Wikipedia

Search results

Thursday, December 31, 2020

Muktak Book "Muktak Marg" s Review

                            मुक्तक सङ्ग्रह "मुक्तक मार्ग" को समीक्षा


कृतिको नाम: मुक्तक मार्ग

कृतिकार: सुमन आचार्य

समीक्षक: विश्वराज अधिकारी

सुमन आचार्यद्वारा लिखित कृति ‘मुक्तक मार्ग’ – मुक्तक सङ्ग्रह हालै पढ्ने सुऔसर जुर्यो। त्यसबारे केही लेख्न पनि मन लाग्यो।

हुन त म मुक्तक विधाको जानकार होइन र मैले मुक्तकहरू लेखेको पनि छैन। केवल केही पढेको मात्र छु। त्यसकारण म यस कृतिको समालोचना गर्नै सामर्थ्य राख्दिन। तर एक पाठकको रुपमा भने उक्त कृतिबारे आफ्नो पाठकीय धारणा राख्न सक्छु जस्तो लाग्छ।

मैले भरखरै पढेको मुक्तक सङ्ग्रह भने 'बिरिमफुल' हो। यो सङ्ग्रह तीर्थ अधिकारीद्वारा लेखिएको हो। 

सुमन आचार्यका मुक्तकहरू अर्थपूर्ण र रोचक छन। तर केही मुक्तकहरू भने सामान्य किसिमका छन् र तिनलाई पाठकहरूले लामो समय सम्म स्मरण गर्न सक्ने देखिंदैनन। यथार्थका धरातलमा उभिएर भन्दा कल्पनाको बेगमा उडेर उनले केही मुक्तकहरू लेखेको अनुभव हुन्छ। जीवन र जगत् लाई जति शूक्ष्म किसिमले अवलोकन गर्यो त्येति नै गहिराइमा पसेर मानव व्यवहार र मनोविज्ञानबारे जानकारी पाउन सकिन्छ र त्यो जानकारीलाई आफ्नो रचनामा कुसलतापूर्वक, रुचिकर पारेर रुपान्तरण गर्न सकिन्छ। यसका लागि विभिन्न कृतिकारहरूको कृतिहरूको अध्ययन गर्नु पनि सहयोगी हुन पुग्छ, एक कृतिकारको लागि। यो मेरो व्यक्तिगत अनुभव म आर्चायसँग बाँड्न चाहन्छु।

जीवन र जगत्को  भोग एवं अवलोकन गरेर प्राप्त गरेका अनुभवलाई आचार्यले मुक्तकमा रोचक किसिमले रुपान्तरण गरेका गरेका छन्। यी मुक्तकहरू पढ्दा पाठकहरूले आचार्यको चिन्तन धारा र बौद्धिकता, दुबै सजिलै गरी थाहा पाउन सक्छन। मुक्तकहरूमा उनले प्राय: दृष्टा भएर पाठकहरूलाई जीवनका सुख र दु:खहरू दर्शाएको पाइन्छ। आफ्ना अनुभवहरू पाठकलाई सुनाएको पाइन्छ।

केही मुक्तकहरूले आधुनिक जीवनका विशेषताहरू पनि झल्क्याएका छन। आधुनिक जीवन दोहरो मापदण्डमा बाँचेको तथ्य प्रष्ट पारेका छन्।

नेपालमा बरिष्ठ कहलिएका साहित्यकारहरूले कनिष्ठका कृतिहरू नपढिदिने, चर्चा परिचर्चा नगरी दिने, समालोचना नगरिदिने, केवल मन्तव्य मात्र लेखिदिने एक किसिमको अव्यक्त चलन छ जुन नेपाली साहित्यिक विकासको लागि सही होइन, बाधक हो। हामीले नवोदित कृतिकारहरूको रचना, कृति अध्ययन र चर्चा गर्न आवश्यक छ। युवा पुस्ताका साहित्यकार सुमन आचार्यको यो कृति वरिष्ठहरूले पनि पढिदिनु होला, कनिष्ठहरूले पनि पढिदिनु होला भनी हार्दिक अनुरोध गर्दछु।

समग्रमा, सुमन आचार्यको यो मुक्त सङ्ग्रह ‘मुक्तक मार्ग’ पढ्ने क्रममा पाठकहरूले ‘एक खास’ किसिमको अनुभव सहितको आनन्द प्राप्त गर्ने छन् भन्नेमा म विश्वस्त छु। कृतिकार र उनको यो कृति ‘मुक्तक मार्ग’ को ख्याति विस्तार होस भनी शुभ कामना व्यक्त गर्दछु।

(C)विश्वराज अधिकारी

Friday, December 25, 2020

Economic Impact of the Election Amidst the Covid 19 Crisis-Article -307

 के चुनावले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ?

नेपालको राष्ट्रिय राजनीति अहिले मूलरूपमा चारजना व्यक्ति माधव नेपाल, झलनाथ खनाल, केपीशर्मा ओली र पुष्पकमल दाहालको क्रियाकलापवरिपरि घुमिरहेको छ। प्रत्यक्षरूपमा कार्य गरिरहेका र बाहिरबाट देख्न सकिने यी चार कर्ता (Actors) हरूको क्रियाकलापले गर्दा नै राष्ट्रिय राजनीतिमा नयाँ–नयाँ, उदेकलाग्दा र अपूर्व दृश्यहरू देखिएका छन्।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा वर्तमान प्रतिनिधिसभाको विघटन भएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिले २०७७ पुस ५ गतेबाट वर्तमान प्रतिनिधिसभा समाप्त भएको एवं २०७८ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुने जनाएको छ। नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षले नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाललाई उक्त दलको संसदीय दलको नेता चयन गरेको छ। आफ्ना पक्षधरहरूबाट माधव नेपाल पार्टी अध्यक्षमा छानिएका छन्। नेकपाको पार्टी अध्यक्ष रहेका केपीशर्मा ओली अध्यक्ष पदबाट हटाइएका मात्र छैनन्, साथै संसदीय दलको नेताबाट पनि नाटकीय किसिमले बर्खास्त गरिएका छन्। यी उदेकलाग्दा दृश्यहरूमाथि भनिएका चारजना कर्ताका क्रियाकलाप र दाउपेंचले गर्दा देखिएका हुन्। तर यस किसिमका दृश्य निर्माण गर्नमा यी चारजना कर्ताको मात्र भूमिका छैन। यीबाहेक अन्य धेरै अदृश्य कर्ता पनि छन्, जसले नेपालको राजनीतिमा हलचल र अस्थिरता पैदा गराउनमा विशेष किसिमको भूमिका निर्वाह गरिरहेका छन्। यस किसिमको स्थिति उत्पन्न गराउनमा दुई कर्ता भारत र चीनको भूमिका भने खास किसिमको छ। त्यसमा पनि भारतको भूमिका झनै खास र हस्तक्षेपकारी किसिमको छ।

