Thursday, February 26, 2015

Geeta Chapter 6



भागवत गीता अध्याय ६

श्रीभगवानुवाच
अनाश्रित कर्मफलं कार्यं कर्म करोति य:।
स संन्यासी च योगी च न निरग्निर्न चाSक्रिय:।।१।।

भगवान श्रीकृष्णबाट आज्ञा भयो
(जसले कर्मफलको इच्छ नराखेर गर्नेयोग्य आवश्यक कार्य गर्दछ त्यो सन्यासी र योगी हो। अग्नि-होत्रादि कर्मको परित्याग गर्ने योगी होइन। यसैगरी दैहिक कर्मको  मात्र परित्याग गर्ने व्यक्ति पनि योगी होइन।

यं सन्नासमिति प्राहुरर्योगं तं विद्यि पाण्डव।
न ह्यसन्नयस्तसषङक्ल्पो योगी भवति कश्र्चन।।२।।

(हे पाण्डव, जसलाई सन्यास भन्ने गरिन्छ तिमी त्यसलाई नै योग बुझ किनभने जसले काम संकल्प परित्याग गर्न सक्तैन त्यो योगी हुन सक्तैन।)

आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते।
योगारुढस्य तस्यैव शम: कारणमुच्यते।।३।।

(सत्य ध्यानयोगमा रहन इच्छुक मुनिको लागि कर्म नै साधन रहेको मान्ने गरिन्छ अनि योगमा रहेको बेला कर्महरुको त्याग गर्नु त्यो मुनीका लागि साधन रहेको मान्ने गरिन्छ।)

यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते।
सर्वसंकल्पसंन्यासी योगारुढस्तदोच्यते।।४।।

(त्यो व्यक्ति योगी हो जसले कर्मफल, व्यक्तिगत स्वार्थ र इन्द्रियहरुबाट प्राप्त हुने सुखको लोभ परित्याग गरेको छ।)

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन:।।५।।

(मन नै व्यक्तिको मित्र र शत्रु हो। त्यसकारणले व्यक्तिले अनाशक्त मनको सहयोगले आत्मालाई संसारबाट उद्धार गर्नुपर्दछ। आफ्नो आत्माको पतन हुन दिनु हुँदैन।)

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जित:।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रवत्।।६।।

(त्यो व्यक्ति जसले मनमाथि विजय प्राप्त गरेको छ उसको लागि उसको मन ठूलो मित्र हो तर जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छैन उसको मन उसको महाशत्रुको रुपमा हरदम साथ रहन्छ।)

जितात्मन: प्रशान्तस्य परमात्मा समाहित:।
शीतोष्णसुखद:खेषु तथा मानापमानयो:।।७।।

(त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छ, जसको लागि ताप र शितलता, सुख र दु:ख, मान र अपमान बराबर छ उसको हृदयमा परमात्मा स्थिर रहन्छ।)

ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रिय:।
युक्त इत्युच्यते योगी समलोष्ट्राश्मकाञ्चन:।।८।।

जसको चित्त ज्ञान र विज्ञानले परिपूर्ण छ, जो बिकार रहित छ, जसले इन्द्रियहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ र माटो, ढुङ्गा एवं सुनलाई समान देख्छ, योगमा स्थित यस्तो व्यक्ति योगी हो।)

सुह्यन्मित्रार्यदासीनमध्यस्थद्वेष्यबन्धुषु।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते।।९।।

(सहृदयी, मित्र, शत्रु, उदासीन, मध्यस्थ, द्वेषी, बन्धु, साधु तथा पापी, यी सबैप्रति समान भाव राख्ने व्यक्ति सर्वश्रेष्ठ हो।)

योगी युञ्जीत सततमात्मानं रहसि स्थित:
एकाकी यतचित्तात्मा निराशीरपरिग्रह:।।१०।।

(योगी पुरुषले निर्जन स्थानमा एक्लै बसेर, चित्त र शरीरलाई संयमित गरेर, आशा परित्याग गरी, विषयहरुबाट मनलाई अलग गर्दै मनलाई संधै समाधिमा राखुन।

शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मन:।
नात्युछ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम्।।११।।

