कार्यबाही
‘म जान्छु जस्तो लागेको छ तिमीहरुलाइ? त्यस्तो लागेको छ भने फालिदेओ आफ्नो त्यो भ्रम। तिमीहरुले जति उचाले पनि म जानेबाला छैन अरब सरब।’ भाइको यस्तो भनाइ सुनेर जेठो र माहिलो दुवै दाइ हाँसे। जेठोले हाँस्दै ब्यङ्ग गर्यो ‘अरे, पढा फारसी बेचा तेल, देख भाइ करमका खेल ……। पढेलेखेको मूर्ख यस्तैलाइ भन्छन। मैले यो जति पढेको भए, गुमाउथे यस्तो मौका? यहाँ काम पाउन यति गार्हो छ। त्यहाँ भने खाइलाइ घरको किराया उराया सवै काटेर महिनाको चौद पन्ध्र हजार बचत। मैन पामँर बालाले भनेको। चौद पन्ध्र हजार सानो रकम हो? पाँचै महिनाको तलबले एक कठ्ठा जमिन हुन्छ। त्यो पनि धनहर। नाहरको नजिक’।
जेठोको यो भनाइमा माहिलोले थप्यो ‘यसले अकिल दिएको छ धुन। यो जस्तो अंग्रेजी मैले जानेको भए, भोलि नै जान्थे मैन पामँर बाला कहाँ, आ पर्सि हिडि दिन्थे अरब। कम हो, असलसी पास गरेको छ यसले। अंग्रेजी बुज्छ र अलि अलि बोल्न सक्छ पनि’।
आमा मङरीलाई जेठो र माहिलोका यी भनाइ मन परेन। छोराहरुको कुरालाइ छोट्याउने मनसाय दर्शाउदै भनि ‘बढी न उचाल। उसको मनको कुरा हो। जान मन छैन भने जाँदैन। कुनै करकाप छैन। बरु जान्छ बीरगंज , खोज्छ उतै कुनै कामधाम’।
आमाको ओत पाएर कान्छोले भन्यो ‘आ, जान्न म अरब सरब। मर्नु छैन मलाइ इराकमा जस्तो। बरु बीरगंज जान्छु। कुनै कल कारखानामा काम खोज्छु। दोकानमै पाए पनि कुनै काम गर्छु। कुनै कामै नपाए रिक्सा नै भए पनि चलाउँछु। आफ्नो पेट त पाल्न सकिन्छ कमसे कम, रिक्सा चलाएर। त्यस्तो गर्यो भने बाँकि रहेको तिन कठ्ठा जमिन त बेच्नु पर्दैन, अरब जान। त्यहाँ जान कम पैसा लाग्छ? दुइ लाख भन्दा कम लाग्दैन। खेत सेत सव जान्छ अरबको लागि पैसा जुटाउनमा। थोरै भए पनि दुइ छाकको जुन बाटो बनेको छ खेतले गरेर, त्यो पनि समाप्त हुन्छ सदाको लागि। जेही छ एउटा घर, त्यो पनि पर्छ बन्धकि, घेँट कटाइ ब्याजमा।’
बाबु ,बिफाइ मौन थियो । कान्छो अरब जाने सन्दर्भमा उसको बिचार कस्तो छ प्रस्ट पारेको थिएन। अघिदेखि आमा र छोराहरुबिच चलिरको बादबिबादमा सामेले हुँदै भन्यो ‘छोटकालाइ कर नगर तिमीहरु। उसकै इच्छा माथि छाडि देओ। मन छ भने जान्छ, छैन भने जाँदैन। तर जाने मन भए चाहि खुलेर भन्नु पर्यो जान्छु भनेर। जाने हो भने म इन्तजाम गरिदिन्छु पैसाको। कसैले चिता लिनु पर्दैन। हामी सँग बचे खुचेको जुन खेत छ, बेचीदिन्छु किन्नेले भनेकै दाममा, आ घरलाइ पनि राखिदिन्छु बन्धकी। उताबाट कमाएर ल्याए भने जति पनि किन्न सकिन्छ त्यस्तो खेत। असर्फिको छोराले एक बिघा खेत किनेको थियो एक बरिषमा, उताबाट कमाएर ल्याएको पैसाले।’