नेपालमा केपी ओलीको कार्यकालमा बढ्दै गएको नेपालको राजनीतिमा चीनको भूमिका भारतलाई पटक्कै मन परेको थिएन, छैन। यो कारणले गर्दा भारत ओलीको सरकार पतन गराउन र त्यस ठाउँमा आफ्नो पक्षधर कर्ता (माधव नेपाल वा पुष्पकमल दाहाल) लाई ल्याउन प्रारम्भदेखि, ओली सरकार गठन भएदेखि, सक्रिय थियो र अहिले पनि छ। यस कारण यसरी अदृश्य कर्ताहरूले पनि नेपालको राजनीतिलाई कमजोर तुल्याउनमा विशेष भूमिका खेलेका छन्। विशेषगरी भारत, नेपालको राष्ट्रिय राजनीति कमजोर रहोस्, जसले गर्दा कमजोर नेपालको राष्ट्रिय राजनीतिबाट आफ्नो देशको हितमा काम गराउन ज्यादै सजिलो हुन्छ भन्ने वैदेशिक नीतिमा विश्वास गर्छ र सोही अनुसार उसले नेपालको राजनीतिलाई अस्थिर पार्छ। अस्थिर पार्न नयाँ–नयाँ रणनीति पनि निर्माण गर्छ। नेपालको राजनीतिलाई अस्थिर पार्न भारतले दृश्य (नेपाल, खनाल, दाहाल, ओली, देउवा आदि) कर्ताहरू एवं उनीहरूको स्वार्थलाई प्रयोग गर्छ। अर्कोतिर यी दृश्य कर्ताहरू पद र शक्तिमा रहन पाउने लोभमा भारतको हितमा काम गर्न सदा तत्पर रहन्छन्। भारतद्वारा स्वेच्छाले उपयोग हुन्छन्। यसरी यी कर्ताहरू नेपालको राजनीतिलाई अस्थिर पार्नमा अदृश्य कर्ताहरूभन्दा बढी दोषी छन्। यस किसिमका कर्ता (नेता) हरूबाट छुटकारा पाउन उनीहरूको स्थानमा देशको हितमा काम गर्ने नयाँ–नयाँ व्यक्तिहरूलाई राष्ट्रिय नेतृत्वमा ल्याउन आवश्यक छ। र केवल निर्वाचनद्वारा मात्र यी पुराना नेताहरूलाई विस्थापित गरेर नयाँ नेताहरूको उदय गराउन सकिन्छ। यो कारणले गर्दा पनि तत्काल निर्वाचन हुन आवश्यक देखिन्छ र हुनु उपयुक्त हुन्छ।

अब हुने निवार्चनले पुरानालाई हटाएर राष्ट्रवादी एवं इमानदार नेताहरूको चयन गर्नेछ। उनीहरूले नेपालको हितमा काम गर्नेछन्। र त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा सकारात्मक किसिमले पर्नेछ। पुराना नेताहरूले व्यक्तित्वको लडाइँमा मात्र बढी समय खर्च गरे। एमाले होस् वा काङ्ग्रेस, दुवै दलका पुराना नेताहरूले शक्ति र पद हात पार्न २०४६ सालदेखि अहिलेसम्म केवल षड्यन्त्र मात्र गरे। देशको आर्थिक विकासका लागि गम्भीर किसिमले चिन्ता वा चिन्तन गरेनन्। देउवा र गिरिजाको व्यक्तित्व टकराव, देउवा र रामचन्द्रको व्यक्तित्व टकराव, नेपाल–दाहाल–खनाल–ओलीको व्यक्तित्व टकराव र यस्तै अन्य दलका नेताहरूबीचको व्यक्तित्व टकरावले नेपाली राजनीतिलाई उल्टो दिशामा पु–याउनमा विशेष योगदान पु–याएको छ। यी पुराना नेताहरूलाई विस्थापित गराउन पनि नयाँ निर्वाचन हुन आवश्यक छ।

प्रतिनिधिसभा पुनस्र्थापित भएपनि देशको राजनीतिले स्थिरता पाउने अपेक्षा गर्न सकिंदैन किनभने राजनीतिक नेतृत्व पुनः यही पुराना नेताहरूको पकडमा रहनेछ। यस्तो स्थितिमा जब बहुमत प्राप्त गरेको दलले सरकार चलाउन सकेन भने मिलिजुली सरकार बनेमा त्यो सरकारले झन् के राजनीतिक स्थिरता दिन सक्ला? जब एउटै दलभित्र, एउटा नेताले अर्को नेतामाथि प्रम पद प्राप्त गर्न अन्तर्घात गर्छ भने मिलिजुली सरकार बनेमा एउटा दलको नेताले अर्को दलको नेतामाथि अन्तर्घात गरेर सरकार पतन नगराउला भन्न सकिंदैन। अर्कोतिर नेकपा आफ्नै दलभित्रको डरलाग्दो द्वन्द्वमा फसेकोले उसले एक्लैले स्थिर सरकार दिने सम्भावना टाढा–टाढासम्म पनि देखिंदैन।

यो आलेखले राष्ट्रिय राजनीतिको विश्लेषण गर्न खोजेको भने होइन। यसको उद्देश्य आर्थिक विश्लेषण गर्नु मात्र हो। माथि भनिएका कुराहरू नेपालको अर्थतन्त्रसँग जोडिएको हुनाले मात्र प्रसङ्गवश तिनको चर्चा गरिएको हो। हुन पनि दाहाल जस्ता कर्ताहरूले नेपालको अर्थतन्त्रलाई खराब पार्नमा उल्लेखनीय भूमिका खेलेका छन्।

यो आलेखको उद्देश्य भने यदि नेपालमा तत्काल चुनाव भएमा त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावको विश्लेषण गर्नु हो। चुनावको आर्थिक पक्षको चर्चा गर्नु हो।

नेपालमा प्रतिनिधिसभाका लागि तत्काल निर्वाचन भएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। देशको अर्थतन्त्रमा कसरी सकारात्मक प्रभाव पार्नेछ, त्यसबारे चर्चा गरौं।

यदि चुनाव भएमा मुलुकमा अनेक किसिमका आर्थिक क्रियाकलापहरू हुनेछन्। पर्चा, पम्प्लेट लेखिनेछन्, छापिने छन्। प्रेसहरूले काम पाउनेछन्। ब्यानरहरू लेखिनेछन्, झुन्ड्याइनेछन्। आवागमनमा वृद्धि हुनेछ। यातायातसँग सम्बद्ध मजदूर एवं व्यवसायीहरूका लागि आय सृजना हुनेछ। किनबेचमा वृद्धि हुनेछ। नयाँ–नयाँ कामहरूको सृजना भएर बेरोजगारीहरूले स्थानीयस्तरमा काम पाउनेछन्। यसरी यस किसिमका कार्यहरू भएर सुस्त हुन गएको राष्ट्रिय अर्थतन्त्रले केही गति पाउनेछ।

प्रतिनिधिसभाको चुनावमा लगभग ७ देखि १० अरब रुपैयाँ खर्च हुने देखिन्छ। यो खर्चको लागि अवश्य पनि राष्ट्रले ऋण लिनुपर्ने हुनेछ। बरु यो ऋण कम ब्याजदरमा लिए हुन्छ। तर वर्तमान परिप्रेक्ष्यमा कोभिड–१९ ले राष्ट्रिय अर्थतन्त्रलाई अति सुस्त पारेको स्थितिमा समयपूर्व गराइएको चुनावले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव नै पार्ने देखिन्छ।

