Wikipedia

Search results

Saturday, December 28, 2024

Causes of National Poverty-Article-582

 देश गरीब हुने कारण

अहिलेसम्म पनि स्वीकृति परम्परागत मान्यताले के भन्छ भने धनी देशहरू गरीब देशहरूको शोषण गरेर धनी भएका हुन्छन्। अन्य विभिन्न देशका स्रोत र साधनहरू प्रयोग गरेर धनी भएका हुन्छन्। अर्थात् धनी हुनका लागि धनी देशहरूले गरीब देशहरूको आर्थिक शोषण गर्छन्।

धनी हुनका लागि नै विगतमा अनेक देशहरूले उपनिवेश खडा गरेका थिए। विशाल बेलायती साम्राज्य अनेक देशहरूको साधन र स्रोतहरूको दोहन गर्नका लागि नै स्थापना भएको थियो। रोमन, फ्रेन्च, स्पेनिस, पुर्चुगिजहरूले अन्य देशहरूको साधन र स्रोत प्रयोग गरेर आफू धनी र बलियो हुन अनेक देशहरूलाई आफ्नो उपनिवेश बनाएका थिए। ब्रजील बाहेक, दक्षिण अमेरिकाका लगभग सम्पूर्ण देशहरू कुनै बेला स्पेनिस उपनिवेश थिए। यसैगरी अफ्रिकाका धेरै देशहरू पोर्जुगिज, फ्रेन्च र ब्रिटिशहरूको उपनिवेश थिए। कुनै समय ब्रिटिशहरूको उपनिवेश उत्तर अमेरिका, अफ्रिका मात्र होइन एशियासम्म पनि विस्तार भएको थियो। हाम्रो छिमेकी राष्ट्र भारतमा नै ब्रिटिशहरूले लामो समय प्रत्यक्ष शासन गरेका थिए।

धनी र बलियो हुनका लागि नै एउटा देशले अनेक देशहरूको आर्थिक शोषण गर्दछ भन्ने धारणामा कम्युनिस्टहरूले बलियो विश्वास गर्छन्। कम्युनिस्टहरूले यो भ्रम अहिले पनि छरिरहेका छन् र यै भ्रम छरेर अनेक देशहरूमा शासन गर्न वा चुनावमा विजयी भएर सत्ता हातमा लिन सफल भएका छन्। कम्युनिस्टहरूले धनी देशहरूलाई दिने एउटा प्रचलित नाम छ। त्यो हो पूँजीवादी देश। कम्युनिस्टहरूका अनुसार धनी देशहरूले गरीब देशहरूको शोषण गरेर देशभित्र विशाल पूँजी निर्माण गरेका हुन्छन् र त्यो पूँजीको प्रयोग आफ्नो देशलाई झनै र बढी धनी बनाउ प्रयोग गर्छन्। त्यो पूँजीको प्रयोग अन्य राष्ट्रहरूलाई आप्mनो नियन्त्रणमा राख्नसमेत गर्छन्।

विभिन्न राष्ट्रमाथि उपनिवेश खडा गरेर केही देशहरू धनी हुने जमाना अहिले छैन। अहिले संसारको कुनै पनि देशमा अर्का देशको उपनिवेश छैन। अहिले विश्वमा उपनिवेश स्थापना गर्ने पद्धति समाप्त भए अनुसार देशहरू गरीब हुने (धनी देशहरूले शोषण गरेको कारण) क्रम समाप्त हुनुपर्ने हो। होइन त? कुनै बेलाका उपनिवेश राष्ट्रहरू भारत, बर्मा, मलेशिया, येमन, मोरक्को, सोमालिया, अल्जेरिया, मरूटानिया, चाड, अङ्गोला, लिबिया, रवान्डा आदि अहिले धनी हुनु पर्ने होइन र? उल्टो सोमालिया, येमन, रवान्डाजस्ता देशहरूमा अनेक किसिमका सङ्घर्ष जारी छन्।

अहिले पनि विभिन्न देशहरू झनै गरीब हुने वा गरीबीको कुचक्रबाट बाहिर आउन नसक्नुको कारण के होला त

धनी देशहरू विभिन्न राष्ट्रहरूको र खासगरी गरिब राष्ट्रहरूको आर्थिक शोषण गरेर धनी हुन्छन् वा भएका हुन् भन्ने मान्यता सर्वकालीन सत्य होइन। र पूर्ण सत्य पनि होइन। यो मान्यता कुनै समय सही थियो। तर अहिले भने छैन। अहिले केवल न्यूनरूपमा मात्र सही छ।

अहिलेको वर्तमान विश्वमा कुनै पनि देशलाई गरीब पार्ने एउटा बलियो कारण अति सक्रिय रहेको देखिएको छ। त्यो बलियो कारण सामाजिक मनोविज्ञान हो। अहिले विभिन्न राष्ट्रहरूलाई त्यस देशभित्र प्रचलित रहेको सामाजिक मनोविज्ञानले गरीब बनाउन प्रभावकारी भूमिका खेलिरहेको छ। अफगानिस्तान, नेपाल, सुडान, इथियोपिया, नाइजेरिया, सोमालिया, माली, हाइटीलगायत एशिया, अफ्रिका र दक्षिण अमेरिकाका विभिन्न राष्ट्रहरू सामाजिक मनोविज्ञानको कारण गरीब हुन पुगेका छन्। तुलनात्मकरूपमा झन्झन् गरीब हुँदै गएका छन्।

कमजोर र रोगी सामाजिक मनोविज्ञानका कारण विभिन्न देशहरू गरीबीको अवस्थामा रहन बाध्य भएका छन्। त्यति मात्र होइन, विभिन्न राष्ट्रहरूको कमजोर र रोगी सामाजिक मनोविज्ञानले अन्य विभिन्न राष्ट्रहरूलाई धनी हुन सहयोगसमेत पुर्याइरहेको छ।

