Friday, November 11, 2011

Future of Nepalese Economy - Article 17


नेपालको आर्थिक भविष्य


आउँदा दिनहरुमा नेपालको आर्थिक स्थितिमा सुधार हुँदै जाने छ र आउने पन्द्र बिस वर्षमा नेपालले उल्लेखनीय किसिमले आर्थिक प्रगति गर्ने छ भन्दा धेरै नेपालीहरुलाई यो भनाइ अतिसयोक्ति लान्छ सक्छ र त्यस्तो लाग्नु स्वभाविक पनि हो। वर्तमानको अन्यौलपूर्ण राजनीति र नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आम नेपालीहरु राष्ट्रको आर्थिक प्रगतिप्रति निरासापूर्ण धारणा बनाउन बाध्य छन पनि। तर स्थिति सँधै यस्तो नै रहि रहँदैन। नेपालको आर्थिक स्थितिमा अवश्य पनि सुधार आउने छ, अर्थ तन्त्रको विकास पनि उल्लेखनीय किसिमले हुने छ। र त्यस किसिमबाट आर्थिक विकास हुने छ भनी विश्वास गर्ने धेरै आधारहरु छन पनि। ती आधारहरुलाई यस प्रकार प्रस्तुत गर्न सकिन्छ। पहिलो आधार: विगत दस पन्द्र वर्षमा नेपालीहरु अभूतपूर्व किसिमले वैदेशिक रोजगारीका लागि विदेशतिर लागे। वैदेशिक रोजगारीको सन्दर्भमा विदेशमा बस्दा उनीहरुले संगालेका केही अनुभवहरु यस्ता छन जुन भविष्यका लागि वहुसंख्यक नेपालीका लागि मार्ग दर्शक बन्छ सक्छ। विदेशमा बस्दा कार्यको सिलसिलामा जति परिश्रम गरिन्छ र जति किसिमको गार्हो र जोखिमपूर्ण काम गरिन्छ त्यतिकै परिश्रम र जस्तो सुकै काम गर्छु भन्ने मनस्थितिका साथ स्वदेश मै  काम गर्ने हो भने स्वदेशमा पनि अनेक किसिमका रोजगारीका अवसरहरु पहिचान गरि काम पाउने वातावरण सृजना गर्न सकिन्छ। वैदेशिक रोजगारीको सिलसिलामा आम नेपालीहरुले संगालेको यो पहिलो अनुभव हो। दोस्रो अनुभव हो, विदेशमा सिकेको सिप र दक्षतालाई स्वदेशमा प्रयोग गर्दा अझ बढी प्रतिफल पाउन सकिन्छ। यी अनुभवहरुले स्वदेश फर्किन र स्वदेश फर्केका नेपालीहरुलाई मुलुक भित्र बसरे नै राष्ट्रको आर्थिक विकास गर्न उत्प्रेरित गर्ने छन।  नेपालबाट वैदेशिक रोजगारी का लागि अन्य मुलुकहरु तर्फ प्रस्थान गर्ने नेपालीहरुको संख्यालाई हेर्दा वैदेशिक रोजगारी, दीर्घकालमा, न त राष्ट्रका लागि न त व्यक्ति वा परिवारका लागि नै आर्थिक तथा सामाजिक रुपले लाभदायक देखिन्छ। दोस्रो आधार:  गएको बिस एकाइस वर्षमा, २०४७ सालदेखिको समयलाई दृष्टिगत गर्दा,  नेपालीहरुको ठूलो समय लडाइ झगडामा नै बितेको छ। समयको यो काल खण्डमा नेपालीहरुले अनेक थरिका हिँसक आन्दोलनहरु देखे। विर्सिन नसकिने डर लाग्दो गृह युद्ध देखे। वर्षौदेखिको कायम रहेको सामाजिक सद्भाव डर लाग्दो किसिमले खल बलिने गरि भएको क्षेत्रियता, साम्प्रदायिकता, जातियाको झगडा पनि देखे। विभत्स किसिमका हत्याहरु देखे। राजनीतिको रंग दिएर गरिने बिभिन्न किसिमका डर लाग्दा अपराधिक घटनाहरु देखे। तर यी सब घटनाहरु देखे पछि नेपालीहरु के धारणा बनाउन बाध्य भए भने राष्ट्रको आर्थिक विकासका लागि आपसी कलह होइन मेल मिलाप