कोभिडले देशको अर्थतन्त्रलाई ज्यादै प्रतिकूल प्रभाव पारेको हुनाले त्यो प्रभावको असरलाई कम पार्न तथा जनतालाई आर्थिक राहत दिन विभिन्न राष्ट्रहरूले आफ्नो जनतालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। बिट्रेन, अमेरिका आदिले फिर्ता नगर्नुपर्ने गरी आफ्ना नागरिकहरूलाई नगद सहयोग उपलब्ध गराएका छन्। अमेरिकाले हालै पुनः दोस्रो खेपमा जनतालाई नगद आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

वर्तमान परिप्रेक्ष्यमा, सुस्त हुन गएको देशको अर्थतन्त्रलाई गति दिन एवं कमजोर आर्थिक स्थिति भएका आफ्ना नागरिकहरूलाई सहयोग गर्न कुनै पनि राष्ट्रले नगद वितरण गर्नु आवश्यक हुन आउँछ। राष्ट्रको आर्थिक स्थिति कमजोर भएको कारणले गर्दा नेपालले आफ्ना नागरिकहरूलाई कोभिडको आर्थिक कुअसरबाट जोगाउन खास किसिमको सहयोग गर्न सकेको छैन। यो कारणले पनि चुनाव गर्दा आर्थिक क्रियाकलाप बढ्ने हुनाले पनि नेपालले चुनाव गराएमा त्यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा बेरोजगारीहरूको हातमा आय पर्ने एवं केही कमजोर आर्थिक स्थिति भएका व्यक्तिहरूको उक्त स्थितिमा सुधार आउने देखिन्छ।

धेरै व्यक्तिले यदि चुनाव भएमा त्यसले अनावश्यक किसिमले खर्च बढ्ने, राष्ट्रिय ऋणमा वृद्धि हुने भनी चिन्ता व्यक्त गरिरहेका छन्। चुनाव त हुनैपर्छ। अहिले नभए पनि तोकिएको समयमा त चुनाव गर्नैपर्छ। हुन्छ नै। फरक यति मात्र छ कि अहिले चुनाव गराउँदा तोकिएको मितिभन्दा केही पहिले चुनाव हुन पुग्छ। तर त्यसले केही बिगार्दैन। तोकिएको समयभन्दा पहिले चुनाव भएमा अहिलेको स्थिति खास किसिमको स्थिति भएकोले चुनाव हुनु राष्ट्रिय अर्थतन्त्रको लागि फाइदाजनक नै हुनेछ। चुनाव भएर देश अस्थिरतातिर नजान पनि सक्छ। तत्काल चुनाव भएमा उल्टो नयाँ र इमानदार नेताहरू राष्ट्रिय राजनीतिमा आउने सम्भावना बढेर जान्छ। इजराइलमा केही दिनपछि चुनाव हुँदैछ। र यो चुनाव दुई वर्षभित्रमा चौथोपटक हुन गइरहेको छ। यसैगरी, बेलायतमा पनि केही महीना पहिले तोकिएको समयभन्दा पहिले चुनाव भएको थियो। घरी–घरी चुनाव हुनुले भन्दा नेताहरूको व्यवहारले देशको आर्थिक स्थिति खराब हुने हो। प्रजातन्त्रमा चुनाव त भइ नै रहन्छ।

नेपालको सन्दर्भमा यो चुनाव (यदि भएमा) ले इमानदार र राष्ट्रवादी नेता छानेर ल्याएमा चुनावी खर्चलाई सकारात्मकरूपमैं लिनुपर्ने हुन्छ। त्यो चुनावी खर्च ऋण नै गरेर गरिएको भए तापनि त्यो चुनावी खर्चले इमानदार नेताहरू ल्याउनेछ। ती इमानदार नेताहरूले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु–याउनेछन्। यी पुराना नेताहरू जस्तो झगडा, दाउपेंच, घात, अन्तर्घातमा राष्ट्रनिर्माण गर्ने समय खेर फाल्नेछैनन्।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, December 25, 2020

http://www.prateekdaily.com/2020/12/blog-post_694.html

Friday, December 18, 2020

Post-Covid 19 World Economy: Article- 306

 कोरोना सङ्कटपछिको विश्व अर्थव्यवस्था

ग्रेट ब्रिटेनले केही दिन पहिले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। यसैसाथ त्यहाँका नागरिकले सो खोप पाउने क्रम जारी रहनेछ। क्यानडाले पनि आफ्नो नागरिकलाई छिटै कोरोनाविरुद्ध खोप उपलब्ध गराउने जनाएको छ।

अमेरिकाले पनि आफ्नो नागरिकलाई हिजो (डिसेम्बर १४, २०२०) देखि कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। आफ्ना नागरिकलाई खोप दिने अभियान अमेरिकाले जारी राख्ने समाचारहरूले उल्लेख गरेका छन्। अमेरिकामा उक्त खोप सर्वप्रथम कसलाई, त्यसपछि कसलाई दिने भन्ने प्राथमिकता निर्धारण गरिएको छ र सोही अनुसार खोप उपलब्ध हुने सूचना जारी भएको छ। खोप पाउन पहिलो प्राथमिकता भने स्वास्थ्य सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूले पाएका छन्। दोस्रो प्राथमिकतामा अति संवेदनशील एवं अत्यावश्यक सेवा प्रदान गर्ने संस्थासँग आबद्ध कामदारहरू परेका छन्।

विभिन्न देशले आफ्नो नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ गरेसँगै विगत नौ महीना (२०२० मार्चदेखि तीव्ररूपमा फैलिएको) देखि मानवताविरुद्ध अति आतङ्क मचाइरहेको कोरोना सङ्कटको गतिमा अब केही सुस्तता आउने पक्का छ। हुन पनि कोरोना सङ्कटले स्वास्थ्य क्षेत्रमा जति क्षति पु–यायो त्योभन्दा बढी आर्थिक क्षेत्रमा क्षति पु–यायो। आर्थिक क्षेत्रमा व्यापारीहरूले अति घाटा खाने, व्यापार बन्द गर्नेजस्ता कार्य मात्र भएन, रोजगार गुमाएका कैयौं व्यक्तिले आत्महत्यासमेत गरे। विश्वभरिका अनेक देशमा कोरोनाको कारण रोजगार गुमेर, जीवन निर्वाह कठिन भएर, हजारौंको सङ्ख्यामा मानिसले आत्महत्या गरे। कोरोनाले विश्वभरि लाखौं व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नराम्रो असर पा–यो। कोरोना सङ्कटकालले गर्दा मानसिकरूपमा बिरामी हुन पुगेका व्यक्ति पूर्ववत् स्थितिमा आउन वर्षौं लाग्नेछ। यो कोरोना सङ्कट विश्व इतिहासमा नै ठूलो पीडादायी साबित भयो। 