आफूलाइ अरब पठाउने बारे बाबुको भूमिका अस्पष्ट देखिएपनि करकापले होइन छोरा स्वेच्छाले गइदिए हुन्थो जस्तो बाबुले खोजेको हो कि भन्ने अनुमान गर्यो कान्छोले र अरब न जान खोज्नुको औचित्य पेस गर्यो’ ‘बाबु , अरबमा पैसा नै फल्छ भन्ने छैन। इमनदारीपूर्वक पैसा कमाउन यो दुनिया मा जहाँ पनि गार्हो नै हुन्छ। त्यो पनि अरुको देशमा। न हावा पानी मिलोस न खान पिन। न समाज न भाषा । न रिति न थिति। फेरि, कुन देशमा जाने हो? कुन तरिकाले जाने हो? कानुनि गैर कानुनि? केही थाहा छैन ।कति देशमा त लडाइ झगडा चलिरहेको छ रे, अहिले ।’
कान्छो रोकिएन, फेरि भन्यो ‘दुइ चार अक्षर भए पनि पढेको छु मैले। गाउँकै स्कूल भए पनि दुइ चार कुरा सिकाएर आँखा खोलिदिएको छ यसले मेरो। तै पनि भन्नु हुन्छ भने तयार छु म अरब जान। मैन पावर बालाहरुलाइ भन्ने हो भने एकै हप्तामा उता तिर जाने व्यवस्था मिलाइ दिन्छन्। के साच्चै जाउ त?’
कान्छोको बिचार नजानेमा केन्द्रित भएको देखेर बाबुले आफ्नो मनसाय अघिभन्दा अलि प्रष्ट पार्यो ‘यहाँ के शान्ति छ र ? सधैको लडाइ झगडा । आफ्नै आफ्नैमा काटा काट। हिजो यो कुराले झगडा त आज त्यो कुराले। दश पन्ध्र बरिषदेखि शान्ति छैन यो देशमा। एउटाको खुनको प्यासा अर्को भएको छ। कहाँ गयो दया मया? यस्तो पहिले कहिले पनि देखेको थिएन। भाइ भाइ भएर बसेकाहरु अहिले एक अर्कोको दुस्मन भएका छन। के भएको होला यस्तो? यो देशमा……..?’
केहि छिन रोकियो बिफाइ । अघिदेखि हातमा माडिरहेको खैनी मुखमा हाल्यो। छेउमा राखिएको फोहरको थुप्रोमा थुक्यो पिच्च …. अनि फेरि भन्न सुरु गर्यो ‘ मेरो बिचारमा त अरब गए हुन्छ। बरु धेरै न बस्नु , तिन चार बरिष बसेर आउनु। देश दुनिया पनि देखिन्छ, आफ्नै आँखाले। बहिर जति निस्यो त्येति नै होसियार होइन्छ। सोझिया हरुकालागि रहेन अब यो दुनिया। कि कसो …….?’
चौतर्फि दबाब झेल्न कान्छोलाई गार्हो भएको देखेर आमाले पतिलाइ आग्रह गरी ‘अब यो कुरा छोटकामै छाडौ। जान मन लागेको छ भने जान्छ, मन लागेको छैन भने जादैन, तर बढि करकाप चाहिँ नगरौ। अहिले खाने पिउने उमर छ यसको। यै उमरमा परदेस न गए पनि हुन्छ। भुखले रहम सुखलेमे रहम। कोइ न भए पनि भगवान छन् हामीलाइ हेर्ने।’
अघिदेखि केहि सोचेर सान्त बसेको कान्छो केहि बोल्न खोजे झै देखियो। आमाको कुरालाई पुरा हुन न दिइ कनै भन्यो ‘ठिक छ , दुइ चार दिन सोँच छु। तर भित्रि मनले भन्ने हो भने जाने इच्छा चाहि पट्टकै छैन मेरो।’
कान्छोको कुरा सुनेर आमा बाहेक सवै सन्तुष्ट देखिए। माहिले दाइले आफ्ने मन्तब्य पोख्यो 'तरक्कि गर्न अलिकति खतरा पनि मोल्नु पर्दछ। घरमै बसि बसि त कहाँ पाइन्छ। म पनि जान्छु पंजाब। उतातिर कमाइ पनि ठिक्कै छ आ लडाइ झगडा पनि छैन।’
कुनै सूचन खबर नदिइ कान्छोले गरेको अप्रत्यसित बहिर गमनले चिंतित मात्र तुल्यएन पीडाको भुमरिमा घचेटि दियो परिवारका सवै सदस्यहरुलाइ। सबैको मुखमा एउटै प्रस्न दोहरियो ‘कसैलाइ केहि न भनि आखिर छोटका गयो कहा?’