तत्रैकाग्रं मन: कुत्वा यतचित्तेन्द्रियक्रिय:।
उपविश्याSSसने युञ्ज्याद् योगमात्मविशुद्धये।।१२।।

११-१२
(पवित्र स्थानमा, न त अति अग्लो न त अति होचो कुशासनमा माथि मृगासन अनि त्यसमाथि बस्त्रासन राख्दै त्यस स्थिर आसनलाई भूमिमा स्थापित गरेर, त्यस आसनमाथि बसी मनलाई एकाग्रह एवं चित्त, इन्द्रिय र तिनका कार्यहरुलाई नियन्त्रित गर्दै अन्तस्करण सुद्ध पार्नका लागि योगाभ्यास गरुन।)

समं कायशिरोग्रीवं धारयन्नचलं स्थिर:।
सम्प्रेक्ष्य नासिकाग्रं स्वं दिशश्र्चाSनवलोकयन्।।१३।।

प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थित:।
मन: संयम्य मच्चित्तो युक्त आसीत मत्पर:।।१४।।

१३-१४
(शरीर, शिर, गर्दन सोझो र स्थिर पारेर अन्य दिशातर्फ नहेरी केवल आफ्नो नाकको टुप्पोमा  दृष्टिलाई केन्द्रित गर्दे ब्रह्मचर्यमा रही, शान्त र भयरहित भएर सावधानीद्वारा मनलाई नियन्त्रण गरेर ममा नै तत्पर एवं लीन भएर योग गरुन।)

युञ्जन्नेवं सदात्मानं योगी नियतमानस:।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति।।१५।।

(यसप्रकार संयमित चित्त योगीहरुले बताइएका विधिहरु अनुशरण गरेर आत्मालाई निरन्तरमा ममाथि स्थिर राख्दै परम निर्वाणरुप शान्ति प्राप्त गर्दछन्, ममा मिल्दछन्।

नात्यश्नतस्तु योगोSस्ति न चैकान्तमनश्नत:।
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन।।१६।।

(हे अर्जुन, न त धेरै भोजन गर्नेले न त थोरै भोजन गर्नेले, यसै गरी न धेरै सुत्नेले न त थोरै सुत्नेले योगमा सिद्धि प्राप्त गर्न सक्छ।)

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्तस्वप्नावबोधस्य योगो भवति द:खहा।।१७।।

(उपयुक्त आहार बिहार गर्ने, कर्ममा उपयुक्त किसिमले ध्यान दिने, उपयुक्त किसिमले सुत्ने एवं जागा रहनेहरुको योगले उसको संसारिक दु:खहरुको नाश गर्दछ।)

यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते।
निस्पृह: सर्वकामेभ्यो युक्त इत्युच्यते तदा।।१८।।

(जब मन सम्पूर्ण रुपमा नियन्त्रित भएर अचल भावमा आत्ममा अवस्थित हुन्छ तब सम्पूर्ण कामनाहरुबाट मुक्त व्यक्ति योगयुक्त कहलिन्छ।)

यथा दीपो निवातस्थो नेंगते सोपमा स्मृता।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मन:।।१९।।

(बतास नभएको स्थानमा बलेको दियो कम्पित हुँदैन भन्ने उपमा योगमा लीन योगीको मन नियन्त्रित हुन्छ भन्नेमा दिने गरिन्छ।)

यत्रोपरमते चित्तं निरुद्धं योगसेवया।
यत्र चैवात्मनात्मानं पश्यन्नत्मनि तुष्यति।।२०।।

सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राह्यमतीन्द्रियम्।
वेत्ति यत्र न चैवाSयं स्थितश्चलति तत्त्वत:।।२१।

यं लब्ध्वा चाSSपरं लाभं मन्यते नाSSधिकं तत:।
यस्मिन् स्थितो न दु:खेन गुरुणापि विचालयते।।२२।।

तं विद्याद दु:खसंयोगवियोगं योगसञ्ज्ञितम्।
स निश्र्चयेन योक्तव्यो योगोSनिर्विण्णचेतसा।।२३।।

