Tuesday, November 18, 2025

Artificial Intelligence Could Bring Economic turmoil-Article-604

 एआईले आर्थिक अशान्ति ल्याउने सङ्केत

वर्तमान विश्वमा जुन गतिमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास भइरहेको छ, के त्यसले मानिसको जीवनमा सकारात्मक प्रभाव पारेको छ? के अहिलेको यो अति विकसित युगले मानिसलाई सुख र शान्ति दिएको छ? हामीले अन्तक्र्रिया गरिरहेको यो आर्टिफिसियल इन्टेलिजेन्सको युगले हाम्रो आर्थिक जीवनमा के सहजता ल्याएको छ? के यो आर्टिफिसियल इन्टेलिजेन्सको युगमा विश्वबाट गरीबी कम हुने सम्भावना बढेको छ? यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ।

कृषि युगलाई अविकसित युग मान्ने गरिन्छ। त्यो युगमा मुद्राको आविष्कार भएको थिएन। मुद्राको प्रयोग नभएकोले वस्तुद्वारा वस्तु विनिमय गर्नुपथ्र्यो। उद्योगहरूको स्थापना नभएकोले हाते औजार प्रयोग गरेर कृषि कार्य गर्नुपथ्र्यो। यस्ता अनेक कारणहरूले गर्दा त्यो युगलाई अविकसित युग भनिएको थियो तर त्यो युग के साँच्चीकै अविकसित थियो त? मानिसको आर्थिक जीवन यथार्थमा अति कष्टकर थियो?

कृषि युगमा मुद्राको आविष्कार नभएकोले र उत्पादन गरिएका वस्तुहरू बिक्री गर्दा विनिमय गर्नुपथ्र्यो। यो कारणले गर्दा कुनै एक व्यक्तिलाई धनी हुन अहिलेको जस्तो सरल थिएन। कतिपय अवस्थामा सहज पनि थिएन। उदाहरणको लागि, कुनै एक व्यक्तिको आँपको बगैंचामा एक लाख गोटा आँप फलेको छ र उसले त्यो आँप बिक्री गर्नु छ भने उसले त्यो आँप तत्काल विनियम गर्नुपर्थ्यो। शीत भण्डारको व्यवस्था नभएकोले आँप भण्डार हुन सक्ने स्थिति पनि थिएन। यो कारणले गर्दा कुनै वस्तु ठूलो परिमाणमा उत्पादन गर्न सम्भव थिएन र सङ्ग्रह गर्न पनि सम्भव थिएन। यसरी विनिमय गर्न कठिन भएकोले उत्पादक स्वयंले उपभोग गर्नुपथ्र्यो वा सानो पारिमाणमा विनिमय गर्नुपथ्र्यो। यो कारणले गर्दा ठूलो परिमाणमा उत्पादन गरेर, ठूलो परिमाणमा बिक्री गरेर, कुनै व्यक्ति अति धनी हुन सम्भव थिएन। यो कारणले गर्दा कुनै एक वा केही व्यक्तिहरू धनी हुने स्थिति थिएन। कृषि युगमा कोही अति गरीब र कोही अति धनी हुने स्थिति थिएन। प्रायः हरेक परिवारसँग सानो क्षेत्रफल भए तापनि आफ्नो स्वामित्वमा जग्गाको टुक्रा थियो।

तर मुद्राको जन्म भएपछि व्यक्तिहरूलाई धनी हुन ज्यादै सरल हुन गयो। माथिको उदाहरणमा जस्तो कुनै एक व्यक्तिलाई आँप बिक्री गर्न कठिन भएन। जतिसुकै ठूलो परिमाणमा भए पनि उक्त व्यक्तिलाई आँप बिक्री गर्न सरल भयो। उसले त्यो ठूलो परिमाणमा रहेको आँप बिक्री गरेर, आँपलाई मुद्रामा रूपान्तरित गरेर, आँपको उपयोगिता अर्थात् पैसा सङ्ग्रह गर्न सजिलो भयो। आँपलाई मुद्रामा सजिलै रूपान्तरित गर्न सकियो। कुनै पनि किसिमको झन्झट भएन।

मुद्राको उपयोगले वस्तुको उपयोगिता सङ्ग्रह गर्न सजिलो पारिदियो। बिक्री गरेर वस्तुको उपयोगिता सङ्ग्रह गर्न कुनै पनि समस्या भएन। मुद्राको यो सर्वाधिक ठूलो कार्य थियो र साथै सर्वाधिक खराब कार्य पनि थियो। 

मुद्राको जन्मले एकातिर विनियम कार्य सजिलो भयो। औद्योगिक विकासले गर्दा अर्कोतिर जतिसुकै ठूलो परिमाणमा उत्पादन गर्दा पनि पहिलेजस्तो भण्डार गर्न कठिन भएन। मुद्राको प्रयोगले गर्दा ठूलो परिमाणमा उत्पादन गर्न सजिलो भयो। अनेक बुद्धि र अनेक जुक्ति लगाएर, ठूलो परिमाणमा उत्पादन गरेर, ठूलो परिमाणमा उत्पादन गर्ने चुतर व्यापारीहरूलाई धनी हुन सजिलो भयो। मुद्राको जन्मपछि केही व्यक्तिलाई वा टाठाबाठाहरूलाई धनी हुन सजिलो भयो भने सामान्य मानिसहरू गरीबीकै अवस्थामा रहने स्थिति उत्पन्न भयो। मुद्राले यसरी समाजमा वर्ग सृजना ग¥यो। अर्थात् एउटा वर्ग गरीब भयो भने अर्को वर्ग धनी भयो। धनीले गरीबको श्रमको शोषण गरेर झन् धनी हुने युगको सूत्रपात भयो।

अहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सको युगमा बाँचिरहेका छौं। अहिले विकसित राष्ट्रका खुद्रा भण्डारहरूमा बिक्रेताको सट्टा ‘सेल्फ चेकआउट’ को व्यापक प्रयोग भइरहेको छ। भण्डार गर्ने, ओसारपसार गर्नेजस्ता कार्यहरू पनि रोबोटले गरिरहेका छन्। रोबोटहरूले अन्य कार्यहरू पनि गरिरहेका छन्। अर्थात् मानिसले गर्ने कार्य अहिले मेशिनले गरिरहेको छ। भविष्यमा, विभिन्न कार्यहरू सम्पन्न गर्न यदि यसैगरी ठूलो परिमाणमा रोबोटको प्रयोग हुने हो भने रोजगारको स्थिति के होला? रोबोटको प्रयोगले कति ठूलो सङ्ख्यामा मानिसलाई बेरोजगारी बनाउने होला?

रोबोट, मेशिन, आर्टिफिसियल इन्टेलिजेन्स आदिको प्रयोग गरेर व्यापारीहरूले विभिन्न लागत कम पार्न सक्छन्। उत्पादन लागत, वितरण लागत, भण्डार लागत, बिक्री लागत आदि कम पार्न सक्छन्। अनेक लागत कम गरेर मुनाफा वृद्धि गर्न सक्छन्। धेरै कमाउन सक्छन्। अति धनी हुन सक्छन्। तर रोजगारको स्थिति के होला? गरीबहरूको भविष्य के होला?

उत्पादन एवं बिक्रीमा रोबोट, मेशिन, आर्टिफिसियल इन्टेलिजेन्स आदिको प्रयोग व्यापक मात्रामा भएमा लाखौं व्यक्तिले रोजगार गुमाउने सम्भावना चुलिएर गएको छ। लाखौं व्यक्तिको रोजगार समाप्त भएमा एउटा समूह (श्रमिक) झन् गरीब भएर जाने तर अर्को समूह (व्यापारी) मुनाफा झनै बढेर अति धनी भएर जाने सम्भावना बढेको छ।

आर्टिफिसियल इन्टेलिजेन्सले रोजगारको क्षेत्रमा ठूलो प्रभाव पार्ने र विश्वभरि नै ठूलो सङ्ख्यामा व्यक्तिहरू बेरोजगारी हुने स्थिति देखिएको छ। केवल एउटा सानो मोबाइल वा सेलफोनको उत्पादनले घडी, क्यामरा, क्यालकुलेटर, रेडियो, टिभीको बिक्री–बजार सङ्कुचित पारिदियो। घडी र क्यामराको उत्पादन अभूतपूर्वरूपमा घटेर गयो। घडी र क्यामरा मरम्मत गर्ने व्यक्तिहरूले रोजगार गुमाए। सेलफोनले जस्तै, आर्टिफिसियल इन्टेलिजेन्सले पनि कतिजनाको वा कुन–कुन क्षेत्रका व्यक्तिहरूको रोजगार खाने हो भन्न सकिने स्थिति छैन।

सुख र शान्तिका साथ बाँच्न मानिसलाई रोजगार चाहिन्छ। रोजगारले आम्दानी दिन्छ। आम्दानीले जीवन सहज पार्छ। तर ठूलो सङ्ख्यामा मानिस बेरोजगारी भएमा समाजमा अशान्ति बढ्छ। अशान्ति बढेमा अपराध बढ्छ। अपराध बढेमा समाज दूषित हुन पुग्छ। समाज बेविचारी हुन पुग्छ। 

अति उद्योगीकरणले, एक त पहिले नै, गरीब र धनीबीचको दूरी फराकिलो पारेको थियो। अब आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले सृजना गरेको गरीबीको कारण केही व्यक्तिलाई बाँच्न पनि कठिन हुने हो कि भनी सोच्नुपर्ने स्थिति उत्पन्न भएको छ।

विकासको पनि एउटा सीमा हुन्छ। एउटा सीमाभित्र रहेर विकास हुनुपर्छ। सोही सीमाभित्र रहेर विज्ञान र प्रविधिको विकास हुनुपर्छ। सीमा उल्लङ्घन गरेर भएको विकासले विनाश पनि ल्याउन सक्छ। अनेक कलह पनि उत्पन्न गराउन सक्छ।

हामी भन्छौं अहिले हामी अति उन्नत युगमा बाँचिरहेका छौं। विज्ञान र प्रविधिको क्षेत्रमा भएको अति विकासले हाम्रो जीवन सरल, सहज र समृद्ध पारेको छ। के साँच्चै त्यस्तै भएको छ त? हामी अति उन्नत युगमा बाँचिरहेका हौं भने किन संसारका अनेक देशहरूमा युद्ध भइरहेका छन्? किन अनेक देशभित्र पनि अनेक आतङ्कवादी कार्यहरू भइरहेका छन्? अनेकौं देशभित्र नै पनि किन अनेक किसिमका आन्तरिक सङ्घर्षहरू भइरहेका छन्?

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 15, 2025

No comments:

Post a Comment