के हामी हृदयहीन संस्कृतिमा प्रवेश गर्दैछौं ? किन भयो विवाद ?
विवाह पञ्चमीको अवसर पारेर
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीद्वारा भएको जनकपुरको भ्रमण निकै चर्चित र
विवादित पनि रहयो । केहीले आन्दोलनका कारण मधेस र काठमाडौको सम्बन्ध चिसिएको बेला राष्ट्रपति
भण्डारी जनकपुर पुग्नु सरकारले विवादका लागि ठाउँ झनै फराकिलो पारिदिएको टिप्पणी
गरे । केहीले भने राष्ट्रप्रमुख भ्रमणको क्रममा देशका विभिन्न भागमा पुग्नु
सामान्य भएको बरु यस विषयलाई केही स्वार्थी तत्त्वले आफ्नो राजनैतिक फाइदासँग
जोडेर तल्लो स्तरमा झरेर राष्ट्रपतिको अपमान गर्नु अति निन्दनीय रहेको भन्दै कटु
आलोचना गरे । स्मरणीय छ, गएको बुधबार
(२०७२ पुस १ गते) जानकी मन्दिरमा आयोजित धार्मिक कार्यक्रम
(विवाहपञ्चमी) मा सहभागी हुन राष्ट्रपति भण्डारी प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेकी थिइन्।
भण्डारीको जनकपुर भ्रमण जति विवाद र चर्चामा रहयो त्यति नै चर्चामा त्यहाँका केही स्थानीयहरूले गरेका विभिन्न क्रियाकलाप एवं सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा दिएका प्रतिक्रियाहरू पनि चर्चामा रहे ।
(विवाहपञ्चमी) मा सहभागी हुन राष्ट्रपति भण्डारी प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेकी थिइन्।
भण्डारीको जनकपुर भ्रमण जति विवाद र चर्चामा रहयो त्यति नै चर्चामा त्यहाँका केही स्थानीयहरूले गरेका विभिन्न क्रियाकलाप एवं सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा दिएका प्रतिक्रियाहरू पनि चर्चामा रहे ।
संवेदनाहीन आलोचन
भण्डारीको भ्रमणप्रति टिप्पणी गर्दै एक व्यक्तिले सामाजिक सञ्जालमा लेखे– “यस पालिको विवाह पञ्चमीको रौनक अलच्छिनी विद्या देवी भण्डारीले समाप्त पारिन् । ठीकै भनिन्छ कि शुभ कार्यमा अलच्छिनी र विधवालाई उपस्थित हुनुहुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।” अर्काले भने–“पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालुहरूले दिएको पवित्र ग·ाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाएको हो ।”
अशोभनीय व्यवहार
भण्डारी काठमाडौ फर्केको भोलिपल्ट बिहीवार मधेसी मोर्चाका कार्यकर्ताहरूले विधवाले मन्दिर परिसरमा प्रवेश गरेर मन्दिर अपवित्र तुल्याएको भन्दै ग·ाजलले मन्दिर परिसर पखालेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरूले मन्दिर परिसर पखालेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले छापे । भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले त यो घटनालाई महत्त्वका साथ छापेको थियो ।
पतिको मृत्यु भएपछि पुरुषप्रधान समाजले शोषणको एक घेराभित्र सीमित पार्न महिलाहरू लाई ‘विधुवा’ को दर्जा दिने र सोही अनुसार व्यवहार गर्ने रूढिवादी एवं सामन्ती सोंचले अहिले पनि नेपाली समाजमा निरन्तरता पाउनु आफैमा चिन्ताजनक छ । पढेलेखेका शिक्षित व्यक्तिहरूले पनि विधवा भएकै कारण कुनै महिलाले मन्दिर प्रवेश र पूजाअर्चनाबाट वञ्चित हुनुपर्ने सोच राख्नु चिन्ताजनक मात्र होइन, समाज विकासको लागि डरलाग्दो स्थिति हो । यस किसिमको कार्यलाई त ‘तालिबान’, ‘अलकायदा’, ‘आइएस’ जस्ता महिलालाई शिक्षा प्राप्त गर्न वञ्चित तुल्याउने अति कट्टर जातिवादी स·ठनको कुकृत्यसँग जोडन सकिन्छ । महिला भएर शिक्षाका लागि विद्यालय गएको र महिलाहरूले विद्यालय जान पाउनुपर्दछ भन्ने अभियान सञ्चालन गरेको कारण एउटी बालिका मलाला युसुफजईको हत्या गर्ने उद्देश्यका साथ, अक्टोबर ९, २०१२ मा तालिबानी बन्दूकधारीले गोली प्रहार गरेको थियो । गोली प्रहार गर्ने त्यो बन्दुकदधारी मात्र त्यो हत्या प्रयासमा संलग्न थिएन, सन् २०१२ मा नै तालिबानी नेताहरूले मलालाको हत्या गर्ने सर्वसम्मत क्रूर एवं अमानवीय निर्णय गरेका थिए ।
