Sunday, January 7, 2024

Terrifying Postmodernism Part 14

 उत्तर आधुनिक युगको त्रासदी

१४.

 मानवीय सम्बन्धमा संकट

उत्तर आधुनिक युगले मानिसलाई चरम स्वार्थी तुल्याइ दिएको छ। यो युगमा मानवीय सम्बन्ध चरम संकटमा परेको छ। मानिस केवल आत्म केन्द्रित भएको छ। सार्वजनिक जीवन हराउने क्रममा छ।

मानिसमा अहिले त्यसबेलाको, जुन बेला मानिसहरू समूहमा बसेर रमाउने गर्थ्ये, जस्तो एक आपसमा सद्भाव छैन, प्रेम छैन। दया र माय हराउँदै गएको छ। विकसित प्रविधिले उत्पादन गरेका आधुनिक उपकारण र एपहरू चलाएर, एक्लै बसेर रमाउने स्थितिमा मानिसहरू पुगेका छन। एक्लै बसेर सेलफोन वा मोबाइल, टेबलेट, कम्युटर-डेक्सटप, लैपटप चलाएर घण्टौ बिताउन थालेका छन। समूहमा बसेर रमाइलो गर्न पाउने मौका र सयमलाई मानिसहरूले सामाजिक सञ्जालमा एक्लै बसेर प्रयोग गर्न थालेक छन।

एकले अर्काको समस्या बुझ्न तथा एकको खुसी अन्यलाई बाँड्न मानिसहरूलाई समूह चाहिन्छ। समूहमा बस्नु, सुख दु:ख साटा साट गर्नु मानवीय आवश्यकता हो। तर अहिले ठिक विपरित हुँदै छ। मानिसहरू एक्लै बसेर रमाउने मनस्थितिमा पुगेक छन। यो भएर, एउटै कोठा वा बैठकमा दस, पन्द्र जना बस्ता पनि उनीहरूको बिचमा सामुहिक वा सामान विषयमा कुराकानी हुन छुटेको छ। मानिसहरू समूहमा बस्दा पनि एक्लै बस्ने स्थितिमा पुगेका छन किनकि समूहमा बस्दा पनि प्रत्येक ब्यक्ति आफ्नो डिभाइस (सेलफोन, टेबलेट आदि) चलाउनमा ब्यस्त भएको देखिन्छ। एक्लैमा रमाइको देखिन्छ।

मोवाइल बा सेलफोन आजभोलि मानिसलाई यति प्रिय भएको छ कि लाग्छ मोबाइल उसको प्रथम आवश्यकता हो। खाना नखाए मान्छेको ज्यान जानेझै मानिसहरू अहिले हरदम मोबाइल आफ्नो हातमा लिएर हिंडिरहेका छन। लाग्छ मोबाइल हरेक व्यक्तिको प्राण हो। अहिले हरेक व्यक्तिको हातमा अनिवार्य रुपमा मोबाइल हुने स्थिति छ।

एक अनुसन्धानका अनुसार संसारभरिमा अहिले प्रत्येक व्यक्तिले दिनको औसत २.५ घण्टा सामाजिक संजालमा बिताउने गरेको पाइएको छ। यसरी प्रत्येक व्यक्तिले वर्षभरिमा ८ सय ६४ घण्टा सामाजिक संजालमा बिताउने गरेको छ। केवल सामाजिक संजाल हेरेर प्रत्येक व्यक्तिको १ महिना ६ दिन बित्छ। तर मान्छेले सामाजिक संजालमा बिताएको त्यो समयले सामाजिक संचालक एवं धनीहरूलाई फाइदा हुन्छ। कसरी?

