Friday, June 28, 2013

Indonesia, Southeast Asia's Economic Giant-Article-94 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१७. दक्षिणपूर्व एशियाको आर्थिक महाशक्ति इण्डोनेशिया

दक्षिणपूर्व एशियाको आर्थिक महाशक्तिको रुपमा उदाउन थालेको राष्ट्र इण्डोनेशियाले यस्तो मिश्रित अर्थ व्यवस्था अंगालेको छ, जस अन्तर्गत राष्ट्रिय अर्थ तन्त्रमा जति महत्वपूर्ण भूमिका निजी क्षेत्रले खेलेको छ उत्तिकै सरकारले पनि खेलेको छ। यसरी, इण्डोनेशियाको अर्थ व्यवस्था मिश्रित अनि खास किसिमको हुन पुगेको छ। यस्तो भन्नेहरु धेरै छन। केहीको मतमा भने, इण्डोनेशियाले पूँजीवादी अर्थ व्यवस्था अंगालेको छ। इण्डोनेशियाले पूँजीवादी अर्थ व्यवस्था अंगालेको छ भन्नेहरुको तर्क अनुसार यो मुलुकले सोहार्तोको शासन समाप्ति पछि, सन् १९९८ देखिनै, पूँजीवादी बजार अर्थ व्यवस्था (Capitalist Market Economy) अँगालेको हो। अन्य मुलुकहरुसँग प्रतिस्पर्धा गर्न बजार अर्थ व्यवस्थामा प्रवेश गरेको हो। यो समय पछि द्रुततर गतिमा यो मुलुकले आर्थिक विकास गर्न शुरु गरेको हो पनि।
इण्डोनेशियाको अर्थ व्यवस्थाका विषेशताहरुलाई केलाउँदा, यो मुलुकले निजी क्षेत्रलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको देख्दा र खास रुपमा यो मुलुकले निर्यात क्षेत्रमा उल्लेखनीय किसिमले प्रगति गरी छोटो समयमा नै धेरै ठूलो आर्थिक उपलब्धि हासिल गरेको तथ्यलाई बिचार गर्दा इण्डोनेशियाले पूँजीवादी अर्थ व्यवस्था अंगालेको प्रष्ट हुन आउँछ। र यथार्थमा, जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो राष्ट्र (सन् २०१३ को जनसंख्या- २५ करोड ११ लाख ६० हजार १२४) इण्डोनेशियाले उदार वा पूँजीवादी अर्थ व्यवस्था अंगालेर नै यति बढी आर्थिक प्रगति गर्न सकेको हो। पूर्व राष्ट्रपति सुकार्नोको अति राष्ट्रवादी अर्थ व्यवस्थाले निरन्तरता पाएको भए यस किसिमको आर्थिक उपलब्धि यो मुलुकले कुनै पनि हालतमा हासिल गर्न सक्थेन। पूँजीवादी अर्थ व्यवस्था अंगालेर नै इण्डोनेशियाले यसरी द्रुत्तर गतिमा आर्थिक प्रगति गर्न सकेको हो। गरिबी पनि क्रमिक रुपमा कम पार्न सफल भएको हो।
 राष्ट्रको जनसंख्या ठूलो हुनु पनि आर्थिक विकासका लागि निकै सहायक सिद्ध हुन पुगेको छ, इण्डोनेशियाका लागि। अनि राष्ट्रिर्य अर्थ व्यवस्थालाई प्रतिस्पर्धामा अगाडि अगाडि राख्न देशको ठूलो जनसंख्याले ठोस योगदान पुर्याएको छ पनि। देशको जनसंख्या ठूलो हुनु अभिषाप होइन, उचित किसिमले प्रयोग गर्ने हो भने वरदान हो भन्ने उक्तिलाई इण्डोनेशियाको आर्थिक प्रगतिले सत्य प्रमाणित गर्दैछ, अहिले।
