Saturday, February 28, 2015

Geeta Chapter 7

भागवत गीता अध्याय ७
ज्ञान-विज्ञान योग

श्रीभवानुवाच-
मय्यासक्तमना: पार्थ योगं युञ्जन्मदाश्रय:।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु।।१।।

भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो
(अब सुन, हे पार्थ, जसरी भक्तियोगको अभ्यासद्वार मष्तिष्कलाई विषेश किसिमले ममाथि लगाएर एवं म प्रति समर्पित भएर बिना कुनै शंसय तिमीले मलाई पूर्ण रुपमा जान्न सक्छौ।)

ज्ञानं तेSहं सविज्ञानमिदं वक्ष्याम्यशेषत:।
यज्ज्ञात्वा नेह भूयोSन्यज्ज्ञातव्यमवशिष्यते।।२।।

(अब म तिमीलाई विज्ञान सहित यस ज्ञान  बारे पूर्ण प्रष्ट पार्ने छु जुन थाहा पाएर तिमीले थाहा पाउनु पर्ने कुरा यो संसारमा बाँकि रहने छैन। तिमीलाई संसारका सम्पूर्ण कुराहरू बारे ज्ञात हुनेछ।)

मनुष्याणां सहस्रेषु कश्र्चिद्यतति सिद्धये।
यततामपि सिद्धानां कश्र्चिन्मां वेत्ति तत्त्वत:।।३।।

(सयौं सयौं पुरुषहरु मध्ये कुनै एकले सिद्धिको लागि प्रयत्न गर्दछ। र ती सिद्धि प्राप्त गरेका पुरुषहरू मध्ये कुनै एकले मलाई यो स्वरुपमा जान्दछ।) 

भूमिरापोSनलो वायु: खं मनो बुद्धिरेव च।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।४।।

(मेरो बाहिरी अङ्गको प्रकृति पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि, अहंकार गरी आठ भागमा विभाजित छ।)

अपरेयमितस्वन्यां प्रकृतिं विद्धि मे पराम्।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत्।।५।।

(तर यी आठ जड प्रकृतिहरु निकृष्ट हुन्। हे महाबाहो, यी जड प्रकृति बाहेक मेरो एक उत्कृष्ट प्रकृति छ जुन जीव शक्ति हो, आत्मा शक्ति हो। आत्मा शक्ति शरीर रुप भित्र हुन्छ र जीवनको आधार पनि यो नै हो।)

एतद्योनीनि भूततानि सर्वाणीत्युपधारय।
अहं कृत्स्नस्य जगत: प्रभव: प्रलयस्तथा।।६।।

(मेरा यी दुई  प्रकृतिहरु-आध्यात्मिक र भौतिक बाट नै सम्पूर्ण जीवहरुको रचना भएको हो भन्ने जान। म नै सम्पूर्ण जगत्को रचनाकर्ता र विनासकर्ता हुँ।

मत्त: परतरं नान्यत्किञ्चिदस्ति धनंजय।
मयि सर्वमिदं प्रोतं सुत्रे मणिगणा इव।।७।।

(हे धनञ्जय, म भन्दा श्रेष्ठ अर्को कोही छैन्। धागोमा मणि उनिएझै यो संसार ममा उनिएको छ।)

रसोSहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययो:।
प्रणव: सर्ववेदेषु शब्द: खे पौरुषं नृषु।।८।।

(हे कौन्तेय, जलमा म रस हुँ, सूर्य र चन्द्रमा प्रकाश हुँ, सम्पूर्ण वेदहरुमा ओमकार हुँ, आकाशमा शब्द हुँ तथा पुरुषमा पुरुषत्व पनि म नै हुँ।

पुण्यो गन्ध: पृथिव्यां च तेजश्र्चस्मि विभावसौ।
जीवनं सर्वभूतेषु तपश्र्चास्मि तपस्विषु।।९।।

(पृथ्वीमा म पवित्र गन्ध हुँ, अग्नीमा म तेज हुँ, सम्पूर्ण जीवहरुको म आयु हुँ तथा तपस्वीहरुको म तप हुँ।)

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्।
बुद्धिबुर्द्धिमतामस्मि तेजस्तेजस्विनामहम्।।१०।।

(हे पार्थ, सम्पूर्ण प्राणीहरुको नित्य कारण अर्थात सनातन बीज मलाई जान। बुद्धिमानहरूको बुद्धि र तेजस्वीहरूको तेज पनि म नै हुँ।)