धार्मिक कट्टरता, लैङ्किक असमानता, छुवाछूत, जातपात, आर्थिक भ्रष्टाचार, नैतिक भ्रष्टाचार, पदीय भ्रष्ट्राचार, कमजोर नैतिकता, बेइमानी, स्वार्थ सर्वाेच्चता आदि यस्ता तत्व हुन् जसले एक विशेष किसिमको सामाजिक मनोविज्ञान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कुनै पनि सामाजिक मनोविज्ञानमा माथिका तत्वहरू अति सक्रिय भएमा सामाजिक मनोविज्ञान कमजोर एवं रोगी हुन पुग्छ। र कमजोर मनोविज्ञानले देशको आर्थिक विकास हुन दिंदैन। कसरी? उत्तर सजिलो छ। र यस प्रश्नको उत्तर खोज्न धेरै पर पनि पुग्नुपर्दैन। केही पर रहेको हाम्रो छिमेकी राष्ट्र अफगानिस्तानलाई हेरे पुग्छ।

अफगानिस्तानको कमजोर सामाजिक मनोविज्ञानले पुरुष र महिला बीच ठूलो विभेद गर्छ। महिलाहरूलाई पुरुष सरह अधिकार र सुविधा दिंदैन। अफगानिस्तान लैङ्गिक असमानताको ठूलो पक्षधर हो। अफगानिस्तानको रोगी र कमजोर सामाजिक मनोविज्ञानले महिलाहरूलाई स्कूल, कलेज र कार्यस्थलमा जान बन्देज गर्छ। उच्च शिक्षाबाट र सरकारी सेवाबाट वञ्चित गर्छ। अफगानिस्तानको सामाजिक मनोविज्ञानले देशको आधा आकाश बोक्ने महिलाहरूलाई शिक्षाबाट वञ्चित गरेपछि कसरी देशको आर्थिक विकास सम्भव हुन सक्छ ? देश झन् गरीब हुन्छ। देशभित्र उत्पादन गतिविधि कम हुन्छ र अन्य विभिन्न देशबाट आयात गर्ने स्थितिमा पुग्छ। अन्य देशलाई धनी पार्ने स्थिति आफैंले सृजना गर्छ, अफगानिस्तानले गरेजस्तै।

दक्षिण अमेरिकाका अनेक राष्ट्रहरूलाई भ्रष्टाचार र अपराधले अति नै सताएको छ। दक्षिण अमेरिकाका केही देशहरूमा सरकार र अपराधी सङ्गठन (लागू औषधीका तस्कर) हरूले समानान्तर सरकार चलाएको सुनिएको छ। केही देशहरूमा सरकार कमजोर छ, अपराधी सङ्गठनहरू बलिया छन्। देशभित्र सुरक्षा व्यवस्था अति कमजोर भएर, आफ्नो र परिवारको ज्यान हर घडी असुरक्षित हुने देखेर, ज्यान जोगाउनैका लागि भए पनि, लाखौं मानिस बलपूर्वक, गैरकानूनीरूपमा, संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोजेको समाचारहरू जति पनि सुन्न पाइन्छ। अर्थात् बढ्दो अपराधका कारण दक्षिण अमेरिकाका केही राष्ट्रहरूमा सामान्य नागरिकहरूलाई बाँच्न कठिन छ। दक्षिण अमेरिकाका केही राष्ट्रमा व्याप्त सामाजिक मनोविज्ञानले ती देश र तिनका जनतालाई गरीब पार्न महŒवपूर्ण भूमिका खेलिरहेको छ।

दक्षिण अमेरिकाका देशहरूमा अफ्रिकाका देशहरूमा जस्तो जातीय हिंसा ठूलो समस्याको रूपमा देखिएको त छैन तर लागू पदार्थका तस्करहरूद्वारा मचाइएका अनेक किसिमका हिंसाहरू भने ठूलो समस्याको रूपमा देखिएको छ। र ती हिंसाहरूले दक्षिण अमेरिकी देशहरूलाई धनी हुन दिइरहेको छैन। उल्टो गरीब पारिरहेको छ। र ती देशहरू राष्ट्रिय सुरक्षाका लगि संयुक्त राज्य अमेरिकाको शरणमा जान बाध्य भएका छन्।

नेपालको सामाजिक मनोविज्ञान पनि बिरामी छ। हाम्रो सामाजिक मनोविज्ञान बिरामी भएकोले नै हामी आर्थिक विकासको बाटोमा पछाडि परेका हौं। देश साधन र स्रोतले भरिपूर्ण छ। तर आर्थिक विकास हुन सकिरहेको छैन। देशभित्र रोजगार नभएर हामी केवल रोजगारका लागि विश्वका अनेक देश पुगिरहेका छौं।

हाम्रो रोगी सामाजिक मनोविज्ञानले त्यागी, इमानदार र कर्मठ नेताहरूको जन्म हुन दिइरहेको छैन। नेपालको आर्थिक विकासको लागि नेताहरूबीच समझदारी र सहकार्य हुन सकिरहेको छैन। देश आर्थिक विकास गर्न कुनै पनि दल र नेता त्याग गर्न तयार छैन। हरेक दलले सत्तामा पुग्न षड्यन्त्र गर्छ। हरेक नेता मन्त्री, प्रधानमन्त्री हुन बेइमानी र जालझेलमा सक्रिय हुन्छ। नेपालको आर्थिक विकास गर्न कुनै पनि नेता पद, शक्ति र सत्ता परित्याग गर्न तयार छैन। यस्तो गरेर पनि हुन्छ आर्थिक विकास? यस्तो गरेर आर्थिक विकास झनै अवरुद्ध हुन्छ।

हाम्रो सामाजिक मनोविज्ञान भविष्यमा पनि अहिलेको जस्तै रोगी हुने होस इमानदार, त्यागी र कर्मठ नेताहरूको जन्म नहुने हो भने नेपालमा गरीबी मात्र वृद्धि हुने होइन देशको सार्वभौम सत्ता पनि सङ्कटमा पर्न सक्छ।

