यो कुरा २०६३ साल माघ महिनाको हो। म, मेरो टाढाको नातामा काका पर्ने रंजन झासँग बीरगंजबाट बिराटनगर जादँ थिए, बसमा चढेर। रंजना झा, जो आफ्नो समयमा नाम चलेको नेता पनि हुनुहुन्थ्यो, भारतीय स्वतन्त्रता संग्रामा लड्न भारत जानु भएको थिएन मात्र, केही वर्ष भारत, बिहारको कुनै जेलमा बस्नु भएको पनि थियो। अहिले भने राजनीति देखि फ्रष्ट्रेटेड भइ सामान्य र एक्लो जीवन बिताइ रहनु भएको छ। हो, त्येही काका, अर्थात रंजन झाले एउटा कथा सुनाउनु भएको थियो मलाई, बीरगंज र बिराटनगरको बीचको बाटोमा। रंजन काकाले सुनाउनु भएको त्यो कथा म जस्ताको त्यस्तै राख्दै छु। वहाँकै शब्दमा।
‘धेरै, धेरै, धेरै वर्ष पहिलेको घटना हो रे। त्यो गाउँको नाम थियो बाग्मति गँगा। बाग्मति नदीलाई उनीहरु गँगा मानेर पूजा गर्द्थै। भन्थे पनि, यो हाम्रो भागिरथी गंगा हो। हामी यै बाग्मति गंगाका सन्तानहरु हौ। बाग्मति नदीको छेउमै भएको हुनाले नै त्यस गाउँको नाम बाग्मति गंगा राखिएको थियो रे। बाग्मति गंगा भनेर नामाकरण त्यै गाउँमा बसोबास गर्ने एक अति नै धर्मात्मा व्यक्तिले गरेका थिए। ती धर्मात्मा व्यक्तिले आफूसँग केही अन्य परिवारहरु पनि ल्याएका थिए त्यो बस्ती बसाल्नका लागि’।
‘ती परिवारहरुनै त्यस गाउँका आदिबासी थिए किनभने पहिले त्यहाँ कुनै बस्ति थिएन। ती धर्मात्मा व्यक्तिले त्यो गाउँका बासिन्दाहरुलाई संगठित गरेका थिए। गाउँको मध्य भागमा एउटा मन्दिर थियो। खेतिबारी, घर गृहस्थीको काम सकिने वित्तिकै या भनौ फुर्सत हुने वित्तिकै त्यस गाउँका मानिसहरु त्यो मन्दिरमा आइपुग्थ्ये। हरेक दिन विहान बेलुकी पूजापाठ हुन्थ्यो त्यस मन्दिरमा। साँझमा आरति पनि, धूमधामले । अनि सधैजसो भजन किर्तन। अनि महिना दुइ महिनामा अष्टयाम। भगवानको डोला निकालेर गाउँको परिक्रमा पनि गर्थ्ये गाउँलेहरुले खास खास अवसरहरुमा। यस्ता कार्यहरुको अगुवाइ तिनै धर्मात्मा व्यक्तिले गर्थे। उनी पूजारी पनि थिए त्यो मन्दिरको। गाउँका सारा मानिसहरु धार्मिक स्वभावका भएको हुनाले छलकपट, चोरी चकारी, बेइमानी, सैतानीको नामो निसानसम्म थिएन त्यस गाउँमा। पूर्ण इमान्दारी र अति परिश्रमद्वारा गाउँलाई सम्पन्न तुल्याएका थिए त्यहाँका बासिन्दाहरुले। माटो उब्जाउ भएको हुनाले बढी जग्गा हुनेहरु त धनी नै थिए। र त्यस्ताहरुको सङ्ख्या कम थिएन त्यो गाउँमा’।
‘तर एक दिन ज्यादै दुखद घटना घट्यो। बिहान पूजा गरिरहेको समयमा त्यस गाउँका ती धर्मात्मा व्यक्तिको मृत्यु भयो। गाउँका सम्पूर्ण व्यक्तिहरु शोकाकुल भए। मृत्यु शोकलाई पाँच दिनसम्म मनाए’।
‘ती धर्मात्मा व्यक्तिका शिष्यहरुले एकदिन गाउँका सम्पूण मानिसहरुलाई एक ठाउँमा भेला हुन बोलाए। र ती शिष्य मध्येको प्रमुख शिष्यले उपस्थितहरुलाई भन्यो – हामीले केवल शोक मनाएर हुँदैन, शोक व्यक्त गरेर मात्र वहाँ प्रतिको सच्चा श्रद्धाञ्जली झल्किदैन। यत्रो महान गुरुको त विषेश सम्मान नै गर्नुपर्छ। र त्यो सम्मान सबैले सजिलै देख्न सक्ने किसिमको हुनु पर्दछ, विशेष किसिमको हुनु पर्दछ तथा राम्रो कार्य गर्न सवैलाई प्रेरित गर्ने किसिमको हुनु पर्दछ’।
‘त्यो प्रमुख शिष्यको कुरा सुनेर एक पाको उमेरको व्यक्तिले प्रश्न गर्यो ‘महान गुरुलाई सम्मानित गर्ने खास किसिमको कुरा के हुन सक्छ, त्यस्तो’?
