दक्षिण एशियामा आर्थिक अस्थिरताको सङ्केत
दक्षिण एशिया फेरि अशान्त हुने देखिएको छ। हुनत दक्षिण एशियामा
चिरशान्ति बिरलै देखिएको छ। भारत, अफगानिस्तान, बङ्गलादेश,
भूटान,
माल्दिभ्स,
नेपाल,
पाकिस्तान
तथा श्रीलङ्का गरी दक्षिण एशियाका आठ देशमा चिरशान्ति कहिले पनि देखिएको छैन। कुनै
न कुनै विषय वा बहानाम यो क्षेत्रमा अशान्ति मच्चिएकै हुन्छ।
तुलनात्मकरूपमा भूटान अहिले केही शान्त देखिए पनि विगतमा यसले
बलपूर्वक जन–सङ्घर्ष दबाएको ताजा इतिहास छ। सन् १९८९ मा भूटान सरकारले ‘एक देश एक
जनता’ नीति लागू गरेर भूटानमा रहेका नेपाली मूलका भूटानीहरूमाथि ठूलो भेदभाव गर्यो। अन्याय गर्यो। उनीहरूलाई अनेक यातना दियो। अघोषितरूपमा नेपाली मूलका भूटानीहरूलाई
ठूलो सभूटानीख्यामा देश निकाला गर्यो। ठूलो सङ्ख्यामा नेपाली मूलका भूटानीहरूलाई
नेपालमा शरण लिन बाध्य पार्यो।
नेपाली मूलका धेरै भूटानीहरू शरणार्थी जीवन बिताउन बाध्य भए। भारत
सरकारको सहयोगमा, नेपाली मूलका भूटानीहरूले गरेको, त्यो सङ्घर्ष
दबाउन भूटान सरकार सफल भए तापनि त्यो सङ्घर्ष समाप्त भने भएको छैन। भूसको आगोझैं
अहिले पनि भूटानभित्र सल्किरहेको छ।
भारत पनि शान्त छैन। यसै महीना (नोभेम्बर १०, २०२५) को केही दिन
पहिले भारतको दिल्लीस्थित लालकिलामा भएको ठूलो विस्फोटनमा १३ जनाको ज्यान गएको
घटनाले यस कुराको पुष्टि हुन्छ। हुनत भारत आफ्नो स्थापना काल अथवा स्वतन्त्र भएको
(१५ अगस्त १९४७) समयदेखि नै अशान्त रहँदै आएको छ। भारतले स्वतन्त्रता प्राप्त
गरेदेखि आफ्ना छिमेकीहरू– चीन र पाकिस्तानसँग अनेक पटक युद्ध गरिसकेको छ।
बङ्गलादेशलाई हालको पाकिस्तानबाट टुक्राउन भारतले पाकिस्तानसँग परोक्ष युद्ध पनि
गरेको थियो। बङ्गलादेश पाकिस्तानबाट टुक्रिनु पूर्व यो देश पाकिस्तानको भूभाग थियो
र पूर्वी पाकिस्तानको नामले परिचित थियो।
सन् १९७५ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीद्वारा
देशभित्र लागू गरिएको आपतकालले भने भारतलाई राजनीतिक मात्र होइन, आर्थिकरूपमा
पनि ठूलो क्षति पुर्याएको थियो। २५
जून १९७५ देखि २१ मार्च १९७७ सम्म, अर्थात् २१ महीना भारतमा लागू गरिएको
आपतकालले यो देशलाई झनै गरीब बनायो। अशान्त पार्ने कार्य गर्यो। आपतकालको असर
भारतभित्र अति गहिरो पर्यो र त्यो असर यो
सानो लेखमा वर्णन गर्न सम्भव छैन।
बङ्गलादेशको स्थापना सन् १९७१ मा भएदेखि यो देशमा चिरशान्ति देखिएको
छैन। बृहत् वा लघुरूपमा भए तापनि यो देश अशान्त छ। हालै केही दिन पहिले (१७
नोभेम्बर २०२५) बङ्गलादेशको एउटा अदालतले त्यस देशकी पूर्व प्रधानमन्त्री शेख
हसिनालाई मृत्युदण्डको सजाय दिएको घोषणा गरेको छ। केही महीना पहिले बङ्गलादेशमा
भएको विद्रोह दबाउन, जसमा १,४०० व्यक्तिहरू मारिएका थिए, हसिनाले ठूलो शक्ति प्रयोग गरेको
दोषारोपण भएको छ। अदालतको यो फैसलाले बङ्गलादेश भविष्यमा थप अशान्त हुने सङ्केत
गरिरहेको छ। बङ्गलादेशको अर्थतन्त्रले मन्द गति लिने देखिएको छ।
२४ डिसेम्बर १९७९ मा तत्कालीन सोभियत रूस (USSR) सैन्य बलसहित प्रवेश गर्दा अशान्त
बनेको अफगानिस्तानमा अहिलेसम्म शान्त स्थापित हुन सकेको छैन। रूस सरकारको सैन्य
विस्तार रोक्न वा शान्ति स्थापना गर्न, जुन उद्देश्यले होस्, अफगानिस्तान
भित्र प्रवेश गरेको संयुक्त राज्य अमेरिकाको पनि उद्देश्य पूरा हुन सकेन। संयुक्त
राज्य अमेरिकाको साधन सम्पन्न सेना वा आधुनिक सुरक्षा व्यवस्थाले पनि