बलं बलवतां चाSहं कामरागविवर्जतम्।
धर्मविरुद्धो भूतेषु कामोSस्मि भरतर्षभ।।११।।

(हे भरतर्षभ-भरतवंशीहरूमा सर्व श्रेष्ठ, म बलवानहरुको वासन र विषयमा आसक्ति नभएको बल हुँ र सबै प्राणीहरुमा केवल धर्म अनुरुप सन्तान जन्माउन उपयोगी रहेको काम हुँ।)  

ये चैव सात्त्विका भावा राजसास्तामसाश्र्च ये।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि।।१२।।

(जति पनि सात्विक, राजसी र तामसी भावहरु छन् ती सम्पूर्ण मेरा प्रकृतिका गुणद्वारा उत्पन्न कार्यहरू हुन। म ती गुणहरुबाट स्वतन्त्र छु। बरु ती गुणहरु मेरो शक्तिको अधीनमा छन्।

त्रिभिर्गुणयैर्भावैरभि: सर्वमिदं जगत्।
मोहितं नाभिजानाति मामेभ्य: परमव्ययम्।।१३।।

(भद्रता, अनुराग र अज्ञानता गरी यी तीन गुणहरुबाट मोहित भएको कारणले गर्दा यो सम्पूर्ण संसारले म नित्य र अविनासीलाई जान्न सक्तैनन्।)

दैवी ह्येषा गुणमयी मम माया दुरुत्यता।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते।।१४।।

(भौतिक प्रकृति भएका यी तीन गुणहरु समाविष्ट मेरो दैवीय शक्ति पार गर्न कठिन छ तर तिनीहरु जो मेरो आश्रयमा पर्दछन् तिनीहरुले भने यो दैवीय शक्ति-मायालाई पार गर्छन्।

न मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा:।
माययापहृतज्ञाना आसुरं भावमाश्रिता: ।।१५।।

(ती निचहरु, जो पटमूर्ख, मानवतामा निम्नकोटी, भ्रम दवारा ज्ञान नाश भएका र आशुरी स्वभावले युक्त छन्, ले मेरो आश्रय पाउँदैनन्।) 

चतुर्विधा भजन्ते मां जना: सुकुतिनोSर्जुन।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भारतर्षभ।।१६।।

(हे भारतर्षभ, उत्तम कार्य गर्ने चार किसिमका व्यक्तिहरुले मलाई भज्छन्। ती चार किसिमका व्यक्तिहरु हुन- व्यथित, ज्ञानको भोका, धन आर्जन गर्न इच्छुक र निष्कामी।)

तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते।
प्रियो हि ज्ञानिनोSत्यर्थमहं स च मम प्रिय:।।१७।।

(मलाई भज्ने ती चार प्रकारकाहरु मध्ये जो सँधै मामाथि नै आफ्नो चित्तलाई एकाग्रह गर्ने र केवल ममा नै अनुराग राख्ने ज्ञानीहरु श्रेष्ठ हुन किनभने म उनीहरुको लागि श्रध्येय हुँ र उनीहरु मेरा प्रिय हुन्।)

उदारा: सवर एवैते ज्ञानी त्वात्मैव मे मतम्।
आस्थित: स हि युक्तात्मा मामेवानुत्तमां गतिम्।।१८।।

(ती सबै भक्तहरु निश्चय नै महामना हुन तर त्यो जो मेरो ज्ञानमा स्थित छ म त्यसलाई आफू सरह नै मान्दछु। त्यस्तो भक्तले मेरो भक्तिमा रहेर मलाई र साथै पूर्णाउच्च लक्ष्य पनि प्राप्त गर्दछ।

बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते।
वासुदेव: सर्वमिति स महात्मा सुदुर्लभ:।।१९।।

(धेरै जन्महरु प्राप्त गरे पछि बुद्धिमान व्यक्तिले सम्पूर्ण वस्तुहरुमा म नै छु भन्ने जानेर ममा आश्रय ग्रहण गर्दछ। यस्तो महा आत्मा अति दुर्लभ हुन्छ।

कामैस्तैस्तैर्हृतज्ञाना: प्रपद्यन्तेSन्यदेवता:।
तं तं नियममास्थाय प्रकृत्या नियता: स्वया।।२०।।

(तिनीहरु, जसको ज्ञान भौतिक इच्छाहरु द्वारा हरण भएको छ, देवताहरुको शरणमा पर्दछन् र देव- उपासनाका प्रक्रिया र विधिहरु आफ्नै प्रकृति अनुरुप अवलम्बन गर्दछन्।)

यो यो यां यां तनुं भक्त: श्रद्धयार्चितुमिच्छति।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम्।।२१।।

