आर्थिक विकासमा
सक्षम नेतृत्वको भूमिका
नेतृत्व सक्षम छ भने त्यसले मुलुकको आर्थिक विकास प्रचुर मात्रामा
गर्ने मात्र होइन, देशको राजनीतिलाई स्थिरता समेत प्रदान गर्न सक्छ। राष्ट्रलाई
विकासको पथमा दौडाउन सक्छ। नागरिकहरुलाई शान्ति र सुव्यवस्थाको प्रत्याभूति
गराउन सक्छ । प्रतिस्पर्धामा
आफ्नो राष्ट्रलाई अगाडि राख्नुको साथै त्यो स्थानलाई दीर्घकालसम्म सुरक्षित पार्न
सक्छ। तर नेतृत्व सक्षम छैन भने त्यसले आर्थिक समपन्नता हासिल गर्नुको साटो राष्ट्र
र जनताले प्राप्त गरेको जे जति आर्थिक उपलब्धिहरु छन् तिनलाई पनि कायम राख्न
सक्तैन, छोटो अवधिमा नै देशको अर्थ व्यवस्थालाई जरजर पार्न सक्छ। यो तथ्यको पुष्टि
भने अहिले इरानमा हुन थालेको छ। इरानमा, हालै नेतृत्व परिवर्तन भएको छ। परिवर्तित नेतृत्वले
मुलुकलाई आर्थिक विकासको पथमा दौडाउने प्रयास गरेको अनुमान गर्न थालिएको छ।
एक्लिएर बसेको इरानलाई विश्व अर्थ व्यवस्थामा बलियो गरी आवद्ध गर्ने प्रयास
गर्दैछ। नया नेतृत्वले आफ्नो त्यो प्रयासलाई मूर्तरुप दिन केही उल्लेख्य कार्यहरु
गरेको देखिएको छ पनि।
वर्तमान राष्ट्रपति हसन रोहानी जुन १५, २०१३ मा इरानको सातौ
राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन। मध्यमार्गी एवं सुधारवादीका रुपमा चिनिएका
रोहानीले राष्ट्रपतिय निर्वाचन ताका नै आफूले मध्य मार्ग रोज्ने र मुलुकको आर्थिक
विकासमा बढी जोड दिने उल्लेख गरेका थिए। आफू विजयी भएमा “सिभिल राइट्स चार्टर”
बनाउने तथा मुलुकको आर्थिक विकासमा जोड दिनुका साथै पश्चिमका राष्ट्रहरुसँग
चिसिएको सम्वन्ध लाई न्यानो तुल्याउने भनी चुनावका बेला नै उल्लेख गरेका थिए। देशको
अर्थ व्यवस्थामा सुधार ल्यान उनले पश्चिमका राष्ट्रहरु र खास गरी सं रा अमेरिकासँगको
सम्बन्धलाई राम्रो पार्न पहल गरेका छन पनि। गत महिना (October ,2013), संयुक्त
राष्ट्रसंघ साधारण सभा (UN General Assembly) को
वार्षिक मिटिंगमा भाग लिन न्युयोर्क आएको बेला उनले आफ्नो भाषणमा वार्ताद्वारा
समस्याहरु समाधान गर्न सकिन्छ भनी महासभालाई भनेका थिए। इरान अहिले आफ्नो न्युक्लियर
कार्यक्रम, जुन यूरोपियन यूनियन, संयुक्त राष्ट्र संघ र सं रा अमेरिका सँगको
सम्बन्ध चिसो पार्ने प्रमुख कारण बनेको छ, लाई वार्ताद्वारा समाधान गरेर आर्थिक
विकासका अन्य महत्वपूर्ण विषयहरुमा केन्द्रित हुन खोजि रहेको छ। आर्थिक विषयहरुलाई
बढी जोड दिइ रहेको छ। इरानमाथि पश्चिमका राष्ट्रहरुले न्युक्लियर हतियार निर्माण
गरेको संका गर्दै आएका छन। त्यसै कारण इरानले विभिन्न किसिमका आर्थिक
प्रतिवन्धहरुको सामना समेत गर्नु परेको छ। र ती प्रतिबन्धहरुको कारणले गर्दा
इरानको आर्थिक विकासको गति सुस्त हुन पुगेको छ। यूरोपियन यूनियनले इरानबाट तेल
आयात नगर्ने अर्थात आयात प्रतिबन्ध लागु गरेको छ। यो प्रतिबन्ध जुलाई २०१२ देखि
प्रभावमा आएको हो। युरोपियन यूनियनले इरानको कुल तेल निर्यात मध्ये २० प्रतिशत जति
खरिद (आयात) गर्दछ। इरानले वार्ताद्वारा समस्याहरु समाधान हुने र उसले खेप्दै आएको
एक पक्षीय, दुई पक्षीय र वहुपक्षीय प्रतिबन्धहरु (Sanctions) उठाइने आशा व्यक्त गरेको छ।
पश्चिमका राष्ट्रहरुसँगको सम्बन्ध सुधारका लागि इरानले व्यवहारद्वारा पहल
गरेको प्रतीत भएको छ पनि। हालै सं रा अमेरिका र इरान बीच, छ वर्ष पछि, न्युयोर्कमा
उच्च स्तरीय प्रत्यक्ष भेटघाट एवं कुराकानी भएको छ। त्यो भेटवार्ता सं रा
अमेरिकाका सेक्रेटरी अफ स्टेट जोह्न केरी र इरानका विदेश मंत्री मोहम्मद जावेद
जरिफ बीच भएको थियो।
यसै बीच, केही समय पहिले, अमेरिकी राष्ट्रपति बाराक ओबामा र इरानी
