Friday, June 21, 2013

Brazil's Economic Development-Article-93 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१६. आर्थिक प्रगतिको दिशामा ब्राजिल

कुनै समय यस्तो थियो, देशको जनसंख्या बढी हुनु गरिबीको कारणको रुपमा उल्लेख हुन्थ्यो। कम वा सन्तुलित जनसंख्या आर्थिक प्रगतिका लागि आवश्यक  पूर्वाधार मानिन्थ्यो। यूरोपका देशहरुले यही मान्यतालाई जोड दिएर, जन संख्यालाई सन्तुलित पार्दै, निकै आर्थिक प्रगति गरे पनि। अनि कुनै समयमा निकै धनी राष्ट्र समेत कहलिए। हुन त यो मान्यताको सत्यता पूर्णतया समाप्त भइ सकेको त छैन, तर यो मान्यतालाई अर्को मान्यताले भने विस्तारै विस्थापित गर्न खोज्दै छ। त्यो अर्को मान्यता हो- यदि उच्च जनसंख्यालाई मुलुकको आर्थिक विकासका लागि व्यवस्थित किसिमले प्रयोग गर्ने हो भने त्यो प्रयोगले मुलुकको गरिबी कम मात्र हुँदैन साथै राष्ट्र पनि आर्थिक रुपमा समृद्ध हुन्छ। चीन, भारत, इण्डोनेशिया, ब्राजिल आदिमा त्यो मान्यताले अहिले सफलतापूर्वक काम गरि रहेको छ। यी राष्ट्रहरुले आफ्नो देशको उच्च जनसंख्यालाई मुलुकको आर्थिक विकासका लागि व्यवस्थित किसिमले उपयोग गरि रहेका छन। यसरी उपयोग गर्ने राष्ट्रहरुको पंक्तिमा चीन सबै भन्दा अगाडि छ। त्यस पछि छन्, ब्राजिल र भारत जस्ता ठूलो जनसंख्या भएका राष्ट्रहरु।   
उच्च जनसंख्याको व्यवस्थित प्रयोग भनेको के हो त? उच्च जनसंख्याको व्यवस्थित प्रयोग भनेको एक असल आर्थिक नीति द्वारा विशाल जनशक्तिको उपयोग फाइदमुलक उत्पादन कार्यमा गर्नु हो। विशाल जन शक्तिको प्रयोग गरेर मुलुकको अर्थ तन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउनु हो। प्रतिस्पर्धामा निरन्तर अगाडि अगाडि बढ्नु हो।
उच्च जनसंख्याको उपयोग गर्नका लागि राष्ट्रले एक असल आर्थिक नीति अबलम्बन गर्न आवश्यक हुन्छ। र असल आर्थिक नीति भनेको, सरकारको नियन्त्रणकारी भूमिका कम पार्दै लैजानु, राष्ट्रिय अर्थतन्त्रमा नीजी क्षेत्रको भूमिका ज्यादै बलियो तुल्याउनु, रोजगारी बढाउनका लागि सरकारी प्रयासको साटो निजी क्षेत्रलाई सबल तुल्याउनु, रोजगारदाता र श्रमिक बीचको सम्बन्धमा कटुता उत्पन्न हुन नदिनु र दुबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण छ भन्ने तथ्यलाई स्वीकार गर्नु, प्रत्येक गाउँ वा शहरलाई आर्थिक विकासको एक केन्द्रको रुपमा लिनु, स्थानीय स्रोत र साधनहरुको उपयोगमा स्थानीयहरुको सहभागिता बढाउन उनीहरुलाई बढी अधिकार दिनु र नीति निर्माणमा उनीहरुलाई सहभागी समेत गराउनु आदि आदि जस्ता कुराहरु समावेस हुनु हो। यसै गरी मुलुकलाई लगानी मैत्री तुल्याउनु हो, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न प्रेरित गर्ने मात्र होइन, उनीहरुले लगानी गर्ने भरपर्दो वातावरण तयार पार्नु, मुलुकमा शान्ति र स्थिरता कायम राख्नु जस्ता तत्वहरु पनि अशल आर्थिक नीति भित्र नै पर्दछन्।
