Saturday, December 3, 2016

Basis of Getting Literary Awards:A Review Part 3

नेपालमा कृति वा कृतिकार उत्कृष्ट भनी निधार्ण गरिने केही आधारहरू
(तेस्रो भाग)


त्यसकारण कुनै लेखक, नया वा पुरानो, ले कुनै पुरस्कार नपाउनु वा चर्चा नपाउनुमा चित्त नदुखाए हुन्छ। भारतका विख्यात कवि तुलसी दासलाई मान्छेहरूले तिमीले कसको लागि लेखेको हो भनी प्रश्न गर्दा उनले उत्तरमा भन्ने गर्दथे रे “स्वान्त सुखाय तुलसी” अर्थात तुलसी दासले आफ्नो सन्तुष्टिका लागि लेख्ने गर्छ भन्थे।

४ कुनै लेखकको पक्षमा “मेडिया” ले उसको कृतिको बढि प्रचार गरिदिएको खण्डमा:

विदेशमा पनि यो चलन केही मात्रामा देख्न सकिन्छ तर नेपाल एवं भारत, जहाँ मेडियाले छोटो समयमा “नकारात्मक विचार” सजिलै निर्माण गर्न सक्छ, मा कुनै पुस्तक वा लेखकलाई छोटो समयमा चर्चित गराउनमा मेडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छ। कुनै सामान्य पुस्तकको बारेमा पनि यदि मेडियाले (विभिन्न समिक्षकहरूको विचार वा अत्यधिक विज्ञापन सहित) अत्यधिक प्रचार प्रसार गरिदिएमा, त्यस पुस्तक प्रति पाठकहरूको कौतुहलता वा पढ्ने उत्सुकता जागेर आउँछ। विज्ञापनको प्रमुख उद्देश्य नै सुसुप्त, मृत, वा अनिच्छालाई आवश्यकतामा रुपान्तरित गरिदिनु हो। विज्ञापनको आइडा मोडेल (AIDA- Attention, Interest, Desire and Action) ले मानव मनोविज्ञानमा, विज्ञापनले कुनै वस्तु वा सेवाप्रति खास किसिमले आवश्यकता जागृत गराउन चार चरणमा कार्य गर्दछ भन्ने तर्क गर्दछ। पहिलो चरणमा विज्ञापनले विज्ञापन गरिएको वस्तुप्रति सतर्कताका साथ (Attention) हेर्न उत्प्रेरित गर्छ। दोस्रो चरणमा विज्ञापन गरिएको वस्तुप्रति चाँसो (Interest,) जागृत गराउँछ। तेस्रो चरणमा विज्ञापन गरिएको वस्तुप्रति इच्छा (Desire) जागृत गराउछ। चौथो चरणमा भने विज्ञापनले विज्ञापन गरिएको वस्तुप्रति क्रिया (Action)  गराउँछ वा खरिद गर्न लगाउँछ। यसरी विज्ञापनले मानव मनोविज्ञानमा विभिन्न चरणमा कार्य गर्ने हुँदा बजारमा वस्तु वा सेवाप्रति आवश्यकता जागृत गराउन विज्ञापनको ठूलो मात्रामा प्रयोग हुन्छ। विज्ञापन गरिएको वस्तु “पहिले नै आधामा मात्रा बिक्री भएको” मान्ने धारणा राख्ने गरिन्छ पनि। यसरी विज्ञापनले यस किसिमले कार्य गर्ने हुँदा अति विज्ञापन गर्न सक्षम भएका कृतिकारहरूको पुस्तक बजारमा सजिलै बिक्रि हुन्छ। सजिलै लोकप्रियता प्राप्त गर्छ पनि। नेपालमा धेरै कृतिहरू विज्ञापनद्वारा लोकप्रिय तुल्याइएका छन्। त्यसकारण विज्ञापन पर्याप्त मात्रामा गर्न नसकेर पुस्तक चर्चामा आउन नसकेका कृतिकारहरूले आफ्नो कृतिले चर्चा पाएन भनी चित्त नदुखाए हुन्छ। विज्ञापन र लोकप्रियता बीच अति नै घनिष्ट सम्बन्ध छ, यो आधुनिक बजार व्यवस्थामा, “बोल्नेको पिठो बिक्छ न बोल्नेको चामल पनि बिक्री हुँदैन भने झै।”

५ पुरस्कार दिने संस्थाहरूले “पक्ष लिएर” कुनै खास लेखक वा उसको कृतिलाई पुरस्कृत गरेर पुस्तक र लेखक दुवैलाई चर्चित तुल्याइ दिएमा:

