Thursday, December 8, 2011

Social Environment -14 Poverty and Economics



१४ जनताको व्यवहार


परम्परागत वा अर्थ शास्त्रिय धारणा अनुसार  अशल जल वायु, उब्जाउ जमिन, अनुकूल मौसम आदिलाई  देशको आर्थिक विकासका लागि आवश्यक तत्वको रुपमा मानिन्थ्यो। यसै गरी, पर्याप्त मात्रामा र कुशल श्रमिकहरुको उपस्थिति, पूँजीको पर्याप्तता, भूमिको अत्यधिक उपलब्धता, प्रभावकारी व्यवस्थापन अदिलाई पनि आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेरियो। त्यस पछि, सूचना प्रविधिको राम्रो विकास र उत्पादनमा मेसिन एवं औजारको व्यापक उपयोगलाई आर्थिक विकासको आवश्यक तत्वको रुपमा हेर्न थालियो। आफ्नो राष्ट्रलाई विश्व अर्थ व्यवस्थासँग आवद्ध गराएर, वैदेशिक व्यापारको माध्यमवाट देशको अर्थ व्यवस्थालाई छिटै माथि उकास्न सकिन्छ भनी धेरै राष्ट्रहरुले विश्वास गरे। र यस्तो विश्वाश गर्नेमा भारत, चिन लगाएत अन्य थुप्रै राष्ट्रहरुमा पर्छन् । तर अब के विश्वाश गर्न थालिएको छ भने कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि माथि भनिएका कुराहरु गौण हुन। राष्ट्रको आर्थिक विकासका लगि प्राथमिक र महत्वपूर्ण तत्व हो जनताको अनुकूल व्यवहार। जनताको व्यवहार अनुकूल नभएमा माथि भनिएका कुराहरुको उपस्थितिमा पनि राष्ट्रले आर्थिक विकास गर्न सक्तैन र यो तथ्यका ज्वलन्त उदाहरण हो द्वन्दग्रस्त अफ्रिक राष्ट्रहरुको स्थिति। र त्यहाँ ब्याप्त गरिबी।
कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि चाहिने पहिलो र सर्वाधिक महत्वपूर्ण तत्व हो  जनताको अनुकूल व्यवहार हो। जनताको अनुकूल व्यवहार भन्नाले एक आपसमा मिलेर बस्ने प्रवृति वा सामाजिक सद्भाव भन्ने बुझिन्छ।
सामाजिक सद्भावको मनोविज्ञानद्वारा  जातीयता, क्षेत्रियता, साम्प्रदायिता, उपलब्ध स्रोत एवं साधनहरुको बांटफांटमा मतभेद जस्ता भावनाहरुमाथि व्यक्ति एवं परिवारको  नियन्त्रणबाट सामाजिक सद्भाव कायम गर्न सकिन्छ। आम वा सामान्य नागरिकबाट कायम गर्न खोजिने सामाजिक सद्भाव ज्यादै प्रभावकारी भएको देखिएको छ पनि। सरकार वा राजनैतिक दलहरुले, खास गरी गरिब राष्ट्रहरुमा, सामाजिक सद्भाव कायम गरेको उदाहरण बिरलै देख्न पाइन्छ। बरु विश्वमा खलबलिएको सामाजिक सद्भाव एवं जातीय दँगाहरुको इतिहास हेर्ने हो भने बढी मात्रामा सरकार वा राजनैतिक दल वा तिनका नेताहरुद्वारा सामाजिक सद्भाव बिथोलिएको वा जातीय दँगा गराइएको धेरै उदाहरणहरु देख्न सकिन्छ। त्यस कारण सामाजिक सद्वभावमा अहम् भूमिका सामान्य नागरिकको रहेको पाइन्छ। र सामाजि सद्भाव कायम गर्न सामान्य नागरिकले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ पनि राष्ट्रिय आर्थिक विकासका लागि। यस्तो गरिएमा मात्र व्यक्ति, परिवार, समाज र राष्ट्रलाई गरिबीबाट मुक्ति दिलाउन सकिन्छ। त्यस कारण यो सन्देश सामान्य नागरिकहरुम पुग्न अति आवश्यक छ, मुख्य गरी नेपालको सन्दर्भमा।   
जनताको व्यवहार जति अनुकूल भयो राष्ट्रले त्यति नै द्रुततर गतिमा आर्थिक विकास गर्छ, देशमा विभिन्न किसिका प्राकृतिक र आर्थिक बाधाहरु भएता पनि। प्राकृतिक बाधाहरु भए पनि राष्ट्रको विकास द्रुततर गतिमा गरेको उदाहरणहरु निकै राष्ट्रको आर्थिक विकासबाट प्रस्तुत गर्न सकिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा र यूरोपका थुप्रै राष्ट्रहरु प्राकृतिक बाधाहरु हुँदा हुँदै पनि ठूलो आर्थिक प्रगति हासिल गर्न सक्षम भएकका छन्। प्राकृतिक बाधाहरु भन्नाले ठूलो मात्रामा हिमपात, समुन्द्री आँधी (Hurricane), टोरनाडो (Tornado), उब्जाउ जमिनको अभाव, मरुभूमि आदिलाई लिन सकिन्छ।