‘त्यो प्रमुख शिष्यले तत्काल उत्तर दियो – महान गुरुको, महान आत्माको एक पूर्ण कदको सालिक बनाउनु पर्दछ र गाउँको मध्य भागमा स्थापित गर्नु पर्दछ त्यसलाई, सबैले सजिलैसंग देख्ने गरी।’
‘प्रमुख शिष्यको उक्त प्रस्तावमा कसैले बिरोध जनाएन। वरु एक श्रोताले थप्यो पनि – त्यस्तो धर्मात्मा व्यक्तिको सालिक बनाउनु नितान्त आवश्यक थियो, तर ढीलो गरी निर्णय लिइयो त्यस्तो महत्वपूर्ण कार्य गर्न, जे होस अब चाँहि ढिलो नगरी तत्काल आरम्भ गरौ, त्यो महत्वपूर्ण कार्य’।
‘ती धर्मात्मा व्यक्तिको सालिक निर्माण भयो। गाउँका गण्यमान्य, बुद्दिजिवि, ठूलाठालू आदिको उपस्थितिमा त्यो सालिकलाई गाउँमा रहेको मन्दिरको अगाडि स्थापना गरियो’।
‘समय बित्दै गयो। दुइ वर्ष, चार वर्ष, पाँच वर्ष, सात वर्ष…………… यस्तै गरी समय बित्दै गयो’।
‘एक दिन बाग्मतिमा ज्यादै भयंकर बाढी आयो। धेरै दिनसम्म गाउँ जल मग्न भयो। गाउँका धेरै उब्जाउ खेतहरुलाई बालुबाले पुरिदियो त्यो बाढीले। गाउँमा गरीबी दिनप्रतिदिन बढ्न थाल्यो। गरीबीसँगै कलह पनि। गाउँ दुई वर्गमा बिभाजित भयो- आर्थिक रुपमा पनि दुई वर्गमा, मनोवैज्ञानिक रुपमा पनि दुई वर्गमा। एउटा वर्ग अति सम्मपन्न कहलियो भने अर्को ज्यादै बिपन्न। अति बिपन्न वर्गले सम्पन्न वर्गमाथि उनीहरुलाई ज्यादै निर्धन बनाएको भनी गंभिर आरोप लगायो। बिपन्न वर्गमा पर्नेहरुलाई त्यस वर्गभित्रको एक तेज वुद्धिको व्यक्तिले संगठित गर्यो र उनीहरुलाई भन्यो पनि, हेर हामीलाई गरीब तुल्याउने यै सम्पन्न वर्गका व्यक्तिहरु हुन। यिनिहरुको दुष्ट, जाल, झेल, र कुटिल चालमा परेर हामी गरीब भएका हौ। यी सम्पन्न वर्गका व्यक्तिहरुले हाम्रो आर्थिक शोषण गरे। बौद्धिक र शारिरिक पनि। हाम्रो श्रमको उचित ज्याला नदिएर नै यिनीहरु धनी भएका हुन। सम्मपन्न वर्गका व्यक्तिहरुलाई हाम्रो चरम शोषण गर्न सिकाउने व्यक्ति त्यही गद्दार, तथाकथित धार्मिक व्यक्ति हो। त्यो व्यक्ति धार्मिक थिएन, महान पापी, शोषक र शामन्त थियो। भ्रष्ट र चरित्रहीन पनि। त्यस्तो नहुँदो हो त त्यसले किन ……. ? केही पिडीत महिलाहरुलाई उसको बारेमा सोधे हुन्छ, ऊ कस्तो ……..थियो। हामी आफैले आफूसँग प्रश्न गरे हुन्छ, उसको वरिपरि शिष्य भन्दा शिष्याहरुको भिड किन बढी हुन्थ्यो। किन……………? किनभने………………’।
‘सम्पन्न र बिपन्न वर्गबीच प्रत्येक दिन विवाद उत्पन्न हुन थाल्यो। प्रत्येक दिन विवादका नयाँ नयाँ विषयहरु श्रीजना हुन थाले। निरन्तरको कलहले एकदिन उग्र रुप लियो। महान युद्ध भयो। सम्पन्न र बिपन्न वर्गको बिचमा। धेरै मारिए दुबै तिरका। तर समपन्न वर्गका व्यक्तिहरु चाहिँ धेरै मारिए र ज्यान जोगाउन सफलहुनेहरु गाउँमा बस्नु ज्यादै जोखिमपूर्ण हुने ठानी त्यहाँबाट पलायन भए। केही बनारसको धर्मशालामा बस्ने गए भने केही हरिद्वारको। केही भने जनकपुरको मठ मन्दिरहरुमा पनि बस्न गए।’
‘सम्पन्न वर्गका व्यक्तिहरुलाई गाउँबाट सफाया गर्न सकेकोमा अति प्रफुल्लित हुँदै विपन्न वर्गका व्यक्तिहरुले विजय जुलुस निकाले। सम्पूर्ण गाउँको परिक्रमा गरे, जुलुस निकालेर, धेरैबेर सम्म हिँडे जुलुसमा, जय जयकार गर्दै। गाउँको परिक्रमा गरिसकेपछि जुलुसमा रहेका सम्पूर्ण व्यक्तिहरु गाउँमा स्थापना गरिएको त्यो मन्दिरमा जम्मा भए,जहाँ ती धार्मिक कहलिएको व्यक्तिको सालिक थियो। मन्दिरमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै एक भीड नाइकेले भन्यो- यो गाउँबाट महान अत्याचारीहरुलाई निकाल्नमा हामी पूर्णतया सफल भयौ। तर ती महान अत्याचारीहरुका नाइके, दुष्ट, पापी अझै छाति फर्काएर हामीलाई गिज्याँउदैछ, हाम्रै भूमिमा उभिएर हाम्रो उपहास गर्दैछ, सालिकको रुप लिएर। यो सालिकलाई