दक्षिणपूर्व एशियाको सर्वाधिक ठूलो अर्थ तन्त्र इण्डोनेशिया जि ट्वेन्टी (G-20) को सदस्य पनि हो। आउने दशकहरुमा यो देश विश्वका दश ठूला अर्थ तन्त्र मध्ये एक हुने अनुमान गरिंदैछ। र त्यस्तो अनुमानका ठोस आधारहरु छन पनि । ती आधारहरु मध्ये केही हुन – ठूलो जनसंख्या भएको कारणले गर्दा श्रम लागत कम भएर अन्य राष्ट्रहरुको तुलनामा सस्तोमा उत्पादन गर्न सक्नु। देशमा विभिन्न किसिमका स्रोत र साधनहरुको प्रचुरता हुनु। हुन पनि इण्डोनेशियाले ठूलो परिणाममा तेल, ग्यास, विद्युतीय सामाग्रीहरु, टेक्सटाइल, प्लाइउड आदि निर्यात गर्दछ। १७ हजार ५०८ जति टापुहरु मिलेर बनेको यो देश प्राकृतिक स्रोतका लागि निकै धनी मानिन्छ पनि। यो कारणले होला डचहरुले यहाँ आएर उपनिवेश खडा गरेका थिए। दुइ सय वर्ष भन्दा बढी सम्म उपनिवेश खडा गरेका डचहरुले इण्डोनेशियाको एकीकरण पनि गरे। ३०० भन्दा बढी भाषाहरु बोलिने यो देशमा निकै ठूलो जातीय विविधता छ। विश्वमै ठूलो संख्यामा मुस्लिमहरुको वसोवास रहेको मुलुक पनि इण्डोनेशिया नै हो। तर अहिले भने आर्थिक विकासका लागि अनेकतामा एकता कामय गर्न देशवासीहरु सक्रिय रुपमा लागेका छन्।
गरिब र धनी बीचको अन्तर पनि ठूलो छ इण्डोनेशियामा। अहिले पनि यहाँ, ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरु मध्ये केहीको जिवन जंगली सिकारमा आश्रित छ। अर्कोतिर, ठूला ठूला शहरका अग्ला अग्ला महलमा बस्नेहरु पनि कम छैनन्। कुनै बेला निकै उथल पुथलको स्थितिमा रहेता पनि अहिले भने इण्डोनेशियामा शान्ति र स्थिरता कायम छ। यो कारणले गर्दा पनि विदेशी लगानीकर्ताहरु यहाँ लगानी गर्न उत्साहित छन। सन् २००४ मा यहाँ पहिलो, प्रत्यक्ष्य राष्ट्रपतीय चुनाव भएको थियो।
यो क्षेत्रमा नै, इण्डोनेशियाको अर्थ तन्त्रले राम्रो प्रगति गरि रहेको छ। अहिले आर्थिक वृद्धि दर ६ प्रतिशत भन्दा माथि छ। महत्वपूर्ण कुरा त के छ भने अहिले संयुक्त राज्य अमेरिका र यूरोपका धेरै अर्थ तन्त्रहरुले आर्थिक संघर्षको सामना गर्नु परि रहेको भएता पनि इण्डोनेशियाले भने सन्तोषजनक किसिमले आर्थिक विकास गरि रहेको छ। यस्तो हुनुको श्रेयता यो मुलुकको अंगिकार गरेको उदार अर्थ नीतिले नै पाउँछ। देशमा शान्ति कायम गर्न जनताले गरेको प्रयासलाई जान्छ। तर मुख्य रुपमा भने श्रेयता भने पूँजीवादी अर्थ व्यवस्थाले पाउँछ।
सस्तो श्रम लागत र तिब्र आर्थिक वृद्धि दर कायम रहेको कारणले गर्दा विदेशी एवं स्वदेशि लगानीकर्ताहरु इण्डोनेशियामा लगानी गर्न उत्साहित पनि उत्तिकै छन। इण्डोनेशिया आफैमा पनि एक ठूलो बजार क्षेत्र रहेको र एक किसिमको स्थिरता यहाँ कायम रहेकोले पनि, खास गरी विदेशी लगानीकर्ताहरु लगानी गर्न झनै बढी उत्साहित देखिएका छन्। तर सन् १९६० को दशकमा, जति खेर यहाँका पहिलो राष्ट्रपति सुकार्नोको शासन काल थियो, देशको अर्थ व्यवस्था नराम्रो गरी बिग्रेको थियो। देशको अर्थ व्यवस्था बिग्रिनुका कारणहरुमा ‍अति राष्ट्रवादी अर्थ तन्त्रलाई जोड दिनु,  राजनैतिक अस्थिरता ब्याप्त हुनु आदि थिए। शासन व्यवस्था केन्द्रिकृत हुनु अर्को महत्वपूर्ण कारण हुन पुगेको थियो। तर अहिले भने पूर्ण प्रजातन्त्रको दिशातर्फ अग्रसर छ इण्डोनेशिया। यो मुलुकमा प्रजातन्त्र रहेको हिसाबले, यो राष्ट्र विश्वको तेस्रो ठूलो राष्ट्र समेत हुन पुगेको छ। मुलुकको प्रजातान्त्रिक शासन प्रणालीले इण्डोनेशियालाई आर्थिक प्रगति गर्न राम्रो आधार प्रदान गरेको छ।
