Wikipedia

Search results

Friday, July 12, 2013

Thailand's Economic Development-Article-96 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१९. थाइलैण्डको आर्थिक विकास

थाइलैण्डको आर्थिक विकास ज्यादै नै तिब्र गतिमा नभए पनि क्रमिक रुपमा, न रोकिएर भइ नै रहेको छ। तर पछिल्लो समयमा, सन् १९८५ देखि १९९६ सम्मको अवधिमा भने थाइलैण्डको आर्थिक वृद्धि दर उच्च रहेको थियो। यो अविधिमा आर्थिक वृद्धि औसतमा १२. ४ प्रतिशत थियो। हुन त यो मुलुकको अर्थ व्यवस्थाले सन् १९६० को दसकदेखि नै रुपान्तरण कार्य प्रारम्भ गरेको थियो। १९६० को दसक देखि कृषिका साथै साथै उद्योगमा पनि निकै जोड दिन शुरु गरेको थियो। ठूलो मात्रामा, कृषि र ग्रामीण जिवनमा निर्भर रहेको अर्थ तन्त्र शहरी अर्थ तन्त्र तर्फ रुपान्तरित हुन अग्रसर भएको थियो। आफूलाई विश्व अर्थ व्यवस्थामा आवद्ध गराउने तर्फ लाग्यो पनि। थाइलैण्ड एक यस्तो उदाहरणीय मुलुकको रुपमा देखिएको छ, जहाँ सेनाले बेला बेलामा राजनीतिमा हस्तक्षेप गरेता पनि न त यो मुलुकको सामाजिक न त आर्थिक विकास नै रोकिएको छ। बेला बेलामा हुने सेनाको हस्तक्षेपले प्रजातान्त्रिक विकासमा पनि ठूलो नकारात्मक असर पारेको छैन।   
थाइलैण्डले पनि पूँजीवादी अर्थ व्यवस्था अंगालेको छ र सोही अनुरुप बजारलाई खुला पार्नुका साथै अर्थ तन्त्रलाई उदार पारेको छ। पूँजीवादी अर्थ व्यवस्था अंगालेको हुनाले कुनै बेला कृषिमा अति आश्रित रहेको यो मुलुक अहिले उदाउँदो अर्थ तन्त्र हुनुका साथै औधोगिक राष्ट्रहरुको श्रेणीमा पर्न सफल भएको छ। थाइलैण्डले ठूलो परिमाणमा चामल, टेक्सटाइल, फुटवेयर, माछा, रबर, ज्वेलरी, कार, कम्प्युटर, बिजुलीका सामान आदि निर्यात गर्दछ। विश्वमा सर्वाधिक चामल निर्यात गर्ने राष्ट्र पनि थाइलैण्ड नै हो। यहाँबाट बर्षेनी लगभग ६५ लाख टन चामल निर्यात हुने गर्दछ। चामल यहाँको प्रमुख कृषि उत्पादन पनि हो। खेतियोग्य जमिनको ५५ प्रतिशत भागमा धान खेति गरिन्छ। साथै यहाँ खेतियोग्य वा उब्जाउ जमिनहरु धेरै छन जुन थाइलैण्डको अर्थ व्यवस्थाको मेरुदण्डको रुपमा देखिन थालेको छ। तर अहिले उद्योगको विकासमा पनि उत्तिकै लागि परेको छ यो मुलुक। यो देशको अर्थ तन्त्र निर्यातमा बढी निर्भर रहेको छ र सोही अनुरुप सफलता पाएको छ पनि। इण्डोनेशिया पछि, थाइलैण्ड दक्षिणपूर्व एशियाको सर्वाधिक ठूलो अर्थ तन्त्र हो र सम्पत्ति वितरणको हिसाबले सिंगापुर, ब्रुनाई र मलेशिया पछि दक्षिणपूर्व एशियाको चौथो अति धनी राष्ट्र पनि। विश्वमा, ठूलो परिणाममा, मोटर र बिजुलीका सामानहरु निर्यात गर्ने राष्ट्रहरु मध्ये थाइलैण्ड पनि एक हो। आसियान (ASEAN- Association of Southeast Asian Nations) को संस्थापक (सन् १९६७)  सदस्य रहेको यो राष्ट्र एशियाको महत्वपूर्ण बजारको रुपमा देखा पर्न थालेको छ।
पूँजीवादी अर्थ तन्त्र र खुला बजार नीतिले गर्दा अपेक्षा गरिए भन्दा तिब्र गतिमा मुलुकको आर्थिक विकास भइ रहेको छ पनि। कुनै समयमा (सन् १९८० तिर) यो मुलुमा रोजगारीको ठूलो क्षेत्र भनेको कृषि थियो र उपलब्ध श्रम सक्ति मध्ये करिब ७० प्रतिशत श्रम सक्ति यसै क्षेत्रसँग आवद्ध थियो। तर अहिले उद्योगको क्षेत्रमा पनि पर्याप्त विकास भएर, कुल श्रम सक्तिको करिब ४९ प्रतिशत मात्र कृषि क्षेत्रसंग आवद्ध छ। रोजगारीको क्षेत्रमा पनि निकै विस्तार भएको छ। सन् २०११ तिर थाइलैण्डमा केवल ०.४ प्रतिशत बेरोजगारी थियो।
