विश्व अर्थतन्त्र तथा ड्रोन र मिसाइलको आगो
सन्
२००० पछि, तुलनात्मकरूपमा शान्ति कायम भएर, विश्व अर्थतन्त्रले सुस्त गतिमा नै भएपनि प्रगति गरिरहेको थियो। चीन, भारत, ब्रजील, बङ्गलादेश, इन्डोनेशिया, भियतनामजस्ता राष्ट्रहरूले यो समय (सन् २०००) पछि आर्थिक प्रगति गर्ने ठूलो अवसर
प्राप्त गरे। चीन र भारतले त चमत्कारी किसिमले विश्वलाई चकित पार्नेगरी आर्थिक
प्रगति गरे। तर सन् २०१९ मा फैलिएको कोरोना महामारीले प्रगतिपथमा दौडिरहेको विश्व
अर्थतन्त्रलाई सुस्तरी हिंड्न बाध्य पार्यो। सन् २०२० मा विश्व–आर्थिक वृद्धिदर
ऋणात्मक (–२२.८८) नै हुन पुग्यो । कोरोना महामारीबाट मुक्त हुन विश्व अर्थतन्त्रले
ठूलै सङ्घर्ष गर्नुपर्यो। सन् २०२५ पछि मात्र कोरोना महामारीबाट विश्व
अर्थतन्त्रले मुक्ति पाएको घोषणा गरियो। तर सन् २०२१ देखि नै विश्व अर्थतन्त्र
सुधारोन्मुख भइसकेको थियो। सन् २०२४ र २०२५ मा विश्व अर्थतन्त्र पुनः दौडिन सक्ने
स्थितिमा पुग्यो।
विश्व
अर्थतन्त्र दौडिन सक्ने वा आफ्नो पूर्वगतिमा चल्न सक्ने स्थितिमा पुगेको मात्र के
थियो, अमेरिका–इजराइल र इरानबीच फेब्रुअरी २८, २०२६ मा युद्ध आरम्भ भयो। यो युद्धले विश्व अर्थतन्त्रलाई कसरी र कुन
स्तरमा प्रभाव पार्ने हो,
त्यो अहिले नै भन्न सकिने स्थिति छैन। तर
यो युद्धले ल्याएको ऊर्जा अति सङ्कटको स्थिति हेर्दा विश्व अर्थतन्त्र नराम्ररी
प्रभावित हुने लक्षण बलियो गरी देखिएको छ। र त्यस्तो अनुमान गरिएको पनि छ।
यो
युद्ध अन्य दुई देशबीचको युद्ध जस्तो छैन। यो युद्धको स्वरूप र प्रकृति दुवै जटिल
छ। इरानजस्तो तेल उत्पादन र आपूर्तिमा विश्व बजारमैं ठूलो भूमिका रहेको राष्ट्रसँग
यो युद्ध भएकोले विश्वभरिका राष्ट्रहरू नराम्ररी प्रभावित हुने स्थिति छ। यो युद्ध
लम्बिएमा संसारभरि नै उत्पादन र वितरण दुवै कार्य नराम्ररी प्रभावित हुनेछन्।
उत्पादन र वितरण कम भएमा विश्वभरि रोजगार पनि प्रभावित हुनेछ। धेरै मानिस
बेरोजगारी हुनेछन्। विश्वमा गरीबी वृद्धि हुन सक्नेछ। कामना गरौं, यो युद्ध छिटै समाप्त होस्। दीर्घकालसम्म नचलोस्। विश्व अर्थव्यवस्था
पूर्ववत् बनोस्। मानिसमा दुःख नथपियोस्।
विश्वभरि
नै उद्योग, व्यापार, सेवा, यातायात व्यवस्थाजस्ता महत्त्वपूर्ण
कार्यहरू ऊर्जाका लागि पेट्रोलियम पदार्थमा निर्भर छन्। यतिमात्र होइन, हाम्रो सामान्य जीवन पनि ऊर्जामा आश्रित छ। भान्साघरदेखि
स्नानगृहसम्म हामीलाई ऊर्जा चाहिन्छ। यस्तो स्थितिमा ऊर्जा आपूर्ति अवरुद्ध हुनु
भनेको हाम्रो जीवन नै एक किसिमले स्थिर हुनु हो, गतिहीन हुनु हो।
अर्कोतिर, अमेरिका–इजराइल र इरानबीचको युद्ध, आजको मितिमा यो आलेख तयार पार्दासम्म समाप्त हुने स्थिति देखिएको
छैन। इरानका उच्च अधिकारीहरू ठूलो सङ्ख्यामा मारिनुले यो युद्धले लामो बाटो लिने
सम्भावना छ। तर पनि हेरौं,
राजनीतिमा एक मिनेटभित्रै पनि जे पनि हुन
सक्छ। त्यस्तै भएर यो युद्ध समाप्त होस्, शान्ति
कायम होस्।
यो
युद्ध लम्बिएर यसले विनाशकारी रूप लिएमा नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्नेछ, त्यस तथ्यको लेखाजोखा गरौं। नेपालीहरूले कुन स्तरको आर्थिक, मानसिक एवं सामाजिक सङ्कट बेहोर्नुपर्नेछ त्यसको लेखाजोखा गरौं।
ऊर्जा
र खासगरी पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस)को लागि नेपाल पूर्णरूपमा भारतमाथि आश्रित छ। यो युद्धले
गर्दा यदि भारतले नै ऊर्जा सङ्कट बेहोर्नुपर्ने स्थिति आएमा उसले नेपाललाई कसरी
ऊर्जा उपलब्ध गराउँछ? यो ठूलो प्रश्न हो। यसबारे हामीले समयमा
नै गम्भीरतापूर्वक सोच्न आवश्यक छ।
