Wikipedia

Search results

Sunday, March 29, 2026

Nepal: Impacts of War and Independent Economy-Article- 622

 युद्धको असर र स्वावलम्बी अर्थतन्त्र

इरान र अमेरिका–इजराइलबीचको युद्ध अहिलेसम्म समाप्त भएको छैन। कहिलेसम्म समाप्त हुने हो अनुमान गर्न सकिने स्थिति पनि छैन। यो युद्ध कहिलेसम्म चल्ने हो त्यो पनि भन्न सकिने स्थिति छैन। यो युद्ध आउने एक हप्तासम्म पनि चल्न सक्छ। वर्षौसम्म पनि चल्न सक्छ। तर यो अनिश्चित युद्धले पेट्रोलियम पदार्थ आपूर्ति–बजारमा विश्वभरि ठूलो अनिश्चितता ल्याइदिएको छ। हाहाकार मचाइदिएको छ। पेट्रोलियम पदार्थ निर्यात गर्ने इरान आफैं युद्धमा संलग्न रहेको र यसले विभिन्न राष्ट्रहरूलाई तेल आयात गर्न प्रयोग गर्न दिने बाटो, होर्मुज जलडमरुमध्य इरानको नियन्त्रणमा रहेकोले संसारका अनेक देशहरूमा तेल आपूर्ति नराम्ररी अवरुद्ध हुन पुगेको छ। संसारभरि हुने तेलको आपूर्ति मध्ये २० प्रतिशत आपूर्ति यही होर्मुजबाट हुन्छ।

भारतजस्तो दक्षिण एशियाको आर्थिक बाघ पनि यस सङ्कटबाट पीडित हुन पुगेको छ। भारतका उद्योगहरू मात्र होइन नागरिकका भान्साहरू पनि नराम्रो गरी प्रभावित हुन पुगेका छन्। इरान युद्धको कारण उत्पन्न भएको तेल सङ्कटको व्यवस्थापन गर्न देशभित्र राष्ट्रिय ऊर्जा सङ्कट घोषणा गर्ने फिलिपिन्स विश्वको पहिलो राष्ट्र हुन पुगेको छ। बर्मा, पाकिस्तान, बङ्कलादेश, श्रीलङ्का आदि राष्ट्रहरूले तेल सङ्कट समाधान गर्न अनेक किसिमका तेल आपूर्ति योजनाहरू अगाडि सारेका छन्। अनेक राष्ट्रका उद्योग र यातायात व्यवस्था मात्र होइन सामान्य नागरिकहरूको भन्साघरसमेत प्रभावित हुन पुगेका छन्। तेल सङ्कटले गर्दा अनेक देशका रेस्टुरेन्टहरू पनि प्रभावित हुन पुगेका छन्।

विश्वका अनेक राष्ट्रहरूमा पेट्रोलियम पदार्थ आपूर्ति ठूलो सङ्कटको रूपमा देखिएको छ भने संयुक्त राज्य अमेरिकामा तेल सङ्कट त परको कुरा, तेलको अभावसम्म पनि कतै देखिएको छैन। तेलको बिक्री मूल्य ठूलो मात्रामा बढेकोसमेत छैन। बजारमा जति मात्रामा जुन बेला पनि उपभोक्ताले खोजेको मात्रामा सजिलै तेल खरीद गर्न सकिन्छ।

अब आउनुहोस् तेल सङ्कट हुने राष्ट्र र नहुने राष्ट्रहरूको तेल व्यवस्थापनको कुरा गरौं। अहिले तेल वा ऊर्जा सङ्कट भोगिरहेका राष्ट्रहरूले ऊर्जामा र खास गरी तेल उत्पादनमा, आत्मनिर्भर हुनेपट्टि कहिले पनि ध्यान दिएनन्। ऊर्जाका लागि खाडीका देशहरूमाथि निर्भर रहि नै रहे। अर्थात् आफ्नो स्रोत विकास गर्ने तिर ध्यान दिएनन्। दक्षिण एशियाको धनी राष्ट्र, भारतले पनि ऊर्जामा आत्मनिर्भर हुनेपट्टि ध्यान दिएन। अर्कोतिर संयुक्त राज्य अमेरिकाले ऊर्जा र विशेषगरी तेलमा आत्मनिर्भर हुने नीति लियो। सोही नीति अनुसार योजना र कार्यक्रमहरू निर्माण गर्यो। अमेरिकाले ऊर्जा उत्पादनमा अधिक जोड दियो। आर्थिक विकासको मेरुदण्ड ऊर्जा र सस्तो ऊर्जा हो भन्ने कुरालाई मनन गर्यो। व्यवहारमा समेत पनि ल्यायो।

