भूमि खण्डीकरण: समस्या र समाधान
नेपालमा समतल र खेतियोग्य भूमि देशमा कुल उपलब्ध भूमिको केवल १७
प्रतिशत मात्र छ। यो समतल भूमिलाई नै तराइ भन्ने गरिन्छ। र यसलाई अन्नको भण्डार
पनि मान्ने गरिन्छ। देशको १५ प्रतिशत भूमि ज्यादै नै न्युन किसिमले उपयोग हुने
गरी, हिउँले ढाकिने गर्दछ भने बाँकी भूमिमा चुरे र महाभारतका विभिन्न पहाडहरु
आवागमनलाई असहज पार्दै फैलिएका छन। हामीले विद्यालयदेखि विश्व विद्यालयसम्म यही
पढ्दै र सुन्दै आएको पनि हो। अहिलेको ताजा स्थितिमा खोतियोग्य जमिनको आकारमा केही
वृद्धि भएको हुन सक्छ तर समग्र भूबनोट भने उस्ताको उस्तै छ। निष्कर्षमा भन्ने हो
भने नेपालमा खेति योग्य वा समतल भूमिको अति अभाव छ।
नेपालको कुल जनसंख्याको तुलना खेतियोग्य जमिनसँग गर्दा र खाद्यान्न
उत्पादनमा आत्म निर्भरताको दृष्टिकोणले हेर्दा यो स्थिति निकै प्रतिकूल देखिन्छ।
नेपालमा एकतिर जनसंख्याको विस्तार तिब्र गतिमा भइरहेको छ भने अर्कोतिर खेतियोग्य
जमिनको विस्तार त्येही गतिमा गर्न सकिएको छैन। अहिलेसम्म देखिएको स्थितिमा,
नेपालको कृषि क्षेत्रले जनसंख्याको ठूलो भागलाई रोजगारी उपलब्ध गराएको छ र
जनसंख्याको ठूलो भागले जीवन निर्वाहको मुख्य माध्यम पनि यसै क्षेत्रलाई बनाएको छ।
कृषि क्षेत्रको आम्दानी भने अपेक्षित किसिमले बढ्न सकेको छैन।
अर्कोतिर तेर्छिएको समस्या, जुन मुल रुपमा कृषिसँग गाँसिएको छ, त्यो
के हो भने नेपालका खेतियोग्य भूमिहरु अति नै खण्डित स्थिति (कट्ठा, धुर) मा छन र
खण्डित हुने क्रम पनि सँग सँगै जारी नै छ, रोकिएको छैन्। एकल स्वामित्वबाट वहुस्वामित्वमा जाँदा
वा पैत्रिक सम्पत्तिको अंशवण्डा हुँदा भूमिको खण्डिकरण हुने स्थितले नेपालमा भूमि
खण्डिकरण समस्यालाई झनै जटिलतातिर लग्न थालेको सजहै अनुमान गर्न सकिन्छ।
तर कहिलेकाहि समस्याहरु समाधान सहित पनि आउने गर्दछन। मुख्य कुरा ती
समस्यहरु सँगै आउने उक्त विभिन्न किसिमका समाधानहरुको पहिचान गर्न सक्नु पर्दछ।
पहिचान गरिएका समाधानहरुको प्रभावकारी किसिमले उपयोग गर्न सक्नु पर्दछ। नेपालमा
देखिएको भूमि खण्डिकरणको समस्यालाई समाधान तर्फ लग्ने केही तत्वहरु सतहमा नदेखिए
पनि, वा सुषुप्त अवस्थमा रहे पनि ती तत्वहरु अब विस्तारै सकृयता तर्फ उन्मुख भने
हुन थालेका छन्। भूमि खण्डीकरणलाई रोक्न सक्ने केही तत्वहरु यस प्रकार देखिन
थालेका छन। ती सक्रिय पनि हुन थालेका छन पनि। ती हुन:
·
तिब्र सहरीकरण- नेपालमा सहरीकरण तिब्र गतिमा भइरहेको छ। माओवादीको अति
रक्तपातपूर्ण संघर्षबाट पीडित भएर गाउँहरुबाट सहरहरुमा विस्थापित भएको जनसंख्या पुन:
