Friday, February 5, 2021

How to Identify Business Opportunities? -Article-313

 कसरी गर्ने व्यापारका अवसरहरूको पहिचान?

व्यक्ति, परिवार, समाज र देशलाई धनी बनाउन आवश्यक पर्ने ज्ञान प्राप्त गर्न अर्थशास्त्रका मोटामोटा पुस्तक पल्टाउन आवश्यक छैन। यसैगरी अर्थशास्त्रका लामालामा पाठ र पेंचिला सिद्धान्तहरू पढ्न र बुझ्न पनि आवश्यक छैन। सानोभन्दा सानो काम गरेर पनि परिवार, समाज र देशलाई धनी बनाउने काम गर्न सकिन्छ। अटुट जाँगर, नयाँ सोचका साथ अगाडि बढ्ने हो भने धेरै कुरा गर्न सकिन्छ।

यसैगरी रोजगारका अवसर सृजना गर्न पनि ठूलाठूला योजना बनाइराख्नु पर्दैन। ठूलाठूला मिटिंग एवं सम्मेलन गर्नुपर्दैन। ठूला कारखानाहरू पनि स्थापना गर्नुपर्दैन। सानासाना काम गरेर पनि रोजगारका अनेक अवसर सृजना गर्न सकिन्छ। र त्यस्तो रोजगारलाई धेरै व्यक्तिको आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ। साथै त्यस्तो रोजगारलाई स्थायित्व पनि प्रदान गर्न सकिन्छ।

यस्तै किसिमले सामान्य काम गरेर आफ्नो लागि बलियो रोजगार सृजना गरेका छन्, धरानका मधुकर शाक्यले। मधुकर शाक्यले धरानको भानुचोक नजीक सञ्चालन गरेको चिया पसलले अहिले राष्ट्रिय चर्चा पाएको छ। शाक्यले आफ्नो लागि आफैंले रोजगार सृजना गरेका मात्र छैनन्, यस्तो किसिमको व्यापारको विकास गरेका छन्, जुन नेपाली परिवेशमा नौलो र आकर्षक छ। शाक्यद्वारा साञ्चालित चिया पसलमा चिया मात्र पिउन पाइने होइन, अनेक किसिमका किताब पनि पढ्न पाइन्छ। विभिन्न पत्र–पत्रिका पढ्न पाइन्छ, समाचारहरू पढ्न पाइन्छ। आफ्नो चिया पसलमा चिया पिउन आउनेहरूका लागि अनेक किसिमका पुस्तक र पत्रपत्रिका शाक्यले राखिदिएका छन्। ग्राहकहरू चिया पिउँदै निश्शुल्क किताब र पत्रपत्रिका पढ्न पाउँछन्। यसरी उनले एक विशेष किसिमको व्यापार (चिया पिउँदा निश्शुल्क किताब र पत्रपत्रिका पढ्न पाइने) को वा व्यापारिक अवसरको विकास गरेका छन्। यस किसिमको वा यो ढाँचाको व्यापारको विस्तार नेपालका अन्य शहरमा पनि गर्न सकिने सम्भावना बढेर गएको छ। शाक्य आफैंले चिया पकाउँछन्, ग्राहकहरूलाई बाँड्छन्। उनको पसलमा चिया पिउन आउने ग्राहकको अभाव हुँदैन।

चिया पिउँदा अनेक किसिमका किताब एवं पत्रपत्रिका पढ्न पाइने हुनाले स्वाभाविकरूपमा अन्य चिया पसललाई छाडेर ग्राहकहरू शाक्यको चिया पसलमा पुग्छन्। अर्थात् यो आकर्षणले ग्राहक सजिलै यता तानिने वातावरण सृजना भएको छ। यस किसिमको आकर्षण (पढ्न पाइने) पसलमा थप्ने शाक्यको सोच आफैंमा, नेपालको व्यापार क्षेत्रमा एक नौलो प्रयोग हो र यो प्रयोगले सफलता पाउने निश्चित छ। उनको यो नौलो सृजना नेपालको व्यापारिक क्षेत्रको लागि नौलो छ, आकर्षक पनि छ। विदेशमा भने यस किसिमको प्रयोग धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ। अमेरिकाको, वाशिंगटन राज्यको सियाटल शहरमा मुख्यालय रहेको र अमेरिकालगायत संसारका अनेकौं मुलुकमा सञ्चालित विश्वविख्यात कफी पसल ‘स्टारबक्स’ले पनि शाक्यको चिया पसलजस्तै पसलमा कफी पिउन आउनेहरूलाई निश्शुल्क ‘इन्टरनेट’ सेवा प्रदान गर्छ। इन्टरनेट सेवा पाइने हुनाले खासगरी विद्यार्थीहरू स्टारबक्सका कफी पसलहरूमा पुग्छन्। स्टारबक्सले लामो समयसम्म पसलमा बस्न पनि दिने हुनाले विद्यार्थी त्यहाँ पुग्छन्, पढ्छन्, गृह कार्य गर्छन् साथै कफी पनि पिउँछन्।

