Friday, September 30, 2011

लेख - १३ यमनको आन्दोलनले कुन दिशा लिने हो



इजिप्टको आन्दोलनबाट प्रभावित भएर फेब्रुअरी ११, २०११ मा यमनी जनताद्वारा त्यहाँको वर्तमान सरकारको विरुद्धमा शुरु गरिएको जन आन्दोलन कुन दिशा तर्फ उन्मुख हुने हो भन्न सजिलो छैन। बरु उल्टो ३३ वर्षसम्म सत्तामा रहेका यमनका राष्ट्रपति अलि अबदुल्लाह सालेहले त्यहाँ भइ रहेको जन बिद्रोहलाई आतंकवादीहरुको संगठित आक्रमण हो, ती आतंकवादीहरु हिँसा मच्याएर राज्य सक्ति आफ्नो हातमा लिन खोजि रहेका छन र देश भित्र अस्थिरता पैदा गरेर मुलुकको सम्पत्ति लुटन खोज्दै छन्  भनी आरोप लगाई रहेका छन। तीन महिना साउदी अरबियामा इलाज गराएर स्वदेश फर्केका राष्ट्रपति सालेह सत्ता हस्तान्तरण गर्न इच्छुक देखिएका छैनन्। कतिपयले त सालेह यमन फर्किदैनन् भनि अडकल समेत गरेका थिए।
अर्कोतिर, भष्टाचार र गरिबीको कारण बनेको सालेह - शासन व्यवस्था जसरी पनि ढालेर नै छाड्ने उद्देश्य बोकेर आन्दोलित यमनी जनता राष्ट्रपति सलेहलाई सत्तामा देख्न चाहि रहेका छैनन् र कुनै  नयाँ किसिमको बाहाना झिकेर सालेहले सत्तामाथिको आफ्नो पकड झनै बलियो पार्ने हुन कि भनी त्रसित छन। हुन त यमनमा सत्ता हस्तान्तरण त्यति सजिलो छैन पनि। सालेहका पछाडि त्यस्ता धेरै स्वार्थी तत्वहरु छन जो सालेहलाई सत्तामा टिकाई राखेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन। सालेह बलियो भएमा आफूहरु पनि बलियो रहि रहने कुरामा उनीहरु निश्चित छन्। यमनमा बढदो गरिबी र भष्टाचार त्यस्ता स्वार्थी तत्वहरुका लागि गौण र सक्ति र साधन माथि आफ्नो हाली मुहाली प्रधान हुन पुगेको छ। राष्ट्रपति सालेहको पछाडि त्यस्ताहरुको जमात ठूलो नै छ। त्यस्ता तत्वहरुको सहयोगले गर्दा नै सलेह लामो समयसम्म सत्तामा रहन सफल भएका पनि हुन। राष्ट्रपति सालेह पनि कम महत्वाकांक्षी छैनन्, सक्ति आफ्नो हातमा लिने सन्दर्भमा। आफ्ना धेरै बिरोधीहरुको सफाया गरेको यिनीमाथि आरोप समेत छ। सेनाबाट राजनीतिमा प्रवेश गरेका सालेह १७ जुलाई १९७८ मा यमन अरब रिपब्लिकका राष्ट्रपति, चिप अफ स्टाफ र कमान्डर इन चिफ अफ द आर्मड फोर्स समेत भएका थिए र त्यस बेलादेखि निरन्तर सक्तिसाली रहँदै आएका छन। सन् १९९० मा उत्तरी यमन र दक्षिणी यमनको एकीकरण भए पछि पनि जोडिएको यमनको राष्ट्रपति पनि सालेह नै भए। लामो समय सम्म सत्ताको सुख प्रात्त गरेका अति महत्वाकांक्षी सालेह सजिलै सत्ता छाड्न मनस्थितिमा छैनन। मार्च २१, १९४२ मा जन्मेका सालेहले सोर्ह वर्षको उमेरमा नोर्थ यमनी आर्मड फोर्सेसमा प्रवेश गरेका थिए। हाई स्कूलसम्म पनि पास नगरेका यिनले सक्ति र कुटनीति दुबैको बलमा आफूलाई यमन - राजनीतिको केन्द्र बिन्दुमा राख्न सफल भए। तर अब भने आउने दिनहरु सालेहका लागि सजिलो भने देखिंदैन। अरब जगतमा फैलिएको प्रजातान्त्रिक चेतनाको लहर इजिप्ट लिबिया हुँदै यमनसम्म पुगेको छ र त्यो लहरलाई रोक्न सालेहलाई निकै गार्हो हुने देखिएको छ। बरु अन्तर्राष्ट्रिय जगतको चाँसो र चिन्ता के छ भने सालेहको सत्ता बहिर्गमन पछि बन्ने सरकारमा प्रजातान्त्रिक शक्तिको पकड बलियो हुने छ वा अप्रजातान्त्रिक शक्तिको।
यमनमा प्रजातान्त्रिक परिपाटीमा चुनाब गराउन, भष्ट्राचार नियन्त्रण गर्न तथा सालेहको शासन व्यवस्थाको अन्त्य गर्न भनी राजधानी सानाको चेन्ज स्क्वाएरलाई मुख्य थलो बनाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले सरकार बिरोधी आबाजलाई बलियो पार्दे लगेका मात्र छैनन् साथै अन्तर्राष्ट्रिय समुदायको समर्थन समेत प्राप्त गरेका छन।  संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन लगाएत अन्य राष्टहरुले समेत यमनी सरकारलाई हिंसा रोक्न भनेका छन।  र यसै गरी  द्वन्दरत दुवै पक्षहरुलाई शक्ति हस्तान्तरण शान्तिपूर्वक गर्न सल्लाह पनि दिएका छन। यस वर्षको अन्तमा राष्ट्रपतिको निर्वाचन गराउन समेत राष्ट्रपति सालेहलाई दवाव दिरहेका छन। गल्फ कोअपरेसन काउन्सिल समेतले पनि यमनको सरकारलाई सान्तिपूर्ण तबरले सत्ता हस्तान्तरण गर्न आव्हान गरिसकेको छ।
यमनमा जारी रहेको आठ महिनादेखिको संघर्षमा २०० भन्दा बढी व्यक्तिहरुको ज्यान गइ सकेको छ भने एक हजार भन्दा बढी व्यक्तिहरु घाइते भएका छन।  
अरबियन पेनिनसुलामा अवस्थित यो देश गरिबी र भष्ट्राचार दुबैको चपेटामा परेको छ। अरब- विश्वका ज्यादै कम विकास गरेका तथा अति निर्धन राष्ट्रहरु मध्ये यमन पनि एक हो। एकतिर जन संख्या वृद्धि तिब्र गतिमा भइ रहेको छ भने अर्को तिर रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्नहरुको संख्यामा पनि उत्तिकै वृद्धि भइ रहेको छ। परिणाम स्वरुप बेरोजगारहरुको संख्यामा व्यापक वृद्धि भइ रहेको छ। मध्य-पूर्वमा रहेको यो देश तुलनात्मक रुपमा मध्य-पूर्वका अन्य देशहरु भन्दा आर्थिक रुपमा कमजोर छ, स्रोत र साधनको हिसाबले। र त्यस्तो हुनुको मुख्य कारण यमनसँग तेल भण्डार कम हुनु हो। अर्कोतिर यस देसको अर्थ व्यवस्था मुख्य गरी तेलमा नै आश्रित छ। यमनको तेल भण्डार सन् २०१७ सम्ममा प्रयोगहीन हुनेछ भनी विज्ञहरुले अनुमान गरि रहेका छन। विज्ञहरुको बिचारमा तेल भण्डार सकिए पछि यमनको अर्थ तन्त्रले ठूलो चुनौतिको सामना गर्नु पर्ने स्थिति आउन सक्छ। हुन त यमनमा प्राकृतिक ग्यास भण्डार पनि छ।
यमनको आर्थिक विकासको गतिलाई ज्यादै सुस्त पार्नमा यस देशमा व्याप्त रहेको भ्रष्ट्राचारलाई मुख्य जिम्मेबार मान्ने गरिन्छ। भष्ट्राचार ठूलो स्तरमा रहेकोले विदेशी लगानीकर्ताहरु यमनमा आएर लगानी गर्न हिचकिचाई रहेका छन।
५ लाख ५५ हजार वर्ग किलोमिटरमा फैलिएको यमन क्षेत्रफलको आधारमा विश्वको ५० औ ठूलो देश हो। सन् २००९ को अनुमान अनुसार यहाँको जन संख्या २ करोड ३५ लाख ८० हजार रहेको थियो। सन् २००९ कै अनुमान अनुसार कुल गार्यहस्थ उत्पादन र प्रति व्यक्ति आय, क्रय शक्ति बराबर (purchasing power parity) को आधारमा, अमेरिकी डलरमा क्रमश: ५८ हजार २१८ मिलियन र २ हजार ४५७ रहेको थियो। यमन अरबियन पेनिनसुलाको दक्षिण पक्षिम र दक्षिणको पुछारमा पर्दछ। यसको उत्तरमा साउदी अरबिया, पश्चिममा  लाल सागर अनि पूर्वमा ओमान पर्दछ।
समाचारहरुमा उल्लेख भए अनुसार यमनमा जारी संघर्षमा पूर्ण प्रजातन्त्र र निष्पक्ष चुनावको माग गर्ने व्यक्तिहरुको मात्र सहभागिता छैन। यो संघर्षमा त्यस्ता व्यक्ति र समूहहरु पनि संलग्न छन जो सालेहको सरकारको पतन गराएर आफूहरु शक्तिसाली हुन खोजि रहेका छन, सरकारमा जाने प्रयास गरि रहेका छन। र त्यस्ता महत्वाकांक्षीहरुले यो जन आन्दोलनको उपयोग गरि रहेका छन। 
यमनको राजनीतिलाई सामान्य जनताको अभिमतले भन्दा यमन भित्र छरिएर रहेका पृथक पृथक शक्ति केन्द्रहरुले बढी प्रभावित गर्ने गर्दछ। सालेह-परिवार- र खास गरी सालेहका छोरा अहमद अलि अबदुल्लाह सालेह, सौतेनी भाई अलि सालेह अल-अहमर र भतिजाहरु तारिक, याहया र अमारले यमनको राजनीतिलाई प्रभावित गर्ने शक्ति राख्छन। यसै गरी ट्राइबल कनफेडेरेसनका प्रमुख शेष सादिक अल-अहमर पनि केही रुपमा शक्तिसाली छन। तर बढी शक्तिसाली भने व्यापारी हमिद अल-अहमर छन र उनीमाथि राष्ट्रपति सालेहको विरुद्धमा जनतालाई भडकाएको र प्रदर्शनकारीहरुलाई आर्थिक र भौतिक सहयोग समेत गरेको आरोप छ। हमिदले लगातार राष्ट्रपति सालेहको राजिनामाको माग गर्दै आएका छन। जन प्रदर्शनको समयमा हमिदले प्रदर्शनकारीहरुलाई संचार सेवा उपलब्ध गराएको सरकारी आरोप छ। राष्ट्रपति सालेहको गभर्निङ्ग पिपुल्स काउन्सिलबाट राजिनामा दिएका शेष हुसेन बिन अबदुल्लाह अल-अहमर र अर्का भूतपूर्व उप सभामुख हिमियारलाई पनि शक्तिसाली मान्ने गरिन्छ। यमनको राजनीतिमा अर्का शक्तिसाली व्यक्ति हुन जेनेरल अलि मोहसेन अल-अहमर।
यमनको वर्तमान द्वन्दलाई सम्बोधन गर्न राष्ट्रपति सालेहको राजिनामा र वर्तमान सरकारको बर्खास्तगी मात्र पर्याप्त देखिँदैन। महत्वपूर्ण कुरा, यमनका पृथक पृथक उद्देश्य बोकेका राजनैतिक शक्तिहरुले देश विकासका लागि कसरी मिलेर कार्य गर्ने हुन भन्ने हो। र वर्तमान चाँसो र चिंता पनि यही नै हो, अन्तर्राष्ट्रिय समुदायको।
यमनमा इस्लाम धर्म मान्नेरहरु संख्या कुल जन संख्याको ९८ प्रतिशत छ जसमा सुन्नीहरुको संख्या ५३ प्रतिशत र शियाहरुको संख्या ४५ प्रतिशत रहेको छ। २ प्रतिशत जनता हिन्दु, क्रिस्चियन वा जुडाएज्म धर्म मान्नेहरु छन।
यमनको एकीकरण हुनु भन्दा पहिलेको कुरा गर्दा, उत्तरी यमन नोभेम्बर १, १९१८ मा ओटोमन सामराज्य र  दक्षिणी यमन नोभेम्बर ३०, १९६७ मा संयुक्त अधिराज्यको उपनिवेसबाट स्वतन्त्र भएको थियो।