२०-२३
(त्यस अवस्थालाई सुख र दु:खको सम्पर्कमा नरहेको योगको नामले जान  जुन अवस्थामा चित्त योग अभ्यासबाट संयमित भएर विषयहरुबाट बिरक्त भएको हुन्छ, विशुद्ध चित्तले आत्माको दर्शन गर्दा  गर्दै त्यो आत्मामा नै सन्तुष्ट भएको हुन्छ, केवल बुद्धिद्वारा ग्रहण गरिएको इन्द्रिय सुखबाट सुखी हुने स्थिति हुन्छ, आत्मस्वरुप बाट भ्रष्ट हुने स्थिति हुँदैन, जुन लाभलाई प्राप्त गरेर त्यस लाभलाई अन्य लाभहरु भन्दा अधिक मान्ने स्थिति हुँदैन र भयनाक दु:खबाट पनि ब्याकुले हुने स्थिति हुँदैन। योगीहरुले त्यस योगको अभ्यास धैर्ययुक्त चित्तले गरुन।

संकल्पप्रभवान् कामांस्त्यक्त्वा सर्वानशेषत:।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्तत:।।२४।।

(संकल्पबाट उत्पन्न हुने सबै प्रकारका कामनाहरुलाई पूर्णरुपमा परित्याग गर्दै मनले इन्द्रियहरुलाई चारैतिर संयमित गरेर मनलाई  नियन्त्रित गर्नेछन्।)

शनै: शनैरुपरमेद् बुदध्या धृतिगृहीतया।
आत्मसंस्थं मन: कृत्वा न किञ्चिदपि चिन्तयेत्।।२५।।

(धैर्ययुक्त बुद्धिले मनलाई आत्मामा स्थिर गरेर बिस्तारै बिरक्तिमा पुग्ने छन् र अन्य केही कुराको पनि चिन्तन गर्ने छैनन्।)

यतो यतो निश्र्चलति मनश्र्चञ्चलमस्थिरम्।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्।।२६।।

(यो अस्थिर र चंचल मन जुन जुन विषममा आकर्षित हुन्छ। मनलाई ती विषयहरुको प्रभावबाट मुक्त राखरे मनलाई आत्मामा नै स्थिर राखुन।)

प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम्।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम्।।२७।।

(अति शान्त मन भएको, रजोगुणले मुक्त, पापनगरेको, यस ब्रह्ममा लीन हुने योगीलाई सर्वश्रेष्ठ सुख प्राप्त हुन्छ।)

युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मष:।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते।।२८।।

(यस किसिमले निष्पाप योगीले सुखपूर्वक आत्मालाई परमात्मामा लगाउँदै आपसे आप परमात्मा प्राप्तिको अति सुख पाउँछ।)

सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शन:।।२९।।

(चारैतिर समान देख्ने समदर्शी योगीले आत्मालाई सम्पूर्ण प्राणीहरुमा र सम्पूर्ण प्राणीहरुलाई आत्मामा देख्दछ। बास्तविक योगीले मलाई सम्पूर्ण प्राणीहरुमा र सम्पूर्ण प्राणीहरुलाई ममा देख्दछ।)

यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति।
तसयाSहं प्रणश्यामि स च मे न प्रणश्यति।।३०।।

(जसले मलाई सम्पूर्ण प्राणीहरुमा र सम्पूर्ण प्रणीहरुलाई ममा देख्दछ त्यस्तो देख्नका लागि म अदृश्य छैन न त ऊ नै मेरो लागि अदृश्य छ।)

सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थित:।
सर्वथा वर्तमानोSपि स योगी मयि वर्तते।।३१।।

(त्यो योगीले जीवनदेखि सदाका लागि मुक्ति पाउँछ र ममा नै अवस्थित हुन्छ जसले सम्पूर्ण प्राणीहरूमा रहेको मलाई अभेद बुद्धिद्वारा भज्छ।)

आत्मौपम्येन सर्वत्र समं पश्यति योSर्जुन।
सुखं वा यदि वा दु:खं स योगी परमो मत:।।३२।।

(हे अर्जुन, त्यो योगी सर्वश्रेष्ठ हो जसले सम्पूर्ण प्राणीहरुको सुख दु:खलाई आफ्नै सुख दु:खझै अनुभूत गर्दछ।)