नेपालजस्तो स्रोत र साधनहरूले भरिएको देशमा आर्थिक विकस गर्न धेरै काम गर्नुपर्दैन। केवल एउटा कुरा मात्र गरिदिए हुन्छ। नेताहरूले एउटा कुरा गरिदिए हुन्छ। नेताहरू इमानदार, त्यागी र कर्मठ भइदिए पुग्छ। वर्तमानका नेताहरू इमानदार, त्यागी र कर्मठ भइदिए आर्थिक विकासको गतिले तीव्रता लिने थियो। त्यति मात्र होइन, आउने पुस्ताका नेताहरू पनि पाठ सिक्दै, इमानदार, त्यागी र कर्मठ हुने थिए। देशभित्र इमानदार, त्यागी र कर्मठ नेता जन्म लिने संस्कारको सूत्रपात हुने थियो।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 27, 2024

https://eprateekdaily.com/2024/12/26/78188/ 

Wednesday, December 25, 2024

Distance Between Richer and Poor is Widening-Article-581

 गरीब र धनीबीचको अन्तर झनै फराकिलो हुने

समय गतिशील छ। संसार गतिशील छ। विचार गतिशील छ। हरेक कुरा गतिशील छ। स्थिर कुनै कुरा पनि छैन। गतिशीलता अपरिहार्य छ। परिवर्तन अपरिहार्य छ। तर महत्वपूर्ण कुरा के छ भने त्यसरी हुने परिवर्तनहरू मानव समाजको लागि हितकर हुन सकेका छन् कि छैनन् भन्ने प्रश्नतिर हाम्रो ध्यान जानु। त्यसप्रति हामी गम्भीर हुनु।

कृषियुगमा मानिसको जीवन कृषिमा आधारित थियो। बहुसङ्ख्यक व्यक्ति कृषिमा लागेको हुनाले र उत्पादन व्यवस्थामा बहुसङ्ख्यक व्यक्तिको संलग्नता भएको हुनाले खाद्यान्नको लागि अहिलेजस्तो बहुसङ्ख्यक व्यक्ति बजारमा आश्रित हुने स्थिति थिएन। बहुसङ्ख्यक व्यक्तिले आफूलाई आवश्यक पर्ने धेरै वस्तु स्वयं उत्पादन गर्दथे। आफ्नो लागि फलफूल, तरकारी, अन्न, माछ, मासु आदि स्वयं उत्पादन गर्थे। तर अहिले बहुसङ्ख्यक व्यक्ति केवल श्रम उत्पादन गर्छन् र त्यही श्रम बिक्री गरेर जीवन निर्वाहका लागि आवश्यक खाद्यान्नलगायत वस्तु खरीद गर्छन। कृषिप्रतिको हाम्रो निर्भरता अहिले अभूतपूर्व किसिमले घटेर गएको छ। अर्कोतिर श्रम बिक्री गर्न श्रम बजारमाथि हाम्रो निर्भरता अभूतपूर्व किसिमले बढेको छ। अहिले हामी श्रम बिक्री गर्न नपाए भोकै बस्नुपर्ने स्थितिमा पुगेका छौं। कृषि क्षेत्रबाट ठूलो सङ्ख्यामा व्यक्ति विमुख भएकाले यस्तो स्थिति सृजना भएको हो। यो स्थितिले गरीबी वृद्धि गर्नेछ। साथै गरीब र धनीबीचको खाडल झनै फराकिलो पार्नेछ। हेर्दा सामान्य देखिए पनि यो गम्भीर समस्या हो।

कृषि युगमा केही सीमित व्यक्तिहरू छोटो समयमा नै अत्यधिक धनी हुन सम्भव थिएन। छोटो समयमा धेरै धन सृजना गर्न सजिलो थिएन। एउटा बाली तयार पारेर बिक्री गर्न सकिने अवस्थामा पुर्यउन कम्तिमा चार वा पाँच महीना कुर्नुपर्ने हुन्थ्यो। अर्थात् धनी हुन पनि केही समय कुर्नुपर्दथ्यो। धनी हुने गति मन्द थियो। यस कारणले गर्दा पनि धनी र गरीबीच खाडल ठूलो थिएन। आय वितरण अहिलेजस्तो अति असामान्य थिएन।

मानव सभ्यता जब उद्योग युगमा प्रवेश गर्यो उत्पादन व्यवस्था सरल भयो। मानव जीवन पनि सरल भयो। तर दुःखद कुरा के भयो भने उद्योग युगले मानिसलाई छोटो समयमा धनी हुन सरल पारिदियो। आज उत्पादन गरेको वस्तु आजै बिक्री गर्न पाइने भयो। कृषि युगमा जस्तो कुर्नुपर्ने भएन। उद्योग युगले छोटो समयमैं मानिसलाई धनी हुन सजिलो त पार्यो तर सीमित व्यक्तिलाई मात्र धनी बन्न सजिलो भयो। जो बुद्धिले तीव्र र धन, सम्पत्तिले भरिपूर्ण थिए, त्यस्तालाई धनी हुन झनै सजिलो भयो। तर बहुसङ्ख्यक मानिसलाई त्यो अवसर प्राप्त हुन सम्भव भएन।

उद्योग युगले गरीब र धनीबीचको दूरी झन फराकिलो पारिदियो। केही व्यक्ति मात्र, देश वा संसारमा सर्वाधिक धनी हुन सक्ने स्थिति उत्पन्न गरिदियो। उद्योग क्षेत्रमा भएको अभूतपूर्व विकासले त्यति मात्र गरेन, साथै देश वा संसारको अर्थ व्यवस्था नै केही सीमित व्यक्तिको नियन्त्रणमा हुने अवस्था सृजना गरिदियो। तर पनि उद्योग युगमा एउटा गुण थियो वा छ, भन्नुपर्ने हुन्छ। त्यो के भने उद्योग युग वा वस्तु उत्पादन व्यवस्थामा मजदूर वा कामदारहरू पनि ठूलो सङ्ख्यामा संलग्न हुनुपर्ने भएकोले उत्पादन व्यवस्थाबाट हुने आम्दानी केवल उद्योगपतिहरूको हातमा मात्र रहने अवस्था रहेन वा छैन। उत्पादन व्यवस्थाबाट हुने आम्दानी कामदार तथा श्रमिकहरूको हात, पारिश्रमिक वा ज्यालाको रूपमा, न्यून मात्रमा नै भए पनि, जाने अनिवार्यता रह्यो वा छ।