विश्वराज अधिकारी


प्रतीक दैनिकमा प्रकाशित, Friday, September 30, 2011 (२०६८।६।१३)


http://www.box.net/index.php?rm=box_download_shared_file&shared_name=i5j316bflh&file_id=f_954957203&rss=1

Wednesday, September 28, 2011

कथा - ११ सुष्मिताको रेप भएको होइन


सुष्मितासँग फोनमा कुरा भएदेखि  मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने मैले उनलाई सल्लाह पनि दिनु छ। सल्लाहको प्रकृति पनि गंभिर छ, हल्का भई दिएको भए कुरा अर्कै हुनथ्यो। सल्लाहको प्रकृति हल्का भइदिएको भए मन लागे दिन्थ्ये मन नलागे दिन्थिन।
हिँजो बिहान उनीसँग फोनमा निकै लामो कुरा भएको थियो। मलाई अफिस  जानु नपर्ने भइदिएको भए कुरा अझै लम्बिन्थ्यो होला। मैले अफिस जानु छ भनेपछि सुष्मिताले कुरा छोट्याएकी थिइन। उनले मलाई यसरी सुनाएकी थिइन त्यो घटना- ‘म निरज सँग रहेकोले एक किसिमले ढुक्क थिए। मनोज, विनय र शिशिर, यी तिनै जनालाई मैले क्लासको साथीको नाताले चिनेको त थिएँ तर उनीहरुको बारेमा मलाई राम्रो गरी जानकारी भने थिएन  न त घनिष्टता नै थियो। अँ विनयसंग भने क्लास बाहिर दुई चार चोटी कुरा भने भएको थियो।’
‘एकाउन्ट विषयका थुप्रै अभ्यासहरु गर्नु पर्ने र विनय  को एकाउन्टमा राम्रो कमान्ड भएकोले निरज र विनयले कम्बाइन स्टडी गर्ने योजना बनाएका थिए केही दिन पहिले। विनयको डेरामा कम्बाइन स्टडी गर्ने योजना भने पछि बनेको थियो। शुरुमा कम्बाइन स्टडी निरजको डेरामा गर्ने योजना बनेको थियो, विनयको डेरामा होइन। कम्बाइन सटडीको योजना मलाई निरजले सुनाए पछि त्यो कम्बाइन स्टडीमा म पनि शरीक हुन सहमत भएको थिएँ। तर निरजले धेरै कर गरे पछि मात्र। खासमा भन्ने हो भने निरजको आग्रहलाई टार्न नसकेर मात्र म विनयको डेरामा जान तयार भएको थिएँ। अरुले भनेको भए म जान्थिन, मेरो विश्वास गर, एरिका।’
‘त्यो कम्बाइन स्टडीमा मनोज र शिशिर पनि आउने मलाई पट्क्कै थाहा थिएन। उनीहरु आउने कुरा शुरु मै थाहा पाएको भए कुनै पनि हालतमा म विनयको डेरामा जाने थिन। निरजले जति सुकै कर गरेको भएता पनि।’
मनोज  र शिशिर    पनि विनयको डेरा आउने कुरा निरजले मलाई बाटोमा सुनाएका थिए।  हामी विनयको डेरामा जाने क्रममा नै उनीहरु  पनि कम्बाइन स्टडीमा आउने भन्ने कुरा निरजलाई  विनयले फोनबाट भनेका थिए।  मनोज र शिशिर  त्यहाँ आउने कुरा सुन्ने बित्तिकै मलाई  अलि असजिलो लागि सकेको थियो। चार जना केटाहरुको बीचमा रहेर पढ्नु पर्ने स्थितिलाई म पचाउन सकिरहेको थिन। विनयको डेरा पुग्नै आँट्दा मैले भने पनि - त्यहाँ जान त्यति सजिलो लागिरहेको छैन, मलाई, निरज। यतै क्याम्पसमा नै, लाइब्रेरीमा, एकाउन्टको प्राक्टिस गरेको भए राम्रो हुनथ्यो।
‘मेरो कुरालाई हल्का किसिमले लिएर निरजले भने -केही हुँदैन, शुष्मिता। तिमीले असजिलो मान्नु पर्दैन। र डराउनु पर्दैन पनि। तिमी एक्लै छौ र? म पनि छु तिमीसँग। यसरी डराएर हुन्छ। आजभोलि महिलाहरु पनि एक्लै कहाँ कहाँ पुगेका छन्। पढ्न र जागिर गर्न नेपाली महिलाहरु लेबनानदेखि यूरोपसम्म पुगेका छन्, नितान्त एक्लै। निरजले यसरी भनेकोले म त्यहाँ जान तयार भएको थिएँ र ढुक्क पनि थिएँ, एक किसिमले।’
‘हामी विनयको डेरामा पुग्दा शिशिर र मनोज पनि आई सकेका थिए कम्बाइन स्टडीका लागि। विनयले उनीहरुलाई एकाउन्टको हिसाबहरु सिकाउँदै थिए। म र निरज पनि सामेल भयौ त्यो कम्बाइन स्टडीमा।’
‘कम्बाइन स्टडी चलिरहेको क्रममा  विनयले कोक खान सोधे, तर उनको कोठामा कोक थिएन। कोकको कुरा चलेर कोक खाने मनस्थितिमा सबै पुगेको हुनाले विनय, मनोज र शिशिर तिनै जना कोक किन्न त्यो टोलमै रहेको पसलमा जान भनी हिँडे। उनीहरु कोक किन्न गए पछि म र निरज, एकाउन्टको अभ्यासमा नै केन्द्रित रहेर कुराकानी गरिरह्यौ।’
‘कोक लिएर विनय आए। शिशिर र मनोज भने आएनन्। निरजले सोधे पछि थाहा भयो कोक किनेको पसलमा खोजे अनुसारको स्नाक्स नपाएकोले उनीहरु विनयलाई पठाए अर्को पसलतिर लागे भन्ने कुरा। निकै बेर पछि मनोज र शिशिर स्नाक्सका केही  पैकेटहरु लिएर कोठामा प्रवेश गरे।’
‘मैले न त कोक नै, न त स्नाक्स नै खाने विचार गरेको थिएँ, शुरुमा। साँझ पर्न थालेकोले घर जाने हतार थियो मलाई। मम्मीले मेरो बाटो कुरिरहनु भएको होला भनी चिंतित थिए म। मैले विनयको डेरामा एकाउन्टको प्रेक्टिस गर्न जानु छ भनी मम्मीलाई सूचित गरेको थिन। मम्मीले अरुको डेराम त्यसरी एक्लै गएर कम्बाइन स्टडी गर्नु नदिनु होला भन्ने भय थियो मलाई।’
‘म, निरज र विनय पढ्नमा नै केन्द्रित रह्यौ। मनोज र शिशिर मात्रै कोक गिलास र स्नेक्स प्लेटमा राख्न भान्सा कोठातिर लागे। तर उनीहरुले भान्सामा निकै बेर लगाए। खाने कुरा मिलाउन लगभग पौन घण्टा जति लगाए। हाम्रो अगाडि कोक र स्नाक्स आँउदा साझ झम्क्क परिसकेको थियो।’
मनोज र शिशिर दुबैले एक पछि अर्को गरी मलाई  स्नाक्स र कोक खान आग्रह गरे। मैल खाने तत्परता नदेखाए पछि निरजले भने- शुष्मिता, अलिकति खाएर केही हुँदैन। प्रेक्टिस गर्दै गर्दा ढिलो भइसक्यो, तिमीलाई भोक लागेको होला। निरजले त्यसो भने पछि मैले कोक खाएँ। मैले एक गिलास कोक खाएँ। उनीहरुले पनि कोक खाए। मनोज र शिशिरले भने सबैभन्दा पछि कोको खाए। मलाई ज्यादै तिर्खा लागेकोले मैले एकै साँसमा एक गिलास कोक रित्याएँ। कोक खाँदासम्म मलाई केही पनि भएन तर खाएको एकै छिन पछि भने ज्यादै निद्रा लागे जस्तो भयो। कोक खाएको अन्दाजी १०/१५ मिनट जति पछिसम्म पनि मलाई हल्का हल्का होश थियो। मैले देखें,  निरज र विनयका आँखा पनि निद्राले लठ्ठिएको स्थितिमा थिए। उनीहरुलाई लेख्न र बोल्न गार्यो भइरहेको थियो। त्यस पछिको स्थिति भने मलाई थाहा छैन। के के भयो म भन्न सक्तिन।
हामीले कोक खान शुरु गर्दा भरखर रात पर्न आँटेकेको थियो। तर जब मेरो आँखा खुल्यो मैले देखें मेरो घडिले विहानको चार बजेको देखाइ रहेको थियो। मेर आँखा अझै लठ्ठिएक थिए। अझै सुतिनै रहौं जस्तो लागिरहेको थियो। मेरो छेउमा निरज र विनय पनि कारपेटमा सुतिरहेका थिए। तर मैले शिशिर र मनोजलाई भने देखिन। दुबै जना बेपत्ता थिए, कोठाबाट। मलाई त्यस्तो………. गर्नु र उनीहरु दुबै जना बेपत्ता हुनु बीच प्रष्ट सम्बन्ध रहेकोमा मलाई कुनै संका रहेन। मलाई मेरो जिउ नराम्रो गरी दुखेको पनि अनुभव भयो। मलाई के भयो, किन मेरो जिउ दुख्यो, उनीहरुले मलाई के गरे भन्ने मलाई अझै प्रष्ट गरी थाहा भयो। अस्त व्यस्त भएको मेरो कपडालाई मिलाएँ।’
‘एरिका, तिमीलाई प्रष्ट गरी भनौ न, उनीहरुले मेरो …………. रेप गरे मलाई। उनीहरुबाट बलात्कृत भए म।  शिशिरले मात्र त्यस्तो गर्यो वा मनोजले पनि…………… म प्रस्ट भन्न सक्तिन तर मेरो स्थितिले उनीहरु दुबै जना संलग्न भएको हुनु पर्दछ भनिरहेको थियो, त्यो घटनामा। मैले त्यो कुरा ………… विनय र निरजलाई भन्ने आँट गर्न सकिन। केवल उनीहरुलाई उठाएं मात्र। उनीहरुले उठ्न खोजे जस्तो देखाए मात्र तर उठेनन्। त्यति खेरको समय यस्तै विहानको पाँच बजेको हुनु पर्दछ। म साढे पाँच बजेतिर आफूलाई व्यवस्थित गर्न बाथरुमतिर गएँ।’
 ‘म बाथरुमबाट फर्किँदा छ बजिसकेको थियो। निरज र विनय उठिसकेका थिए। उनीहरुले पहिले एक अर्कालाई आश्चर्य र कौतुहलता मिश्रित भावले हेरे। उनीहरुको दृष्टिमा जिज्ञसाको बाढी नै आएको थियो। उनीहरुले एकै पटक मलाई हेरे त्यस पछि फेरि एक अर्कालाई हेरे। म भाव शून्य थिएँ। विनयले निरजतिर हेर्दै भने- शिशिर र मनोज दुबैले ठूलो अपराध नै गरे जस्तो छ, हो, हैन त? प्रतिउत्तरमा निरजले भने- अपराध मात्र होइन ठूलो धोका दिए, हाम्रो विश्वास र सदासयताको फाइदा उठाए, ती पापीहरुले। हामी तिनै जनालाई कोकमा निद्रा लाग्ने कुरा मिसाएर ख्वाए। हामी निद्रामा लठ्ठियौ, लठ्ठिएको मौका पारेर के के गरे ती दुष्टहरुले। विनयले थपे- के के लगे कोठाबाट ती मोराहरुले। यस्ता चोर आबारा होलान भन्ने थाहा पाएको भए किन ल्याउँथे तिनीहरुलाई आफ्नो कोठामा? यति भनेर विनय हतारिँदै भित्तामा झुन्डाएको पैन्टको खल्ति छाम्न लम्के। खल्ति छाम्दै भने- पैसा त झिकेका रहेनछन् मोरा हरुले। घरबाट हिँजै पठाई दिनु भएको यो दस हजार रुपैयाँ बैंक जम्मा गर्ने फुर्सत पनि पाएको छैन मैले।’
निरजले मतिर हेर्दै प्रश्न गरे- शुष्मिता, तिमी ठिक ठाक त छेउ। केही यस्तो त्यस्तो अँ…………….. गरे की ती अधर्मीहरुले?’ निरज र विनयतिर हेर्दै मैले भने – अँ ह, यस्तो त्यस्तो केही गरेनन्। तिमीहरु जस्तै मलाई पनि कोकमा निद्रा लाग्ने कुरा मिसाएर ख्वाए, ती दुष्टहरुले। म पनि लठ्ठिएर सुतेको सुत्यै भए छु तिमीहरु जस्तै। मेरो त्यस्तो भनाईमा निरज र विनयले कत्ति विश्वाश गरे म भन्न सक्तिन तर उनीहरुले जुन किसिमले मलाई हेरिरहेका थिए त्यसबाट सजिलै थाहा पाउन सकिन्थ्यो उनीहरु मेरो त्यो जबाफबाट सन्तुष्ट छेनन्।’
