Wikipedia

Search results

Friday, March 13, 2026

Nepal: Overseas Labor Markets and Mounting Risks-Article-620

 अति असुरक्षित अन्तर्राष्ट्रिय श्रम बजार

युद्ध नहुनु पर्ने थियो। तर युद्ध आरम्भ (फेब्रुअरी २८, २०२६) भयो। युद्ध पनि यस्तो किसिमले आरम्भ भयो जुन कल्पनाभन्दा बाहिर हुन पुग्यो। कल्पनाभन्दा बाहिर किन हुन पुग्यो भने यो युद्ध केवल अमेरिका–इजराइल र इरानबीच हुने अनुमान गरिएको थियो। तर यो युद्ध विस्तार भएर युरोपलगायत खाडीका अनेक देशहरूमा फैलिएको छ। अप्रत्यक्षरूपमा भन्ने हो भने एशियाका अनेक देशलाई समेत यो युद्धले तानेको छ। ओमान, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबियाजस्ता राष्ट्रहरूसमेत यस युद्धको प्रत्यक्ष प्रभावमा परेका छन्।

यो युद्धबारे दुईवटा विचार सतहमा आएका छन्। युद्धबारे पहिलो विचारले भन्छ–यो युद्ध लगभग एक महीनामा समाप्त हुनेछ। यो युद्धलाई एक महीनाभन्दा बढी धान्न सक्ने स्थिति इरानसँग छैन। त्यस कारण इरान एक महीनापछि अमेरिकासँग वार्ता गर्न तयार हुनेछ र युद्ध तत्काल समाप्त नभए पनि युद्धविराम भने अवश्य हुनेछ। आफ्नो पैसा खर्च गरेर, सयौंको सङ्ख्यामा आफ्ना सैनिकहरू हताहत गराउन, इरानको पक्षमा युद्ध गर्न भनेर चीन र रूस आउनेछैनन्। रूस पहिलेदेखि युक्रेनसँग लामो युद्धमा छ। युक्रेनसँगको युद्ध नै रूसका लागि अति खर्चिलो र ठूलो हताहतपूर्ण भएको छ। चीन व्यापारिक देश हो। उसले कुनै पनि देशलाई सैन्य सहयोग गर्नुपूर्व आफ्नो नाफा–घाटा राम्ररी, दूरगामी प्रभावको मूल्याङ्कन गरेर मात्र गर्छ। अर्कोतिर, चीन पहिलेदेखि आफ्नो देशभित्र कट्टरपन्थी इस्लामहरूको अनेक विद्रोहबाट प्रभावित छ । चीनका सिझयाङ प्रान्तका कट्टरपन्थी इस्लामी समूहहरूले केन्द्र सरकारलाई बेलाबेला दुःख दिने गरेका छन्। सिनजांग प्रान्तका कट्टरपन्थी इस्लामी सङ्गठनहरू चीनको टाउको दुःखाइ रहँदै आएका छन्। यस्तो स्थितिमा इरानमा, कट्टरपन्थी इस्लामहरूले आरम्भ गरेको युद्धमा इरानलाई सहयोग गर्न चीन प्रत्यक्षरूपमा आउने सम्भावना ज्यादै कम छ। यी कारणहरूले यो युद्ध छिटै समाप्त हुने अनुमान गरिएको छ।

युद्धबारे दोस्रो विचारले भन्छ–यो युद्ध लामो समयसम्म चल्छ। एक वर्ष वा त्योभन्दा पनि लामो अवधिसम्म चल्न सक्छ। अर्थात् सानै आकारमा भएपनि युद्ध चलि नै रहन्छ। अब मानौं, यदि यो युद्ध लामो समयसम्म चल्यो र युनाइटेड अरब इमिरेट्स, साउदी अरिबेया, ओमान, कुवेत, कतार, बहराइनलगायत नौवटा राष्ट्र, जो यो युद्धबाट प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमले प्रभावित छन् र जहाँ नेपालीहरू ठूलो सङ्ख्यामा कार्यरत छन्, उनीहरूले त्यहाँ रोजगार गुमाएमा, नेपालले ती देशहरूबाट प्राप्त गर्ने विप्रेषणको स्थिति के होला? नेपालीहरू ठूलो सङ्ख्यामा नेपाल फर्किनुपर्ने स्थिति भएमा नेपालले प्राप्त गर्ने आम्दानीका स्रोतहरूमध्ये महत्त्वपूर्ण रहेको विप्रेषणको स्थिति के होला? नेपालको कुल गार्हस्थ्य उत्पादनको लगभग ३५ प्रतिशत केवल विप्रेषणले ओगटेको छ। विप्रेषणप्राप्तिमा ठूलो कमी आएमा नेपालको अर्थव्यवस्था कुन स्तरसम्म प्रभावित होला? 