अहिले हामी सेवा युगमा प्रवेश गरेका छौं। यो युगमा सर्वाधिक सङ्ख्यामा सेवा उत्पादन हुने गरेको छ। अन लाइन वा नयाँ तरीकाले वस्तु बिक्री गर्ने, अनलाइन (टिकटक, युट्युब, फेसबूक आदि) मनोरञ्जनका सामग्री उत्पादन गर्ने, नयाँनयाँ सफ्टवेयर (च्याट जिपिटी, आर्टिफिसिएल इन्टेलिजेन्स आदि) उत्पादन गर्ने जस्ता अनेक कार्यहरू यस युगमा भइरहेका छन्। सेवा युगले वस्तु होइन, सेवा उत्पादन गर्नमा बढी जोड दिइरहेको छ । ज्ञान, बुद्धि वा चलाकी बिक्री गर्न जोड दिइरहेको छ।

अहिले यो सेवा युगमा, कुनै एक व्यक्ति वा थोरै व्यक्तिहरूको एक समूहले अनेक किसिमका सेवा (प्रविधि, ज्ञान, पद्धति आदि) बिक्री गरेर करोडौ कमाउन सक्ने स्थिति सृजना भएको छ। अहिले, यो सेवा युगमा अति धन आर्जन गर्न कृषि युगमा जस्तो हजारौं बिघा जमीनमा खेती गर्नुपर्ने स्थिति छैन। अहिले, यो सेवा युगमा अति धन आर्जन गर्न अनेक कारखाना सञ्चालन गरेर ठूलो मात्रामा वस्तु उत्पादन गर्नुपर्ने स्थिति छैन। यो सेवा युगमा फेसबूक, युट्युबल, अमेजन आदिले प्रविधि वा सेवा मात्र बिक्री गरेर करोडौं रुपियाँ कमाउन सकिने स्थिति सृजना गरिदिएको छ। यो युग ‘स्मार्ट थिंकिड्ढो युग हो, परिश्रमको युग होइन।

यो सेवा युगको सर्वाधिक ठूलो दुर्गुण के देखिएको छ भने बिक्रीका लागि बजारमा आउने वस्तुहरू उपभोक्ताहरूको आवश्यकता अनुसार कम, बिक्रेतालाई मुनाफा अत्यधिक हुनेगरी आइरहेका छन्। अर्को शब्दमा यस सेवा युगमा उत्पादकहरू त्यस्ता वस्तु उत्पादन गर्न बढी जोड दिइरहेका छन्, जसमा उनीहरूलाई बढी मुनाफा हुन्छ। बिक्रेताहरू पनि त्यस्ता वस्तु बिक्री गर्न बढी जोड दिइरहेका छन् जसको बिक्रीले बढी फाइदा हुन्छ। उपभोक्ता हितकारी वस्तु उत्पादन गर्ने कुरा गौण र उत्पादक तथा बिक्रेतालाई मुनाफा बढी हुने वस्तु उत्पादन गर्नु प्रमुख हुन पुगेको छ। सामान्य वाच (घडी) बिक्री गरेर उत्पादकहरूलाई धेरै फाइदा हुँदैन। तर ‘स्मार्ट वाच’ उत्पादन गरेर धेरै फाइदा हुने भएकोले अहिले ठूलो मात्रामा स्मार्ट वाच उत्पादन एवं बिक्री भइरहेको छ। स्मार्ट वाच के उपभोक्ताहरूको माग अनुसार बजारमा आएको हो, पक्कै होइन। स्मार्ट वाच नहुँदा पनि मानिसको समय हेर्ने आवश्यकता पूरा भएकै थियो। स्मार्ट वाच उत्पादकको फाइदाको लागि बजारमा आएको हो।

सेवा युगले केवल सीमित व्यक्ति, छोटो समयमा बुद्धि मात्रको भरमा, अत्यधिक धनी हुने अवस्था सृजना गरिदिएको छ। त्यति मात्र होइन, मुनाफालाई सर्वाधिक महत्व दिने गरेको छ। मानव कल्याणलाई महत्वहीन ठानेको छ। अहिले कुनै पनि कम्पनी वा व्यावसायिक संस्थाको सफलता त्यस संस्थाले गर्ने मुनाफाको आधारमा मापन गरिन्छ। कुनै कम्पनी वा व्यावसायिक संस्थाले मानव कल्याण अभिवृद्धि गर्न के कस्तो भूमिका खेल्यो भन्ने कुरा चासो वा जनसरोकारको विषय हुने गरेको छैन।

सेवा युगले छोटो समयमा अत्यधिक धन सृजना गर्न सजिलो र केही व्यक्तिहरू मात्र अत्यधिक धनी हुने स्थिति सृजना गर्ने भएकोले यस युगले कुनै एक देश मात्र होइन, संसारभरिका देशमा नै गरीब र धनीबीचको फरकलाई झनै ठूलो पार्ने स्थिति देखिएको छ। यो युगले गरीब वा विकासशील राष्ट्रहरूलाई मात्र होइन, धनी देशहरूलाई पनि सताउने छ। धनी देशहरूमा पनि यो सेवा युगले गरीब र धनीबीचको दूरी झन् फराकिलो पार्नेछ।

बाहिरबाट हेर्दा सेवा युग उन्नत युगको रूपमा देखिएको छ। ज्ञान, विज्ञान र प्रविधिको उच्च विकास भएको युगको रूपमा देखिएको छ। यस युगले मानव जीवनलाई अनेक सेवा र सुविधाले युक्त पारिदिएको देखिएको छ। तर भित्रबाट हेर्दा भने यो युगले ठूलो चुनौति वा समस्या खडा गरिदिएको छ। यस युगले निश्चय पनि गरीब र धनीबीचको दूरी झनै ठूलो पार्नेछ। बहुसङ्ख्यक व्यक्ति तुलनात्मक रूपमा झनै गरीब हुनेछन्। मानिसमा असन्तोष झनै बढ्ने छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 20, 2024

https://eprateekdaily.com/2024/12/20/77872/

 