आज, अहिले , यतिखेर नै घनले हिर्काएर, टुक्रा टुक्रा पारी फालिदियौ बाग्मति नदिमा। मिटाइ दियौ यसको नामो निसान। यस्तो घृणित व्यक्तिको सालिक एक छिन पनि राख्नु हुँदैन यहाँ। यसले नै हामीलाई गरीब बनाएको हो। अरुहरुलाई पनि हाम्रो शोषण गर्ने सिकाउने यो नै हो। यै साले गद्दार हो। त्यसकारण धर्मको नाममा शोषण गर्ने, अत्याचार गर्ने यस्तो अत्याचारीको सालिक राख्नु पाप हो । यस्ताको सालिक राख्नु हामीले आफैले आफ्नो उपहास गर्नु हो, बेइज्जति गर्नु हो। आफ्नो खुट्टामा आफैले बन्चरोले हिर्काउन हो’।
‘त्यो भीड नाइकेको भनाइमा सहमति जनाउँदै सबैले एकैसाथ ताली बजाए। तालीको गडगडाहट टाढा टाढासम्म सुनियो। धेरै व्यक्तिहरु सालिक तोड्न उद्धत भए एकैसाथ । एक मिनटमा नै त्यो सिङ्गो सालिक हजारौ टुक्रामा बाँडियो रे। सालिकका टुक्राहरुलाई बाग्मति नदिमा फाले, सबै गाउँलेहरु मिलेर’।
‘समय वितिरहेको थियो। साथै बाग्मतीगंगा गाउँ भित्र एक अनौठो किसिमको कलहको बिउँ पनि अंकुरित हुँदै थियो, समयको गति सँग सँगै। कलहको प्रमुख कारण थियो एउटा विवाद, र त्यो विवद थियो, गाउँको आदि बासी को हो भन्ने विषयमा। त्यस गाउँको एक पक्षले हामी मात्र यो गाउँको आदि बासी हौ भनी दावा गरिरहेको थियो। कलहको त्यो बिरुवा एक दिन बिसाल रुखमा परिणत भयो। ठूलो मारकाट, रक्तपात पछि त्यो बाग्मतिगँगा नामको गाउँ भौगोलिक रुपमा दुइ भागमा बिभाजित भयो। एउटा गाउँको नाम पुरानाबासिन्दागाँउ राखियो भने अर्को गाउँको नाम राखियो, बिद्रोहीबस्ती’।
‘बिद्रोहीबस्ति र पुरानाबासिन्दागाँउका व्यक्तिहरु बीच सँधै झगडा हुन थाल्यो। एउटा गाउँको ले अर्को गाउँको लाई घृणा गर्ने मात्र होइन विवाद बढे एकले अर्कोको हत्या गर्न बाँकी नराख्ने स्थितिसम्म उत्पन्न भयो। काटामार धेरै दिनसम्म चलेपछि एक दिन भने केही शान्तिप्रेमीहरुको पहलमा एक सम्झौता भयो। सम्झौतामा सहमति भए अनुसार एक ज्यादै अग्लो पर्खालको निर्मण भयो। त्यो पर्खालले ती दुबै गाउँलाई भौगोलिक रुपमा प्रष्ट गरी छुट्याइदियो, भावनात्मक रुपमा त उनीहरु पहिलेदेखिनै बिभाजित थिए । पर्खाल ज्यादै अग्लो भएको हुनाले यताका मान्छेले उतकोलाई हेर्न सक्दैन्थ्ये। ती दुबै गाउँहरु बीच आवागमन पनि अबरुद्ध भयो’।
‘पुरानाबासिन्दागाउँका मानिसहरु एक दिन भेला भए। भेला हुनुको उद्देश्य थियो आफ्नो गाउँको इतिहासको खोजी गर्नु। त्यो भेलाको अगुवाइ गरिरहेको एक व्यक्तिले उपस्थित गाउँलेहरुतिर हेर्दै प्रस्ताव राख्यो - हाम्रो गाउँको नयाँ नामाकरण गर्नु पर्छ’।
‘उसले आफ्नो प्रस्तावको पक्षमा तर्कहरु पेश गर्दै भन्यो- हाम्रो यो गाउँ अति प्राचीन गाउँ हो। हालको नामले हाम्रो गाउँ नया होइन भन्ने पुष्टि त गर्दछ तर अति नै प्राचीन भएको चाँहि पुष्टि गर्दैन। त्यसकारण हामीले हाम्रो गाउँको इतिहासको खोजी गर्नु पर्दछ। मौलिकता के हो थाहा पाउनु पर्दछ र त्यो प्रदर्शित गर्नु पर्दछ। हाम्रो गाउँको प्राचीनता झल्किने किसिमबाट यसको नया नामाकरण गर्नु पर्दछ। हाम्रो इतिहास र पहिचान दुवै ज्यादै पुरानो हो। हाम्रो यो गाउँलाई एक अति नै धार्मिक व्यक्तिले बसालेका रहेछन्। तिनको नाम कृष्णसेवक थियो, विशेष अनुसन्धानबाट मात्र यो ज्ञात हुन आएको हो। तिनको सालिक पनि यो गाउँमा स्थापित गरिएको थियो। त्यतिबेला हाम्रो यो गाउँ र बिद्रोहीबस्ती एउटै गाउँ थियो बिभाजन भएको थिएन। तर केही स्वार्थी तत्वहरुले आफूलाई नेता बनाउन गाउँका मानिसहरुलाई उचाले। कृष्णसेवक स्वामीको बारेमा मिथ्या कुराहरु गरेर उनको सालिक उखेल्न लागाइ, त्यसलाई टुक्रा टुक्रा पारी बाग्मती नदीमा फाल्न लगाए’।