कोरोनालाई पूर्ण नियन्त्रण गर्न लामो समय नै लाग्नेछ, किनभने गरीब राष्ट्रका नागरिकसमक्ष कोरोनाविरुद्ध खोप पुग्न वर्षौं लाग्न सक्छ। गरीब देशका सरकारहरूको कमजोर क्रयशक्ति र व्याप्त अनियमितता र भ्रष्टाचारले गर्दा त्यहाँका नागरिकसमक्ष कोरोनाविरुद्ध खोप सजिलै पुग्न वर्षौं लाग्न सक्छ। बृहत् परिमाण र सजिलै, कोरोनाविरुद्ध खोप विभिन्न मुलुकमा उत्पादन नभएसम्म यो खोप सस्तो र सर्वसुलभ हुने सम्भावना देखिंदैन। तर पनि कोरोनाविरुद्ध खोपको आविष्कार र त्यसको व्यापारीकरणले गर्दा विश्व समुदायमा एक किसिमको उत्साहको सञ्चार भने अवश्य भएको छ। हताशामा बाँचेकालाई आफ्नो निराशाको स्तर कम पार्न कोरोनाविरुद्ध खोपको आविष्कार बलियो सम्बल हुनेछ। यसले थप आशा, भरोसा र आँट दिनेछ।

कोरोनाविरुद्ध खोपको विकास र प्रयोगसँगै अर्थशास्त्री एवं सम्बद्ध पक्षबीच एउटा बहस प्रारम्भ भएको छ। त्यो बहस कोरोना सङ्कटपछि विश्व अर्थव्यवस्था कस्तो हुनेछ भन्ने हो।

कोरोनाविरुद्ध खोपको उपलब्धतासँगै विश्व अर्थव्यवस्थमा ठूलो सुधार आउने अनुमान गरिएको छ। अझै कतिपयले विश्व अर्थव्यवस्था तीव्र गतिमा विकास पथमा दौडिने विश्वाससमेत व्यक्त गरिरहेका छन्।

लामो समयसम्म निष्क्रिय रहेको पूँजीलाई अब आउने दिनमा व्यवसायी एवं उद्योगीहरूले थप सक्रियता एवं कुशलतापूर्वक उपयोग गर्नेछन्। उनीहरूले गुमेको उत्पादन थप उत्पादन गरेर पूर्ति गर्ने प्रयास गर्नेछन्। र त्यो थप उत्पादनका लागि थप माग पनि सृजना हुनेछ किनभने उत्पादन गतिविधिमा तीव्र वृद्धि भएकोले रोजगार वृद्धि भएर उपभोक्ताहरूको आयमा पनि वृद्धि हुनेछ। यसरी वृद्धि भएको आय (पहिलेको भन्दा) ले उपभोक्ताहरूलाई थप दैनिक आवश्यकताका वस्तु खरीद गर्न उत्प्रेरित नगरे पनि अर्ध एवं पूर्ण विलासी वस्तु खरीद गर्न अति उत्प्रेरित गर्नेछ। अर्कोतिर लामो समयसम्म नियमित काम नपाएका कामदारहरू (ह्वाइट र ब्लुकलर दुवै) थप जोश र जाँगरका साथ तथा लामो समयसम्म काम गर्न तत्पर हुनेछन्। यस्ता कार्यले वित्तीय बजारमा सकारात्मक असर पार्नेछ र त्यो सकारात्मक प्रभावले उत्पादनमा हुने वृद्धिलाई निरन्तरता दिनेछ। यी कारणहरूले गर्दा कोरोना सङ्कटपछिको विश्व अर्थव्यवस्था थप लाभदायी एवं जनहितकारी हुने सम्भावना बढेर गएको छ। निराश हुने ठाउँ देखिंदैन।

कोरोना सङ्कटपछिको समयलाई अमेरिकामा भएको प्रशासन परिवर्तनले पनि सकारात्मक प्रभाव पार्नेछ। अमेरिकी प्रशासन परिवर्तनले गर्दा अमेरिका र चीनबीच हुने व्यापार विवादले सुस्तता पाउनेछ र त्यसको प्रभाव विश्व व्यापारमा सकारात्मक किसिमले पर्नेछ। अमेरिकी प्रशासन परिवर्तनले विश्व आर्थिक शक्तिकेन्द्र (Economic Powerhouse) हरू जस्तै अमेरिका, चीन, जापान, जर्मनी, फ्रान्स, बेलायत आदिलाई आर्थिक विकासका लागि मिलेर कार्य गर्न अनुकूल वातावरण प्रदान गर्नेछ।

कोरोना सङ्कट अवधिभर कार्य गर्ने अनेक किसिमका नयाँ शैली विकसित भएका छन्। यी शैलीहरूले उत्पादन लागत कम पार्न सघाउ पु–याउनेछ। उदाहरणका लागि कोरोना सङ्कट अवधिभर थुप्रै व्यक्तिले घरमैं बसेर काम गरे। यसैगरी, घरमा नै बसेर ‘व्यावसायिक मिटिङ’ आदि पनि गरे। यस्ता कार्यहरूले कामदारहरूको समय बचत हुन पुगेको थियो भने यातायातमा हुने ठूलो खर्चमा कमी पनि आएको थियो। ’भर्चुअल’ मिटिङले पनि लागत नियन्त्रण गर्न सघाउ पु–याएको थियो। सबैभन्दा ठूलो कुरा त ‘प्रत्यक्ष सम्पर्कमा नआएर’ पनि अनेक किसिमका व्यापार सञ्चालन गर्न सकिन्छ भन्ने बोध व्यावसायिकजगत्का व्यक्तिहरूले बलियो किसिमले गरे। हुन पनि ‘घरमैं सामान पु–याइदिने’ सेवा व्यवसायले यो अवधिभर अन्य व्यवसाय जस्तो सङ्कट बेहोर्नुपरेन, घाटा खानुपरेन। ‘अनलाइन सपिङ’को दुनियाँमा ज्यादै ख्याति कमाएको अमेरिकी संस्था ‘अमेजन’ को व्यवसायमा यो अवधिमा कुनै पनि किसिमको समस्या आएन, उल्टो राम्रो मुनाफा हात लाग्यो।

कोरोना सङ्कटपछिको समयले विश्व पर्यटन व्यवसायलाई पनि राम्रो प्रभाव पार्नेछ। कोरोना रोग निको हुने सुनिश्चिततासँगै लामो समयसम्म एउटै स्थानमा विरक्तिएर बसेका व्यक्तिहरू अब अनेक स्थानको भ्रमणमा निस्किन प्रोत्साहित हुनेछन्। लामो एकाङ्की बसाइले उनीहरूलाई घुमफिर गर्न घचघच्याउने छ। र यो कारणले गर्दा विश्व पर्यटन व्यवसायले तीव्रता पाउनेछ। व्यक्तिहरूले पर्यटन क्षेत्रमा गर्ने ठूलो खर्चले विश्व अर्थव्यवस्थामा खुशहाली ल्याउन थप बल पुग्नेछ।

