पूँजीवादको जन्म, विकास र प्रयोग
१. परिचय
पूँजीवाद अहिले विश्व भरि नै निकै चर्चा र व्यापक प्रयोगमा
छ। पूँजीवाद नेपालमा पनि निकै चर्चामा छ। नेपाली कम्युनिष्टहरुले पूँजीवादको अति
बिरोध गर्ने र नेपालको सामाजिक जिवन र राष्ट्रिय राजनीतिमा कम्युनिष्टहरुको बलियो
र प्रभावकारी पकड भएकोले पूँजीवाद झनै चर्चामा रहन पुगेको छ।
नेपालमा, पूँजीवाद प्रति कम्युनिष्टहरुको दुई किसिमका
दृष्टिकोणहरु रहेको पाइन्छ।
एकथरि, जो आफूलाई खाँटी कम्युनिष्ट भन्न रुचाउँछन्, ले त
पूँजीवादको प सम्म पनि सुन्न मन पराउँदैनन्, अर्थतन्त्रमा पूँजीवादको प्रयोग त
उनीहरुको लागि दूर देशको कुरा हो। परम्परावादी यी कम्युनिष्टहरुले पूँजीवादलाई
गालि मात्र गर्दैन, धनीहरु द्वारा गरिबहरुको चरम शोषण हुनुमा मुख्य कारक तत्व
पूँजीवादलाई नै मान्दछन्। पूँजीवादलाई,
गरिबहरुलाई कमजोर तुल्याउन उनीहरु माथि प्रयोग गरिने एक किसिमको हतियारको रुपमा
लिन्छन। यो भ्रमपूर्ण दृष्टिकोणबाट उनीहरु बाहिर आउन सकि रहेका छैनन्, विश्वका
विभिन्न राष्ट्रहरुले पूँजीवादको प्रयोग गरेर मुलुक र जनताको आर्थिक जिवनमा व्यापक
सुधार ल्याएता पनि, राषट्रलाई धनी तुल्याएता पनि। चीन र भारतले पूँजीवादको प्रयोग
गरेर अभूतपूर्व किसिमले गरेको आर्थिक प्रगतिलाई परम्परावादी कम्युनिष्टहरु मिथ्या
मान्दछन। ती मुलुकका गरिबहरुको जिवनमा आएको सुधारलाई सकारात्मक तथ्यको रुपमा
स्वीकार गर्नुको साटो त्यसलाई आर्थिक छल ठान्दछन्। पूँजीवाद प्रति एक समूहको यस
किसिमको ज्यादै नकारात्मक दृष्टिकोण रहेकोले पनि यो वाद नेपालमा निकै चर्चित हुन
पुगेको छ।
अर्को थरि, जो आफूलाई नरम कम्युनिष्ट भन्न रुचाउँछन, कसैले
जड सुत्रवादी नभनि देउन भन्ने चाहन्छन्, ले
भने पूँजीवादको व्याखा आफ्नै अनुकूलता अनुसार गरेका छन। पूँजीवादको महत्व बुझेर
त्यस प्रति आकर्षित भएका छन्, राष्ट्रिय अर्थतन्त्रमा पूँजीवादको प्रयोग गर्ने
खोजेका छन्, तर मुलुकको आर्थिक विकासका लागि पूँजीवाद आवश्यक रहेको छ खुलेर भन्न
सकेका छैनन्। जनतालाई हामी पूँजीवादमा विश्वास राख्छौ भन्ने हिम्मत गर्न सकेका
छैनन्। खास गरि एमाले र एमाओवादीले मुलुकको आर्थिक विकासका लागि पूँजीवाद अति नै
उपयोगी हुने यथार्थ जनता माझ गएर भन्न सकेका छैनन्, उल्टो पूँजीवादको व्याखा अनेक
किसिमले गरेर त्यसलाई बुझ्न जटिल पारि दिएका छन्। यो अर्को कारण हुन पुगेको छ,
नेपालमा पूँजीवाद चर्चामा रहनुमा र रहस्यको विषय बन्नुमा।
अर्थ व्यवस्थाको सन्दर्भमा, कांग्रेसले भने, अहिले, न त
आफूलाई समाजवादी पक्तिमा उभ्याउन सकेको छ न त पूँजीवादी पक्तिमा नै। ४६ सालको
राजनैतिक परिवर्तन पहिले भने कांग्रेसले आफूलाई प्रष्ट रुपमा समाजवादी भन्ने
गर्थ्यो। अहिले कांग्रेसले समाजवादीधार परित्याग गरेको छ, उसको आर्थिक
कार्यक्रमहरुमा यो देखिएको छ पनि। आश्चर्यको कुरा त के छ भने कांग्रेसले समाजवादी
नीति परित्याग गरेता पनि हामी पूँजीवादमा विश्वास गर्छौ भनी जनतालाई प्रष्ट रुपमा
भन्ने हिम्मत गर्न सकेको छैन। ४६ सालको राजनैतिक परिवर्तन पछि कांग्रेसले प्रतिस्पार्धात्मक
अर्थ व्यवस्थामा विश्वास गरेता पनि मुलुकको आर्थिक विकासका लागि पूँजीवाद उपयोगी
मात्र होइन अनिवार्य रहेको खुलेर भन्न सकेको छैन, ढुलमुलको स्थितिमा छ। कांग्रेसका