‘यति भनेर त्यो व्यक्तिले उपस्थित जनसमुदायतिर हेर्यौ। सबैले उसको कुरा गम्भिरतापूर्वक सुनिरहेको देखेर हर्षित हुँदै त्यो व्यक्तिले फेरि भन्यो- अब हामीले ती महान स्वामीको टुटेफुटेको अवस्थामै रहेको भए पनि त्यो सालिकको खोजी गर्नु पर्दछ र त्यो सालिकलाई हाम्रो गाउँमा स्थापित गर्नु पर्दछ। त्यो सालिकको स्थापनाबाट हाम्रो र गाउँको , दुबैको इज्जत बढछ। उपस्थित व्यक्तिहरुले जोड जोडले ताली बजाएर उसको त्यो प्रस्तावको समर्थन गरे’।
’१०,१२ महिनाको कठिन खोजी पछि त्यो सालिक फेला पर्यो रे। बाग्मती नदीको किनारमा पुरिएर रहेको अवस्थामा। तर अचम्म, त्यो सालिकलाई टुक्रा टुक्रा परिएको रहेनछ, केवल हात, खुट्टा र टाउको मात्र छुट्याइएको रहेछ, शरीरबाट। टुक्रा टुक्रा पारिएको भनि केवल आफवाह मात्र फिजिएको रहेछ’।
‘एक भव्य समारोहको आयोजना गरी त्यो सालिकलाई गाउँको मध्य भागमा स्थापित गरे, सबै गाउँलेहरु मिलेर। र गाउँको नाम पनि फेरे। त्यो गाउँको नाम पुरानाबासिन्दगाउँबाट कृष्णसेवक भयो’।
‘कृष्णसेवक गाउँमा सालिक राखिएको खवर बिद्रोहीवस्ती भरि फैलियो। बिद्रोहीबस्तिका बासिन्दाहरुले त्यो खवरलाई सजिलै पचाउन सकेनन्। केहीले त त्यो खवर सुन्ने बितिक्कै क्रोधित हुँदै तत्काल अनेक प्रतिक्रिया जाहेर गरे। हेर्दा हेर्दै प्रतिक्रिया जाहेर गर्नेहरुको ठूलो भीड नै जम्मा भयो। प्रतिक्रिया जाहेर गर्ने मध्येका एकले छेउमा रहेको एक मेचमाथि उभिँदै भन्यो-त्यो सालिक कृषणसेवक भन्ने एक जोगीको हो। ती जोगी ज्यादै गरीब थिए रे। नराम्रो पारिवारीक स्थिति र अति गरीबीले गर्दा ती जोगी भएका थिए। तर तिनमा एक ठुलो विषेशता थियो, त्यो के भने मानिसहरुलाई सजिलैसँग संगठित गर्ने र आफूले चाहेको बाटोमा हिँडाउन सक्ने। त्यस्तो विशेषताले युक्त थिए ती। तर जे होस, ती कृष्णसेवक हाम्रो समप्रदायका थिए। त्यसैले त्यो सालिकमाथि हाम्रो अधिकार हुनु पर्दछ। कृष्णसेवकको सालिकसँग हाम्रो समप्रदायको परिचय गाँस्सिएको छ। हामीले त्यसमाथि अधिकार स्थापित गर्न नसके हामी कायर साबित हुन्छौ। हामीले हाम्रो समप्रदायको रक्षा गर्न नसकेको प्रमाणित हुन्छ। हामी नालायक ठहर्छौ। आउने सन्ततिहरुले हामी माथि थुक्ने छन। त्यसकारण जसरी पनि हामीले त्यो सालिक यो गाउँमा स्थापित गर्नै पर्छ। यसको लागि सयौको कुर्वानी दिनु परेपनि हामी पछि हटनु हुँदैन। हाम्रो जीवनभन्दा हाम्रो सम्प्रदायको पहिचान ठूलो हो। मान्छेले जन्म लिन्छ, मर्छ तर उसको मौलिकता, उसको पहिचान कहिले मर्दैन, अमर रहन्छ। जसरी देशबासीहरु जन्मिन्छन्, मर्छन, जन्मिने मर्ने सिलसिला चलिनै रहन्छ तर देश, देशको पहिचान कहिले मर्दैन। त्यसकारण हाम्रो पहिचानको, हाम्रो सम्प्रदायको रक्षा गर्न आफ्ना छोराहरु गुमाउन आमाहरु तयार हुनु पर्दछ। दिदी बहिनीहरु बिधवा हुन। यसै गरी नव विवाहिता आमाहरु बिद्रोही छोराहरु जन्माउन’।
‘एक महिलाले पूर्व वक्ताको भनाइमा प्रतिक्रिया व्यक्त गर्दै भनिन्- पुरषहरुलाई मात्र बढी महत्व किन, पुरुषहरु मात्र होइन ,हामी महिलाहरु पनि अग्र मोर्चामा रहेर लडन सक्छौ र तयार छौ पनि, त्यस्तो चुनौति स्वीकार गर्न। हाम्रो छाति पुरुषहरुको भन्दा रत्ति पनि सानो छैन, ठूलो नै छ, अति नै। अनि साहस पनि…….. । कुनै कुरामा हामी पुरुषहरुभन्दा पछाडि छैनौ, न पराक्रम न बुद्धि। न शक्ति न भक्ति। इतिहास हेरे हुन्छ। शक्तिमा दुर्गा र काली, भक्तिमा मिराबाइ ………। कथा पढे हुन्छ, उनीहरुको। सृष्टिको प्रारम्भ हाम्रो गर्भबाट हुन्छ। ती महिलाले थपिन – कुनै कारणले संसारभरिका सम्पूर्ण पुरुषहरुको मृत्यु हुने हो भने पनि यो सृष्टि रोकिँदैन, चलिनै रहन्छ किनभने कुनै न कुनै महिलाको गर्भबाट एक पुरुषको जन्म हुन सक्छ र त्यो पुरुषले मानव वंशको वृद्धि गर्नेछ। तर संसारभरिका सम्पूर्ण नारीहरुको यदि कुनै कारणले मृत्यु भएमा मानव वंशको वृद्धि हुन सक्दैन किनभने पुरुषहरुले न गर्भ धारण गर्न सक्छन् न त बच्चा जन्माउन नै । कि सक्छन, ल भन्नुस कसैले। त्यस कारण नारीहरु पुरुषभन्दा ठूला छन, विवादरहीत किसिमले। प्रष्ट प्रमाण सहित’।