यो युद्धबाट तत्काल प्रभावित हुने देशहरूमा नेपालीहरूको बसोवास यस किसिमको रहेको छ– संयुक्त अरब इमिरेट्स ७,००,०००, साउदी अरेबिया ३,८४,८६५, कतार ३,५७,९१३, कुवेत १,७५,०००, ओमान २५,०००, बहराइन २८,०००, इराक ३०,०००, साइप्रस १७,०००, इजराइल ६,५०० र लेबनान १,५००।

विप्रेषणप्रति हाम्रो निर्भरता कम हुनुको साटो प्रत्येक वर्ष चुलिने क्रममा छ। राष्ट्रको सत्ताकेन्द्रित राजनीतिले कहिले पनि विप्रेषणप्रति हाम्रो अतिनिर्भरता कम पार्नेतिर ध्यान दिएन। यो विषयलाई कहिले पनि गम्भीरतापूर्वक लिएन। यदि यो युद्ध लामो समयसम्म चल्यो भने देशको अर्थतन्त्र कस्तो होला? खाडीका देशहरूमा लाखौंको सङ्ख्यामा रहेका नेपालीहरू नेपाल फर्के भने के होला?

मैले धेरै पहिलेदेखि यस पत्रिकामा अनेक लेखहरूमार्फत भन्दै आएको छु– विप्रेषणप्रति हाम्रो अतिनिर्भरता देशको अर्थव्यवस्थाको लागि राम्रो होइन। यसलाई कम पार्नुपर्छ। रोजगारका लागि अन्तर्राष्ट्रिय श्रम बजारप्रतिको हाम्रो अतिनिर्भरता समाप्त पार्नुपर्छ। विप्रेषणले देशको साधारण खर्च धान्ने स्थिति अन्त्य हुनुपर्छ।

आउने धेरै वर्षसम्म अन्तर्राष्ट्रिय श्रम बजार, खासगरी हाम्रोलागि, सुरक्षित देखिंदैन। यदि अमेरिका–इजराइल र इरानबीचको युद्ध लामो समयसम्म चल्यो भने खाडीका देशहरूमा नेपालीहरूले काम गर्नु अति जोखिमपूर्ण हुनेछ।

युद्धको कारणले मात्र नभएर, राष्ट्रको समग्र आर्थिक विकासको लागि पनि विप्रेषणप्रतिको अतिनिर्भरता राम्रो होइन। विप्रेषणप्रतिको अतिनिर्भरताको सोझो अर्थ– हामीले हाम्रो देशभित्र उपलब्ध श्रमको उपयोग गर्न नसक्नु हो। वस्तु र सेवा बिक्री गरेर होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा केवल श्रम बिक्री गरेर बाँच्ने स्थितिमा पुग्नु हो।

केवल भय देखाएर हुँदैन। समाधानका उपायहरू पनि देखाउनु उचित हुन्छ। यसैगरी, राजनीति र नेताहरूको आलोचन गरेर मात्र हुँदैन। आफ्नोतर्फबाट प्रत्येक नागरिकले पनि यो समयस्याको समाधानका उपायहरूको खोजी गर्नुपर्छ। विप्रेषणप्रतिको अतिनिर्भरता कम पार्न स्वदेशमा नै रोजगारका अनेक अवसर सृजना गर्ने दायित्व प्रत्येक नागरिक हो।

युद्धका कारण खाडीका देशहरूबाट यदि ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्किनुपर्ने स्थिति उत्पन्न भएमा उनीहरूलाई तथा नेपालमैं रहेका युवाहरूलाई कसरी रोजगार उपलब्ध गराउन सकिन्छ, त्यसबारे विचार गरौं। 

नेपालमा ठूलो सङ्ख्यामा रोजगार सृजना गर्न मुख्यता दुईवटा कार्य गर्न आवश्यक छ।

पहिलो कार्य– कृषिलाई उच्च प्राथमिकता दिने। कृषकहरूको हितको संरक्षण गर्ने। उनीहरूलाई मूल्य निर्धारण, भण्डार, यातायात, संरक्षण जस्ता कार्यहरूमा सरकारले सहयोग दिने।