(जो जो सकाम भक्त जुन जुन देव मूर्तिको पूजा श्रद्धापूर्वक गर्न चाहन्छ म अन्तरयामीको रुपमा त्यो त्यो भक्तको श्रद्धा त्यो त्यो देवमा स्थिर गरिदिन्छु।)

स तया श्रद्धया युक्तस्तस्याराधनमीहते।
लभते च तत: कामान्मयैव विहितान्हि तान्।।२२।।

(त्यो व्यक्तिले त्यो श्रद्धा भक्तिले परिपूर्ण भए त्यो देवताको पूजाको प्रत्यन गर्दछ र त्यो कामना प्राप्त गर्दछ जुन कि मद्वारा नै व्यवस्था गरिएको हो।)

अन्तवत्तु फलं तेषां तद्भवत्यल्पेधसाम्।
वेवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि।।२३।।

(परन्तु ती अल्प बुद्धि हुनेहरुका लागि त्यो फल नाशवान हुन्छ, देवताहरुलाई पूजा गर्ने देवताहरुमा र मलाई पूजा गर्नेहरु ममा मिल्दछन्।) 

अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय:।
परं भावमजानन्तो ममाव्ययमनुत्तमम्। २४।।

(बुद्धि नभएकाहरु, जसले मलाई पूर्णरुपमा थाहा पाएका छैनन्, ले मलाई स्वरुप नभएको र मैले कुनै पनि किसिमको स्वरुप ग्रहण गर्न सक्ने सम्झिन्छन्। तिनीहरुको अल्प ज्ञानले यो थाहा पाउन दिँदैन कि म महान् प्रकृतिको छु र त्यो प्रकृति अनाशवान र सर्वोच्च छ।)

नाहं प्रकाश: शर्वस्य योगमायासमावृत:।
मूढोSयं नाभिजानाति लोको मामजमव्ययम्।।२५।।

(आफ्नो योगमायाले म आवृत भएकोले सबैले मलाई देख्न सक्तैनन् त्यसकारण अज्ञानी मान्छेहरुले मलाई नित्य र अजन्मा भनी थाहा पाउन सक्तैनन्।)

वेदाहं समतीतानि वर्तमानानि चार्जुन।
भिविष्याणि च भूतानि मां तु वेद न कश्र्चन।।२६।।

(हे अर्जुन, मेरो ऐश्वर्य शक्तिले भूतकालमा के भयो भनी थाहा पाउन सक्छु। वर्तमानमा के भइरहेको छ र के भविष्यमा के हुने हो त्यो पनि थाहा पाउन सक्छु। सम्पूर्ण अस्तित्वहरुको बारेमा मलाई जानकारी छ तर मलाई भने कसैले जान्दैन्।)

इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत।
सर्वभूतानि संमोहं सर्गे यान्तित परंतप।।२७।।

(हे भरतका सन्तति, हे सत्रु विजेयता, श्रृष्टिको आदि कालमा इच्छा र द्वेषले श्रृजित भइ यस संसारमा उत्पनन् सम्पूर्ण प्राणीहरू समयको सुख, दु:ख आदिको द्वन्द विषय-मोहबाट मोहित हुन्छन्।)

येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम्।
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढवता:।।२८।।

(तर पुण्यकर्मले जसको पाप नाश भएको छ त्यस्ता व्यक्तिहरुले द्वन्द-मोहबाट मुक्त भइ अविचलित रुपमा मलाई भज्छन।)

जरामरणमोकक्षाय मामाश्रित्य यतन्ति ये।
ते ब्रह्मतद्विदु: कृत्स्नमध्यात्मं कर्म चाखिलम्।।२९।।

(ती बुद्धिमानहरु जो जरामरण- जीवन चक्रबाट मुक्ति पाउनका लागि मेरो शरणमा आउँछन्, मेरो साधन गर्छन, तिनले ब्रह्मको, सुदद्ध जीव आत्मास्वरुप एवं संसार बन्धनका सम्पूर्ण कर्महरुको बारेमा थाहा पाएका हुन्छन्।)

साधिभूताधिदेवं मां साधियज्ञं च ये विदु:।
प्रयाणकालेSपि च मां ते विदुर्युक्तचेतस:।।३०।।

(ती सबै व्यक्तिहरु, जो अधिभूत, अधिदेव तथा अधियज्ञका साथ मलाई जान्दछन्, ममा आसक्त चित्त भएका यस्त व्यक्तिहरुले मृत्युकालमा पनि मेरो स्मरण गर्न सक्छन्।)

नोट: अधिभूत- सर्चोच्च, भगवान् श्रीकृष्ण, अधिदेव- देवताहरुको पनि देवता, भगवान श्रीकृष्ण, अधियज्ञ- सम्पूर्ण यज्ञहरुका सिद्धिकर्ता भगवान श्रीकृष्ण भनी बुझ्नु पर्ने हुन्छ।


