Tuesday, November 29, 2016

Basis of Getting Literary Awards:A Review Part 2


नेपालमा कृति वा कृतिकार उत्कृष्ट भनी निर्धारण गरिने केही आधारहरू

(दोस्रो भाग)

तर ग्लाडलाई सरकारले फांसीमा झुन्डाएर मृत्युदण्ड दिन आदेश दिएको हुन्छ। ग्लाडले पिठ्युमा गोली ठोक्ने भन्छन र उनैले पिठ्युमा गोली ठोक्छन। तर पटनायकले छातिमा गोली थापेर प्राण त्याग गर्छन। पिठ्ठुमा गोली लागेको खण्डमा जेलबाट कायरतापूर्वक भागेको देखिने पटनायकको जिकिर हुन्छ। सरकारको आदेश उलंघन गरेकोमा  जेलरले के सजाएँ पाउँछन त्यो सो पुस्तकमा उल्लेख गरिएको छैन। कम्युनिष्टहरू हृदयहीन, क्रुर र केवल हत्या हिंसामा विश्वास गर्ने हुँदैनन बरू दया, ममता र मानवीय भावनाले भरपुर हुन्छन भन्ने तथ्य यो पुस्तकमा बार्वेले देखाउन खोजेका छन। आफ्नो जमानामा यो पुस्तकले तहल्का मचाएको थियो। किताब पढ्नुजेल आँखबाट आँशु आउने र जिउ सिरिंग सिरंग हुने भइनै रहन्छ। 
यस सन्दर्भमा अर्को उदाहरण “एनिमल फार्म” भन्ने पुस्तकलाई लिन सकिन्छ। दोस्रो विश्व युद्ध समाप्त हुने तरखरमा थियो तर अर्कोतिर भने सोभियत रूसको “दादागरी” विश्वभरि फैलिएर उसले लादेको कम्युनिष्ट व्यवस्था अँगाल्न संसार अनेक राष्ट्रहरू विवस थिए। रोमानिया, चेकोस्लोभाकिया, अस्ट्रिया, हंगेरी लगायत पूर्वी युरोपका धेरै राष्ट्रहरू सोभियत रूसको डरले कम्युन्ष्ट हुन पुगेका थिए। तर अर्कोतर पश्चिमी युरोप भने कम्युनिष्टहरूको प्रभावबाट मुक्त थियो। यस किसिमको विश्व परिस्थिति रहेको बेला बेलायतका लेखक जर्ज अरवेलले सन् १९४५ मा एक पुस्तक प्रकाशित गरे जसको नाम थियो “एनिमल फार्म”। यस पुस्तकमा उनले व्यंगात्म शैलीमा कम्निष्ट व्यवस्थाको चर्को विरोध गरेका थिए। त्यस बेलाको “समय” मा धेरै राष्ट्रहरू कम्युनिष्ट रहेको तर त्यहाँको जनताले प्रजातन्त्र चाहेकोले जर्ज अरवेलको पुस्तक “एनिमल फार्म” ले निकै चर्चा पायो। त्यो समयमा विश्वभरि कमुनिष्टहरूको हैकम नभएको भए हुन सक्छ जर्ज अरवेलको पुस्तक एनिमल फार्मले खास चर्चा पाउन सक्थेन। यो पुस्तक अहिले पनि कम्युनिष्टहरूको विरोध गर्नका लागि प्रयोग गरिन्छ।
अर्को उदाहरण विशेश्वर प्रसाद कोइराला-वीपी का पुस्तकहरूलाई लिन सकिन्छ। जुन समयमा वीपीले पुस्तकहरू लेखे त्यस समयमा नेपालमा खुलेर यौनको चर्चा गर्नु र अझै कुनै महिलाले खुला रूपमा मेरो दुई पुरूषहरूसँग यौन सम्बन्ध छ भन्न सक्नु ज्यादै ठूलो कुरा थियो। त्यसबेलाको समाज ज्यादै “बन्द” थियो। महिलाहरूले यौनको कुरा गर्नु र पुस्तकमा यौनको चर्चा हुनु ज्यादै ठूलो कुरा थियो। वीपीले आफ्नो पुस्तकहरूमा यौनको खुलेर चर्चा गरे। “तीन घुम्ती” उपन्यासमा उनले एक महिलाले आफ्नो पति र अर्को एक पुरूषसँग यौन सम्पर्क राखेको चर्चा खुलेर गरे। साथै ती महिलाले, म मेरो शरीरको उपयोग मेरो आफ्नो इच्छा अनुसार गर्न सक्छु भनेको जस्ता सम्वादहरू थिए। वीपीले त्यो “समय” मा निर्भिक विचार ल्याए जसले गर्दा उनका पुस्तकहरूले निकै चर्चा पाए। वीपीले एक खास समयमा खास किसिमको विचार (यौन स्वतन्त्रता) ल्याएर आफ्ना पुस्तकहरूलाई चर्चित तुल्याए। एक खास समय (बन्द समाज) को कारणले गर्दा वीपीको पुस्तक “तीन घुम्ती” ले, जसमा यौन चर्चा खुलेर गरिएको छ, निकै चर्चा पायो।