ज्ञानभूमि जनकपुरमा अज्ञानी कुकृत्य कस्तो आश्चर्य १ जुन स्थानमा महिलालाई अति मर्यादा प्रदान गर्न महिला (जानकी–सीता)को मूर्ति स्थापना गरिएको छ, महिलाको पूजा गर्ने संस्कृति बसालिएको छ, त्यहीं एकजना महिला (विद्या भण्डारी) को घोर अपमान भयो । विद्या भण्डारी राष्ट्रपति मात्र होइन, महिला पनि हुन् । जानकी मन्दिर प्रकरणमा उनको विरोधमा जे जस्ता कार्य भए, जे जस्ता अभिव्यक्ति दिइयो, ती सबै राष्ट्रपतिमाथि होइन, एकजना महिलाको अस्मितामाथि निर्मम प्रहार थियो । त्यस घटनाले भण्डारी विधवा भएकोले त्यस्तो दुव्र्यवहार भएको प्रस्ट भएको छ, विरोध गर्नेहरूको राजनैतिक अभीष्ट जे जस्तो भए पनि । के कुनै महिला विधवा हुनु उसको त्रुटि हो ? यो प्रश्नले मोर्चाका नेताहरूलाई पछिसम्म भूतजस्तो पछ्याउने छ ।
जनकपुर जस्तो बौद्धिक भूमि जहाँ हजारौं वर्ष पहिले वेदको अनुसन्धान, अध्ययन एवं अध्यापन हुन्थ्यो, जहाँ याज्ञवल्क्यजस्ता विद्वान्ले राजा जनकलाई विभिन्न किसिमका शिक्षा प्रदान गर्दथे, जहाँबाट बौद्धिकता र ज्ञानको प्रचार हुन्थ्यो, जसलाई ज्ञानको केन्द्र मान्ने गरिन्थ्यो, संसारका विभिन्न विद्वान्हरू राजा जनकको निमन्त्रणमा जनकपुर आएर वेदमा ‘शास्त्रार्थ’ (वेदका विभिन्न आयामहरूको चर्चा) गर्थे, त्यति मात्र होइन, जहाँ महिलालाई पूर्ण स्वतन्त्रता प्रदान गर्न वैदिक कालमा नै पनि ‘स्वयंवर’ विधिद्वारा स्वेच्छाले पति रोज्ने
(राजकुमारी सीताले स्वयंवर विधिद्वारा राजकुमार रामको चयन गरेकी थिइन्) अधिकार दिइन्थ्यो, त्यहाँ महिला भएकै कारण एकजना महिलाको घोर अपमान हुनुले मिथिला समाजलगायत नेपाली समाज कति डरलाग्दो दिशातिर उन्मुख भइरहेको छ, चिन्ताको विषय हुन पुगेको छ ।
किन समाजमा सहिष्णुता हराउँदै छ ?
नेपाली समाजमा अहिले एउटा अनौठो प्रवृत्तिले नागरिकको मनोविज्ञानलाई कुप्रभावित गरेको छ । त्यो के हो भने हरेक समस्याको समाधान बल र हिंसाद्वारा खोज्नु । नेपाली समाजमा अहिले सहिष्णुता, ज्ञान र विवेक हराउँदै गएको छ र तिनलाई प्रतिशोध, घृणा र क्रोधले विस्थापित गर्दैछ । कुनै पनि किसिमको मतभेद वा विरोध गर्दा पहिले क्रोध र घृणा आउँछ अनि मात्र ज्ञान र ममता । यस्तै स्थिति अहिले सिरियामा देखिएको छ । कुनै समयमा शान्त रहेको सिरिया अहिले बमको आवाजमा सुत्छ र बमको आवाजमा उठ्छ । देशभित्रकै नागरिकले एक आर्कालाई शत्रु देखिरहेका छन् । नेपालमा पनि अहिले नागरिकहरू त्यस्तै किसिमले घोर निराशा, प्रचण्ड क्रोध, सीमाहीन घृणा, प्रबल प्रतिशोध सोच आदि जस्ता मनोविज्ञानको शिकार हुन पुगेका छन् । एउटा राजनैतिक दलको नेताले अर्को राजनैतिक दलको नेतालाई तल्लोस्तरमा झरेर गालीगलौज गर्छ । अनि कार्यकर्ताहरूको अभिव्यक्तिहरूको के हिसाब गर्नु ? केही समय पहिले प्रधानमन्त्री केपी ओली गोरखा र कैलाली पुगेको बेला उनले मधेस आन्दोलन ‘जनवार शैलीको भएको’ भन्दै निन्दा गरेका थिए । तर ओलीले आफूहरूले झापाबाट पञ्चायतको विरोधमा आन्दोलन शुरु गर्दा यस्तै हिंसात्मक आन्दोलन गरेका थिए भन्ने यथार्थ बिर्से । प्रजातन्त्रिक मुलुकमा सरकारले राजनैतिक विरोध सुन्ने धैर्य राख्नुपर्दछ । विरोधलाई हिंसात्मक हुन नदिनु र विरोधीहरूलाई वार्ताको टेबलुसम्म ल्याउनु सरकारको दायित्व हो । त्यस्तो गर्न नसक्नु सरकारको कमजोरी हो । अर्कोतिर ओलीको भनाइलाई लक्षित गर्दै प्रतिउत्तरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यो भनाइ ‘कतै मनुष्यको होइन कि’ भने । जहाँ नेताहरू नै यसरी गालीगलौजमा झर्छन्, कार्यकर्ताहरूबाट सदाचार र रचनात्मक आलोचनको अपेक्षा कसरी गर्ने ? यस किसिमका गुरु वा नेताहरूद्वारा प्रशिक्षित कार्यकर्ताहरूले मन्दिर चोख्याउने कार्य गर्नुलाई कसरी अनौठो मान्ने ? गुरुहरूले जस्तो घृणा र क्रोध गर्न सिकाएका छन् चेलाहरूले पनि त्यस्तै गर्ने हो । त्यस कारण यस्ता चेलाहरू माथि दया जागेर आउँछ, क्रोधभन्दा ।
कसले बिगार्यो परम्परा ?