अर्जुन उवाच-
योSयं योगस्त्वया प्रोक्त: साम्येन मधुसूदन।
एतस्याSहं न पश्यामि चञ्चलत्वात् स्थितिं स्थिराम्।।३३।।

अर्जुनले भने
(हे मधुसूदन, हजूरद्वारा बयान गरिएको सर्वत्र समदर्शी योग रुपलाई मेरो मनको चंचलताले गर्दा म त्यसको स्थिरता देख्न सकिरहेको छैन। मेरो मनको चंचलताले गर्दा त्यो योग मेरो लागि स्थिर र हितकारी अनुभूत हुन सकिरहेको छैन्।)

चञ्चलं हि मन: कृष्ण प्रमाथि बलवहृढम्।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।३४।।

(हे कृष्ण, मन स्वभावत: चंचल, हठी, सक्तिशाली र दृढ छ। मेरो बिचारमा मनलाई नियन्त्रणमा राख्न सक्नु वतासलाई नियन्त्रमा राख्न सक्नु भन्दा पनि कठिन छ।)

श्रीभगवानुवाच-
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।३५।।

भगवान् श्रीकृष्णबाट आज्ञा भयो
(हे महाबाहो, निश्चय नै मन स्वभावले नै चंचल र कठिनपूर्वक नियन्त्रणमा राख्न सकिने हुन्छ तर हे कौन्तेय, अभ्यास एवं वैराग्यद्वारा यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ।)

असंयतातमना योगो दुष्प्राप इति मति:।
वश्यात्मना तु यतता शक्योSवाप्तुमुपायत:।।३६।।

(जसको मन चंचल र नियन्त्रणमा छैन उसको लागि यो योग अति नै कठिन कार्य हो तर जसको मन उसको नियन्त्रणमा छ र यत्न गर्छ उसले भने युक्तिदवारा योग प्राप्तिमा सफलता पाउँछ।)

अर्जुन उवाच-
अयति: श्रद्धयोपेतो योगाच्चलितमानस:।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति।।३७।।

अर्जुनेल भने
(हे कृष्ण, श्रद्धापूर्वक योगमा लागेको तर असंयमित चित्त नभएको पुरुष योगबाट बिचलित भइ योग सिद्धि प्राप्त असफल भएमा उसले कस्तो गति प्राप्त गर्दछ?)

कच्चिन्नोभयविभ्रष्टश्छिन्नाSभ्रमिव नश्यति।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मण: पथि।।३८।।

(हे महाबाहो, ब्रह्म प्राप्तिको मार्गमा भ्रमित एवं आश्रयहिन र कर्म मार्ग तथा योग मार्ग दुबैबाट वञ्चित पुरुष आकाशमा छिन्न भिन्न भएको बादल अस्तित्वहीन भएझै के अस्तित्वहीन हुँदैन?)

एतन्मे संशयं कृष्णा छेत्तुमर्हस्यशेषत:।
त्वदन्य: संशयस्याSस्य छेत्ता न ह्युपपद्धते।।३९।। 

(हे कृष्ण, हजूरले नै मेरो यो शंकालाई पूर्ण रुपमा छेदन गर्न सक्नुहुन्छ। मेरो शंका निवारण गर्न सक्नु हुन्छ। मेरो शंका निवारण गर्ने सामर्थ्य हजूर बाहेक अरु कसैमा भएको म देख्दिन।)

श्रीभगवानुवाच-
पार्थ नैवेह नाSमुत्र विनाशस्तस्य विद्धते।
न हि कल्याणकृत कश्चिद्दुर्गतिं तात गच्छति।।४०।।

भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(हे पार्थ, शुभ वा असल कर्म गर्ने व्यक्ति न त यस लोकमा न त परलोकमा नै नष्ट हुन्छ किनभने हे तात, शुभ कर्म गर्ने व्यक्तिले दुर्गति पाउँदैन।)

प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्र्वती: समा:।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोSभिजायते।।४१।।

(योगभ्रष्ट पुरुष पुण्य आत्माहरुको लोकमा पुग्छ, त्यस लोकमा पुगी, धेरै वर्षसम्म त्यहाँ बास गरेर धनी एवं शुद्ध आचरणमा रहने धनी परिवारहरुको घरमा जन्म लिन्छ।)