Sunday, December 15, 2024

Cheap Energy Base of Economic Development- Article-580

 ऊर्जा सस्तो पार्नु हाम्रोलागि ठूलो चुनौती

यो आधुनिक युग ऊर्जाको जगमा उभिएको छ। ऊर्जा उपलब्ध नहुने हो भने यो मानव सभ्यता नै रोकिने स्थितिमा अहिले हामी बाँचिरहेका छौं। हामीलाई यातायातको लागि ऊर्जा चाहिन्छ। उद्योगको लगि ऊर्जा चाहिन्छ। व्यापारको लागि ऊर्जा चाहिन्छ। स्वास्थ्य, सुरक्षा र सफाइका लागि ऊर्जा चाहिन्छ।

घरभित्रको नै कुरा गर्ने हो भने हामीलाई बैठक, सुत्ने कोठादेखि लिएर बाथरूमसम्म पनि ऊर्जा चाहिन्छ। अर्थात् ऊर्जाको अभावमा हाम्रो जीवन कठिन हुने अवस्था छ। तर आश्चर्य ! यति महत्वपूर्ण ऊर्जा हामीकहाँ महँगो छ। ऊर्जा उत्पादन सस्तो हुन सकेको छैन।

बर्सेनि हामीले ठूलो मात्रामा ऊर्जा (पेट्रोलियम पदार्थ) आयात गर्नुपरेको छ। ऊर्जाको लागि केवल एउटै स्रोतमाथि अति आश्रित हुनुपरेको छ। भारतमाथि आश्रित हुनुपरेको छ। भारतबाट वा भारतीय भूमि भएर हामीले ऊर्जा आयात गर्नुको विकल्प नै छैन। पेट्रोलियम पदार्थ चीनबाट आयात गर्न सक्ने स्थितिमा हामी छैनौं। चीनबाट पेट्रोलियम पदार्थ कसरी आयात गर्न सकिन्छ भन्नेबारेमा हामीले ठोसरूपमा सोचेका पनि छैनौं। पेट्रोलियम पदार्थको लागि वर्षौंदेखि भारतप्रति आश्रित रहँदै आएका छौं। भारतप्रति हाम्रो अति निर्भरता कसरी घटाउने त्यसबारेमा सोचेकासम्म पनि छैनौं। भारतबाट हुने पेट्रोलियम पदार्थको आयातलाई सहज पार्न भारतको मोतिहारीदेखि अमलेखगंजसम्म भारतको खर्चमा पाइपलाइन निर्माण गर्न लगाएर ऊर्जा (पेट्रोलियम पदार्थ)का लागि भारतप्रतिको अति निर्भरतालाई झनै चुलीमा पुग्न सहयोग गरेका छौं। तर आफूले कसरी पेट्रोलियम पदार्थका लागि भारतप्रतिको अति निर्भरतालाई घटाउनेबारे सोचेका छैनौं। ऊर्जाको सन्दर्भमा यहाँ केवल पेट्रोलियम पदार्थको कुरा गरिएको हो। यस आलेखमा ऊर्जाको अर्काे स्रोत, जलविद्युत्बारे विशेष किसिमले उल्लेख गर्न खोजिएको छैन। 

नेपालमा प्रजातन्त्र स्थापना (२०४७) भएको तीन दशक समाप्त भएर चौथो दशक प्रारम्भ भएको छ। यो तीन दशकमा हामीले ऊर्जा उत्पादनमा कसरी आत्मनिर्भर हुनेबारे गम्भीरतापूर्वक सोचेनौं। खासगरी पेट्रोलियम पदार्थको विकल्पबारे र भारतबाट हुने पेट्रोलियम पदार्थ आयातको विकल्पबारे गम्भीरतापूर्वक सोचेनौं। मुलुकको राजनीतिले पेट्रोलियम पदार्थका लागि भारतप्रतिको अति निर्भरता कसरी घटाउने विषयलाई महत्व दिएन।  राजनीतिक दल र तिनका नेताहरू केवल शक्ति र सत्ताको पछि लागे। ऊर्जा उत्पादनमा कसरी हामी आत्मनिर्भर हुनेबारे सोचेनन्।

ऊर्जा र मुख्यगरी पेट्रोलियम पदार्थ आपूर्तिमा हामी पूर्णरूपेण भारतप्रति निर्भर रहेको स्थितिले हाम्रो राष्ट्रिय स्वाधीनता पनि प्रभावित हुन पुगेको छ। भारतले केवल एक हप्ता मात्र पनि आफ्नो देशबाट नेपालतिर पेट्रोलियम पदार्थ निर्यात नगर्ने हो भने हाम्रो दैनिक जीवन अस्तव्यस्त हुन पुग्छ। एक किसिमले रोकिन पुग्छ। यो स्थितिको भारतले निकै फाइदा उठाएको छ। पेट्रोलियम पदार्थका लागि भारतप्रतिको हाम्रो अति निर्भरतालाई भारतले आफ्नो त्यस्तो शक्तिको रूपमा उपयोग गरेको छ, जुन शक्ति प्रयोग गरेर भारतले नेपालमा ‘माइक्रो मैनेजमेन्ट’ गर्छ। हाम्रा सानासाना घरेलु कुराहरूमा पनि भारतले हस्तक्षेप गर्छ। हाम्रो राष्ट्रिय राजनीतिमा भारतलाई हरघडी उपस्थित रहन ऊर्जाका लागि भारतप्रति हाम्रो अति निर्भरताले सजिलो पारिदिएको छ। यदि ऊर्जाका लागि भारतप्रतिको हाम्रो अति निर्भरतालाई समाप्त पार्ने हो भने भारतले अहिलेको जस्तो नेपालको राजनीतिमा हस्तक्षेप गर्न पाउँदैन। तर हामीले ऊर्जा उत्पादनको क्षेत्रलाई प्रभावकारी नतुल्याएर, भारतबाट हुने पेट्रोलियम पदार्थ अति आयातको विकल्प नखोजेर हाम्रो राष्ट्रिय राजनीतिमा भारतलाई सजिलै हस्तक्षेप गर्ने मौका दिएका छौं। स्वयम् आफैंले त्यो अवसर प्रदान गरेका छौं।

अब प्रसङ्ग परिवर्तन गरौं। ऊर्जा उत्पादनलाई सस्तो पार्नेबारे चर्चा गरौं।

अबको यो समयमा हामीले ऊर्जा उत्पादनमा कसरी आत्मनिर्भर हुने भनी सोचेर मात्र हुँदैन। अब हाम्रोअगाडि अर्काे चुनौती पनि थपिएको छ। त्यो चुनौती कसरी सस्तोमा ऊर्जा उत्पादन गर्ने र कसरी जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराउने हो।

