नेपालमा महँगी र नियन्त्रणका उपायहरू
नेपालमा
महँगी उच्च स्तरमा छ भन्ने हामी सबैले थाहा पाएको कुरा हो। वर्षौंदेखि हामीले
भोग्दै आएको यो महँगीप्रति आश्चर्य मान्नुपर्ने देखिंदैन। बरु यो महँगी
नियन्त्रणका लागि सरकार एवं जनता दुवैबाट खास किसिमका सोच, योजना तथा कार्यक्रम नआउनुमा भने
हामीले आश्चर्य मान्नुपर्ने हुन्छ। नेताहरूको चुनावी नारा महँगी नियन्त्रण
हुनुपथ्र्यो तर कहिले पनि भएन। सरकारले महँगी नियन्त्रणलाई उच्च प्राथमिकतामा
राखेर अनेक योजना तथा कार्यक्रम ल्याउनुपथ्र्यो तर कुनै सरकारले ल्याएन।
कम्युनिस्ट एवं काङ्ग्रेस, दुवैथरीका सरकारहरूको प्राथमिकतामा महँगी नियन्त्रण कहिले परेन। हुनत
२०२४६ सालको परिवर्तन पछि बनेका सरकारहरूले लामो समयसम्म कार्य गर्न पाएको
देखिंदैन र औसतमा प्रत्येक दुई वर्षपछि सरकार बदलिएको वा प्रधानमन्त्री फेरिएको
पाइन्छ। नेपालको राजनीति सदा अस्थिर रहँदै आएको छ। अहिले पनि राष्ट्रिय राजनीति
नेपालको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्ने किसिमबाट अस्थिर हुन पुगेको छ। यो
हाम्रो दुर्भाग्य नै हो। तर यो दुर्भाग्यका लागि केवल नेता मात्र जिम्मेवार छन्? यस्ता नेताहरूको पछि लागेर उनीहरूको
गलत कार्यलाई सही भन्दै उनीहरूको पछि लाग्ने कार्यकर्ताहरू जिम्मेवार छैनन्? तर अस्थिर राजनीति र छिटोछिटो सरकार
परिवर्तन पनि नेपालमा महँगी वृद्धि गराउने प्रमुख कारक हुन पुगेको छ।
पटक्कै
आय नभएका, अनियमित निम्न आय भएका तथा नियमित
निम्न आय भएका व्यक्ति एवं परिवारका लागि नेपालमा जीवन धान्न ज्यादै कठिन हुन
पुगेको छ। यस कारणले गर्दा पनि बर्सेनि लाखौंको सङ्ख्यामा नेपालीहरू रोजगारको लागि
भारतका विभिन्न शहर पुगिरहेका छन्। यसैगरी मध्यम वर्गीयहरूको जीवन पनि नेपालमा सरल
छैन। मध्यम आय हुनेहरूलाई पनि महँगीले सताएको छ। महँगीको कारण मध्यम आय हुनेहरू
पनि बर्सेनि ठूलो सङ्ख्यामा खाडी देशलगायत मलेसिया, थाइल्यान्ड, पुग्नुपर्ने स्थिति सृजना भएको छ।
रोजगारका
लागि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, इजराइल, स्पेन, इटलीजस्ता
मुलुकहरूमा पनि नेपालीहरू पुगेका छन्। यी मुलुकतर्फ लाग्नेहरूले स्वदेश छाड्नुको
मुख्य उद्देश्य उच्च शिक्षा हासिल गर्ने भनिए तापनि परोक्ष्Fमा रोजगार प्राप्ति नै हो। आर्थिक जीवन
सरल पार्ने आकाङ्क्षा हो। परदेश–गमन, राम्रो आय तथा नियमित रोजगार पाएर जीवन सरल पार्नु उनीहरूको मुख्य
उद्देश्य रहेको पाइन्छ। यी देशमा पुग्नेहरू प्रायः आर्थिक समस्याले नसताइएका भए
तापनि नेपालको महँगीबाट अति पिरोलिएर विदेश लागेका हुन् भन्नेहरू धेरै छन्। हुन
पनि नेपालमा बिहेबारी, चाडबाड, शिक्षा, औषधोपचार, सामाजिक
संस्कार अति नै खर्चिलो एवं महँगो हुन पुगेको छ। यो स्थितिलाई छल्न पनि नेपालीहरू
विदेश लाग्ने गरेका छन्।
महँगी
नियन्त्रण गर्न सकिन्न भने होइन। यसलाई एक खास स्तरमा राख्न सकिन्छ। निम्न
कार्यहरू गरेर नेपालमा हुने चर्को महँगीलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।
(क) स्थिर सरकारः नेपालमा छोटोछोटो अवधिमा सरकार