अथवा योगिनामेव कुले भवति धीमताम्।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम्।।४२।।

(अथवा योभ्रष्ट योगीले ज्ञानवान् योगीहरुको कुलमा जन्म लिन्छ। निश्चित रुपमा यस किसिमको जन्म यो लोकमा अति दुर्लभ छ।)

तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम्।
यतते च ततो भूय: संसिद्धौ कुरुनन्दन।।४३।।

(हे कुरुनन्दन, ज्ञानवान् योगीहरुको कुलमा जन्म लिसकेपछि योगभ्रष्ट योगीले पहिलेको जीवनमा आवश्यक पर्ने ज्ञान प्राप्त गर्दछ अनि पुन योग प्राप्तिको लागि प्रयत्न गर्दछ।)

पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोSपि स:।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते।।४४।।

(निश्चय पनि पूर्व जीवनको अभ्यासले गर्दा कुनै समस्या आइपरे तापनि ऊ मोक्ष पथ तर्फ आकृष्ट हुन्छ र योग बारेमा सामान्य जानकारी राखेर नै पनि उसले लोक कर्म मार्गको उलंघन गर्दछ।

प्रयत्नाद् यतमानस्तु योगी शंसुद्धकिल्बिष:।
अनेकजन्मसंसिद्धस्ततो यति परां गतिम्।।४५।।

(तर यत्नपूर्वक अभ्यास गर्ने योगीले अनेक जन्ममा सिद्धि पाउँछ र सम्पूर्ण पापबाट शुद्ध भएर सो प्रभावले मोक्ष पाउँछ।)

तपस्विभ्योSधिको योगी ज्ञानिभ्योSपि मतोSधिक:।
कर्मभ्यश्र्चSधिको योगि तस्माद्योगी भवार्जुSजुन।।४६।।

(हे अर्जुन, तिमी योगी बन किन भने योगीलाई तपस्वी, ज्ञानी र फलको लागि कर्म गर्ने भन्दा सर्वश्रेष्ठ मानिएको छ।)

योगिनामपि सर्वेषां मद्गतेनाSन्तरात्मना।
श्रद्धवान् भजते यो मां स मे युक्तमो मत:।।४७।।

(मेरो मतानुसार सम्पूर्ण योगीहरुमा पनि त्यो योगी सर्वश्रेष्ठ हो जो मप्रति श्रद्धा, विश्वास, आसक्ति राख्दै, आफूभित्र म रहेको सोंच्दछ र संधै मलाई भजछ।

छैठौ अध्यायको व्याख्या

छैठौ अध्यायमा योग र योगीको व्याखा गरिएको छ र साथै व्यक्तिहरूलाई योगद्वारा योगी हुन प्रेरित गरिएको छ। योगलाई चित्त स्थिर राख्ने एवं मन माथि विजय प्राप्त गर्ने कार्यसँग जोडिएको छ। यस अध्यायमा भनिएको छ “जसले कर्मफलको इच्छ नराखेर गर्नयोग्य आवश्यक कार्य गर्दछ त्यो सन्यासी र योगी हो। अग्नि-होत्रादि कर्मको परित्याग गर्ने योगी होइन। यसैगरी दैहिक (शारिरीक) कर्मको मात्र परित्याग गर्ने व्यक्ति पनि योगी होइन।” कर्मफल, व्यक्तिगत स्वार्थ र इन्द्रियहरूबाट प्राप्त हुने सुखको लोभ गरी यी तिन कुराहरू परित्याग गर्ने व्यक्ति योगी हो भनी प्रष्ट पारिएको छ। कस्तो व्यक्ति योगी हो भन्ने कुरा प्रष्ट पार्दै भनिएको छ- जसको चित्त ज्ञान र विज्ञानले परिपूर्ण छ, जो विकार रहित छ, जसले इन्द्रियहरूलाई आफ्नो नियन्त्रणमा राखेको छ र माटो, ढुङ्गा एवं सुनलाई समान देख्छ, जो योगमा स्थित छ, त्यस्तो व्यक्ति योगी हो। अग्नि-होत्रादि भनेको होम, हवन, अग्नि पूजा वा अग्नि सहितको अन्य पूजाहरू हो। यस किसिमका कार्यहरूको परित्याग गर्ने व्यक्ति पनि योगी होइन।

