Wednesday, November 13, 2024

Ongoing Struggle: Hindrance for Economic Development-Article-575

 निरन्तर सङ्घर्षले आर्थिक विकास सम्भव छैन

हामीकहाँ विभिन्न कारण देखाएर आन्दोलन गर्ने एक किसिमको परम्परा नै बसेको छ। हरेक समस्याको समाधान आन्दोलनबाट खोज्ने एक किसिमको संस्कार नै बनेको छ। शान्तिपूर्ण तरीकाले हामी कुनै पनि समस्याको समाधान खोज्न नसक्ने स्थितिमा पुगेका छौं। हामी कुनै पनि राष्ट्रिय समस्याको समाधान केवल हत्या, हिंसाद्वारा मात्र खोज्छौं। हत्या, हिंसा एउटा उपाय मात्र हो, कुनै पनि समस्याको समाधान खोज्ने भन्ने सोचको विकास पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो।

अनेक कारण देखाएर आन्दोलन गर्नेहरूमा राजनीतिक दल र तिनका नेताहरू अग्रपङ्Íिमा पर्छन्। राजनीतिक दलहरू, आपूm सत्ता र सरकारमा हुँदा सबै कुरा राम्रो देख्न र सत्ताबाट बाहिरिने बित्तिकै सरकार निर्माण गरेका दलहरूले गर्ने सबै काम खराब देख्ने रोगबाट ग्रसित हुन पुगेका छन्।

अहिले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोनरत छ। आन्दोलन गर्ने यो दलसँग आफ्नै कारण छन्। यो दलले गरेको आन्दोलन उचित छ वा अनुचित छ, त्यो विश्लेषण गर्ने उद्देश्य यो आलेखको होइन। यो आलेखको उद्देश्य कुनै पनि समस्याको समाधान सङ्घर्षद्वारा खोज्ने हाम्रो परम्परा अब समाप्त गर्नुपर्छ भन्ने सन्देश नेपाली जनतासमक्ष पुर्याउनु मात्र हो।

नेपालको आर्थिक स्थिति अहिले कुनै पनि किसिमको आन्दोलन सहन गर्ने अवस्थामा छैन। उल्टो, देशको आर्थिक विकासका लागि नेपाललाई दिगो शान्ति चाहिएको छ। देशभित्र रोजगार छैन। रोजगारको लागि विदेशिनुपर्ने बाध्यता छ। राष्ट्रिय शिक्षा नीति बेरोजगारी वृद्धि गर्ने नीति हुन पुगेको छ। कलेजहरू बेरोजगारी उत्पादन गर्ने कारखाना हुन पुगेका छन्। कलेजहरूले विद्यार्थीहरूमा आशा मात्र पनि जागृत गराउन सकिरहेका छैनन्। उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेका छन्। उद्योग र व्यापारको विकासको गति अति सुस्त हुन पुगेको छ। स्वदेशी उत्पादनमा ठूलो ह्रास आएर देश आयातमुखी बनेको छ। अहिले देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ। यदि देशमा शान्ति कायम गरेर राष्ट्रिय आर्थिक विकासको गति तीव्र नपार्ने हो भने देशको रूपमा अस्तित्व कायम राख्नसमेत कठिन हुन सक्छ।

कुनै पनि राष्ट्रको अस्तित्व कायम रहन आर्थिकरूपमा बलियो हुनु नै पर्छ। सुडान, इथियोपिया, सोभियत सङ्घ आर्थिकरूपमा कमजोर भएको हुनाले नै टुक्रिएका हुन्। सोभियत सङ्घ अमेरिका जत्तिकै आर्थिकरूपमा बलियो भइदिएको भए अनेक राज्यमा टुक्रिनुपर्ने अवस्था आउने थिएन।

संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका, नर्वे, फिनल्यान्ड, स्वीडेन, डेनमार्कजस्ता राष्ट्र आर्थिकरूपमा सक्षम भएका हुनाले नै स्थिर राष्ट्र बन्न पुगेका हुन्। स्थिर राष्ट्र हुनका लागि नेपालले तीव्र गतिमा आर्थिक प्रगति गर्नुको विकल्प छैन। यदि नेपाल यसैगरी अनेक किसिमका द्वन्द्व, सङ्घर्ष, आन्दोलनहरूको भुमरीमा रुमलिरहने हो भने नेपाल शक्तिराष्ट्रहरूको कठपुतली बन्न पुग्नेछ, स्वतन्त्र राष्ट्रको अस्तित्व गुमाउनेछ।