पुरस्कार दिने संस्थाले पुरस्कार दिने सम्बन्धमा खास मापदण्ड नबनाएर केवल भनसुन वा पक्षपातपूर्ण व्यवहारलाई आधार बनाएर कुनै पुस्तक वा पुस्तकका लेखकलाई पुरस्कार दिएमा सो पुस्तकको लोकप्रियता बढेर जान्छ। यो परिपाटीको अभ्यास नेपालमा पनि गरिएको पाइन्छ। कृतिहरूको निष्पक्ष मूल्यांकन गर्ने, मूल्यांकनका लागि विभिन्न विज्ञहरूको समूह गठन गर्ने, वर्षभरिमा प्रकाशित भएका कृतिहरूको अध्ययन गर्ने, कृतिहरूको समिक्षा पढ्ने, लोकमत संकलन गर्ने जस्त कार्यहरू नगरेर केवल एक वा केही व्यक्तिहरूको निर्णयलाई आधार मानेर तथा मुलत: कसैलाई खुसी पार्नका लागि पुरस्कार दिने प्रथाले गर्दा पनि पुरस्कार पाउन योग्य कृति वा कृतिकार पुरस्कार पाउनबाट वञ्चित हुन पुग्छ। यसरी पुरस्कार पाउन योग्य कृति वा कृतिकार एकातिर निराश हुन पुग्छ भने अर्कोतिर अयोग्य व्यक्तिले पुरस्कार पाएर बजार प्रशस्त प्रशंसा बटुल्छ। उसको कृति चर्चाको शिखरमा पुग्छ। त्यसकारण, समाजमा इमान्दारी नभएमा पनि योग्य व्यक्ति एवं कृतिहरूको राम्रो कदर हुन पाउँदैन। यो कारणले पनि लेखनमा लागेका व्यक्तिहरूले लेख्न क्रमलाई निरन्तरता दिन उचित हुन्छ, पुरस्कारलाई मात्र उत्कृष्ट कृतिकार वा कृतिको मानक नमानेर।  नवोदित साहित्यकार वा कथाकारहरूले यस कुराको हेक्का राख्छ आवश्यक छ।

६ पुरस्कृत कृतिहरू मात्र उत्कृष्ट हुन्छ भन्ने नेपाली पाठकहरूको मनोविज्ञान:

पुरस्कृत कृतिकार वा कृतिहरू मात्र उत्कृष्ट हुन्छन भन्ने मनोविज्ञानले नेपाली पाठकहरूको मनमा बलियो गरी जरा गाडेको छ। तर यो सत्य होइन। पुरस्कार पाउनु र कृति असल हुनु अलग अलग हुन सक्छ र यसबारे माथि चर्चा गरि सकिएको छ पनि। उदाहरणका लागि “श्रमद् भगवद् गीता” सर्वकालिक उत्कृष्ट साहित्य हो। यसको उत्कृष्टतालाई समयको परिवर्तनले कम पार्न सक्तैन। तर यदि कसैले “माओवादी खूनी संघर्ष” कालमा “छापामारहरूका आदरणीय नेता” भन्ने पुस्तक लेखेर पुरस्कार पायो भन्दैमा त्यो सर्वकालिन उत्कृष्ट साहित्य हुन सक्दैन। अहिले, यो परिवर्तित समयमा कसैले “छापामारहरूका प्रिय नेता” भनेर कुनै पुस्तक लेख्ने हो भने अति नै कम पाठकहरूले त्यो पुस्तक पढ्ने छन, पुरस्कार पाउनु त टाढाको कुरा हुनेछ। तर विडम्बना के छ भने नेपाली पाठकहरूको मनमा पुरस्कृत कृति उत्कृष्ट हुन्छ भन्ने  धारणाले बलियो गरी जरा गाडेको छ, नहल्लिने गरी। यो कारणले गर्दा हिँजो सम्म नाम नसुनिएको वा ओझल रहेको कुनै कृतिकारले कुनै एउटा कृति प्रकाशित गर्यो र त्यो कृति पुरस्कृत भयो, यस्तो हुना साथ त्यो कृतिकारको कृतिको बजारमा माग मात्र बढ्दैन उसको प्रशंसकहरूको संख्या पनि ह्वात्तै बढेर जान्छ। बजारमा केवल उसको मात्र बढी चर्चा हुन्छ। उसलाई अनेक संस्थाहरूले “मान सम्मान” दिने, “दोसल्ला ओढाउने”, “मेरो वा हाम्रो क्षेत्र” को भन्ने जस्ता कार्यहरू हुन थाल्छन।  अर्कोतिर साहित्यमा समर्पित भएर पचासौं वर्षदेखि निरन्तर रूपमा लेख्ने साहित्यकारको कुनै चर्चा हुँदैन। उसको चर्चा गर्नुलाई सम्बन्धित पक्षहरूले समयको बर्वादी वा फाइदा नहुने कामको रुपमा देख्नछन्। यति ठूलो भेद किन? यति ठूलो भेद किन अहिले पनि जारि छ? हाम्रो समाजमा रहेका सर्वाधिक ठूला “हिप्पोक्रेसी” हरूको मध्येको यो पनि एक हो। नेपालमा कृति पुरस्कृत गर्ने एक निर्धारित मापदण्ड पनि छैन। अर्कोतिर “हामीवाद” पनि छ। हामीवाद भनेको साहित्यकारहरूको एक समूम बनाउने र त्यसै भित्रकाहरूले आफ्नो मित्रको साहित्य-कथा, कविता, उपन्यास आदिको बढाइ चढाइ प्रशंसा गर्ने, पुरस्कार पनि प्रदान गर्ने र यस्तो पालै पालो गर्ने। नेपालको साहित्य जगत्मा इमान्दारीको खडकिने किसिमले अभाव छ। यो परम्परालाई कहिलेसम्म निरन्तरता दिने?