यस अध्यायमा योग गर्ने तरिकाको बारेमा पनि मार्ग दर्शन गराइएको छ। योग गर्ने तरिका बारे यसरी भनिएको छ “पवित्र स्थानमा, न त अति अग्लो न त अति होचो कुशासनमा माथि मृगासन अनि त्यसमाथि वस्त्रासन राख्दै त्यस स्थिर आसनलाई भूमिमा स्थापित गरेर, त्यस आसनमाथि बसी मनलाई एकाग्रह एवं चित्त, इन्द्रिय र तिनका कार्यहरूलाई नियन्त्रित गर्दै अन्त: करण सुद्ध पार्नका लागि योगाभ्यास गरुन।” यहाँ माथि उल्लेख गरिएको योग गर्ने पद्धति त्यसबेलाको जीवनमा आधारित रहेर विकास गरिएको हो। योग गर्ने तरिका अन्तर्गत मृगासन माथि बसेर योग गर्नु भनिएको छ। त्यो बेलामा मृगासनमा बस्न सक्ने स्थिति थियो तर अहिले त्यो स्थिति छैन। मुख्य गरी यहाँ बुझ्नु पर्ने योगको तरिका के हो भने, केही समयका लागि मनलाई केवल परमात्मामा स्थिर राखेर, मात्र परमात्माको स्मरण गर्दै, मनलाई केही समयका निमित्त सांसरीक कार्यहरूबाट अलग राख्नु हो। जस्तो सुकै तर सफा र पवित्र स्थानमा बसेर पनि योग अभ्यास गर्न सकिन्छ। योग गर्नका लागि कुनै जंगल, नदी किनार, तिर्थस्थल, मन्दिर वा पूजाकोठामा नै जानु पर्दछ भन्ने होइन। जस्तो किसिमको पनि तर पवित्र स्थानमा बसेर, मनलाई केवल परमात्मामा स्थिर राखेर, योग गर्न सकिन्छ। स्वस्थ्य जीवन र सद् विचारका लागि योग गर्न आवश्यक छ।

यस अध्यायमा मनको प्रकृति बारे पनि विस्तारमा वर्णनन् गरिएको छ। मन के हो भने कुरा उदाहरणहरू सहित प्रष्ट पारिएको छ। यस अध्यायमा अर्जुनद्वारा एक सर्वाधिक महत्वपूर्ण प्रश्न यस प्रकार राखिएको छ, “हे कृष्ण, मन स्वभावत: चंचल, हठी, शक्तिशाली र दृढ छ। मेरो विचारमा मनलाई नियन्त्रणमा राख्न सक्नु बतासलाई नियन्त्रणमा राख्न सक्नु भन्दा पनि कठिन छ। अर्जुनको यस प्रश्नमा भगवान् भन्नु हुन्छ, “हे महाबाहो, निश्चय नै मन स्वभावले नै चञ्चल र कठिनपूर्वक नियन्त्रणमा राख्न सकिने हुन्छ तर हे कौन्तेय, अभ्यास एवं वैराग्यद्वारा यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ।”

मनुष्यको चञ्चल मनको बारेमा यस अध्यायमा अनेक महत्वपूर्ण तथ्यहरू उल्लेख गरिएका छन्। मन नै व्यक्तिको मित्र र शत्रु पनि हो। त्यसकारण व्यक्तिले आसक्ति नराखेर स्वार्थहीन मनको सहयोगले आफ्नो आत्माको यो द:खदायी संसारबाट उद्धार गर्नु पर्दछ। आफ्नो आत्माको पतन हुन दिनु हुँदैन। त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छ उसको लागि, उसको मन, उसको ठूलो मित्र हो तर त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छैन, उसको लागि, उसको मन, उसको ठूलो शत्रु हो। र त्यो शत्रु उसको महाशत्रु बनेर उसको हरदम साथ रहन्छ। त्यो व्यक्ति जसले आफ्नो मनमाथि विजय प्राप्त गरेको छ, जसको लागि ताप र शीतलता, सुख र दु:ख, मान र अपमान बराबर हुन्छ। आफ्नो मनमाथि विजय प्राप्त गरेकोले उसको हृदय परमात्मामाथि स्थिर रहन्छ। मनका बारेमा यस्ता अनेक सर्वकालिक सत्यहरू यस अध्यायमा उल्लेख गरिएका छन्।  