‘उनीहरु अर्कै कुरा सुन्ने चाहना गरिरहेका थिए। म भने उनीहरुले सुन्न चाहेको कुरा भन्न तयार थिन। शिशिर र मनोजले मलाई कुनै नराम्रो व्यवहार गरे भन्नेमा उनीहरु प्रष्ट भएको जस्तो देखिन्थ्ये तर मलाई उनीहरुले रेप नै गरे भन्नेमा उनीहरुले के सोंचे म भन्न सक्तिन। मलाई प्रष्ट गरी सोध्न उनीहरुलाई अप्ठ्यारो लागेको पनि हुन सक्छ। जे होस, उनीहरुले जस्तो सुकै अनुमान गरुन, तर मैले आफ्नो मुखले मेरो रेप भयो, मनोज र शिशिरले त्यस्तो गरे भनेर उनीहरुलाई भनेको छैन।’
आफू माथि बितेको त्यो घटना फोनमा सुनाए पछि शुष्मिताले मसँग सल्लाह पनि मागेकी थिन। उनले मसँग चार वटा प्रश्नको उत्तर मागेकी छिन वा भनौ मैले ती प्रश्नहरुको उत्तरको रुपमा सल्लाह दिनु पर्ने छ, शुष्मितालाई। उनले सोधेकी छन ‘शिशिर र मनोजले त्यो रात मेरो रेप गरे भनी निरजलाई भनौ कि न भनौ? त्यो घटना बारे थाहा पाएर निरजले मसँग बिहे गर्न असहमत भएमा के गर्ने? निरज मसँग बिहे गर्न सहमत वा असहमत भए पनि त्यो रात जे भयो त्यसका लागि कानूनी उपचार खोजौ की नखोजौ? अथवा यी सबै झमेलाहरुबाट पन्छिएर आत्महत्या नै गरौं कि?’
शुष्मिताले यो पनि भनिन् - म ज्यादै उदास भएकी छु। जुन बेला पनि मेरो दिमाग त्येही घटनामा केन्द्रति हुन पुग्छ। न खाना खान मन लाग्छ न त निद्रा नै राम्रो गरी लाग्छ। त्यो घटना भएदेखि कतै बाहिर, कुनै साथी या आफन्तको घरमा गएको छैन। राति सुतेको बेलामा पनि झसङ्ग भएर उठ्छु। जुन बेला पनि डर लागेको जस्तो हुन्छ। यी सबै कुराहरुले गर्दा मलाई त आत्म हत्या नै गर्न मन लागिसक्यो। त्येही नै गर्नु ठीक होला जस्तो छ, कि कसो, हाँ एरिका?’
शुष्मिताका ती प्रश्नहरुको उत्तर दिनु पर्ने वा भनौ सल्लाह दिनु पर्ने भएकोले  मेरो दिमागमा विचारहरुको आँधी चलेको छ। विभिन्न विचारहरु मेरो मगजमा आइरहेका छन्, गइरहेका छन्, स्थिर हुन सकिरहेका छैनन्। शुष्मितासँग हिँजो विहान कुरा हुँदा हुनत मैले भनेको पनि छु – मलाई कम्तिमा पनि दुई दिन देउ, सोंच्न विचार गर्न।
मलाई थाहा छैन र मैले कहिले शुष्मितालाई सोधेको पनि छैन उनले किन ममाथि यति विश्वाश गर्ने गरेको। कहिले काहिँ मैले हाँसो ठट्टामा भनेका कुराहरुलाई  पनि उनले सत्यको रुपमा लिन्छिन र मैले भन्नु पर्छ यो कुरा साँचो होइन है, शुष्मिता केवल हाँसो ठट्टाका लगि मात्र यो कुरा गरेको। त्यस कारण म शुष्मिताप्रतिको विश्वाशले बाँधिएको छु र हावादारी किसिमको सल्लाह दिन सक्तिन। इमान्दारीपूर्वक सही सल्लाह दिनु छ, मैले देखेको सही सल्लाह।
म सोंच्छु भोलि शुष्मितासँग फोनमा कुरा हुँदा भन्छु – सबै भन्दा पहिले त त्यो घटना बारे छिटै निरजलाई भनी देऊ, नडराउ। त्यो घटना बारे निरजले थाहा पाएर तिमीसँग बिहे गर्न असहमत भएमा वा भनौ न उसले सम्बन्ध बिच्छेद गर्न खोजेमा तिमीले निरजलाई समय मै थाहा पाउने मौका पाउँछेउ। ऊ तिमीसँग बिहे गर्न असमत हुनुले प्रष्ट हुन्छ उसको तिमीप्रतिको प्रेम केवल आर्षण मात्र रहेछ, सच्चा प्रेम रहेन छ। त्यस्तो सच्चा प्रेम नगर्ने सँग समयमै छुट्टिनु राम्रो हुन्छ। तिमीले जाना जानी नगरेको घटनालाई तिमीले गरेको जस्तो मानेर तिमीलाई सजाए दिने व्यक्तिसँग जिवन निर्वाह हुन सक्तैन। अनि भन्छु – त्यो घटना बारे निरजले थाहा पाएर पनि तिमीसँगको सम्बन्धलाई निरन्तरता दिन खोजेमा वा भनौ न त्यो घटनालाई एक दुखद दूर्घटना मानेर बिर्सन चाहेमा र यदि उसले त्यो घटनालाई लोक लाजको कारण तिमीलाई त्यो घटना सार्बजनिक न गर्न अनुरोध गरेमा वा दबाब नै दिएमा पनि तिमीले त्यो घटनाका दोषीहरुलाई उन्मुक्ति नदेऊ। तिमीले त्यसरी उन्मुक्ति दिएमा महिलाहरु कमजोर हुन्छन र तथाकथित बेइज्जतिको डरले अत्याचार सहन बाध्य हुन्छन भन्ने सन्देश ती अपराधीहरुमा जान्छ र त्यस्ता अपराधीहरु त्यस किसिमका अपराधहरु झनै गर्न प्रोत्साहित हुन्छन। तर त्यस्ता अपराधीहरुलाई कुनै पनि हालतमा कुनै पनि बहानामा प्रोत्साहित हुन दिनु हुँदैन, त्यस्ता अपराधहरु गर्न। निरजले तिमीलाई असहयोग गरे पनि त्यो घटनालाई सार्बजनिक गर। अनि यो पनि भन्छु,  शुष्मिता, तिमीले यी सबै झमेलाबाट पन्छिन आत्म हत्या गर्छु भन्नु त झनै कायरता हो। अपराधीहरुलाई अपराध गर्न प्रोत्साहित गर्नु हो। यस्तो त कहिले पनि सोच्दै न सोँच।’
म भन्छु, मैले दिएका सल्लाहहरु तिमीलाई मन परिरहेका छैनन् र तिमी आत्महत्या गर्ने निर्णंयतिर नै पुग्न खोजिरहेकी छौ भने यसो गर शुष्मिता, के गर भने त्यो घटनालाई चटक्क बिर्सिदेउ। बरु तिमीले मनमा यो लेउ, कल्पना गर, कि त्यो रात केही त्यस्तो जोर जबजस्ती भएको थिएन र जे भयो त्यो तिम्रो स्वेच्छामा भएको थियो। त्यो घटनालाई जसरी ती केटाहरुले सामान्य रुपमा लिए, आनन्दको रुपमालिए, साहसी कार्यको रुपमा लिए, तिमीले पनि त्यसै  रुपमा लेउ, सामान्य रुपमा लेउ। ती केटाहरुले त्यो घटनालाई सामान्य घटनाको रुममा लिन मिल्ने तिमीले लिन किन नमिल्ने? किन, किन ती केटाहरुले गरेको अपराधको सजाएको रुपमा तिमीले आत्महत्या गरेर चुकाउनु पर्ने। यो त यस्तो भयो, अपराध एउटाले गर्ने सजाए भने अर्कोले पाउने, त्यो पनि निर्दोष व्यक्ति स्वयं म अपराधी हुँ भनी सजाएका लागि तयार हुने। शुष्मिता, बरु सुन, आज म तिमीलाई एउटा ज्यादै गोप्य कुरा भन्दै छु। तिमी मेरो घनिष्ठ साथी भए पनि मैले तिमीलाई भनेको थिन। लुकाएको थिएँ। त्यो गोप्य कुरा के हो भने आज भन्दा तीन वर्ष पहिले, अर्थात मेरो सरदसँग बिहे हुनु भन्दा दुई वर्ष पहिले, मलाई त्यस्तै किसिमको परिस्थितिको परिवन्दमा पारेर मेरो नादेदार केटाले मसँग तिमीलाई जस्तो गरेको थियो। म पनि रेपको सिकार भएको थिएँ। त्यस्तो भएको एक हप्तासम्म म पनि मानिसका रुपमा निकै विक्षिप्त थिए। जुन बेला पनि आत्महत्या गर्ने बिचार मेरो मनमा आउँथ्यो। एक हप्तासम्म म घर बाहिर निस्किन, कोठामा नै थुनिएर बसे भने पनि हुन्छ। मम्मी डैडी निकै चिन्तित हुनु भएको थियो। मम्मीले अप्रत्यक्ष रुपमा सोध्नु भयो पनि, कुनै केटासँग कुनै किसिमको यस्तो त्यस्तो भएको कि………..। मेरो पेटमा बच्चा नै रहन गयो कि। मैले आमालाई सामान्य बिसन्चो भएको भनेर त्यो घटना बारे केही पनि बताइन। तर एक हप्ता पछि मैले आफूलाई व्यवस्थित गरे। त्यो डर लाग्दो स्थितिबाट उत्पन्न भएको कालो मनोविज्ञानबाट बाहिर आएँ। मलाई त्यो बेलाको त्यस्तो कालो मनोविज्ञानबाट बाहिर आउन मेरो फुपूको छोरी, निरा दिदीले निकै सहयोग गर्नु भएको थियो। एबोर्सन गराउन पनि सहयोग गर्नु भएको थियो। विहे भएको छ महिना पछि मैले त्यो घटनाको बारेमा सरदलाई पनि भने, लुकाइन। सरदले त्यो घटनालाई एक डर लाग्दो सपना सम्झेर मलाई सबै कुरा बिर्सिन सल्लाह दिए। हेर शुष्मिता सबै केटाहरु एकै किसिमका हुन्छन भन्ने छैन। सरद धेरै व्यवहारीक छन। यो संसार धेरै किसिमका मनोविज्ञान भएका मानिसले भरिएको छ।
मैले शुष्मितालाई समयमा सल्लाह दिन नसकेको हुनाले इमेल पठाएँ र भने दुई दिन अरु देउ मलाई। यस्तो,  जिवन-मृत्युसँग सम्बन्धित विषयमा गंभिर भएर सोच्न देउ। शुष्मिताको त्यो घटनाप्रति म कति चिंतित छु भन्ने कुरा पनि पनि लेखे त्यो इमेलमा।
शुष्मितासँग फोनमा कुरा भएको चार दिन पछिको कुरा हो, विहान कम्प्युटर खोल्न भ्याएको थिन मैले अफिस जाने हतारमा।  मेरो स्कुटर बिग्रेकोले सबै थोक लथालिङ्ग भएको थियो। अफिस जान, तरकारी किन्न यता उति ……..सबै  ……………….अस्त व्यस्त थियो। काठमाडौको ट्राफिक……….. उफ………… , भाडाको गाडीमा ओहर दोहर गर्न कति गार्यो हुन्छ भनेर साद्दे नै छैन।  अफिसबाट घर फर्के पछि, साँझ शुष्मितालाई फोन गरें। फोन बिजी थियो। फेरि गरे, फेरि बिजी……….। कम्प्युटर खोले अनि इमेल चेक गरे। शुष्मिताले इमेल पठाएकी रहिछन्। उनले पठाएको इमलेमा लेखिएको थियो- मेरो फोन बिग्रेर तिमीसँग कुराकानी गर्न सकेको छैन। फोन भोलि बिहान बन्छ। तैपनि यो छोटो इमेलमा तिमीलाई जानकारी दिँदै छु। फोनमा विस्तृत कुरा गरौला। मैले आत्महत्या गर्ने योजना परित्याग गरे। बिचलित मेरो मनलाई अन्तै कतै लगाउन किताबहरु पढ्ने क्रममा एक प्रख्यात महिला लेखकको जिवनी पढे। मेरो जिवनमा जस्तो घटना घट्यो, त्यो घटना ……………उनको जिवनमा पनि, त्यस्तै घटना घटेको रहेछ। केवल १४ वर्षको उमेरमा उनी एक प्रौढ व्यक्तिबाट बलात्कृत भएकी रहिछन। १४ वर्षको उमेरमा उनले त्यो मानसिक चोट झेल्न सकिन भने म त २५/ २६ को छु। अँ, बरु त्यो घटना बारे निरजलाई कसरी भन्ने, कानूनी उचार कसरी खोज्ने, जस्ता कुराहरु तिमीसँग फोनमा कुरा भए पछि अथवा भेटघाट हुँदा गरौला।
शुष्मिताको त्यो इमेल पढेपछि मलाई लाग्यो, मेरो छाति माथि राखेको ठूलो ढुङ्गा कसैले झ्वाट्ट हटाइ दियो। मलाई यस्तो पनि लाग्यो, मनोज र शिशिरले शुष्मिताको होइन बरु शुष्मिताले मनोज र शिशिरको रेप गरिन।  