नेपालमा विरोधको नया शैली (काटमार) विकास एवं अभ्यास गर्ने जिम्मेवारी माओवादीमा जन्छ । भाठा कार्यवाही, जन कार्यवाही, भौतिक कार्यवाही, सफाया, ढाडमा टेकेर टाउकोमा हान्नेजस्तो कुरा सुन्दा नै आङ सिरिंग हुने शब्दावलीको विकास माओवादीको सङ्घर्षकालमा नै भएको हो । आफ्नो आलोचना वा विरोध सहन गर्न नसक्ने, विरोधीको मुख बन्द गर्न उनीहरूको हत्या नै गर्ने, समस्याको समाधन मेलमिलाप होइन, हतियारद्वारा गर्ने जस्ता कुसंस्कृतिको विकास माओवादी सङ्घर्षकालमा भएको हो । परिवर्तनका लागि माओवादीहरूले विचार परिवर्तन होइन, हतियारको प्रयोग गरे । हजारौको हत्या गरे, हजारौंको अ·भ· गरे । यति मात्र होइन, आफ्नै देशवासी वा आफ्नै दाजुभाइलाई शत्रु ठानेर हत्या गर्ने परम्पराको विकास गरे । देशलाई जात, समुदाय, क्षेत्रको आधारमा विभाजित हुन सिकाए । र सबैभन्दा डरलाग्दो कुरा के सिकाए भने आफ्नो माग पूरा गराउन हतियार उठाउनै पर्दछ ।
माओवादीले जस्तो बीउ रोपेको थियो, अहिले त्यस्तै फल्दैछ, खासगरी मधेसमा । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले पनि राजनैतिक उद्देश्य पूर्तिका लागि विगतमा माओवादीले गरेका कार्यहरूको अनुसरण गर्दैछन् । मानवीय संवेदनाको कम, बल एवं हतियारको प्रयोग बढी गर्दैछन् । हिंसाद्वारा सरकारलाई आफ्नो मागतर्फ आकर्षित गराउन वा आफ्नो माग पूरा गराउन खोज्दैछन् ।
माथिको सन्दर्भलाई जोडौं । राष्ट्रपति विद्या भण्डारीको जनकपुर भम्रणबाट रुष्ट रहेको वा आफ्नो मागप्रति विद्या भण्डारीको दलले बेवास्ता गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरूले नाराबाजी गर्ने, कालो झन्डा देखाउने आदि कार्य पनि गर्न सक्थे । तर उनीहरूले पेट्रोलबम प्रहार गर्ने, मन्दिरभित्र पसेर तोडफोड गर्ने जस्ता कार्य किन गरे ? सामान्य नागरिकको हैसियतले पनि त भण्डारीले मन्दिरमा प्रवेश पाउनुपर्दछ ।
कुनै बेला विद्रोही माओवादी अहिले सरकारमा छ । उसले विद्रोहकालमा जस्तो रणनीति अपनाएको थियो, मधेसी दलहरूले पनि त्यस्तै रणनीति अपनाउँदै छन् । माओवादीले कुन मुखले भन्ने, मधेसीहरूले गरेको कार्य गलत छ ?
माओवादीले थुपारेको फोहर सफा गर्न कति समय लाग्ने हो कुन्नि ? तर नेपाली समाज भने हृदयहीन संस्कृतिमा प्रवेश गर्दैछ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 25, 2015 Christmas Day
No comments:
Post a Comment