अर्थ नीति अशल हुनका लागि लागु गरिने अर्थ नीतिहरु उदार हुन अति आवश्यक छ। र पूँजीवादी अर्थ व्यवस्थाले मात्र अर्थ नीतिहरुलाई उदार पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। अर्थ तन्त्रलाई उदार पार्ने भूमिका न त समाजवादी, न त साम्यवादी अर्थ व्यवस्थाले खेल्न सक्छ। साम्यवादी एवं समाजवादी  अर्थव्यवस्थाले त झन, देशको अर्थ तन्त्रलाई कमजोर तुल्याउँछ। पूर्व सोभियत संघमा यस्तै भएको थियो र पछिल्यो समयमा सोभियत संघको अर्थतन्त्र धराशायी हुने स्थितिमा पुगेको थियो पनि। साम्यवादी अर्थ तन्त्रले त केवल जनतालाई गरिब तुल्याएर, केही नेताहरुको जिवनशैलीलाई विलासी तुल्याउनु भन्दा बढी केही पनि गर्दैन। यो कुरा कल्पनामा आधारित नभएर व्यवहारद्वारा देखिएको तथ्य हो। यो तथ्य विश्वका पूर्व कम्युनिष्ट राष्ट्रहरुमा केही वर्ष पहिले प्रष्ट किसिमले देखिएको थियो। यो तथ्यलाई नस्वीकार्नु व्यक्तिको आफ्नो वैचारिक स्वतन्त्रताको कुरा हो, तर यथार्थ यही हो।  
मुलुकको गरिबीलाई उदार अर्थ तन्त्रद्वारा कम पार्न सकिन्छ। मुलुकलाई आर्थिक रुपमा समृद्ध पार्ने हो भने पूँजीवादी अर्थतन्त्र अंगाल्नु पर्दछ। यो तथ्यलाई अहिले ब्राजिलले स्वीकार गर्न थालेको देखिएको छ। अर्थ नीतिलाई उदार पार्न आरम्भ गरे देखि ब्राजिलले द्रुततर गतिमा आर्थिक विकास गरेको महसुस गर्न थालिएको छ। सन् १९९० पछि ब्राजिलले अर्थतन्त्रलाई उदार पार्नमा जोड दिंदै आएको छ। अर्थ तन्त्रलाइ उदार पार्न उत्पादन व्यवस्थामा निजी क्षेत्रको सहभागिता बढाउने तर्फ निकै जोड दिएको छ पनि। परिणामस्वरुप ब्राजिलको अर्थ तन्त्रको प्रतिस्पर्धात्मक क्षमतामा अहिले निकै वृद्धि भएको छ। ब्राजिलको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता, सन् २००९ मा, रुस भन्दा अगाडि एवं चीन र भारतको हारा हारीमा पुगेको थियो। ‍आउँदा दशकहरुमा ब्राजिल विश्वका पाँच ठूला अर्थतन्त्र मध्ये एक हुने भनी अनुमान गरिएको छ।
कुल गार्यहस्थ उत्पादनको आधारमा ब्राजिल अहिले विश्वको छैठौ ठूलो अर्थतन्त्र हुन पुगेको छ। जनसंख्याको आधारमा, देशमा प्रजातन्त्र भएका विश्वका ठूला राष्ट्रहरु मध्ये ब्राजिल एक हो। ब्राजिलले दक्षिण अमेरिकाको राजनीतिलाई प्रभावित पार्न सक्ने क्षमता राख्दछ। ब्रिक्स (BRICS-Brazil, Russia, India, China, and South Africa) राष्ट्रहरु मध्येको एक ब्राजिललाई उदाउन थालेको आर्थिक महाशक्तिको रुपमा हेर्ने गरिन्छ। ब्राजिल, दक्षिण अमेरिका र लैटिन अमेरिकाको सबै भन्दा ठूलो राष्ट्र पनि हो। क्षेत्रफल र जनसंख्या, दुबैको को आधारमा ब्राजिल विश्वको पाँचौ ठूलो राष्ट्र हो। ८५ लाख १५ हजार ७६७ वर्ग किलोमिटरमा फैलिएको यस देशको जनसंख्या २० करोड १० लाख ९ हजार ६२२ रहेको छ। यो मुलुकको वार्षिक आर्थिक वृद्धि दर ५ प्रतिशत भन्दा बढी छ। गार्यहस्थ उत्पादन पनि उच्च (2013-US$ 2.223 trillion) छ। सन् २०१२ को अनुमान अनुसार प्रति व्यक्ति आय (PPP), अमेरिकी डलरमा, ११,८७५ थियो।
