दक्षिण एशियाको राजनीति यस क्षेत्रको आर्थिक विकासको बाधक
दक्षिण एशियाको लडाइँ,
झगडाले भरिएको राजनीतिले यस क्षेत्रको आर्थिक
विकासमा अदम्य नकारात्मक प्रभाव पारेको छ। यो कारणले गर्दा दक्षिण एशियाले आर्थिक
विकासका अनेकौ अवसरलाई लाभदायक किसिमले उपयोग गर्न पाएको छैन बरु उल्टो त्यस
किसिमका अवसर गुमाएको छ। दक्षिण एशियाले आफ्नो अमूल्य समय एवं आर्थिक
विकासका चम्किला अवसरहरू उद्योग र व्यापारको विकासमा भन्दा लडाइँ, झगडामा दुरुपयोग गरिरहेको छ। विडम्बना! यो क्षेत्र जनशक्ति र प्राकृतिक स्रोतका लागि अत्यन्तै धनी
मानिन्छ।
दक्षिण एशियाली राजनीतिका दुई प्रमुख खेलाडी
एवं शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्धले यस क्षेत्रको
आर्थिक विकासको अवसरलाई बेला–बेलामा बाक्लो
कालो बादललेझै छोप्ने गर्दछ। यी दुई देशका सोच, चिन्तन र रचनात्मक कार्य गर्न सक्ने अवसर केवल एकले
अर्कोलाई मसल देखाउन, युद्ध गर्न
केन्द्रित हुन पुग्नुले यो क्षेत्रलाई गरीबीको खाडलबाट बाहिर आउन दिइरहेको छैन। तर
यी दुई देशको सम्बन्धमा सुधार भएर, यस क्षेत्रमा
दियो शान्ति स्थापना हुने हो भने यस क्षेत्रको जनताको निश्चितरूपमा आर्थिक
स्थितिमा सुधार आउने छ। खुशहाली आउने छ। दक्षिण एशिया समृद्ध क्षेत्र हो। अन्नको
भण्डार ((bread-basket) हो।
विश्व जनसङ्ख्यको ठूलो भाग दक्षिण एशियामा
बसोवास गर्ने भएकोले यो क्षेत्र विश्वको नै एक महत्वपूर्ण बजार हो।
विश्वको कुल जनसङ्ख्याको एक चौथाई (२४.८१ प्रतिशत) यस क्षेत्रमा बसोवास गर्दछ। यति
ठूलो बजार, तर अविरल राजनीति
द्वन्द्वले गर्दा गुलजार हुन सकेको छैन।
नेपाल पनि दक्षिण एशियाली क्षेत्रमा हुने
राजनीतिक खिचातानीको शिकार हुन पुगेको छ। दक्षिण एशियामा विद्यमान दुई देश (भारत र
पाकिस्तान) बीचको कटुतापूर्ण राजनीतिले गर्दा नेपालले पनि आर्थिक विकासको अवसर
गुमाउनुपरेको छ। भारत–पाकिस्तान बीच
कटुतापूर्ण सम्बन्ध र त्यसबाट सृजित असहज परिस्थितिको शिकार नेपाल हुन पुगेको छ।
यो कटुताले गर्दा नेपालले दक्षिण एशियाली समृद्ध बजार क्षेत्रको उपयोग गर्न पाएको
छैन। दक्षिण एशियाली राष्ट्रहरू बङ्गलादेश, अफगानिस्तान, भूटान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का एशियाका राम्रा बजार भए तापनि नेपालले तिनको
उपयोग गर्न पाएको छैन। बरु उल्टो नेपाल आयातको क्षेत्रमा भारतप्रति अति निर्भर
हुँदै गएको छ।
पाकिस्तान र भारतबीच लडाइँ, झगडा नहुने हो, दुवैबीच राम्रो व्यापारिक सम्बन्ध हुने हो भने दक्षिण
एशियाको आर्थिक विकास गर्ने उद्देश्यका साथ सन् १९८५ मा स्थापित सार्क (SAARC – South Asian Association for Regional