‘ती महिलाको मन्तव्यमा समर्थन जनाउँदै उपस्थित सबै महिलाहरुले जोड जोडले ताली बजाए। महिलाहरुको मोर्चको अगुवाई गर्ने जिम्मेवारी तिनै महिललाई प्राप्त भयो, जसले केही पहिले आफ्नो मन्तव्य राखेकी थिइन’।
‘सयौ गाउँलेहरु उपस्थित भएको सभाले निर्णय गर्यो –कृष्णसेवक गाउँमाथि हात हथियार गोली गठ्ठा सहित सबै मिलेर हमला गर्ने, त्यहाँका बासिन्दाहरुमाथि विजय प्राप्त गर्ने, अनि कृष्णसेवकको सालिक ल्याएर आफ्नो गाउँमा स्थापित गर्ने। सुनाइएको यो निर्णयमाथि सबैले सहमति जनाए,तालीको गडगडाहटका साथ। कसैले बिरोध त के बिरोध गरौ कि भनी सोंच्ने आँटसमेत गर्न सकेन’।
‘कृष्णसेवकको भनिएको सालिकका लागि कृष्णसेवक र बिद्रोहीबस्ती गाउँका बासिन्दाहरु बीच एक महिनासम्म युद्ध चल्यो। युद्धमा विजय बिद्रोहीवस्तीले हासिल गर्यो। युद्ध अति रक्तपातपूर्ण र डरलाग्दो भयो। बिजयप्राप्त गरेका योद्धहरुले हारेका योद्धाहरु, जसलाई बन्दी बनाएर राखिएका थियो, को छुरीद्वारा घाँटी फोडी रगत झिकेर पिए। त्यसरी गरेर उचित किसिमबाट बदला लिएको भनी त्यस्तो क्रुरताको औचित्यता पुष्टि गरे। सत्रुमाथि आफूहरुले पूर्णता एवम् उदाहरणीय न्याय गरेको उदघोष गरे। युद्धमा धेरै मारिए। सयौ बिधुवा भए, सयौ बिदुर भए। धेरै बालबलिकाहरु टुहुरा भए। र वृद्ध वृद्धाहरु साहारा विहीन’।
‘युद्धमा विजय हासिल भएकोमा भव्य उत्सव मनाउनु पर्दछ भनी बिद्रोहीबस्तिका बासिन्दाहरुले निर्णय गरे। भव्य उत्सव मनाउने क्रममा बिद्रोहीबस्तीका केही योद्धाहरुले कृष्णसेवकगाउँका केही मृत वहादुर योद्धाहरुको टाउको काटी तिनलाई डालोमा राखी, ती टाउकाहरुलाई सार्वजनिक रुपमा प्रदर्शित गर्दै जुलुस निकाले। त्यो कार्यको गाउँका धेरै बासिन्दाहरुले प्रशंसा गरे। त्यस्तो गर्नेहरुको जिउमा फूल बर्साए। ताली पिटे जोड जोडले। त्यस्ता अरु पनि अनेक किसिमका कार्यहरु गरेर धरै दिन सम्म बिजय उत्सव मनाए गाउँलेहरुले। कृष्णसेवकगाउँका बाँकी रहेका व्यक्तिहरु मध्ये केहीले शत्रुको शरणमा जानुको सट्टा मृत्यु बरण गर्नु बेस भनी आत्महत्या गरे,खोलामा हाम फालेर। केही बृद्ध बृद्धाहरु जोगी जोगिनी भएर हिँडे। केही अर्को गाउँतिर लागे, कहिले नफर्किने गरी। बालबालिकाहरु, कोही कता लागे कोही कता, भिक्षा मागि जीवन यापन गर्न। दुइ चार जनाले भने युद्धविजय गाउँको सर्वोच्चतालाई स्वीकार गरी त्यही बसे’।
‘एक भव्य समारोहको आयोजना गरी त्यो सालिक गाउँको मध्य भागमा स्थापित गरे,बिद्रोहीबस्तीका बासिन्दाहरुले। डरलाग्दो लामो युद्ध गरेर त्यो सालिक हात पारेको हुनाले एक सर्वमान्यको निर्देशनमा समुदायको इज्जत बढाउन त्यो गाउँको नाम युद्धबिजय राखियो। अब त्यो गाउँको नाम बिद्रोहीबस्तिबाट युद्धविजय भयो’।
‘युद्ध विजय गाउँमा सधै युद्धमा बिजय हासिल भएको बारे चर्चा हुन्थ्यो। आफ्नो समुदायको व्यक्तिको सालिक राख्न पाएकोमा गर्व महशुस गर्थे त्यहाँका बासिन्दाहरु। तर एक कान दुई कान मैदान हुँदै एक सनसनीपूर्ण समाचार गाउँभरि फिजियो। समाचार थियो – त्यो सालिक यथार्थमा कृषण सेवकको होइन। कृष्णसेवकको सालिकलाई हजारौ टुक्रा पारेर बाग्मति नदिमा बगाई सकेका थिए रे फाल्नेहरुले, त्यो त केवल शरीर जस्तो देखिन मात्र एक ठूलो आकारको ढुङ्गा हो’।