ब्राजिलले द्रुततर गतिमा आर्थिक प्रगति गरेको त छ तर यो मुलुकमा गरिबी पनि उत्तिकै ब्याप्त छ। अहिले पनि यहाँ गरिब र धनी बीचको खाडल निकै फराकिलो छ। देशमा उपलब्ध रहेका राम्रा वा उब्जाउ जमिनहरुमा केही धनी परिबारहरुको नियन्त्रण अहिले पनि कायम छ। यहाँ अहिले पनि ठूलो संख्यामा व्यक्तिहरु झोपडी वा कच्ची घरहरुमा  बस्छन। साओ पौलो, रियो द जेनिरियो जस्ता ठूला शहरका एक तिहाई जनसंख्या कच्ची घरहरुमा बस्छन। तर पनि गरिबी कम पार्नमा यो मुलुकले धेरै प्रयास गरेको छ। धेरै उपलब्धिहरु हासिल भएका छन् पनि। ब्राजिलले, राष्ट्रमा विद्यमान रहेको आर्थिक र सामाजिक असमानता कम गर्नमा निक्रै प्रगति हासिल गरेको छ भनी विश्व बैंकले उल्लेख गरेको छ। विश्व बैंकको यो भनाइले, यो मुलुकले दुत्तर गतिमा आर्थिक प्रगति मात्र गरेको छैन साथै मुलुकमा ब्याप्त रहेको गरिबी उल्लेखनीय किसिमले कम पार्नमा सफलता पनि  हासिल गरेको छ भन्ने तथ्यको पुष्टि समेत भएको छ।
विश्वका १७ वहु विविधदातापूर्ण राष्ट्रहरु (Mega diverse Countries) को समूहमा पर्ने ब्राजिल साधन र स्रोतहरुले पनि उत्तिकै भरि  पूर्ण छ। तेल भण्डारले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ भने फलामको खानीका लागि ब्राजिल विश्व मै प्रख्यात छ।
हुन त केहीको भनाइमा, ब्राजिले मिश्रित अर्थ व्यवस्था अंगालेको छ। यसै गरि, केहीले, यस मुलुकले सन्तुलित किसिमले बजार खुला राखेको (Moderately Free Markets) पनि भनेका छन्। तर जुन किसिमबाट यो मुलुकले छोटो समयमा ठूलो आर्थिक उपलब्धि हासिल गरेको छ, राष्ट्रिय अर्थ तन्त्रमा निजी क्षेत्रको भूमिकालाई जुन किसिमले महत्व दिएको छ, उत्पादनका साधनहरुमा राज्यको नियन्त्रण जुन किसिमले कम पार्दै लगेको छ, त्यसबाट यो मुलुकले पूँजीवादी अर्थ तन्त्र अँगालेको प्रष्ट हुन्छ।
मुलुकको आर्थिक विकासका लागि पूँजीवादी अर्थ तन्त्र आवश्यक हुन्छ भन्ने कुराको पुष्टि छोटो समयमा ब्राजिलले गरेको आर्थिक विकास पनि हो। अहिले पूँजीवादी अर्थतन्त्र अँगाले धेरै राष्ट्रहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेका छन। खास गरी उच्च जनसंख्या भएका विकासशील राष्ट्रहरु, जसले पूँजीवादी अर्थ तन्त्र अँगाले, तिनले द्रुततर गतिमा आर्थिक विकास गरी रहेका छन्। ती मुलुकहरु आफ्नो राष्ट्रमा विद्यमान रहेको गरिबी कम पार्नमा सफल देखिएका छन् पनि। मुलुकमा विद्यमान रहेको गरिबी कम पार्न ती राष्ट्रहरुले पाएको सफलताले गरिबी कम पार्नमा पूँजीवादी अर्थ तन्त्र सहयोगी हुने रहेछ भन्ने तथ्य झनै प्रस्ट हुन आउँछ।
नियोजित अर्थव्यवस्था, केन्द्र नियन्त्रित अर्थव्यवस्था, समाजवादी अर्थ व्यवस्था वा साम्यवादी अर्थ व्यवस्थाले मुलुकको आर्थिक प्रगति हुँदैन, उल्टो मुलुकमा गरिबी झनै बढेर जाँदो रहेछ भन्ने मान्यता अब यथार्थमा परिणत हुँदैछ। साम्यवादी अर्थ व्यवस्थाले त झन राष्ट्र र जनता समेतलाई गरिब तुल्याउँदो रहेछ। बिगतमा विभिन्न राष्ट्रहरुले साम्यवादी अर्थ तन्त्र अँगालेर त्यसबाट प्राप्त गरेका उपलब्धीबाट यस कुराको पुष्टि हुन्छ। मुलुकको गरिबी कम पार्न नेपालले पूँजीवादी अर्थ तन्त्र अँगाल्नु आवश्यक छ। बरु सरकार वा नीति निर्माताहरुले धनीहरुसँग हुने अति सम्मपत्ति करको माध्यमबाट कसरी गरिबहरुसम्म पुर्याउने, राष्ट्रिय आय वितरण प्रणाली कसरी सन्तुलित बनाउने, त्यस तर्फ गंभिरतापूर्व ध्यान दिन आवश्यक छ। गरिबहरुको हितको रक्षा कसरी गर्न सकिन्छ त्यस तर्फ बढी सोंच्न आवश्यक छ।
  

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, June 21, 2013

No comments:

Post a Comment