विश्वराज अधिकारी

Published in meroreport.net on September 25, 2011
  http://meroreport.net/profiles/blogs/6365517:BlogPost:44906                                                                   

Tuesday, September 27, 2011

लघुकथा - १० अभिनय


गम्भीर रोग

यो बिरामीलाई डिस्चार्ज गरिसकिएको छ। रोग पनि……कुनै गम्भीर किसिमको रहेनछ। भोक भोकै धेरै दिन बसेको हुनाले शरीर कमजोर भएको ……। छिटै लग्नु पर्यो अस्पतालबाट, होइन भने अर्को गम्भीर बिरामीलाई बेड उपलब्ध गराउन गार्हो हुन्छ। बेड नपाएर उसको ज्यानै पनि जान सक्छ अस्पताल प्रमुखले अर्ति-उपदेशसहित डिस्चार्ज भएको त्यो बिरामीको कुरुवाहरुलाई भने।
यो बिरामीको आफन्त, नातागोता कोही पनि छैन। कहाँ लैजाने यसलाई? हामीले त यो बिरामीलाई सडकमा लडिरहेको अवस्थामा उठाएर यो अस्पतालसम्म उपचारका लागि ल्याइदिएका हौ त्यो बिरामीलाई ल्याउने समाजसेवीहरुले जवाफ दिए।
यो बिरामीको व्यवस्था तपाँइहरुले नै जसरी भए पनि मिलाउनु पर्यो। हामीले त रोगीको शारीरिक रोगको इलाज गर्नु पर्ने हो, गर्यौ। गरीबी रोगको इलाज भने हामीसँग छैन केही क्रुद्ध देखिएता पनि मुहारमा सामान्य भाव प्रदर्शित गर्दै अस्पताल प्रमुखले पुन: भने।
समाजसेवीहरु तथा अस्पताल प्रमुखबीचको वार्तालाप सुनिरहेको त्यो बिरामी एउटा रोगवाट मुक्ति पाएकोमा केही प्रशन्न देखिन्थ्यो भने अर्को गम्भीर रोग आरम्भ हुन थालेकोमा ज्यादै चिन्तित।

विश्वराज अधिकारी

Monday, September 26, 2011

बहलिया - कथा २

घर

रोगाई चौधरी पंजाबबाट फर्केपछि सबै भन्दा पहिले रामदुलारीलाई भेट्न गयो। तर ऊ अचम्म पर्यो, उसकी श्रीमती अब भूतपूर्व भइसकेकी कुरा बाटो मै दुलारचनबाट थाहा पाएर। रामदुलारीलाई भेट्ने उसको इच्छा मर्यो।
कसैले उसलाई सुनायो रामदुलारी ठिठरसंग बस्छे। डेरा रक्सौलमा छ रे
रोगाईले कुनै प्रतिक्रिया देखाएन। बरु छिटै घर पुग्न लम्क्यो।
दोस्रो पटक पुन: ऊ आश्चर्यमा पर्यो, उसको घर भत्किएर अवशेषसम्म पनि त्यहाँ बाँकी नरहेको देखेर। रोगाईको घर बीरगञ्ज हो भन्ने कुरा इतिहास बनिसकेको थियो।
रोगाईको साथी बिल्टुले उतिर हेर्दै भन्यो सरकारी जग्गामा अनत काकाले घर बनाउनु भएको थियो, अरे। अब सरकारले त्यो जग्गा कब्जामा लियो, आफ्नो कब्जामा। त्यहाँ अब पार्क बनाउने सरकारले । सबै यस्तै भन्ने गर्छन
बाबुले तेत्रो परिश्रम गरेर बनाएको र आफू हुर्केको घर अवशेषसम्म नरहने गरी भत्केकोमा ऊ आश्चर्यचकित पहिले हुनु पर्ने हो वा दु:खी छुट्याउन सकेन। केवल आफ्नो घर रहेको नाङ्गो भूमिलाई नियालेर धेरै बेरसम्म हेर्यो। त्यहाँ कामदारहरु खन्ने  र मिलाउने कार्य गर्दै थिए। रोगाईले त्यो जग्गाको बीचमा उभिएर कराउन खोज्यो जहाँ पहिले उसको घर थियो। यो जग्गा मेरो हो, बुझ्यौ तिमीहरुले उसले यसरी कराउन सकेन। उसलाई पञ्जाबमा काम गर्दाको अनुभवले सिकाइसकेको थियो- शक्तिको अगाडि कमजोरले न्याय र कानूनको कुरा गर्नु एउटा राम्रो र हृदयस्पर्शी कथा बन्न सक्छ तर त्यसको सुनुवाई भने कतै हुँदैन। कराउनुको कुनै अर्थ पनि रहँदैन।
रोगाई बीरगञ्जको छेउमा, गण्डक नहर नजिक आएर सोंच्न थाल्यो कहाँ जाने? कस कहाँ जाने? कुन गाउँमा जाने? निष्ठुरी, निर्दयी र हृदयहीन यो शहर। आफ्नी श्रीमतीले नै धोका दिएपछि अरुको कुरा के गर्ने? कस्ती निष्ठुरी, मतिहीन। उसैको खुसीका लागि पञ्जाब गएँ धन कमाउन। संसार केवल स्वार्थमा अडेको रहेछ। त्यो पनि व्यक्तिगत। अब यो शहरमा कसरी बस्ने र किन बस्ने? घर नै नभएपछि जहाँ गए पनि त भयो नि। जहाँ बस्यो त्यो नै घर हुन्छ। घर भनेको केवल बसाइ हो। यो गाउँ, त्यो गाउँ वा यो शहर, त्यो शहर जहाँ भए पनि, जहाँ बसे पनि
ऊ गण्डक नहरबाट पूर्वतिरको बाटोतिर लम्कन खोज्यो। तर किन हो सकेन। उसलाई सिङ्गो बीरगञ्ज शहरले नै बोलाएको जस्तो लाग्यो। कुनै अज्ञात शक्तिले उसलाई बीरगञ्जतिर तान्दै गरेको महसूस भयो।
रोगाई बीरगञ्जको एउटा रिक्सा गैरेजमा पुग्यो र उसले भाडामा चलाउन भनी एउटा रिक्सा लियो। अब उसको रिक्साले बीरगञ्जका सडकहरुलाई स्पर्श गर्न थाल्यो।
एक दिन उसको साथी भिखरले उसलाई देख्यो अनि सोध्यो रोगाई तिमी त यो शहरमा बस्दिन भनी हिडेका थियौ नि। अहिले देख्दै छु, रिक्सा चलाउँदै छौ यहाँ, यै बीरगंजमा नै
अर्को ठाउँमा जाने भनी गरेको बिचार मैले त्यागे छो छोटो उत्तर दिएर रोगाई यात्रुको आग्रहमा यात्रुको गन्तव्यस्थानतिर लाग्यो। भिखरदेखि टाढा पुगिसकेको भएता पनि रोगाईको मनले भिखरलाई यस्तो जबाफ दिन खोज्यो यो बीरगञ्ज शहर नै मेरो घर हो। यहाँका सडकहरु मेरो घरका अंश हुन्। यहाँका अन्य घरहरु पनि मेरो घरका अंश हुन्। यहाँका रुखहरु, खोलानालाहरु, मन्दिरहरु आदि सबै मेरो घरका अंश हुन्। तिमी समेत पनि मेरो घरका अंश हो। जगन, मङ्गल, पलट, हिरामन,परीक्षण आदि सबै मेरो घरका अंश हुन। कहाँसम्म भने मैले उधारो खाएर ढिलोगरी पैसा भुक्तान गर्दा मलाई बेइज्जत गर्ने दोकान मालिक गुप्ताजी समेत पनि मेरो घरको अंश हुन्। अनि मेरी श्रीमतीलाई भगाउने ठिठर पनि मेरो घरको अंश हो। यहाँका चउर, पाठशाला, धर्मशाला आदि सबै मेरो घरका अंश हुन्। मेरो घरको अस्तित्व ती सम्पू्र्ण कुराहरुमा विभाजित भएर ती कुराहरुमा विद्यमान छ। त्यस्तो मलाई लाग्न थाल्यो, किन हो? यी कुराहरुलाई हेर्दा किन हो यिनीहरुले आ-आफ्नै किसिमले मेरो घरको अस्तित्वलाई झल्क्याए जस्तो लाग्छ। यति मात्र होइन,  यो शहरको अति ब्यस्त बजार, मिनाबजारमा आएका क्रेता तथा बिक्रेताहरुमा पनि म आफ्नो घरको अंश देख्छु। तिनीहरुले पनि मेरो घरको अंश बोकेको जस्तो लाग्छ। त्यसैले यी सबैको संमिश्रण नै मेरो घर हो। यस्तो मलाई यहाँ आएदेखि लाग्न थाल्यो। मेरो अन्तरमनले पनि यो तथ्यलाई अस्वीकार गर्न सकेको छैन्। अनि मेरो घर यहाँ हुँदा हुँदै पनि कसरी मैले भन्नु मेरो घर बीरगञ्जमा छैन, होइन। म यहाँ त्यसकारण बस्दै छु। घर भनेको केवल काठ, खर तथा माटोको योग  र तिनीहरुबाट बनेको कुनै आकार मात्र होइन रहेछ। घर एक भावना हो। एक अनुभूति हो। एक स्मृति र मिठो अतीत पनि । साथै एक सामाजिक वातावरण पनि। मेरो भौतिक अस्तित्व भएको घर पो छैन यो शहरमा, तर मेरो भावनाको भण्डार छ, यहाँ। मेरो बितेको बाल्यकाल छ यो शहरमा। मेरो युवाकाल छ यो शहरमा। यो शहरमा मेरो आमाबाबुको इतिहास छ। अनि मेरो शैशवकाल। मेरो वर्तमानले यो शहरको सुखद स्पर्श गर्दैछ। कति कोमल र न्यानो स्पर्श। अर्को शहरमा त्यो स्पर्श मैले करोडौ रुपैया खर्च गरेर पनि खरीद गर्न पाउँदिन। त्यसैले केहि नभए पनि सबै  थोक छ मेरो यो शहरमा । यो सिङ्गो शहर नै मेरो घर हो
रोगाईलाई कसैले तिम्रो घर कहाँ हो दाई भनी सोद्धा उसले अब निर्धक्कसाथ  भन्ने गर्छ मेरो घर बीरगञ्ज हो। उसको घर बीरगञ्जमा नभएता पनि उसले मेरो घर बीरगञ्ज हो भनेकोमा उसलाई   आफूले ठीक या बेठीक के भने छुट्याउन केही गर्हो चाहिँ परेको छ। तर के कुरामा ऊ स्पष्ट छ भने  उसको घर बीरगञ्ज नै हो । मेरो घर बीरगंज हो भन्न रोगाईसँग भावनात्मक अधिकार छ र त्यो अधिकार सार्भौम छ र सुरक्षित छ। यस्तो रोगाईलाई लागिरहेको छ।


विश्वराज अधिकारी

Sunday, September 25, 2011

Fiction of the week - 4


The Wedding Ceremony is Over

After eating all the food on his plate and making it empty, a gentleman faced towards the invitees who were present to observe the wedding ceremony. The wedding ceremony was about to begin in minutes. 
The gentleman faced another invitee who was standing close to him and said, ‘the wedding ceremony is over’. After making this statement, the gentleman threw his empty plate in the trash and wiped his mouth and hands with a paper towel.
One of invitees said, 'the wedding ceremony is about to begin.'
'For me, it is over' the gentleman replied. 