कोरोना सङ्कटकालमा सुस्त हुन पुगेको अन्तर्राष्ट्रिय श्रम बजारले पनि राम्रो गति पाउनेछ। अन्तर्राष्ट्रिय बजारमा श्रमको मागमा वृद्धि हुनुको साथै आपूर्ति पनि वृद्धि हुनेछ। श्रमिकहरूको आय वृद्धि हुनेछ।

यस किसिमका अनेक कार्यले गर्दा कोरोना सङ्कटकालपछिको विश्व अर्थव्यवस्था राम्रो हुनेछ। विभिन्न राष्ट्रमा आर्थिक विकासको गतिले तीव्रता लिनेछ। समग्रमा विश्व अर्थव्यवस्था थप बलियो हुनेछ।

कोरोना सङ्कटकालपछि विश्व अर्थव्यवस्थामा आउने तीव्र सुधारको स्थिति नेपालजस्तो राष्ट्रको लागि राम्रो अवसर पनि हुन सक्छ। यो स्थितिबाट मुख्यगरी पर्यटन व्यवसाय र अन्तर्राष्ट्रिय श्रम बजारबाट नेपालले राम्रो आम्दानी प्राप्त गर्न सक्छ। योजानबद्ध किसिमले नेपालका नीति निर्माताहरूले कार्य गर्ने हो भने नयाँ सृजना भएको यो अवसरको राम्ररी उपयोग गर्न सक्छन्। त्यस कारण निर्णय तहमा बसेकाहरूले यो नयाँ अवसरको उपयोग गर्न अनेक किसिमका नयाँ–नयाँ रणनीति निर्माण गर्न आवश्यक छ।

यसैगरी, नेपालका व्यवसायीहरूले पनि आकस्मिक किसिमले सृजित यो नयाँ स्थिति (उत्तरकोरोना सङ्कटकाल) को राम्ररी उपयोग कसरी गर्न सकिन्छ भनी गम्भीरतापूर्वक सोच्न आवश्यक छ। हामीले नेपाललाई भ्रमणमैत्री राष्ट्र बनाउनेतर्फ बढी ध्यान दिन आवश्यक छ। यसका लागि नेपाल सरकारले गम्भीर भएर सोच्न आवश्यक छ। कोरोना सङ्कटले विगतमा जति दुःख दियो, त्यति नै यसले अब भविष्यमा नयाँ–नयाँ अवसरको सृजना गर्ने  सङ्केत गर्दैछ। हामीले ती अवसरहरूको पहिचान गर्ने र तिनको उपयोग गरेर राम्रो आय हात पार्न चुक्नु भने हुँदैन।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, December 18, 2020

http://www.prateekdaily.com/2020/12/blog-post_185.html

Friday, December 11, 2020

Importance of Information Management in Nepalese Economy-Article-305

 नेपाली व्यावसायिक जगत्मा ज्ञानको महत्व

व्यावसायिक जगत्मा सूचना एवं जानकारीको ठूलो महत्व हुन्छ। त्यतिकै ठूलो महत्व कसैले प्राप्त गरेको खास अनुभवको पनि हुन्छ। सूचना, जानकारी एवं अनुभवको महत्व पैसाभन्दा पनि ठूलो हुन्छ। तर हाम्रो व्यावसायिक जगत्मा सूचना, जानकारी एवं अनुभवलाई राम्ररी व्यवस्थित गर्न सकिएको छैन। न यी कुराहरूको कुशल उपयोग गर्न सकिएको छ। यसको प्रभावकारी हस्तान्तरण पनि गर्न सकिएको छैन। राम्ररी अभिलेख राख्न नसकिएको हुनालेनै प्रभावकारी उपयोग र हस्तान्तरण गर्न नसकिएको हो। र यी सबै कुरा ज्ञानको कमीले गर्दा भएको हो। हामीमा ज्ञानको ज्यादै अभाव छ। ज्ञानको विकास र विस्तारको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ। र गरीबीबाट मुक्ति पाउन ज्ञानको विकास एवं विस्तार आवश्यक छ। नयाँनयाँ ज्ञानको खोजी गर्न आवश्यक छ।

नेपालमा केही व्यक्तिले व्यावसायिक क्षेत्रमा ठूलो सफलता प्राप्त गरेका छन्। उनीहरूले त्यो सफलता पाउन अनेक सङ्घर्ष गरे, दुःख–कष्ट सहे। अनेक रणनीति विकास गरे। अनेक योजना बनाए। नयाँनयाँ एवं रचनात्मक सोचको विकास गरे। तर तिनको ज्ञान, सूचना एवं जानकारी अर्को पुस्तामा वा सम्बन्धित क्षेत्रका व्यक्तिमा हस्तान्तरण हुन सकेन। ती सफल व्यक्तिले आफ्नो सफलताका सूत्र वा व्यावसायिक नीति अथवा अनुभव केवल आफ्ना परिवारका सदस्यहरूलाई मात्र हस्तान्तरण गरे। सार्वजनिक गरेनन्।

नेपालको व्यापारिक क्षेत्रमा चौधरी, गोल्छा, केडिया, खेतान, ज्योतिजस्ता व्यापारी पारिवारहरूले व्यापारमा ठूलो सफलता हासिल गरे। उनीहरूको व्यापारको आकार निकै ठूलो थियो। अहिले पनि छ। तर उनीहरूको व्यापारिक अनुभव सम्बन्धित क्षेत्रका मानिस (व्यापार विषयका विद्यार्थी, व्यापार गर्ने सोच भएका व्यक्ति) सम्म पुग्न सकेन। केवल परिवारका केही व्यक्तिमा सीमित रह्यो। उनीहरूले प्राप्त गरेका ज्ञान वा अनुभवको हस्तान्तरण हुन सकेन।

वीरगंजबाट व्यापार आरम्भ गरेका बृजलाल (छोटकरीमा बिर्जुबाबू पनि भन्ने गरिन्थ्यो) केडियाको नाम नेपालका सफल व्यापारीमा पर्दछ। उनको आर्थिक स्थिति र व्यापारको आकार प्रारम्भमा निकै सानो थियो। तर अनेक सङ्घर्ष गरेर उनले प्राप्त गरेको व्यापारिक सफलताले उनलाई एक ठूलो व्यापारी बनायो। उनको व्यापार वीरगंजसम्म सीमित रहेन। नेपालभरि फैलियो।

केडियाले व्यापार प्रारम्भ धान चामल खरीद–बिक्रीबाट गरेका थिए। वीरगंजमा उनको ठूलो (त्यस बेलाका लागि निकै ठूलो) चामल मिल थियो। केडियाले ठूलो परिमाणमा धान खरीद गर्थे। त्यो धान आफ्नो मिलमा कुटेर चामल बनाउँथे। त्यो चामल भारततर्फ निकासी गर्दथे। त्यसबेला उनले ठूलो परिमाणमा चामल भारततर्फ निर्यात गर्दथे।