अर्थशास्त्रीहरुले पनि पूँजीवाद मुलुकको लागि उपयोगी छ, त्यसकारण यो आर्थिक
दर्शनमा हामी विश्वास गर्छौ भनी खुलेर भन्न सकेका छैनन्।
मदेशवादी दलहरुले कस्तो किसिमको अर्थ व्यवस्थामा आफूहरुको
विश्वास रहेको बारे केही प्रष्ट पारेका छैनन्। न त पूँजीवाद प्रति उनीहरु
सकारात्मक वा नकारात्मक, कस्तो स्थितिमा छन्, भन्ने कुरा प्रष्ट पारेका छन्। अर्थ
व्यवस्थाको सन्दर्भमा मदेशवादी दलहरु पनि अलमल भन्दा पनि ढुलमुलको स्थितिमा छन्। मदेशवादी
दलहरु तराई केन्द्रित भएको र तराई नेपालको अन्न भण्डार हुनुका साथै यहाँ उद्योग र व्यवसायिक
प्रतिष्ठानहरु ठूलो संख्यामा रहेको हुनाले मदेशवादी दलहरुले पूँजीवाद प्रति स्पस्ट
धारणा राख्न अनिवार्य देखिन्छ। कुन किसिमको आर्थिक व्यवस्थाप्रति मदेशवादी दलहरुले
विश्वास देखाउँछन भन्ने कुराले तराईको अर्थ व्यवस्थामा मात्र होइन, सिंगो मुलुकको
अर्थ व्यवस्थामा नै प्रभाव पार्ने भएकोले उनीहरु अर्थ व्यवस्थाप्रति स्पस्ष्ट हुन
आवश्यक छ।
विश्वका अनेक राष्ट्रहरुले पूँजीवादको प्रयोगद्वारा आफ्नो
मुलुकको आर्थिक विकास चमत्कारी किसिमले गरेका छन। पूँजीवादी अर्थ व्यवस्था अंगालेर
देशको उद्योग एवं व्यापारलाई प्रतिस्पर्धात्मक तुल्याएका छन। अर्थतन्त्र
प्रतिस्पर्धात्म भएकोले औधोगिक एवं उपभोक्ता वस्तुहरु सस्तोमा उलब्ध गराउन सक्षम भएका छन। मुलुकमा
ठूलो परिणाममा पूँजीको निर्माण गर्न सकेका छन्। यूरोपले त पहिले देखिनै पूँजीवादी
अर्थ तन्त्र अंगालेको थियो, अहिले दक्षिण अमेरिकी र अफ्रिकी राष्ट्रहरुले पनि
पूँजीवादी अर्थ तन्त्र अंगाल्दै छन, यो अर्थ व्यवस्थाद्वारा मात्र राष्ट्रको
आर्थिक विकास हुने टुंगोमा पुगेका छन्। तर नेपाल, जहाँ मुलुकको आर्थिक विकास
ज्यादै सुस्त गतिमा चलेको छ, जनता गरिबीसँग कठोर संघर्ष गरि रहेका छन्, मा पूँजीवादको
प्रयोगमा एक थरिबाट व्यापक विरोध भइ रहेको छ भने अर्को थरिले पूँजीवाद प्रष्ट
रुपमा अँगालेर, मुलुकको आर्थिक विकासका लागि पूँजीवाद आवश्यक छ भनी जनतालाई भन्ने
हिम्मत गर्न सकि रहेको छैन।
जुन पक्षहरुले पूँजीवादको विरोध गरि रहेका छन, उनीहरुले,
पूँजीवाद के कति कारणले गरिब जनताको
आर्थिक हितमा छैन, पूँजीवादले कसरी गरिब जनताको आर्थिक शोषण गर्दछ, प्रष्ट रुपमा
भन्न सकेका छैन। केवल अमूर्त रुपमा मात्र भनि रहेका छन- पूँजीवादले गरिबहरुको
आर्थिक शोषण गर्छ। धनीलाई झन झन धनी पार्छ गरिबलाई झन झन गरिब। तर के कति कारणहरुले पूँजीवाद गरिबहरुका लागि
घातक हो भन्ने कुरा प्रष्ट नपारी त्यतिकै गरिबहरुलाई पूँजीवादको बिरोध गर्ने
मनस्थितिमा पुर्याउनु राम्रो होइन। अर्कोतिर जनताले पनि पूँजीवादको बिरोध गर्नेहरु
सँग के कति कारणले पूँजीवाद समाजको आर्थिक उत्थानका लागि घातक हो भन्ने कुराको
प्रष्टिकरण माग्न सकेका छैनन्। परम्परागत रुपमा कम्युनिष्ट नेताहरुले गरेको
पूँजीवादको विरोधलाई जनताले अनुमोदन गर्दै आएका छन, पूँजीवादका दोष र गुणहरुलाई
शुक्ष्म किसिमले अध्ययन गर्नुको साटो। पूँजीवादको बिरोधको नारा भित्र आर्थिक
समृद्धिको सपना देखेका छन्, गरिब जनताहरुले। तर मौजुदा विश्व परिस्थितमा
पूँजीवादको विरोधबाट न त जनताको आर्थिक जिवनस्तर माथि उठ्न सक्छ न त राष्ट्रको नै।
(क्रमश:)
Bishwa Raj Adhikari
प्रतीक दैनिकमा प्रकाशित Friday, February 22, 2013