Bishwa Raj Adhikari  

Friday, September 23, 2011

लेख - १२ के भइरहेको छ सिरियामा



यो लेख तयार पार्दासम्म सिरियामा कुनै परिवर्तन भएको छैन। त्यहाँको सरकारले प्रदर्शनकारीहरुको मागलाई पटक्कै महत्व दिएको देखिंदैन, अहिलेसम्मको स्थितिलाई हेर्दा। जनताको आबाजलाई शक्तिद्वारा दबाउने आफ्नो अघोषित उद्देश्यमा सानो परिवर्तन समेत गर्ने संकेत दिएको छैन, सिरियाको वर्तमान शासन व्यवस्थाले। बरु उल्टो  राष्ट्रपति बसार अल-असादको सरकारले जनताको आबाजलाई निर्ममता पूर्वक दबाउने आफ्नो रबैयामा वृद्धि गर्दै लगेको छ। यसै वर्षको मार्चको मध्यमा शुरू भएको सिरियाली जन असन्तोषमा करिब २६०० व्यक्तिहरुको ज्यान गइ सकेको छ। जन विद्रोहमा मारिनेहरुमा केवल प्रदर्शनकारीहरु मात्र छैनन्,  एक सयभन्दा बढी सेना र सुरक्षा कर्मचारीहरुले पनि ज्यान गुमाएका छन। मुख्य रुपमा स्वतन्त्रता, प्रजातान्त्रिक निर्वाचन र अल-असदको शासनको समाप्तिको माग गर्दै सिरियाली जनताले आरम्भ गरेको जन आन्दोलनलाई संयुक्त राष्ट्र संघ लगायत विश्वका धेरै नेताहरुले समर्थन गरिसकेका छन र यो समस्याको समाधान शान्तिपूर्ण किसिमले गर्न सिरियाली सरकारलाई दबाब पनि दिरहेका छन। अरब लिग समेतले अल-असदको शासनलाई संयमताका साथ जन असन्तोषको समाधान खोज्न र निर्ममतापूर्वक भइरहेको दमनको अन्त्य गर्न सल्लाह दिएको छ। संयुक्त राज्य अमेरिकाले सिरियामाथि आर्थिक प्रतिबन्ध (Sanctions)  लगाएको छ। यसै गरी यूरोपियन यूनियनले पनि सिरियाबाट तेल ल्याउन रोक्का गरेको र यात्रा प्रतिबन्ध समेत घोषणा गरेको छ। तर यी सबैको बाबजुत पनि सिरियाली सरकार दमन रोक्ने मनस्थितिमा देखिँदैन र प्रदर्शनकारीहरुलाई धर पकड गर्ने, यातना दिने र मार्ने कामबाट रत्तिभर पनि पछि हटेको छैन। जन आन्दोलनमा मारिनेहरुमा १२।१३ वर्ष उमेरकाहरु समेत पनि छन। सरकारको निर्देशनमा सुरक्षा बलले सव यात्रामा भाग लिनेहरु माथि समेत गोली चलाएको छ र यस क्रममा १२ वर्षका एक बालकको केही दिन पहिले मृत्यु भएको छ। ती बालक बिरोध प्रदर्शनको क्रममा मारिने एक प्रदर्शनकारीको सय यात्रामा सामेल थिए। यस्ता बिभिन्न किसिमका घटनाहरुले गर्दा सिरियाको मानवाधिकारको स्थिति विश्वमा नै दयनीय रहेको समाचारहरुमा उल्लेख गरिएको पाइन्छ। देश भित्र जारी द्वन्दको चपेटाबाट जोगिन हजारौ सिरियालीहरु लेबनान र टर्कीतिर लागेका छन र शरणार्थी बन्न बाध्य भएका छन। देश यस किसिमबाट अनिश्चितताको भूमरीमा पर्दा पनि सिरियाली सत्ताले प्रदर्शनकारीहरु संग कुनै किसिमको वार्ता थालेको सुनिएको छैन। सिरियामा के भइहरेको छ थाहा पाउन अहिले सजिलो भने छैन। संचारमाथि सरकारी नियन्त्रण छ। हुन त सरकारले सिरियाली मेडिया कानून ज्यादै उदार रहेको प्रचार गरिरहेको छ र आफ्नो यो कानून सम्पूर्ण अरब जगतमा नै उदार रहेको भन्न बाँकी राखेको छैन पनि।  यता प्रदर्शनकारीहरुले पनि सरकार बिरोधी स्वरलाई चर्को पार्दै लगेका छन। प्रदर्शनकारीहरुले अल-असाद-सरकारको बिरोध एकजुट भएर गर्न सिरियन राष्ट्रिय परिषद् (Syrian National Council) गठन गरेका छन्।
सिरियाको जन विद्रोहको प्रकृतिलाई हेर्दा जनताको आबाज केवल राजनैतिक स्वतन्त्रताको लागि मात्र उठेको जस्तो देखिंदैन। जनताका स्वरहरुबाट सरकार बिरोधी शब्द निकाल्नमा सिरियामा बढ्दो गरिबीले पनि उत्तिकै ठूलो भूमिका खेलेको छ। ज्यादै गरिब नभएता पनि धनी देश पनि होइन सिरिया। मुख्य गरी कृषि, तेल, उद्योग र पर्यटनमा आश्रित यस देशको अर्थ ब्यवस्थाले एकै पटक धेरै समस्याहरुको सामना गरिरहेको छ। र ती समस्याहरु हुन- अर्थ तन्त्रमा निजी क्षेत्रको भूमिका दयनीय हुनु, तेलको उत्पादन घट्दै जानु, बढदो भ्रष्टाचारमा नियन्त्रण हुन नसक्नु, वित्तीय र पूँजी बजार कमजोर हुनु, बढदो बेरोजगारी समस्या कम गर्न नसक्नु, जन संख्या तिब्र गतिमा बढदै जानु, आदि आदि। निजी क्षेत्रको भूमिका कम र राज्यको नियन्त्रण बढी भएकोले देशको अर्थ तन्त्रले तिब्र गतिमा विकास गर्न सकेको छैन। रोजगारीका लागि अहिले पनि धेरै सिरयालीहरु मुलुक बाहिर जाने गर्दछन र रेमिटेन्स देशका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुन पुगेको छ। सन् २००९ मा सिरियाको कुल गार्यहस्थ उत्पादन वृद्धि दर ५ प्रतिशत थियो। कृषि र तेललाई सिरियाली अर्थ तन्त्रको आधार स्तम्भ मानिन्छ। तर कृषिले उपलब्ध कुल श्रम शक्तिको १७ प्रतिशतलाई मात्र रोजगारी दिन्छ। यसै गरी कुल गार्यहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान पनि  केवल १७.७ प्रतिशत रहेको छ। अर्कोतिर तेलको उत्पादन पनि क्रमिक रुपमा घटिरहेको छ। सन् १९९५ मा तेल उत्पादन लगभग ६ लाख ब्यारेल प्रति दिन रहेको थियो भने सन २००५ मा लगभग ४ लाख २५ हजार ब्यारेल प्रति दिन हुन पुग्यो। स्थिति यस्तै हुने हो भने, सिरिया, तेल निर्यातक देशबाट तेल आयातक देश हुन पुग्ने छ भनी विज्ञहरु अनुमान गर्दै छन। विज्ञहरुको रायमा सन् २०१२ देखि नै पनि सिरियाले तेल आयात गर्नु पर्ने स्थिति आउन सक्छ। अहिले सिरियाले प्रति दिन लगभग २ लाख ब्यारेल तेल निर्यात गर्दछ। निर्यात ब्यापारबाट आउने आम्दानीमा तेलको बिक्रीबाट आउने आम्दानीको स्थान महत्वपूर्ण रहेको छ। यस बाहेक सिरियासँग गैस भण्डार पनि छ र जसमा ८. ट्रिलिएन क्युबिक मिटर गैस रहेको अनुमान गरिएको छ। गैसको उत्पादन भने प्रति दिन २२ लाख क्युबिक मिटर रहेको छ।
सिरियाको जन संख्या (सन् २०११ को अनुमान अनुसार) २ करोड २४ लाख ५७ हजार ७६३ रहेको छ। जन संख्या वृद्धि दर २.४५ प्रतिशत छ। कुल जन संख्याको करिब ७५ प्रतिशत ३५ वर्ष मुनी का छन् भने १५ वर्ष मुनीका हरुको प्रतिशत ४० रहेको छ। प्रत्येक वर्ष करिब २ लाख व्यक्तिहरु श्रम बजारमा रोजगारीका लागि प्रवेश गर्छन तर निजी एवं सरकारी क्षेत्रले केवल करिब ५० हजारलाई मात्र रोजगारी उपलब्ध गराउन सक्छ। यस्तो हुनुमा अर्थ तन्त्रको विकास सुस्त गतिमा हुनु र निजी क्षेत्रको भूमिकालाई महत्व नदिनु हो। यु यन डि पिले उल्लेख गरे अनुसार सन् २००५ मा ३० प्रतिशत सिरियाली जनता गरिबीमा बाँचिरहेका थिए भने ११.४ प्रतिशत अति नै निर्धन थिए। विश्व अर्थ व्यवस्थाबाट  आफूलाई करिब करिब अलग थलग राखेको सिरिया सन् १९५१ मा ग्याट (GATT) बाट बाहिरिएको थियो। १५३ राष्ट्रहरु सदस्य भएको विश्व व्यापार संगठनको सिरिया सदस्य छैन। हुनत सिरियाले सदस्यता प्राप्त गर्नका लागि प्रक्रिया भने शुरु गरिसकेको छ। १४ राष्ट्रहरु- बहराइन, इजिप्ट, इराक, कुवेत, लेबनान, लिबिया, मोरक्को, ओमान, कतार, साउदी अरबिया, सुडान, सिरिया, ट्युनिसिया र संयुक्त अरब इमिरेट्स, मिलेर सन् १९९७ मा स्थापना गरिएको बृहत अरब स्वतन्त्र ब्यापार क्षेत्र ( Greater Arab Free Trade Area) को स्थापक राष्ट्रहरु मध्ये सिरिया पनि एक हो। सन् २०११ को अनुमान अनुसार सिरियाको कुल गार्यहस्थ उत्पादन  र प्रति व्यक्ति आय, क्रय शक्ति बराबर( Purchasing Power Parity) को आधारमा क्रमस: अमेरिकी डलरमा १,०५,२३८ बिलियन र २,९५८ रहेको छ।
सिरियाको राजधानी डमासक हो। यसको क्षेत्रफल १ लाख ८५ हजार १८० वर्ग किलोमिटर रहेको उल्लेख गरिएको छ। एउटा मात्र राजनैतक दल रहेको सिरियन अरब रिपब्लिक सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो। सिरियाको बढी समय लेबनानमाथि चाँसो राख्नुमा खर्च भएको छ र त्यसले पनि यो देशको आर्थिक विकासको गति सुस्त पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। सन् १९७३ मा आफूलाई औपचारिक रुपमा सेकुलर सोस्लिस्ट राष्ट्र घोषणा गर्ने सिरियामा लामो समयदेखि सत्ता माथि असद परिवारको पकड रहँदै आएको छ। वर्तमान राष्ट्रपति बसार अल-असद, सन् २००० को जुन १० मा उनका पिता हाफेज अल-असदको मृत्युको केही दिन पछि, अर्थात सन् २००० को जुलाई १० मा राष्ट्रपति निर्वाचित भएका थिए। सिरियाको एक मात्र बाथ पार्टीले उनलाई राष्ट्रपतिका लागि मनोनयन गरेको थियो। हाफेज अल-असदको सिरियाली राष्ट्रपतिको रुपमा तीन दसक शासन काललाई जोड्ने हो भने असद परिवारको सक्तामाथिको पकडको ४० वर्षभन्दा बढी हुन आउँछ। आर्थिक विकास भन्दा पनि सक्तामाथिको आफ्नो नियन्त्रण बलियो बनाउनमा निकै समय असद परिवारले खर्च गरेकोले पनि त्यहाँको आर्थिक विकासको गति सुस्त हुन गएको जानकारहरु बताउँछन्।
विश्वराज अधिकारी
२०६८।६।६, शुक्रवार (Friday, September 23, 2011) मा प्रतीक दैनिकमा प्रकाशित