हुन पनि मानव समुदायका लागि सुख र दु:खको स्रोत मन नै हो। यसै गरी मन शत्रु र मित्र पनि हो। मनले अनेक किसिमका महत्वाकाङ्क्षाहरुको सृजना गरेर व्यक्तिलाई स्वार्थी एवं पापी मात्र तुल्याउँदैन साथै जघन्य अपराध कर्महरु गर्न पनि उत्प्रेरित गर्छ। हिटर, पलपट, बसार अल- असद जस्ता तानाशाहहरु मनबाट सृजित महत्वाकाङ्क्षाद्वारा निर्देशित भएर नै जघन्य अपराध गर्न प्रेरित भएका थिए। सन् २०११ बाट शुरु भएको (जुन हाल २०१६ सम्म पनि जारी छ) सिरियाली राष्ट्रपति बसार अल-असद बिरुद्धको गृहयुद्धमा दुई लाखभन्दा बढी सिरियालीहरूको हत्या भइसकेको छ। करिब चालिस लाख जति सिरियालीहरू शरणार्थी बनेर विदेशमा बस्न बाध्य भएका छन्। छिमेकी टर्की, लेबेनान, जोर्डन, इराक, उत्तरी अफ्रिका, स रा अमेरिका एवं युरोपका विभिन्न मुलुकहरूमा कष्टपूर्ण सर्णार्थी जीवन बिताउन सिरियालीहरू बाध्य भएका छन्। यी सबै जघन्य अपराध बसार अल-असदको नेतृत्वमा नै भएको हो। यसै गरी सत्ताका अर्का लोभी एवं तानाशाह, जिम्बाब्वेका वर्तमान राष्ट्रपति रोबर्ट गाब्रिएल मुगाबे, अनेक छलछाम, अपराध, तानाशाही आदि आदि कर्म गरेर, १९८० देखि हालसम्म (२०१५) आफूलाई मुलुको शासकको गद्दीमा आसिन गराउन सफल भएका छन्। यिनले आफ्नो मुलुकमा ३५ वर्षभन्दा बढी शासन गरिसकेका छन्। उमेरले ९१ वर्ष पुगिसकेका सत्ताका लोभी मुगाबेले कहिलेसम्म आफूलाई सत्तामा आसिन गराउने हुन? तर तत्कालीन अल्प संख्यक गोराहरूको रंगभेदी शासनबाट वहुसंख्यक कालाहरूलाई मुक्ति दिलाउन तत्कालीन रोह्डेसिया (जिमबाब्वेको पुरानो नाम) मा मुगाबेले आन्दोलन शुरु गरेका थिए र अफ्रिकाको नै हिरो हुन पुगेका थिए। अहिले, विचारणीय कुरा त के छ भने जिमबाब्वेमा कालाहरूले जति बढी दु:ख गोराहरूबाट पाए त्यो भन्दा बढी दु:ख उनीहरूले आफ्नै काला नेता मुगाबेबाट पाए। र अहिले पनि पाइरहेका छन्।

गीताका हरेक काल वा समयमा सत्य रहने उपदेशहरूले मानव समुदायलाई पापपूर्ण कुकर्महरूबाट अलग रहेर सम्पूर्ण जीव र जगत्को हित हुने सत्य र उपयोगी कर्महरू गर्न प्रेरित गर्दछन्। हरेक किसिमका मोह र लोभहरूबाट विमुख हुन प्रेरणा दिन्छन्। हरदम कल्याणकारी कार्य गर्न योगी भएर चञ्चल मनमाथि नियन्त्र राख्न मार्ग दर्शन गराउँछन्।



 छैठौं अध्याय समाप्त

No comments:

Post a Comment