Friday, March 25, 2016

Prime Minister K P Oli's Strength: Self-Promotion or National Sovereignty-Article-106

ओलीको अडान: दलगत राजनीति वा राष्ट्रिय स्वाभिमान

विगत प्रधानमन्त्रीहरू भन्दा वर्तमान प्रधानमन्त्री केपी ओली निकै चर्चामा रहने गरेका छन्। तर ओलीले केवल चर्चा मात्र पाएका छैनन्, आलोचना पनि उत्तिकै बटुलेका छन्। मधेसी मोर्चाद्वारा केही महिना अघि मधेसमा चर्काइएको दोस्रो आन्दोलनको समयमा ओलीको लोकप्रियताको पारो झरेर निकै तल पुगेको थियो। मधेसी आन्दोलनको समयमा उक्त आन्दोलनलाई सम्बोधन गर्ने उनका शब्द र शैलीहरूले उनलाई एक राजनेता नभइ गम्भीरता नभनएको केवल वाक पटुताले भरिएको “अकुशल” नेताको स्थानमा पुर्याएको थियो। यो कारणले गर्दा उनी नेपालको दक्षिणमा आलोचित थिए नै उत्तरी भागमा पनि आंशिक रुपमा आलोचित हुन पुगेका थिए। तर मधेसी नेताहरूले आन्दोलन चर्काएको समयमा नै भारतले मधेसी मोर्चाको आन्दोलनलाई समर्थन (?) गर्न नेपालमाथि गरेको निर्मम नाकाबन्दीको समयमा ओलीको लोकप्रियता भने चुलिएर चुचुरोमा पुगेको थियो। यहाँ सम्म कि प्रतिपक्षी दलका नेताहरूले समेत पनि ओलीको कार्यशैली एवं राजनैतिक अडानको, मौन रुपमा नै भए पनि, तर प्रशंसा भने गरेका थिए।

नेपाली राजनीतिमा ओलीलाई चर्चित तुल्याउने कारणहरू निकै छन्। दोस्रो संविधान सभाले जारी गरेको संविधानको कार्यान्वयनको समयमा प्रधानमन्त्री हुने सुऔसर ओलीले नै पाए। तर यो सुऔसर बढी जोखिम र चुनौतिले भरिएको थियो र अहिले पनि छ। ओलीले यस्तो समयमा भारतको भ्रमण गरेका थिए जुन समयमा इतिहासमा नै नेपाल-भारत सम्बन्ध दुध झै फाटेको थियो। जुन जम्ने सम्भावना अहिले पनि निकै सुदूर देखिन्छ। नेपाल-भारत सम्बन्ध फाटेको दुध जस्तो भएको छ। प्रमाण: ओलीको भारत भ्रमण पछि नेपाल र भारतको संयुक्त वक्तव्य आउन सकेन। भारतले नेपालको संविधाको स्वागत एवं प्रशंसा नगरेर त्यस्तो (संयुक्त वक्तव्य नआएको) भएको हो।
नेपालले, इतिहासमा नै पहिलो पटक एक महिलालाई सरकार प्रमुख वा राष्ट्राध्यक्षको रुपमा पायो। अर्थात श्रीमती विद्या भण्डारी नेपालको पहिलो राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति पदमा आसिन भइन। उनी राष्ट्रपति पदमा असिन हुँदा प्रधान मन्त्रीको पदमा ओली नै थिए। ओलीको प्रधानमन्त्रीत्व कालमा नै नेपालमा पहिलो पटक उत्तरी नाका प्रयोग हुँदै चीनबाट इन्धन (पेट्रोलियम पदार्थ) भित्रिएको थियो।