अहिले अमेरिकाले केही परिमाणमा मात्र पेट्रोलियम पदार्थ (ऊर्जा) आयात गर्छ तर आयात गर्न सक्ने स्थिति नभए पनि देशभित्र उत्पादन हुने ऊर्जाले अमेरिकाको राष्ट्रिय आवश्यकता पूर्ति हुन सक्छ। अर्थात् अमेरिकाले पेट्रोलियम पदार्थका लागि अन्य राष्ट्रहरूप्रति निर्भर हुनुपर्दैन। कतिपय स्थानहरूमा अमेरिकाले पेट्रोलियम पदार्थ सञ्चितिको रूपमा राखेको छ। अभाव भएमा मात्र तिनको प्रयोग गर्ने नीति लिएको छ।

अब नेपालको कुरा गरौं। हामीले पनि तेल उत्पादन देशभित्र नै गर्ने तथा तेलका लागि भारतप्रति निर्भरता घटाउने तथा तेलको विकल्प खोज्नेपट्टि ध्यान दिएनौं। हाम्रो ध्यान केवल सत्ता र व्यवस्था परिवर्तनतिर मात्र केन्द्रित हुन पुग्यो।

अहिले देखिएको विश्व अशान्ति लामो पनि हुन सक्छ। यस्तो विश्व अशान्ति समाप्त भएर अर्को अशान्ति पनि आउन सक्छ। तेल उत्पादन गर्ने खाडीका देशहरूबीच पनि युद्ध हुन सक्छ। भारतले नेपाललाई दिने तेल वा तेल आयात गर्न प्रयोग गर्न दिने बाटो अवरुद्ध पनि गर्न सक्छ। वा भारत आफैंले तेल सङ्कट भोगिरहेको स्थितिमा नेपाललाई तेल दिन नसक्छ वा दिने परिमाणमा कटौती गरिदिन सक्छ। यी सबै स्थितिको मूल्याङ्कन गर्दा तेलको लागि र मुख्यगरी ऊर्जाका लागि नेपाल आत्मनिर्भर हुन आवश्यक छ।

ऊर्जाका लागि आत्मनिर्भर हुन नेपालले सर्वप्रथम जलविद्युत् उत्पादनमा व्यापक वृद्धि गर्न अनेक उपायहरूको खोजी गर्न आवश्यक छ। अनेक योजना निर्माण गर्न आवश्यक छ। ऊर्जा उत्पादनमा निजी र खासगरी समुदायिक लगानी बढाउन आवश्यक छ। यसैगरी, ऊर्जामा आत्मनिर्भर हुनका लागि नेपालले वायु एवं सौर्य ऊर्जाको उत्पादनमा जोड दिन आवश्यक छ। नेपालका पहाडी क्षेत्र र तराईका गाउँहरूमा सौर्य ऊर्जा उत्पादन ठूलो परिमाणमा गर्ने नीति ल्याउन आवश्यक छ।

यो आधुनिक युगमा, यो वैश्य युगमा ऊर्जा आर्थिक विकासको मेरुदण्ड हो। आर्थिक विकासका लागि नेपाल ऊर्जामा आत्मनिर्भर हुन आवश्यक छ। ऊर्जामा आत्मनिर्भर भएर मात्र होइन, नेपालले ऊर्जालाई सस्तो पार्न पनि आवश्यक छ। यसैगरी, ऊर्जा आपूर्तिलाई सरल पार्न पनि आवश्यक छ।

नेपाल, पेट्रोलियम पदार्थ वा भनौं ऊर्जाका लागि प्रत्यक्षरूपमा भारत र अप्रत्यक्षरूपमा खाडीका देशहरूप्रति हुने अतिनिर्भरताको स्थिति समाप्त गर्नुपर्छ। ऊर्जा सस्तो नपारेसम्म हामीले आर्थिक विकासको गतिलाई तीव्रता दिन सक्दैनौं। यसैगरी, ऊर्जा आपूर्तिलाई सरल नपारेसम्म हामीले आर्थिक विकासको गतिलाई तीव्रता दिन सक्तैनौं। कछुवा चालमा हिंड्न बाध्य हुन्छ।

ऊर्जा उत्पादनमा आत्मनिर्भर हुनका लागि हामीले स्वावलम्बी अर्थतन्त्रको विकासमा पनि जोड दिन आवश्यक छ। आफ्नो देशको अर्थतन्त्रको विकास गर्न स्वदेशमा नै राष्ट्रिय आवश्यकताका बहुसङ्ख्य वस्तुहरू उत्पादनमा जोड दिन आवश्यक छ। राष्ट्रिय आवश्यकताको परिपूर्ति गर्ने ठूलो परिमाणमा अनेक वस्तुहरू भारत र चीनबाट ठूलो परिमाणमा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। यसैगरी, राष्ट्रिय श्रमको सदुपयोग स्वदेशमा नै गरेर विप्रेषणप्रति अतिनिर्भरता क्रमिकरूपमा कम पार्नुपर्छ।

निष्कर्षमा, अब हामीले स्वावलम्बी अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ।








विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, March 27, 2026

https://www.eprateekdaily.com/detail/97908

No comments:

Post a Comment