Friday, November 7, 2025

Leaders: Responsible for National Poverty-Article-603

 

कसले बनायो नेपाललाई गरीब?

कसले बनायो नेपाललाई गरीब? यो प्रश्नको उत्तर ज्यादै सजिलो छ। र यो प्रश्नको उत्तर हामी सबैलाई थाहा पनि छ। नेपालका नेताहरूले नेपाललाई गरीब बनाएका हुन्। केही नेताहरूको कार्यले गर्दा नेपाल गरीब भएको हो। तर नेताहरूका के–कस्तो व्यवहारले गर्दा नेपाल गरीब भयो भन्ने यथार्थ भने धेरै जनालाई थाहा नभएको हुन सक्छ। आउनुहोस् यस आलेखमा नेताहरूका के कस्ता कार्यहरूले गर्दा यो देश गरीब भयो त्यसबारे चर्चा गरौं।

केही अपवादबाहेक हाम्रा सबै नेताहरूका क्रियाकलापले गर्दा नेपाल गरीब भएको हो। तर नेपाललाई गरीब बनाउन मुख्यगरी तीनजना नेताहरूको भूमिका महत्वपूर्ण रह्यो। शेरबहादुर देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दहाल। यी तीन नेताहरूको सत्तालोलुप प्रवृत्तिले गर्दा नेपाल गरीब भएको हो। यी तीन नेताहरूमध्ये सर्वाधिक पुष्पकमल दहाल र त्यसपछि, शेरबहादुर देउवाको पटक–पटक प्रधानमन्त्री हुने प्रवृत्तिले गर्दा नेपाल झनै गरीब भएको हो।

विगतमा को–को व्यक्ति कतिपटक नेपालको प्रधानमन्त्री भए भनी सूची हेर्ने हो भने शेरबहादुर देउवा पाँचपटक, पुष्पकमल दहाल तीनपटक र खड्गप्रसाद ओली तीनपटक प्रधानमन्त्री भएको देखिन्छ। केवल यी तीन नेताहरूले प्रधानमन्त्रीको पद आफू वरिपरि लामो समयसम्म घुमाएको पाइन्छ। यी तीनजना मात्र एघारपटक प्रधानमन्त्री पदमा रहेको पाइन्छ। सरकार प्रमुखको पद यी तीनजनाले लामो समयसम्म अगोटेको पाइन्छ। देशको आर्थिक विकासको लागि अनेक महत्वपूर्ण निर्णयहरू गर्ने अधिकार यी तीनजनाको हातमा पटक–पटक गएको पाइन्छ। यी तीनजना मिलेर एघारपटक प्रधानमन्त्री भए, तर देशको आर्थिक विकासको लागि के गरे त?

सरकार प्रमुख वा प्रधानमन्त्रीको कार्य देशको आर्थिक विकासका लागि नयाँ नयाँ आर्थिक नीति, कार्यक्रम तथा योजनाहरू ल्याउनु हो। विज्ञहरूको सल्लाह लिएर देशमा उद्योग र व्यपारको विकास गर्नु हो। रोजगारका नयाँ नयाँ अवसरहरूको खोजी गर्नु हो। देशका युवाहरूमा आशा र विश्वास सञ्चार गरेर उनीहरूको प्रतिभा र श्रमलाई देशको आर्थिक विकासमा उपयोग गर्न सकिने वातावरण निर्माण गर्नु हो। तर यी तीन नेताहरूले आफ्नो रचनात्मक समयको प्रयोग केवल सत्ता प्राप्तिका लागि, प्रधानमन्त्री हुनका लागि अनेक कुटिल नीतिहरूको निर्माण एवं प्रयोग गर्नमा खेर फाले। आफ्नो क्षमताको प्रयोग केवल आफू प्रधानमन्त्री हुनका लागि गरे। आफ्नै दलभित्र पनि, योग्य मानिसहरूलाई प्रधानमन्त्री बनाउनेतिर यी नेताहरूले कहिले ध्यान दिएनन्। जहिले पनि आफूमात्र सत्तामा बस्ने, शक्तिमा बस्ने, प्रम हुने दाउपेंच निर्माण र प्रयोगमा तल्लीन रहे।

यी तीन नेताहरूले प्रधानमन्त्री पदका लागि अति लोभ नगरेर आफ्ना दलका अन्य नेताहरूलाई प्रधानमन्त्री बनाएको भए अर्थात् त्याग भाव दर्शाएको भए, राष्ट्रको राजनीति अहिले जस्तो अति दूषित हुने थिएन। स्वच्छ हुने थियो। स्थिर सरकारको निर्माण हुने थियो। असल व्यक्तिहरू प्रधानमन्त्री बन्थे। राष्ट्रको आर्थिक विकासको गतिले तीव्रता लिने थियो।