केडिया एक कुशल व्यापारी थिए। उनले व्यापारिक अवसर राम्ररी चिनेका थिए। चितवन, पर्सा, बारा, रौतहट, सर्लाही धान उत्पादनका लागि भर गर्न सकिने, लाभदायक जिल्ला हुन् भन्ने उनलाई थाहा थियो। हुन पनि त्यसबेला यी जिल्लामा ठूलो परिमाणमा धान उत्पादन हुन्थ्यो। एक किसिमले यी जिल्लाहरूको मुख्य बाली नै धान थियो। र बजारमा प्रतिस्पर्धा न भएकोले कृषकहरूबाट धान सस्तोमा खरीद गर्न सकिन्थ्यो। यी जिल्ला मात्र होइन, नेपालका तराईका अन्य जिल्लामा पनि ठूलो परिमाणमा धान उत्पादन हुन्थ्यो र ठूलो परिमाणा चामल भारत निर्यात हुन्थ्यो। केडियाले त्यो व्यापारिक अवसर चिने। त्यो अवसरको राम्ररी प्रयोग गरे। धान खरीद गर्ने, चामल बनाउने, त्यो चामल भारत निर्यात गर्ने। यस्तो किसिमको निर्यात व्यापारबाट केडियाले राम्रो आम्दानी प्राप्त गरे। ठूलो सफलता प्राप्त गरे। तर उनको सफलताको कथा सूचना वा जानकारीको रूपमा, वा व्यापारिक ज्ञानको रूपमा सामान्य व्यक्तिसम्म पुग्न सकेन। व्यापार गर्न चाहने युवा पुस्ता एवं नयाँ पुस्तासम्म पुग्न सकेन। उनको सफलताको कथा केवल उनको परिवारका सदस्यहरूमा मात्र सीमित हुन पुग्यो। जबकि उनको त्यो सफलता वा अनुभवबाट थुप्रै व्यक्ति लाभान्वित हुन सक्थे। व्यापार गर्ने सफल तरीका सिक्थे।

नेपालमा केडिया मात्र होइन, अन्य थुप्रैले कडा सङ्घर्ष गरेर सफलता हासिल गरेका छन् तर तिनको अनुभव पारिवारिक सदस्यहरूमा मात्र सीमित हुन पुगेको छ। व्यापार गर्न चाहने अनेक व्यक्तिमा हस्तान्तरण हुन सकेको छैन। यस्तो किन भएको हो भने हामी कहाँ अनुभवको व्यवस्थापन र हस्तान्तरण गर्ने परिपाटीको ठूलो अभाव छ।

नेपालका कलेजहरूमा व्यापार विषय पढ्ने विद्यार्थीहरूलाई नेपालका ठूला–ठूला व्यापारिक सङ्गठनहरूमा लगेर व्यापारी वा प्रमुख पदाधिकारीबाट व्यापारसम्बन्धी ज्ञान लिन लगाइएको कमै पाइन्छ। तर त्यस्तो गर्नु आवश्यक हुन्छ। विद्यार्थीहरूलाई व्यापारको कोरा ज्ञान पढाएर मात्र हुँदैन। उनीहरूलाई व्यापारको व्यावहारिक ज्ञान दिनुपर्छ। अनि मात्र व्यापारमा सफल हुन्छन्। शिक्षामा गरिएको लगानीको राम्रो प्रतिफल पाउँछन्। आफू पनि रोजगारी हुन्छन् र अरूलाई रोजगार दिन्छन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारमा सफलता प्राप्त गरेका वा धनी राष्ट्रहरूमा व्यापारिक ज्ञानको व्यवस्थापन एवं हस्तान्तरण प्रभावकारी किसिमले गरिएको पाइन्छ। ती राष्ट्रहरूले व्यापारिक ज्ञानलाई पनि एक किसिमको पूँजी वा सीपको रूपमा लिएका छन्। र यो कारणले गर्दा व्यापारमा प्रगति गरेका छन्।

उदाहरणको रूपमा अमेरिकामा गरिने व्यापारिक ज्ञानको व्यवस्थापन एवं हस्तान्तरणबारे चर्चा गरौं। अमेरिकामा गैरमुनाफामूलक एउटा संस्था छ जसको नाम स्कोर (SCORE-Service Corps of Retired Executives) () हो। यस संस्थासँग आबद्ध भएर विगतमा व्यापार गरेका (व्यापारनिवृत्त) व्यापारधनी (business owners), कार्यकारी प्रमुख (executives) तथा व्यक्तिविशेष (individuals) ले व्यापार गर्न चाहनेलाई आफ्नो अनुभव सुनाएर सहयोग गर्छन्। कसरी व्यापार स्थापना गर्ने र त्यसको सञ्चालन गर्नेबारे जानकारी (सीप) दिन्छन्। व्यापार गर्दा उत्पन्न समस्या समाधान गर्न राय दिन्छन्।

खासगरी सानो पूँजीमा व्यापार सञ्चालन गरेका व्यापारधनीहरूले स्कोरबाट व्यापारसम्बन्धी अनेक किसिमका उपयोगी जानकारी प्राप्त गर्छन्। यो संस्थाको स्थापना सन् १९६४ मा भएको थियो। यो संस्थाले अनलाइन पनि जानकारी एवं सूचना सम्बन्धित व्यक्ति समक्ष पु–याउने गर्दछ।

स्कोर अमेरिका एउटा बृहत् सङ्गठन हो। यसले राष्ट्रव्यापीरूपमा कार्य गर्छ। यसको उद्देश्य मुनाफा गर्नु नभएर व्यापारिक ज्ञान बाँड्नु हो। ज्ञानको प्रभावकारी व्यवस्थापन एवं वितरण तथा हस्तान्तरण गर्नु हो। स्कोरसँग आबद्ध भई विगतमा व्यापार गरेर अनुभव बटुलेका १० हजारभन्दा बढी पूर्व व्यापारीहरूले निश्शुल्क सेवा प्रदान गरिरहेका छन। अर्थात् ती पूर्व व्यापारी वा पूर्व कार्यकारी प्रमुखहरूले व्यापार गर्न चाहने व्यक्तिलाई व्यापार गर्न सिकाइरहेका छन्। व्यापार गर्न सहयोग गरिरहेका छन्। आफ्नो व्यापारिक अनुभव उनीहरूलाई हस्तान्तरण गरिरहेका छन्। स्कोरले अहिलेसम्म एक करोड दस लाखभन्दा बढी व्यक्तिलाई व्यापारसँग सम्बन्धित सूचना एवं जानकारी दिएर सहयोग गरिसकेको छ।

अमेरिकामा ज्ञानको विकास, प्रयोग एवं व्यवस्थापन व्यवस्थित किसिमले गरिन्छ। कुनै व्यक्तिले व्यापारिक क्षेत्रमा प्राप्त गरेको ज्ञानलाई अति महत्व दिइन्छ र संस्थागत पनि गरिन्छ। र त्यस ज्ञानको हस्तान्तरण गरिन्छ। अमेजनको जनक जेफ बेजोज हुन् वा माइक्रोसफ्टका जनक बिल गेट्स, यसैगरी एपलका जनक स्टिभ जब्स, यी सबैका ज्ञान (कुशलता) लाई कम्पनी स्थापना गरेर व्यवस्थित गरिएको छ। यी व्यक्ति भोलिका दिनमा नभए पनि उनीहरूले विकास गरेको ज्ञानबाट आउने पीढी लाभान्वित हुने क्रम जारी रहने छ। देशले फाइद पाइनै रहने छ।