भारतको सिलुगुढीमा जन्मेका चारू मजुमदार (सन् १९१८-१९७२ ) ले जतिखेर नक्सलबाडीबाट शुरू गरिएको “नक्सली ससस्त्र संघर्ष” लाई पक्षिम बंगालहुँदै भारतभरि विस्तार गर्नमा उल्लेखनीय भूमिका खेलिरहेका थिए त्यसबेला र उनको  मृत्यु पश्चात पनि भारतमा कम्युनिष्ट सिद्धान्तले राम्रो प्रभाव जमाइ रहेको थियो। पश्चिम बंगालमा त वर्षौसम्म कम्युनिष्ट केन्द्रीय सरकारमा रह्यो। कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्कसिस्ट) सँग सम्बद्ध ज्योति बसु, पश्चिम बंगालको २४ वर्षसम्म (सन् १९७७-२०००) मुख्य मन्त्री रहे। एउट समय थियो (सन् १९६०-१९८०), यो समयमा भारतमा कमुनिष्ट व्यवस्थाको प्रभाव तिब्र गतिमा विस्ता भइरहेको थियो। भारत रूसको खेममा थियो र भारतले तत्कालीन सोभिय रूससँग “२० वर्षे” सुरक्षा सन्धि गरेको थियो जसले गर्दा पनि “रूसी कमुनिष्ट साहित्य” हरू सजिलै भारतमा प्रवेश हुन्थ्ये। यो समयमा भारतमा कम्युनिष्ट साहित्यको बिक्रि ठूलो मात्रामा हुन्थ्यो। नेपालमा पनि कमुनिष्ट साहित्य त्यस बेला भारतबाट नै आयात हुन्थ्यो। त्यो समयमा “भारतीय गरीब समाज” कम्युनिष्ट सिद्धान्तको बढ्दो प्रभाव भित्र परेकोले “मार्कसिस्ट” लेखक राहुल सांक्रत्यायन (सन् १८९३-१९६३) का पुस्तकहरू, जुन मार्क्सिज्मबाट अति नै प्रभावित हुन्थ्ये, भारतीय बजारहरूमा ठूलो मात्रामा बिक्री हुन्थ्यो। त्यो समयमा पाठकहरूले, भारत मात्र होइन, नेपालमा समेत पनि सांस्कृत्यायन द्वारा लिखित पुस्तकहरू खोजी खोजी पढ्ने गर्थे। उनले आफ्नो जीवनकालमा एकसय भन्दा बढी पुस्तकहरू लेखे। उनका धेरै पुस्तकहरू निकै चर्चित रहे। “बोल्गा से गंगा” -सन् १९४४, “भागो नही दुनियाको बदलो” -१९४४, “मानसिक गुलामी” आदि निकै चर्चामा रहे।  महापण्डितको पदवी पाएको राहुल सांस्कृत्यायनको वास्तविक नाम केदार पाण्डे थियो र उनी भारतको आजमगढको पन्डाहा गाउँको बासी थिए र त्यहाँ नै उनको जन्म भएको थियो। देशी र विदेशी गरी अठार भाषाका ज्ञाता सांस्कृत्यायन भाषा सिक्न जहाँ पुग्थे त्यहाँ बिहे गर्दै भन्ने पुष्टि नभएको अफवाह छ। तर उनले तीन पटक विवाह गरेको भने प्रमाण नै छ। पहिलो विवाह उनको वाल्य अवस्थामा सन्तोषी नाम गरेकी वालिकासँग भएको थियो। सन्तोषीलाई उनले आफ्नो जीवनकालमा दुई वा तीन पटक मात्र भेटे, सन्तोषीसँग साथमा कहिलै पनि बसेनन्। सन्तोषीले अर्को बिहे गरिनन्। राहुल सांस्कृत्यायन सोभियत रूश पुगेको बेलामा, त्यहाँ एक महिला “एलेना नार्भरतोभ्ना कोजेरोभस्काया” सँग बिहे गरे। एलेनाबाट इगोर नामको एक छोरा भयो। तर त्यसबेला सोभियत रूसमा “कठोर कम्युनिष्ट शासन” रहेकोले “स्टालिनको सरकार” ले उनीहरू (आमा र छोरा ) लाई भारत आउन दिएन। सांस्कृत्यायन दार्जलिंगमा पुगेको बेलामा उनले त्यहाँ बसोबास गर्ने एक नेपाली मुलकी भारतीय महिला डाक्टर कमलासँग बिहे गरे। र भनिन्छ उनले त्यस बिहेपछि नै सांस्कृत्यायन थर लेख्न थालेको हो। कमलाको सम्पर्क पछि उनी बुध्द धर्ममा लागे। उनको बारेमा एउटा भनाइ के प्रचलित थियो वा छ भने उनको “खुट्टामा श्रनिश्चर र मस्तिष्कमा वृहस्पति” थियो। हुन पनि उनले निकै भ्रमण गरे। उनलाई हिन्दी भ्रमण साहित्यको पिता (Father of Hindi Travelogue)  भन्ने गरिन्छ। सामान्य (स्कूल) शिक्षा पाएका सांस्कृत्यायनले आफ्नो विद्वताको कारण तत्कालिन सोभियत रूसको “युनिभरसिटी अफ लेनिनग्राद” मा (सन् १९३७ मा) प्रोफेसर भएर अध्यापन गरेक थिए। सांस्कृत्यायनले नेपालको दरवार  हाइ स्कूलमा पनि अध्यापन गरेका थिए।


