Wikipedia

Search results

Friday, April 17, 2020

Corona Crisis: South Asia May Experience Bad Recession-Article-273


कोरोनाबाट द. एशियालाई ठूलो आर्थिक क्षतिको सम्भावना

कोरोना सङ्कटले आर्थिक क्षेत्रमा ल्याउने अनिश्चितता र विपत्तिबारे सुन्दा सुन्दा तपाईं हामीलाई अति नै दिक्क लागेको होला। त्यस्तो लाग्नु स्वाभाविक पनि हो। सञ्चार माध्यमहरूमा कोरोना सङ्क्रमणबारे प्रकाशित एवं प्रसारित केही भ्रामक खबरहरूले यो रोगलाई झनै भयावह तुल्याइदिएका छन्। हाम्रो चिन्तालाई थप उचालिदिएका छन्।
    विश्वभरि अहिले केवल कोरोना सङ्कटकै चर्चा छ। इच्छा हुन्छ, कुनै नयाँ र फरक सन्दर्भ सुन्न पाइयोस्। तर के गर्नु यस यथार्थबाट पन्छिन सकिंदैन। यो वैश्य युगमा हामी व्यापारसँग बलियो गरी बाँधिएका छौं। कृषि युग अब पहिलेको स्थितिमा फर्किने अवस्था छैन। जीवन गुजारा गर्नका लागि पहिलेजस्तो, करोडौं व्यक्तिहरूसँग अहिले आफ्नो जग्गा छैन। सानो बारी भए पनि जग्गा जोतेर, खनेर गुजारा गर्न सक्ने स्थिति अहिले रहेन। यस कारणले बहुसङ्ख्यक व्यक्ति व्यापारमा आश्रित हुन बाध्य छन्। अनि यो कारणले गर्दा नै कोरोना सङ्कटले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यापारमा पार्ने नकारात्मक असरबारे सुन्न, पढ्न हामी बाध्य छौं, अभिशप्त छौं। व्यापार अहिले हाम्रो जीवनसँग नङ र मासुझैं जोडिएको छ। माछा पानीविना बाँच्न नसकेझैं हामी अहिले व्यापारविना बाँच्न सक्तैनौं। यो कृषि होइन, वैश्य युग हो। वणिकहरूको युग हो। माया, मोह त्यागेर निस्स्वार्थी जीवन गुजारा गर्ने जोगीको जीवन पनि अहिले व्यापारबाट प्रभावित हुन पुगेको छ। व्यापारमा आश्रित हुन पुगेको छ। जोगी बस्ने शहरमा व्यापार न हुने हो भने जोगीलाई पनि जीवन धान्न ज्यादै कठिन हुनेछ। कोरोना सङ्कटले यो तथ्य सत्य रहेको प्रमाणित गरेर देखाइदिएको छ।
    अफ्रिका महादेशलाई छाडेर कुरा गर्ने हो भने कोरोनाले अत्यधिक नकारात्मक प्रभाव दक्षिण एशियाको बजारलाई पार्ने देखिन्छ। अफगानिस्तान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, भारत, नेपाल आदि देश नराम्ररी प्रभावित हुने देखिएको छ। यी देशका जनता र सरकारहरूले कोरोना सङ्कट उचित किसिमले व्यवस्थापन गर्न नसक्ने हो भने यी देशका नागरिक आम्दानीको अभावले गर्दा कोरानाले भन्दा भोकमरीले ठूलो सङ्ख्यामा मर्ने देखिन्छ। अर्कोतिर दक्षिण एशियाका मुलुकहरू गरीब भएका हुनाले र स्वास्थ्य सुविधा यथोचित उपलब्ध गराउन नसक्नाले कोरोनाबाट प्रभावित भएर यो क्षेत्रमा लाखौंको मृत्यु हुन सक्नेछ। यो क्षेत्रमा कोरोना अमेरिका, इटली, स्पेनझैं विस्तारित हुन बाँकी नै छ। दक्षिण एशियालाई कोरोनाले स्पर्शमात्र गरेको छ, थिच्न बाँकी छ।