सातौ अध्यायको व्याख्या

सातौ अध्याय पनि अन्य अध्यायहरू जस्तै अति नै अर्थपूर्ण एवं उपदेशमूलक छ। यस अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनलाई म नै प्रकृति हो र यो प्रकृति म द्वारा नै सञ्चालित छ भन्नु भएको छ। भगवान् भन्नु हुन्छ “मेरो बाहिरी अंगको प्रकृति पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि, अहङ्कार गरी आठ भागमा विभाजित छ। तर यी आठ जड प्रकृतिहरू निकृष्ट हुन। हे महाबाहो, यी जड प्रकृतिहरू बाहेक मेरो एक उत्कृष्ट प्रकृति पनि छ जुन जीव शक्ति हो, आत्मा शक्ति हो। आत्मा शक्ति शरीर भित्र हुन्छ र जीवनको आधार पनि यो शक्ति नै हो।”

भगवान्ले यहाँ आत्मालाई सर्वोकृष्ट र अन्य आठ प्रकृतिहरूलाई निकृष्ट भन्नु भएको छ। आध्यात्मिक दृष्टिकोणले जसलाई आत्मा भनिएको छ त्यसलाई भौतिक दृष्टिकोणले विशिष्ट ऊर्जा भन्न सकिन्छ। यो विशिष्ट ऊर्जाको यो जगत्मा विशेष किसिमको भूमिका रहेको छ। यो आत्मा वा विशिष्ट ऊर्जाले नै अन्य आठ प्रकृतिहरूको सहयोगमा जीवको रुप धारण गरेर यस लोकमा जीवन निर्वाह गर्दछ। सम्पूर्ण कुराहरूलाई प्रयोग र सञ्चालित गर्ने आत्मा नै हो। त्यसकारण भगवानले आत्मा वा जीवन-ऊर्जालाई सर्वोकृष्ट भन्नु भएको हो।

भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ, “मेरा यी दुई  प्रकृतिहरू, आध्यात्मिक र भौतिक, बाट नै सम्पूर्ण जीवहरूको रचना भएको हो भन्ने जान। म नै सम्पूर्ण जगतको रचनाकर्ता र विनाशकर्ता पनि हुँ। हे धनञ्जय, म भन्दा श्रेष्ठ अर्को कोही पनि छैन्। धागोमा मणि उनिएझै यो संसार ममा उनिएको छ।”

भगवान् श्रीकृष्णले आफ्नो लिला, जुन प्रकृतिद्वारा गराउनु हुन्छ, अर्जुनलाई यस किसिमले बयान गर्नु भएको छ, “हे कौन्तेय, जलमा म रस हुँ, सूर्य र चन्द्रमा प्रकाश हुँ, सम्पूर्ण वेदहरूमा ओमकार हुँ, आकाशमा शब्द हुँ तथा पुरुषमा पुरुषत्व पनि म नै हुँ। पृथ्वीमा म पवित्र गन्ध हुँ, अग्नीमा म तेज हुँ, सम्पूर्ण जीवहरूको म आयु हुँ तथा तपस्वीहरूको म तप हुँ। हे भरतर्षभ, म बलवानहरूको वासना र विषयमा आसक्ति नभएको बल हुँ र सबै प्राणीहरूमा केवल धर्म अनुरुप सन्तान जन्माउन उपयोगी रहेको काम म नै हुँ। जति पनि सात्विक, राजसी र तामसी भावहरू छन् ती सम्पूर्ण मेरा प्रकृतिका गुणद्वारा उत्पन्न कार्यहरू हुन्। म ती गुणहरूबाट स्वतन्त्र छु। बरु ती गुणहरू मेरो शक्तिको अधीनमा छन्।”