ऊर्जा र आर्थिक विकासबीच प्रत्यक्ष सम्बन्ध छ। यसैगरी, ऊर्जा र समृद्धिबीच पनि प्रत्यक्ष सम्बन्ध छ। हामीले आर्थिक विकास गर्न तथा देश र जनतालाई धनी पार्ने ऊर्जा उत्पादन सस्तो पार्नैपर्छ। यसको विकल्प छैन। देशमा ऊर्जा उत्पादन सस्तो नभएसम्म देशले आर्थिक विकास गर्न सक्तैन। जनता समृद्ध हुन सक्तैन। हामी गरीबीको कुचक्रबाट कहिले पनि बाहिर आउन सक्तैनौं।

ऊर्जाका दुई प्रमुख स्रोत– पेट्रोलियम पदार्थ र जलविद्युत् हामीकहाँ अति महँगा छन्। पेट्रोलियम पदार्थ त झनै महँगो छ। पेट्रोलियम पदार्थ अति महँगो भएकोले यातायात लागत झनै महँगो हुन पुगेको छ। समग्रमा भन्ने हो भने जलविद्युत् र पेट्रोलियम पदार्थ अति महँगो भएकोले हाम्रो जीवन लागत (ऋयकत या ष्खिष्लन) उच्च हुन पुगेको छ। अति महँगो हुन पुगेको छ। बहुसङ्ख्यक व्यक्तिहरूले महीनाभरिमा जति आम्दानी गर्छन्, त्यस आम्दानीको ठूलो भाग महँगो ऊर्जाद्वारा महँगो पारिएका वस्तु एवं सेवाहरूको खरीदमा खर्च गर्छन्। महँगो ऊर्जाले सबै वस्तु एवं सेवालाई प्रभाव पारेकोले हामीले उपभोग गर्ने सबै वस्तु र सेवा महँगो हुन पुगेका छन्। यसले गर्दा अति महँगीको स्थितिमा हामी बाँच्नुपरेकोले बहुसङ्ख्यक व्यक्तिले बचत गर्न सकेका छैनन्। जति आर्जन गरिरहेका छन्, त्यो आर्जन केवल जीवनयापनमा समाप्त भइरहेको छ। बचत हुन सकेको छैन। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्ने स्थितिमा नभएकाले हाम्रो राष्ट्रिय बचत पनि ठूलो हुन सकेको छैन। राष्ट्रिय बचत सानो भएकोले हामी ठूला लगानीका परियोजनाहरूमा आफैंले लगानी गर्न सकिरहेका छैनौं। उल्टो लगानी गरिदिन अनेक सङ्घसंस्था, राष्ट्रहरूको अगाडि हात पसारिरहेका छौं। भीख मागिरहेका छौं।

हामीले ऊर्जा उत्पादन सस्तो पार्ने हो। मुख्यगरी जलविद्युत्लाई अति सस्तो पार्ने हो, भारतबाट हुने पेट्रोलियम पदार्थ अति आयात स्थितिमा सुधार ल्याउने हो भने निश्चय पनि हामीले जीवन लागत कम पार्न सक्छौं। मध्यमवर्गीय (आम्दानीको हिसाबले) परिवारलाई पनि बचत गर्न सक्ने स्थितिमा पु–याउन सक्छौं। राष्ट्रिय बचतमा वृद्धि गर्न सक्छौं। राष्ट्रिय बचतलाई ठूलो पारेर आफ्नै देशभित्रबाट नै ठूलाठूला परियोजनाहरूमा लगानी गर्न सक्ने स्थिति ल्याउन सक्छौं।

धनी देशहरू खासगरी, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स आदि सस्तोमा ऊर्जा उत्पादन गर्न सक्षम भएर नै धनी भएका हुन्। आफ्नो जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराएर धनी भएका हुन्। उद्योग र व्यापारको क्षेत्रलाई सस्तोमा ऊर्जा उपलब्ध गराउन सक्षम भएर नै धनी भएका हुन्। अमेरिकाको यातायात व्यवस्था ऊर्जा सस्तो भएकोले नै सस्तो हुन पुगेको छ। व्यक्तिहरूको आम्दानीको तुलनमा अमेरिकामा ऊर्जाको मूल्य ज्यादै नै सस्तो छ। अमेरिकामा ऊर्जा सस्तो भएकोले, पेट्रोलियम पदार्थ सस्तो भएकोले, एक निम्न आय भएको व्यक्ति पनि अमेरिकामा कार राख्न अर्थात् कार प्रयोग गर्न आर्थिक हिसाबले सक्षम छ। ऊर्जा सस्तो भएकोले नै अमेरिकामा जीवन लागत पनि सस्तो छ। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्षम छन्। बहुसङ्ख्यक व्यक्ति बचत गर्न सक्षम भएकोले अमेरिका धनी हुन पुगेको छ। विश्वको सर्वाधिक धनी राष्ट्र हुन पुगेको छ। 

हामीले आर्थिक विकासको गतिलाई तीव्रता दिने हो भने हामीले जसरी भएपनि ऊर्जा उत्पादन सस्तो पार्नेपर्छ। ऊर्जा सस्तो नभएसम्म हामीलाई हाम्रो गरीबीले सदासर्वदा पछ्याइनै रहनेछ। यो समय कसरी ऊर्जा उत्पादन सस्तो पार्न सकिन्छ भनी सोच्ने समय हो। यो सोच्ने जिम्मेवारी सबैको हो। जनता, नेता सबैको हो।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 13, 2024

https://eprateekdaily.com/2024/12/13/77596/ 

Friday, December 13, 2024

Economic Impact of Prime Minster's China Visit-Article- 579

 प्रधानमन्त्रीको चीन भ्रमणः नेपालको आर्थिक हित

यो आलेख तयार पारिरहँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भ्रमण दलका सदस्यहरू चीनमा रहेको र यो लेख प्रकाशित हुँदासम्ममा प्रम केपी ओली र उनका भ्रमण दलका सदस्यहरू नेपाल फर्किसकेको स्थिति हुनेछ। मङ्सिर २० गते बिहीवार ओली चीनको चार दिने भ्रमण समाप्त गरी नेपाल फर्किरहेका छन्। यता नेपालमा प्रम ओलीको भ्रमणसँग सम्बन्धित अनेक समाचार, विचार, टीका–टिप्पणी प्रकाशन र प्रसारण हुने क्रम जारी छ। केहीले ओलीको चीन भ्रमण सार्थक रहेको र केहीले उपलब्धिहीन रहेको अभिमत जाहेर गरिरहेका छन्। यी दुवै पक्षका अभिमतहरूको लेखाजोखा गर्दा ओलीको यो भ्रमण उपलब्धिहीन रहेको भन्नेहरूको सङ्ख्या बढी देखिन्छ।

के प्रम ओलीको चीन भ्रमण उपलब्धिविहीन भएको हो त?