स्टारबक्स अमेरिकाको ज्यादै लोकप्रिय कफी पसल (रेस्टुरा) मानिन्छ। स्टारबक्सका कफी पसलहरू प्रायः ग्राहकले भरिएका हुन्छन्। एकसे एक कफीका उम्दा स्वादको आनन्द लिन पाइने हुनाले स्टारबक्सले ग्राहकको कमी अनुभव गर्नुपर्दैन। अमेरिकाको ‘कफी संस्कृति’ को स्टारबक्सले विकास एवं संरक्षण पनि गरेको छ। सन् २०२० सम्म अमेरिकालगायत विश्वका ७० देशमा ३० हजार स्टारबक्स कफी पसल सञ्चालित रहेको पाइएको थियो। यी कफी पसललाई विश्वकै सर्वाधिक ठूलो कफी पसलहरूको समूह वा शृङ्खला (Coffeehouse Chain) मान्ने गरिन्छ। जेरी बाल्डविन, जेभ सेइगल र गोर्डन बोकरले कम्पनीको रूपमा सन् १९७१ मा स्टारबक्स स्थापना गरेका थिए। कफी संस्कृतिको उपयोग गर्दै बजारमा आफ्नो स्थिति बलियो बनाएको स्टारबक्स ५० वर्षदेखि आफ्नो खास पहिचानसहित सञ्चालित छ। अमेरिकी युवाहरू स्टारबक्सबारे राम्ररी परिचित मात्र छैनन्, पटकपटक स्टारबक्स जान रुचाउँछन् पनि।

जापान, फिलिपिन्स, अस्ट्रेलिया, मेक्सिको, स्वीट्जरल्यान्ड, जर्मनी, कोलम्बिया, इटली, कोस्टारिकालगायत विश्वका अनेक देशमा स्टारबक्सका कफी पसल सञ्चालित छन्।

केवल कफीको बिक्रीलाई बृहत् व्यापारको रूप दिन सकिन्छ भन्ने सोचको सफल परिमाणसहितको विशाल स्वरूप, स्टारबक्सलाई मान्न सकिन्छ। स्टारबसक्सको स्थापना केही व्यक्तिको नवीन सोच एवं त्यो सोचको व्यावसायिक प्रयोग थियो। तर त्यो व्यावसायिक सोचले ठूलो व्यापारिक सफलता प्राप्त ग–यो। स्टारबक्सको सफलताले के देखायो भने खास विशेषतासहित कुनै एक वा दुई वस्तु मात्र बिक्री गर्दा पनि व्यापारमा सफलता प्राप्त गर्न सकिन्छ। सामान्य व्यापार स्ञ्चालन गरेर पनि हजारौंलाई रोजगार दिन सकिन्छ।

रोचक कुरा त के छ भने स्टार बक्सका संस्थापकहरू जेरी बाल्डविन, जेभ सेइगल र गोर्डन बोकरले एक अर्कालाई युनिभर्सिटी अफ सान्फ्रान्सिस्कोमा विद्यार्थी हुँदा भेटेका थिए। अमेरिकामा व्यापारिक घरानाहरूले नयाँनयाँ व्यापारको सृजना एवं सञ्चालन गर्ने भन्दा पनि विद्यार्थीहरूले यो कार्य गरेको पाइन्छ। विश्वविख्यात फेसबूक र माइक्रोस्फ्टका संस्थापकहरू क्रमशः मार्क जुकरबर्ग र बिल गेट्स विद्यार्थी जीवनबाट एकैपटक व्यापारमा आएका थिए। हुनपनि अमेरिकी युवा वा विद्यार्थीहरूको पहिलो रोजाइ आफैंले नयाँ व्यापार सृजना गर्नु रहेको हुन्छ, कुनै सङ्घ–संस्था वा कम्पनीमा काम गर्नुभन्दा। यो कारणले गर्दा पनि अमेरिकामा व्यापारको सङ्ख्या अधिक र नयाँनयाँ व्यापारको सृजना भएको पाइन्छ। अमेरिकाको नयाँ पीढी उद्यम (entrepreneurship) मा विश्वास गर्छ। नयाँनयाँ व्यापारको सृजनामा रुचि राख्छ। युवा पीढीको यो विश्वास र रुचिलाई प्रान्तीय एवं सङ्घीय सरकार एवं समाजले पनि प्रोत्साहित गरेको छ।