देशको राजनीतिक स्थितिलाई अति नै अस्थिर पारेर भए पनि, नेपालमा विदेशी शक्तिहरूको हस्तक्षेप वृद्धि गराएर नै भए पनि, यी नेताहरूले आफू मात्र पटकपटक प्रम हुने दाउ खोजिरहे, षड्यन्त्र गरिरहे। राष्ट्रको आर्थिक विकासका लागि आफूले कहिले पनि त्याग भाव देखाएनन्। यी तीनजनामा त्याग भाव नआएको कारणले गर्दा राष्ट्रिय राजनीति अभूतपूर्व किसिमले दूषित हुन पुग्यो। अन्य नेताहरूले पनि यी तीन नेताहरूको पदलोलुप प्रवृत्तिको अनुकरण गर्न थाले।

यी तीन नेता नेताहरूको सत्तालोलुप प्रवृत्तिले गर्दा देशको राजनीति मात्र अस्थिर भएन, युवाहरूमा चरम निराशा समेत देखियो। युवाहरूमा उत्पन्न त्यो चरम निराशाले उनीहरूलाई घिसारेर विदेशतिर पुर्यायो। युवाहरूको सानो समूह मात्रले पनि स्वदेशमा रोजगार सृजना गर्नेबारे सोचेन। यी तीन नेताहरूको क्रियाकलापले गर्दा युवाहरूमा चरम निराशा देखियो र त्यो निराशाले उनीहरूलाई हिंसकसमेत हुन प्रेरित गर्यो। गत भाद्र २३ र २४ गते युवाहरूलाई आगजनी र तोडफोड गर्न त्यही चरम निराशाले उकस्याएको थियो। हुनत केही अपराधी तत्वहरूले त्यस किसिमबाट लुटपाट, आगजनी, तोडफोड आदि गरेको भन्नेहरू पनि छन्।

यी तीन नेताहरूले अब राजनीतिबाट सदाका लागि विश्राम लिने समय आइसकेको छ। यिनले राजनीतिमा सक्रिय हुन पुनः प्रयास गरेमा राष्ट्र थप गरीब हुनेछ। पुष्पकमल दहालले त राजनीतिबाट तत्काल नै, आजै, अहिले, सन्न्यास लिन आवश्यक छ। दहालले सोझासाझा युवाहरूलाई प्रयोग गरेर (माओवादी सङ्घर्ष), अनावश्यक हत्या हिंसा गरेर राष्ट्रलाई गरीब बनाउने कार्य गरेको नेपाली जनताको दिमागमा ताजा छ।

राष्ट्रको आर्थिक विकासका लागि यी तीन नेताहरूले अब त्याग गर्ने उपयुक्त समय आएको छ। राजनीतिबाट सदाको लागि सन्न्यास लिने उचित समय आएको छ। हाम्रो धर्मले पनि भन्छ– जीवनको अन्तिम कालमा सन्यास लिनुपर्छ।

ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यास गरी हाम्रो धर्मले जीवनको चार अवस्थाको निर्माण यही कारणले गरेको हो। जीवनको अन्तिम समयमा व्यक्ति लोभ लालसाबाट मुक्त होस् भन्ने चाहेको हो। जीवनको अन्तिम समय कामना मुक्त होस् भन्ने चाहेको हो।

देशको राजनीतिलाई स्थिर पारेर राष्ट्रको आर्थिक विकासको गतिलाई तीव्र पार्न यी तीन नेताहरूले राजनीतिबाट सन्न्यास लिन आवश्यक छ। यी नेताहरूलगायत अन्य नेताहरू जस्तै माधव नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, विद्या भण्डारी आदि आदिले नेपालको राष्ट्रिय राजनीतिबाट बहिर्गमन गरेमा, सन्न्यास लिएमा, राष्ट्रिय राजनीतिमा राम्रो सन्देश जानेछ। युवा एवं नवयुवा (नेता एवं कार्यकर्ता) हरू पनि त्याग भाव लिएर, इमानदार भई राष्ट्रको विकासमा जुट्ने छन्। 

शेरबहादुर देउवा, पुष्पकमल दहाल, खड्गप्रसाद ओलीलगायत अन्य नेताहरूले राजनीतिबाट सन्न्यास नलिने हो र मतदाताहरूले पनि निर्वाचनमा आफ्नो अमूल्य मत यी नेताहरूलाई दिएर, यी नेताहरूलाई पुनः विजयी गराउने हो भने नेपाल गरीबीको कुच्रकबाट बाहिर आउन गर्यो हुनेछ। आफ्नो स्वार्थलाई मात्र सर्वोपरि ठानेर, सत्ता र शक्तिमा रहन जहिले पनि दाउपेंच मात्र गर्ने, त्याग नदेखाउने यी नेताहरूलाई यिनीहरू सम्बद्ध दलहरूले पनि चुनावमा विजयी गराउने हो भने नेपाल गरीबीको दुष्चक्रबाट बाहिर आउन गार्हो हुनेछ।

मतदाताहरूले यी स्वार्थी नेताहरूलाई, यदि चुनावमा पुनः उठेमा, पराजित गराउनुपर्छ। यी नेताहरूलाई चुनावमा पुनः उठाउने दलहरूलाई समेत मतदाताहरूले निर्वाचनमा पराजित गराउनुपर्छ।

नेपालको आर्थिक विकासको गति तीव्र पार्ने अभिभारा मतदाताको हो। हामी मतदाताले यो कटु सत्य मनन र चिन्तन गर्न आवश्यक छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 7, 2025

No comments:

Post a Comment