Sunday, October 27, 2024

Overseas Employment: Risks Around the Corner-Article-574

 असुरक्षित हुने स्थितिमा वैदेशिक रोजगार

खाडीका देशहरूमा काम गरिरहेका नेपाली कामदारहरूको स्थिति अहिले सुरक्षित देखिए तापनि भोलिका दिनमा के होला भन्न सकिने स्थिति छैन। भोलिका दिनमा ज्यादै असुरक्षित पनि हुन सक्छ। नेपाली कामदारहरू खाडीका देशहरूबाट असुरक्षाको कारण फर्किनुपर्ने स्थिति उत्पन्न हुन पनि सक्छ। धेरै नेपाली युवाहरू एकैपटक नेपाल फर्केमा नेपालमा रोजगारको महासङ्कट उत्पन्न हुन सक्छ। एकातिर नेपालमा रोजगार छैन। अर्कातिर ठूलो सङ्ख्यामा नेपाली युवाहरू खाडीका देशहरूमा उत्पन्न असुरक्षाका कारण नेपाल फर्केमा नेपाली युवाहरूको भविष्य कस्तो होला? नेपालको नै पनि, आर्थिक स्थिति कस्तो होला?

खाडीका देशहरूमा रहेका नेपाली कामदारहरूबारे, उनीहरू नेपाल फर्किने स्थिति आएमा त्यस समस्याको सामना कसरी गर्नेबारे सरकारसँग कुनै किसिमको सोच रहेको देखिएको छैन। योजनाको त कुरा परै जाओस्अहिले खाडीका देशहरूमा निर्धक्कको शान्ति देखिए तापनि भोलिका दिनमा इजराइल– लेबनान सम्बन्ध खराब भएर वा इजराइल–इरान सम्बन्ध कटु शत्रुतामा बदलिएर यो क्षेत्रमा कुनै पनि बेला घमासान युद्ध हुने ठूलो खतरा छ। र यदि युद्ध भएमा त्यो युद्धले साउदी अरेबिया, कतार, ओमान, बहरेन, युनाइटेट अरब इमिरेट्सजस्ता देशहरूलाई पनि प्रभावित गर्न सक्ने स्थिति छ। यी देशहरूमा नेपालीहरू ठूलो सङ्ख्यामा कार्यरत छन्।

अहिले खाडीका देशहरूमा लगभग १८ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ। खाडीका देशहरूमा, मुख्यगरी युवाहरू ठूलो सङ्ख्यामा कामदारको रूपमा रहेको विश्वास गरिएको छ। यदि इरान र इजराइल प्रत्यक्षरूपमा आमनेसामाने भएर युद्ध गर्न युद्ध मैदानमा आएमा, खाडीका देशहरू काम गर्नका लगि नेपालीहरूको लगि अति असुरक्षित भएमा र असुरक्षाका कारण नेपालीहरू स्वदेश फर्किनुपर्ने स्थिति भएमा, मुख्यगरी नेपाली युवाहरूको भविष्य कस्तो होला? अहिलेको सरकारले, भविष्यमा आउने सरकारले र प्रत्येक राजनीतिक दलले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ। यस बारे जनस्तरमा पनि सोच्न आवश्यक छ।

इजराइल– इरान युद्ध नहुन पनि सक्छ र युद्ध कुनै बेला हुन पनि सक्छ। प्रथम विश्वयुद्ध समाप्त भएपछि संसार भरिका मानिसले अब युद्ध हुँदैन भनेका थिए। मानिस युद्धबाट थाकेर शान्तिको पथमा लागेको भनेका थिए। प्रथम विश्व युद्धको हृदयविदारक दृश्य देखेका व्यक्तिहरूले अब कहिले पनि युद्ध हुँदैन भनी ठोकुवा गरेका थिए। र त्यो ठोकुवामाथि धेरैले विश्वास पनि गरेका थिए। तर धेरैको त्यो विश्वासमा घात भयो। दोस्रो विश्वयुद्ध भयो। दोस्रो विश्वयुद्धले झन् धेरै जनधनको क्षति गर्यो। करीब ४ करोड व्यक्तिको ज्यान लियो।

अब युद्ध हुन सक्ने वा नसक्ने सम्भावनाबारे चर्चा गरौं। फिलिस्तिनी क्षेत्रभित्र रहेर इरानको लगि इजराइलसँग परोक्ष युद्ध गरिरहेको लडाकू सङ्गठन ‘हमास’ र लेबेनानभित्र रहेर इरानको लागि परोक्ष युद्ध गरिरहेको लडाकू सङ्गठन ‘हेजबुल्लाह’, यी दुवै इजराइल विरोधी सङ्गठनलाई सधैंका लागि समाप्त नपारेसम्म, पुनः कहिले उठ्न नसक्नेगरी धूलो नपारेसम्म युद्ध जारी राख्ने घोषण इजराइलले गरेको छ। अर्कातिर हमास र हेजबुल्लाहलाई निरन्तर सहयोग गर्न इरान कटिबद्ध छ। हेजबुल्लाह र हमासप्रति आफ्नो पूर्ण समर्थन रहेको प्रदर्शन गर्न इरानले केही दिन पहिले मात्र करीब २०० मिसाइल इजराइलको विभिन्न स्थानहरूमा प्रहार गरेको थियो। अक्टोबर १, २०२४ मा इरानले प्रहार गरेको ती बेलेस्टिक मिसाइलहरूले इजराइलमा ठूलो जनधनको क्षति नगराए पनि हेजबुल्लाह र हमासप्रति आफ्नो पूर्ण समर्थन रहेको प्रस्ट पारेको थियो। यी दुर्ई सङ्गठनमाथि इजराइल खनिएमा चुप लागेर नबस्ने र इजराइलमाथि प्रत्याकरण गर्ने भनी प्रस्ट पारेको थियो। इरान, हेजबुल्लाह र हमासलाई प्रयोग गरेर मध्यपूर्वको महाशक्ति हुने उद्देश्य राख्दछ र त्यस उद्देश्य पूर्तिका लागि सके इजराइललाई समाप्त पार्ने, नसके इजराइललाई निरन्तर कमजोर पार्ने रणनीतिमा इरान रहेको छ। फिलिस्तिनी र इजराइल युद्धले आफूलाई कुनै ठूलो आर्थिक र सुरक्षा क्षति नपुग्ने देखेर इरान इजराइल–फिलिस्तिनी युद्ध समाप्त नहोस् भन्ने चाहन्छ। निरन्तर जारी रहोस् भन्ने चाहन्छ।