घरका मानिसले कुनै भेयो पाउन सकेनन्। छेउका गाउँतिर पनि खोजी भयो तर कतैवाट पनि कुनै सकारात्मक खबर आएन। कान्छो गएको एक हप्ता बित्यो तर स्थिति यथावत नै रह्यो।
दिनहरु, हप्ताहरु बित्न थालेपछि एकदिन परिवारका सबै सदस्यहरुको सहमतिमा निर्णय लिइयो – पहिले छेउछाउक गाउँहरुमा खोज्ने, नभेटिएपछि बीरगंज जाने तर अब ढिलो नगर्ने खोज्न।
जेठोले आफ्नो योजना सुनायो ‘त्यसै पनि मान्छेहरु बेपत्ता पारिँदै छन….. ठाउँ ठाउँमा …….। के ठेकान छोटकालाइ पनि ………..? म त आजै हिँडछु खोज्न। सव भन्दा पहिले ममहरा जान्छु, समनपुर, त्यता गएको छ कि् रिसाएर, छोटका?’
छोराको योजनामा सन्तुष्ट हुँदै आमाले थपी ‘फर्किदा बलुआ पस्नु , फुआ कहाँ बसेको छ कि? फुफासंग खुब कुरा मिल्छ त्यसको। बालचनपुरमा पनि खोज्नु, बलुआबाला फुफाको भाइको दोकान छ त्यहाँ, कहिँ त्यसैमा त काम गर्न थालेन त्यसले?’
एक महिनाको खोजीमा कहिँ कतै कान्छो नभेटिएर रुमलिएर बसिरहेकै बेला बीरगंजबाट आएको मुनिया महराले भने सबैलाइ अनौलको घेराबाट सहजै बाहिर ल्यायो। मुनियाले कान्छो बीरगंजमा रहेको प्रष्ट पार्यो। मुनियाले अझै स्पष्ट पार्न हाँस्दै भन्यो ‘कुनै सुर्ता लिनु पर्दैन बिफाइ काका, तपाँईको छोरा , छोटका मजाले रिक्सा चलाइ रहेको छ बीरगंजमा। तपाँइलाइ थाहै छ म पनि त्यहा रिक्सै चलाउँछु्। छोटकालाई रिक्सा मैले नै दिलाएको हो। मैले एउटा गैरेजबालालाई चिनेको छु ,उसैसंग दिलाइ दिए। गैरेजबाला पनि यतैतिरको हो, गौरको कुनै आसपासको गाँऊको। गाँउमा बस्न नसकेर बिरगंजमा गैरेज खोलेको रहेछ, उसले।’
एक महिना बित्यो, दुइ महिना बित्यो। तिन महिन पनि बित्यो तर कान्छो घर फर्केन। आमा बाबुले पनि कान्छो बीरगंजमा ठिकै रहेको अनुमान गरि गाउँमा बोलाउने चाँसो देखाएनन्। आमाले भनि पनि ‘भलै भयो, ठुलो शहरमा छ, केहि त्यस्तो …..यस्तो उस्तो हुन पाउदैन त्यहाँ। गाउँमा त बसि सक्नु छैन । दुस्मनिको त सोझै अबार लागेको छ, यहाँ।’
मुनिया यो पटक भने पाचँ छ महिना पछि घर आयो। यति पछि घर आउँदा पनि उसको मुहारमा भने खुसीको भाव झल्किएको थिएन। उ सरासर बिफाइको घर गयो। बिफाइलाइ देख्ने बितिक्कै उसको मुखवाट झ्बाट्ट निस्को ‘बिफाइ काका, खबर बहुत खराब छ। छोटकालाइ गोली लागेर अस्पतालमा भर्ना गरेको छ । बीरगंजको सरकारी अस्पतालमा लगेका छन्, देख्नेहरुले। मैले बाटोमा सुनेको। बीरगंजमा सुनेको भए उतै जान्थे। तर के गर्नु चन्द्रनिगाहपुर आएपछि मात्र थाहा पाए, त्यस्तो घटनाको बारेमा।’