‘युद्धविजय गाउँका बुजुर्ग, अगुवा, गन्यमान्यहरुले आपतकालिन बैठक डाकेर फैलिएको त्यो हल्ला सहि वा निराधार हो भन्ने कुराको टुङ्गो लगाउने निधो गरे। बैठक बस्यो। बसेको बैठकले भम्भिर छलफल पछि एउटा निर्णय गर्यो। निर्णय थियो – अर्को गाउँबाट सम्वन्धित क्षेत्रका विज्ञ - इतिहासकारहरु, संस्कृतिविद्हरु, मूर्तिकारहरु, पुरातत्वविद्हरु आदि बोलाउने र सालिक विश्वास गरिएको त्यो ढुङ्गाको परीक्षण गराइ यथार्थमा त्यो के हो भन्ने कुराको छिनोफानो गर्न लगाउने’।
‘योजना अनुसार सम्बन्धित क्षेत्रका विज्ञहरु आए। विशेषज्ञहरु सम्मिलित उक्त टोलीले सालिक विश्वास गरिएको त्यो ढुङ्गाको विस्तृत परीक्षण गर्यो र त्यो केवल एक महत्वहीन ढुङ्गा रहेको र कसैको सालिक नभएको आफ्नो विस्तृत अनुष्नधानबाट ज्ञात भएको प्रतिवेदन पेश गर्यो। विज्ञहरुको त्यो निष्कर्षलाई आधार मानेर त्यो ढुङ्गालाई अर्थहीन भन्दै गाउँलेहरुले बाग्मतिमा बगाउने निर्णय गरे। अनि घोषणा पनि गरे - यो ढुङ्गालाई तत्काल फालिहाल्नु पर्छ। यदि नफाल्ने हो भने यसको उपस्थितिले हाम्रो वौद्धिकताको उपहास हुनेछ। हामी मूर्ख हौ भनी मानिसहरुले भन्ने मौका पाउने छन्’’।
‘एक विसाल सभाको आयोजना गरी त्यो सालिकलाई बाग्मति नदिमा लगेर फाले गाउँलेहरुले। सालिक फाले पछि भने त्यो गाउँ धेरैदिनसम्म शान्त रह्यो’।
‘युद्धविजय गाउँका मानिसहरुले फालेका सालिकलाई बाग्मति नदीबाट झिकेर आफ्नो गाउँमा लगे शिवपुरी गाउँका बासिन्दाहरुले। शिवपुरी गाउँमा धेरै दिनसम्म हर्सोउल्लास मनाइयो किनभने त्यस गाउँका अगुवा, बुजुर्ग, नेता, मान्यजन, आदि सबै मिलेरे आफ्नो आदि बस्ति,आदि संस्कृति, आदि भाषा, खोजिरहेका थिए। र त्यो भेट्टियो पनि। त्यस गाउँका इतिहासकार, पुरातत्वविद्हरुले प्रस्तुत गरेका तथ्यहरुमा सबैको सहमति भयो, कसैले बिमति जनाएन। उनीहरुको तथ्य सहितको तर्क थियो – हाम्रा आदि पूर्खाहरु यसै स्थानमा बस्थे, यही बाग्मतिको किनारमा। उनीहरुको छुट्टै आफ्नो समुदाय थियो। समुदायबाट पालै पालो एक जना नायक छानिन्थ्यो र त्यही नायकको नेतृत्वमा यो समुदायको सञ्चालन हुन्थ्यो। ती नायकहरुमध्येका एक थिए, महानायक। उनी ज्यादै बीर, पराक्रमी, विद्वान, न्यायप्रेमी थिए। उनले आफ्नो समुदायको बसोबास गर्ने सिमानालाई जति उत्तर दिशामा बढाएका थिए त्यति नै दक्षिण दिशामा। त्यतिनै पूर्व र पश्चिम दिशामा। उनको दरवार पनि थियो रे। त्यो पनि हामीले उत्खनन् गरेर पत्ता लगाउनु पर्दछ। हाम्रो अहो भाग्य कि हामीले त्यस्ता महान नायकको सालिक फेला पार्यौ। तर अफसोच, टाउको, हात र खुट्टा नरहेको अबस्थामा। तर जे होस, जस्तो अवस्थामा सालिक रहेता पनि त्यो हाम्रो समुदायको पहिचान हो, हाम्रो गौरव हो। यसमा दुई मत हुन सक्तैन र विवाद गर्ने ठाउँ पनि छैन। टाउको, खुट्टा र हात नभएता पनि केवल शरीरको अध्ययन र शरीरमाथिको वस्त्र जस्तो गरी ढुङ्गामा कुँदिएको बुट्टाले भन्छ त्यो हाम्रो समुदायको भेष भुषा हो जुन हाम्रो महान नायकले लगाउने गर्नु हुन्थ्यो। यस्तो भेषभुषा अहिले पनि हाम्रो बीचमा छ। हाम्रा बुढा पुरानाहरुले लगाएको सहजै देख्न सकिन्छ, त्यस्तो भेष भूषा। त्यसैले निर्विवाद यो सालिक हाम्रो महानायकको नै हो। र यो निष्कर्ष लामो अध्ययन अनुसन्धान पछि निकालिएको हो। प्रस्तुत गरिएका ती तर्कहरुमा सबैले एकै स्वरमा सहमति जनाए,हर्षले गदगद हुँदै ताली पनि पिटे, धेरै बेरसम्म ’।
महानायक भनी विश्वास गरिएको व्यक्तिको सालिकमा टाउको जोडे, शिवपुरीगाँउका बासिन्दाहरुले। आफ्नो समुदाएको मौलिक विषेशता झल्किने गरि टाउकोलाई सिङ्गारे पनि। हात र खुट्टा पनि जोडे, शरीरमा। पूर्ण कदको सालिक तयार भएपछि त्यसलाई गाउँको मध्य भागमा लगेर स्थापित गरे। गाउँका अगुवाहरुको सल्लाहमा त्यस गाउँको नाम महानायक राखियो। त्यो गाउँको नाम पहिले शिवपुरी थियो भन्ने तथ्य इतिहास बन्यो’।
