो। महाराजजीले पनि कहिले यो मठ छाड्ने हो भनी सोध्न बिर्सिसकेका जस्तो थियो। यसै बीच मठ छेउकै गाउँ, जुन गाउँको त्यो डाँकु थियो, बाट दुईजना केटाहरु रातको समयमा महाराजजीको नजीक आए अनि भने- डण्डोत महाराजजी। आएका ती दुई केटा मध्ये एउटाले महाराजजीतिर हेर्दै भन्यो- महाराजजी, हाम्रो गाउँको एउटा नामी डाँकु थियो नि, जयमङ्गला, हो त्यसलाई समात्न फेरि पुलिस आएको छ, पुरै दलबल, गाउँमा। छेउकै कुनै गाउँमा जयमङ्गला बसेको छ भनी सुराकीहरुले खबर पुर्याएका थिए रे। आज राति धेरै घरमा खानतलासी हुनेबाला छ। यो पटक जयमङ्गला बञ्चला जस्तो छैन’।
‘त्यो केटाको कुरा सुनिसकेपछि मुहारमा भावशून्यता झल्याउँदै महाराजजीले भने- जसको भागमा जे लेखेको छ, त्यो नै हुन्छ’।
‘महाराजजीसँगको एकै छिनको कुराकानी पछि ती दुबै केटाहरु गाउँतिर फर्कै’।
‘महाराजजीको छेउमा, तर अलि पर अन्ध्यारोमा बसेको त्यो डाँकुले पनि त्यो केटाले भनेको कुराहरु सुन्यो। ती केटाहरु मठबाट धेरै टाढा पुगिसकेको आफूलाई निश्चित भएपछि महाराजजी नजीक पुग्दै त्यो डाँकुले भन्यो- महाराजजी, अघि आएका ती दुई केटा मध्ये , जो चुपचाप बसिरहेको थियो, त्यो सुराकी हो। संजोगले कसरी त्यो पनि आइपुग्यो यो मठमा अर्को त्यो केटासँगै। त्यसले मलाई नदेखे पनि अलि पर कोही लुकेको अनुमान भने पक्कै पनि गरेको छ। मतिर पटक पटक र धेरै बेर सम्म त्यसले हेरेको हेरै गर्यो। अब यो मठमा मेरो खैरियत छैन्। त्यो सुराकीले खबर पुर्याउँछ पुलिसकहाँ, अनि पुलिस आइपुग्छ समात्न मलाई। पुलिस आउनु भन्दा पहिले म यहाँबाट नौ दु एघार हुन्छु’।
बाले केही बेर पहिले आरम्म गर्नु भएको कथा सकिनु पनि रामसेबकबाबा टुपलुक्क आइपुग्नु पनि एकै चोटी भयो। रामसेबकबाबा जयशंकर ओघडदानी, हरहर महादेव, कैलाशपति, बजरङ्गबली तोड दुस्मनकी नली भन्दै बाको छेउमा आइपुगे। अनि बातिर हेर्दे सोधे ‘यी बौआ के है, मास्टरसाहेब’?
‘हमर समाङ है। गौर जायला जिद करे लागल। ले अइली एकरो साथमे’ बाले मतिर हेर्दै रामसेबकबाबालाई भन्नु भयो।
‘बडा बढिया, मास्टरसाहेब। लैकाफैका के देखाओल सुनाओल बढिया होइछइ कि’ रामसेबकबाबाले बाको भनाइमा प्रतिक्रिया जाहेर गरे।
मलाई भने बाले भनेको कथाको केही अंश बाँकी नै रहे जस्तो लाग्यो। चलिरहेको वार्ताको प्रशङ्गलाई मोडदै मैले बालाई प्रश्न गरे -बा अघिको कथा वा घटनामा …… त्यो खतरनाक, खुनी डाँकुलाई पुलिसले समात्यो कि समातेन?
मेरो प्रश्न सुनेपछि रामसेबकबाबातिर हेर्दै बाले हाँसेर भन्नु भयो ‘कह दु ऊ खतरनाक, खुनी, जयमङगला डाँकु पुलिससे पकड्याएल कि न पकड्याएल’?
रामसेबकबाबाले तत्काल उत्तर दिए ‘पुलिस पकडलख कि, चारो ओर से घेर लेलख गावँ के सरेहमे। दश बरिस जेल परल। एक बरिस त सेलमे, हातमे हतकडी आ गोडमे नेल सहित’।
रामसेबकबाबाको भनाई सुने पछि मैले बालाई तत्काल प्रश्न गरे- बा, त्यो जयमङगला डाँकुको कथा रामसेबकबाबालाई पनि थाहा छ र?
रामसेबकबाबातिर हेर्दै बाले भन्नु भयो ‘अघि कथामा भनेको जयमङगला डाँकु यी रामसेबकबाबा नै हुन’।


विश्वराज अधिकारी

2 comments:

  1. I like your story. It is historical.

    ReplyDelete
  2. very interesting story!! like in the story only if people would not run after money, this world would be so much better place to live.

    ReplyDelete