Friday, December 2, 2016

Fearism: The Theory Used by Leaders in the Present World-Article-133

नेताहरूद्वारा भयवादको प्रयोग

अहिले वीरगञ्ज र यस वरपरका व्यक्तिहरूलाई “राजनैतिक योग गुरू” रामदेवले स्वस्थ रहन सिकाइ रहेको बेला योगका फाइदाहरू बारे थप कुराहरू गर्नु सान्दर्भिक रहेता पनि अर्को प्रशंग केही नया रहेकोले त्यस बारे चर्चा गर्ने अनुमति चाहन्छु। योगका फाइदाहरू बारे धेरै लेखिएका होलान् पनि। रामदेवको प्रशंगलाई भेन यो आलेखमा अवश्य जोड्ने छु, तर अर्को त्यो पक्षबाट जुन बारे चर्चा भएको छैन्।
यो पटक भयवादवारे चर्चा गरौ। राजनीति र साहित्य दुबैमा अहिले ‘भयवाद’ निकै चर्चामा छ। विश्व साहित्यमा यो वाद नया आयाम सहित उपस्थित भएको छ। साहित्यले भने यो वादलाई आम जनतासम्म पुर्याउन बलियो सेतुको कार्य गरेको छ।
भयवादमा पुरस्तक लेखेका र यसवादको गहिरो अध्यन गरिरहेका हङ्कड् निवासी देश सुब्बाका अनुसार ‘भयलाई सकारात्मक उपयोग गरेमा सफलता, उन्नति, प्रगति, सुख, शान्ति हुन्छ। नकारात्मक प्रयोग गरेमा आतङ्क, हिंसा, अराजक, तानाशाही, भ्रष्टाचारतिर जान्छ। बढी भय भयो भने विभिन्न किसिमका रोग बन्न सक्छ।’
भयवादसँग सम्बन्धित विषयमा पुस्तक लेखेका एवं यस विषयका राम्रो ज्ञाता क्यानाडा (हाल अमेरिका) निवासी माइकल फिसर भन्छन, ‘भयले हाम्रो जीवनमा अत्यधिक प्रभाव पार्ने हुनाले हामीले सदैव नकारात्म भयलाई कम पार्ने प्रयास गर्नु पर्दछ।’
एक सुखद संयोगले भने यी दुबै प्रख्यात व्यक्तिहरू- देश सुब्बा र माइकल फिसरसँग भेट हुने औसर जुराइ दियो। हालै (November 25, 2016) टेक्सास राज्यको अरभिंग सहरमा अमेरिका स्थित भुटानीहरूले आयोजना गरेको एक कार्यक्रम- ‘ग्र्यान्ड इन्टरनेशनल क्रिएटिभ सेरेमोनी’ मा भागलिंदा भयवादका ती दुबै ज्ञाताहरू सँग भेट हुने औसर जुरेको थियो। सो भेटमा यस स्तम्भकारले भयवाद वारे विभिन्न जानकारीहरू ती ज्ञाताहरूबाट प्राप्त भएको थियो।
भयवाद के हो? यसबारे भने अर्को आलेखमा चर्चा गरौला। अहिलेलाई भने सबैलाई उपयोगी हुने किसिमको एउटा विषय जुन भयवादसँग अत्यधिक निकट छ त्यसबारे चर्चा गर्न चाहन्छु।
उक्त भेटमा मैले भयवादका ज्ञाता माइकल फिसर र देश सुब्बा, दुबैलाई भयवादसँग सम्बन्धित एक जिज्ञासा राखेको थिएँ। मेरो जिज्ञास थियो, ‘वर्तमान विश्वमा नेताहरू स्वयंले अनेक भयहरू श्रृजना गर्छन र त्यसरी श्रृजित भयबट जनतालाई त्रसित गरेर, आफूले सुरक्षा दिने भन्दै, आफूले चाहेको मार्गमा जनतालाई दौडाउँछन।’ मेरो यस जिज्ञासमा दुबै ती विद्वानहरूले सहमति जनाएका थिए।
हुन पनि वर्तमान विश्वमा भयवादको फाइदा नेताहरूले दीर्घकालिन रूपमा, बिनाकुनै जोखिम र आनन्ददायी किसिमले उपयोग गरिरहेका छन्। सोझा साझा जनताले भने यस्तो गहिरो कुरा बुझ्न सकेको छैन्। नेतहरूले श्रृजना गरिदिएको भयवाट त्रसित भएर जनता स्वयंले अनेक किसमका गलत एवं सभ्य समाजलाई उपभयोगी नहुने कार्य गरिरहेको छ। जातिय हिंसा, गृहयुद्ध, सामुदायिक संघर्ष, अन्तर धर्म युद्ध आदिमा जनता स्वस्फूर्त रुपमा सहभागि भइरहेको छ।