प्रकृतिका अनेक नियमहरू (जस्तै जीवन, मरण, वासना, भोक, निद्रा, उमेर, लोभ, घृणा, प्रेम, क्षमा आदि) भगवान्का लिलाका कार्यहरू हुन्। भगवान्को लिलाद्वारा नै प्रकृतिका यी कार्यहरू सञ्चालित हुन्छन्। पाठक महोदय वा महोदया, यदि तपाइँ ईश्वरवादी हुनु हुन्न र भौतिकवादी (अनिश्वरवादी) हुनु हुन्छ भने पनि तपाइँले एउटा कुरा के मान्नु पर्ने हुन्छ भने यो लोक (पृथ्वी) एवं सम्पूर्ण अन्तरिक्ष साथै सम्पूर्ण अन्तरिक्षहरूमा रहेका असङ्ख्य तारपूञ्ज एव अनेक सौर्यमण्डलहरू, कुनै न कुनै शक्तिद्वारा संचालित छन्। र त्यो शक्ति नियमित छ र अनुशासित पनि छ। अटल र भेदभावरहित एवं पूर्ण निष्पक्ष छ। सूर्य किन प्रत्येक दिन स्वेत प्रकाश छर्दे बिहानी गर्न आइ पुग्छन्? रात पर्नासाथ शुक्लपक्षमा चन्दमा किन नबिराई आकाशमा आइ पुग्छन्? चारैतिर हावा किन छ र बतास किन चल्छ? वर्षा किन हुन्छ? वर्षा किन वर्षा ऋतुमा हुन्छ नै? एउटै माटोमा फुलेका अनेक फुलहरू कुनै रातो, कुनै सेतो, कुनै निलो किन हुन्छन्? एउटै धर्तिमा उब्जेको कुनै फल (करैला) अति तितो र कुनै फल (अंगुर) ज्यादै मिठो किन हुन्छ? यौवन अवस्थामा कुनै पुरुषलाई कुनै स्त्रीप्रति वा कुनै स्त्रीलाई कुनै पुरुषप्रति कुन शक्तिले आकर्षित गराउँछ? कुनै मादा (स्त्री लिङ्ग) ले जन्म दिन चाहे पनि, नचाहे पनि सम्भोग गरे पछि सन्तान उत्पत्ति अनिवार्य किसिमले किन हुन्छ? स्त्रीमा स्त्रीत्व र पुरुषमा पुरुषत्व कसले प्रक्षेपण गराउँछ? एउटा सानो बीजले ठूलो रुख वा ठूलो जीवको रुप कसरी धारण गर्दछ? यी सबै प्रश्नहरूको उत्तरमा यदि तपाइँ भन्नु हुन्छ यी सबै कुराहरू संयोगद्वार हुन्छ भने तपाइँले यो पनि आफूसँग प्रश्न गर्नु पर्ने हुन्छ कि यी संयोगहरूको उत्पत्ति कसले गराउँछ त? यी संयोगहरूका उत्पत्ति एवं संचालनकर्ता को हो?

तपाइँ भौतिकवादी भएकोले तपाइँको भौतिकवादी विचारलाई चुनौति दिन वा तपाइँलाई ईवश्वरवादी बनाउने मेरो उद्देश्य रहेको छैन्। तपाइँ भौतिकवादी नै रहनुहोस्। भौतिकवादी नै रहेर तपाइँले केवल यति मात्र के मान्नु पर्ने हुन्छ भने माथि वर्णनन् गरिएका कार्यहरू संचालन गर्ने कोही त छ। तपाइँका विचारमा यी कार्यहरू गर्ने यदि संयोग वा प्रकृति नै हो भने त्यो संयोग वा प्रकृति कुनै शक्ति हो भन्ने कुरा त मान्नु हुन्छ? यसरी ती कार्यहरू गर्ने कुनै शक्ति हो भन्ने निष्कर्षमा भने तपाइँ अवश्य पुग्नु हुन्छ र भन्नु हुन्छ प्रकृतिले लिला गर्दछ। प्रकृतिले लिला गर्दछ भन्ने कुरालाई पनि स्वीकार गर्नु हुन्छ। अर्थात लिला हुन्छ भन्ने कुरा पत्याउनु हुन्छ। फरक यदि मात्र के हुन्छ भने यी कार्यहरु गर्ने वा लिला गर्ने कर्ताको रुपमा तपाइँले प्रकृतिलाई स्वीकार गर्नु हुन्छ। निष्कर्षमा, तपाइँ शक्तिलाई स्वीकार गर्नु पर्ने स्थितिमा पुग्नु हुन्छ।  र त्यो शक्ति के ईश्वर होइन त?

प्रकृतिलाई लिलाको रुपमा वर्णनन् गर्नु यस अध्यायको सर्वाधिक सुन्दर पक्ष हो। सम्पूर्ण जीवधारीहरू र जगत प्रकृतिको लिलाद्वारा सञ्चालित हुन्छन् र प्रकृतिको लिलाको स्रोत म स्वयं नै हुँ भनी भगवान् श्रीकृष्णले प्रष्ट पार्नु भएको छ। प्रकृतिले लिला गर्दछ र हामी सबै प्रकृतिको लिलाको उपज हौ। यो प्रकृति नियमित छ, स्थिर छ र अटल पनि छ। 




सातौं अध्याय समाप्त

1 comment:

  1. बधाई छ सर । सुन्दर सरल भाष्य । आगे .....

    ReplyDelete