अहिले थाइलैण्डका बासिन्दाले आर्थिक र राजनैतिक दुबै क्षेत्रमा निकै खुलापनको अनुभव गरि रहेका छन। थाइहरु ठूलो संख्यामा रोजगारी एवं भ्रमणको उद्देश्यले विदेश पुगेका छन। राष्ट्रिय र अन्तरार्ष्ट्रिय रोजगरीले गर्दा व्यक्तिहरुमा आर्थिक खुसहाली छ। जनसंख्याको ठूलो भागसंग टि भी, मोबाइल फोन, कम्युटर जस्ता सुबिधा विस्तार गर्ने वस्तुहरु छन भने कारको प्रयोगकर्ताहरु पनि बढेका छन। एकतिर उपभोक्ता वस्तुहरुको मागमा निकै वृद्धि भएको छ भने अर्कोतर सामान्य आय भएका व्यक्तिहरुको जिवन स्तर पनि पहिले भन्दा निकै माथि उठेको छ। राष्ट्रिय अर्थ तन्त्रको विकासमा पर्यटन क्षेत्रले पनि निकै ठूलो योगदान पुर्याएको छ। राष्ट्रिय आम्दानीको लगभग ६ प्रतिशत पर्यटन क्षेत्रबाट प्राप्त हुन्छ। पर्यटनका लागि थाइलैण्डले विश्व मै प्रसिद्धि कमाएको छ।
थाइलैण्डले अंगिकार गरेको पूँजीवादी अर्थ व्यवस्थाको आलोचना गर्नेहरुको संख्या पनि कम छैन। ती आलोचकहरुको विचारमा थाइलैण्डको पूँजीवादी अर्थ व्यवस्थाले गरिबहरुलाई झनै गरिब एवं धनीहरुलाई झनै धनी पार्दै लगेको छ। राष्ट्रिय आयको वितरण न्यायोचित किसिमले हुन सकेको छैन। केहीको भनाईमा भने थाइलैण्डले आफ्नो राष्ट्रिय स्वार्थसँग सुहाउँदो किसिमको पूँजीवादी अर्थ नीति अंगिकार गर्नु पर्दछ। पूर्वाधारहरुको विकासमा जोड दिनुका साथै पूँजीवादको सही ढंगमा प्रयोग हुने नियम कानूनहरुको निर्माण एवं कार्यान्वयनमा विचार पुर्याउनु पर्दछ।
थाइलैण्डको आर्थिक विकासको अध्ययन गर्ने हो भने यो मुलुकले कृषिमा आश्रित रहेको राष्ट्रिय अर्थतन्त्रलाई क्रमिक रुपमा उद्योग एवं सेवामा आश्रित पार्दै लगेको प्रष्ट हुन्छ। साथै परम्परागत कृषि पद्धतिबाट वैज्ञानिक कृषि पद्धति तर्फ उन्मुख हुन खोजेको पनि प्रष्ट हुन्छ। कृषिमा विज्ञान र प्रविधिको प्रयोग बढी मात्रामा गर्न सकेको हुनाले नै यो मुलक विश्वमा नै प्रमुख चामल निर्यात कर्ता हुन सफल भएको हो पनि। उद्योगको क्षेत्रमा पनि यो मुलुकले निकै प्रगति गरेको छ। निर्यातमा पनि अग्रणी स्थान छ। र यस किसिमका उपलब्धिहरु हासिल गर्न, आर्थिक विकासमा सफलता प्राप्त गर्न, यो मुलुले अंगिकार गरेको अर्थ व्यवस्थ- पूँजीवादी अर्थ व्यवस्थाले निकै सघाउ पुर्याएको छ, यो मुलुकलाई। यो मुलुकले पूँजीवादी अर्थ व्यवस्था अंगिकार नगरेको भए, कृषि माथिको ठूलो निर्भरता कम पार्न यो मुलुकलाई निकै कठिनाई पर्थ्यो। उपलब्ध रहेको कृषि भूमिबाट अधिकत्तम फाइदा लिन गार्हो हुन्थ्यो। अहिलेको जस्तो, औधोगिक विकासको पथमा दौडिन असम्भब नै हुन्थ्यो। तर विश्व अर्थ व्यवस्थासँग राष्ट्रिय राष्ट्रिय अर्थ व्यवस्थालाई जोडेर, पूँजीवादको जगमा यो मुलुकले आर्थिक विकास मात्र गरेको छैन साथै मुलुकको गरिबी पनि उल्लेखनीय किसिमले कम पार्दे लगेको छ।  
  ५ लाख १३ हजार १२० वर्ग किलोमिटरमा फैलिएको थाइलैण्डको जनसंख्या सन् २०११ को अनुमान अनुसार ६ करोड ६७ लाख २० हजार १५३ रहेको थियो। यसै गरी कुल गार्यहस्थ उत्पादन ( PPP मा), सन् २०१३ को अनुमान अनुसार, अमेरिकी डलरमा ७०१.५५४ बिलियन रहेको छ। प्रति व्यक्ति आय भने $१० हजार ८४९ रहेको छ।

  विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, July 12, 2013

No comments:

Post a Comment