वस्तुको मूल्यलाई
कसरी सस्तो पार्ने?
पूँजीवादका विभिन्न फाइदाहरु छन्। ती
विभिन्न फाइदाहरु मध्ये एक महत्वपूर्ण फाइदा हो पूँजीवादमा मूल्य प्रतिस्पर्धा
हुनु। र यो मूल्य प्रतिस्पर्धाबाट प्रत्यक्ष रुपमा उपभोक्ताहरुलाई फाइदा प्राप्त
हुन्छ। मूल्य प्रतिस्पर्धा भन्नाले उत्पादन, वितरण, बिक्री एवं अन्य किसिमका
लागतहरु सम्भव भएसम्मको स्तरमा नियन्त्रण गरेर वस्तु वा सेवाको बिक्री मूल्यलाई प्रतिस्पर्धीहरुको
भन्दा कम वा सस्तो पार्नु र उपभोक्ताहरुलाई सस्तोमा वस्तु वा सेवा उपलब्ध गराउनु
हो। हुन त यो कार्य उत्पादक बा बिक्रेताहरुले आफ्नो स्वार्थका लागि गर्छन तर
उनीहरुले आफ्नो स्वार्थका लागि गरेता पनि उनीहरुको त्यस किसिमको कार्यले भने
उपभोक्ताहरुलाई लाभ हुन पुग्दछ।
आफ्नो वस्तुको मुल्यलाई आफ्ना
प्रतिस्पर्धीहरुको वस्तुको मूल्य भन्दा कम पारेर आफ्नो वस्तु बजारमा सजिलै बिक्री
हुन सक्ने वातावरण सृजना गर्नु मूल्य प्रतिस्पर्धा हो। पूँजीवादी अर्थ व्यवस्थामा वस्तु
वा सेवाहरु विक्री गर्नका लागि उत्पादक एव बिक्रेताहरु बीच तिब्र मूल्य प्रतिस्पर्धा
हुने गर्दछ तर यसको सकारात्मक असर भने उपभोक्ताहरुको क्रमशक्तिमा पर्न जान्छ
किनभने उपभोक्ताहरुले उत्पादक र बिक्रेताहरु बीच वस्तु वा सेवा बिक्री गर्नका लगि
भएको तिब्र प्रतिस्पर्धाको कारणले गर्दा नै तुलनात्मक रुपमा सस्तोमा वस्तुहरु खरिद
गर्न पाउँछन्।
पूँजीवादी अर्थ व्यवस्थामा आफ्नो
वस्तु सजिलै बिक्री होस भन्ने उद्देश्य राखेर उत्पादक वा बिक्रेताहरुले (सामान्य
अवस्थामा) आफूले चाहेको स्तरमा आफ्नो वस्तु वा सेवाको मूल्य कम पार्न सक्छन। मूल्य
कम पार्न उत्पादक वा बिक्रेताले स्थानीय वा केन्द्रीय सरकारसँग अनुमति लिनु
पर्दैन। सरकारले मूल्य निर्धारणमा कुनै किसिमको हस्तक्षेप गर्दैन पनि। तर
समाजवादी, कम्युनिष्ट वा केन्द्रिकृत अर्थ व्यवस्थामा मूल्य निर्धारण गर्ने कार्य
सरकारले गर्दछ। सरकार आफैले उत्पादन गरे पनि वा कुनै खास स्तरमा उत्पादन गर्न निजी
क्षेत्रलाई अनुमति दिएता पनि मूल्य निर्धारण भने
आफैले नै गर्दछ। यसरी कम्युनिष्ट अर्थ व्यवस्थामा सरकारले उत्पादित वस्तु एवं
सेवाहरुको मूल्य तोक्ने हुनाले यस अर्थ व्यवस्थामा बजारमा मूल्य प्रतिस्पर्धाको
स्थिति उत्पन्न नै हुन पाउँदैन। उपभोक्ताहरु सरकारद्वारा मनोमानी ढंगबाट निर्धारण
गरिएको मूल्यमा वस्तुहरु खरिद गर्न बाध्य हुनु पर्दछ। जस्तो कि अहिले पेट्रिलियम
पर्दार्थको सन्दर्भमा नेपाली उपभोक्ताहरुले समस्या भोगि रहेका छन्। सरकारले
निर्धारण गरेको मूल्यमा डिजेल, पेट्रोल, मट्टितेल खरिद गर्न बाध्य छन्।
पूँजीवादी अर्थ व्यवस्थामा बजारमा
वस्तुको मूल्य कम पार्न वा नियन्त्रण गर्न सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह
गर्नु नै पर्दैन। वस्तुको मूल्य कम पार्ने कार्य बजार आफैले गर्दछ।। मूल्य कम
पार्ने कार्य बजार आफैले कसरी गर्दछ भने बजारले केवल त्यस्ता उत्पादक एवं
बिक्रेताहरुको अस्तित्त्वलाई निरन्तरता दिन्छ जसले प्रतिस्पर्धीहरु भन्दा सस्तोमा
वस्तु एवं सेवा उपलब्ध गराउन सकुन। अर्थात जसले सस्तोमा वस्तु वा सेवा बजारमा