हामीकहाँ ज्ञानको व्यवस्थापन र त्यसको हस्तान्तरण व्यवस्थित किसिमले गर्ने कुशल परिपाटीको विकास गर्नु अत्यावश्यक छ। नेपालका सफल व्यापारी एवं व्यापारिक सङ्गठनका प्रमुखहरूले अवकाश प्राप्त गरेपछि एउटा सङ्गठन स्थापना गरेर त्यसमार्फत व्यापार विषयका विद्यार्थी तथा व्यापार गर्न चाहने व्यक्तिलाई आफ्नो अनुभव बाँड्ने हो भने नेपालको व्यापारिक विकासमा ठूलो योगदान पुग्ने थियो। नयाँनयाँ व्यापारको सृजना भएर रोजगार विस्तार हुने थियो। देशको आर्थिक विकासमा टेवा पुग्ने थियो।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, December 11, 2020

http://www.prateekdaily.com/2020/12/blog-post_326.html

Friday, December 4, 2020

Change in American Administration and Its Impact on Global and Nepalese Econoy-Article-304

अमेरिकी प्रशासन परिवर्तनको नेपाल र विश्व अर्थतन्त्रमा प्रभाव

अमेरिकी प्रशासनमा छिटै परिवर्तन हुँदैछ। २०२१ जनवरी २० मा बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सङ्घीय प्रशासनको सर्वोच्च पद, राष्ट्रपति पद, हस्तान्तरण गर्नुपर्नेछ। जनवरी २० मा राष्ट्रपति पद हस्तान्तरण र ग्रहणपछि अमेरिकी प्रशासनमा परिवर्तन हुनेछ।

अमेरिकाको संविधानले बहालवाला राष्ट्रपति र नवनिवार्चित राष्ट्रपति गरी, करीब तीन महीना  देशमा दुई राष्ट्रपति रहने व्यवस्था गरेको छ। बहालवाला राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई आर्थिक, राजनीतिक, सुरक्षा, सञ्चार आदि विषय व्यवस्थित किसिमले अवगत गराउन यस्तो व्यवस्था गरिएको हो।

अमेरिकामा राष्ट्रपतीय चुनाव नोभेम्बर महीनाको ३ देखि ८ तारिखको बीच पर्ने मङ्गलवारका ‘चुनाव दिन’ पर्छ। र प्रत्येक चार वर्षमा राष्ट्रपतीय चुनाव हुन्छ। यसरी अमेरिकामा राष्ट्रपतीय चुनाव भएको दिन (नोभेम्बर ३–८) देखि बहालवाला राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई (जनवरी २० मा) पद हस्तान्तरण नगरेसम्म दुई राष्ट्रपति रहने स्थिति हुन्छ। यस व्यवस्थाले अमेरिकी राष्ट्रपति पद उच्च महत्वको हो भन्ने कुराको पुष्टि गर्छ।

अमेरिकामा सर्वोच्च प्रशासन परिवर्तन हुनासाथ मूलभूत कुरामा परिवर्तन नभए पनि अन्य विभिन्न कुरामा भने परिवर्तन हुन्छ। खासगरी आर्थिक, वैदेशिक र सुरक्षा नीतमा स्पष्ट र महसूस हुनेगरी परिवर्तन हुन्छ।

अमेरिका विश्वमा नै एक नम्बर आर्थिक महाशक्ति राष्ट्र भएकोले यस राष्ट्रबाट आर्थिक लाभ लिने तथा यसका व्यापार साझेदारहरूले अमेरिकामा हुने प्रशासनिक परिवर्तनलाई चनाखो भएर हेर्नु स्वाभाविक हो। हुन पनि अमेरिकाको आर्थिक नीतिले विश्वभरका राष्ट्रहरूमा सानो ठूलो प्रभाव पार्ने गर्दछ। अहिलेको स्थितिमा भन्ने हो भने विश्वको दोस्रो आर्थिक महाशक्ति हुन पुगेको राष्ट्र चीन समेत अमेरिकी आर्थिक नीतिमा हुने परिवर्तनबाट प्रभावित हुन पुग्छ।

मेक्सिको, चीन, क्यानाडा, जापान, जर्मनी, द कोरिया, संयुक्त अधिराज्य, स्वीटजरल्यान्ड, ताइवान, भियतनाम, भारत, आयरल्यान्ड, निदरल्यान्ड्स, फ्रान्स र इटलीजस्ता राष्ट्र अमेरिकाका महत्वपूर्ण व्यापार–साझेदार हुन्। यी राष्ट्रहरूमा अमेरिकाले ठूलो परिमाणमा निर्यात गर्छ र आयात पनि ती राष्ट्रहरूबाट ठूलो परिमाणमा गर्छ। अमेरिकी प्रशासनमा हुने परिवर्तनले उपरोक्त राष्ट्रहरूलाई तत्काल प्रभाव पार्र्दछ।

बाइडेनको आगमन ह्वाइट हाउसमा भएपछि विश्व व्यापारमा खास किसिमको प्रभाव पर्ने देखिन्छ। राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकी व्यापार नीतिमा स्थिरता आउन सकेन। ट्रम्पको बोलीमा अडान र नीतिमा स्थिरता नभएको कारण उनको कार्यकालमा विश्व व्यापार हलचलको स्थितिमा रह्यो। खासगरी चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध ट्रम्पको कार्यकालमा कहिले स्थिर र सुनिश्चित हुन सकेन। ट्रम्पको कार्यकालमा अमेरिका र चीनबीचको व्यापार–युद्ध झनै चर्केर गयो। र यो कुरा सर्वविदित नै छ कि विश्वका यी दुई ठूला आर्थिक महाशक्ति राष्ट्रहरू– अमेरिका र चीनबीच व्यापारिक सम्बन्ध खराब हुनेबित्तिकै त्यसको असर संसारभरिका राष्ट्रमा पर्ने गर्छ। आकारमा बृहत् रहेको अमेरिकी अर्थतन्त्रले अन्य राष्ट्रको अर्थतन्त्रलाई पनि गति दिने गर्दछ। चीनले सर्वाधिक निर्यात अमेरिकालाई गर्दछ। त्यसपछि क्रमशः हड्कङ, जापान, द कोरिया, भियतनाम, जर्मनी, भारत, निदरल्यान्ड्स र संयुक्त अधिराज्यलाई चीनले निर्यात गर्छ। चीनले आफ्नो कुल निर्यातको लगभग २० प्रतिशत केवल अमरिकालाई निर्यात गर्छ। चीनका लागि अमेरिका कति ठूलो व्यापार–साझेदार हो भन्ने कुरा यस तथ्यबाट पुष्टि हुन्छ।