परिवर्तन हुने स्थितिले आगोमा घिउ हाल्ने काम गरेको छ। तर महँगी नियन्त्रणका लागि
स्थिर सरकार हुन आवश्यक छ। स्थिर सरकार भए मात्र त्यसले महँगी नियन्त्रणका लागि
नयाँनयाँ योजना,
कार्यक्रम
ल्याउन सक्छ। ती कार्यक्रमहरू व्यवस्थित किसिमले लागू गरेर, तिनको नियन्त्रण गरेर, व्यवस्थापनलाई प्रभावकारी पारेर महँगी
नियन्त्रण गर्न सक्छ। कुनै पनि किसिमका योजना तथा कार्यक्रमको विकास एवं
कार्यान्वयन गर्न पाँच वा सात वर्षको अवधि चाहिन्छ। तर दुःखको कुरा के छ भने
नेपालमा त्यो हुन सकेको छैन। औसतमा प्रत्येक दुई वर्षमा सरकार (प्रधानमन्त्री)
फेरिएको देखिन्छ। नेपालमा महँगी नियन्त्रणलाई राष्ट्रिय अभियान बनाउने हो भने नेता
एवं जनताको प्रयासमा सरकारलाई स्थिर पार्न आवश्यक छ। सरकार जति अस्थिर भयो, सोही मात्रामा महँगी बढ्छ र हाम्रो
आर्थिक जीवन थप कष्टकर हुँदै जान्छ।
(ख) सस्तो ऊर्जाः पेट्रोलियम पदार्थ र जल विद्युत् गरी
नेपालमा यी दुई नै ऊर्जाका प्रमुख स्रोत रहेका छन्। दुर्भाग्य, यी दुवै अति नै महँगा छन्।
हामी
पेट्रोलियम पदार्थ ठूलो परिमाणमा उपभोग गर्छौं। भन्ने हो भने हाम्रो यातायात
व्यवस्था, ऊर्जाका लागि पेट्रोलियम पदार्थमा नै
पूर्णरूपेण निर्भर छ। तर हामी एक थोपा पनि पेट्रोलियम पदार्थ उत्पादन गर्दैनौं।
अर्कोतिर, हामीले पेट्रोलियम पदार्थ भारतसँग खरीद
गर्नुपर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय बजारबाट खरीद गर्न सक्तैनौं। पेट्रोलियम
पदार्थको मूल्य हामीले हाम्रो बजारमा भारतको बजार अनुरूप निर्धारण गर्छौं। अर्थात्
भारतले महँगोमा पेट्रोलियम पदार्थ खरीद गरेको छ वा उसको अकुशलताले गर्दा उसको
पेट्रोलियम पदार्थ खरीद महँगो हुन पुगेको छ भने हामी पनि भारतबाट महँगोमा खरीद
गर्न बाध्य हुन्छौं। हामीले पेट्रोलियम पदार्थ आफैंले उत्पादन नगरेको र त्यसको
बलियो विकल्प पनि नखोजेकोले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य
वृद्धि हुनासाथ तत्काल हाम्रो बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन
पुग्छ। अनि सामानहरूको पनि मूल्य वृद्धि हुन्छ। महँगीले टाउको उचाल्छ।
हाम्रो
यातायात व्यवस्था लगभग पूर्ण रूपमा पेट्रोलियम पदार्थमा निर्भर रहेकोले
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनासाथ हाम्रो बजारमा
पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर ढुवानी खर्च बढ्न पुग्छ र हाम्रा बजारका
सामानहरू महँगो हुन पुग्छ। हामी महँगी नियन्त्रण गर्न सक्तैनौं।
जलस्रोतका
लागि हामी धनी छौं तर प्रचुर मात्रामा जल विद्युत् उत्पादन गरेर ऊर्जा सस्तो पार्न
सकेका छैनौं। हामीले यदि ठूलो मात्रामा जल विद्युत् उत्पादन गरेर त्यसको प्रयोग
यातायात क्षेत्रमा पनि गर्ने हो भने यातायात लागतमा बचत गरेर आकाशिएको मूल्य
वृद्धि नियन्त्रण गर्न सक्छौं। अत्यधिक मात्रामा जलविद्युत् उत्पादन हाम्रो लागि
मूल्य वृद्धि नियन्त्रणको बलियो माध्यम हुन सक्छ। कारखानाहरूमा आफैंले उत्पादन