Wednesday, September 21, 2011

Magic of Gonaura - Bahalia - Story 1


गोनौराको जादु

 घाँटीमा छुरीले रेट्ने, खाली कचौराबाट परेवा झिक्ने, सेतो कागजलाई रुपियाँ बनाउने, नाकले एकलोटा पानी खाने आदि जस्ता सबै जादु तमासाहरु पुराना भइसकेका थिए। गोनौरा कुनै नयाँ जादुको खोजीमा थियो। पुराना जादु तमासाहरुले आकर्षण होइन विकर्षण उत्पन्न गराउन थालेका थिए। गोनौरा नयाँ जादु हात नपरेसम्म पुरानै जादु देखाउन बाध्य थियो। अर्कोतिर पुरानो जादुको गन्ध मात्र नाकमा पर्नासाथ जादु प्रदर्शन गरिने स्थलको पुच्छरबाट नै तमासा हेर्न आउनेहरु यसरी भाग्दथे जसरी बाजलाई देखेर चराहरु भाग्दछन्। दर्शकहरु ज्यादै नयाँ, रोमाञ्चकारी तथा अति जोखिमपूर्ण जादु हेर्न उत्सुक देखिन्थे।
सधै झै आज पनि गोनौराले बेस्सरी डमरु बजायो। प्रदर्शन गरिने कुरा सार्वजनिक रुपमा घोषणा गर्यो। जादु हेर्न आउन सबैलाई आग्रह गर्यो। तर उसको जादु हेर्न दुई चार जना बालबालिकाहरु मात्र आए। आज उसले न त एक मुठी चामल पायो न त एक पैसा नै। पुरानो जादुका लागि एक पैसा पनि नदिने भनी तमासेहरुले निर्णय गरिसकेका थिए। गोनौराका आँखा भने अझै पैसा चामल थाप्न ओछ्याइएको टालामा नै केन्द्रित थिए। तर आफू जादुमा तल्लिन भएको अभिनय गर्दै थियो। अभिनय भित्र पनि अभिनय धेरै बेरसम्म उसले गर्ने भने सकेन। लामो सास फेर्दै थचक्क बस्यो। बालबालिकाहरु पेटारोबाट टाउको निकाल्न थालेको सर्प हेर्नमा तल्लिन थिए। बाबु थचक्क बस्नुको अर्थ छोराले बुझ्यो। उसले बाबुलाई अर्को ठाउँमा जादु प्रदर्शन गर्न जाऔ भनी आग्रह गरेन। बरु सर्पको टाउकोमा लात्तले हिर्कायो। सर्पले आज्ञाकारी बालक झै गरी टाउको भित्र लग्यो। गोनौराको छोराले पेटारो, ढोलक, बाँस आदि सबै कुरा बोरा भित्र हुल्यो।
आज सबै भन्दा ठूलो, रोमाञ्चकारी, अनौठो र खतरनाक खेल देखाउन जाँदैछु। आजसम्म यस्तो खतरनाक जादु कसैले देखाएको छैन र भविष्यमा समेत देखाउने छैन, यो मेरो दावा हो यो घोषणा सार्वजनिक गर्दै गोनौराले बेस्सरी डमरु बजायो। डमरुको आवाज सिङ्गो गाउँभरि गुञ्जियो।
गोनौराले अचम्मको खेल देखाउने भनी प्रचार गरेको छ, थाहा पायौ तिमीहरुले? एउटा युवकले आफ्ना साथीहरुतिर हेर्दै भन्यो। आफूले प्राप्त गरेको सूचना ठीक हो, होइन भनी परीक्षण गर्न खोज्दै थियो ऊ।
सुन्नेहरुले भने हामीहरुले पनि त्यस्तै सुनेका छौ। आज सबै काम छोडेर गोनौराको जादु हेर्न जाने हामीले योजना बनाएका छौ। ती युवकहरु मध्येको एउटाले डर मिश्रित स्वरमा भन्यो यदि साले गोनौराले पुरानै जादु दोहर्याए नि?
त्यसको टाउकोमा हिर्काउँछु यो ढुङ्गाले भन्दै एउटा युवकले आफ्नो खल्तीमा राखेको ढुङ्गा झिक्यो।
आज म धान कुट्न जान्न। ढिकी बिग्रेको दुई दिन भयो। बरु गोनौराको नयाँ जादु हेर्न जान्छु एक महिलाको मुखबाट निस्केको यो संवाद सुनेर उसको पतिले कुनै प्रतिक्रिया देखाएन। हातले बाट्दै गरेको जुटको डोरी थन्क्यो र पत्नीको पछि पछि हिँड्यो।
मालिक, मैले हिजो नै बढी घाँस काटेर ल्याएको थिएँ। त्यो घाँसले हाम्रा गाई गोरुलाई भोलिसम्मका लागि पुग्छ। फेरि हाम्रा गाईगोरुले धेरै घाँस पनि खाँदैनन्। अरु गाई गोरु जस्तो यिनीहरु हँड पेटाहा हुन र? मालिकको निगाह भए गोनौराको नयाँ जादु हेर्न जान्थे गोठालोले प्रस्तुत गरेका ती तथ्यहरु अनुमतिका पूर्वाधार बने। मालिकले गोठालोतिर हेरेर मुसुक्क हाँस्यो। गोठालोले कुरा बुझ्यो। उसले जेलबाट छुटकारा पाएको महसूस गर्यो। उसको मुहारमा सूर्य उदाए झै भयो।
आज दुरामा पञ्चैति हुँदैन। आज मुखियाजी गोनौराको जादु हेर्न जाने रे। तपाइँहरु पनि गए हुन्छ चौकीदारले प्रसारण गरेको यो सार्वजनिक सूचनामा सम्बन्धित कुनै पक्षले पनि बिरोध जनाएन बरु सबै खुसी नै थिए। वादी र प्रतिवादी पनि विवादी भएनन् यो समाचार सुनेर।
गोनौरा आफैले निर्माण गरेको अग्लो मचानमा चढ्यो। अनि माथिबाट नै ठूलो स्वरमा करायो आजको खेल ज्यादै आश्चर्य लाग्दो र अति खतरनाक पनि छ। अनि निकै रमाइलो पनि। यो खेलको नाम हो- आकासमा पौडी खेल्ने। गोनौरासँगै उसकी पत्नी अनि छोराछोरीहरु पनि थिए। पत्नीले आकासमा पौडी खेल्ने खेल कस्तो हुन्छ भन्ने कुरा राम्रो गरी बुझेकी थिई। उसको मुहारमा विरक्ति पोखिएको प्रष्टसंग देखिन्थ्यो। छोराछोरीहरुलाई थाहा नभको हुनाले उनीहरु ज्यादै प्रसन्न देखिएका थिए। नयाँ जादुमा बाबुले सरिक गराएकोमा उनीहरु खुसी भएका थिए।
गोनौराले उपस्थित सबैको ध्यान आफूतिर तान्दै करायो आकाशमा पौडी खेल्ने खेल अब शुरु हुन्छ। सबै जना आ-आफ्नो ठाउँमा हलचल नगरी उभिनुहोला। अनि हामी आकासमा उडेपछि ताली बजाउनु होला गोनौराले यो उद्घोषणा सकाएर मचानबाट हामफाल्यो। गोनौराको पछि उसकी पत्नीले र त्यसपछि छोराछोरीहरुले हामफाले। चारै प्राणी भुइँमा थचारिए। उनीहरुको मुखबाट रगतको धारा बगे। अर्कोतिर जादु हेर्न उपस्थित भएका सबै तमासेहरु अतिहर्षित तथा रोमाञ्चित दखिन्थे। सबैले एकसाथ ताली बजाए। तालीको गड्गडाहटले गर्दा त्यो स्थल युद्ध भूमि झै लाग्दथ्यो। केही युवकहरुले एकै स्वरमा भने गोनौराको जादु नितान्त नौलो रहेछ। गोनौरा महान जादुगर हो। उसँग टक्कर लिने यो जिल्ला त के यो देशमा नै कोही छैन
एक वृद्धले ती युवकहरुको भनाइमा थप्यो गोनौरा यो युगको नै महान जादुगर हो
उपस्थित सबै तमासेहरुले एक साथ चिच्याए गोनौरा महान जादुगर हो। अनि सबैले जोडले ताली बजाए।
गोनौराको छेउमा उभिएको एउटा बालकले आफ्नो बाबुतिर हेर्दै सोध्यो गोनौरा किन न उठेको बा?
त्यो बालकको पछाडि बसेको एक वृद्धले उत्तर दियो एक छिन पछि गोनौरा तथा उसको परिवार उठ्नेछन अनि उडेर फेरि त्यही मचानमा पुग्नेछन्
त्यो वृद्धको भनाइमा अघि बोल्ने त्यो बालकले पनि सहमति जनायो।
उपस्थित तमासेहरुमद्धे केहीले आश्चर्य पोख्दै भने ए त्यस्तो हो?
तमासेहरु सबैले फेरि एकपटक नारा लगाए गोनौरा जिन्दावाद! महान् जादुगर जिन्दावाद!
जादु हेर्न उपस्थित भएका सबै व्यक्तिहरु व्यग्र थिए। गोनौरा र उसको परिवार उडेर मचानमा पुगेको दृश्य हेर्न। केही कराउन पनि थाले उठ गोनौरा, उठ। महान जादुगर उठ। वीर गोनौरा, बहादुर गोनौरा, तिम्रो नयाँ जादु प्रदर्शित गर। तिमी यो गाउँको इज्जत हौ, नाक हौ
तर गोनौरा र उसको परिवार उठेको दृश्य भने देखिएन्। उनीहरुको इहलिला समाप्त भइसकेको थियो। तर जादु हेर्न आउनेहरुको संख्यामा वृद्धि हुने क्रम भने जारी नै थियो।


Poverty and Economics - 4

आर्थिक जागरणको युग

वर्तमान विश्वको आर्थिक स्वरुपलाई हेर्न हो भने पहिले भन्दा निकै फरक किसिमको स्वरुप देखिन्छ। मौजुदा स्थितिमा धनी राष्ट्रहरु विश्व बजारमाथिको आफ्नो पकडलाई अझै मजवुत तुल्याउन विभिन्न किसमका उपायहरु सोँच्न तल्लिन छन भने विकासशील राष्ट्रहरु आफ्नो देशमा उपलब्ध ज्ञान, प्रविधि, सस्तो श्रम र कच्च पदार्थको अधिक्तम उपयोग गरेर आर्थिक विकासको गतिलाई तिव्र तुल्याउन अनेक किसिमका तरीकाहरु प्रयोग गर्न लागि परेका छन। केहि  अपवाद बाहेक, बहुसंख्यक विकासशील  राष्ट्रहरुमा अहिले राजनैतिक मुद्दाहरुले कम र आर्थिक मुद्दाहरुले बढी महत्व पाइरहेका छन। अर्को शब्दमा भन्ने हो भने ती राष्ट्रहरुमा अहिले आर्थिक जागरण आएको छ।
 राजनीतिलाई जति आवश्यक छ त्यति मात्र महत्व दिएर अधिक महत्व प्रभावकारी अर्थ व्यवस्थाद्वारा राष्ट्रको विकास गर्नु र देशमा विद्यमान गरीबलाई काम पार्नमा नै राष्ट्रिय गतिविधिहरुलाई केन्द्रित गर्नु आर्थिक जागरण हो र त्यस किसिमको जागरण अहिले खास गरि चिन, भारत, ब्राजिल र रुस जस्ता नव उदयीमान आर्थिक शक्ति राष्ट्रहरुमा बढी देखिएको छ। भारत र चिन त झन अहिले विश्वको आर्थिक महाशक्ति बन्ने दिसा तर्फ अग्रसर छन। भारतको कुरा गर्ने हो भने, देशमा व्याप्त गरिबी र अनेक किसिमका राजनैतिक समस्याहरुको बाबजुत पनि भारतले विश्वलाई आश्चर्य पार्ने किसिमबाट आर्थिक विकास गरिरहेको छ। भारतले गरेको आर्थिक प्रगति देखेर विकशित राष्ट्रहरु आश्चर्यचकित मात्र भएका छैनन् साथै भारतको आर्थिक प्रगतिको गहनतापूर्वक अध्ययन एवं विश्लेषण समेत गर्दैछन। चिनको आर्थिक प्रगतिले त झन सारा विश्वको नै ध्यान खिंचेको छ।
भारत र चिनको आर्थिक प्रगति देखेर आर्थिक क्षेत्रका जानकारहरु आँउदो ३०/४० वर्ष भित्रमा भारत या चिन मध्ये कुनै एक राष्ट्र विश्वको आर्थिक महाशक्ति हुने छ भनी भविष्यवाणी गर्दैछन्। खास गरि सेवा उत्पादन क्षेत्रमा भारत र वस्तु उत्पादन क्षेत्रमा चिनले गरेको प्रगति ज्यादै उल्लेखनीय छ। एकातिर, देशमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम र अर्कोतिर सूचना प्रवधिको क्षेत्रमा गरेको अत्यधिक विकासले गर्दा भारत आर्थिक विकासको गतिलाई तिब्र पार्न सक्षम भएको हो।
सन् २००६ मा दश प्रमुख तेल उत्पादक राष्ट्रहरु मध्ये चिनको स्थान पाँचौ  थियो। यसै गरि तेल खपत गर्ने दश प्रमुख राष्ट्रहरु मध्ये चिनको स्थान दोस्रो थियो। सन् १९९१ मा चिनले संयुक्त राज्य अमेरिकालाई १९ बिलियन डलर बराबर निर्यात गरेको थियो भने २००७ मा ३२१ बिलियन डलर बराबर निर्यात गरेको थियो।
सन् २००६ मा संयुक्त राज्य अमेरिकाको कुल राष्ट्रिय आय (Gross National Income) १३३८६८७५ बिलियन डलर थियो र स्थान एक नम्बर थियो भने चिन र भारतको क्रमश: २६२०९५१ र ९०९१३८ बिलियन डलर र स्थान क्रमश: चौथो र दशौं थियो।
सन् २००७ को तथ्यांक अनुसार चिन र भारतको कुल गार्यहस्थ उत्पादन (Gross Domestic Production) क्रमश: ७.०४३ र २.९६५ ट्रिलियन डलर थियो। यसै गरि संयुक्त राज्य अमेरिकाको १३.८६ ट्रिलियन डलर थियो। सोहि अवधिमा विश्वको कुल गार्यहस्थ उत्पादन ६५.८२ ट्रिलियन डलर थियो।
माथिको तथ्यांकबाट भारत एवं चिन आर्थिक प्रगतिको दिशाम तेज गतिका साथ दौडिरहेका छन भन्ने तथ्य सहजै अनुमान लगाउन सकिन्छ।
विश्वका अनेक राष्ट्रहरुले चमत्कारी किसिमले आर्थिक प्रगति गर्ने छ भनी अनुमान गरिँदैछ। ब्रिकका  राष्ट्रहरु (BRIC- Brazil, Russ, India, China), जो आर्थिक शक्तिको रुपमा उदाइ रहेका छन्, मध्ये ब्राजिलको आर्थिक प्रगतिले आउँदा दिनहरुमा पश्चिमका छ ठूला अर्थतन्त्रलाई थप चुनौति खडा गर्ने छ भनी अनुमान लगाइँदै छ।
मेक्सिको, अष्ट्रेलिया, भियतनाम, इन्डोनेशिया, नाइजेरिया, र दक्षिण अफ्रिका आफ्ना क्षेत्रका आर्थिक शक्तिको रुपमा देखा पर्ने अनुमान गरिएको छ। चिली र पेरुले धातु र खनिजको क्षेत्रमा उल्लेख्य प्रगति गर्ने छ भनि चर्चा गरिंदै छ। चिलीको हालको तामा (Copper) उत्पादनले अमेरिकालाई पनि उछिनेको छ। चिलीले अहिले अमेरिकाभन्दा ३०० प्रतिशत बढी तामाको उत्पादन गर्दछ। ब्राजिलले अहिले अमेरिकाले भन्दा चार गुणा बढी फलाम ( Iron ore) उत्पादन गर्दछ। यसै गरि ब्राजिलले अमेरकाले भन्दा दुई गुणा बढी बिफ निर्यात गर्दछ।
थाइलैण्ड, मलेशिया, फिलिपिन्स, कतार, युनाईटेड अरब इमिरेट्स पनि आर्थिक प्रगतिको दिशमा तिव्रताका साथ दौडिरहेका छन। दक्षिण कोरियाको आर्थिक प्रगति त झन उल्लेखनिय नै छ।
विश्वका अनेक राष्ट्रहरुले गरेका आर्थिक प्रगतिलाई हेर्दा यो युग आर्थिक जागरणको युग हो भनी सजिलै भन्न सकिन्छ। तर उल्लेख्यनीय कुरा के छ भने विश्वका अनेक राष्ट्रहरुमा आर्थिक जागरणको लहर दौडिदा पनि त्यो लहरबाट नेपाल प्रभावित हुन सकिरहेको छैन। के कति कारणहरुले गर्दा नेपाल प्रभावित हुन सकिरहेको छैन, ती कारणहरुको खोज्नु गर्नु आवश्यक छ। नेपालमा आर्थिक विकास तिब्रताका साथ नहुनुको कारण घरेलु राजनीति हो भनेर सहजै उत्तर आउन सक्ला तर त्येही मात्र एक कारण भने होइन। कारण अरु पनि छन र अनेक छन।  