आवश्यक हुने रहेछ। मुलुकको विकास गर्न नेताहरुको पछाडि लागेर अनेक किसिमका द्वन्दमा फसेर समय र साधन बरबाद गर्नु भन्दा आपसी समन्वय र सद्भाव कामय गरी आफ्नो क्षेत्रको र राष्ट्रको आर्थिक विकास गर्नु पर्ने रहेछ। विगतका घटनाहरुको मुल्यांकनद्वारा प्राप्त भएको यो अनुभवले नेपालीहरुलाई आपसी कलहमा न लागि आ-आफ्नो क्षेत्र र समग्र राष्ट्रको आर्थिक प्रगति गर्न अभिप्रेरित गर्ने छ। तेस्रो आधार: नेताहरुले देखाएको सपनको पछाडि लागेर धेरै नेपालीहरुले थुप्रै उत्पादक र वहुमूल्य समय गुमाएँ। तर, अब नेताहरुको गुट फुटको राजनीतिबाट दिक्क भएका नेपालीहरु यो अनुभव संगाल्न बाध्य भए कि नेताहरुले आफ्नो महत्वाकांक्षा पूरा गर्नका लागि जनताको केवल उपयोग गरेका रहेछन। आफूहरु सत्तामा पुग्नका लागि अनेक किसिमका नाराहरु चर्काएका रहेछन। यो समय बिन्दुका जनताहरुले अब आ-आफ्नो क्षेत्रको विकास नेताहरुको भाषणमा र आश्वासनमा होइन आपसी मेलमिलापद्वारा तयार पारिएका विकास योजनाहरुमा खोज्ने छन।
चौथो आधार: भारतको विहारले नितिश कुमारको नेतृत्वमा गरेको उल्लेखनीय आर्थिक प्रगति र ममता बनर्जीको पछाडि ठूलो जन समर्थनले दुइ तथ्यहरुको पृष्टि गर्दछ। बिहारको सन्दर्भमा, जातीयता, भ्रष्टाचार र अपराधको जगमा उभिएको राजनीतिले समाजको आर्थिक विकास सम्भव छैन। पश्चिम बंगालको सन्दर्भमा, समाजको आर्थिक विकास का लागि नियन्त्रित (कम्युनिष्ट) अर्थ व्यवस्था होइन उदार र लचिलो अर्थ व्यवस्था आवस्यक हुँदो रहेछ। औद्यौगिक विकास का लागि रोजगारदाता र श्रमिक बीचको सम्बन्ध कटुतापूर्ण हुनुको साटो नङ्ग र मासुको जस्तो हुनु पर्दो रहेछ।
भारतीय राजनीतिका यी दुई महारथीहरुको चर्चा अहिले विश्व राजनीतिमा नै भइ रहेको छ। र त्यसरी चर्चा हुनुको आधार पनि छ। नितिश कुमारले उल्टो दिशा (कमजोर स्थिति) तर्फ गइ हरेको विहारको राजनीतिलाई सुल्टो दिशा तर्फ डोर्याउनुका साथै विहारको आर्थिक विकासको दरलाई अति नै उच्च तुल्याए। नितिश कुमार फर्ब्स इण्डिया परसन अफ द इयर २०१०  (Forbes India Person of the Year 2010) समेत भएका छन।  यसै गरी, ममता बनर्जीले, प्रजातान्त्रिक किसिमले निर्वाचित भएर संसार मै लामो समयसम्म शासन गरेको कम्युनिष्ट सरकारलाई पराजित गरिन। ममता बनर्जीले निरन्तर रुपमा ३४ वर्षसम्म पश्चिम बंगालमा शासन गरेको कम्युनिष्ट पार्टीलाई पराजित गरेकी थिन। विहार र पश्चिम बंगालको परिवर्तनले नेपालका नेताहरुलाई दुइ वटा सन्देश दिन्छ। पहिलो, सन्देश, जातीयता, क्षेत्रियता, भ्रष्टाचार र अपराधको जगमा गरिने राजनीतिको आयु लामो हुँदैन। दोस्रो, देशको सर्वांगिण आर्थिक विकास गर्नका लगि उदार र लचिलो अर्थ तन्त्र आवस्यक छ, न कि नियन्त्रित कम्युनिष्ट अर्थ व्यवस्था। र त्यसै गरि मजदूर र रोजगारदाताहरु बीचको सम्बन्ध सुमधुर हुन आवस्यक छ, जुन प बंगालमा हुन सकेन। नेपालका नेताहरुमा आएको वा आउने यो चेतले उनीहरुलाई यथार्थको धरातलमा रहेर राजनीति गर्न निर्देसित गर्ने छ, र त्यो स्थितिले नेपालको आर्थिक विकासको ढोका खोल्न सहयोग पुग्ने आशा गर्न सकिन्छ।