३ कुनै चर्चित व्यक्ति वा उसको व्यक्तित्व कुनै खास कुराले चर्चित  भएको: कुनै खास पेशा (राजनीति, विज्ञान, पत्रकारिता, बैकिंग, समाजसेवा आदि) मा अत्यधिक चर्चा पाएर वा उपलब्धी हासिल गरेर प्रख्यात भएको व्यक्तिले लेखेको पुस्तकले पनि निकै चर्चा पाउने गरेको छ। यस तथ्यका उदाहरणहरू धेरै छन। यहाँ केही उदाहरणहरू पेश गरौ। भारतीय स्वतन्त्रता संग्राम र त्यहाँको राजनीतिमा निकै चर्चामा रहेका तथा भारतका पूर्व प्रधानमंत्री जवाहरलाल नेहरूले लेखेका पुस्तकहरू निकै चर्चामा थिए। उनले केवल आफ्नो छोरीलाई लेखका पत्रहरूले समेत पनि अति नै चर्चा पाएर पुस्तकको आकार लियो र चर्चाको शिखरमा धेरै काल सम्म रह्यो। उनले आफ्नी छोरी इन्दिरा गाँधी (भारतको पूर्व प्रधानमंत्री समेत) का लागि लेखेको  पत्रहरू जो पछि “नेहरूज लेटर” ( Letters From a Father to His Daughter ) को रूमपमा प्रकाशित भयो। पत्रमा नेहरूले आफ्नी छोरीलाई यो विश्वको बारेमा विभिन्न कुराहरू बताएका थिए। यो पुस्तकले यति बढी चर्चा पायो कि यो पुस्तक नेपालका विद्यालयहरूमा अध्ययन गर्न लगाइन्थ्यो। यो समिक्षक समेतले कक्षा दसमा सो पुस्तक अध्ययन गरेको थियो। यस बाहेक नेहरूले लेखका अन्य पुस्तकहरू पनि चर्चामा थिए। “द डिस्कभरी अफ इन्डिया” ले पनि  निकै चर्चा बटुलेको थियो। यी तथ्यहरूबाट पनि पुस्तकको लेखकलाई उसको व्यक्तित्वले प्रभावित गरेको ऊ द्वारा लिखित पुस्तक चर्चित गराउनमा कति सहयोग गर्छ भन्ने कुराको पुष्टि हुन्छ।

क्रमश:

विश्वराज अधिकारी 
 प्रतीक दैनिकमा प्रकाशित Saturday, November 26, 2016

No comments:

Post a Comment