अफगानिस्तानमा मच्चिएको अशान्ति साम्य पार्न सकेन। उल्टो संयुक्त राज्य अमेरिकाले
अफगानिस्तानबाट आफ्नो सेना फिर्ता (३० अगस्त, २०२१ मा) बोलाउनुपर्यो। संसारमा केही मात्र यस्ता देश छन्,
जहाँ
सरकार जनमत होइन, शक्तिद्वारा निर्माण हुन्छ र त्यो शक्तिले जनतामाथि शासन गर्छ।
अफगानिस्तान तिनै कम देशहरूमध्ये एक हो।
पाकिस्तानबारे धेरै भन्नैपर्दैन। सन् १९४७ मा भारतबाट छुट्टिएर बनेको
यो देश स्थापना कालदेखि नै अशान्त छ। देशको शासन व्यवस्था आफ्नो हातमा लिएर यस
देशको सेनाले आफ्नो कुर्सी त बलियो पारेको छ तर देशको आर्थिक स्थिति भने अति नै
कमजोर पारेको छ। केही दिन पहिले (११ नोभेम्बर २०२५) पाकिस्तानको राजधानी
इस्लामाबादमा एउटा आत्मघाती बम विस्फोट हुँदा १२ जनाभन्दा बढीको ज्यान गएको थियो।
पाकिस्तानमा यस्ता घटनाहरू भइ नै रहन्छन्। पाकिस्तान पनि अति नै अशान्त छ।
पाकिस्तानको सम्बन्ध न भारत, न छिमेकी अफगानिस्तानसँग नै राम्रो छ।
श्रीलङ्काको स्थिति त जग जाहेर नै छ। कुनै बेला दक्षिणा एशियाको धनी
कहलिएको देश अहिले गरीब हुन पुगेको छ।
समग्रमा, दक्षिण एशिया स्रोत र साधनले भरिपूर्ण भए तापनि आर्थिक रूपमा सम्पन्न
हुन सकेको छैन। हालै शेख हसिनालाई सुनाइएको मृत्युदण्डको राजनीतिक असर प्रत्यक्ष्य
र अप्रत्यक्ष रूपमा भारत, पाकिस्तान, बङ्गलादेश,
श्रीलङ्का
र नेपालमा पर्ने निश्चित छ। यो घटनाले दक्षिण एशिया क्षेत्रको आर्थिक स्थितिलाई
प्रभावित गर्ने पक्का छ।
कुनै बेला परस्पर शत्रु रहेका दुई देश– बङ्गलादेश र पाकिस्तान अहिले असल मित्र हुन पुगेका छन्। पाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध राम्रो छैन। पाकिस्तान र भारतको सम्बन्ध चिरकालसम्म शत्रुतापूर्ण रहने कुरा यकीनका साथ भन्न सकिन्छ। परिस्थिति यस्तो रहेको परिप्रेक्ष्यमा बङ्गलादेशका कट्टरपन्थीहरूले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएर, यो क्षेत्रको आर्थिक विकास, मुख्यगरी बङ्गलादेशको आर्थिक विकासमा ठूलो तगारो लगाउने पक्का छ।
बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री हसिना र उनको सरकारविरुद्ध
त्यहाँका विद्यार्थी एवं सामान्य जनता सडकमा आएको र हसिना प्रम पद त्याग गर्न
बाध्य भएको सर्वविदित नै छ। तर हसिनाको बहिर्गनपछि बङ्गलादेशको शासन व्यवस्था
कट्टपन्थीहरूको हातमा गएको धेरैलाई थाहा नहुन सक्छ। यथार्थमा हसिनाको उदार नीति
रोक्न कट्टरपन्थीहरू देशको शासन व्यवस्था आफ्नो हातमा लिएर बङ्गलादेशलाई धार्मिक
दृष्टिले कट्टर राष्ट्र बनाउन प्रयत्नरत थिए। विद्यार्थीहरूको हसिना विरोधी
आन्दोलनले कट्टरपन्थीहरूलाई सत्तामा आउन सजिलो पारिदिएको हो। देशभित्रका सबै जातीय
समूहप्रति हसिनाको उदारता कट्टरपन्थीहरूलाई पटक्कै मन परेको थिएन।
शेख हसिनालाई सत्ताच्युत उनको आर्थिक नीतिले होइन, आसेपासेहरूलाई
मात्र फाइदा पुर्याउने उनको नीतिले
गरेको थियो। कट्टरपन्थीहरूको हसिनालाई सत्ताच्युत गर्ने दाउले गरेको थियो। शेख
हसिनाको शासनकालमा बङ्गलादेश आर्थिकरूपमा झन्झन् सबल हुँदै गएको थियो। कपास र कपडा
उत्पादनमा बङ्गलादेशले अभूतपूर्व प्रगति गरेको थियो। बङ्गलादेशले उत्पादन गरेका
कपडाहरू संसारभरि निर्यात हुन्थ्यो। आर्थिकरूपमा बङ्गलादेशलाई समृद्ध बनाउने
प्रयास गर्दागर्दै पनि शेख हसिनाको शासन किन समाप्त भयो? किन उनले
मृत्युदण्डको सजाए पाउने फैसला सुन्नुपर्यो?