राजनीतिकरूपमा स्थिर राखेर नेपाललाई आर्थिक विकासको पथमा दौडाउने ऐतिहासिक जिम्मेवारी अहिले दुई दल नेपाली काङ्ग्रेस (नेका) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)ले पाएका छन्। यी दुई दल मिलेर सरकार निर्माण गरेका छन्। दुई दल मिलेर अगाडि बढेको यो स्थितिलाई यदि यी दुवै दलले आप्mना प्रतिस्पर्धी दल वा तिनका नेताहरूलाई क्षति पु¥याउने वा बदला लिने वा समाप्त पार्ने अवसरको रूपमा लिने हो भने जनतामाझ यी दुई दलले विश्वास त गुमाउनेछन् नै, नेपालको राजनीतिमा आफ्नो अस्तित्वसमेत सङ्कटमा पार्नेछन्।

नेपालमा चिरस्थायी शान्ति कायम गर्ने जिम्मेवारी अहिले नेका र एमालेको हातमा छ। यस महत्वपूर्ण दायित्वको बोध यी दुई दललाई हुन आवश्यक छ।

कुनै पनि राष्ट्रिय समस्याको समाधान यी दुवै दलले सुझबुझका साथ खोज्न आवश्यक छ। र यस्तो गर्नुमा यी दुवै दलको भलाई पनि छ। यी दुई दलको सहकार्यले देशमा सङ्घर्ष, द्वन्द्व बढाउने कार्य गर्नुहुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछाने– मुद्दाको सही समाधान खोज्ने जिम्मेवारी पनि यी दुई दलकै हो। यी दुई दलले यो मुद्दाको उचित समाधान खोज्नुपर्छ। अनुचित समाधान खोजेर देशमा सङ्घर्ष र द्वन्द्व बढाउने काम गर्नुहुँदैन।

आर्थिक विकासका लागि शान्ति र स्थिरता आवश्यक छ। आर्थिक विकासको गति अवरुद्ध भएमा देशको अस्तित्व नै सङ्कटमा पर्न सक्छ भन्ने तथ्य साना दलहरूले पनि बुझ्न आवश्यक छ। यदि देशमा ठूलो उथलपुथल भएर वर्तमान व्यवस्था परिवर्तन हुने स्थिति आएमा साना दलहरूको भविष्य अन्धकारमा डुब्नेछ। उनीहरूको अस्तित्व नै पनि समाप्त हुने स्थिति आउन सक्नेछ। यो तथ्यलाई बुझेर साना दलहरूले शक्ति र सत्ताको लागि दलाली गर्ने स्वार्थी बानी त्यागेर देशलाई राजनीतिकरूपमा कसरी स्थिर पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ।

देशलाई राजनीतिकरूपमा स्थिर राख्ने प्रमुख जिम्मेवारी जनताको हो, नेता र राजनीतिक दलहरूको होइन। इमानदार दल र नेताहरूको पहिचान गर्ने र उनीहरूलाई प्रोत्साहित गर्ने कार्य जनताले गर्नुपर्छ। यसैगरी, केवल इमानदार र कर्मठ जनप्रतिनिधिहरूको छनोट गर्ने र सत्ता र शक्तिका भोका राजनीतिकर्मीहरूलाई राजनीतिबाट बाहिर पठाउने कार्य जनताले गर्नुपर्छ। सही नेता छनोट गर्ने प्रमुख अभिभारा जनताको नै हो। खराब दल र नेताहरूको पछि लाग्ने कार्य बन्द गर्नुपर्छ इमानदार नेतालाई मात्र सहयोग र समर्थन गर्नुपर्छ।