Monday, September 19, 2011

Poverty and Economics - 3

पूँजीका कमजोरीहरु

श्रमका कमजोरीहरु भए झै पूँजीका पनि विभिन्न किसिमका कमजोरीहरु छन। पूँजीका कमजोरीहरुलाई यस प्रकार प्रस्तु गर्न सकिन्छ। सर्वप्रथम त पूँजीको जन्मदाता नै श्रम हो। श्रमद्वारा नै पूँजीको निर्माण हुन्छ। कुनै पनि पूँजीपतिले पूँजीको निर्माण गर्न अनिवार्य रुपमा (केही अपवाद वाहेक) श्रमको प्रयोग गर्नै पर्छ। श्रमको प्रयोग नगरेर उसले पूँजी निर्माण गर्न सक्दैन। त्यसकारण कुनै पनि पूँजीपतिसँग रहेको पूँजी उसले प्रयोग गरेको विभिन्न श्रमिकहरुको विगतको श्रमको मूल्य हो जुन उसले श्रमिकलाई भुक्तान गरेको हुँदैन। यसलाई उदाहरणद्वारा यस प्रकार प्रष्ट गर्न सकिन्छ। मानौ कुनै दस जनाको समूहले एक जोर जुत्ता उत्पादन गर्यो। त्यो समूहमा एक जना चाँहि संगठनकर्ता थियो। त्यो एकजोर जुत्ता उत्पादन गर्नमा श्रम लगानीको हिसाबले दसै जनाको योगदान समान थियो। कच्चा पदार्थहरूलाई अहिले उदाहरणमा समावेस नगरौ । जुत्ता उत्पादन भएर बजारमा पुगेपछि त्यो एक जोर जुत्ता रु १०० को मुनाफामा बिक्री भयो। अब प्रतिफल भाग लगाउने बेलामा के हुन्छ भने संगठनकर्ताले त्यो मुनाफा मध्येको (मानौ) ९० प्रतिशत आफूसँग राख्दछ र केवल १० प्रतिशत बाँकी नौ जनालाई ज्यालाको रुपमा भुक्तान गर्दछ। संगठनकर्ताले यसरी ९० प्रतिशत प्रतिफल आफूसँग राखेर ९० रुपैंया बराबरको पूँजीको निर्माण गर्दछ। यस प्रकार संगठनकर्ता सँग भएको त्यो पूँजी (संगठनकर्ताले आफ्नो योगदान बापत पाउनु पर्ने भाग बाहेक) कुनै कालमा श्रमिकहरुले गरेको श्रमको मूल्य हो भन्ने प्रष्ट हुन पुग्दछ। तर यहाँ प्रश्न के उठ्न सक्छ भने श्रमिक नै किन पूँजीपति बन्न सक्दैन त? एक श्रमिक पूँजीपति तब बन्न सक्छ जब उसमा संगठनकर्ताको गुणको विकास हुन्छ। तर एक श्रमिकमा संगठनकर्ताको गुणको विकास हुनका लागि धेरै कुराहरु आवश्यक हुन आउँछ। व्यक्तिको आफ्नो बौद्धिक क्षमता, बजारको अवस्था, सरकारी नीति, सामाजिक संरचना एवं मान्यता आदि आदि जस्ता तत्वहरुले कुनै एक व्यक्तिलाई संगठनकर्ता बनाउनमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन। श्रमिक संगठनकर्तामा रुपान्तरण हुने दर भने ज्यादै नै सुस्त हुन्छ।
सामान्य अर्थमा भन्ने हो भने पूँजीको निर्माण पूँजीपति (संगठनकर्ता) ले नै गर्दछ। अर्को शब्दमा भन्ने हो भने महको निर्माण मौरीले नै गर्दछ, कमिलाले गर्न सकदैन। मौरीलाई राम्रो गरी थाहा हुन्छ कुन फूलमा मह योग्य रस छ भन्ने रहस्य। त्यसैले, मौरीले सजिलै गरी दिनभरिको घुमाईमा महको पहिचान एवं संकलन गर्दछ। यसै गरी संगठनकर्ता वा पूँजीपतिलाई पनि कुन व्यापार गर्दा कुन किसिमबाट कति मुनाफा हुन्छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ। र त्यसका लागि उसले सम्भावनाको खोजी गर्ने र जोखिम लिने कार्य गर्दछ पनि । त्यस कारण संगठनकर्ताको खुबी कुनै व्यक्तिमा हुनु उसको एक ठूलो बौद्धिक विषेशता हो। यहाँ एउटा के कुरा प्रष्ट पार्न आवश्यक छ भने पूँजीको सदुपयोग र पूँजीद्वारा श्रमको शोषण दुइ अलग अलग कुरा हुन। अर्को किसिमले भन्ने हो भने पँजीपतिहरुले श्रमको शोषण नै गर्छन भन्ने कुरा पूर्ण रुपमा शत्य भने होइन। किनभने त्यस्ता धेरै उद्योगपति एवं व्यापारीहरु देखिएका छन जसले आफ्ना कामदारहरुलाई राम्रो परिश्रिक, उन्नतिको राम्रो अवसर, एवं अन्य सुबिधाहरु दिएर अधिक से अधिक मुनाफा कमाएका छन र पछि उक्त मुनाफा गरीबी निवारणमा खर्च गरेका छन पनि।
पूँजीवादको उल्लेख्य कमजोरी के हो भने यसले समाजमा वर्गको सृजना गर्दछ र परिणामस्वरुप समाज आर्थिक रुपमा विभिन्न वर्गमा विभाजित हुन पुग्दछ। र त्यस किसमको विभाजनले समाजमा बिग्रको स्थिति ल्याउन सक्छ। र एउटा वर्गको व्यवहार अर्को वर्गप्रति कटुतापूर्ण हुन आरम्भ हुन्छ। यसै गरी पूँजीवादले राष्ट्रिय आयको वितरणलाई अति नै असमान परिदिन्छ जसले गर्दा धनी झन झन धनी हुँदै जाने तथा गरीबहरु झन गरीब हुँने स्थिति देखा पर्न थाल्छ। एकातिर केही महलहरु खडा हुन्छन भने ठीक ती महलहरुको छेउमा अन्गिन्ति झुपडीहरुको ताँती लाग्न थाल्छ। पूँजीवादले राष्ट्रिय सम्पत्ति केही सीमित व्यक्तिहरुको हातमा हुने स्थिति सृजना गरिदिन्छ। उदाहरणका लागि कुनै एक देशको कुल सम्पति त्यस देशको २५ या ३० प्रतिशत व्यक्तिहरुको हातमा हुन पुग्दछ। र यो समस्या खास गरी पूँजीवादी देशहरुमा देखिएको छ। यसै गरी पूँजीवादको अर्को र ठूलो दुर्गुण के हो भने यसले केवल सक्षमले मात्र गरिखाने स्थिति पैदा गरिदिन्छ। अर्थात परिश्रम गर्नेले भन्दा पनि बुद्धि लगाउनेले बढी प्रतिफल पाउँछ र परिणाम स्वरुप कठोर परिश्रम गरेर राम्रो आय आर्जन गर्ने कुनै व्यक्तिको इच्छा पूरा हुन कठिन हुन पुग्दछ। बजारमा श्रम भन्दा पूँजीको वर्चस्व अधिक हुन पुग्दछ।
तर आश्चर्य लाग्दो र कटु यथार्थ के हो भने विश्वका अहिलेका कहलिएका धनी राष्ट्रहरुले राष्ट्रको आर्थिक विकास पूँजीवादी अर्थ व्यस्थाद्वारा नै गरेका छन। चमत्कारी किसिमबाट देशको आर्थिक विकास गर्न पूँजीवादको साहारा लिएका छन। धनी राष्ट्रहरु मात्र होइन, विकासशील राष्ट्रहरु पनि पूँजीवादको रथ चढेर आर्थिक समृद्धिको गन्तव्यमा पुग्न बैचनीका साथ दौडिरहेका छन, भन्नका लागि ती मध्येका केहीले हामीले समाजवादी अर्थ व्यवस्था अबलम्बन गरेका छौ भनेता पनि। अहिले, विश्वका वहुसंख्यक राष्ट्रहरुको गन्तव्य, आर्थिक समृद्धिका लागि, पूँजीवादी व्यवस्था नै हुन पुगेको छ। त्यसकारण अहिलेको चुनौति के हो भने देशको आर्थिक विकास द्रुततर गतिमा गर्न र गरीवी निवारणको अभियानलाई तिव्र पार्न पूँजीवादी आर्थिक व्यवस्थालाई राष्ट्रिय हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने तर्फ गम्भिरतापूर्वक सोच्नु र उपायहरु पत्ता लगाउनु। र यसरी सोंच्ने कार्य  स्थानीय स्तरमा हुन बढी आवस्यक छ किनभने आर्थिक विकासको पहिलो खुडकिलो भनेको नै स्थानीय स्तर हो। र जहिले पनि चिन्तन, नीति र निर्देशन का लागि केवल केन्द्रको भर पर्ने अभ्यास कम पार्नु पर्छ पनि।  

विश्वराज अधिकारी

Sunday, September 18, 2011

Fiction of the week - 3


A wise man and a fool


‘Write in brief, the difference between a wise man and a fool’ this was a question in an examination paper. Out of the many answers that were given, one of the answers stated that, ‘when a foolish man goes down the wrong path he only hurts himself. In contrast, when a wise man goes down the wrong path he brings hundreds of thousands of people down that path with him. A foolish man does not have the ability to do this because he does not have the intelligence to convince people to follow him, but the wise man does. People do not question the logics of a wise man and do not make any arguments against it. Hence in this way one can state the difference between a wise man and a fool.’

