Friday, December 4, 2015

Why Is Birgunj Getting Sick?-Article-190


किन वीरगंज बिमारी पर्दैछ?

वीरगंज शहरको इतिहास हेर्ने हो भने यसको विकास कुनै धार्मिक वा राजनैतिक नभई व्यापारिक शहरको रूपमा भएको सजिलै थाहा पाउन सकिन्छ । यस शहरलाई व्यापारिक शहरको रूपमा विकसित गर्न यहाँका विभिन्न समुदायको महत्त्वपूर्ण योगदान छ। मारवाडी, पञ्जाबी, नेवार र गुप्ता, सर्राफ समुदायले भने खास भूमिका खेलेको पाइन्छ। वीरगंज वरिपरि यातायात सेवा विस्तार गर्न र ‘सेटेलाइट सिटी’ हरूको विकास गर्न मारवाडी र पञ्जाबी समुदायले आफ्नो ज्ञान, ऊर्जा, समय र पैसाको निकै लगानी गरेको अझै बढी उल्लेखनीय छ। निजगढ, चन्द्रनिगाहपुर वा हेटौंडा, नारायणघाट तिर दौडिने ट्रक वा बसहरूमा चालक पञ्जाबी रहेको र यसैगरी निजगढ, चन्द्रनिगाहपुर, बरहथवा, लालबन्दीतिर अन्न खरिदका लागि दौडिने गाडीहरू ब्रिजलाल केडियाको रहेको तीसको दसक स्मरण गर्दा यी दृश्यहरू आाखा अगाडि झल्झली आउँछ। कलैया, जीतपुर, सिमरा, निजगढ एवं चन्द्रनिगाहपुरलाई सेटेलाइट शहरको रूपमा विकास गर्न एवं ती शहरहरूमा व्यापारिक गतिविधि तीव्र पार्नमा केडिया परिवारको ठूलो योगदान छ। निजगढ, चन्द्रनिगापुर यस क्षेत्रका कान्छा तर तीव्र गतिमा आर्थिक विकास गर्ने शहरहरू हुन्। यी दुई शहरले सदरमुकाम कलैया र गौरलाई आश्चर्यचकित पार्दै अभूतपूर्व आर्थिक विकास गरे। आफूलाई आर्थिकरूपमा अति नै सक्षम पारे। र यो तथ्य धेरैलाई थाहा छ। वीरगंजस्थित केडिया परिवारको ‘राइस एन्ड फ्लोर मिल्स’ का लागि धान खरिद गर्न त्यस घरानाका बीसौं ट्रक पूर्वमा लालबन्दीसम्म पुग्थे।
    वीरगंजमा व्यापार मात्र होइन, उद्योगको विकास पनि सन्तोषजनक किसिमले भएकोले वीरगंज र यस वपरपरका गाउँका युवकहरूले सजिलै रोजगार पाउँथे। पहाडका युवकहरू जस्तो रोजगारका लागि काठमाडौं नै पुग्नुपर्ने दरकार थिएन। वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, चुरोट कारखाना, सलाई कारखाना, बिडी कारखाना, चामल मिलहरू, स्टिल कारखाना, ज्योति फारम एवं उद्योग, जुन २०२५ सालभन्दा पहिले नै खुलिसकेका थिए, हजारौ व्यक्तिलाई रोजगार दिएका थिए। कृषि औजार कारखाना र वीरगंज चिनी कारखाना, जुन पूर्ण सरकारी लगानीमा स्थापना भएका थिए, वीरगंज मात्र होइन यस वरपरका अनेक गाउँ–छातापिपरा, परवानीपुर, कलैया, मोतिसर, इटियाही, बगही, जगरनाथपुर, लालपर्सा, लिपनिका सयौं व्यक्तिलाई रोजगार दिएर उनीहरूको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। चीनी उत्पादन र उखु खेतीका लागि वीरगंजले नेपालभरिमैं ख्याति आर्जन गरेको थियो। यस शहरमा उत्पादन भएको चामल भारत मात्र होइन, बङगलादेश, मरिसस, सिंगापुरसम्म निर्यात हुन्थ्यो। चामल निर्यात गर्न भनेर नै तत्कालीन सरकारले ‘धान चामल निर्यात कम्पनी’ स्थापना गरेको थियो र त्यस कम्पनीको एउटा ठूलो शाखा वीरगंजमैं थियो। निष्कर्षमा भन्ने हो भने यो शहर आफ्नो व्यापारिक कार्यमा मात्र केन्द्रित रहने भारतको गुजरात राज्यजस्तो थियो । वा सिंगापुरजस्तो केवल कारोबारी बजार थियो। अमेरिकाको न्युयोर्कजस्तो वहुसांस्कृतिक, व्यापारिक शहर थियो। धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला कि जतिखेर काठमाडौंका सडकहरूमा जनताका मोटरहरू दौडिने गर्थेन त्यतिखेर वीरगंजले आफूलाई रेलसेवासँग