यो
युद्धको कारण नेपालले ऊर्जा सङ्कट बेहोर्नुपरेमा सर्वप्रथम नेपालका भान्साहरू
नराम्ररी प्रभावित हुनेछन्। ग्याँस त परको कुरा, स्टोभ बाल्नसम्म मटीतेल उपलब्ध हुनेछैन। नराम्ररी प्रभावित हुने
अर्को क्षेत्र हो, यातायात। ऊर्जा अभावका कारण नेपालको
यातायात व्यवस्था प्रभावित भएमा आवागमन मात्र अवरुद्ध हुनेछैन, वितरण एवं आपूर्ति व्यवस्था पनि प्रभावित हुनेछ। व्यापार र उद्योग
पनि नराम्ररी प्रभावित हुनेछन् र त्यसको असर रोजगारमा पर्नेछ। अर्थात् यो युद्ध
लम्बिएमा नेपालमा बेरोजगारी बढ्नेछ। गरीबी बढ्नेछ। गरीबी बढेमा त्यसले मानसिक र
सामाजिक समस्या निम्त्याउनेछ। गरीबीले निर्धनता वृद्धि गर्ने मात्र होइन, नागरिकको मानसिक स्वास्थ्यमा पनि असर पार्नेछ। विद्रोह, प्रदर्शन, लुटपाट जस्ता समस्याहरू समाजमा देखा पर्न
सक्छन्।
यो
युद्ध लम्बिएमा सर्वाधिक क्षति बेहोर्नुपर्ने क्षेत्र विप्रेषण हुनेछ। बहराइन, कुवेत, साउदी अरेबिया, कतार, ओमान, संयुक्त
अरब इमिरेट्सजस्ता राष्ट्रहरू, जो यो
युद्धबाट प्रत्यक्ष–अप्रत्यक्ष दुवै किसिमले प्रभावित छन्, मा नेपाली कामदारहरूको बसोवास ठूलो सङ्ख्यामा छ। यी राष्ट्रहरूले
नेपालीहरूलाई ठूलो स्तरमा रोजगार उपलब्ध गराएका छन्। यदि यो युद्धको कारण, अति असुरक्षाको कारण यी राष्ट्रहरूको उपत्पादन र व्यापार प्रभावित
भएमा, कलकारखानाहरू बन्द भएमा, विमानस्थलहरू बन्द भएमा त्यहाँ काम गर्ने नेपालीहरू ठूलो सङ्ख्यामा
बेरोजगारी हुने स्थिति निम्तिनेछ। त्यति मात्र होइन, यी राष्ट्रहरूबाट नेपालीहरू ठूलो सङ्ख्यामा स्वदेश (नेपाल) फर्किने
स्थिति पनि उत्पन्न हुन सक्नेछ। पश्चिम एशिया (खाडीका मुलुकहरू) मा ठूलो अशान्ति
स्थापित भएर नेपालीहरू ठूलो सङ्ख्यामा स्वदेश फिर्ता गर्नुपर्ने स्थिति आएमा
त्यसरी विस्थापित भएका व्यक्तिहरूलाई राष्ट्रले कसरी रोजगार उपलब्ध गराउनेछ? यो एउटा अर्को तर चिन्ताको विषय हो। विप्रेषणमा टिकेको नेपालको
अर्थतन्त्रको स्थिति के हुनेछ? सबै
राष्ट्रको आर्थिक स्थिति अव्यवस्थित हुँदा कुन राष्ट्रले नेपाललाई ऋण वा आर्थिक सहयोग
दिनेछ? कुन संस्था नेपाललाई ऋण दिन अघि सर्नेछ?
यो
आलेखको उद्देश्य भय सृजना गर्नु होइन। यसको उद्देश्य भविष्यमा यस्ता समस्याहरू आउन
सक्छन् भनी सम्बद्ध पक्षहरूले अहिलेदेखि नै सोचून् भनी उनीहरूलाई स्मरण गराउनु हो।
आउने समस्याहरूको समाधानका लागि पहिलेदेखि उपाय खोज्न सम्बद्ध पक्षहरूलाई आग्रह
गर्नु हो। जनतालाई पनि सचेत पार्नु हो।
यी
युद्धजनित समस्याहरू उत्पन्न हुन पनि र नहुन पनि सक्छन्, यसबाट हामीले धेरै कुरा भने सिक्न सक्छौं। हामीले सफा ऊर्जा
(जलविद्युत्, हावा विद्युत्, सौर्य विद्युत्) को उत्पादनमा जोड दिने नीति एवं योजनाहरू निर्माण
गर्न सक्छौं।
जलविद्युत्
कसरी बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ, त्यसबारे
गम्भीरतापूर्वक सोच्न सक्छौं। हामी जलस्रोतमा अति धनी राष्ट्र हौं। यो कुरा पुरानो
भइसक्यो। अब हामीले जलविद्युत् उत्पादनमा कसरी वृद्धि गर्ने भनी गम्भीरतापूर्वक
सोच्न आवश्यक छ।
यदि
हामीले ठूलो मात्रामा जलविद्युत् उत्पादन गर्ने हो भने, सौर्य ऊर्जा उत्पादन गर्ने हो भने, अहिले जस्तो,
हामीले ऊर्जाको लागि पेट्रोलियम पदार्थमा
आश्रित हुनुपर्दैन। हामी ऊर्जा उत्पादनमा स्वावलम्बी हुन सक्छौं। भविष्यमा, खाडीका देशहरूमा हुने यस किसिमका उथलपुथलले हाम्रो ऊर्जा आपूर्तिलाई
प्रभावित गर्नेछैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, March 20, 2026

No comments:
Post a Comment