गरेको सस्तो ऊर्जा (जलविद्युत्) प्रयोग गरेर उत्पादन लागत सस्तो पार्न सक्छौं। अनि
वस्तुको मूल्य वृद्धि हुन नदिएर मूल्य नियन्त्रण गर्न सक्छौं।
(ग) कृषि उत्पादनमा व्यापक वृद्धिः अहिले कृषि हाम्रो लागि निर्वाहको
लागि मात्र हुन पुगेको छ। उन्नत किसिमले कृषि कार्य हामीले नगरेको हुनाले ठूलो
परिमाणमा उत्पादन गर्न सकेका छैनौं। थोरैथोरै परिमाणमा उत्पादन गरेको हुनाले कृषि
उत्पादनहरूलाई सस्तो पनि पार्न सकेका छैनौं। हामीले कृषि क्षेत्रमा उन्नत प्रविधि
प्रयोग गरेर ठूलो परिमाण उत्पादन गर्ने हो भने कृषि उत्पादनहरू उपभोक्ताहरूका लागि
सस्तो पारेर मूल्य नियन्त्रण गर्न सक्छौं। ठूलो परिमाणमा स्वदेशमा सस्ता कृषि
उपजद्वारा भारतीय कृषि वस्तु विस्थापित गरेर हामीले महँगी नियन्त्रण गर्न सक्छौं।
(घ) मासु, माछा, अण्डा ठूलो परिमाणमा उत्पादनः अन्न उत्पादन गर्न लामो समय र लागत
पनि उत्तिकै लाग्छ। अन्न उत्पादन गर्दा मौसममा पनि उत्तिकै भर पर्नुपर्ने हुन्छ।
त्यस कारण हामीले मासु, माछा, अन्डा ठूलो परिमाणमा उत्पादन गरेर, यी कुराहरूलाई अन्नको विकल्पको रूपमा
प्रयोग गरेर खाद्य वस्तु सस्तो पार्न सक्छौं। अनि मूल्य वृद्धि नियन्त्रण गर्न
सक्छौं। नेपालका हिमाली एव पहाडी क्षेत्रमा पशु, माछा, पक्षी
पालन गरेर ठूलो–ठूलो परिमाणमा खाद्य वस्तु उत्पादन गर्न सक्छौं। यी वस्तुको ठूलो
परिमाणमा उत्पादन गरेर भारतीय खाद्य वस्तु खरीदमा ठूलो कमी ल्याउन सक्छौं। खाद्य
वस्तुहरू ठूलो परिमाणमा उत्पादन गरेर, आपूर्ति सहज र सरल पारेर, खाद्य वस्तुको मूल्य सस्तो पारेर मूल्य नियन्त्रण गर्न सक्छौं। मासु, माछा, अन्डा आदि पनि मूल खानाको रूपमा प्रयोग गरेर महँगी नियन्त्रण गर्न
सक्छौं।
(ङ) दुध, दही, फलफूलको व्यापक उत्पादनः नेपालमा नै एकीकृत रूपमा डेरीहरू
सञ्चालन गरेर, ठूलो मात्रामा दहीदूध उत्पादन एवं
प्रयोग गरेर भारतबाट आयात गरिने चामल, दाल,
पीठो
आदिको मागमा कमी ल्याएर मूल्य वृद्धि नियन्त्रण गर्न सक्छौं। तराई क्षेत्रमा
दहीदूध तथा पहाडी क्षेत्रमा फलफूल ठूलो परिमाणमा उत्पादन गर्न सकिने स्थिति छ।
महँगी
नियन्त्रणका अनेक उपाय छन्। ती उपाय प्रयोग गरेर महँगी नियन्त्रण गर्न सकिन्छ। तर
माथि उल्लेख गरिएका उपायहरूले भने महँगी नियन्त्रणमा विशेष भूमिका खेल्न सक्छन्।
यी उपायहरू प्रयोग गर्नेतर्फ हामी गम्भीर हुनु आवश्यक छ।
मासिक
जति आर्जन ग–यो,
त्यति
नै मासिक खर्च हुने, बचतको
स्थिति नरहने अवस्थाका नेपालमा लाखौं व्यक्ति छन्। यस्ता व्यक्तिले बचत गर्न
नसक्दा नै बलियो राष्ट्रिय पूँजी निर्माण हुन नसकेको हो। र हामीसँग बलियो
राष्ट्रिय पूँजी नभएकोले नै हामी गरीब भएका हौं।। महँगी नियन्त्रण नगरेसम्म लाखौं
परिवार बचत गर्न सक्ने स्थितिमा पुग्न सक्तैन। अनि हाम्रो राष्ट्र धनी हुन सक्तैन।
आर्थिक रूपमा सक्षम नभएमा, अहिलेको जस्तो हामीले कोभिड भेक्सिनको लागि चीन र भारतको अगाडि हात
पसार्नुपर्छ। आफै कोभिड भेक्सिन उत्पादन गर्न सक्तैनौं। अरू राष्ट्रहरूसँग भीख
माग्नु पर्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, February 26,
2021