Wikipedia

Search results

Friday, December 13, 2019

How To Control Production Costs in Nepal? Article-256


आइकिया: उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार

  ज्ञान, विज्ञान, साहित्य, सबै क्षेत्रमा हामी पश्चिमीहरूभन्दा निकै पछाडि छौं। अर्थशास्त्रको क्षेत्रमा त झनै पछाडि छौं। ‘हामीले हिमाल उठायौं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा’ भन्दै हामीले गर्व गरे तापनि हामीले न त हाम्रो हातले हिमाल उठाएको हौं, न त हामीले कुनै पुरानो सभ्यताको विकास नै गरेको हौं। हिमाल प्रकृतिले हामीलाई दिएको उपहार हो। हामीले हाम्रो परिश्रमद्वारा सृजना गरेको होइन। त्यस कारण हिमाल हामीसँग भएकोमा हामी खुशी हुन सक्छौं तर हिमाल केवल हाम्रो सृजना हो भनेर गर्व भने गर्न सक्तैनौं। त्यसैगरी, प्राचीन सभ्यताको विकास हाम्रो भूखण्डमा भएको भन्ने कुनै ऐतिहासिक तथ्य पनि हामीसँग छैन। न त मेसोमोटामियामा, न त रोमन, न त माया, न त इन्डस, कुनै पनि सभ्यताको विकास नेपालमा भएको थिएन। त्यस कारण नभएको कुरामा फुस्रो गर्व गर्नुहुँदैन। र, आउने पीढीलाई पनि फुस्रो गर्व गर भन्नुहुँदैन। जुन कुराको विकास हाम्रो सृजनाद्वारा भएको होइन, त्यसमा कसरी घमण्ड गर्नु? तर अचम्म! हामी घमण्ड गर्छौं र अनावश्यक गर्व गर्नु हाम्रो प्रवृत्तिजस्तो भएको छ। हामी घमण्ड गर्नमा बढी विश्वास गर्छौं, मौलिक सृजना गर्नुभन्दा। तर हामीले त्यसरी केवल फुस्रो गर्व वा घमण्ड गर्ने हो भने आउने पीढीले पनि कुनै मौलिक सृजना गर्ने छैनन्, केवल घमण्ड मात्र गर्नेछन्, हामीसँग यस्तो छ, त्यस्तो छ भनेर।
    हामी पश्चिमीहरूभन्दा ज्ञान, विज्ञान आदिको क्षेत्रमा पछाडि मात्र होइन, सयौं वर्ष पछाडि छौं भन्ने तथ्य हामीले विना कुनै विवाद स्वीकार गर्नुपर्छ। बरु ज्ञान, विज्ञान, अर्थशास्त्रको क्षेत्रमा हामी कसरी अगाडि बढ्न सक्छौं, नवनिर्माणका लागि विश्वमा हामी कसरी एक नम्बर हुन सक्छौं, त्यसबारे सोच्नुपर्छ, सदैव क्रियाशील हुनुपर्छ। केही रचनात्मक कार्य नगरी केवल हामीले हिमाल उचाल्यौं भन्नुको कुनै अर्थ छैन।
    यस आलेखमा भने अर्थशास्त्रको क्षेत्रमा हामी कति पछाडि छौं, त्यसबारे चर्चा गरौं। अफ्रिकाको केही भूभाग र एशिकाको दक्षिण क्षेत्र विश्वमा नै कृषिको लागि उत्तम क्षेत्र मानिन्छ। विश्वका त्यस्ता धेरै भूभाग छन्, जुन हिउँले वा बालुवाले पुरिएका (मरुभूमि) छन्। ती क्षेत्रहरूमा कुनै पनि किसिमको खाद्यान्न उत्पादन गर्न सकिंदैन। तर दक्षिण एशिया क्षेत्रमा वर्षमा तीन बाली सजिलै लगाउन सकिन्छ र गर्ने सके चार बाली पनि लगाउन सकिन्छ। तर अफसोच! यो क्षेत्रमा खाद्यान्नको ठूलो अभाव छ। खाद्यान्न, फलफूल, तरकारी महँगो छ। दक्षिण एशिया क्षेत्रमा त गरीब परिवारहरूले फलफूल नियमित खान पाउनु सपना हुन पुगेको छ। जबकि त्यस्तो नहुनु पर्ने हो। दक्षिण एशिया अन्न, फलफूल, तरकारीको भण्डार हुनुपर्ने हो। तर ज्ञानको अभावमा यो क्षेत्रको उत्पादकत्वको अधिकतम उपयोग गर्न सकिएको छैन।