यति मात्र होइन, केही देशी एवं विदेशी विश्लेषकहरूले भारतलाई घुर्क्याउन नेपालले चीनलाई आवश्कता भन्दा बढी महत्व दिएको भनी आलोचना गरिरहेको समयमा नै ओली नेपाली टोलीको नेतृत्व गर्दै चीनको भ्रमण गएका छन्। समाचारहरूमा उल्लेख भए अनुसार गत सोमबार (21 March 2016) नेपाल-चीन बीच इतिहासमा नै पहिलो पटक पारवहन सम्झौता भएको छ। हुन त यस सम्झौतालाई कतै सहमति पनि भनिएको छ। यो आलेख तयार पार्दासम्म त्यो सहमति वा सम्झौता हो भन्ने कुरा प्रष्ट हुन सकेको छैन्। तर सम्झौता वा सहमति जे भए पनि, वा जे भनिए पनि, यो कार्यले चीनिया नाकालाई इन्धन भित्र्याउने विकल्पको रुपमा प्रयोग गर्न सजिलो हुने र भारतले रोष प्रकट गर्न नेपालमा हुने इन्धन आपूर्तिमा बाधा उत्पन्न गर्ने वा एक किसिमको भारतीय ‘दादागिरी’ को आंशिक रुपमा नै भए पनि अन्त हुने स्थिति श्रृजना भएको छ।
प्रधानमन्त्री केपी ओलीको आठ दिने (७-१४ चैत्र २०१६) चीनको भ्रमणले पनि उनलाई चर्चित हुने औसर प्रदान गरेको छ। ओलीले यस्तो समयमा चीनको आठ दिने भ्रमण गर्दैछन, जुन समयमा, नेपालको सम्बन्ध अहिले पनि भारतसँग सुमधुर हुन सकेको छैन। नेपाल र भारत दुबै राष्ट्रहरूले एक अर्कालाई शंकाको नजरबाट हेर्ने स्थितिबाट मुक्ति पाउन सकेका छैनन्। अर्कोतर, चीनले पनि भारतसँग सम्बन्ध बिगारे आफूसँग घनिष्ट सम्बन्ध नबनाउन नेपाली उच्च अधिकारीहरूलाई विभिन्न औसरहरूमा संकेत दिइसकेको छ। अप्रत्यक्ष रुपमा नेपाललाई भनेको छ पनि। चीन एक चतुर व्यापारिक देश हो जसले “मैत्रीभाव” भन्दा बढी आफ्नो सुरक्षा र व्यापारिक फाइदालाई महत्व दिन्छ। अर्कोतिर भारतले नेपाललाई बेला बखतमा अति “मैत्रीभाव” ले पनि हर्छे, यी दुई राष्ट्रहरू बीच बेला बेलामा कटुता उत्पन्न भएता पनि। निवर्तमान  भारतीय प्रम आइके गुजरालले आफ्नो प्रधानमन्त्रीत्व कालमा नेपाललाई कुटिल नीतिको चस्मा लगाएर होइन, पूर्ण “मैत्रीभाव” ले हेरेका थिए। नेपाललाई “मैत्रीभाव” अर्थात “ठूल्दाइ होइन साथी साथी” को भावले हर्ने नेताहरू अहिले पनि भारतमा धेरै छन्। केवल राजीव गाँधी मार्का नेताहरू मात्र छैनन्।

माथि उल्लेख गरिएका अनेक घटना, परिस्थिति एवं चुनौतिहरूले प्रधानमन्त्री ओलीलाई चर्चित तुल्याइ दिएका छन्। नेपाल-चीन बीच भएको पारवहन सन्धि वा सहमतिले सफलता पाएमा सिंन्धुपालचोकको तातोपानी र रसुवाको रसुवा गढी जस्ता नाकाहरू थप गुलजार हुनेछन्। साथै संखुवासभाको किमाथान्का, ताप्लेजुङको ओलाङचुङगोला, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा, हुम्लाको यारी गरी यी विभिन्न नेपाली नाकाहरूमा पनि व्यापारिक चहल पहल बढ्ने छन्। सम्भावनका यी विभिन्न ढोकाहरू खुलेमा यिनीहरूले पारवहनका लागि नेपालले भारतप्रति अति निर्भर हुनु पर्ने स्थितिको समाप्ति हुनेछ। यस्तो ऐतिहासिक कार्य (नेपाल-चीन पारवहन सम्झौता) ओलीको प्रधानमन्त्रित्व कालमा सम्पन्न भएको चर्चाले ओलीको लोकप्रियता झनै बढ्ने छ।

