Friday, December 9, 2011

What Are The Economic Development Factors? Article - 21


के हुन त विकासका लागि आवश्यक तत्वहरु


कुनै पनि गाउँ वा शहरको विकास हुनका लागि के  के कुराहरु आवश्यक हुन्छन त? यस बारे धेरैको फरक फरक मत रहेको पाइन्छ। कसैको भनाईमा कुनै ठाउँको विकास हुनका लागि त्यस ठाउँलाई सडकले जोडेको हुनु पर्दछ। यातायातको सुबिधाले कुनै पनि स्थानको विकासमा तिब्रता ल्याउँछ। सडक सुबिधा भएको ठाउँबाट सामान अन्यत्र पुर्याउन तथा त्यहाँ सामान ल्याउन सजिलो हुन्छ। र यसरी सडकले गर्दा त्यस क्षेत्रको विकास अन्यत्रको तुलनामा तिब्र गतिमा हुन पुग्दछ। अर्थात विकासका लागि चाहिने पहिलो आवश्यक तत्व सडक हो।
कसैको भनाईमा भने कुनै पनि स्थानको विकास हुनका लागि त्यहाँ उपलब्ध  रहेका स्रोत एवं साधनहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन। र त्यस किसिमका स्रोत र साधनहरुमा खोला नाला, मनोरम पहाड, उब्जाउ जमिन, धार्मिक र साँस्कृतिक मह्त्वका स्थान एवं वस्तु, खानी आदि पर्दछन। कुनै पनि स्थानमा उपलब्ध रहेका स्रोत एवं साधनहरुले त्यस ठाउँमा एक सबल बजार निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्छन। एक सबल बजार निर्माण सँग सँगै सडक, बिजुली (उर्जा) जस्ता अन्य पूर्वाधारहरुको त्यस ठाउँमा आप से आप विकास हुन पुग्दछ। यस्तो मतमा विश्वास राख्नेहरु पनि धेरै नै छन।
तर केहीले भने कुनै पनि स्थानको आर्थिक विकासका लागि त्यस स्थानको प्राकृतिक वातावरण कृषि, उद्योग एवं व्यापारका लागि अनुकूल हुनु पर्ने कुरामा जोड दिएका छन। उनीहरुको भनाइमा पहाडमा भन्दा मैदानी भागमा जन जिवन सरल मात्र होइन आर्थिक विकास गर्न पनि सजिलो हुन्छ। यसै गरी ज्यादै जाडो ठाउँ भन्दा कम जाडो हुने र ज्यादै गरम भन्दा कम गरम हुने ठाउँमा आर्थिक विकासका क्रियाकलापहरु संचालन गर्न सजिलो र प्रभावकारी समेत हुन्छ।
कुनै पनि स्थानको विकासका लगि त्यहाँ उपलब्ध रहेको उर्जाको स्थितिले अति नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ भन्नेहरुको संख्या पनि कम छैन। उर्जाको असहज उपलब्धताले गर्दा आर्थिक विकासमा बाधा पुग्छ। आज भोलि हरेक क्षेत्रमा उर्जा नभई नहुने स्थिति हुन पुगेको छ। उद्योग संचालनका लागि मात्र होइन यातायात लगाएत घरेलु जिवनको लागि पनि उर्जा उत्तिकै आवश्यकीय तत्व हुन पुगेको छ। दैनिक जिवन यापनका लागि, भान्सादेखि कम्प्युटरसम्म, उर्जा (बिजुली) एक अत्यावश्यकीय तत्व भएको वर्तमान जिवनशैलीबाट प्रष्ट हुन्छ। उर्जाको सहज र सस्तो उपलब्धताले गर्दा आर्थिक विकासको ढोक सजिलै गरी खुल्न जान्छ, उर्जालाई विकासको अत्यावश्यकीय तत्व मान्नेहरुको बिचारमा।
यसरी,  कुनै पनि स्थानको आर्थिक विकासका लागि आवश्यक पर्ने तत्वहरु प्रति व्यक्तिहरुको धारणा फरफ फरक रहेको पाइन्छ। तर यथार्थमा, कुनै पनि स्थानको विकासका लागि आवश्यक तत्वहरु के के हुन त? यो अति नै विचारणीय कुरा हुन पुगेको छ, वर्तमान सन्दर्भमा। र खास गरि नेपालका लागि।
नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा, कुनै पनि स्थानको आर्थिक विकासका लागि त्यहाँ रहेका स्रोत र साधनहरु महत्वपूर्ण हुन भने तराईका शहरहरुमा जनकपुर अति नै प्रचीन नगर हो। आज भन्दा हजारौ वर्ष पहिले, त्रेता युगमा नै राज जनकको दरबार (धार्मिक महत्वको स्थान) त्यस शहरमा थियो र भगवान रामचन्द्रको आगमन त्यहाँ भएको थियो, सीता जीसंग विवाह गर्नका लागि। अर्थात जनकपुरमा पहिलेदेखि नै पर्याप्त मात्रमा स्रोत र साधन ( जानकी मन्दिर लगाएत धार्मिक र एतिहासिक महत्वका पर्यटकीय स्थल) हरु थिए र अहिले पनि छन। तर आर्थिक विकासको कुरा गर्दा , जनकपुर भन्दा तरूण शहर, बीरगंजको आर्थिक विकासले जनकपुरलाई धेरै उछिनि सकेको छ। यदि जनकपुरमा, जनकपुर चुरोट कारखाना नभइ दिएको भए जनकपुर आज जुन स्थितिमा छ त्यो स्थितिमा पनि हुन्थ्यो कि हुन्थेन प्रष्ट संग भन्न सकिने स्थिति छैन। यति मात्र होइन, तुलनात्मक रुपमा ज्यादै नया शहर, जनकपुरको नजिकमा रहेको, लालबन्दीले तिब्र रुममा आर्थिक विकास गरि रहेको छ।