उपलब्ध गराउन सक्तैन ऊ स्वत: बजारबाट बाहिर जान्छ। अर्को शब्दमा, उपभोक्ताहरुले
केवल प्रतिस्पर्धीहरु भन्दा सस्तोमा वस्तु बिक्री गर्ने उत्पादक वा बिक्रेतासँग
सामाग्रीहरु खरिद गर्ने हुनाले प्रतिस्पर्धीहरु भन्दा महँगोमा बिक्री गर्ने उत्पादक
वा बिक्रेताहरु आफ्नो सामाग्रीहरु बिक्री हुन नसकेको कारणले गर्दा बजारबाट
बहिर्गमन गर्छन्। महँगोमा बिक्री गर्ने बिक्रेतालाई बजारबाट बाहिर पठाउने कार्य
सरकारले गर्नु नै पर्दैन, बजारले नै गर्दछ। यो कार्य बजार वा क्रेता व्यवहारले बिना
कुनै निर्दैशन गर्दछ। यो कारणले गर्दा पनि पूँजीवादी अर्थ व्यवस्थामा कसरी सस्तोमा
वस्तु उत्पादन गर्ने भन्ने चुनौति हरपल उत्पादकको टाउको माथि मडारिएको हुन्छ। यो
चुनौत भूत झै उत्पादक एवं बिक्रेताको पछि लागेको हुन्छ।
पूँजीवादी अर्थ व्यवस्था अपनाएका खास
गरी अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य जस्ता धनी राष्ट्रहरुमा वस्तु एवं सेवा
बिक्री गर्नका लागि उत्पादक एवं बिक्रेताहरु बीच मूल्य निर्धारणमा हरपल तिब्र
प्रतिस्पर्धा हुने गर्दछ। उपभोक्ताहरुले सस्तोमा उपलब्ध गराउने आपूर्तिकर्ताहरु बाट
मात्र सामाग्रीहरु खरिद गर्ने हुनाले उत्पादक एवं बिक्रेताहरु जहिले पनि आफूले
बिक्री गर्ने सामाग्रीहरुको मूल्य कसरी कम पार्न सकिन्छ भन्नेमा चिंता मग्न रहन्छन्।
सस्तोमा उत्पादन गर्न वा लागत नियन्त्रण गर्न सहयोग पुर्याउने मेसिन, ओजार एवं
प्रविधिको विकास गर्नु उनीहरुको बाध्यता हुन पुग्दछ। पूँजीवादी अर्थ व्यवस्था भएका
मुलुकहरुमा तिब्र मूल्य प्रतिस्पर्धा भएको कारणले गर्दा नै उत्पादन एवं बिक्री
लागत कम पार्ने नया नया मेसिन, औजार एवं प्रविधिहरुको विकास भएको हो, र त्यो कार्य
अहिले पनि जारि छ। उदाहरणक लागि उत्पादन र उत्पादन लागतको क्षेत्रमा क्रान्तिकारी
परिवर्तन ल्याउने औद्योगिक क्रान्ति (Industrial
Revolution) ले उत्पादन लागत कम पार्नमा ज्यादै महत्वपूर्ण भूमिका
खेल्यो। मूल्य प्रतिस्पर्धाको जगमा नै औद्योगिक क्रान्तिको संरचना खडा भएको थियो।
औद्योगिक क्रान्ति, जुन १८ औ देखि १९
औ सप्ताब्दिको बीचको अवधिमा भयो, ले उत्पादन लागत कम मात्र पारेन साथै ठूलो परिमाणमा
वस्तुहरु उप्पादन गर्न र ठूला ठूला बजारहरुको विकास गर्नमा पनि सहयोग पुर्यायो। औद्योगिक
क्रान्ति आरम्भ भएपछि साना साना गाउँहरुमा केवल आफ्नो आवश्यकताका वस्तुहरु उत्पादन
गरेर बसेका गृहस्थहरु ठूला ठूला उद्योगहरुको स्थापना हुन थाले पछि ठूला ठूला
गाउँहरुमा बस्न थाले र ती गाउँहरु पछि ठूला ठूला शहरको रुपमा परिणत थाले। औद्योगिक
क्रान्ति आरम्भ भए पछि उत्पादन कार्यमा व्यापक रुपमा मेसिनहरुको प्रयोग हुन
थाल्यो। मेसिन, औजार आदिको प्रयोग गरेर ठूलो परिमाणमा उत्पादन गर्न सकेको हुनाले अमेरिका,
बेलायत लगायत यूरोपका विभिन्न राष्ट्रहरु उद्योगको क्षेत्रमा अगाडि मात्र बढेनन,
उनीहरु धनी हुने क्रम पनि शुरु भयो। औद्योगिक क्रान्तिको शुरुवात भने बेलायतबाट
भएको थियो। औद्योगिक क्रान्ति, जसले पूँजीवादको जन्म दियो, ले अमेरिका, जर्मनी,
फ्रान्स, बेलायत जस्ता राष्ट्रहरुलाई धनी राष्ट्रको रुपमा उदाउन निकै मदद गर्यो। विश्वमा