जोडिसकेको थियो। भारतको रक्सौलदेखि वीरगंज हुँदै अमलेखगंजसम्म पुग्ने ‘नेपाल गभरमेन्ट रेल्वे’ को स्थापना सन् १९२७ मा भइसकेको थियो। करिब ९० वर्ष पहिले वीरगंजले आफूलाई उत्तरमा काठमाडौं र दक्षिणमा कलकत्ता, बनारस, लखनऊ, दिल्ली जस्ता भारतका प्रमुख शहरहरूसँग जोडिसकेको थियो। लगभग नेपालभरिका मानिस काठमाडौं जान वीरगंज आउँथे अनि रेल चढेर अमलेखगंज पुग्थे। त्यसपछि बस वा ट्रकमा चढेर भीमफेदी पुग्थे र त्यहाँबाट हिंडेर काठमाडौ पुग्थे । व्यापारिकरूपमा वीरगंज हरपल गुलजार रहेको इतिहास छ। यी तथ्यहरू यस क्षेत्रका नया पिढीका (युवाहरू) लाई थाहा नहुन सक्छ।
    तर २०४६ र ४७ सालको राजनैतिक परिवर्तनले जब वीरगंजलाई नराम्रो गरी छुन शुरु गर्‍यो अनि पूर्वको त्यो ‘अनुत्पादक राजनीति’, जसले राजविराज र जनकपुरजस्ता आर्थिक विकासका बृहत् सम्भावना बोकेका शहरहरूको विकास हुन दिएको थिएन, वीरगंजमा पस्यो त्यो बेलादेखि नै वीरगंजको दूर्दिन शुरु भयो । बन्द, हडतालका सिलसिला एकातिर शुरु भए भने अर्कोतिर कारखानाको मालिक र कामदारबीच अनेक किसिमका कलह उत्पन्न भएर कलकारखानाहरू बन्द हुन थाले। पूर्वबाट पसेको ‘कुहिएको र विध्वंसात्मक राजनीति’ ले वीरगंजको उद्योगधन्दा मात्र चौपट पारेन, साथै सदीयौंदेखि दहीजस्तो जमेर बसेको वीरगंजेली समाजलाई राजनीतिको ठूलो कुटिल डाडूले टुक्राटुक्रा पारिदियो । अति राजनीतिले गर्दा वीरगंज अब भारतको कश्मीर हुन बेर नलाग्ने स्थितिमा पुगेको छ। वीरगंज अहिले हरेक किसिमका आन्दोलनहरूको ‘इपिसेन्टर’ हुन पुगेको छ। मधेस आन्दोलनका लागि त झन् वीरगंज रणभूमिमा रूपान्तरित हुन थालेको छ। स्थिति यस्तै रहने हो भने वीरगंज कश्मीर वा सिरिया हुन बेर लाग्ने छैन। वीरगंजका नागरिकको कानमा हरदम गोलाबारुदको आवाज गुन्जिने नियति बन्न बेर लाग्नै छैन, जस्तो अहिले कश्मीर वा सिरियाका नागरिकहरूले भोगिरहेका छन्।
    अति राजनीतिले कुनै पनि शहर वा देश रणभूमिमा परिवर्तन हुन बढी समय लाग्दैन। उदाहरण हेर्न धेरै पर होइन, भारतको कश्मीरलाई हेरे पर्याप्त हुन्छ । सिरिया, लेबनान वा सुडानसम्म जानु पर्दैन। कुनै बेला कश्मीरलाई ‘जन्नत’ अर्थात स्वर्ग भन्ने गरिन्थ्यो। सन् १९८० भन्दा पहिले भारतमा निर्माण हुने अधिकांश हिन्दी सिनेमाहरूमा प्राय: एउटा दुईटा वा केहीमा धेरै दृश्यहरू कश्मीरकै हुने गर्दथ्यो। कश्मीरलाई लिएर एउटा गीत कुनै समयमा अति नै प्रचलित थियो । गीत थियो ‘हर चेहरा यहाँ कास तो हर जर्रा सितारा ए वादी, ए कश्मीर है जन्नत का नजारा। त्यस्तो जन्नतजस्तो कश्मीरलाई ‘स्वार्थी’ राजनीतिले अहिले कस्तो तुल्याइदिएको छ, सबैको सामु प्रस्ट छ, थप भन्नु पर्दैन। अहिले बाहिरका पर्यटक मात्र होइन, कश्मीरवासी स्वयं पनि कश्मीरदेखि डराउँछन्। भारत वा पाकिस्तान, कसको कारणले कश्मीरको चीरहरण भयो त्यो चर्चा भने म गर्न चाहन्नँ, मलाई राजनीतिमा रुचि छैन पनि। रुचि छ भने गरिब जनताको घरमा कसरी खुशहाली पुर्‍याउन सकिन्छ त्यस विषयको खोज, अनुसन्धान, एवं प्रस्तुतिमा।