दोस्रो कार्य– नेपालका कृषि उत्पादनहरू स्वदेशभित्र ठूलो परिमाण एवं सङ्ख्यामा बिक्री हुने स्थिति ल्याउन व्यापार संरक्षण नीति अवलम्बन गर्ने। अर्थात् विदेशबाट आयात गरिने कृषि वस्तुहरू जस्तै दाल, तेल, चामल, तरकारी, मसला, फलफूल, माछा, मासु, दूध, दही, चिनी आदिमा आयात शुल्क (भन्सार) वृद्धि गर्ने। भारत वा अन्य देशबाट आयात गरिने कृषि वस्तुहरू सस्तो र नेपालमा उत्पादन हुने कृषि वस्तुहरू महँगो हुने भएकोले नेपालका कृषि वस्तुहरूले विदेशबाट आयात गरिएका वस्तुहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति छैन। मूल्यका कारण नेपालका कृषि वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको हुनाले नेपालका कृषि वस्तुहरूलाई ठूलो मात्रमा स्वदेशी बजारमा ग्राह्य बनाउन नेपालका कृषि वस्तुहरूलाई संरक्षण दिन आवश्यक छ।

देशको ठूलो खर्च धान्न भंसार-आय आम्दानीको ठूलो स्रोत भएकोले विगतका सरकारहरूले (अनावश्यक खर्च जस्तै- ठूलो मन्त्रीमण्डल, अनावश्यक मन्त्रालयको गठन, अनावश्यक समीतिहरूको गठन, प्रान्तीय सरकार, मन्त्रीहरू उच्च तलब, भत्ता एवं सुविधाहरू) केवल आयात शुल्क परिमाण बृद्धि गर्न आयात परिमाण बढाउनेतिर मात्र ध्यान दिए। थोरै आयात गर्दा, आयात शुल्क घटे पनि, कालान्तरमा, देशका उद्योग, व्यापारले संरक्षण पाएको कारण देश भित्र अनेक रोजगारीका औसर सृजना हुने तर्फ विगतका सरकारहरूले पट्कै ध्यान दिएनन। देशका उद्योग, व्यापार धारासायी हुने स्थितिमा, आयात शुल्क परिमाण बढाएर भए पनि, आफ्नो र आफ्नो दलको फाइदाको लागि आयात शुल्क परिमाण बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित गरे।

नेपालमा कृषि क्षेत्रको विकासका लागि यस क्षेत्रको संरक्षण अति आवश्यक छ। नेपालका कृषि वस्तुहरू ठूलो मात्रामा नेपालभित्रै बिक्री हुने स्थिति ल्याउन हामीले व्यापार संरक्षण नीति अवलम्बन गर्न अति आवश्यक छ। भारतीय र चिनियाँ वस्तुहरू, नेपाली वस्तुहरूको तुलनामा सस्तो भएका कारण हामीले भारत र चीनबाट ठूलो परिमाणमा आयात गर्ने र नेपालले सीमित वस्तुहरू मात्र उत्पादन गर्ने हो भने नेपालमा रोजगारका अवसरहरू झनै सङ्कुचित भएर जान्छ, विप्रेषणप्रति निर्भरता अझै बढेर जान्छ र क्रमिकरूपमा देश गरीब हुँदै जान्छ। निर्यात होइन, आयातमुखी बन्दै जान्छ। 

अन्तर्राष्ट्रिय श्रम बजार अति असुरक्षित हुँदै गएको सन्दर्भमा हामीले पहिलो चरणमा रोजगारका अनेक अवसरहरू देशभित्रै सृजना गर्न कृषि क्षेत्रलाई थप सुविधा र सुरक्षा दिन आवश्यक छ। यसैगरी, व्यापारका अनेक क्षेत्रहरूमा पनि व्यापार सुरक्षा नीति अवलम्बन गर्न आवश्यक छ।

वर्तमानमा मात्र होइन, भविष्यमा पनि अन्तर्राष्ट्रिय श्रम बजार असुरक्षित हुने स्थिति देखिएको छ। यो विषयलाई हामीले गम्भीरतापूर्वक लिन आवश्यक छ। र अन्त्यमा, खाडीका देशहरूमा रहेका नेपालीहरूको कसरी उद्धार गर्ने त्यसबारे तत्काल सोच्न आवश्यक छ। उनीहरूलाई नेपाल फिर्ता ल्याउनुपर्ने स्थिति उत्पन्न भएमा कसरी सुरक्षित फिर्ता ल्याउने त्यसबारे सोच्न आवश्यक छ। फिर्ता ल्याउने कार्यको लागि हामीले चीन, भारत, पाकिस्तान, टर्कीजस्ता राष्ट्रहरूबाट सहयोगका लागि अनुरोध गर्न सक्छौं।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, March 13, 2025 

https://www.eprateekdaily.com/detail/97576

No comments:

Post a Comment