हुनत ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको अर्थ व्यवस्थालाई नराम्रो हुन दिएनन्। केही आर्थिक क्षेत्रमा उनले सकारात्मक परिवर्तन ल्याए। उनको कार्यकालमा बेरोजगारी बढेन। मूल्य वृद्धि भएन। केही क्षेत्रमा उत्पादन बढ्यो पनि। तर ट्रम्पको नीति र अडान पूर्व अनुमान गर्न नसकिने भएकोले अमेरिकी लगायत विश्व बजार उनको कार्यकालमा हलचलमय रह्यो। राष्ट्रपति बाइडेनको कार्यकालमा भने त्यस्तो नहुने आशा मात्र होइन विश्वाश गरिएको छ। बाइडेनले राजनीतिमा लामो समय बिताएका र ट्रम्पभन्दा धेरै अनुभव बटुलेका हनाले उनको कार्यकलमा विश्व अर्थतन्त्रले राम्रो गति लिने अपेक्षा गरिएको छ। नवनिर्चाचित राष्ट्रपति बाइडेनले आर्थिक सल्लाहकार समितिमा गरेका विभिन्न योग्य एवं अनुभवी व्यक्तिहरूको हालैको नियुक्तिले यस कुराको सङ्केत गर्छ। यो समितिमा आर्थिक क्षेत्रका अति अनुभवी एवं विज्ञहरूलाई बाइडेनले नियुक्त गरेका छन्। यो समितिले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक नीति तय गर्न तथा महत्वपूर्ण आर्थिक निर्णयहरू लिन अमरिकी राष्ट्रपतिलाई सल्लाह दिने गर्दछ। देशको अर्थतन्त्रलाई सही दिशामा डो–याउन यो समितिको विशेष भूमिका रहने गर्दछ।

राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिका र चीनबीच व्यापारिक सम्बन्ध राम्रो हुने अपेक्षा गरिएको छ। र यसैगरी अमेरिकाले इरानलाई विश्व राजनीतिको मूल धारमा ल्याउन इरानमाथि लगाएको आर्थिक नाकाबन्दीमा केही खुकुलोपना ल्याउने अनुमान पनि गरिएको छ। अमेरिकी लगानीकर्ताहरू विदेशमा लगानी गर्न उत्साहित हुने पनि देखिएको छ। अर्थात् विदेशमा उत्पादन गरेर अमेरिका ल्याउने वा विदेशबाट नै अन्य विभिन्न राष्ट्रहरूलाई बिक्री गर्ने किसिमको व्यापारमा अमेरिकी लगानीकर्ताहरू आकर्षित हुने देखिएका छन्। त्यस किसमको व्यापारमा वृद्धि हुने अनुमान गरिएको छ।

यसैगरी राष्ट्रपति बाइडेनको कार्यकालमा विदेशी लगानीकर्ताहरू अमेरिकामा लगानी गर्न उत्साहित हुन सक्छन्। मागा (MAGA: Make America Great Again) भन्ने राष्ट्रपति ट्रम्पको नारासहितको नीतिले धेरै विदेशी लगानीकर्ता अमेरिकामा लगानी गर्न झस्केका थिए। ट्रम्पको दोधारे नीति (अगाडि रहेको व्यक्तिलाई खुशी पार्न उसको प्रशंसा गर्ने, पछि व्यवहारमा भने परिवर्तन ल्याउने) ले गर्दा धेरै विदेशी लगानीकर्ता अमेरिकामा लगानी गर्न सुनिश्चित हुन सकेका थिएनन्। अब भने त्यो स्थितिमा सुधार आउने छ। अमेरिकामा भएको प्रशासनिक परिवर्तनले अमेरिकाको वैदेशिक नीतिमा परिवर्तन ल्याउने र त्यो परिवर्तनले गर्दा इरान र साउदी अरेबियाबीचको शीतयुद्ध मत्थर भएर केही देशहरूः जस्तै यमन, सिरिया, अफगानिस्तान आदिमा स्थिरता आउने र त्यो स्थितरको सकारात्मक असर ती राष्ट्रहरूको आर्थिक क्षेत्रमा पर्ने अपेक्षा पनि गरिएको छ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले गत चुनावमा विजय हासिल गरेको घोषणा सम्बन्धित क्षेत्रबाट हुन अझ बाँकी नै छ र यो घोषणा केही दिनभित्र हुनेछ।

नेपालको अर्थतन्त्रको आकार अन्य आर्थिक महाशक्ति राष्ट्रहरूको अर्थतन्त्रको आकारको तुलनामा ज्यादै सानो भएकोले अमेरिकामा हुने प्रशासनिक परिवर्तनले नेपालको आर्थिक क्षेत्रलाई कुनै ठूलो प्रभाव पर्ने देखिंदैन। एक त आफैं पनि नेपाली अर्थतन्त्र ज्यादै गतिशील छैन। नेपालले कृषि एवं औद्यौगिक उत्पादन वृद्धि गर्न सकेको छैन। राष्ट्रलाई आवश्यक पर्ने खाद्यान्नसमेत नेपालले यथेष्ट मात्रामा उत्पादन गर्न नसकेर विदेश (मुख्यगरी भारत र चीन) बाट ठूलो परिमाणमा आयात गर्नुपर्ने बाध्यात्मक स्थिति छ। नेपालको अर्थतन्त्र विप्रेषणमा आश्रित हुँदै गएर स्वदेशी उत्पादन सङ्कुचित स्थितिमा छ। नेपाल विप्रेषणमा बढी भर पर्नुले अर्थतन्त्र परावलम्बी हुँदै गएको पुष्टि गर्छ र यसैगरी राष्ट्रिय उत्पादन अझै घट्ने चेतावनी पनि प्राप्त हुन्छ।

नेपालले चाहे अमेरिकामा भएको प्रशासनिक परिवर्तनको स्थितिलाई मुलुकको आर्थिक हितमा भरपूर उपयोग गर्न सक्छ। अमेरिकासँग आफ्नो आर्थिक सम्बन्ध अझै राम्रो पारेर नेपालले अमेरिकालाई थप निर्यात गर्न सक्छ। अर्थात् थुपै नेपाली वस्तु अमेरिका निर्यात गर्न सक्छ। यसैगरी अमेरिकी लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्सुक र तत्पर हुन सक्छन्।

अमेरिकामा भएको प्रशासनिक परिवर्तनलाई नेपालको आर्थिक हितमा प्रयोग गर्न अमेरिकास्थित नेपाली दूतावासले महत्वपूर्ण भूमिका खेल्न सक्छ, खेल्नु पनि पर्छ। अमेरिकास्थित नेपाली दूतावासले यो अवसर प्रयोग गर्न चुक्नुहुँदैन।

नेपालका राजनैतिक दलहरू तथा सत्तारूढ दलभित्रका गुट–उपगुटहरूले भद्दा राजनीति गर्न छाडेर, दलीय एवं व्यक्तिगत फाइदाको राजनीति परित्याग गरी देशको आर्थिक विकासलाई महत्व दिने हो भने अमेरिकामा भएको प्रशासनिक परिवर्तनबाट नेपाललाई ठूलो आर्थिक फाइदा हुने स्थिति सृजना हुन सक्छ। नेपालका राजनीतिक दल एवं नेताहरूले चीनको आर्थिक विकासबाट पनि सिक्नुपर्ने धेरै कुराहरू छन्।

http://www.prateekdaily.com/2020/12/blog-post_51.html

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, December 04, 2020