Wikipedia

Search results

Friday, January 24, 2014

Is Poverty Related Only With Wealth?-Article-109

गरिबीको कारण के धन मात्र हो?

गरिबी बारे धारणाहरु व्यक्त हुँदा गरिबीलाई धन सम्पत्ति, रुपैयाँ पैसा सँग मात्र जोडेर हेर्ने गरिन्छ। अर्थात धन सम्पत्ति, रुपैयाँ पैसा नभएको कारणले गर्दा व्यक्ति वा परिवार गरिब हुन पुग्दछ भनी बलियो विश्वास गरिन्छ।  धन सम्पत्ति र रुपैयाँ पैसा नभएको कारणले गर्दा नै कुनै पनि व्यक्ति गरिबीको दुष्चक्रबाट बाहिर आउन सक्तैन, अनि पुस्तौ पुस्ता गरिब भएर बस्न विवश हुन्छ भन्ने तर्क गरिन्छ। तर  गरिबीप्रतिको यो धारणा पूर्णतया सत्य भने होइन। धन सम्पत्ति, रुपैयाँ पैसा आदिको अभावमा व्यक्ति गरिब हुन्छ यो सत्य हो, तर यसका साथै महत्वपूर्ण कुरा के हो भने व्यक्तिले प्रयत्न गरेमा, आफ्नो सिप वा ज्ञानद्वारा गरिबीको दुष्चक्रबाट बाहिर आउन सक्छ। व्यक्तिमा त्यस किसिमको सिप वा ज्ञानको विकास गरि दिने कार्य समाज एवं राष्ट्रको शिक्षा पद्धतिले गर्नु पर्दछ।
गरिबीको सम्बन्ध बढी मात्रामा ज्ञान संग छ, चेतनासँग छ। ज्ञान वा चेतनाद्वारा समाजमा व्याप्त गरिबी कम पार्न सकिन्छ। ज्ञान वा चेतनाद्वारा गरिबी कम पार्न सकिन्छ भन्ने  यथार्थ व्यक्ति भन्दा पनि राष्ट्रको सन्दर्भमा बढी लागु हुन्छ़। अर्को शव्दमा भन्ने हो भने, गरिब मुलुकको जनता, त्यस मुलुकुको वहुसंख्यक जनता वा सरकारको चेतना वा ज्ञानको स्तरले गर्दा गरिब भएको हुन्छ। गरिब देशको जनता, राष्ट्रले सेवा वा वस्तु उत्पादन तथा बिक्री गर्दा आधुनिक ज्ञान र प्रविधिहरुको प्रयोग गर्नुको साटो पुराना परम्परागत पद्धति एवं सोंचहरु प्रयोग गरेको कारणले गर्दा गरिब हुन बाध्य भएको हुन्छ। गरिब चिन्तन पद्धति, योजना तथा कार्यक्रमहरुको कारणले गर्दा गरिब भएको हुन्छ। गरिब नेतृत्व, राजनीति एवं शासन प्रणालीको कारणले गर्दा गरिब भएको हुन्छ।
गरिबीको ज्यादै घनिष्ट सम्बन्ध भने ज्ञान वा चेतनासँग छ, धन सम्पत्ति रुपैयाँ पैसा भन्दा पनि। गरिबीको सम्बन्ध गरिबीबाट उन्मुक्ति पाउने कठोर प्रयास एवं संघर्षसंग छ। एउट व्यक्ति वा परिवारले गरिबीबाट उन्मुक्ति पाउन गरेको प्रयास भन्दा पनि व्यक्तिहरु मिलेर, एकीकृत रुपमा वा सरकारद्वारा गरिएको ठोस प्रयास, गरिबीबाट छुटकारा पाउने सन्दर्भमा बढी अर्थपूर्ण हुन पुग्दछ। विभिन्न व्यक्तिहरु मिलेर गरिको एकीकृत प्रयास एवं सरकारको निरन्तरको सकारात्मक क्रियाशीलताले मुलुकलाई  समृद्धिको दिशा तर्फ अग्रसर गराउँछ।
गरिबीको सम्बन्ध बढी ज्ञानसँग छ, चेतनासंग छ, भन्ने यथार्थको बलियो प्रमाणको रुपमा अमेरिकाले गरेको चमत्कारी किसिमको आर्थिक प्रगतिलाई लिन सकिन्छ। हालका (पुराना मुल अमेरिकी बासिन्दा-नेटिभ अमेरिकन लाई छाडेर) वहुसंख्यक अमेरिकीहरु तत्कालिन यूरोप र मुख्य गरी इङ्लैण्ड, स्पेन, फ्रान्स र निदरलैन्ड्स आदि बाट बसाइ सरेर आएका व्यक्तिहरु हुन जो खुला, फराकिलो एवं स्वतन्त्रतापूर्वक बाच्न सकिने स्थानको खोजीमा उत्तरी अमेरिका आइ पुगेका थिए। प्रारम्भमा, विभिन्न राज्यहरुमा बाँडिएर बसेका, यूरोपबाट