Cooperation) ले प्रभावकारी कार्य
गर्न पाउँथ्यो। यस क्षेत्रको आर्थिक विकासमा सार्कले महत्वपूर्ण भूमिका
निर्वाह गर्न सक्थ्यो। तर भारत र पाकिस्तानबीच निरन्तर चलिरहने शत्रुतापूर्ण
खिचातानीले गर्दा यो सङ्गठनले आफ्नो उद्देश्य अनुरूप कार्य गर्न पाएको छैन र
औचित्यहीन हुन पुगेको छ। सार्क केवल राष्ट्र र सरकार प्रमुखहरू भेट्ने, गफगाफ गर्ने स्थलमा सीमित हुन पुगेको छ। एक असल
क्षेत्रीय बजार हुन सकेको छैन। आफ्नो स्थापना कालदेखिको यो ३४ वर्षको अवधिमा आर्थिक
क्षेत्रमा सार्कले कुनै पनि उपलब्धिमूलक कार्य गर्न सकेको छैन।
युरोपियन युनियन, नाफ्टा, बेनेलक्स, अफ्रिकन युनियनजस्ता क्षेत्रीय व्यापारिक सङ्गठनहरूले त्यस
क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
युरोपियन युनियन त केवल आर्थिक मात्र होइन, राजनैतिक रूपमा पनि अति शक्तिशाली छ। युरोपियन युनियनले यस
युनियनका सदस्य राष्ट्रहरूको आर्थिक विकासमा जिम्मेवार भूमिका निर्वाह गरेको छ। तर
सार्कले त्यस्तो गर्न सकेन। कारण छर्लङ्ग छ।
एशियाकै अर्को एक क्षेत्रीय आर्थिक सङ्गठन,
आसियनले आफ्ना सदस्य
राष्ट्रहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। आसियन ((ASEAN – The Association of Southeast Asian
Nations)) का सदस्य राष्ट्रहरू,
ब्रुनाई, कम्बोडिया, इन्डोनेशिया,
लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर,
थाइल्यान्ड, भियतनामले यस सङ्गठनबाट राम्रो आर्थिक लाभ लिरहेका छन्।
आसियनले एउटा बलियो साझा बजारको रूपमा कार्य गरिरहेको छ। तर अफसोच! भारत–पाकिस्तानबीच रहेको
शत्रुतापूर्ण व्यवहारले गर्दा आसियनले जस्तो कार्य सार्कले गर्न सकेको छैन। यो
दक्षिण एशियाली राष्ट्रका गरीब जनताका लागि दुर्भाग्यपूर्ण स्थिति हो।
अर्को किसिमले हेर्ने हो भने छिमेकीहरूसँग
राम्रो सम्बन्ध रहेको हुनाले चीनले द्रुततर गतिमा आर्थिक प्रगति गरिरहेको छ। एक
दशक पहिले मात्र आठौ, दसौं स्थानमा
रहेको चीन अहिले दोस्रो स्थानमा पुगेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुन पुगेको
छ। भारतको जस्तो चीनको छिमेकी राष्ट्रहरू जस्तै रूस, मङ्गोलिया, कजाकिस्तान
आदिसँग कटुतापूर्ण सम्बन्ध छैन। सम्बन्ध सहज र सुमधुर छ। छिमेकीहरूसँग राम्रो
सम्बन्ध हुनुले चीनलाई विश्वको दोस्रो आर्थिक महाशक्ति हुन सघाएको छ। दक्षिण
एशियाली राष्ट्रहरू र खासगरी भारत पाकिस्तानले यो यथार्थ मनन गर्नु जरूरी
छ।
भारत–पाकिस्तान सम्बन्ध सुमधुर भएको इतिहास छैन। भारतले पाकिस्तानसँग चारपटक युद्ध
गरिसकेको छ। भारत–पाकिस्तान युद्ध
१९४७, १९६५, १९७१ र १९९९ गरी चारपटक भएकोले चारपटक दक्षिण
एशियाली क्षेत्रलाई नराम्ररी अशान्त पारेको छ। यसरी पटकपटक हुने अशान्तिले गर्दा