‘महानायक गाउँमा स्थापित गरिएको सालिकको चर्चा युद्धविजय गाउँमा पुग्यो। त्यस गाउँका व्यक्तिहरु बीच कानेखुसी हुन थाल्यो। काने खुसीको विषय थियो – हामीले केवल फाल्ने काम मात्र गरेऔ त्यो ढुङ्गा जुन सालिक भनी विश्वास गरिएको थियो, तर हामीले त्यसको परीक्षण भने हतारमा गरेऔ, व्यवस्थित र विस्तुत किसिमले त्यसको परीक्षण भने गरेनौ। त्यस्तो नगर्नु हाम्रो ठूलो भूल थियो, महान मूर्खता पनि। हामीले लामो समय लगाएर लगाएर परीक्षण गर्नु पर्द्थ्यो, त्यो ढुङ्गाको’।
‘युद्धविजय गाउँका सम्पुर्ण बासिन्दाहरु फालिएको त्यो ढुङ्गा सालिक नै थियो वा केवल एक ढुङ्गा भनी परीक्षण गर्नु पर्ने विषयमा सहमत भए। खोजी कार्य सम्पन्न गर्न एक टोलीको गठन भयो’।
‘टोलीले पत्ता लगायो- शिवपुरीगाउँका बासिन्दाहरुले त्यो सालिक बाग्मति नदिको किनारबाट उठाएर लगी आफ्नो गाउँमा स्थापना गरेका रहेछन्। त्यो टोलीले ठोकुवा समेत गर्यो - हामीले खोजी गरिरहेको सालिक त्यही नै हो, यसमा संका गर्ने कही कतै ठाउँ छैन’।
‘युद्धविजय र महानायक गाउँका बासिन्दाहरु बीच पाँच वर्षसम्म युद्ध चल्यो त्यो सालिक आफ्नो कब्जामा राख्न। दुवैतिरका सयौ मानिसहरुको निरमम हत्या भइनै रह्यो। हजारौ मानिसहरु बेघरवार भइनै रहे। युद्ध समाप्त हुँदासम्ममा दुवै गाउँका लगभग सम्मपुर्ण बालबालिका, युवायुवती, वृद्ध वृद्धाहरुले बीर गति प्राप्त गरिसकेका थिए। बाकी रहेकाहरु दुइ चार जना पनि पुन: युद्ध हुन सक्ने भयले अन्य गाउँहरुतिर पलायन भए, कहिले पनि नफर्किने गरी। अब केवल सालिक मात्र बाँकी थियो ती दुई गाउँहरुको बीचमा। युद्धको अग्नीमा लगभग सबै जलिसकेका थिए। युद्ध गर्न उकास्ने र उक्साहटमा लागेर युद्ध गर्ने कोही पनि बाँकी रहेन । कस्तो उदेक लाग्दो ………? युद्धको साक्षी समेत बाँकी रहेन, एकैजना भए पनि। भयानक युद्धको साक्षी कोइ थियो भने त्यो थियो त्यै सालिक। सालिक मात्र थियो। तर त्यसमाथि कब्जा जमाउन खोज्नेहरु भने सबै मरिसकेका थिए’।
‘एउटा अचम्मको परिस्थितिले जन्म लियो त्यहाँ। त्यो सालिक छेउ छाउमा रहेका पचासौ गाउँका बासिन्दाहरुले आफ्ना कला र संस्कृतिको खोजी गर्न थाले, आफ्ना पुस्ताहरुको बारेमा जानकारी लिन थाले। त्यसै खोजीको क्रममा ती सबै गाउँका बासिन्दाहरुले त्यो सालिकको गहन अध्ययन गर्ने अठोठ गरे। ठूला ठुला अध्ययन अनुसन्धानहरु भए। कस्तो आश्चर्य, सबै गाउँका बासिन्दाहरुले एउटै निष्कर्ष निकाले – त्यो सालिक हाम्रो संस्कृतिको धरोहर हो, हाम्रो आस्था र विश्वासको केन्द्र हो, हाम्रो धर्म हो, हाम्रो मर्म हो, हाम्रो गाउँको इज्जत हो किनभने त्यो सालिक सालिक नभइ हाम्रो आराध्यदेवको मूर्ति हो’ ।
‘पचासौ गाउँका बासिन्दाहरु बीच त्यो सालिकका लागि युद्ध भयो, किनभने हरेक गाउँका मानिसले त्यो सालिक आफ्नो गाउँमा राख्ने इच्छा प्रकट गर्न थाले। युद्धमा संलग्न सबै लगभग समाप्त हुने अवस्थामा पुगेपछि उनीहरु बीच एक शान्ति सम्झौता भयो। तर सम्झौतामा सहमति के बन्यो भने त्यो सिङ्गो सालिकलाई टुक्रा टुक्रा पार्ने अनि ती पचासौ गाउँका बासिन्दाहरु बीच बिभाजन गर्ने। सहमति अनुसार कार्य भयो। त्यो सालिकलाई टुक्रा टुक्रा पारेर पचासौ गाउँका वासिन्दाहरुले बिभाजन गरे। हरेक गाउँको भागमा त्यो सालिकको एउटा टुका पर्यो। उनीहरु ज्यादै प्रशन्न भए सालिकको केवल एक टुक्रा मात्र भए पनि प्राप्त भएकोमा। आफ्नो हक प्राप्त गर्न सकेकोमा’।