    हाम्रो नेपालको सन्दर्भमा कृषि केवल निर्वाह हुन पुगेको छ। तराईको समतल भूभागमा उत्पादकत्व वृद्धि गरेर ठूलो मात्रामा अन्न, तरकारी, फलफूल उत्पादन गर्न सकिएको छैन। पहाडी क्षेत्रमा कृषिलाई व्यापक तुल्याउन सकिएको छैन। यी क्षेत्रहरूको समुचित उपयोग गर्ने हो भने अन्न, तरकारी, फलफूलको उत्पादन अभिवृद्धि गरेर बजारमा यी कुराहरूको आपूर्ति बढाउन सकिन्छ। आपूर्ति बढाएर महँगी कम पार्न सकिन्छ। नेपालमा महँगी बढ्नु र निर्वाह लागत (Living Costs)) खर्चिलो हुनुको प्रमुख कारण नै हामीले यथेष्ट मात्रामा उत्पादन गर्न नसक्नु र जीवनयापनका लागि आवश्यक पर्ने वस्तुहरूको मूल्य कसरी कम पार्न सकिन्छ त्यसबारे नसोच्नु हो।
    विदेशमा र खासगरी अमेरिका एवं पश्चिमी युरोपका देशहरूमा वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ? उत्पादन एवं वितरण लागत कसरी कम पार्न सकिन्छ? यी कार्यहरू गरेर कसरी उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवाहरू बिक्री गर्न सकिन्छ? यी कुराहरू थाहा पाउन नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ। उत्पादन एवं वितरणको क्षेत्रमा, लागत कम पार्नका लागि, वस्तु एवं सेवाको मूल्य कम पार्नका लागि नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ।
    हामीकहाँ लागत कम पार्नका लागि अध्ययन एवं अनुसन्धान गर्ने चलन नै छैन। यो कारणले गर्दा पनि हाम्रो देशमा महँगी जीवनको एउटा अभिन्न अङ्ग हुन पुगेको छ। जहिले पनि हामी महँगीको जाँतोमा थिचिएका हुन्छौं। हाम्रो मुद्राको क्रयशक्ति दिन प्रतिदिन घटिरहेको छ। हामीकहाँ एक रुपैयाँ (नेपाली मुद्राको सबैभन्दा सानो एकाइ) ले एक छाक पेटभरि खान पाउनु सपनाको कुरा हुन पुगेको छ। तर अमेरिका वा ब्रिटेनमा क्रमशः एक डलर वा पाउन्ड (त्यहाँका मुद्राको सबैभन्दा सानो एकाइ) मा एक छाक पेटभरि खान सकिन्छ। अर्थात् मुद्राको सबैभन्दा सानो एकाइले पनि एक छाकलाई पुग्ने खाद्य सामग्री खरीद गर्ने क्षमता राख्छ। यस्तो दुई कारणले गर्दा हुन सकेको हो। प्रथम त यी दुवै मुलुकहरूको आफ्नो उत्पादन अधिक छ, दोस्रो यी मुलुकहरूले उत्पादन लागत कसरी कम पारेर उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा बिक्री गर्न सकिन्छ भनी थाहा पाउन अध्ययन एवं अनुसन्धान नियमित किसिमले गर्छन।