बसाइ सरेर आउनेहरु नै पछि संगठित भए, एउटा राष्ट्रको निर्माण गरे। यसरी एक राष्ट्र- संयुक्त राज्य अमेरिकाको निर्माण भयो। पहिलेका विभिन्न राज्यहरु, जो उत्तर अमेरिकामा अवस्थित थिए, मिलेर संयुक्त राज्य अमेरिका बनेको हो। यूरोपबाट बसाई सरेर जो व्यक्तिहरु उत्तरी अमेरिका आए, जो पछि संगठित भए,  संयुक्त राज्य अमेरिकाको निर्माण गरे, ती व्यक्तिहरु यूरोपबाट बसाइ सरेर हालको अमेरिका आउँदा ठूलो परिमाणमा धन सम्पत्ति लिएर आएका थिएनन्। खाली हात आएका का थिए। उनीहरुको साथमा केही पनि त्यस्ता अति मूल्यबान सम्पत्ति थिएन। उनीहरु जल मार्ग हुँदै, ठूलो दुख कष्ट भोग्दै, उत्तर अमेरिका आइ पुगेका थिए। त्यसरी आउने क्रममा धेरैको ज्यान समेत गएको थियो। यूरोपबाट धनीहरु उत्तर अमेरिका आएका थिएनन्। त्यसरी आउनेहरुमा जोखिम बहनगर्ने, सेना, किसान, व्यापारी आदि थिए। उनीहरुसँग विभिन्न किसिका सिप एव ज्ञानहरु थिए। तत्कालिन यूरोपमा खाध्य उत्पादनको तुलनमा जनसंख्या तिब्र गतिमा बढ्दै गएकोले वा अर्को शव्दमा, उब्जाउ जमिन तुलनात्मक रुपमा कम हुँदै गएको स्थितिले यूरोपियनहरुलाई फराकिलो जमिन खोज्न बाध्य पारेको थियो पनि। तत्कालिन अर्थ शास्त्री थोमस रोबर्ट माल्थस (13 February 1766-23 December 1834) ले यूरोपमा जनसंख्या वृद्धिको तुलनामा खाध्यान्न उत्पादन कम हुँदै गएकोले यूरोपले नयँ नयाँ समस्याहरुको सामना गर्नु पर्ने भनी सचेत गराएका थिए।
यूरोपबाट उत्तरी अमेरिका आउँदा उनीहरुसँग मात्र थियो, रित्तो ज्यान। तर त्यो रित्तो ज्यानको साथमा कला र सीप लिएर आएका थिए, जोस र जाँगर लिएर आएका थिए, कठोर परिश्रम गर्ने क्षमता र विश्वास लिएर आएका थिए। र सबै भन्दा ठूलो कुरा- विकासका लागि ज्ञान वा चेतना लिएर आएका थिए।  पछि यिनै तत्वहरुको प्रयोग गरेर त्यसरी बसाइ सरेर आउनेहरुले अमेरिकालाई उत्पादनको क्षेत्रमा सक्षम तुल्याए।  अमेरिकालाई समृद्ध बनाए। त्यति मात्र होइन, अमेरिकालाई विश्व कै सर्वाधिक धनी राष्ट्रको पहिचान दिन सफल भए। अमेरिकालाई विश्वको सर्वाधिक शक्तिसाली राष्ट्रको परिचय समेत दिए। आज एक्लो अमेरिकाले विश्व अर्थ व्यवस्थालाई प्रभावित गर्ने क्षमता राख्दछ। विश्वको हरेक राष्ट्र अमेरिकासँग व्यापार गर्न जुनै बेला पनि तत्पर रहेको पाइन्छ।
अमेरिकाको आर्थिक विकासको इतिहास केलाउँदा, यो देशलाई आर्थिक रुपमा सबल तुल्याउनमा मुख्य भूमिका ‘निरन्तरको अनुसन्धानद्वारा सम्भावनाहरुको खोजी गर्नु’ सोंचले खेलेको पाइन्छ। विश्व मै सर्वाधिक अनुसन्धान अमेरिकामा हुन्छ। व्यापार, विज्ञान, स्वास्थ्य, जनसंख्या, अन्तरिक्ष आदि हरेक क्षेत्रमा अनुसन्धानलाई उत्तिकै महत्व दिने गरिन्छ। र अनुसन्धानद्वारा नै सम्भावनाहरुको खोजी गरिन्छ। अनुसन्धानद्वारा सम्भावनाहरुको खोजी गर्ने परम्परा संयुक्त राज्य अमेरिका स्थापना हुनु भन्दा पहिले देखि नै चलि आएको हो जुन यूरोपबाट बसाइ सरेर आउनेहरुले प्रारम्भ गरेका थिए र त्यो परम्परा अहिले पनि कायम छ। उपभोक्ताहरुको आवस्यकता अनुसारको नयाँ नयाँ वस्तु एवं सेवाहरुको निर्माण गर्न, भएकै वस्तुहरुमा