    आदरणीय पाठकवृन्द, म प्रसङग परिवर्तन गर्न चाहन्छु। नेपालमा २०३६ (सन् १९८०) सालमा तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले पञ्चायती व्यवस्थामा सुधार ल्याउने वा वहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गराएको थियो। मेरा एक परिचित पूर्वी पर्सा जिल्लाको एक गाउँमा मतदान अधिकृत भएर खटेका थिए। मतदान केन्द्रमा एकजना दृष्टिविहीन मतदानका लागि उपस्थित भए। नियम अनुसार मतदान अधिकृतले उक्त मतदाताको साथमा गएर उनको तर्फबाट छाप लगाएर बक्सामा मतपत्र हाल्नुपर्ने थियो । ती मतदान अधिकृतले आफूले रोजेको व्यवस्थामा, छनौट गरेर, मत खसाल्न सक्थे। आफू बहुदलीय व्यवस्थाको कट्टर समर्थक भएको हुनाले बहुदलीय व्यवस्था रोजेर त्यसमा छाप लगाउन सक्थे। तर उनले त्यस्तो नगरेर ती दृष्टिविहीन मतदातालाई प्रश्न गरे, प्रस्ट गरी भन्नुहोस्, तपाईंको आफ्नो इच्छा र निर्णय अनुसार कसलाई मत दिनुहुन्छ ? म तपाईंको तर्फबाट वहुदलीय वा सुधारिएको पञ्चायती व्यवस्था, कुन रोज्ने भनी छाप लगाइदिउँ ? मतदान अधिकृतको कान नजिक मुख लग्दै ती दृष्टिविहीन अधबैंसेले भने–निर्दलिया में छाप मार दीं। मतदान अधिकृत तीनछक्क परे। तीनछक्क किन परे भने ती दृष्टिविहीनले केही बेर पहिले बहुदलका समर्थक स्वयंसेवकहरूलाई आफूले बहुदलमा छाप लगाउने भनी कठोर वाचा गरेका थिए। पाठकहरूलाई स्मरण होला, त्यस बेला भएको जनमत सङ्ग्रहमा, पर्सा जिल्लामा निर्दलले जितेको थियो। अर्थात् सुधारिएको पञ्चायती व्यवस्था मन पराउनेहरूको सङ्ख्या अधिक 
थियो।
    अब यो माथिको प्रसङगलाई जोडौं । पर्सा जिल्लाभरिका नागरिकहरू नै धेरै किसिमका राजनीति दाउपेंचमा नलागी, आर्थिक प्रगतिका लागि स्थिरता रोज्ने मनोवृत्तिका हुन्। पर्सा जिल्ला आर्थिक खुशहाली रोज्ने जिल्ला हो। वीरगंज मात्र होइन, पर्सा जिल्लाका धेरै गाउँहरूले वीरगंजमा रहेका अनेक उद्योग एवं व्यापारिक घरानाको सम्पर्कमा रहेर व्यापारिक संस्कृति सिकेका छन्। त्यस अनुरूप आफूलाई ढालेका छन्।
    तर पछिल्लो समयमा वीरगंज ज्यादै अशान्त हुन पुगेको छ। अति राजनीतिले गर्दा वीरगंजलाई र खासगरी यहाँका युवाहरूलाई नराम्रो मनोवैज्ञानिक असर पारेको छ। अति राजनीतिले कुहिएको आलुले झै यहाँका अति उद्यमी बासिन्दालाई दूषित पार्ने काम गरिरहेको छ।
    जिम्मेवारी वीरगंजका नागरिकहरूको हातमा छ। वीरगंजलाई आर्थिकरूपमा सक्षम, खुशहाल र शान्त नगर बनाउने वा अति राजनीति हुने थलोको रूपमा विकास गरेर कश्मीर जस्तो तुल्याउने ? यो यक्ष प्रश्नको उत्तर वीरगंजका नागरिकहरूले नै दिनुपर्छ। यहाँ हुने उथलपुथलले वीरगंजका नागरिकहरूलाई नै बढी प्रभावित पार्ने हो, बाहिरकालाई होइन।
    वीरगंजको प्रत्येक नागरिक आफैंमा एउटा वीरगंज हो। वीरगंजलाई समृद्ध बनाउने, आउने पुस्तालाई ‘गरीखान’ सजिलो परिदिने कि वीरगंजलाई राजनैतिक साँढेहरूको सिंगौरी खेल्ने स्थान किन बनाउने ? वीरगंजका नागरिकहरूले यो यक्ष प्रश्नमाथि गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। गाउँतिर एउटा भनाइ निकै प्रचलित छ–अगलेसरा कौआले एउटा घरमा आगो खसाल्छ, त्यसमा आगो लगाउँछ, फेरि अर्को घरमाथि पुग्छ आगो खसाल्न। अगलेसराहरू काठमाडौबाट आऊन् वा पूर्वबाट, तिनलाई चिन्ने जिम्मेवारी वीरगंजवासीहरूको नै हो। इतिहासमा नै वीरगंजवासीले यसरी (२०७२ सालमाजस्तो) न कहिले माईस्थानको अष्टमी मेला मनाएका थिए न छठ नै। डर र त्रासबीच यी पर्वहरू मनाइए। यस्तो स्थिति अति राजनीतिको कारणले आएको होइन त ?

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 04, 2015


No comments:

Post a Comment