    वस्तु एवं सेवाको मूल्यलाई कम पारेर र कम आय भएका उपभोक्ताहरूले पनि सजिलै खरीद गर्न सक्ने अवस्था सृजना गर्न एक उत्पादक, एक उत्पादन संस्थाले गरेको एक अति नै सराहनीय एवं चमत्कारी कार्यको चर्चा गरौं। त्यस्तो चमात्कारी कार्य आइकिया (IKEA) ले गरेको छ।
    सन् १९४३ मा युरोपेली राष्ट्र स्वीडेनमा स्थापना भएको यो (आइकिया) उत्पादन संस्थाले विभिन्न किसिमका फर्निचर, भान्साका सामान एवं घरेलु उपयोगका अनेक सामग्रीहरू उपत्पादन गर्छ । यसका संस्थापक, इङ्भार कमप्राड (Ingvar Kamprad) ले यो संस्थाको स्थापना सन् १९४३ मा गर्दा उनको उमेर केवल १७ वर्ष थियो। सत्र वर्षको उमेरमा कमप्राडले विश्वविख्यात संस्थाको सृजना गरेका थिए। यो संस्थाको सृजना उनले सस्तोमा सामग्रीहरू उपभोक्तालाई उपलब्ध गराउने सपनाबाट प्रेरित भएर गरेका थिए। अहिले आइकियाका बिक्री कक्षहरूको सङ्ख्या ४३३ रहेको छ भने यसको व्यापारिक कारोबार (बिक्री) ५२ देशमा फैलिएको छ। सन् २००८ देखि आइकियाले, फर्निचरको खुद्रा भण्डारमा, विश्वको सबैभन्दा ठूलो खुद्रा भण्डारको उपाधि पाएको छ। ब्लुम्बर्गले प्रकाशित गर्ने करोडपतिहरूको सूचकाङ्क अनुसार सन् २०१८ मा आइकियाका संस्थापक कमप्राड विश्वका आठौं अति धनी हुन पुगेका थिए। संसारभरिमा फर्निचर निर्माणका लागि प्रयोग हुने कुल काठमध्ये आइकियाले विभिन्न किसिमका सामग्री (फर्निचर) हरू तयार पार्न १ प्रतिशत काठ प्रयोग (खपत) गर्छ। सन् २०१८ मा विश्वभरि छरिएका यसका बिक्री कक्षहरूबाट ४४.६ बिलियन डलर (अमेरिकी) का सामग्रीहरू बिक्री भएका थिए। अमेरिकाका विभिन्न शहरहरूमा पनि आइकियाका बिक्री कक्षहरू देख्न सकिन्छ। कम आय भएका उपभोक्ताहरूमाझ आइकियाका सामग्री (विशेषगरी फर्निचर) हरू निकै लोकप्रिय छन्।
    आइकियाले आफ्ना ग्राहकहरूलाई मुख्यगरी फर्निचर सस्तोमा उपलब्ध गराउँछ। उपभोक्ताहरूलाई सस्तोमा फर्निचरहरू उपलब्ध गराउने आइकियाको व्यापारिक रणनीति (Business Strategies) विशेष किसिमको छ। आइकियाले आफ्ना बिक्री कक्षहरूमा तयारीको अवस्थामा फर्निचर राखेको हुँदैन। केवल प्रदर्शन गर्ने (Demo) फर्निचरहरू मात्र तयारीको अवस्थामा राखेको हुन्छ। बाँकीका फर्निचरहरू अर्धतयारी (Ready-to-Assemble) अवस्थामा हुन्छन्। ग्राहकहरूले प्रदर्शनका लागि राखिएका फर्निचरहरू हरेर रङ्ग, आकार, डिजाइन आदि विचार गरेर खरीद निर्णय गर्नुपर्छ। अर्थात् ग्राहकहरूले अर्धतयारी अवस्थामा खरीद गर्नुपर्छ। घर लगेर उक्त अर्धतयारीको अवस्थामा रहेको फर्निचर ग्राहक आफैले तयार (Assemble) गर्नुपर्छ। तर कसरी तयार पार्ने भनी निर्देशन पुस्तिका र सानातिना औजारहरू आइकियाले सामानसँगै ग्राहकलाई उपलब्ध गराएको हुन्छ।