नया किसिमको सुधार  गर्न, विज्ञान एवं प्रविधिको अधिक्तम प्रयोग गरेर उत्पादन एव बिक्री लागत कम पार्न, वस्तु एवं सेवाहरुको उपयोगिता अभिवृद्धि गर्न यहाँ निरन्तर रुपमा अनुसन्धान कार्य भइ रहन्छ। निरन्तर अनुसन्धान गर्ने परम्पराले गर्दा नै अमेरिकामा गुगल, फेसबुक, युटुब, स्काइप, व्टिटर, एपल, समार्ट फोन, माइक्रोसफ्ट जस्ता वस्तु एवं सेवाहरुको विकास भएका हुन। र यी नया नया उत्पादनहरुले अमेरिकालाई झन झन समृद्ध पार्नमा महत्वपूर्ण भूमिका खेलेका छन।
यूरोपबाट बसाइ सरेर आएकाहरु, जसले सम्पत्तिको रुपमा ज्ञान लिएर आएका थिए, ले अमेरिका आए पछि कृषिको क्षेत्रमा त्यो सम्पत्तिको अधिक्तम उपयोग गरे। अमेरिकामा उपलब्ध रहेको पर्याप्त जमिनले उनीहरुलाई कृषिको क्षेत्रमा निरन्तर अगाडि बढ्न निकै सहयोग पुर्यायो पनि। उनीहरुले कृषिको क्षेत्रमा निरन्तर रुपमा उन्नत प्रवधिको प्रयोग गर्दै लगे, अनि परम्परागत तरिकाहरु छाड्दै गए। अहिले अमेरिका भरिमा कहि पनि कृषिमा हलोको प्रयोग गरिएको देख्न पाइँदैन। अमेरिकामा कृषि मात्र होइन, व्यापार एवं अन्य क्षेत्रमा पनि उन्नत प्रवधिको प्रयोग भरपुर भएको देख्न सकिन्छ। अमेरिकाले उन्नत प्रवधिको प्रयोग गरेर हरेक क्षेत्रमा उत्पादन लागत कम पार्ने प्रयास गरेको देख्न सकिन्छ। उत्पादन र बिक्री लागत कम पार्ने प्रयास गर्नुको अर्थ हो उपभोक्ताहरुको क्रय शक्तिमा अभिवृदि गर्ने प्रयास गर्नु।
अहिलेको यो व्यापारिक युगमा गरिबीलाई सूचना, ज्ञान र सीप सँग जोड्नु उपयुक्त हुन्छ, धन सम्मपत्ति भन्दा पनि। नेपालको सन्दर्भमा त यो कुरा झनै बढी लागु हुन्छ। उदाहरणका लागि अरब राष्ट्रहरुमा रोजगारीका औसरहरु पहिले पनि थिए। ती औसरहरु अहिले मात्र देखिएका होइनन्। तर अरब राष्ट्रका श्रम बजारहरुबाट नेपालीहरुले फाइदा लिन सकेका थिएनन्। किनभने त्यहाँ रोजगारीका औसरहरु छन् भन्ने कुरा आम नेपालीहरुलाई थाहा थिएन। तर २०४७ साल पछि नेपालको राजनीतिमा आएको परिवर्तनले सूचना माथि सर्व साधारणको अधिकारलाई अति प्रभावकारी तुल्याइ दियो। नेपालीहरुले देश विदेशका खबरहरु सजिलै गरि प्राप्त गर्न थाले। आम नेपालीलाई अरब राष्ट्रहरुमा श्रम बजारको स्थिति कस्तो छ भन्ने कुरा सजिलै गरि थाहा हुन थाल्यो। परिणामत: अहिले लाखौ नेपालीहरु अरबका श्रम बजारहरुमा पुगेका छन। धेरैले राम्रो आय आर्जन गरेका छन पनि। उनीहरुद्वारा अर्जित आयले गर्दा, त्यसरी कामका लागि अरबतिर जानेहरुको मात्र आर्थिक स्थितिमा सुधार आएको छैन, साथै राष्ट्रको आर्थिक अवस्थामा समेत पनि सुधार आएको छ। मुलुकुको गरिबी घटेर गएको छ। यसरी नेपालको गरिबी कम पार्नमा सूचना एवं जानकारीमा सर्व साधारणहरुको पनि सजिलो पहुँचले महत्वपूर्ण भूमिका खेलेको  छ।
निष्कर्षमा, अहिलेको यो व्यापारिक युगमा गरिबीको सम्बन्ध केवल धन सम्पत्ति, रुपैयाँ पैसा सँग मात्र छ भन्न मिल्दैन। बरु ज्ञान र सिप सँग छ, चेतना र जानकारीसँग छ भनी जोडादार रुपमा भन्न सकिन्छ।


विश्वराज अधिकारी

(प्रतीक दैनिकमा प्रकाशित Friday, January 24, 2014)

No comments:

Post a Comment