नेपालमा भयवादको उपयोग आफ्नो हितमा नेताहरूले व्यापक किसिमले गरिरहेका छन्। भयवादको प्रयोग गरेर नेताहरूले आफ्ना उच्च महत्वाकांक्षाहरू सजिलै पूरा गरिरहेका छन्। कोही सांसद, कोही मन्त्री र कोही प्रधानमंत्री भएका छन्। कोही कुनै समुदाय, कुनै जातको, उच्च र आदर्श नेता बन्न सफल भएका छन्।
२०५२ (साल) कालिन माओवादीका नेताहरू जस्तै पुष्पकमल दहाल, बाबुराम भट्टराई आदिले जनतालाई ‘यथा स्थितिमा नै रहने हो भने गरिबी र अशिक्षाको अन्धकारमा बस्नु पर्छ। सरकारको दमन र शोषणको शिकार हुनु पर्छ’ भन्ने भय देखाए। जनता यो भयबाट त्रसित भए। यो भयवाट मुक्ति पाउन ससस्त्र संघर्ष गर्नु पर्छ भनी यी नेताहरूले जनताको त्यो समुहलाई उकासे। त्यो समूहले रक्तपातपूर्ण संघर्ष गर्यो। हजारौंले ज्यान गुमायो। न गरिबी कम भयो न त शिक्षा विस्तार। भयो के भने पुष्पकमल दहाल चर्चित नेता मात्र होइन, देशको प्रधानमन्त्री नै भए। देशको राजनीतिलाई बलियो प्रभाव पार्ने हस्ति बने। दुई पटक प्रम भए। बाबुराम भट्टराई सामान्यबाट, अति नै छोटो समयमा, राष्ट्रिय स्तरको उच्च र प्रभावशाली नेता भने। गरिब जनताले के पायो?
केही नेताहरूले अहिले नेपाललाई दुई भागमा विभाजित गरिदिएका छन्। उत्तरको नेपाल ‘पहाडे नेपाल’ दक्षिणको नेपाल ‘मधिसे नेपाल’ र गरि विभाजित गरिदिएका छन्। उत्तर नेपालका नेताहरूले त्यस क्षेत्रको जनतालाई मधिसे नेतहरूले तराईलाई भारतमा विलयम गराउन थाले भन्ने भय जनतालाई देखाएर राजनीति गरिरहेका छन् भने दक्षिणका नेताहरूले त्यस क्षेत्रको जनतालाई पहाडे नेताहरूले हाम्रो परिचय सदाका लागि समाप्त पार्ने थाले भन्ने भय देखाएर राजनीति गरि रहेका छन्। केवल आफूहरूले श्रृजना गरेको भयलाई ज्यादै ठूलो भए बनाएर दुबैतिरका नेताहरूले जनतालाई मूर्ख बनाउँदै आफ्नो उच्च महत्वाकांक्षा पूरा गरिरहेक छन्। सामान्य जनतामाथि भयवादको उपयोग अहिले व्यापक किसिमले भइरहेको छ। शेरबहादुर देउवा, केपी ओली, कमल थापा, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो आदिले राजनीतिमा भयवादको प्रयोग कुशल किसिमले गरिरहेका छन्।
मधेसका नेताहरूले तराइलाई केन्द्र बनाएर गरेका अनेक संघर्षहरूले यस क्षेत्रका बासिन्दाहरूलाई उल्टो गरिब तुल्याएको छ। दक्षिण तराइका व्यापारिक स्थान (सहर र गाउँ) हरूमा व्यापारिक कारोबारहरू व्यापक रूपमा घटेर गरएको छ।  
भयवादको उपयोग गर्नेहरूमा बाबा रामदेवको नाम पनि अग्र पङ्क्तिमा पर्दछ। यी बाबाले स्वास्थ्य र धर्मको भय देखाएर आफूलाई छोटो समयमा विश्वस्तरको महान् युग गुरू र धार्मिक नेता तल्याएका छन्। ‘योग नगरेमा व्यक्ति सँधै रोगी मात्र हुँदैन साथै धेरै पैसा उपचार र औषधिमा खर्च गर्न बाध्य हुन्छ। हिन्दु धर्मको रक्षा हामीले नगर्ने हो भने यो धर्म विश्वबाट नै समाप्त भएर जानेछ।’ यी दुई किसिमका भय देखाएर यी बाबाले ख्याति मात्र होइन पैसा पनि निकै कमाएका छन्। एक जोगी भएर पनि विलासी जीवन जिउन सफल भएका छन्। बाबालालाई थाहा छ उनले देखाएका माथिका ती दुई भयहरूबाट मुक्ति पाउन जनता उनको शरण आउँछ। व्यक्तिहरू उनको आह्वानमा कसरत गर्न मैदानमा जम्मा भए पनि। प्रश्न उठ्छ, के रामदेवलाई मात्र थाहा थियो योग फाइदा? के जनतालाई योगको महत्व पहिलेदेखि थाहा थिएन र रामदेवले भनेपछि मात्र थाहा भएको हो? योगको महत्वबारे सदियौं पहिले देखि जनतालाई थाहा छ। रामदेवले भने रोग र अन्य औषधिको डर अरुहरू भन्दा यति प्रभावकारी किसिमले देखाए कि हामी उनको एउटा आह्वानमा आयुर्वेदिक औषधि खरिद गर्न र चौरमा जम्म भएर योग गर्न स्वेच्छाले तयार भयौ।