गाउँतर्फ फर्केको छैन। अर्कोतिर रोजगारी, शिक्षा, व्यापार, स्वास्थ्य सेवा आदि आदि
कारणहरुबाट सहर पस्ने व्यक्तिहरु पुन: गाउँमा फर्केको उदाहरण ज्यादै कम छ। यी
कारणहरु भूखण्डिकरण रोक्न सक्रिय हुन थालेका छन्।
·
वैदेशिक रोजगारी- स्वदेशमा रोजगारी नपाएर वा वैदेशिक रोजगारी आकर्षक
भएर, अन्तरार्ष्ट्रिय श्रम बजारमा नेपालीहरुको प्रवेश ठूलो संख्यामा भएको छ। करिब
४० लाख नेपालीहरु अहिले विदेशमा छन। विदेशमा, नेपालीहरुको ठूलो संख्यामा बसोबास
भएको स्थितिले पनि भूमि खण्डीकरणलाई रोक्न
सघाउ पुर्याएको छ।
·
पर्यटन क्षेत्रको विकास- नेपालमा पर्यटन क्षेत्रको विकास सुस्त गतिमा
नै भए पनि त्यो विकासले कृषि माथिको निर्भरतालाई क्रमिक रुपमा कम पार्दै लगि रहेको
छ। आज भन्दा बिस पच्चिस वर्ष पहिले जति बढि नेपालीहरु कृषिमा आश्रित थिए अहिले
त्यति छैनन्। पर्वतारोहण, तिर्थ स्थल, यातायात, होटल, पसल, संघ संस्था जस्ता
पर्यटन व्यवसायसँग सम्बन्धित क्षेत्रहरुले ठूलो संख्यामा रोजगारी सृजना गरेका छन्।
धेरै व्यक्तिहरुलाई रोजगारी दिएर कृषि क्षेत्रको निर्भरतालाई कम पार्न सघाउ
पुर्याएका छन्।
·
जन चेतना- नेपालमा, पैत्रिक सम्पत्ति माथिको आधिकारबारे पनि नया नया
किसिमका विचारहरु प्रकाशमा आउन थालेका छन्। नया नया कानूनि व्यवस्थाहरुको माग हुन
थालेका छन्। यदि पैत्रिक सम्पत्तिहरु स्वत: सन्तानहरुमा जाने प्रथा समाप्त भइ,
सम्मपत्तिको वास्तविक स्वामीले आफ्नो सम्पत्ति आफू खुसी जसलाई (आफ्नो हेरचाह गर्ने
समेतलाई) पनि दिन सक्ने व्यवस्था भएमा अंशवण्डा प्रथा निरुत्साहित भइ भूमि
खण्डिकरण समस्या पातलो भएर जाने देखिन्छ।
·
व्यापारको विकास- नेपाल, लामो समयदेखि रहँदै आएको कृषि प्रधान मुलुकको
स्थितिमा अब रहन सक्तैन। नेपाल अहिले कृषि प्रधान मुलुकबाट व्यापार प्रधान मुलुक
हुने क्रममा छ। गएको दस वर्षमा धेरै संगठित गाउँहरु सहरमा रुपान्तरित भएका छन्।
धेरै नगरपालिकाहरुको सृजना भएको छ। संगठित गाउँहरु सहरमा रुपान्तरित हुनु र
नगरपालिकाहरु थपिनुले, नेपालमा, कृषि क्षेत्रमाथिको निर्भरता क्रमश: कम हुँदै गएको
देखिन्छ। नेपालले कृषि भन्दा व्यापारलाई महत्व दिएको आभाष हुन्छ। मन्द गतिमा नै भए
पनि नेपाल अब कृषि प्रधानबाट व्यापार प्रधान मुलुक हुने क्रममा छ। जनसंख्या बढी तर
भौगोलिक रुपमा वा क्षेत्रफलको हिसाबले सानो रहेका राष्ट्रहरुले व्यापारलाई महत्व
दिनु आवश्यक हुन्छ पनि। सिंगापुर, हङ्गकङ्ग, कतार, जापान आदि जस्ता राष्ट्रहरुले
यही नीति अवलम्बन गरेका छन्। व्यापारको बढी उपयोग गरेका छन्।
·