इजराइलको पछाडि ढाल बनेर अमेरिका उभिएको छ। अमेरिका मात्र होइन, युरोपियन युनियनका सदस्य राष्ट्रलगायत संसारका अन्य शक्तिशाली राष्ट्रहरू पनि इजराइलाई सामरिक र आर्थिक सहयोग गर्न तयार छन्। बाह्य सहयोगले गर्दा इजराइल कुनै पनि किसिमले, समारिक र आर्थिकरूपमा कमजोर देखिएको छैन। इजराइल आफैं पनि शक्तिशाली राष्ट्र हो। हात हतियारले सुसज्जित राष्ट्र हो।

एकातिर युक्रेनसँग निरन्तर युद्ध गरेको कारण रूस केही कमजोर हुन पुगेको छ। र यस्तो बेलामा उसलाई कुनै भरपर्दा सहयोगीको खाँचो छ। अर्कोतिर इराजइललाई तह लगाउन इरानलाई थप शक्तिको आवश्यकता छ। र त्यो थप शक्ति रूसबाट प्राप्त हुने कुरामा इरान ढुक्क छ। यसरी रूसको अगुवाइमा इरानसहित क्युबा, भनेजुएला, उत्तर कोरियाजस्ता देशहरूको एउटा बलियो खेमा निर्माण भएको छ। उत्तर कोरियाले रूसको पक्षमा युक्रेनसँग युद्ध गर्न आफ्ना हजारौ सैनिक रूस पठाएको खबर केही दिन पहिले मात्र प्रकाशित भएको थियो।

विश्व अहिले दुर्ई खेमामा विभाजित रहेको स्थितिमा इजराइल र इरानबीच प्रत्यक्ष युद्ध हुन सक्ने, त्यो युद्धले खाडीका देशहरू प्रभावित हुने, खाडीका देशहरू प्रभावित भएको कारणले कार्यस्थल अति जोखिमपूर्ण भएको भन्दै लाखौंको सङ्ख्यामा नेपाली कामदारहरू खाडी मुलुकहरूबाट नेपाल फर्किने सम्भावनालाई नकार्न सकिंदैन। अहिले इजराइल र इरानको सम्बन्ध कटुतापूर्ण रहेको र भोलिका दिनमा झनै अति शत्रुतापूर्ण हुन सक्ने देखिएकोले, खाडीका देशहरू नेपाली कामदारहरूका लागि सुरक्षित हुनेछ भनी ठोकुवा गर्न सकिंदैन।

अक्टोबर ७, २०२३ का दिन हमासका लडाकूहरूले इजराइलभित्र प्रवेश गरेर सयौंको सङ्ख्यामा इजराइलीलगायत विदेशीहरूको हत्या गरेका थिए। सयौंलाई बन्दी पनि बनाएका थिए। हमासको त्यो कारबाईमा इजराइलमा रहेका केही (दशभन्दा बढी) नेपाली कामदारहरू पनि मारिएका थिए। केही नेपाली कामदारहरू उनीहरूद्वारा बन्दी पनि बनाइएका थिए। बन्दी बनाइएका नेपाली कामदारहरू हालसम्म हमासको कब्जाबाट छुटेका छैनन्।

इजराइल–फिलिस्तिन युद्धका कारण भोलिका दिनमा, खाडीका देशहरूमा काम गर्न असुरक्षित रहेको भन्दै ठूलो सङ्ख्यामा नेपाली कामदारहरू स्वदेश फर्के के गर्ने? यो प्रश्नको उत्तर सम्बन्धित पक्षले तत्काल खोज्न आवश्यक छ। नेपाल फर्केका कामदारहरूलाई नेपालमा कसरी रोजगार उपलब्ध गराउनेबारे एउटा रणनीति तयार गर्न आवश्यक छ। एउटा लघुकालीन र एक दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ।

यो समस्यालाई केवल सङ्घीय सरकारको समस्या मानेर प्रादेशिक र स्थानीय सरकार चुप लागेर बस्नु ठूलो भूल हुनेछ। स्वदेश फर्केका नेपाली कामदारहरूलाई स्थानीयस्तरमा कसरी रोजगार दिने भन्नेबारे प्रादेशिक र स्थानीय सरकारहरूले पनि गम्भीरतापूर्वक सोच्न आवश्यक छ।

सबैभन्दा ठूलो कुरा त आफ्ना देशका नागरिकलाई स्वदेशमा नै रोजगार उपलब्ध गराउनु उत्तम हो। रोजगारको लागि विदेश जाने पर्ने बाध्यता अन्त्य हुनु हो  आशा गरौं, यो समस्यालाई सबै तहका सरकारहरूले गम्भीरतापूर्वक लिनेछन्।


Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, October 25, 2024

https://eprateekdaily.com/2024/10/24/75924/

No comments:

Post a Comment