माथिका प्रश्नहरूको सम्बन्ध केवल बङ्गलादेशको राजनीतिसँग मात्र छैन,
दक्षिण
एशियाको जनताको मनोविज्ञानसँग छ। व्यवहारसँग छ।
दक्षिण एशियामा र खासगरी बङ्गलादेश, पाकिस्तान,
भारत,
अफगानिस्तानजस्ता
राष्ट्रहरूमा देखिएको धार्मिक कट्टरताले यस क्षेत्रको आर्थिक विकास हुन दिइरहेको
छैन। नेताहरूको सत्ता र शक्तिलोलुपताले यो क्षेत्रको आर्थिक विकास हुन दिइरहेको
छैन। आर्थिक र पदीय भष्ट्राचारले यो क्षेत्रको आर्थिक विकास हुन दिइरहेको छैन।
शक्ति र सत्ता प्राप्त गर्न यस क्षेत्रका नेताहरू जस्तोसुकै घृणित
कार्य गर्न पनि तयार छन्। धार्मिक हिंसा भड्काएर भए पनि, लाखौंको हत्या
गराएर भए पनि, सत्ता र शक्ति हातमा लिन तयार छन्। धार्मिक कट्टरताको कुरा गरेर
अफगानिस्तानका केही नेताहरू देशभित्र शासन गर्न सफल भएका छन्।
दक्षिण एशियाको आर्थिक विकासमा के के तत्वहरू बाधकको रूपमा देखिएका छन् त? धार्मिक कट्टरता, उग्र राष्ट्रवाद, पद र शक्ति लोलुपजस्ता तत्वहरू दक्षिण एशियाको आर्थिक विकासमा बाधकको रूपमा देखिएका छन्। धार्मिक कट्टरता र उग्र राष्ट्रवादको प्रयोग गरेर यस क्षेत्रका नेताहरू पद र शक्तिमा पुग्न, पद र शक्तिमा चिरकालसम्म रहन सफल भएका छन्। उनीहरूको त्यो व्यवहारले दक्षिण एशिया क्षेत्रलाई आर्थिकरूपमा सम्पन हुन दिइरहेको छैन।
यो लेख समाप्त गर्नुपूर्व केही कुरामाथि छलफल भने गर्नुपर्ने हुन्छ।
नेताहरूलाई खराब कर्म गर्न सजिलो पारिदिने जनता नै हो। पदलोलुप तथा बेइमान
नेताहरूलाई चुनावमा अत्यधिक मत दिएर निर्वाचित गराउने पनि जनता नै हो। धार्मिक
कट्टरता फैलाएर जातीय हिंसा गर्न उत्प्रेरित गर्ने नेताहरूको त्यस्ता कार्यको
समर्थन गर्ने पनि जनता नै हो। जनताको ओट र भोट पाएर नै नेताहरूले दुष्कर्म गर्ने
हो।
दक्षिण एशियामा शान्ति कायम गर्न तथा यस क्षेत्रको आर्थिक विकासको
गतिलाई तीव्रता दिन यस क्षेत्रको जनता नै सचेत हुन आवश्यक छ। जनता सचेत न हुने हो
भने यो क्षेत्र कुनै न कुनै विषय वा बहानामा अशान्त भइरहने छ।
आशा गरौं, हसिना प्रकरणले यो क्षेत्रलाई लामो समयसम्म अशान्त नपारोस् । आर्थिक विकासको गति झनै सुस्त नहोस्।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, November 21, 2025
No comments:
Post a Comment