त्यसै गरी, यदि सडक सुबिधाले कुनै पनि स्थानको आर्थिक विकासमा अति नै महत्वपूर्ण भूमिका खेल्ने हो भने तराईका शहरहरुमा गौरले तिब्र गतिमा आर्थिक विकास गर्नु पर्थ्यो तर त्यस्तो भएन, सडक सुबिधा हुँदा हुँदै पनि। गौरबाट ब्यापारीहरु मात्र होइन, सामान्य नागरिकहरु पनि त्यस्ता अन्य शहरहरुमा बसाइ सरे जुन तुलनात्मक रुपमा बलिया आर्थिक स्थितिका थिए। जबकी आज भन्दा चालिस पचास वर्ष पहिले देखि गौरमा यातायात सुबिधा थियो, गौरको नजिक रहेको भारतीय शहर बैरगनियाको रेल सेवालाई लिने हो भने। गौरदेखि केवल दुइ वा तीन किलोमिटरको दूरि मा मात्र रहेको भारतीय शहर बैरगनिया पुगेर मानिस सजिलै संग नेपाल लगाएत भारतका विभिन्न शहरहरुमा समेत पुग्न सक्थ्ये त्यस बेलामा पनिपछि त झन गौरलाई पूर्व पश्चिम राज मार्गमा रहेको चन्द्रनिगागपुरसँग जोडिय। यति हुँदा हुँदै पनि गौरको अपेक्षित मात्रामा आर्थिक विकास हुन सकेन। स्थिति अहिले यस्तो भएको छ कि केही दशकदेखि मात्र शहरको रुपमा संगठित हुन थालेको चन्द्रनिगाहपुर आर्थिक विकासकहिसाबले गौर भन्दा निकै अगाडि पुगेको छ।  
यस किसिमका उदाहरण अरु पनि छन तर यो सानो लेखमा धेरै उदाहरण समाबेस गर्न गर्हो भएकोले केही प्रतिनिधि उदाहरणहरुलाई मात्र समाबेस गरिएको छ।
कुनै पनि स्थानको आर्थिक विकासका लागि अत्यावश्यक, खासमा त्यहाँका जनता हुन। हुन त अरु कुराहरु पनि आवश्यक होलान तर मुख्य रुपमा त्यहाँका जनता नै हुन, अत्यावश्यकीय तत्व। स्थानीय जनताको आर्थिक विकासप्रतिको बलियो चाहनाले नै कुनै पनि स्थानको आर्थिक समुन्नतिमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
कुनै पनि स्थानको जनता र त्यस स्थानका जनताद्वारा बनेको सामाजिक वातावरणले सो स्थानको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जनताको आर्थिक विकासप्रतिको चाहनाले आर्थिक विकासका पूर्वाधारहरुको खोजि गर्दछ, तिनको निर्माण तथा व्यवस्थापन गर्दछ। विकासप्रतिको जनताको चाहना बलियो छ भने आर्थिक विकासका पूर्वाधार (सडक, उर्जा, स्रोत, साधन आदि) हरु आप से आप जुटदै जान्छन। आर्थिक विकासप्रतिको जनताको चाहनाले पूर्वाधारहरु जन्माउने गर्दछ। तर यसको विपरित,  यदि कुनै स्थानको सामाजिक वातावरण प्रतिकूल छ, अर्थात समाजमा समन्वयको अभाव छ, विश्वासको संकटले गर्दा समाजिक सद्भाव खलबलिएको छ, कलह र द्वन्दले निरन्तरता पाएको छ भने त्यो स्थानको आर्थिक विकास सुस्त हुने मात्र होइन विपरित दिशा तर्फ जान थाल्छ।
धार्मिक, सामाजिक, राजनैतिक, आध्यत्मिक, प्राविधिक नेताहरु भए झै व्यवसायी नेता (Business Leader) हरु पनि हुन्छन समाजमा र ती व्यवसायी नेताहरुले समाजको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन। यस्ता व्यवसायी नेताहरुले राम्रो वातावरण पाए भने आर्थिक विकासको गतिलाई तिब्र पार्न सक्छन। एक अशल वा अनुकूल व्यापारिक वातावरण एक बलियो र भरपर्दो कार हो भने एक कुशल व्यवसायिक नेता एक दक्ष चालक हो। यी दुवै, कार र चालकको संयोजनबाट, कारमा यात्र गरि रहेका (जनता) ले सजिलै सँग गन्तव्यमा पुग्ने औसर प्राप्त गर्छन। र अनुकूल व्यवसायिक वातावरणमा नै कुसल व्यवसायिक नेताको जन्म हुन्छ। सम्रगमा भन्नु पर्दा, कुनै पनि स्थानको आर्थिक विकासमा त्यस स्थानको जनताको आर्थिक विकासप्रतिको चाहनाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ, पूर्वाधार त पछिका कुराहरु हुन।

विश्वराज अधिकारी


Published in prateekdaily.com on Friday, December 09, 2011 
http://www.prateekdaily.com/2011/12/blog-post_3374.html

No comments:

Post a Comment