राष्ट्रपति हसन रोहानी बीच न्युयोर्कमा, फोनमा संक्षिप्त कुराकानी भएको खबर पनि
प्रकाशमा आएको छ। अमेरिका र इरान बीच यति उच्च स्तरीय कुराकानी ३० वर्षमा पहिलो
पटक भएको हो। १५ मिनटसम्म चलेको सो कुराकानी मुख्य गरी इरानको न्युक्लियर
कार्यक्रममा नै केन्द्रित रहेको समाचारहरुमा जनाइएको छ।
पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद, जो सन् २००५ देखि २०१३ सम्म
इरानाका राष्ट्रपति रहेका थिए, को पालमा भने इरानको पश्चिमका राष्ट्रहरु सँगको
सम्बन्ध चिसो हुन पुगेको थियो। उनले चिसो भएको सम्बन्धलाई न्यानो पार्ने ठोस
प्रयासहरु गरेनन। इरानी जनताको मन जित्न केवल राष्ट्रवादी नारा चर्काउनमा जोड दिए,
मुलुकको आर्थिक विकासमा पर्याप्त ध्यान पुर्याउन सकेनन्। तर अहिलेको यो ‘ब्यापर
युग’ मा जति महत्व राष्ट्रवादी नाराले राख्छ त्यतिकै मह्तव मुलुकको आर्थिक विकासले
पनि राख्दछ। यो तथ्यलाई वर्तमान राष्ट्रपति हसन रोहानीले राम्रो गरि बुझेका छन
जस्तो लाग्छ। न्युक्लियर मुद्दाको व्यवस्थापन प्रभावकारी किसिमले गरेर तर बढी
मात्रामा आर्थिक मुद्दाहरुमा केन्दित हुन खोजि रहेक छन। र मुलुकको अर्थ व्यवस्थामा
सुधार ल्याउन विकसित देशहरु सँगको सम्बन्धलाई सुमधुर पार्ने प्रयास गरि रहेका छन।
राष्ट्रपति रोहानीका कदमहरु साँच्चिकै सुधारका दिशा तर्फ अग्रसर हुन वा होइन भन्ने
कुरा भोलिका दिनहरुले देखाउने छन तर उनका कुराकानी र व्यवहारले उनी मुलुकको आर्थिक
विकासका लागि प्रयासरत र चिंतित समेत रहेको भने अवश्य देखिन्छ।
इरानको परिवर्तित नेतृत्वले मुलुकको आर्थिक विकासमा जोड दिइ रहेको छ
भन्ने सन्दर्भलाई नेपालको राजनीति सँग जोडेर हेरौं। नेपालको राजनीतिले पनि नयाँ
नेतृत्व खोजि रहेको छ। पुराना नेताहरु, जो उही व्यक्तिहरु हुन, उनीहरुको कार्यशैली
पनि उही छ, अडान पनि फेरिएको छैन, उही पुरानो विचारधारा बोकेका छन्, दाउपेंचयुक्तको
मनोविज्ञानबाट बाहिर आउन सकेका छेनन्, आगामी चुनावमा भाग लिएर, विजयी भएर, फेरि मुलुकको
नेतृत्व गर्न खोजि रहेका छन, मुलुक हाँक्नका लागि नया नेतृत्वलाई औसर दिने पक्षमा देकिएका
छैनन्। जबकी उनीहरु नेतृत्व दिन सक्षम छैनन् भन्ने कुरा संविधान सभा भंग हुनु र
नया संविधान नबन्नुले देखाइ सकेको छ। उनीहरुको क्षमताको परिचय दिइ सकेको छ। अहिलेको,
यो समय विन्दुमा, नेपाली राजनीतिले नया एवं कुशल नेतृत्वको खोजि गरि रहेको छ।
नेपाली राजनीतिलाई नयाँ विचार, नया उर्जा, इमान्दार, समन्वयकारी भूमिका
खेल्ने, मेल मिलाप कायम गराउन सक्ने जस्ता विषेशताहरुले युक्त नेतृत्वको खाँचो छ।
यो यथार्थलाई नेपाली मतदाताहरुले गंभिरताका साथ लिनु पर्ने देखिन्छ, अहिलेको यो
बेथिति समाप्त पार्न। नया नेतृत्वलाई केही गरेर देखाउने औसर दिन पनि उत्तिकै
आवश्यक छ। नया नेतृत्वले दिन प्रति दिन खस्किंदो अवस्थामा हरेको नेपालको आर्थिक
अवस्थामा सुधार ल्याउन सक्छ। मुलुकमा रहेको दण्डहीनता समाप्त पार्न सक्छ। रोजगारीका
लागि विदेश पुगेर जोखिमपूर्ण जिवन बिताउनु पर्ने वाध्यता हटाउन सक्छ। नया पीढीले
त्यो क्षमता राख्न सक्छ पनि।
यो सबै सेरोफेरोमा, नेपालको राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन,
मुलुकलाई आर्थिक विकासको पथमा दौडाउन मतदाताहरुले नया नेतृत्वलाई औसर दिनु पर्ने
देखिन्छ, नेपालको राजनीतिको नेतृत्व गर्न। तर नेतृत्व गर्ने व्यक्ति इमान्दार हुनु
पर्ने तथ्य पनि बिर्सन मिल्दैन। नेतृत्व जति सुकै कुसल भएता पनि यदि उसमा
इमान्दारी छैन भने त्यस्तो नेतृत्वले कुनै अर्थ राख्दैन।
बिश्वराज
अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 04, 2013
No comments:
Post a Comment