पाँचौ आधार: नेपालीहरुले गएका वर्षहरुमा विभिन्न राजनैतिक दल र ती दलका नेताहरुको क्रियाकलापहरुको राम्रो अध्ययन मात्र होइन मूयांकन समेत गरि सकेका छन। विभिन्न किसिमका मुद्दाहरु उठाएर, ती मुद्दाहरुको पछाडि जनताहरुलाई लगाएर नेताहरुले आफ्नो स्वार्थ सिद्धि गरेको पनि जनताहरुले देखि सकेका छन। जुनै राजनैतिक दल सँग आवद्ध भएता पनि, चमत्कारी किसिमले जनताको आर्थिक जिवनमा सुधार ल्याउँछु भनेता पनि, गरमा गरम मुद्दा ल्याएता पनि वहु संख्यक नेताहरु आफ्नै स्वार्थको वरि परि घुम्ने कुरामा धेरै नेपालीमा अब द्विविधा रहेन। त्यस कारण अब आउँदो चुनावमा नेपालीहरुले आफ्नो क्षेत्र र समग्र राष्ट्रको विकास गर्न, चुनावमा उठ्ने नेताको राजनैतिक पृष्ठभूमि हेर्नुको साटो उसको इमान्दारी तथा विकास प्रति उसको लगाब लाई हेर्ने छन। यसै गरी कुनै नेताले उठाउने क्षेत्रियता, जातीयताको नारा भन्दा उसको योग्यता र निष्ठालाई महत्व दिने छन। नेताले के बोले भन्दा पनि बिगतमा के गरे भन्ने कुरालाई ठूलो मान्ने छन। र यस किसिमका कसीहरुमा राखेर योग्य नेताहरुको चयन गर्ने छन। जनताको नजरमा फेल होइन पास भएर अर्थात निर्वाचित भएर आउने योग्य र इमान्दार नेताहरुको नेतृत्वमा देशले अवश्य पनि विकास गर्ने छ।
छैठौ आधार: आफ्ना दुई आर्थिक महा शक्ति राष्ट्रहरु- भारत र चीनबाट कसरी अधिकत्तम आर्थिक फाइदा उठान सकिन्छ त्यस तर्फ नेपालीहरुले अब बढी  ध्यान दिने छन। नेपालीहरुले विगतको अनुभव र वर्तमान विश्व परिस्थितिबाट धेरै सिकि सके। अहिलेको अवस्थामा आर्थिक हितलाई केन्द्रमा राखेर छिमेकीहरुसँग सम्बन्ध बढाउन जोड दिनु पर्ने भएकोले दुबै छिमेकीहरुलाई विश्वासमा लिएर नेपालीहरुले नजिकका यी दुई बृहत बजारहरुको उपयोगमा जोड दिने छन। अति नजिकका यी दुई छिमेकीलाई संका उसंकाको दृष्टिले हेर्ने पर्मपराको अन्त्य गर्दै उनीहरुसँग राम्रो सम्बन्ध निर्माण गरी उनीहरुको आर्थिक वृद्धिलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्ने छन।
घाउ लागे पछि थाहा हुन्छ घाउ कति दुख्ने हुन्छ र त्यसले कति पीडा दिन्छ, भन्ने यथार्थ। नेपालीहरुलाई धेरै किसिमका घाउहरु लागे। नेपालीहरुले धेरै किसिमका घाउका पीडाहरु सहि सके। अब ती घाउका पीडाहरुलाई, ती अनुभवहरुलाई राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले सदुपयोग गर्ने छन, अर्को घाउ बल्झाउने छैनन्।  


विश्वराज अधिकारी


Published in prateekdaily.com on Friday, November 11, 2011
http://www.prateekdaily.com/2011/11/blog-post_7606.html?utm_source=BP_recent





No comments:

Post a Comment