    दक्षिण एशियामा ठूलो सङ्ख्यामा गरीबहरूको बसोवास छ। यस क्षेत्रका बहुसङ्ख्यक नागरिकसँग बचत शून्य बराबर छ। प्रत्येक दिनको आम्दानीले गुजारा गर्नुपर्ने स्थिति छ। लामो समयसम्म कोरोना सङ्कट रहिरहेमा यो क्षेत्रका बहुसङ्ख्यक व्यक्ति बेरोजगारी हुनेछन्। उनीहरूसँग एक छाकको खाँचो टार्ने आर्थिक क्षमता हुने छैन। त्यसकारण दक्षिण एशियाली क्षेत्र भोखमरीको ठूलो जोखिममा छ।
    भारत, पाकिस्तान, बङ्गलादेश, नेपालले सेवा एवं वस्तु व्यापारबाट राम्रो आम्दानी गर्छन्। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारबाट राम्रो आय प्राप्त गरिरहेको छ भने बङ्गलदेशले ‘कटन इन्डस्ट्री’ बाट राम्रो आम्दानी प्राप्त गरिरहेको छ। भारतको आर्थिक स्थिति (आय स्रोत) भने बहुआयामिक किसिमको छ। यसले अन्तर्राष्ट्रिय श्रम बजार एवं अन्तर्राष्ट्रिय वस्तु व्यापारबाट पनि राम्रो आय प्राप्त गर्छ। र यी क्षेत्रहरूबाट प्राप्त आयले गर्दा भारत आफ्ना बहुसङ्ख्यक नागरिक समक्ष थोरै मात्रामा भएपनि एक निश्चित आय पुर्याउन सफल भएको छ। भारतले अन्तर्राष्ट्रिय व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सकेको छ। र यो स्थितिले यसलाई दक्षिण एशियाको आर्थिक महाशक्ति हुन सहयोग पुर्याएको छ। भारत अहिले आर्थिक क्षेत्रमा दक्षिण एशियाको ‘बाघ’ हुन पुगेको छ।
    दक्षिण एशियाली मुलुकहरू (खासगरी भारत र बङ्गलादेश) ले छोटो समयमा उल्लेखनीय आर्थिक प्रगति गरे तापनि दक्षिण एशियाली मुलुकहरूको आर्थिक प्रगति परनिर्भरताबाट भएको हो। अर्थात् दक्षिण एशियाली राष्ट्रहरूले आर्थिक प्रगति आफ्नो स्रोत र साधनको अत्यधिक एवं प्रभावकारी उपयोग गरेर होइन, अन्तर्राष्ट्रिय व्यापारमा अति आबद्ध भएर प्राप्त गरेका हुन्। पश्चिमी राष्ट्रहरूसँग सम्बन्ध खराब हुनासाथ दक्षिण एशियाली राष्ट्रहरूको आर्थिक स्थिति डामाडोल हुन पुग्छ।
    दक्षिण एशियाको आर्थिक विकास क्यानाडा, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता केवल आफ्नो आन्तरिक स्रोतको समुचित र वैज्ञानिक उपयोग गरेर भएको होइन। त्यसकारण कोरोना सङ्कटले गर्दा अन्तर्राष्ट्रिय व्यापारबाट प्राप्त हुने लाभ अवरुद्ध हुनासाथ दक्षिण एशियाली राष्ट्रहरूको आर्थिक स्थिति ओरालो लाग्न थाल्नेछ। उदाहरणका लागि कोरोना सङ्कटको कारण नेपालीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेर आफ्नो श्रम बिक्री गर्न कठिन हुना साथ नेपालको आर्थिक स्थिति डामाडोल हुन आरम्भ हुनेछ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजार एवं पर्यटन उद्योगबाट राम्रो आय प्राप्त गर्दछ। कोरोना सङ्कटले नेपाल र माल्दिभ्सको पर्यटन क्षेत्रलाई ठूलो र दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।
    कोरोना सङ्कटले गर्दा दक्षिण एशियाली क्षेत्र महामन्दी (Depression) को स्थितिमा पुग्ने अनुमान गरिंदै छ। भोलिका दिनमा स्थितिमा सुधार भएर महामन्दी नआए पनि दक्षिण एशियाली क्षेत्र मन्दीको चपेटामा भने अवश्य पर्नेछ। स्थिति समान्य भइदिएको भए यो क्षेत्रको आर्थिक वृद्धिदर ६.३ प्रतिशतले हुने प्रक्षेपण गरिएको थियो । अब यस क्षेत्रको आर्थिक वृद्धि लगभग ३ प्रतिशतमा सीमित हुने देखिएको छ। बाँकीका दिनहरू (सन् २०२० अप्रिलपछि) मा दक्षिण एशियाको आर्थिक स्थिति ज्यादै कष्टकर हुने देखिएको छ र यो कष्टकर स्थितिले यस क्षेत्रका गरीबहरूको जीवनयापन झनै पीडादायी हुनेछ, अनिश्चित हुनेछ।