जनताको व्यवहार अनुकूल नभएमा आर्थिक प्रगति टाढाको कुरा हुने मात्र होइन राष्ट्रले लामो द्वन्द, आम हत्या र दीर्घकालिन गृह युद्धको स्थिति भोग्नु पर्ने हुन्छ र त्यस्तै स्थिति अहिले धेरै अफ्रिकी मुलुकहरुले भोगिरहेका छन। विकासका सम्भावनाहरु पर्याप्त मात्रामा भएता पनि असल सामाजिक सद्भावको अभावमा ती राष्ट्रहरुले गरिबीबाट छुटकारा पाउन सकिरहेका छैनन्। जबकी, के विश्वास गरिन्छ भने मानव उत्पत्ति सर्व प्रथम हालको अफ्रिकी क्षेत्रमा भएको हो। हालको अफ्रिकाबाट मानिसहरु बसाई सराई गर्दे हालको यूरोप, एशिया हुँदै अमेरिका (अमेरिकी महादेशहरु) पुगेका हुन।
सामाजिक सद्भावको अभावमा निरन्तरको संघर्ष र गृह युद्धमा फस्ने राष्ट्रहरु निकै छन, अफ्रिकामा। अहिले चर्चामा रहेको राष्ट्र चाँहि सुडान हो जहाँ सुडान एउटै रहने वा दुई भागमा टुक्रिने भनी जनताको मत बुझ्ने कार्य भइहरेको छ। जनताको मत ( जनमत संग्रह) ले सुडान एउटै रहने वा दुई भागमा बाँडिने, जुन सुकै इच्छा प्रकट गरेता पनि अफ्रिकाको यो सबै भन्दा ठूलो र साधन स्रोतले सम्पन्न राष्ट्रले अनेक चुनौतिहरुको सामना गर्नु पर्ने छ किनभने  सुडानको मुल समस्या भनेको सामाजिक सद्भभावको अभाब हो। दक्षिणी सुडानलाई अलग परी स्वत्रन्त राष्ट्र स्थापना गर्ने वा एउटै सुडान कायम राख्ने भनी दक्षिणी क्षेत्रका जनतालाई रोज्ने अवसर प्रदान गरिएको छ। मनोवैज्ञानिक रुपमा उत्तरी र दक्षिणी गरी दुई भागमा बांडिएको सुडानको उत्तरी क्षेत्रमा मुसलमानहरुको प्रभाव छ भने दक्षिणमा क्रिसचियनहरुको। उत्तरी र दक्षिणि क्षेत्रको आ-आफ्नै किसिमका कारणहरु छन एक अर्कालाई दोषी दखाउने। सुडानमा पचासौं वर्षसम्म चलेको गृह युद्धले लाखौको ज्यान लिइ सकेको छ। डाफुर (Darfur)  मा भएको हिँसामा करिब तीन लाख  मानिसले ज्यान गुमाएको र यसै गरी सत्ताइस लाख मानिस या त डाफुर भित्र वा छिमेकी राष्ट्र चाडमा विस्थापित हुन बाध्य भएको विश्वास गरिन्छ।
सुडानमा, यही (२०११) जनवरीको ९ देखि १५ सम्ममा सम्पन्न भएको जनमत संग्रहले सुडान एउटै रहने वा टुक्रिने भन्ने कुराको निर्धारण गर्ने छ। जनमत संग्रहको नतिजा आगामी महिनामा घोषणा गर्ने भनिएको छ। यदि जनताको मतले टुक्र्याउने प्रस्तावलाई अनुमोदन गरेमा ६ जुलाईमा विश्वमा एक अर्को राष्ट्रको जन्म हुनेछ र यसरी एक अर्को राष्ट्र जन्म हुनुको कारण भने सामाजिक सद्भावको अभाव भनी लेख्न इतिहास बाध्य हुनेछ, तपसीलमा अन्य कारणहरु देखाइएता पनि।
नेपालमा, हामीले सामाजिक सद्भाव कायम गर्न सक्यौ भने मात्र आर्थिक प्रगति हासिल गर्न सक्छौ। यदि सामाजिक सद्भाव कायम गर्न सकेनौ र जातियता, क्षेत्रियता, साम्प्रदायिकताको मनोविज्ञानबाट हामी बिभाजित भइनै रह्यौ भने आर्थिक विकास त टाढाको कुरो हुने छ उल्टो गरिबीको डर लाग्दो दलदलमा फँस्ने छौ। हामी मात्र गरिबीको दलदलमा फँस्ने होइन भावि पुस्तालाई पनि गरिबीको दल दलमा फँस्न बाध्य पार्ने छौ। आउने पुस्ताले हामीलाई धिकार्नु वाहेक अरु केही गर्न सक्ने छैनन्, अनके किसिमका मतभेदहरुमा अल्झिएर हामीले उनीहरुलाई समृद्ध नेपाल हस्तान्तरण गर्न नसकेकोमा। 


विश्वराज अधिकारी

No comments:

Post a Comment