सालिकको बिभाजन पछि युद्ध सधैका लागि समाप्त हुने विश्वास गरिएको थियो तर त्यस्तो भएन। सालिकलाई टुक्रा टुक्रा पारेर भाग लगाउने गाउँहरु मध्येबाट एउटा गाउँ, जुन बौद्धिक र भौतिक दुबै रुपमा ज्यादै बलियो थियो, ले विभिन्न गाउँहरुमा छरिएर रहेका सालिकका टुक्राहरुलाई बटुलेर त्यो सालिकलाई पूर्ण आकार दिने योजना बनायो। र छरिएर रहेका सालिकका टुक्राहरु प्राप्त गर्न ती सबै गाउँहरु सँग युद्ध गर्ने अठोट गर्यो जो जो सँग त्यो सालिको एक एक टुक्रा थियो। एक ज्यादै चतुर, युद्धकुशल र प्रभावकारी नेतृत्व दिने सक्ने व्यक्तिको नेतृत्वमा त्यो गाउँका बालबालिका, वृद्ध वृद्धा, युवा युवतीहरु अन्य ती गाउँहरुका बिरुद्धमा युद्ध गर्न संगठित भए, जुन जुन सँग त्यो सालिकको टुक्राको थियो। युद्ध आरम्भ भयो। युद्धको नेतृत्व त्येही व्यक्तिले गर्यो जसले त्यो गाउँका सम्पूर्ण व्यक्तिहरुलाई युद्ध गर्न संगठित गरेको थियो।। उसले सम्पूर्ण गाउँलेहरुलाई आन्दोलित पारेको थियो। गाउँका सम्पूर्ण जनताहरुले अति बहादुरीपूर्वक लडाइ गरे, ती गाउँहरुसँग। लडाइ गर्नका लागि सफल रणनीति त्यो नेताले नै तयार पारेको थियो। युद्ध निकै लामो समयसम्म चल्यो। पाँच वर्षसम्म निरन्तर रुपमा युद्ध चले पछि मात्र त्यो समाप्त भयो। तर युद्ध समाप्त हुँदासम्ममा त्यो पचास गाउँका सम्पूर्ण मानिसहरु मरिसकेका थिए। त्यो महान नरसँहारमा वृद्ध वृद्धा त के नवजात शिशुहरुको ज्यान पनि कसैले जोगाउन सकेन। सालिक भने त्यहीँ थियो जहाँ त्यसलाई स्थापना गरिएको थियो। त्यसलाई आफ्नो गाउँमा स्थापना गर्न खोज्नेहरु धेरै टाढा पुगिसकेका थिए, कहिले नफर्किने गरि’।
रंजन काकाले कथा सक्यानु भयो। तर फेरि भन्न आरम्भ गर्नु भयो ‘अहिले पनि करमैआदेखि बाग्मति नदी हुदै, दक्षिणतिर, धेरै पर ,अतिपर जाँदा बाग्मति नदिको पूर्वपट्टी एउटा ठूलो फाँट आउँछ रे, त्यहाँ , त्यो फाँटमा, त्यो भीषड युद्धमा मारिएका आत्माहरु मध्यरातमा जम्मा हुन्छन र कराउँने गर्छन रे। केही रुन्छन केहीले कसैलाई गाली गर्छन। केहीले त कसैसँग यस्तो प्रश्न गरेको पनि सुनिन्छ – केवल एउटा ढुङ्गाको लागि भीषड रक्तपात मच्याएर, आफ्न्तहरुले नै आफ्न्तहरुको ज्यान लिएर त्यत्रो महा विनासकारी युद्ध मच्चाउनु ठीक थियो त? हामीले हाम्रो मष्तिष्कको आफैले उपयोग गरेऔ कि कोही अरुले नै उपयोग गर्यो, हाम्रो मष्तिष्कको’?
रंजन काकाले फेरि भन्नु भयो ‘आज भन्दा करीब पचास वर्ष पहिले, म गौरबाट तीन कोष जति पूर्व उत्तरमा पर्ने एउटा गाउँ जाँदै थिए, एक मित्रलाई भेट्न। साथमा अरु पनि दुइ चार जना गौर बजार गर्न आएका त्यस गाउँका मान्छेहरु थिए, मेरो साथमा। गौरबाट हिँडदा धेरै ढिलो भइसकेको थियो, साँझ नै पर्न आंटेको थियो। त्येही ठाउँ, जहाँ किम्बदन्ति अनुसार भीषड युद्ध भएको थियो, सालिकका लागि, मा पुगेपछि हामी एक घण्टा जति बाटो अलमलियौ। जुनेली रात नभएकोले चारैतिर अन्ध्यारो थियो। बालुबामाथि मनिस हिँड्दा हिँडेको बाटोको चिन्ह नबन्ने हुनाले बाटो पत्ता लगाउने गार्हो परिरहेको थियो, हामीलाई। अर्कोतिर रात छिपिसकेको थियो। गाउँमा मानिसहरु समसाँझमै खाना खाएर, बत्ति निभाइ सुत्ने हुनाले बत्ति बलेको दिसातिर कुनै गाउँ हुनु पर्छ भनी अनुमान गर्न पनि गार्हो भइरहेको थियो, चारैतिर अन्ध्यारो भएकोले। चारैतिर शून्यता थियो। तर मलाई त्यो शून्यताबाट मानिसहरु चिच्याएको आबाज आएको प्रतीत भइरहेको थियो। म भूत, प्रेत, डाइन, जोगिन, नजर, गुजर आदिमा पटक्कै विश्वास गर्दिन। जसले जति सुकै विश्वास लाग्ने गरी भने पनि मृत आत्माहरु भट्किन्छन् जस्तो लाग्दैन मलाई। त्यो आबाजमा धेरै स्वरहरु थिए। ती स्वरहरुले भने एउटै प्रश्न गरिरहेका थिए। प्रश्न थियो -केवल एक ढुङ्गाको लागि हामीले अरुको निर्मम किसिमले ज्यान लिनु र अर्थहीन किसिमले ज्यान दिनु ठीक थियो त? म चारैतिर केवल मानिसहरु छट्पट्टिएको, चिच्याएको, कल्पेको, रोएको, कराएको सुनिरहेको थिएँ।’
विश्वराज अधिकारी