मधुकर शाक्यले आफ्नो चिया पसलको नाम ‘मधुशाला चियालय’ राखेका छन्। पसल सञ्चालनबाट आएको रकम विभिन्न पुस्तक खरीद गर्न खर्च गर्छन्। पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्य राखेका शाक्यले सहयोगको रूपमा प्राप्त पुस्तकहरू पनि स्वीकार गर्छन्। शाक्यले त्यस्तो विशेष कार्य गरेकोमा हालै उनी सम्मानित पनि भएका थिए। पठन संस्कृतिलाई बढाउन योगदान दिएको भन्दै उनलाई कालकुट साहित्यिक मञ्च धरानले आफ्नो दोस्रो वार्षिकोत्सव तथा प्रथम अधिवेशनको अवसरमा सम्मान गरेको थियो। यो स्तम्भकारसँगको सङ्क्षिप्त फोन कुराकानीमा साहित्यप्रतिको आफ्नो रुचि र पठन संस्कृतिको विकास होस् भन्ने चाहनाले पनि यस किसिमको कार्य गर्न उत्प्रेरित गरेको शाक्यले बताएका थिए। शाक्य स्वयं पनि कवि हुन् र उनका कविताहरू रोचक एवं अर्थपूर्ण हुन्छन्।

मधुकर शाक्यलाई बृहत् अमेरिकी कम्पनी स्टारबक्सबारे थाहा छ कि छैन, स्टारबक्सले ग्राहकहरूलाई निश्शुल्क इन्टरनेट सुविधा प्रदान गर्नुका साथै पसलभित्र लामो समयसम्म बस्ने सेवा दिन्छ भन्ने थाहा छ कि छैन, मलाई थाहा भएन तर उनले चिया पसलको माध्यमबाट पु–याएको सेवा स्टारबक्सले प्रदान गरेको सेवाको नजीक–नजीक छ भन्ने मलाई विश्वास छ।

व्यापार जगत्मा नयाँ सोचसहितको शाक्यको प्रवेश आफैंमा एउटा प्रेरक कथा बन्न पुगेको छ। युवा पीढीका लागि एक सन्देश बन्न पुगेको छ। उनको चिया पसलमा यो आकर्षण भएरै होला, २०६८ सालदेखि सञ्चालित उनको व्यापारले निरन्तरता प्राप्त गरेको छ, लोकप्रियता प्राप्त गरेको छ।

नेपालमा व्यापारका धेरै अवसरहरू छन्। हामीले तिनको पहिचान गरेर, व्यापार गरेर स्वरोजगारी बन्न सक्छौं। आफ्नो लागि आफैंले आम्दानीको स्रोत निर्माण गर्न सक्छौं, शाक्यले झैं। रोजगारी हुनका लागि धेरै पढेको, ठूला ठूला डिग्री भएको हुन आवश्यक छैन। ठूलाठूला उद्योग एवं व्यापारको स्थापना हुन पनि आवश्यक छैन। सामान्य काम गरेर पनि, स्वयं रोजगार सृजना गर्न सकिन्छ। नया सोच र सेवासहितको नयाँनयाँ व्यापार विकास गर्न सकिन्छ।

अहिले नेपालबाट ठूलो सङ्ख्यामा युवाहरू रोजगारका लागि विदेशतिर पलायन भइरहेका छन्। खासगरी अर्ध र अदक्ष नेपाली श्रम ठूलो सङ्ख्यामा खाडीका देशहरूमा खर्च भइरहेको छ। नेपालको युवा शक्तिलाई नेपालमा नै प्रयोग गर्न पाए आर्थिक विकासको गतिमा तीव्रता आउने थियो।

समय आएको छ, सरकारको मुख नताकेर आफैंले रोजगारका विभिन्न अवसर सृजना गर्ने। युवाहरूले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। राष्ट्रले युवाहरूसँग यक्ष प्रश्न गरिरहेको छ–राष्ट्रिय श्रमलाई स्वदेशको विकासमा खर्च गर्ने कि विदेशमा?



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, February 5, 2021

http://www.prateekdaily.com/2021/02/blog-post_94.html

No comments:

Post a Comment