नै औद्योगिक क्रान्तिबाट बढी फाइदा भने अमेरिकाले उठायो।
औद्योगिक क्रान्तिपूर्व भने उत्पादनको
क्षेत्रमा केवल प्रत्यक्ष मानवीय श्रमको प्रयोग हुने गर्थ्यो। उत्पादनका लागि हात,
साधारण औजार प्रयोगमा ल्याइन्थ्यो भने उत्पादन कार्यहरु पनि घरहरुमा हुने गर्थ्ये।
तर औद्योगिक क्रान्ति शुरु भए पछि भने व्यापक रुपमा मेसिनहरुको प्रयोग हुन थाल्यो।
मेसिनहरुलाई संचालन गर्नका लागि ऊर्जाको विकास भयो। ठूला ठूला कारखानाहरुको
स्थापनाले बृहत् परिमाणमा उत्पादन सम्भव भयो। फलाम, कपडा जस्ता उद्योगहरुले
औद्योगिक क्रान्ति अगाडि बढाउनमा विशेष
भूमिका खेले। औद्योगिक क्रान्तिलाई तिब्रता दिनमा वाष्प इन्जिन (Steam engine) को अविष्कार त बरदान नै सावित भयो।
वाष्प इन्जिनले यातायातको क्षेत्रमा चमत्कार गरेर उत्पादन र बिक्री कार्यलाई सरल
मात्र पारेन साथै सूचना र बैंकिगको विकासमा पनि ठूलो योगदान पुर्यायो। ठूला ठूला
ठूला बजारहरु श्रृजना गर्यो।
औद्योगिक क्रान्तिलाई अगाडि बढाउनमा
केन्द्रिय भूमिका प्रतिस्पर्धा वा मूल्य प्रतिस्पर्धाको रहेको सहजै अनुमान गर्न
सकिन्छ। मूल्य प्रतिस्पर्धाले नै औद्योगिक क्रान्तिको आधारभूमि तयार पार्यो।
औद्योगिक क्रान्तिले राष्ट्रहरुलाई सामान्य कृषि अर्थ तन्त्रबाट औद्योगिक अर्थ
तन्त्र हुँदै पूँजीवादी अर्थ तन्त्र हुन सघाउ पुर्यायो। पूँजीवादी राष्ट्रहरु झन
झन धनी राष्ट्रमा रुपान्तरित हुन थाले। राष्ट्र धनी हुनथाले पछि त्यसको असर गरिबहरुको
जीवनमा पनि सकारात्मक किसिमले पर्न थाल्यो। परिणामस्वरुप केन्द्रिकृत वा
कम्युनिष्ट अर्थ व्यवस्था अंगालेका मुलुकका गरिब परिवारहरु भन्दा पूँजीवादी अर्थ
व्यवस्था अंगालेका मुलुकका गरिब परिबारहरु निकै सुखी देखिए। बाँच्नका लागि आवश्यक
आधारभुत वस्तु (आवास, भोजन, स्वास्थ्य, शिक्षा, ऊर्जा, सुरक्षा) हरु राज्यबाट
सजिलै प्राप्त हुने स्थितिमा पुगे।
धनी वा पूँजीवादी राष्ट्रहरुले मूल्य
प्रतिस्पर्धाबाट फाइदा उठाए झै नेपालले पनि फाइदा उठाउनु पर्ने देखिन्छ। कमजोर
क्रय शक्ति भएका र खास गरि अति निर्धन व्यक्तिहरुलाई सस्तोमा वस्तु एवं सेवाहरु
उपलब्ध गराउन नेपालमा मूल्य प्रतिस्पर्धा हुन आवश्यक छ। मूल्य प्रतिस्पर्धा हुने
वातावरण सृजना गर्न सरकारले नै विषेश कार्यहरु गर्न आवश्यक छ। बजारमा मूल्य
प्रतिस्पर्धा हुनका लागि सरकारले सर्व प्रथम त उत्पादकहरुलाई विभिन्न किसिमका
सुविधाहरु उपलब्ध गराएर उत्पादन कार्यमा सक्रिय भएर लाग्न प्रेरित गर्न आवश्यक छ।
उत्पादक र बिक्रेताहरुको संख्यालाई ठूलो पार्न आवश्यक छ। उत्पादक एवं बिक्रेताहरुलाई
अनावश्यक किसिमले नियन्त्रण गर्ने नभइ उनीहरुलाई प्रोत्साहित पार्ने किसिमको नियम
एवं कानूनहरु निर्माण गर्न आवश्यक छ। कर्मचारीतन्त्रलाई उत्पादक एवं बिक्रेता
मैत्री बनाउन आवश्यक छ। यस्तो गर्न सकिएमा नेपालमा मूल्य प्रतिस्पर्धा हुन गइ
उपभोक्ता र खास गरी अति गरिबहरुले सस्तोमा वस्तु एवं सेवाहरु खरिद गर्न पाउने वातावरण
सृजना हुन सक्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित
Friday, April 25, 2014
No comments:
Post a Comment