मुनियाले सुनाएको यो खवरले बिफाइको घरमा दुख:को बाढीनै ल्यायो। पुरै घरलाइ डुबायो एक छिन मै त्यो बाढीले। सबै रुन थाले। गाउँका मानिसहरु पनि जम्मा भए। जम्मा भएकाहरु मध्ये पनि केहि रुन थाले। जम्मा भएकाहरुका बिचबाट एउटाले सल्लाह दियो ‘रोएर मात्र हुँदैन , समय बर्बाद नगरौ, बरु बीरगंज जाओ , म पनि जान्छु, सहयोग गर्ने भनेको यस्तै बेलामा त हो नि।’
प्रस्तुत सल्लाहमा सबै तत्काल सहमत भए। कान्छोको जेठो दाजु तयार भयो बीरगंज जान। जेठोको साथमा जान माहिलो पनि तयार भयो। एक छिमेकीले पनि जाने तत्परता देखायो।
बीरगंज पुग्दा साँझ परिसकेको थियो। बसपार्कबाट तिनै जना रिक्सालिएर अस्पताल पुगे। धेरै बेरको सोधखोज पछि कसैले उनिहरुलाइ एउटा कोठामा पुर्यायो। कोठामा पुगेपछि उनिहरुले ट्रलिमा कान्छोलाइ सुताएको देखे। कान्छोलाइ देखेर तिनै जना रुन थाले। कान्छोको नाम बिन्देसरबाट अब लास बनेको थाहा पाउन उनिहरुलाइ धेरै समय लागेन।
कान्छोको जेठो दाजुले बिलौना गर्यो ‘कसको के बिगारेको थियो यो मेरो सोझिया भाइले। यस्तो सिधा साधा ……..। कहिलै कुनै दुर बचन बोलेर कसैको मन दुखाएन यसले। कसैलाइ ठगेन। झुठ बोलेन। बरु आफूले दुख: सह्यो तर अरुलाइ दुख: दिएन।’
कान्छोको माहिलो दाजु पनि बिलौना गर्न थाल्यो। रुने क्रम चलिनै रह्यो। केही मानिसहरु जम्मा पनि भए, त्यहाँ।
कान्छोका दाजुहरु रोइ रहेकै बेला छेउका मानिसहरुले कुरा गरेको सुनियो-
‘बिचारा सिधा साधा रिक्साबाला, यसले के त्यस्तो गरेको थियो , गोलि खाने काम?’
‘होइन, यसलाई भनेर गोली हानेको होइन रे।’
‘अनि कसलाइ भनेर हानेको त? ’
‘कुनै एरिया कमान्डरलाइ भनेर हानेको रे।’
‘अनि यसलाइ कसरी लाग्यो त गोली?’
‘गोली हान्ने झुक्कियो रे। यो रिक्साबाला को अनुहार र जुन एरिया कमान्डरलाइ मार्न खोजेको हो त्यसको अनुहार गोली हान्नेलाइ उस्तै उस्तै लाग्यो रे।’
‘अनि कसरी थाहा भयो यो रहस्य?’
‘फलानो एरिया कमाण्डरको हत्योको जिम्मेवारी हामी लिन्छौ। हाम्रो पार्टी जिम्मेवारी छ, त्यो घटनाको, भन्यो एउटा पार्टिले, रे। तर त्यो पार्टीले केहि घण्टा पछि दुख:पनि प्रकट गर्यो रे- एउटालाइ गोली हान्न खोजेको हाम्रो एरिया कमाण्डरले तर झुक्किएर अर्कोलाइ लागेको छ। उस्तै उस्तै अनुहार भएकोले त्यस्तो हुन गएको रे।’
‘यी कुराहरु कसरी बाहिर आए?’
‘आजको पत्रिका हेर्नु भएन?’
‘छैन।’
‘पत्रिका पढनुहोस।’
‘ए!’
विश्वराज अधिकारी