भयवादको सहयोग लिएर आफ्नो उच्च महत्वाकांक्षा पूरा गर्ने नेताहरूलाई राम्रो गरी के थाहा छ भने कुनै पनि व्यक्तिलाई यदि  खास किसिमको डर देखाउने हो भने उसले क्रमिक रूपमा आफ्नो मष्तिष्कले सोंच्न  छाड्छ र भय देखाउनेको भयमा विश्वास गर्न थाल्छ।
नेपालमा अहिले भयको उपयोग गरेर धेरै खुद्रा नेताहरूले पनि अति नै फाइद उठाइ रहेका छन्। भाषा, धर्म, जात, समुदाय, परम्परा, संस्कृति आदिको भय देखाएर केही व्यक्तिहरू चर्चित हुन सफल भएका छन्। यहाँ केवल “भाषा-भय” को कुरा गरौ। भाषा-भयको उपयोग गर्ने नेताहरूले भने के उदघोष गर्छन  भने हाम्रो यो भाषा वा त्यो भाषा लोप हुन थाल्यो। राज्यले लोप हुन थालेको हाम्रो भाषाप्रति पूर्ण बेवास्ता गर्यो। राज्यले हाम्रो भाषा समाप्त पार्न योजनावद्ध किसिमले षणयन्त्र गर्यौ। यसरी उद्घोष गर्ने नेताहरूका यी कुरा जनताले विश्वास गर्छ। खास गरी युवाहरू त संघर्ष गर्नका लागि सडकमा नै आउँछन। आफ्नो यो उदघोषबाट यस्ता नेताहरू, प्रख्यात नेता त हुन पुग्छन तर भाषाको भने विकास गर्दैनन्। र त्यो भाषाको विकास हुन पाउँदैन। उल्टो त्यो भाषा राजनीतिको सिकार हुन पुग्छ।  र त्यो नेताले त्यो भाषा राजनीतिको सिकार भएर प्रभावहीन भएको देख्न चाहन्छ पनि किनभने उसलाई त्यसमा फाइदा हुन्छ कारण, उसले त्यस्तो (उपयोग कम भएको) स्थिति विद्यमान रहेमा “भाषा राजनीति” गर्न पाउँछ।
मेरो एक अनुभव यस आलेखमा उल्लेख गर्नु प्रासांगिक भएकोले मात्र उल्लेख गर्न खोज्द छु। म नेपाली बाहेक मैथली, बज्जिका, भोजपुरी, हिन्द, अंग्रेजी, अवधि, नेबारी र उर्दु भाषा जान्दछु र नेबारी, उर्दु एवं अवधि बाहेक अरु भाषामा लेख्ने पनि गरेको छु। म क्यानाडा, अमेरिका लगायत विश्वका अन्य मुलुकहरूमा पुग्दा त्यहाँ बसोबास गरेका नेपाली परिवारहरू सँग भेट्दा, अधिकांसले माथिका भाषाहरू मातृ भाषाको रूपमा आफ्नो घर वा परिवारमा बोलेको देखिन। अधिकांस परिबाहरूले आफ्नो मातृ भाषामा कुरा गरेको पाइन। बरू मैले उनीहरूको मातृ भाषा (माथि उल्लेख भएका) मा बोल्न  खोज्दा अन्य भाषामा बोल्न खोजेको पाएँ। जबकि कुनै पनि भाषा जोगाउनका लागि सर्वप्रथम त्यो भाषा बोल्ने परिवारहरूले परिवारभित्र आफ्नो मातृ भाषा बोल्नु आवश्यक हुन्छ। आफ्नो परिवार भित्र किन आफ्नो मातृभाषामा कुराकानी नगरेका होलान?
चर्चा फेरि भयवादको नै गरौ। भनिन्छ यो एकाइसौ सप्ताब्धिमा नेताहरूले ‘भयवाद’ को भरपुर किसिमले उपयोग गर्ने छन् र हामी पनि ‘भयवाद’ को सिकार भएर, आफ्नो मष्तिष्कले नोसोचेंर, नेताहरूको मष्षिष्कले सोंच्न स्वेच्छाले नै राजी हुने छौ। र भयवादको उद्दैश्य नै हो, अरुको मष्तिष्कलाई ठिकसँग सोंच्न नदिनु। आफूले सोचें अनुसारको अरूलाई पनि सोंच्न लगाउनु।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 2, 2016

No comments:

Post a Comment