सन् १९४५ देखि, अर्थात निरदरलैण्ड (डच) बाट स्वतन्त्रता प्राप्त गरे देखि नै, यो मुलुकले आफ्नो अर्थ व्यवस्थालाई उदार पार्दै आएको भए, केन्द्रिय नियन्त्रण कठोरताका साथ कायम नगेको भए, निकै आर्थिक प्रगति गर्थ्यो होला। हुन पनि इतिहासकाल देखि नै इण्डोनेशिया महत्वपूर्ण व्यापारीक क्षेत्र रहँदै आएको छ। सातौ सप्ताब्धिदेखि नै यसले भारत र चीनसँग व्यापार गरेको देखिन्छ। इतिहास काल देखि नै यो मुलक बर्मा झै, एक प्रमुख व्यापारिक केन्द्र रहँदै आएको हो।
इण्डोनेशिया, नोमिनल जि डि पिको आधारमा विश्वको सोर्हौ ठूलो अर्थ तन्त्र हो भने क्रयशक्तिको आधारमा पन्द्रौं। १९ लाख ४ हजार ५६९ वर्ग किलोमिटरमा फैलिएको इण्डोनेशियाको ४.८५ भूमि भने पानीले ढाकिएको छ। सन् २०१२ को अनुमान अनुसार कुल गार्यहस्थ उत्पादन (PPP मा ), अमेरिकी डलरमा, १.२०८ ट्रिलियन थियो भने प्रति व्यक्ति आय ४ हजार ९७७  थियो।
आर्थिक समृद्धिको दिशा तर्फ तिब्र गतिमा दौडि रहेको इण्डोनेशियालाई गरिबीले पनि उत्तिकै पछ्याएको छ। सरकारी अनुमान अनुसार यहाँका १३ प्रतिशत जति जनता गरिबीको रेखा मुनी छ। यो मुलुकले स्वतन्त्रता प्राप्त गर्नु भन्दा पहिले पनि यहाँ गरिबी ब्याप्त थियो। उथल पुथलले भरिएका, स्वतन्त्रता प्राप्ति पछिका वर्षहरुमा पनि खासै उपलब्धि हासिल हुन सकेन। त्यसकारण अहिले, सरकारी अनुमान भन्दा पनि ठूलो संख्यामा व्यक्तिहरु गरिब छन।  तर पछिल्लो समयमा आएर इण्डोनेशियाले राजनैतिक र आर्थिक दुबै क्षेत्रमा निकै सुधारहरु गरेको छ। अर्थ व्यवस्थालाई उदार पारेर राष्ट्रिय गरिबी कम पार्नमा सक्रिय छ। तर पनि दुइ वटा समयस्याहरु – पहिलो, भ्रष्ट्राचार र दोस्रो, कर्मचारीतन्त्रबाट यो मुलुक निकै पीडित छ। आउँदा दिनहरुमा यी समस्याहरु कम भएर जाने छन भनी सरकारले बेला बेलामा भनेता पनि यी समस्याहरुको जरा समाजमा निकै भित्रसम्म गाडिएको छ। यी समस्याहरुले इण्डोनेशियाको आर्थिक विकासलाई अपेक्षित ढंगमा अगाडि बढ्नमा निकै बाधा पुर्याउने जस्तो देखिन्छ।
स्वतन्त्रता प्राप्ति पछिका वर्षहरु उथलपुथल पूर्ण रही आर्थिक विकास सुस्त हुन पुगेता पनि अहिले भने इण्डोनेशियाले तिब्र गतिमा आर्थिक विकास गरि रहेको छ। इण्डोनेशिको आर्थिक विकासको मोडेलबाट के सिक्न सकिन्छ भने पूँजीवादी अर्थ तन्त्रको प्रयोगद्वारा देशलाई आर्थिक रुपमा सबल तुल्याउन सकिन्छ नै, साथै गरिबी पनि उल्लेख्यनीय किसिमले कम पार्न सकिन्छ। पूँजीवादी अर्थ तन्त्रले गरिबहरुलाई झनै गरिबी र धनीहरुलाई झनै धनी पार्ने रहेनछ। पूँजीवादी अर्थ व्यवस्था गरिबहरुको हितमा हुन सक्छ। यसले मुलुकको गरिबी कम पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। पूँजीवादी अर्थ व्यवस्थाको व्यवाहारीक प्रयोग एवं सफलताका लागि भने राजनैतिक स्थिरता, नेताहरुमा इमान्दारीता र कानूनहरुको पालनामा कठोरता हुन अति आवश्यक छ। यी कुराहरु गर्न इण्डोनेशिया प्रयत्नरत छ। नेपालमा भने यी कुराहरुको निकै अभाव देखिएको छ।  

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित

Friday, June 28, 2013

No comments:

Post a Comment