यो क्षेत्रले आर्थिक विकास गर्न सकिरहेको छैन। पटकपटकको युद्धले गर्दा पाकिस्तानको
आर्थिक स्थिति त झनै खराब हुन पुगेको छ। यस क्षेत्रको अर्को राष्ट्र अफगानिस्तानको
स्थिति पनि त्यस्तै छ। निरन्तर चलिरहेको द्वन्द्वले गर्दा अफगानिस्तानमा गरीबी र
अशिक्षा चरमरूपमा बढेर गएको छ।
दक्षिण एशियामा निरन्तर चलेको द्वन्दले गर्दा
पनि यस क्षेत्रबाट ठूलो सङ्ख्यामा जनशक्ति विदेशतिर पलायन भइरहेको छ। नेपाल,
बङ्गलादेश, पाकिस्तान, भारत, अफगानिस्तान आदिबाट ठूलो सङ्ख्यामा मानिस
रोजगारका लागि पश्चिमा मुलुकतिर पलायन भइरहेका छन्। दक्षिण एशियामा हुने
द्वन्द्वले मानिसलाई निराशातिर धकेलिरहेको छ।
आर्थिक विकासको लागि जुन स्तर र प्रकृतिको
शान्ति चाहिन्छ त्यो स्तर र प्रकृतिको शान्ति नेपालमा पनि आउन सकेको छैन। २०५२
देखि २०६३ साल सम्म चलेको माओबादी रक्तपातपूर्ण सङ्घर्षले त आर्थिक विकासको पथमा
लम्केको नेपाललाई पश्चगमन गर्न बाध्य पारेको थियो। अनेक किसिमका राजनैतिक मुद्दामा
नेपाल अशान्त हुने क्रम अहिले पनि जारी छ।
यसैबीच भारतले कश्मीरमाथि गरेको सैनिक हस्तक्षेप
(धारा ३७० को खारेजी एवं स्वायत्त शासन अधिकारको समाप्ति) ले गर्दा यस क्षेत्रमा
फेरि एकपटक अशान्ति आउने देखिएको छ। हालको कश्मीर प्रकरणले भारत र पाकिस्तानबीच
सम्बन्ध झन खराब हुने छ र त्यसको प्रभाव दक्षिण एसियाको बजार क्षेत्रमा पर्ने
निश्चित छ। यस क्षेत्रमा थपिएको यो नयाँ अशान्तिले गर्दा दक्षिण एशियाका
राष्ट्रहरूले पनि आर्थिक क्षति बेहोर्नुपर्नेछ। किनभने यस क्षेत्रका राष्ट्रहरूको
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापार, भारतसँग अन्तरङ्ग रहेको हुँदा नराम्ररी प्रभावित हुनेछ।
दक्षिण एशियाको गरीबी घटाउने हो, आर्थिक समृद्धि ल्याउने हो भने यस क्षेत्रमा
दियो शान्ति ल्याउनुको विकल्प छैन। दिगो शान्ति नआएसम्म यो क्षेत्र गरीबीको दलदलमा
भासिएकै स्थितिमा रहने छ। यस क्षेत्रमा दियो शान्ति ल्याउन भारत र पाकिस्तान दुवै
राष्ट्रले जिम्मेवार भएर कार्य गर्न आवश्यक छ। मसलको राजनीति अन्त्य गरेर दुवै
राष्ट्रले यस क्षेत्रमा शान्ति स्थापना गर्न जोड दिन आवश्यक छ। मोदीको अति
हिन्दूवाद, अति राष्ट्रवादले भारतका
गरीब जनताको चुलो निरन्तर बल्ने स्थिति सृजना हुनेछैन, उल्टो भारत अशान्तितिर धकेलिने छ।
कुनै पनि देशका नेताहरूले जनताको लागि
राजनीति गर्ने हो, आफ्नो अहम् र वहमका लागि होइन। यो तथ्य दक्षिण एशियाका नेताहरूले
बुझ्नुपर्ने हो। भारत र पाकिस्तानका नेताहरूले त झनै बढी बुझ्नुपर्ने हो।
विश्वराज अधिकारी
Friday, August 23,
2019
No comments:
Post a Comment