माथिका घटना एवं  सन्दर्भहरूले ओलीलाई चर्चित तुल्याइ दिएका त छन् नै साथै मधेसी मोर्चाको आन्दोलनको कारण नेपाल-भारत सम्बन्ध अति नै चिसिएको समयमा भनौ वा नेपालले भारतको इच्छा अनुरुप संविधान नल्याएको भनी नेपालमाथि थप दवाव श्रृजना गर्न भारतले लगाएको निर्मम नाकाबन्दीको गरेको समयमा ओलीले लिएको अडानले त झन ओली लाई अति चर्चित तुल्याइ दियो। २००७ साल पछिको स्थितिमा हेर्ने हो भने, मरिचमान सिंह पछि कुनै पनि प्रधानमन्त्री त्यस्तो देखिएनन् जो भारतीय अनावश्यक दवावको भयबाट मुक्त भएका हुन। यहाँसम्म कि राजनैतिक दलहरू समेत पनि भारत रिसाउने स्थिति उत्पन्न भएमा आफ्नो सरकारको पतन हुने वा भारतको ईशारमा नचल्ने हो भने काम गर्न गार्हो हुने भन्ने मनस्थितिबाट बाहिर आउन सकेनन्। तर ओलीले भने यी भयहरूको अवज्ञा गरिदिए। नेपालले आफ्नो देशको आन्तरिक मामिलामा स्वतन्त्र किसिमले निर्णय गर्न सक्छ भन्ने नजिर हिम्मतद्वारा स्थापति गरिदिए। यो कुरा भारतलाई बलियो गरी अवगत गराइ दिए। ओलीको यो अडानको अनुसरण गर्न अब आउने प्रधानमन्त्रीहरूलाई पनि सजिलो हुनेछ नै साथै भारतले पनि नेपालमा हरेक मामिलामा हस्तक्षेप गर्ने आफ्नो “बिगब्रदर डिल्पोमेसी” मा कमी ल्याउने छ। नेपालमा प्रजातन्त्रको पुनर्स्थपना (२०४७) भए पछिको समयमा निर्वाचित, कुनै पनि दलको, कुनै पनि प्रधानमन्त्रीले, आफ्नो पद नै गुम्ने भयको कारण “नेपाल आफ्नो आन्तरिक समस्याको समाधान गर्न आफै सक्षम र भारतले निर्देशित गर्नु पर्दैन” भन्ने आँट गर्न सकेको थिएन। नेपाली कांग्रेसले त भारतलाई एक किसिमले आफ्नो अभिभावक नै ठानेको थियो र अहिले पनि छ। एक किसिमले भन्ने हो भने नेपालका राजनैतिक दल एवं नेताहरू स्वयंले नै भारतलाई नेपालको राजनीतिमा हस्तक्षेप गर्न आमन्त्रित गरेका थिए। नेपालका नेताहरूले नै भारतलाई नेपालमा “माइक्रो मेनेजमेन्ट” गर्न उकस्याएक थिए। परिणाम: नेपालका उच्च एवं प्रभावशाली नेताहरू पनि आफ्नो मर्यादा क्रमलाई बिर्सिदै आशिर्वाद लिन लैनचौर स्थित भारतीय दूतावासमा सुटुक्क वा प्रेसलाई नै भनेर पनि जाने गरेका थिए। यो क्रम अहिले पनि जारिनै छ। लालुप्रसादलाई पटनामा भेट्ने सन्दर्भमा मधेसी मोर्चाका नेताहरूले कस्तो व्यवहार प्रदर्शित गरे कस्तो आतिथ्य पाएँ, नेपालीहरूको मस्तिष्कबाट अहिले सम्म पनि हराउन सकेको छैन्।

जे जस्तो किसिमबाट होस, ओलीले भने नेपालको भारतप्रतिको अति राजनैतिक निर्भरतालाई कम गरेर देखाएक छन, बोलीद्वारा होइन व्यवहारद्वारा नै प्रष्ट पारेका छन्। तर आशका के मात्र छ भने ओलीले भारतसँग लिएको टक्कर वा अडानलाई उनले आफ्नो लोकप्रियता बढाउने र सत्ता टिकाउने उपकरणको रुपमा प्रयोग गरेका हुन वा राष्ट्रिता बलियो पार्न गरेका हुन? यसैगरी, नेपालमा र खास गरी काठमाडौमा चुलिएको नेपाली राष्ट्रवाद आलीको आफ्नै इमान्दार राष्ट्रवादको प्रतिविम्ब हो वा उनको राजनैतिक महत्वाकांक्षाको अदृश्य रुप हो? यी प्रश्नहरूको उत्तर समयले नै दिनेछ। तर आजको यो समय विन्दुमा भने ओलिका अडानहरू राष्ट्रवादको जगमा उभिएको देखिएका छन्। भोलिको समयमा जे होला लेख्ने हरूले त्यसै अनुसार लेख्ने छन्। 
   

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 25, 2016

No comments:

Post a Comment