प्रयोगकर्ताहरूले समाजिक संजाल प्रयोग गर्दा, प्रयोगकर्ताहरूको क्रियाकलापबाट उत्पन्न हुने अनेक किसिमका जानकारीहरू जुन सामाजिक संजालको धनीको प्रणालीमा संग्रहित हुन पुग्छ, सामाजिक संजालका धनीहरूले अनेक संस्थाहरूलाई बिक्री गर्छन। त्यसरी जानकारी खरिद गरेर अनेक संस्थाहरूले ती जानकारीहरू आफ्नो व्यवसाय बृद्धि गर्नमा प्रयोग गर्छन। सामाजिक संजालमा संग्रहित भएका अनेक जानकारीहरूबाट उपभोक्ताहरूको खरिद एवं अन्य व्यवहार सजिलै ज्ञात हुन पुग्छ जुन विभिन्न व्यापारिक संस्थाहरूको लागि उपयोगी हुन पुग्छ। मुनाफाको आधार बन्छ।

हालै प्रकाशित अनुसन्धानहरूमा उल्लेख भए अनुसार सामाजिक संजालको प्रयोग र ब्यक्तिहरूमा देखिएको विषाद, चिन्ता, एकांकीपन, आफैलाई हानी पुर्याउने सोंच एवं आत्महत्या प्रवृति बिच गहिरो सम्बन्ध देखिएको छ। सामाजिक संजालको प्रयोगले मानिसमा बाँच्ने उत्साह भन्दा निरासा, डाहा, भय आदिको वृद्धि भएको छ। कसरी?

एउटै परिवारका दुई छोराहरू मध्ये एउटा अध्ययनको लागि विदेश पुग्न सफल भएको छ। विदेश (अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया आदि) पुगेर उसले विश्वका महत्वपूर्ण शहरहरू (न्यु योर्क, टोरन्टो, सिडनी आदि) मा पुगेको अनेक फोटोहरू सामाजिक संजाल-फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप आदिमा राखेको छ। हाँसेको, घुमेको, प्रशन्न भएको देखाएको छ भने त्येही परिवारको अर्को छोरा जो विदेश जान पाएको छैन, स्वदेशमा नै छ उसलाई आफ्नो दाजु वा भाइको त्यो प्रगति देखेर हर्ष हुँदैन। पीडा हुन्छ। ऊ आफू विदेश नजान पाएकोमा अति दु:खी मात्र हुँदैन, उसले आफूलाई जीवनमा असफल देख्न थाल्छ। उसमा उसमा चिन्ता वा विषाद उत्पन्न हुन्छ। आत्महत्या नै गरौ गरौं जस्तो प्रवृति उसमा विकास हुन सक्छ।

सामाजिक संजलामा प्रेषित सामाग्रीहरूले प्रयोगकर्ताहरूलाई हानी हुन सक्छ भन्ने मेरो अनुमान होइन। यस कुराको एउटा प्रमाण यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला।

अक्टोबर २४, २०२३ मा अमेरिकाका ४१ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले अमेरिकी कम्पनी मेटा जस अन्तरगत फेसबुक र इन्स्टग्राम पर्दछन, मा मुद्दा हाले। ती राज्यहरूले मेटामाथि के आरोप लगाए भने मेटा कम्पनीले जानाजानी, नियतवस फेसबुक र इन्स्टेग्राममा यस्ता आकर्षण वा विशेषताहरू (Features) राखेको छ जसले युवाहरू (Teens and young users) लाई हानी पुर्याउने गर्दछ।  

माथिको तथ्यबाट पनि ज्ञात हुन आउँछ कि सामाजिक संजालमा प्रेषित सबै सामाग्रीहरू स्वस्थ्य,  मनोरंजनात्मक र जानकारीमूलक हुँदैनन्।

कतिपयको राय अनुसार जसरी चुरोट, खैनी, भाँग, रक्सी आदिको नसा वा लत लाग्छ त्यसैगरी मानिसममा पनि सामाजिक सञ्जाल प्रयोग गर्ने लत लाग्छ। सामाजिक संजाल कम्पनीहरूले प्रयोगकर्ताहरूमा लत लाग्ने किसिमबाट नै विभिन्न ‘फिचर’ हरूको सामाजिक सञ्जालमा विकास गरेका हुन्छन।

मोबाइलको रुप र कार्यमा पनि अहिले परिवर्तन आएको छ। पहिले मोबाइल केवल सञ्चारको माध्यम थियो। त्यस पछि मोबाइल मनोरंजनको साधन बन्यो। अहिले मोबाइल औषधी भएको छ। औषधी भएको हुनाले ने हरेका मानिसको हातमा जुन बेला पनि मोबाइल हातमा हुन्छ। अहिले के एशिया, के युरोप, संसार भरिका मानिसको लागि मोबाइल औषधी भएको छ।