    दक्षिण एशियाली क्षेत्रका दुई स्थायी शत्रुहरू ‘आर्थिक भ्रष्टाचार’ र ‘कर्मचारीतन्त्र’ (Bureaucracy) ले आउन थालेको मन्दीको यो स्थितिलाई थप कष्टकर तुल्याउन महत्वपूर्ण भूमिका खेल्नेछन्। कोरोना सङ्कटका कारण उत्पन्न हुने आर्थिक समस्या समाधानका लागि सरकारहरूले गर्ने प्रयासलाई प्रभावकारी हुन नदिन यी स्थायी शत्रुहरूले अग्रणी भूमिका निर्वाह गर्नेछन्। उदाहरणका लागि सरकारले गरीबहरूको जीवन थप कष्टकर हुन नदिन वितरण गर्ने राहत (बन्दोबस्तीका सामान, खाद्यान्न एवं नगद) लाई गरीबहरूसम्म लक्षित किसिमले यी खलनायकहरूले पुग्न दिने छैनन्। अर्थात् मन्दीसँग लड्न प्रयोग गरिने औजार (राहत पैकेज) भोथो पार्न यी खलनायकहरूको भूमिका ज्यादै महत्वपूर्ण हुनेछ। यो कारणले गर्दा पनि दक्षिण एशियाली क्षेत्र आर्थिक किसिमले ज्यादै असुरक्षित र अनिश्चित हुने सम्भावना बढेर गएको छ। तर विकसित एवं धनी मुलुकहरूमा यो समस्या गम्भीर छैन। आर्थिक भ्रष्टाचार एवं कर्मचारीतन्त्र, दुवैको कुप्रभावलाई कम पार्न विकसित देशका सरकारहरू धेरै हदसम्म सफल देखिएका छन्। कर्मचारीतन्त्रको कुप्रभाव र आर्थिक भ्रष्टाचार चीनमा कम हुने भएकोले कोरोना सङ्कटको कुप्रभाव चीनको आर्थिक वृद्धिमा कम पर्ने अनुमान गरिएको छ। चीनको आर्थिक वृद्धिदर यो वर्ष केवल १.२ प्रतिशत हुनेछ जुन सन् १९७६ पछिको ज्यादै सुस्त हुनेछ। तर पनि चीनमा दक्षिण एशियाजस्तो आर्थिक मन्दी देखिने छैन। गति सुस्त नै भए पनि आर्थिक विकासको गति चीनमा अवरुद्ध भने हुनेछैन।
    हुन त कोरोना सङ्कटले विकसित देशहरूलाई पनि उत्तिकै सताएको छ। यो सङ्कटको कारण अमेरिकाको अर्थतन्त्रमा लगभग ६ प्रतिशतले सङ्कुचन आउने छ। बेरोजगारी बढेर १०.४ प्रतिशत हुनेछ। यसैगरी संयुक्त अधिराज्यको अर्थतन्त्रमा पनि ६.५ प्रतिशतले सङ्कुचन आउने छ। यस किसिमका अनुमानहरू गरिएका छन्। तर अमेरिका, संयुक्त अधिराज्यलगायत क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान जस्ता राष्ट्रहरूको आन्तरिक संयन्त्र बलियो र व्यवस्थित भएकोले ती राष्ट्रहरूले यो मन्दीको असर कम पार्न सक्नेछन्। यस्तो विश्वास गरिएको छ ।
    यो विषम परिस्थितिमा आर्थिक विकासको गतिलाई स्थिर हुन नदिन दक्षिण एशियाले उत्पादन बढाई आपूर्ति व्यवस्था (supply chain) लाई चुस्त पारेर मात्र हुँदैन। दक्षिण एशियाले कर्मचारीतन्त्रको कुप्रभाव एवं आर्थिक भ्रष्टाचार पनि कम पार्नुपर्छ । आर्थिक विकासका आफ्ना यी दुई शत्रुहरूलाई दक्षिण एशियाले नियन्त्रणमा राख्नुपर्नेछ ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 17, 2020

No comments:

Post a Comment