    यसरी अर्धतयारी अवस्थामा रहेको सामान खरीद गरेर त्यसलाई आफैले पूर्णता (आफ्नो श्रम लगानी गरेर) दिएर ग्राहकले सस्तोमा सामान खरीद गर्ने अवसर पाउँछ भने अर्कोतिर अर्धतयारीको अवस्थमा वस्तुहरू उत्पादन गरेर, उत्पादन लागत जोगाएर, आइकियाले ग्राहकहरूलाई सस्तोमा सामानहरू बिक्री गर्न सक्ने क्षमता प्राप्त गर्छ।
    यस किसिमको व्यापारिक रणनीति प्रयोग गरेर आइकिया संसारमा नै सस्तोमा फर्निचर बिक्री गर्ने संस्थाहरूको माझ अग्रपङ्क्तिमा छ। पूर्ण तयारीको अवस्थामा उसले फर्निचर बिक्री गर्ने गरेको भए निश्चय पनि ती फर्निचरहरू महँगा हुने थिए। यसको विपरीत ग्राहकहरूलाई नै केही काम (Assembling Jog) दिएर आइकियाले फर्निचरको मूल्य सस्तो पार्ने कार्य गरेको छ। यस किसिमको अवधारणा (ग्राहकले वस्तुलाई पूर्णता दिने सोचाइ) आफैमा ठूलो बौद्धिक सृजना हो। आइकियाको यो चमत्कारी बौद्धिक सृजनाले गर्दा कम आय भएका व्यक्तिहरू पनि विभिन्न किसिमका फर्निचरहरू खरीद गर्न सक्षम भएका छन्। अर्कोतिर, अर्धतयारी अवस्थाका फर्निचरहरू निर्माण गरेर आइकियाले ठूलो मात्रामा उत्पादन लागत कम पार्न सकेको छ। र, कम पार्न सकेको उत्पादन लागतलाई उत्पादित वस्तुहरूको मूल्य कम पार्नमा प्रयोग गरेको छ। यो न हो सफल व्यापारिक बुद्धि! सफल बजार रणनीति! ज्ञान र त्यसको सफल उपयोग!
    आइकियाले अर्को किसिमको फाइदा पनि प्राप्त गरिरहेको छ। त्यो के हो भने उसका फर्निचरहरू कम मूल्य (प्रतिस्पर्धीहरूको भन्दा) का र सस्तो भएकाले ठूलो परिमाणमा विश्वभरि नै बिक्री भइरहेका छन्।
    हामीकहाँको व्यापारिक अवधारणा निकै पृथक छ। व्यापारीहरू आफ्नो वस्तुको चर्को मूल्य राखेर, बढी मुनाफा लिएर, छोटो समयमा नै अरबपति हुने लक्ष्य राख्छन्। न त मूल्य कम पार्ने प्रयास गर्छन्, न त कसरी मूल्य कम पार्न सकिन्छ भनी अध्ययन र अनुसन्धान नै गर्छन्। मारमा भने ग्राहकहरू परेका छन्, जहिले पनि महँगीको चपेटामा छन्। हामीसँग साधनहरूको पर्याप्तता छ। कमी छ भने ज्ञानको। र, ज्ञान उपयोग गर्ने तत्परताको।
    एउटै सडकलाई एकचोटि खानेपानीका लागि खन्छौं, फेरि पुर्छौं। त्यही सडकलाई फेरि नालाका लागि खन्छौं, फेरि पुर्छौं। फेरि त्यही सडकलाई फोनका लागि फेरि खन्छौं, फेरि पुर्छौं। फेरि बिजुलीका लागि खन्छौं, पुर्छौं। यसरी एउटै सडकलाई चार/पाँच चोटि खन्छौं र पुर्छौं अनि भन्छौं हामी ज्ञानको क्षेत्रमा अगाडि छौं।
    त्यस कारण हामीसँग पर्याप्त बुद्धि र ज्ञान छ भन्ने घमण्ड छोडौं। रचनात्मक सोंचको विकास कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिऔं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 13, 2019

No comments:

Post a Comment