Bishwa Raj Adhikari

Friday, September 16, 2011

लेख - ११ कतार र पानामाबाट धेरै सिक्न सकिन्छ


वर्तमान विश्व परिस्थिति हेर्ने हो भने अधिकांश राष्ट्रहरुले आफ्नो देशमा उपलब्ध मौलिक स्रोत र साधनहरुको अधिक्तम उपयोग गरेर राष्ट्रिय गरिबीलाई कम पार्न कम्मर कसेर लागेको देखिन्छ। चिन, देशमा उपलब्ध आपार मानवीय स्रोतको अधिक्तम उपयोग गर्नमा लागेको छ र ठूलो जन संख्या भएको कारणले श्रम लागतलाई कम पारेर विश्व बजारमा आफ्ना सामाग्रीहरु सस्तोमा बिक्री गर्न सक्षम समेत भएको छ। सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेर भारत अहिले सूचना प्रविधिको क्षेत्रमा विश्वमा नै चर्चित हुन पुगेको छ। सिंगापुर, देशमा उपलब्ध सरल समुन्द्री मार्गको उपयोग गरेर एशियाको धनी राष्ट बन्ने तरखरमा छ। केही वर्ष पहिलेसम्म आर्थिक जगतमा कतै नाम नसुनिएको कतार अहिले आफ्नो देशमा उपलब्ध रहेको तेल र ग्यास भण्डारको अधिक्तम उपयोग गरेर कम समयमै चमत्कारी किसिमले धनी हुन खोज्दै छ। कतारले केही वर्षदेखि ब्यापार बचत (Budget surplus) समेत गरेको छ र संसार मै तिब्र गतिमा आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रमा पर्दछ। कतारको कुल गार्यहस्थ उत्पादन मध्ये तेल र ग्यासबाट मात्र ५० प्रतिशत प्राप्त हुन्छ। कतारको प्राकृतिक ग्यास (Natural gas) भण्डार विश्व मै तेस्रो ठूलो मानिन्छ भने विश्व भरमा उपलब्ध प्राकृतिक ग्यास मध्ये कतारसँग १४ प्रतिशत रहेको विश्वास गरिन्छ।  कतारीहरुको सम्पत्ति र जिवनस्तर पश्चिम यूरोपका नागरिकहरु सरह छ र अरब जगतमा दोस्रो सर्वाधिक गार्यहस्थ उत्पादन (अन्तरार्ष्ट्रिय मुद्रा कोष, २००६) हुने राष्ट्र पनि कतार नै हो। विश्वमा सर्वाधिक प्रति ब्यक्ति गार्यहस्थ उत्पादन हुने राष्ट्रहरुमा कतार दुई नम्बरमा पर्दछ। नेतृत्व तह र देशबासीहरुमा विकास गर्ने इच्छा शक्ति दृढ भएमा मुलुकले कति छिटो विकास गर्छ भन्ने यथार्थको उदाहरण हुन पुगेको छ अहिले कतार।
यी त भए केही प्रतिनिधि उदाहरणहरु। यस्ता अन्य उदाहरणहरु धेरै छन। तर हाम्रो देशमा पर्यटकीय स्थल, जल स्रोत, अनुकूल हावा पानी, पर्वतीय पर्यटन, सस्तो जन शक्ति, बौद्धिक क्षमता जस्ता अनेकौ साधनहरु भएता पनि तिनको भरपुर उपयोग गरेर राष्ट्रिय गरिबीलाई कम पार्न सकिएको छैनौ। बरु उल्टो राष्ट्रिय गरिबीमा वृद्धि भएको छ, बेरोजगारहरुको संख्यामा भएको भीषण वृद्धिलाई दृष्टिगत गर्दा। रोजगारीका लागि प्रत्येक दिन विदेशिने नेपालीहरुको संख्यालाई दृष्टिगत गर्दा पनि थाहा हुन्छ नेपालमा बेरोजगारीको स्थिति कति भयावह छ भन्ने यथार्थ। सामान्य किसिमको समेत रोजगारी पाएमा धेरै नेपालीहरु विदेश जान अनिच्छुक हुन सक्छन। विदेशिनु थोरै मात्र रहर तर ज्यादै धेरै बाध्यता हुने ग्रर्दछ। नेपालमा प्रचुर मात्रामा साधन र स्रोत भएता पनि राष्ट्रले अपेक्षति गतिमा विकास गर्न सकिरहेको छैन। यस्तो हुनुका विभिन्न कारणहरु छन। ती कारणहरु मध्ये एक उल्लेख कारण चाहिँ नेताहरुमा विकास गर्ने इच्छा शक्ति नहुनु र केवल शक्तिका लागि खिचातानी गर्नु हो।
नेपालमा राजनैतिक नेताहरु खासमा अहिले दिग्भ्रमित स्थितिमा छन। उनीहरुले ठीकसँग निश्चित गर्न सकिरहेका छैन के गर्ने- आफू शक्तिसाली हुने, पार्टीलाई शक्तिसाली तुल्याउने वा राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउने।
आफूलाई मात्र शक्तिसाली तुल्याउन खोज्ने मनोविज्ञान भएका नेताहरु जसरी पनि शक्तिमा कामय रहने राजनैतिक खेल खेल्नमा ब्यस्त छन्। अनेक किसिमका अनावश्यक मुद्दाहरु झिकेर हजारौ जनतालाई आफ्नो पछि लगाउन सफल पनि भएका छन। उनीहरुको यस्तो व्यवहारले गर्दा स्थानीय र राष्ट्रिय आर्थिक विकासका मुद्दाहरु ओझलमा पर्न गएका छन्। तर उनीहरुलाई यो पनि चिंता के छ भने संधै आफूलाई शक्तिसाली राख्ने दाउपेंचमा ब्यस्त रहने हो भने भोलिको चुनावमा जनताले पत्याउने छैनन् र आफ्नो राजनैतिक भविष्य चौपट हुन सक्छ। त्यसकारण उनीहरुले केही आर्थिक मुद्दालाई उठाई रहेका त छन तर केवल नाम मात्रका लागि।
पार्टीलाई शक्तिसाली तुल्याउन खोज्ने नेताहरु पार्टी बलियो भएमा मात्र आफू पनि बलियो हुने भएकोले उनीहरु पार्टीलाई बलियो तुल्याउने मुद्दाहरुमा मात्र केन्द्रित छन र स्थानीय र राष्ट्रिय आर्थिक मुद्दाहरुलाई जति महत्व दिनु पर्ने हो त्यति दिइ रहेका छैनन्। । राष्ट्र आर्थिक रुपमा सक्षम नभएमा पार्टीको भविष्य पनि सुरक्षित नहुने भन्ने यथार्थ उनीहरुलाई थाहा त छ तर राष्ट्रको आर्थिक विकासमा दृढ भएर लाग्ने हो भने आफू एक्लो पर्ने र पार्टीमाथिको आफ्नो पकड कमजोर हुँदै जाने भयले उनीहरु के गर्ने, के नगर्ने भन्ने अलमलमा छन्।
राष्ट्रलाई आर्थिक समृद्धिको दिसातर्फ डोर्याउन खोज्ने नेताहरु पनि अलमलमा छन। उनीहरुको अलमल के हो भने आफ्नो पार्टी कार्यकर्ता र समर्थकहरुको कुरा नसुनी केवल स्थानीय र राष्ट्रिय आर्थिक मुद्दाहरुमा मात्र केन्द्रित हुने हो भने आफ्ना कुराहरु नसुनिदिएको भनी कार्यकर्ता र समर्थकहरु रुष्ट हुन पुग्छन जुन नेताहरुको राजनैतिक जिवनका लागि प्रतिकूल स्थिति हुन सक्छ। भोलिका दिनहरुमा चुनाब जितिएला भन्ने कुराको कुनै ग्यारंटी हुन सक्तैन।
द्रुततर गतिमा आर्थिक प्रगति गरिरहेका राष्ट्रहरुका नेताहरुमा कुनै किसिमको अलमल छैन, देशको आर्थिक विकास गर्ने सन्दर्भमा। नेताहरु एक आपसमा समन्वय गरी राष्ट्रलाई धनी तुल्याउन हातमा हात मिलाएर अगाडि बढिरहेका छन, र सामान्य जनताले पनि उत्तिकै साथ दिएका छन् नेताहरुलाई।  
 आर्थिक समृद्धिको दिशा तर्फ द्रुततर गतिमा अगाडि बढिरहेको अर्को देश हो पानामा। मध्य अमेरिकी राष्ट्र पानामा अहिले सिंगापुर हुने उद्धेश्य लिएर तिब्र गतिमा आर्थिक विकासको दिशा तर्फ दौडिरहेको छ। उत्तर र दक्षिण अमेरिकालाई जोड्ने पानामा  गरिबी र प्रशासनीक भ्रष्टाचारबाट मुक्त भने छैन, बरु प्रशासनिक भ्रष्टाचारबाट बढी नै ग्रसित छ, त्यैपनि विकासप्रतिको कटिबद्धताले गर्दा देशमा आर्थिक विकासको लहर ल्याउन सफल भएको छ। समुन्द्री-मार्ग सुबिधा (नहर), उदार अर्थ नीति र चुस्त बैंकिग सेबाले गर्दा विदेशी लगानीकर्ताहरु पानामामा लगानी गर्न आकर्षित भएका छन। पानामामा विदेशी लगानी कूल गार्यहस्थ उत्पादनको ९ प्रतिशत जति छ। पानामाको वार्षिक आर्थिक वृद्धि दर ८ प्रतिशत रहेको छ र बेरोजागी पनि केवल लगभग ७ प्रतिशत मात्र छ। सन् २००८ मा खाद्य बचत गर्न सफल यो देश मानव विकास सुचकांकमा ६० औ स्थानमा थियो। आयात शुल्क कम भएका लैटिन अमेरिकी राष्ट्रहरु मध्ये पानामा पनि एक पर्दछ र जिवन यापन लागत (Living costs) तुलनात्मक रुपमा कम भएकोले रिटाएर जिवन विताउन धेरै व्यक्तिहरुको रोजाईमा समेत पर्दछ यो राष्ट्र। नहर (पानामा नहर) बाट ठूलो आम्दानी प्राप्त गर्न सफल पानामा मध्य अमेरिकाको तेस्रो ठूलो अर्थ तन्त्रको रुपमा उदाउन थालेको छ। त्यति मात्र होइन, पानामालाई लैटिन अमेरिकामा दोस्रो अति प्रतिस्पर्धी अर्थ तन्त्र भएको राष्ट्रको रुपमा लिने गरिन्छ। लैटिन सिंगापुरको नामबाट परिचित हुन थालेको पानामा गरिबीको समस्याबाट मुक्त भने छैन। अहिले पनि यहाँका करिब एक तिहाई जनता (सन् २००८) गरिब छन। १४.४ प्रतिशत पानामाका जनता त अति नै निर्धन छन। तर पनि आर्थिक विकास गर्ने बलियो इच्छा शक्तिको कारणले गर्दा पानामा प्रगति पथमा लम्किरहेको छ, तिब्र गतिमा। पानामाले छिट्टै प्रति व्यक्ति गार्यहस्थ उत्पादनमा कोस्टारिका र भेनेज्वेलालाई उछिन्ने अनुमान गरिंदैछ। मैनलैण्ड लैटिन अमेरिकाका पाँच धनी राष्ट्रहरु मध्ये पानामा पनि एक पर्दछ, जनताको क्रय-शक्तिको हिसाबले।
स्पेन र कोलोम्बियाबाट छुट्टिएर स्वाधिनता प्राप्त गरेको पानामाको कुल क्षेत्रफल ७५ हजार ५१७ वर्ग किलोमिटर रहेको छ भने जन संख्या ३४ लाख ५ हजार ८१३ रहेको (सन् २०१० को अनुमान) उल्लेख गरिएको छ। सन् २०१० को अनुमान अनुसार पानामाको कुल र प्रति व्यक्ति गार्यहस्थ उत्पादन (PPP)  यू यस डलरमा क्रमस:४४,३६० बिलियन र १२,५७७ रहेको थियो। मध्य अमेरिकाको दक्षिणमा पर्ने पानामाको उत्तरपश्चिममा कोस्टारिका पर्दछ। कोलम्बिया दक्षिणपूर्वमा पर्दछ। यसै गरी करेबियन सागर उत्तरमा पर्दछ भने पेसिफिक सागर दक्षिणमा पर्दछ। सन् १९०४ देखि १९१४ को बिचमा निर्मित पानामा नहर (Panama Canal) पानामाको ठूलो सम्पत्तिको रुपमा रहेको छ र यो नहरले गर्दा पनामा निकै चर्चामा छ पनि। पानामा नहरको लम्बाई  ८२ किलोमिटर रहेको उल्लेख गरिएको पाइन्छ।


विश्वराज अधिकारी


(प्रतीक दैनिकमा प्रकाशित भदौ ३० गते शुक्रवार २०६८- Friday, September 16, 2011)