जीवनशैली- नेपालीहरुको जीवनशैली हेर्दा अधिकांश व्यक्तिहरुले गाउँ
भन्दा सहरमा बस्न रुचाएको देखिन्छ। नेपालको सन्दर्भमा यो स्वभाविक हो पनि। नेपालमा
सहर र गाउँ बीचको अन्तर ज्यादै ठूलो रहेकोले मानिसहरु सहरतिर आकर्षित हुनु
अस्वभाविक होइन। विकसित देशहरुमा, आधारभूत सुबिधाहरु- सडक, बिजुली, संचार, शिक्षा,
स्वास्थ्य सुविधा आदि, सहर र गाउँहरुमा समान किसिमका हुन्छन। केही खास सुबिधाहरु
बाहेक, सहर र गाउँ बीच ज्यादै ठूलो अन्तर हुँदैन। नेपालमा सहर र गाउँ बीच ठूलो
अन्तर रहेकोले व्यक्ति र परिवारहरु संचार (इन्टरनेट), स्वास्थ्य, शिक्षा, आदि
जस्ता सुविधाहरका लागि सहरतिर बसाइ सर्छन्। व्यक्ति र परिवारहरु ठूलो संख्यामा
सहरतिर बसाइ सर्नुले पनि भूमि खण्डिकरणको समस्यालाई कम पार्नमा महत्वपूर्ण भूमिका
खेलेको देखिन्छ।
माथिका उदाहरणहरुले के देखाउँछन भने नेपालमा
भूमि खण्डिकरणको समस्या गंभिर रुपमा प्रस्तुत हुने स्थितिमा छैन, यदि यसको समाधान
समयमा नै खोज्ने हो भने। बरु केही तत्वहरु, जुन माथि वयान गरिएका छन्, ले तिब्र भूमी खण्डीकरणलाई सक्दो किसिमले
निरुत्साहित पारि रहेका छन्।
यस किसिमको स्थितिमा सरकारले बरु नया नया
किसिमका भूमि उपयोग सम्बन्धी नियमहरु ल्याएर भूमिको उपयोगलाई अझै प्रभावकारी एवं
लाभदायक बनाउनु पर्ने देखिन्छ। भूमि भाडामा लिन दिने नियमहरुलाई सजिलो पारेर, भूमि
भाडामा लिने व्यक्तिहरुलाई सहुलितय व्याज दरमा ऋण उपलब्ध गराएर, भूमि उपयोगमा
संलग्न व्यक्ति वा संस्थाहरुलाई विभिन्न किसिमका (प्राविधिक, सिप, ज्ञान) सहयोगहरु
पुर्याएर सरकारले भूमिको उपयोगलाई अझै लाभदायक पार्न सक्छ। यस्तो गर्न सकेको
खण्डमा विभिन्न धेरै व्यक्तिहरुको स्वामित्वमा रहेका साना साना जमिनका टुक्राहरु
एक व्यवसायी वा व्यापारिक संगठनले भाडामा लिएर, भाडामा लिएको त्यो जमिनको आकारलाई
ठूलो पारेर व्यवसायिक किसिममले खेति गर्न सक्छ। लागतहरु कम पारेर, धेरै आम्दानी
हुने (कम जमिनमा बढी उत्पादन हुने वा बढी मूल्य पर्ने) बिभिन्न किसिमका कुराहरु
उत्पादन गर्न सक्छ। त्यति मात्र होइन, स्थानीय स्तरमा रोजगारी सृजना गर्न सक्छ।
स्थानीय जनताको आय वृद्धि गर्नमा योगदान पुर्याउन सक्छ। नेपालमा, भूमिका
टुक्राहरु, जुन परम्परागत कृषिमा उपयोग भइ हरेका छन्, लाई उन्नत एवं वैज्ञानिक
किसिमले, लाभदायक किसिमले, उपयोग गर्न आवश्यक छ। यस्तो गर्न सकिएमा भूमि खण्डीकरणको
समस्या कम पार्न त सकिन्छ नै साथै साना साना टुक्राका भूस्वामीहरुको आम्दानीमा पनि
वृद्धि गर्न सकिन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 21, 2014
No comments:
Post a Comment