नेपाल अहिले अस्थिर वा असफल राष्ट्र हुने स्थितिमा पुगिसकेको त छैन, तर स्थिति यस्तै रहने हो भने असफल राष्ट्र पनि हुन सक्छ। र नेपाललाई अस्तित्व रक्षाको सङ्कट पर्न सक्छ। यदि राजनीतिक दल र दलका नेताहरूले आफ्नो आचारण सुधार नगर्ने हो र नेपाललाई अनेक किसिमका सङ्घर्ष र द्वन्द्वमा पारिराख्ने हो भने नेपाल असफल राष्ट्रमा परिणत हुन सक्छ।

नेपाल असफल राष्ट्रमा परिणत हुने केही सङ्केत देखिन थालेका छन्। के के हुन् त ती सङ्केत। केही प्रतिनिधि सङ्केतहरू यस प्रकार छन्:

चरम निराशा: अहिले नेपालीहरूमा चरम निराशा देखिएको छ । मुख्यगरी नेपाली युवाहरूले आफ्नो देशभित्र, नेपालभित्र, आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन्। उनीहरूले स्वदेशलाई अति असुरक्षित अनुभूत गरिरहेका छन्। युवाहरूको यो अनुभूतिले उनीहरूलाई स्वदेश त्याग्न बाध्य पारिरहेको छ। अनेक देशमा पु¥याइरहेको छ। युवाहरू मात्र होइन, अहिले प्रौढहरू पनि नेपालमा बस्न अनिच्छुक हुन पुगेका छन्। स्वदेशलाई आर्थिकरूपमा असुरक्षित देखेर अहिले एक करोडभन्दा बढी नेपालीले स्वदेश त्याग गरेको अनुमान गरिएको छ। यदि ठूलो सङ्ख्यामा नागरिकले देश त्याग गर्नु सामान्य कुरा होइन। यो अति असामान्य कुरा हो, अति दुःखद कुरा हो।

अति अस्थिरता: नेपालको राजनीति अहिले अभूतपूर्व किसिमले अस्थिर हुन पुगेको छ। नेपालमा प्रजातन्त्र आएपछि देश राजनीतिकरूपमा स्थिर होला भन्ने विश्वास गरिएको थियो। तर भयो उल्टो। पञ्चायतकालमा बरु देशमा राजनीतिक स्थिरता थियो। देश शान्त थियो। देशमाथि देशवासीको आशा र भरोसा थियो।

एउटा सरकार एक वर्ष पनि टिक्न नसक्ने र शक्ति तथा सत्ताको लागि नेताहरूले जे पनि गर्ने परिपाटीले नेपाललाई अभूतपूर्व किसिमले अस्थिर पारेको छ। नेपालीहरूलाई अति निराश पारेको छ।

डरलाग्दो बेरोजगारी: बेरोजगारी अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ। देशभित्र रोजगार पाउन कठिन भएर रोजगारको लागि विदेश जानुपर्ने बाध्यता हुन पुगेको छ। राजनीतिक अस्थिरताले गर्दा देशभित्र उद्योग र व्यापारको विकास हुन सकिरहेको छैन। उद्योग र व्यापारको विस्तार हुन नसकेकोले श्रम–बजार अहिले अति सङ्कुचित हुन पुगेको छ। देशभित्र बेरोजगारी अति वृद्धि भएमा त्यसले देशलाई असफल राष्ट्रको श्रेणीमा पु¥याउन सक्छ।

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउने हो भने अब सबै राजनीतिक दल मिलेर काम गर्नुपर्छ। शक्ति र सत्ताको लागि तल्लोभन्दा तल्लो कार्य गर्ने बानी छोड्नुपर्छ। आफ्नो स्वार्थी बानीमा अङ्कुश लगाउनुपर्छ। विगतमा गरेका अनेक अर्थहीन सङ्घर्ष र तिनको परिणामबाट नेपालले आर्थिक विकास गर्न नसकेको स्थितिबाट पाठ सिकेर अब हामीले शान्ति–स्थापना र सहकार्यमा जोड दिनुपर्छ। यस्तो नगर्ने हो भने अब एक चौथाइ नेपाली मात्र देशभित्र देखा पर्ने छन्। नेपाल असफल राष्ट्र हुनेछ। विदेशी राष्ट्रहरूको कठपुतली बन्नेछ।

 विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in Prateek Daily: Tuesday, November 12, 2024

https://eprateekdaily.com/2024/11/12/76441/

No comments:

Post a Comment