मोबाइलले मानिसको शरीरको आकारसम्म परिवर्तन गर्न थालेको छ। पहिले, मोबाइल नचलाउँदा, मानिसहरू सडकमा हिंड्दा सोझ भएर हिंड्ने गर्थे। अहिले, सडकमा हिंड्दा मोबाइल हेर्ने गरेकोले, मानिसको शरीरको आकार पनि बांगो हुन पुगेको छ। स्थिति यस्तै हुने हो भने अब सडकमा सोंझो भएर हिंड्ने मानिस देख्न पनि कठिन हुनेछ।

उत्तर आधुनिक युगमा मानिस बाँगो भएर हिंड्न ‘नव संस्कृति’ को निर्माण हुँदैछ।

अति वैज्ञानिक आविष्कार र उच्च प्रविधिको प्रयोगले हाम्रो शरिरको आकार पनि परिवर्तन गरिदिने स्थिति निर्मा भएको छ। अचम्म! तर यो कुरा हामीलाई ज्ञात हुन सकिरहेको छैन। 

के मोबाइलको विकास हाम्रो लागि भएको हो?

स्मार्ट फोन वा मोबाइलले हाम्रो जीवनमा ल्याइदिएको सरलता, प्रभावकारिता र आनन्द हेर्दा लाग्छ मोबाइल हाम्रो जीवनको लागि अत्यावश्यक वस्तु हो। यस्तो वस्तुको आविष्कार गर्नेहरूले धन्य कार्य गरेका रहेछन। यसको उत्पादन गर्नेहरूले त समाजलाई झनै ठूलो गुन लगाएका छन्। तर त्यस्तो केही पनि होइन। मोबाइल हाम्रो लागि भोजन, निद्रा, आवास जस्तो अत्यावस्यवस वस्तु होइन। सामान्य मोबाइल फोनले पनि हाम्रो सञ्चारको काम चलेको थियो। हामी बिच सामान्य मोबाइल प्रयोग भएर पनि प्रभाकारी किसिमले पनि एक अर्का बिच प्रभावकारी किसिमले सञ्चार भएको नै थियो। तर स्मार्ट फोन को किन विकास हुनु पर्यो?

स्मार्ट फोनको विकास गरेर करोडौ उपभोक्ताहरूलाई बिक्री गर्दा उत्पादक एवं बिक्रेताहरूलाई करोडौं मुनाफा हुने भयो। सामान्य किसिमको मोबाइल बिक्री गर्दा उत्पादक एवं बिक्रेताहरूलाई ठूलो मुनाफा हुने स्थिति थिएन। तर स्मार्ट फोन उत्पादन एवं बिक्री गर्दा उत्पादक एब बिक्रेताहरूलाई अतिनै मुनाफा हुने स्थिति छ। हामीलाई थाहा छ बिक्री गरिने वस्तु जति उच्च मूल्यको हुन्छ बिक्रेतालाई पनि सोही अनुसार उच्च मुनाफा प्राप्त हुन्छ। एउटा चकलेट बिक्री गर्दा र एउटा सुनको चुरा बिक्री गर्दा सुनको चुरा बिक्री गर्दा बढी मुनाफा प्राप्त हुन्छ। यो कारणले गर्दा सुनको चुरा बिक्री गर्न बिक्रेताले बढी जोड दिन्छ र सुनको चुरा बिक्री गरेर अधिक मुनाफा पनि प्राप्त गर्छ।

माथि नै भनिसकिएको छ, यो उत्तर आधुनिक युगमा बिक्री हुने वस्तुहरू प्राय: उत्पादक एवं बिक्रेताहरूलाई उच्च मुनाफा दिने किसिमका हुन्छन। उपभोक्ताहरूको आवश्यक्ता अनुसार कमै हुन्छन।

विकसित उच्च प्रवधि र तिनको प्रयोगले मानवीय समबन्ध झनै संकटले घेरिंदै जाने त्रास बढेको छ। तर अचम्म! हामीले यो तथ्यको पत्तोसम्म पाएका छैनौ। केही थोरै पाए पनि त्यस तर्फ ध्यान दिएका छैनौ। 

 

No comments:

Post a Comment