प्रम ओलीको चीन भ्रमणबारे एक धारणा निर्माण गर्नुपूर्व केही तथ्यहरूमाथि विचार गर्न आवश्यक छ। अहिले ओलीको स्थिति एक सबल प्रधानमन्त्रीको रूपमा छैन। उनी दुई दल नेपाली काङ्ग्रेस (नेका) र नेकपा एमाले मिलेर निर्माण भएको सरकारका प्रम हुन्। यी दुई दल सरकार निर्माण गर्नका लागि मिलेर कार्य गर्न तयार भए तापनि यी दुई दलका फरकफरक सिद्धान्त, दर्शन एवं विचार रहेका छन्। आर्थिक नीति पनि फरकफरक छन्। यहाँसम्मकी चीनप्रति नेका र एमालेको धारण पनि फरक छ। एमाले चीनसँग नजीक हुन खोज्छ र त्यस्तो देखाउँछ पनि तर नेकाले चीन र भारतलाई समदूरीमा राखेको देखाउन खोजे पनि व्यवहारमा भने भारतसँग नजीक हुन खोज्छ। पछिल्लो समयमा नेका चीनप्रति केही उदार देखिएको छ तर उसको त्यो उदारता उसले भारतलाई देखाउन खोज्दैन। यो तथ्य चीनलाई राम्ररी थाहा छ। चीन, नेपालमा कम्युनिस्टहरूको र खासगरी एमालेको सरकारको स्थितिमा नेपाललाई विशेष किसिमले आर्थिक सहयोग गर्ने रणनीति राख्छ। अहिलेको यो स्थिति, सरकारमा नेकाको महत्वपूर्ण स्थिति, चीनको लागि अनुकूल स्थिति होइन। यो कारणले पनि ओलीको यो भ्रमणमा चीनले नेपाललाई विशेष किसिमले आर्थिक सहयोग गर्ने घोषणा गरेको छैन। नेपाललाई अनुदान होइन ऋण लिन आग्रह गरिरहेको छ, दबाब दिइरहेको छ।

राष्ट्रको आर्थिक विकासबारेमा कम, आफ्नो दल र आफ्नो व्यक्तिगत विकासबारे बढी सोच्ने अनुभवहीन, अदूरदर्शी तथा मौकापरस्त राजनीतिक दल तथा तिनका नेताहरूले अहिलेसम्म पनि चीनप्रति समान धारणा निर्माण गर्न सकेका छैनन्। चीनको सुरक्षाप्रति र एक चीन नीतिप्रति, मुख्यगरी तिब्बतप्रति नेपालका सबै राजनीतिक दलले समान धारणा राखिदिऊन् भन्ने इच्छा मात्र होइन, पूर्वशर्त राख्छ, चीनले। र यो शर्त पूरा हुने स्थिति नदेखिएसम्म चीन नेपाललाई ठूलो आर्थिक सहयोग गर्न वा नेपालमा ठूलो लगानी गर्न वा नेपालबाट ठूलो मात्रामा आयात गर्न इच्छुक एवं तत्पर देखिंदैन। नेपालका दुई छिमेकी भारत र चीनको नेपालप्रतिको धारणा पृथक छन्। चीनले नेपाललाई एक स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा मान्छ र सोही अनुसार व्यवहार गर्छ पनि। नेपालको सन्दर्भमा चीनले नेपालमा ‘माइक्रो मैनेजमेन्ट’ गर्दैन। नेपालले यो व्यक्तिलाई चीनको राजदूत बनाउनुपर्ने भनी चीनले माग गर्दैन।

भारतको नेपालप्रतिको दृष्टिकोण ज्यादै पृथक छ। भारतले नेपाललाई एक स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा स्वीकार गर्दैन। स्वीकार गरेको प्रदर्शित गरे तापनि व्यवहारमा त्यस्तो गरेको देखिंदैन। दिल्लीले लाजिम्पाट (भारतीय दूतावास)बाट नेपालको राजनीतिमा सक्रिय भूमिका खेल्छ। नेपालकको राजनीतिलाई ‘माइक्रो मैनेजमेन्ट’ गर्छ। यतिमात्र होइन, दिल्लीले नेपाल चीनको नजीक भएको देख्न चाहँदैन।

चीन एक व्यापारी देश हो। कुनै पनि अर्को देशसँग सम्बन्ध सुमधुर राख्नुपूर्व चीनले त्यस देशबाट आफ्नो आर्थिक हित कति पूरा हुन्छ, त्यसलाई प्राथमिकता दिन्छ। यो कारणले गर्दा नै विपरीत सिद्धान्त राख्ने अर्थात् कम्युनिस्ट चीनले प्रजातन्त्रवादी अमेरिकासँग घनिष्ठ व्यापारिक सम्बन्ध राख्न सदा तत्पर रहन्छ। नेपालमा लगानी गर्दा आफ्नो लगानीको प्रतिफल र भविष्य कस्तो हुने हो ? नेपालका राजनीतिक दलहरूले चीनको आर्थिक हितलाई कति महत्व दिने हुन्? यी प्रश्नहरूको सकारात्मक जवाफ मात्र होइन, चीनले त्यसप्रति वचनबद्धता पनि माग गर्छ।