७ नया लेखकहरूको कृति “उत्कृष्ट” हुँदैन भन्ने आम पाठकहरूमा जडित भावना:
नया कथाकार वा साहित्यकारहरुको कृति वा पुस्तक असल हुँदैन भन्ने भ्रम पनि नेपाली पाठकहरूमा फलाम झै बलियो छ। यो भ्रमले गर्दा नै नाम चलेका कृतिकारहरूको कृति पाठकहरूले खोजी खोजी पढछन्। यो भ्रमले गर्दा नै नवोदित साहित्यकारहरूको कृति धेरै पाठकहरूले पढिनै दिंदैनन्। नया कृतिकारहरूले बडो परिश्रम एवं सृजनात्मक ऊर्जा खर्च गरेर लेखे पनि, ठूलो संख्यामा पाठकहरूले नपढि दिनाले नया कृतिकारहरूलाई चर्चामा आउन निकै समय लाग्छ। अति नै चर्चा र ख्याति पाएका कृतिकारहरूले एक नवोदित कृतिकारको कृति पढ्नु चर्चित कृतिकारको लागि लज्याको विषय हुने भ्रम पनि उत्तिकै छ, अर्को  ठूलो समस्याको रूपमा। चर्चित साहित्यकारहरूको वृतमा नया कृतिकारहरू “पानीमा माथि उठेको फोंका हुन”। नेपालमा प्रचलित यस किसिमको कुसंस्कारले गर्दा केही “सीमित चर्चित” साहित्यकारूको नाम लामो समयदेखि चलिरहेको छ। उनीहरूको सिक्काले नवोदितहरूको सिक्कालाई चलन दिइरहेको छैन्। नवोदितहरूले केवल रहर मिटाउनुका लागि कृति प्रकाशित गर्नु जस्तो भएको छ। धेरै नया कृतिकारहरूले आफूले लेखेका कृतिहरू बिक्री हुन नसकेर घरको दराजमा “थुपार्नु” पर्ने स्थिति छ। नेपालको साहित्यिक फाँटमा केही चर्चित कृतिकारहरूको लामोसमय देखिको बोलबाला छ र उनीहरूले चर्चाको एक “चक्र व्यूह” जस्तो बनाएर बसेका छन् जुन चक्र व्यूह भित्र छिर्नु नवोदित साहित्यकारहरूको लागि “फलामको चिउरा चपाउनु” सरह हुन्छ। तर यस किसिमको “साहित्यिक राजनीति” लाई नवोदित साहित्यकारहरूले आफ्नो साहित्यमा “दम” नभएको भनेर चुप लागेर बस्नु पर्ने स्थिति छ। नवोदित साहित्यकारहरूले त्यस्तो मनोविज्ञान नबनाउनु होस र निरन्तर रूपमा लागि रहनु होस, “चिप्ले किरा आफ्नो गन्तव्यमा” लागे जस्तो। 

विश्वराज अधिकारी 
प्रतीक दैनिकमा प्रकाशित Saturday, December 03, 2016

No comments:

Post a Comment