अब प्रम ओलीको चीन भ्रमणको आर्थिक उपलब्धिहरूबारे चर्चा गरौं। ओलीको नेतृत्वमा रहेको नेपाली पक्षले चीनबाट ऋण लिने इच्छा जाहेर नगर्नु र अनुदान प्राप्त गर्ने इच्छा जाहेर गर्नु उपयुक्त नै मान्नुपर्छ। ऋणले नेपालको अर्थतन्त्रलाई दीर्घकालसम्म प्रभाव पार्छ। त्यति मात्र होइन, त्यो ठूलो ऋणले चीनलाई नेपालको राजनीतिमा भूमिका खोज्ने अवसरसमेत प्रदान गर्छ। अर्को महत्वपूर्ण कुरा, ऋण नै लिने हो भने पनि नेपाल चीनसँग मात्र होइन, अन्य राष्ट्रहरूबाट पनि अनेक सुविधा र शर्तहरूसहितको ऋण लिन स्वतन्त्र छ। चीन छिमेकी भएको हुनाले नै नेपालले चीनसँग ऋण लिनुपर्ने कतै कुनै कारण देखिंदैन। त्यही तथ्य भारतसँग ऋण लिंदा पनि लागू हुन्छ।

नेपालले चीनसँग अनुदान लिनु पनि नेपालको आर्थिक विकासको लागि हितकर देखिंदैन। अनुदानले एकातिर निर्भर हुने प्रवृत्तिलाई प्रोत्साहित गर्छ भने अर्कोतिर आफ्नो स्रोत र साधनको कसरी विकास गर्ने हाम्रो सोचलाई दुरुत्साहित गर्छ। हामी अनुदान र ऋणमा बाँचेको धेरै भयो। अब हामीले आफ्नो स्रोत र साधनको विकास गर्नमा जोड दिने उपयुक्त समय आएको छ। विदेशमा ठूलो सङ्ख्यामा नेपालीहरू अहिले बसोबास गरिरहेका छन्। यीमध्ये धेरैले राम्रो आर्जन र बचतसमेत गरिरहेका छन्। यदि विदेशमा बसेका नेपालीहरूको बचतलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्ने हो भने नेपालले आर्थिक सहयोगका लागि विभिन्न राष्ट्र र सङ्घसंस्थाहरूको अगाडि हात पसार्नुपर्दैन। ऋण सहयोग माग्नुपर्दैन। एक राम्रो लगानी नीति तयार पारेर विदेशमा रहेका नेपालीहरूको बचतलाई नेपालको आर्थिक विकासमा प्रभावकारी किसिमले प्रयोग गर्न सकिन्छ। यसैगरी, रोजगारका लागि खाडीका देशहरूलगायत अन्य राष्ट्रहरूमा पुगेका नेपालीहरूको आर्जनलाई पनि नेपालको आर्थिक विकासमा प्रभावकारी किसिमले प्रयोग गर्न सकिन्छ। 

पुनः चर्चा प्रम ओलीको चीन भ्रमणको नै गरौं। अहिलेको लागि चीन पुगेको नेपाली पक्षले चीनलाई ठूलो परिमाणमा नेपाली सामानहरू आयात गर्न राजी गराउनु नै यो भ्रमणको ठूलो उपलब्धि मानिनेछ। अहिले हामीले बिआरआईबारे चर्चा गरेर टाउको दुखाउनुको कुनै अर्थ छैन। बिआरआई अन्तर्गतको कुनै पनि किसिमको आर्थिक सहयोग नेपाललाई प्राप्त नभएमा नेपालमा कुनै ठूलो पहाड खस्ने स्थिति छैन। पहिरो जाने स्थिति पनि छैन। बिआरआई अन्तर्गत सहयोग (प्राप्त भएन)बारे नेपालका सञ्चारमाध्यम एवं बुद्धिजीवीहरूले नकारात्मक विचारहरू प्रसारण एवं प्रकाशन गर्नु उपयुक्त देखिंदैन। नेपाली पक्षले चिनियाँ नागरिकहरू ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आउनेबारे एक ठोस नीति चिनियाँ अधिकारीहरूसमक्ष पेश गरेर ठूलो सङ्ख्यामा चिनियाँहरू नेपाल भ्रमणमा आउने वातावरण तयार पार्नु पनि ओलीको चीन भ्रमणको उपलब्धि मानिनेछ।

प्रम ओलीको चीन भ्रमणलाई आर्थिक उपलब्धिको कसीमा राखेर हेर्नुभन्दा नेपाल–चीन सम्बन्धलाई थप सुमधुर पार्न ओली सरकारले गरेको पहलको रूपमा हेर्नु उपयुक्त हुनेछ। सद्भावना भ्रमणको रूपमा ओलीको चीन भ्रमणलाई सफल मान्नुपर्छ। ओलीको चीन भ्रमणको चर्चा गर्दा हामीले व्यक्ति ओली र प्रम ओली गरी उनको स्थितिलाई दुई भागमा विभाजित गर्न उपयुक्त हुनेछ। व्यक्ति ओलीको रूपमा उनी जे जति विवादित भए तापनि, कुनै एक दलको प्रमुख भए तापनि, उनले अनेक नेताहरूसँग प्रतिशोधको भाव राखे तापनि प्रम ओलीको रूपमा उनी देशका प्रधानमन्त्री हुन्। अहिले व्यक्ति ओली चीन पुगेको होइन, नेपालको प्रम ओली चीन पुगेको हो।

सारमा भन्नुपर्दा हामीले प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमण सफल मान्नुपर्छ। आजभोलि हामी हरेक कुरामा खोट देख्ने र आलोचना गर्दा आनन्दको अनुभूति गर्ने मनोविज्ञानबाट बढी प्रभावित भएका हौं कि जस्तो लाग्छ। यसैगरी, निराशाले पनि हामीलाई आजभोलि अति नै सताएको हो कि जस्तो लाग्छ। घोर निराशाले हामीलाई सकारात्मकभन्दा नकारात्मक विचार बढी राख्न प्रेरित गरेको हो कि? तर आशा राख्नु राम्रो हो।








विश्वराज अधिकारी

akoutilya@gmail.com

पतीक दैनिकमा प्रकाशित: Friday, December 6, 2024

https://eprateekdaily.com/2024/12/06/77352/